Monday, January 12, 2015

वैवाहिक जीवनको व्यवस्थापन

विवाहले मानिसको आफ्नो अधिकारका साथसाथै जिम्मेवारीलाई पनि दुईगुणा बढाइदिन्छ ।
                                                                                                                     –सोपेनहावर ।
एउटा विवाहित जोडीले विवाहको पच्चीसौँ वार्षिकोत्सव भव्य रुपमा मनाउने उद्देश्यले आफ्ना नजिकका साथीहरु र नातेदार बोलाएर भव्य पार्टी आयोजना गरेछन् । पार्टीमा आएको एकजना साथीले श्रमिान् चाहिँलाई सोधेछ– “यार, तैँले एउटै श्रीमतीसँग कसरी पच्चीस वर्ष बिताइस् हँ ?”
साथीले जवाफ दिएछ– “म कहाँ एउटै श्रमितीसँग पच्चीस वर्ष गुजार्न सक्छु, म त दिनदिनै नयाँ श्रीमतीसँग पो हुन्छु त !”
साथीले आश्चर्य मानेछ र फेरि सोधेछ– “दिनदिनै नयाँनयाँ श्रमिती कसरी पाउँछस् हँ तैँले ? मैले त भर्खर तीनओटी मात्रै पाएको छु ।”
जवाफ दिने साथी मज्जाले हाँसेछ र भनेछ– “यार, मेरी श्रीमतीलाई म सधैँ नयाँ देख्छु । ऊ हिजोजस्ती आज हुन्न, अनि आजजस्ती भोलि हुन्न । मेरी श्रीमती बिहान उठ्ता अर्कै हुन्छे, दिउँसो अर्कै अनि बेलुका फेरि अर्कै । हरेक दिन नयाँ देख्छु म उसलाई । नयाँनयाँ श्रीमतीसँग दिन बिताउन पाएपछि अर्की किन खोज्नु ?”
यो सम्बादले हामीलाई के सिकाउँछ ? जीवनलाई हेर्ने दृष्टिकोण र सम्बन्धलाई टिकाउने कला । हामी व्यक्तिगत, वैवाहिक वा सामाजिक सम्बन्धलाई कसरी हेर्छोँ, हाम्रो सम्बन्ध पनि त्यस्तै बन्छ ।
हामी सामाजिक रुपले पुरातन र आधुनिक समाजको संक्रमणबाट गुज्रिरहेका छौँ । पुराना संस्कार, शैली र पद्धतीहरु हामीलाई वाहियात लाग्न थालेका छन्, नयाँको खोजी गरिरहेका छौँ तर त्यसलाई आत्मसात गर्ने मानसिक बुद्धिमत्ता र चरित्र भने हामीसँग विकास भइसकेको छैन । सामाजिक परिवेश पनि त्यसरी फड्को मार्न सकिरहेको छैन । त्यसैले हामी संक्रमणकालीन संस्कृतिबाट अघि बढिरहेका छौँ ।
विवाह, परिवार, सामाजिकता, मान्यजनप्रतिको सेवा र आदरभाव सबैतिर हामी यही संक्रमण अनुभव गरिरहेका छौँ, पुरानालाई छोड्न खोजेको तर छोडिनसकेको ।
विवाहको अवस्था पनि त्यस्तै छ हाम्रो समाजमा । मागी विवाहले क्रमशः प्रेमविवाहतिर पाइलो सार्दैछ । विवाहका लागि युवायुवतीहरु बढी स्वन्त्रता खोज्दैछन् । बाबुआमाले केटा वा केटी खोजेर विवाह गरिदिने चलनभन्दा आफैँ रोज्ने चलन बढिरहेको छ । तर त्यसको व्यवस्थापन ठीकसँग नहुँदा अनेकन समस्याहरु पनि सिर्जना भएका छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने त ? आउनुस् यसबारेमा छोटो चर्चा गरौँ ।
विवाहको प्रभाव ठीकसँग बुझौँ
अपवाद बाहेक संसारमा जन्मेका अधिकांश मानिस वैवाहिक जीवनमा बाँधिन चाहन्छन् । वैवाहिक जीवनमा बाँधिएर जोडी बन्नु, सन्तान जन्माउनु र पारिवारिकताको आनन्द लिनु सामान्य जीवनशैलीको परिचायक मानिन्छ । व्यक्तिगत जीवनको सफलता र असफलताका लागि पनि विवाह आवश्यक ठानिन्छ । यसले जीवनको सफलता र असफलतामा  ठूलो भूमिका खेल्दछ । आफ्नो चाहना, भावना र जीवनशैली मिल्ने जीवनसाथी पाउनु वा मिल्नु हरेक सफलतम व्यक्तिको जीवनमा देखिने सफलताको प्रमुख कारक तत्व रहेको देखिन्छ ।
विवाहपछिको जीवन व्यक्तिको एकल र व्यक्तिगन जीवन मात्र नभएर त्यसले एक संस्थाको रुप लिन्छ । त्यसै भएकाले विवाहपछि दुवैजनामा एकअर्काप्रति विकसित हुने प्रेम, समर्पण, विश्वास, आपसी सरसहयोग आदि जस्ता कुराहरुले नै एकअर्काको जीवनमा प्राप्त हुने सफलता निश्चित हुन्छ ।
विवाहपछिको पारिवारिक जीवनमा असफलता, असन्तुष्टि र असहयोग पाएको मानिस सफल हुने सम्भावना निकै नै कम हुन्छ । त्यसैले विवाह गर्नु भनेको जीवनलाई एक मोडबाट अर्को मोडतर्फको यात्रामा लैजानु हो । जीवनलाई संस्थागत गर्नु हो ।
समग्र संसारको एक सानो प्रतिरुप हो परिवार । प्रिन्सेस डायना भन्छिन्– संसारको सबभन्दा महत्वपूर्ण कुरा हो परिवार । संसारका मानिसहरुमा हुने विचार, भावना, समस्या, प्रतिरोध, अवसर सबै साना वा ठूला रुपमा हरेकको परिवारिक जीवनमा आउने गर्दछन् । परिवार मानिसको जीवनमा आवश्यक पनि छ तर त्यसको स्वरुपको पूर्णचित्र मनमा नल्याई गरिने विवाहले भने हाम्रो जीवनको खुसी र आनन्दलाई नै टाढा धकेलिदिन्छ । माथि उल्लेखित सोपेनहावरको भनाइ मननीय छ । त्यो कुरा नबुझीकन बिना तयारी गरिने विवाहले जीवन बोझिलो हुन्छ, आनन्द, प्रेम र सन्तुष्टि दि“दैन ।
नेपाली समाजमा अधिकांश युवाहरुको विवाह अभिभावकको चाहना र प्राथमिकता अनुरुप हुने गरेको छ । विवाह के हो ? यो के का लागि गरिन्छ ? मलाई कस्तो जीवनसाथी आवश्यक छ ? जीवनसाथी र परिवार के हो ? विवाह पछिको मेरो ‘करिअर’ मा यसले के फरक पार्दछ ? विवाहपछिका मेरा दायित्व र कर्तव्यहरु कस्ताकस्ता हुन्छन् ? यसले जीवनको सफलता र आनन्दमा के कसरी असर पार्दछ भन्ने जस्ता प्रश्नहरुको मनन नै नगरी लहडको भरमा,  अरmको सल्लाह र प्राथमिकतामा वा यौनको भावनात्मक आवेगको अवस्थामा छनोट गरिएको साथी र गरिएको विवाहले धेरै युवाहरुको वैवाहिक जीवन धरापमा परेको, जीवन अलमलिएको र तनावका कारण पारिवारिक हिंसा बढाउने गरेको पाइन्छ ।
प्रेम विवाह होस् वा आयोजित विवाह जुनसुकै विवाह गरे पनि यी माथि चर्चा गरिएका प्रश्नहरुमा मन्थन गरेर र छनोटका उचित विकल्पहरुमा ध्यान दिएर विवाह गरिएको छ भने त्यसले विवाहपछिको जीवनलाई सकारात्मक ऊर्जा दिन सक्दछ । यी कुराहरु विचार नै नगरी गरिएको विवाहले जीवनमा चाहेको र पाएकोमा फरक ल्याउँछ र वैवाहिक जीवन एक प्रकारले बोझ बन्दै जान्छ । समान किसिमको मानसिकता, भावना र चिन्तन प्रणाली भएका जोडीहरुको विवाहपछिको जीवन बढी ऊर्जावान् र सफल भएको पाइन्छ भने  त्यो विचार नगरी गरिएको विवाहले विवाहपछिको पारिवारिक जीवन नै धरापमा परेको र चले पनि निकै अफ्ठ्यारोस“ग चल्ने गरेको देखिन्छ ।
विश्वका अधिकांश सफल पुरmषहरुको जीवनलाई हेर्ने हो भने उनीहरुको सफलताको पछाडि प्रेमपूर्ण महिलाहरुको हात रहेको देखिन्छ । महिला छिन् भने पुरmषको सकारात्मक सहयोग र भावनात्मक एकताका कारणले उसले त्यो सफलता हासिल गरेको पाइन्छ । त्यो प्रेरणादायक व्यक्ति यदि जीवनसाथी नै छ भने त झनै प्रगति र उन्नतिको ऊर्जा शक्तिशाली हुने गरेको पाइन्छ । त्यसैले एउटा भनाइ पनि छ– सफलताको सुरmआत आफ्नै परिवारबाट हुन्छ । जो व्यक्ति आफ्नो परिवारमा सफल हुन सकेको छैन त्यो व्यक्ति समाज, देश र संसारमा सफल हुने कमै सम्भावना हुन्छ । जो परिवारमै असफल छन् ती व्यक्तिहरु बाहिर पनि सफल हुन सक्दैनन् । त्यसैले पप जोन पल द्वितीय भन्छन्– जसरी परिवार चल्दछ त्यसरी नै देश चल्दछ, जसरी देश चल्दछ त्यसरी नै हामी बा“चेको संसार चल्दछ ।  
त्यसैले विवाह युवावस्थाको एउटा सामाजिक कार्य मात्र होइन यो आफ्नो व्यक्तित्व निर्माणको, जीवन विकासको, सफलताको र छनोटको स्वतन्त्रताको मानवीय शक्तिलाई चिन्ने र सही उपयोग गर्ने महत्वपूर्ण अवसर पनि हो । त्यसमा उचित विकल्पको छनोट गर्ने आफ्नो शक्ति चिन्न ढिलो ग¥यौ“ वा अरm कसैको प्रभाव र सल्लाहमा परी आफूभित्रको छनोटको स्वतन्त्रतालाई बेवास्ता ग¥यौ“ भने त्यसले हाम्रो जीवनलाई नराम्ररी असफलता, तनाव र छटपटीमा पु¥याइदिन्छ ।
किन दुर्घटित हुन्छ वैवाहिक जीवन ?
प्रायजसो विवाहित जोडीको एउटै गुनासो हुने गर्छ– उसले मलाई वास्तै गर्दैन÷गर्दिनँ । मलाई माया गर्दैन÷गर्दिनँ । मेरो कुरा सुनवाइ नै हुँदैन । भनेको मान्ने भए पो ! आदि । के ले ल्याउँछ हामीभित्र यो अवस्था । यो त्यसै त आउँदैन । प्रेम गरेर वर्षौँसम्म अनेक पार्क र रेष्टुराँमा धाएपछि विवाहित जोडी भएकाहरुमा पनि यो असन्तुष्टि देखिन्छ । किन नबुझेका त्यतिका वर्षसम्म आफूले प्रेम गरेको मानिसलाई ?
यसमा सबैभन्दा प्रमुख हात हुन्छ हामीभित्रका अपेक्षा र अहङ्कारको । अपेक्षाहरुले नजानिँदो हिसाबले हामीलाई तनावमा पु¥याउँछन् भने अहङ्कारले त्यसलाई मलजल पु¥याउँछ ।
विवाह गर्दा सामान्यत पुरुषहरुले आफ्नो आर्थिक अवस्थामिल्ने घरानाका केटीहरु खोज्ने अझ पाएसम्म त माथिल्लो आर्थिक अवस्था भएका परिवारकी छोरी खोज्ने, केटीहरुले पनि आफू सुखसँग खानलाउन पाउने परिवार र पदको मानिस खोज्ने गरेको देखिन्छ । विवाहका लागि वरबधु खोज्दा स्वभाव, जीवनशैली, आचरण, मानवीय सम्बन्ध र व्यवहारको कलाजस्ता कुरालाई भन्दा हामीले आर्थिक हैसियत, पद, प्रतिष्ठा वा शिक्षाको कसीमा राखेर तौलिन्छौँ । जीवन आर्थिक पक्षभन्दा भावनात्मक पक्ष र सम्बनधको कलाबाट बढी आनन्दित हुन्छ भन्ने चाहिँ हामी बिर्सन्छौँ । असल सम्बन्धका लागि घराना, आर्थिक अवस्था होइन चरित्र र बानीव्यहोरा महत्वपूर्ण हुन्छ ।
खाने र लाउने अनि यौन चाहना पूरागर्ने इच्छा मानिसको आधारतलका इच्छा हुन्, प्रथम कोटीका । यो चेतना पशुहरुमा पनि हुन्छ । त्यसैले यसलाई हामी पशुवत् चेतना वा आधारतहको चेतना भन्न सक्छौँ । त्यो आवश्यकता पूरा हुनासाथ मानिसले शक्ति, प्रेम, प्रतिष्ठा, सम्मानभाव, ज्ञान र आनन्द खोज्न थाल्छ । जब उसलाई आर्थिक आँखाले मात्र हेरिन्छ तब ती कुनै पनि कुरा पूरा हुँदैनन् । राम्रो साडी र राम्रो गाडीले दम्पतीबीचमा हुने प्रेमपूर्ण सम्बन्ध र सम्मानभावको क्षतिपूर्ति कहिल्यै गर्न सक्दैन । राम्रो गाडी, साडी र आलिसान बंगलाभन्दा प्रेमपूर्ण र सरदर जीवनको स्वादमा रमाउन चाहन्छन् दम्पतीहरु ।
यसरी मानसिक रुपमा माथिल्लो चाहना बढ्दै गएपछि भावनात्मक चित्तवृत्तिको गुणस्तर पनि बदलिनु पर्छ, गुणस्तर बढ्दा मानिस सन्तुष्ट र आनन्दित हुन्छ, गुणस्तर घट्दा निराश र असन्तुष्ट हुन्छ । इच्छा। चाहना र चरित्र मिल्ने जोडी बाँध्न सकियो भने विवाहले हरेक दम्पतीलाई नयाँ उर्जा प्रादन गर्छ । त्यसैले जोडी छान्दा नै ध्यान पु¥याउन सकिएन भने वैवाहिक जीवन कहिल्यै पनि प्रेमपूर्ण र मायालु हुन सक्तैन ।
कसरी छान्ने मिल्दो र असल जोडी ?
तपाईँले कुनै मानिससँग भेट हुँदा अझै केहीबेर बसौँ वा निकैबेर कुराकानी गरौँ भन्ने लागेको अनि कोहीसँग भेट हुँदा भने कतिखेर हिँडौँ जस्तो लागेको अनुभव गर्नुभएको हुनुपर्छ । किन यसो हुन्छ ? किनभने त्यो मानिससँग तपाईँको चेतना र चरित्रसँग मेल वा बेमेल हुन्छ । तपाईँसँग जुन चरित्र, भाव र भावना छ त्यही प्रकृतिको मानिस भेटियो भने तपाईँ रमाउनुहुन्छ, त्यही प्रकृतिको भाव र भावना रहेनछ भने टाढिनुहुन्छ ।
भाव र भावना आत्मतत्वसँग गाँसिएको हुन्छ । हामी एक्कासि यस धरतीमा जन्मेका होइनौँ । हामीभित्रको सूक्ष्म चैतन्यले धेरैपटक यस पृथ्वीमा रहेका जीवहरुको शरीरमा रहेर आफ्नो काम गरेको थियो । केही इच्छा राखेको थियो । कति पूरा भएका थिए कति पूरा भएका थिएनन् । त्यही पूरा नभएका पूर्वइच्छाका कारण हामी यस धरतीमा फेरि यो शरीर धारण गरेर जन्म लिएका हौँ । हाम्रो जन्मको निश्चित कारण छ र लक्ष्य पनि निश्चित छ । त्यही पूरा गर्न हामी लागिरहन्छौँ, सहयोगी र परिवेशको खोजी गरिरहन्छौँ । त्यो पायौँ भने सन्तुष्ट हुन्छौँ नपाउँदा असन्तुष्ट हुन्छौँ ।
वैवाहिक जोडी पनि त्यही भाव र भावना भएकाहरुसँग गाँसियो भने सन्तुष्ट हुन्छ भएन भने असन्तुष्ट हुन्छ । अनेक तर्क, बुद्धि र गणितका आधारमा जबर्जस्ती सम्बन्ध जोड्यौँ वा यौनको आवेगमा राम्री वा राम्रो देखेर यौनेच्छा र पारिवारिक चापमा परेर विवाहमा बाँधियौँ भने वैवाहिक जीवन असन्तुष्टीले ग्रस्त हुन्छ ।
विवाहको तयारीको अवस्था नै सफल पारिवारिक जीवनको कोसेढुंगा हो । त्यही बेला नै विचार पु¥याउनु पर्छ धेरै कुरामा । विवाह भइसकेपछि ध्यान दिनुपर्छ आफ्नो व्यक्तित्वको परिष्कारमा र आपसी संचार कलामा । जब विवाहको तयारी गछौँ र केटा वा केटी हेराहेर गर्छौँ त्यतिबेला तपाईँले झलक्क हेर्दा भित्रैदेखि त्यो केटा वा केटीलाई मन पराउनु भयो कि भएन ? मन पराउनु भयो भने त्यो मानिसमा के देखेर मन पराउनु भयो ? तपाईँभित्र त्यतिबेला कस्तो भावना थियो ? यस्ता कुरा विचारणीय हुन्छन् । यदि झलक्क हेर्दा दुवैजनाले एकअर्कालाई हृदयदेखि नै मन पराउनु भयो भने त्यो जोडी सफल दम्पती बन्ने सम्भावना बढी हुन्छ तर घरपरिवार, नातागोताको सम्झाइबुझाइका आधारमा चित्त बुझाएर विवाह गरिएको हो भने त्यो जोडी अवस्य पनि समस्यामा पर्छ । कुनै न कुनै असन्तुष्टी लिएर बाँच्न बाध्य हुन्छन् उनीहरु ।
विवाहपछिको व्यवस्थापन कला
विवाह त भइसक्यो, जोडी बनिसकियो, एकअर्कालाई सम्बन्धमा गाँसिसकियो । अब मन नमिले पनि मिलाउनु पर्ने हुन्छ । कसरी मिलाउने त मन ? त्यसमा प्रमुख बनेर आउँछ तपाईँको व्यक्तित्व । व्यक्तित्व भनेको तपाईँभित्र भएको चरित्रको प्रकटित रुप हो । कस्तो चरित्र छ त्यस्तै रुप प्रकट हुन्छ बाहिर । त्यसलाई सचेत प्रयासले बदल्न सकिन्छ । त्यसका लागि पहिले आवश्यक छ आफूलाई चिन्नु । कसरी चिन्ने त आफूलाई ? चिनेपछि कसरी व्यवस्थित गर्ने ?
कुनै मानिस हामीलाई अहङ्कारीजस्तो लाग्छ, भन्छौँ, कस्तो मानिस रहेछ, अरुको कुरै सुन्दैन । त्यसैगरी अर्काथरि मानिसलाई हामी भन्छौं – कस्तो मानिस रहेछ खालि अरुलाई मात्रै गल्ती देखाउँछ आफ्नो गल्ती त देख्दैदेख्दैन । यस्तो भनाइबाट हामी व्यक्ति व्यक्तिको मूल्यांकन गर्दछौं, उसलाई एउटा स्वरुप दिन्छौं उसको व्यक्तित्वको । मानिसको अनुहार हेरेर होइन उसको बानीव्यहोराबाट उसको स्वरुप निर्धारण गर्ने गर्दछौंँ कि यो मानिस रिसाहा छ, यो मानिस दयालु छ, यो मानिस लोभी छ आदि आदि ।
त्यसरी प्रकट हुने उसको जुन स्वरुप छ त्यो त्यसै आउँदैन । त्यसलाई प्रकट गर्ने वा त्यस्तो स्वरुप बनाउन प्रेरित गर्ने कुनै तत्व मानिसभित्र छ जसले बारम्बार रिसाउन प्रेरित गर्दछ, अर्कालाई होच्याउन प्रेरित गर्दछ, अर्कालाई अधिनस्थ राख्न प्रेरित गर्दछ, आफूले नै सबै कुरा जानेको छु भनेर घमण्ड प्रदर्शन गर्नका लागि प्रेरित गर्दछ ।
यसरी प्रेरित गरेर मानिसको मनभित्र रहेको जुन तत्व छ त्यसलाई हामी ‘भूत’ भन्न सक्दछौं । त्यही भूतले हामीलाई बारम्बार रिसमा लैजान्छ, घमण्डमा लैजान्छ, आलोचनामा लैजान्छ, सिकायतमा लैजान्छ । व्यक्तित्वलाई नकारात्मक बनाइ दिन्छ । सकारात्मक व्यक्तित्व विकास गर्न दिँदैन । भित्रभित्रै अहङ्कार सिर्जना गर्दछ । त्यही अहङ्कारमा चोट लाग्दा क्रोधको रुपमा प्रकट हुन्छ । एकपटक होइन बारम्बार प्रकट हुन्छ । त्यसैले क्रोध मानिसको व्यक्तित्वको एक अभिन्न अंग हो, यसलाई व्यवस्थापन गर्न सकियो भने हाम्रो जीवनका ९० प्रतिशत समस्याहरु समाधान हुन्छन्, व्यवस्थापन गर्न सकिएन भने यसले मैत्री समाप्त पारिदिन्छ, बैमनस्यता ल्याउँछ, द्वेष ल्याउँछ र जीवन नै एक प्रकारले समाप्त हुन्छ ।
मानिसको अहङ्कार कसरी अभिव्यक्त हुन्छ र त्यसका लागि मानिस भित्र के कस्ता भूतहरु हुन्छन् भन्ने जान्नका लागि तलका वाक्यालाई गम्भीरतापूर्वक नियालौँ ।
व्यक्तित्व क                                                      व्यक्तित्व ख
म सही छु ।                                                       तिमी सही छौनौ ।
 म पकडमा राख्नेछु ।                                          तिमीले पकडमा राख्न सक्दैनौ ।
 म नियन्त्रण गर्नेछु ।                                         तिमीले नियन्त्रण गर्न सक्दैनौ ।
 म तर्कसंगत छु ।                                               तिमी तर्कसंगत छैनौ ।

एकथरि मानिसहरु अरुलाई दोषी देख्छन् अर्काथरि आफूलाई ठीक देख्छन् । दुवै भूत हुन् मानिसका । तपाईं आफूलाई सही ठान्नुहुन्छ भने तपाईं क वर्गमा पर्नुहुन्छ, अरुलाई गलत देख्नुहुन्छ भने ख वर्गमा पर्नुहुन्छ । दुवै व्यक्तित्वको भूतको प्रथम रुप सुरु वाक्यबाट हुन्छ  र अन्त हुन्छ अन्तिम वाक्यमा । 
जसरी भूतले मानिसलाई तर्साइरहन्छ ठीक त्यसरी नै यी भूतहरुले मानिसलाई तर्साउने प्रयास गरिरहन्छन् । हरेक मानिस भित्र यी भूतहरु छन् । हामीभित्र के कस्ता भूतहरु छन् र यी कसरी प्रकटित हुन्छन् भन्ने बुझ्न सकियो भने तिनलाई व्यवस्थित गर्न सकिन्छ । कसैले यिनलाई थाहा पाएर व्यवस्थित गरेका छन् कोही थाहै नपाई बेहाशी मै आफ्नो जीवन बिताइरहेका छन् । जो बेहोशमा छन् तिनको वैवाहिक जीवन भनेजस्तो हुन सकेको छैन, दुर्घटित भएको छ । त्यसैले आफूलाई होशपूर्ण बनाइराख्न र त्यसलाई सन्तुलनमा ल्याई आफूभित्र सकारात्मक उर्जाको विकास गर्नका लागि आफूभित्र क वा ख कुन वर्गका भूतहरु छन् भन्ने जान्न जरुरी छ ।
मानिसभित्रका यी भूतहरुले कसरी काम गर्दछन् भन्ने जान्नका लागि साह्रै सटिक उदाहरण हो– महाभारतको युद्ध । महाभारतको युद्ध हामी सबैलाई थाहा छ । आज पनि त्यस युद्धलाई संसारले बुझिरहेको छ, पढिरहेको छ, हेरिरहेको छ । त्यत्रा विद्वानहरु भएको ठाउँमा त्यत्रो ठूलो नरसंहारक युद्ध भड्कियो, १८ अक्षौहिणी फौज, त्यतिकै मात्रामा अन्य जीवजन्तु, घोडा, हात्ति आदि मारिए ।
अहङ्कारको यो भूत सबैको हृदयमा छ । व्यक्तिले आफूभित्र यो भूत छ र यसले मलाई बाधा गरेको छ भनेर गम्भीर रुपमा महसुस नगरेसम्म भूतले सताइरहन्छ । मान्नेवाला छैन । सारा संसारका मानिसहरु यसमा जागरुक छैनन् र यही कारण दुःख, पीडा र हीनताले ग्रस्त भएको छ जीवन । म भित्रको भूत के हो र यसले मलाई कसरी दुख दिइरहेको छ भन्ने जान्नासाथ अहङ्कार पग्लन्छ, गल्छ र नाश हुन्छ । जबसम्म आफूभित्रको भूतबारे हामीलाई जानकारी हुँदैन, हामी बेहोसीमा नै हिँडिरहेका हुन्छौं । बेहोशीमा नै काम गर्दछौं । त्यसले पैसा, परिवार, प्रतिष्ठा सबै सखाफ पारिदिन्छ ।
दैनिक जीवनमा भूतको अभिव्यक्ति 
श्रीमान्श्रीमती बीचको झगडाले हानी गर्दछ, कार्यालयमा कर्माचारी र हाकिम बीचको झगडाले हानि गर्दछ, राजनीतिका नेताहरुको झगडाले देशलाई हानि गर्दछ, यसले कसैलाई फाइदा पुग्दनै, जोजो झगडामा सहभागी हुन्छन् सबैलाई दुःख मात्र हुन्छ, यो सबैलाई थाहा छ । तर के गर्नु झगडा नगरौँ जस्तो लाग्दैलाग्दैन । सम्मान गर्नु राम्रो हो जानेको छ तर सम्मान गर्न मन लाग्दैलाग्दैन । यही हो अहङ्कार ।
जब अहङ्कार तपाईँको व्यक्तित्वको एक अभिन्न अंग बन्दछ, प्रगतिको बाटोमा तगारो लाग्न शुरु हुनथाल्छ । उदाहरण्का लागि तपाईँमा म जान्दछु भन्ने भूत छ भने अब जान्ने कुरा प्रति तपाईँको ध्यान जाने कुरै भएन, तपाईँले नजानेको कुरा जान्नबाट तपाई बञ्चित हुनुभयो । नयाँ नयाँ कुरा जानेर जीवनलाई नयाँ उचाइमा पु¥याउने सम्भावनाको ढोका त्यहीँ बन्द भयो । यो कुरा जति चाँडो हामी बुझ्छौं र आफूभित्रको भूतलाई चिन्दछौं त्यति नै छिटो जीवनको प्रगतिको यात्रा सहज हुन्छ र विकसित हुन सकिन्छ ।
भूतको व्यवस्थापन गर्ने केही तरिकाहरु
१. सर्वप्रथम आफ्नो भूतको रुप ‘क’ वर्गमा पर्दछ कि ‘ख’ वर्गमा पर्दछ सो पहिल्याउने ।
२. हाकिमलाई हाकिमको स्थान दिनुहोस् (इदभथ तजभ दयकक बक ब दयकक० । तपाईँ परिवारको सदस्य हुनुहुन्छ, परिवारको अर्को सदस्यले कुनै काम गर्दैछ,  तपाईँको विचारमा त्यो सही छैन भने तपार्इँ उसलाई सल्लाह दिनुहोस् तर सही वा गलतको तर्कमा नफस्नुहोस् । परिणाम बुझेपछि मात्रै मानिस सजग हुन्छ । घरभित्रको काममा प्राय महिलाहरु निर्णयक हुन चाहन्छन्, पुरुषले अनावश्यक हस्तक्षेप गरेको सहन गर्न सक्तैनन्, यो कुरा बुझेर महिलालाई घरको हाकिम मान्नुहोस् र सहयोग गर्नुहोस् ।
बाहिरका काममा लागेका पुरुषहरुलाई महिलाहरुले सल्लाह र सहयोग दिनुहोस् तर उसको काम मैले भनेजसरी नै हुनुपर्छ भनेर अड्डी नलिनुहोस् । अनावश्यक शंका नगर्नुहोस् । शंकाले लंका डढाउँछ । अधिकांश वैवाहिक दुर्घटना शंकाकारण हुने गरेका छन् । नचाहिँदा कामको परिणाम व्यक्ति आफैँले भोग्नुपर्छ भन्ने ठान्नुहोस् । यसले व्यक्तिलाई आ–आफ्नो स्वतन्त्रताको अनुभूति दिन्छ र स्वतः व्यक्तित्वको टक्कराव घटाइदिन्छ । केही समयपछि त्यसको प्रतिक्रिया हेर्नुहोस्, अवश्य सकारात्मक पाउनुहुनेछ । घरमा, अफिसमा, सडकमा, सानो काममा, ठूलो काममा सबै ठाउँमा यो लागू हुन्छ । हाकिमका रुपहरु फरक हुन सक्छन्, तर त्यसको अन्तरवस्तु एउटै हुन्छ । हाकिमलाई हाकिमको रुपमा पालना र सम्मान गर्ने गर्नुहोस् तपार्इंभन्दा जान्ने वा नजान्नेका रुपमा होइन ।
३. आफ्नो औकात मनन गर्नेहोस् र त्यस अनुसार काम गर्नुहोस् । हरेक पलमा शिक्षा ग्रहण गर्नुहोस् । मभित्र कमजोरी छ भन्ने जान्नासाथ कमजोरी हटाउनेतर्फ प्रयत्न शुरु गरिहाल्नुहोस् । यसमा आलोचना, तुच्छ देखाउने र अवसर हेरेर बस्ने प्रवृतिले मानिसलाई तत्काल शिक्षा ग्रहणमा बाधा दिने गर्दछन् । यसलाई गहिरोसँग मनन गर्नुहोस् ।
४. शिल र सम्मान अर्को महत्वपूर्ण सूत्र हो । नरम बोल्ने र सबैलाई सम्मान गर्ने कलाले सधँै राम्रो परिणाम ल्याउँछ । घरपरिवार, कार्यालय, संघसंस्था जहाँ पनि सम्मान गर्ने बानीले तपाईँलाई उँचो बनाउँछ, होचो कहिल्यै बनाउँदैन ।
५. गल्ती महसुस गर्ने बानी बसाल्नुहोस् । गल्ती गरेको थाहा पाउनासाथ माफी मागिहाल्नुहोस् । अरुले तपाईंलाई ठूलो नठाने तपाईं कहिल्यै ठूलो हुन सक्नुहुन्न भन्ने ख्याल गर्नुहोस् । आफूलाई कसैले सम्मान गरोस् भन्ने ठान्नुहुन्छ भने आफूले बढीभन्दा बढी सम्मान दिन सिक्नुहोस् । आफूलाई सामान्य मानिस मात्रको रुपमा जहिले पनि सम्झिराख्नुहोस् । तपार्इं हाकिम, अभिभावक, कुनै पदाधिकारी, विशेषज्ञ जे हो त्यो मान्नेहरुका कारणले भएको हो नत्र त तपाईँ एउटा सामान्य मानिस मात्रै हो भन्ने भावना कायम राखिराख्नुहोस् । यसले तपाईँमा विनम्रता र भद्रताको विकास हुन्छ नत्र अहङ्कारको भूतले दुर्घटना ल्याउन सक्दछ ।
हरेकसँग भूत छ, तर भूत छ भन्ने कुराप्रतिको सजगताले जीवनमा प्रज्ञा खुल्दछ, जीवन जगमग हुन्छ, यदि आफ्नो भूत प्रति सजग हुन सकिएन भने आफूलाई प्राप्त हुने सफलताको द्वार पनि बन्द हुन्छ । जीवनमा उचाइ चढ्ने उर्जा अहङ्कारको भूतले स्वात्तै निलिदिन्छ । त्यसैले आफ्नो भूत थाहा पाइरहने हरपल, हरक्षण थाहा पाउने । काम गर्दा थाहा पाउने, हिँड्दा थाहा पाउने, कुरा गर्दा थाहा पाउने, बाहिर, भित्र जहाँसुकै रहँदा थाहा पाउने बारम्बार, बारम्बार थाहा पाइरहने । यसले भूतलाई व्यवस्थापन गर्न मद्दत गर्दछ ।  भूतलाई व्यवस्थापन गर्न सकियो भने जीवनमा न तनाव हुन्छ न असफलता र गुनासो रहन्छ । यी सबै भूतका खेल हुन् । 
 जीवन दर्शन अंक ४ मा प्रकाशित

No comments:

Post a Comment