Friday, March 20, 2020

Dhir Bhandari's Blog Posts: समृद्धिको खोजी र हिरा खोज्ने किसान

Dhir Bhandari's Blog Posts: समृद्धिको खोजी र हिरा खोज्ने किसान: मान्छेले आफ्नो दृष्टिकोण बदलेर जीवनलाई  सकारात्मक दिशातिर मोड्न सक्छ । – विलियम जेम्स  हरेक मानिस सफल हुन चाहन्छ । आनन्दित हुन चाहन्...

समृद्धिको खोजी र हिरा खोज्ने किसान

मान्छेले आफ्नो दृष्टिकोण बदलेर जीवनलाई  सकारात्मक दिशातिर मोड्न सक्छ । – विलियम जेम्स 

हरेक मानिस सफल हुन चाहन्छ । आनन्दित हुन चाहन्छ । सुखी हुन चाहन्छ । कोही पनि असफल, दुःखी, तनावग्रस्त हुन चाहँदैन । तर, के हामी आपूmले चाहेको कुराको खोजी चाहिँ ठीक ढंगले गर्छौं ? खोज्ने तरिका चाहिँ ठीक छ ? जब खोज्ने तरिकै ठीक भएन भने चाहना राख्तैमा खोजेको कुरा भेटिँदैन । भेटिइहाल्यो भने चाहेजस्तो नहुन सक्छ । त्यसैले हामी जे कुराको खोजी गर्छौं त्यो खोज ीगर्ने तरिका पनि सही हुन आवश्यक छ । पहाडको टुप्पोमा गएर माछा खोजेर पाइँदैन, त्यसका लागि समुद्र, तलाउ वा नदीमा जानैपर्छ । 

यदि हामी सुख, शान्ति, समृद्धिको खोजी गर्छौं, आनन्द र प्रसन्न्ताको खोजी गर्छौं भने त्यसलाई प्राप्त गर्ने विधि र प्रकृया पनि सही सही हुन आवश्यक छ । 

हामीले सुनेका छौँ– प्रयोगले मानिसलाई सक्षम बनाउँछ । तर के गलत प्रयोग ग¥यो भने सक्षम हुन सकिएला ? माटोको काम गर्न काठको मिस्त्रीले जान्न्े कुरा प्रयोग गरेर अवश्य हुँदैन । मानिसको विडम्बना यहीँ छ । हामी आफूले जानेको, सुनेको, देखेको वा भोगेको कुरालाई नै सही र सत्य मानेर हिँड्छौँ । त्यसैलाई सही वा गलत के हो भन्न्े नसोची प्रयोग गर्न थाल्छौँ । अनि त चाहेको कुरा प्राप्त हुने कुरै हुँदैन । 

म याा एउटा कथा उल्ल्ेख गर्न चाहन्छु यही कुरासँग मिल्दोजुल्दो । कुनै एउटा गाउँमा एउटा गरिव किसान बस्थ्यो । ऊसँग सम्पत्तीका नाममा केही पशुहरु र एउटा सानो टुक्रा जमिन थियो । पशु चराउँथ्यो, खेतीपाती गथ्र्यो र जेनतेन जीवन गुजारा गथ्र्यो । एक दिन ऊ पशु चराउन जंगलतिर जाँदै थियो, बाटामा केही गफाडीहरू खुब रमाइलोसँग गफ गरेर बसिरहेका देख्यो । ऊ पनि थकाइ मार्ने विचारले त्यहाँ रोकियो । गफाडीहरू गफमा मस्त थिए, किसानको वास्ता गरेनन् । उसले ती गफाडीको गफ सुनिरह्यो ।

एउटाले भन्यो– “काम गर्दागर्दा बुढो भइसकियो, पैसा पनि कमाउन सकिएन, सुख र सन्तुष्टी पनि पाउन सकिएन, जति काम गरेपनि खाँनलाउनै धौधौ छ । पश्चिमतिरको एउटा पहाडको फेदीमा हिरा पाइन्छ रे भन्ने सुनेको छु, एउटा सानो टुक्रा भेटियो भने जीवनभर खानेलाउने कुराको ढुक्क हुन्छ भन्छन्, म त अब भएका सबै पशुहरु बेचेर खर्चको जोहो गर्छु र हिरा खोज्न जान्छु । कति दुःख गरेर बसिरहनू यो गाउँमा !”

“मैले पनि सुनेको त हुँ तर साह्रै कठिन छ रे हिरा खोज्न, लुटेराको पनि उस्तै बिगबिगी छ रे ।” अर्को चाहिँले थप्यो— “तर जे भए पनि एउटा सानो टुक्रा फेला पार्न सकियो भने त जिन्दगी बनि गो नि, के यस्तो दुःख गरेर बसिरहनु ! तँ जान्छस् भने मलाई पनि नछोड् है, म पनि जान्छु ।” 

निकैबेर यस्तैयस्तै कुरा गरे तिनीहरूले । बटुवाको कुरा सुनेर किसान पनि दङ्ग प¥यो । उसले सोच्यो– “हो त नि, हिराको एउटा सानो टुक्रा भेट्न पाए त जीवनको दुःखै सकिन्थ्यो । म पनि अब घर फर्केर त्यो सानो टुक्रो जग्गा बेच्छु, खर्चको जोहो गर्छु र हिरा खोज्न जान्छु, पश्चिमतिर ।”    

किसान गफाडीहरू भएको ठाउँबाट उठ्यो र बजारतिर लाग्योे । बजार गएर किनमेल ग¥यो र बेलुकीपख फर्केर घर आयो । बाटामा सुनेका कुराले उसलाई रातभर निद्रा पर्न दिएन । हिराको बारेमा सोच्दै रात  काट्यो । भोलिपल्ट बिहानै उसको घरमा एक जना अपरिचित मानिस आयो । त्यो अपरिचित मानिसले किसानलाई सोध्यो– “यो गाउँमा जमिन बेच्ने कुनै मानिस छन् ? छन् भने भेटाइदिनुस्, म एउटा सानो घर बनाउने जमिन किन्न चाहन्छु ।”

किसानलाई ‘के खोज्छस् काना आँखो’ भनेझैँ भयो । उसले मनमनै आफ्नै जमिन बेच्न पाए हुन्थ्यो भन्ने ठान्यो र भन्यो– “सानो टुक्रा जमिन त मेरो पनि छ । त्यसले हुन्छ भने मेरै जमिन तपार्इंलाई दिन्छु ।” 

उसले जमिन खरिदकर्तालाई आफ्नो जमिन घुमीघुमी देखायो । खरिदकर्ताले पनि जमिनको चारैतिर घुमेर हे¥यो । खेतको छेउछाउमा टल्कने ढुंगा देख्यो । उसलाई लाग्यो, यो जमिन त छँदै छ, यो टल्कने वस्तु हिरा पनि हुन सक्छ । खरिदकर्ता लोभियो । उसले ती ढुंगा हिरा नै हुन् भन्ने अनुमान गर्यो । आफ्नो पैसाले धान्ने ठिक्कको जग्गा पाएकाले उसले जमिन किन्ने विचार ग¥यो । मोलतोल मिलाएर जग्गा बेच्यो किसानाले । जमिन बेचेपछि हिरा खोज्नका लागि किसानसँग प्रसस्त पैसा भयो । उसले सोच्यो, ‘हिरा खोज्न निस्कने समय यही हो । अब भोलि बिहानै आपूmसँग भएका उँट लिएर हिरा खोज्न निस्कन्छु, एउटा टुक्रा हिरा भेटियो भने जीवन नै बदलिन्छ । अब पनि कति दुःख गर्नु यो गाउँमा !’ 

किसान उँट लिएर हिराको पहाड खोज्न गाउँबाट निस्क्यो । सोध्दैखोज्दै ठाउँ चहार्दा निकै वर्ष बित्यो । अफ्रिका, युरोप, मध्यपूर्वका भएभरका सबै पहाडका फेदी चाहा¥यो तर हिरा भेटिएन । हिराको पहाड पत्ता लाउन सकेन किसानले । 

बूढो भएर थला पर्न लागेको अवस्थामा मुस्तफा फेरि गाउँ फक्र्यो । खोला किनारमा बास बस्यो । बिहानै उठेर हेर्दा सूर्यको किरणसँगै खोला किनारमा बग्रेल्ती छरिएका ढुङ्गा चम्किरहेको देख्यो । केही ढुंगा टिपेर खल्तीमा हाल्यो र बास बसेको ठाउँमा लिएर आयो । वरपर नियालेर हे¥यो त्यो ढुंगा चम्किएको ठाउँ उसैले बेचेको जमिन थियो । अलि पर मानिसहरू काम गरिरहेका थिए । केही समयपछि उसको जमिन खरिदकर्ता पनि त्यहाँ आइपुग्यो । किसानले चम्किला ढुंगा देखाउँदै भन्योे– “साह्रै राम्रा ढुंगा रहेछन् यो खोलाको किनारमा । मन थाम्नै नसकेर केही ढुंगा खल्तीमा हालेर ल्याएको छु ।”

किसानको हातमा भएका ढुंगा हेर्दै जमिन खरिदकर्ताले भन्यो– “यो त हिरा हो । यहाँ हिराको खानी छ भन्ने थाहा पाएरै मैले तिम्रो जमिन किनेको थिएँ । यो खानीबाट मैले थुप्रै हिरा बेचेँ । तिमी पनि आइपुग्यौ, राम्रै भो । अब तिमी यहीँ बस । तिमीलाई चाहिनेजति हिरा मै दिउँला ।”

किसान निकै बूढो भइसकेको थियो । हिरा खोज्दाखोज्दा थाकेर गलिसकेको थियो । आपूmले जमिन बेचेर हिरा खोज्न निस्केको तर आफ्नै खेतमा हिराको खानी रहेको थाहा पाएर ऊ हुनसम्म मर्माहत भयो । व्यपारीको कुरा सुनेर अक्क न बक्क भयो । यतिका वर्ष हिराको खोजीमा बिताएर फेरि आफ्नै जमिनमा भएको हिरा देख्दा ठुलो पश्चाताप भयो उसलाई । 

मुस्तफालाई संसारै अँध्यारो भएजस्तो लाग्यो । चारैतिर अन्धकारै अन्धकार देख्यो उसले । व्यापारीको कुरा सुन्दासुन्दै ऊ पुर्लुक्क भुर्ईंमा ढल्यो । वरपरका मानिस जम्मा भए । हतारहतार पानी ख्वाए । मुस्तफाले संसार छाडिसकेको थियो । उसले पानी निल्न सकेन । 
हाम्रो जीवन बिताउने सोचको प्रतीक हो त्यो गाउँले किसान । आफ्नै जमिनमुनि भएको हिरा खोज्न नजानेर वर्षांैसम्म भौतारियो । जब समय बित्यो, बल्ल उसलाई थाहा भयो, उसकै जमिनमुनि रहेछ उसले खोजेको हिरा । 

हाम्रो जीवन बदल्ने, समृद्ध बनाउने हिरारुपि सोच सधैँ हामीभित्रै दबेर बसिरहेको हुन्छ । समयमा त्यसलाई चिन्न, खोज्न र पहिल्याउन नसक्ता समय त्यसै खेर गइरहेको हुन्छ । ती मौका चिन्ने शक्ति प्राप्त गर्न सक्यौँ, चिन्न सक्ने दृष्टि विकास गर्न सक्यौँ भने खोजिरहनै पर्दैन आफँै देखिन्छ । 

हामी अरुको खेतबारी राम्रो, अर्काको सन्तान राम्रो, अरुको काम राम्रो भनेर ईष्या गरिरहन्छौँ, अरुका वस्तु देखेर लोभिन्छौँ, अरु पनि तपाईंलाई देखेर त्यस्तै सोच्छन् । तर, फुत्किएर जब ती मौका टाढा हुन्छन्, खोज्ने शक्ति हराउँछ अनि बल्ल थाहा पाउछाँै, गरेको भए त हुने रहेछ भनेर होस आउँछ । समय गुज्रिसकेपछि चिनिएको अवसरले हामीलाई समृद्ध बनाउँन सक्दैन । जसरी हिरा खोज्ने त्यो अफ्रिकी किसानले आपैmँले बेचेको खेतमा हिरा छ भन्ने बुझ्न सकेन, हिरा भएको खेत बेचेर अर्केतिर हिरा खोज्न निस्क्यो, ठीक त्यसरी नै हामी पनि आपूmभित्रको हिरा नचिनीकनै जीवन बिताउँछौँ, बाहिर हिरा खोज्ने बहानामा ।

जीवनमा उन्नति र प्रगति गर्नका लागि आपूmलाई बदल्ने साहस, गहन अन्तर्दृष्टि, लामो धैर्य, सतत प्रयास, कठोर आत्मअनुशासन आवश्यक पर्दछ । तर हामी चुट्कीका भरमा जीवन बदल्न खोज्छौँ हिरा खोज्ने किसानजस्तै । हामी समस्यालाई कसरी लिन्छौँ ? समस्यालाई हेर्ने हामीभित्रको विद्यमान अन्तर्दृष्टि कस्तो छ ? त्यसलाई कसरी उपयोगमा ल्याउन सकिन्छ ? कसरी बदलेर अघि बढ्न सकिन्छ भन्नेबारेमा विचारै गरेका हुँदैनौँ । दृष्टि नबदली दृश्य बदलिँदैन । दृष्टि बदल्नका लागि चाहिन्छ एउटा शक्तिशाली विचार, जसले हामीलाई निरन्तर घच्घच्याइरहोस् र त्यसलाई सफल पार्न एकाग्रचित्त बनाओस् । 

बाहिरको परिस्थितिलाई प्रभावकारी रुपले बदल्नका लागि आपूm पनि भित्रबाट त्यतिकै प्रभावकारी रुपले बदलिनु पर्दछ । आपूmलाई बदल्नका लागि सबैभन्दा पहिले आपूmमा अन्तर्निहित दृष्टिकोण, सोच, चिन्तन प्रणालीलाई बदल्ने जिम्म्ोवारी लिने अग्रसरता र आफ्नो जीवनको स्रष्टा म आपैm“ हो भन्ने अनुभूति गर्नु जरmरी हुन्छ । जबसम्म हामी त्यो जिम्मेवारी स्वीकार गर्न तयार हु“दैनौ र त्यो अनुभूतिको स्तरमा पुग्दैनौँ तबसम्म समस्याहरू ज्यु“कात्यु“ रहन्छन् । हाम्रो जीवन बदलि“दैन ।

Friday, March 13, 2020

Dhir Bhandari's Blog Posts: मजदुर, मूर्ति र सफलता

Dhir Bhandari's Blog Posts: मजदुर, मूर्ति र सफलता: कुनै एउटा गाउँनजिकै निर्माण कार्य चलिरहेको थियो । मानिसहरु काम गरिरहेका थिए । एक जना बटुवा त्यही ठाउँ भएर कहीँ जाँदै थियो । ऊ त्यहाँ केही...

मजदुर, मूर्ति र सफलता


कुनै एउटा गाउँनजिकै निर्माण कार्य चलिरहेको थियो । मानिसहरु काम गरिरहेका थिए । एक जना बटुवा त्यही ठाउँ भएर कहीँ जाँदै थियो । ऊ त्यहाँ केहीबेर रोकियो र निर्माण कार्यमा संलग्न मजदुरहरुले गरिहेका कामतिर एकोहोरियो । केहीबेर नियालेपछि निर्माण कार्य भइरहेको ठाउँनजिकै गयो र निर्माण हुँदै गरेको संरचना नियाल्यो । त्यो संरचनाले आकार लिइसकेको थिएन । त्यो न भवन न घरजस्तो थियो न कुनै अन्य आकृति

। भर्खर काम सुरु भएकाले त्यसले प्रस्ट आकार ग्रहण गरिसकेको थिएन । बटुवालाई उत्सुकता भयो । उसलाई त्यहाँ भइरहेको कामका बारेमा जान्ने जिज्ञासा बढ्यो । ऊ एक जना कामदारनजिकै गएर उभियो र सोध्यो— “तपाईंहरू यहाँ के गर्दै हुनुहुन्छ ?”

“पेट पाल्नका लागि ईंटा बोक्तैछु, देख्नु भएन ?” ईंटा बोक्ने काम गर्दै गरेको मजदुरले अलि झर्केजस्तो गरी प्रश्नमै जबाफ दियो ।

बटुवाको जिज्ञाशा त्यतिले शान्त भएन । ऊ फेरि अर्को कामदारतिर फक्र्यो र सोध्यो— “भाइ, तपाईं यहाँ के बनाउँदै हुनुहुन्छ ?”

“बालबच्चा पाल्ने मेलो गर्दैछु । दिनभरि यहाँ ईंटा बोक्छु, अलिकति ज्याला पाउँछु, त्यही कमाइले जहान छोराछोरी पाल्छु ।” दोस्रो मजदुरले जबाफ दियो ।

बटुवा अलि परको कामदारतिर बढ्यो । ऊ खूब मिहिनेत गरेर मूर्ति कुँद्दै थियो । त्यो देखेर बटुवाले सोध्यो— “भाइ, तपाईं यो के गर्दै हुनुहुन्छ ?”

मूर्तिकार आफ्नै धुनमा मूर्ति कुँ्द्न व्यस्त थियो । उसले बटुवातिर नफर्किकनै जबाफ दियो— “म यो गाउँमा बन्न लागेको नयाँ मन्दिरमा राख्ने भगवानको मूर्ति बनाउँदै छु । यो एउटा दुर्लभ अवसर आएको छ मेरो जीवनमा । म मेरो जीवनकै उत्कृष्ट मूर्ति बनाएर मन्दिरमा स्थापना गर्न चाहन्छु ।”

मूर्तिकारको जबाफ सुनेपछि बटुवा थुचुक्क बस्यो र मूर्तिकारले गरेको काम खूब ध्यान दिएर हेरिरह्यो । मूर्तिकार कतै नहेरी मूर्ति कुँद्नमै व्यस्त भइरह्यो । बटुवाले फेरि प्रश्न ग¥यो— “यो मूर्ति बनाएबापत तपाईंले कति पैसा पाउनुहुन्छ ? काम सकिन त निकै दिन लाग्ला जस्तो छ ।”

बटुवाको दोस्रो प्रश्न सुनेपछि भने मूर्तिकार बटुवातिर फक्र्यो र उसको अनुहारमा नियाल्यो । फेरि मूर्ति कुँद्न तल्लिन हुँदै भन्यो— “मैले यो कामबाट पैसा पाउँ वा नपाउँ तर म यसै गाउँको मूर्तिकार भएकाले यो गाउँको मन्दिरका लागि मैले उत्कृष्ट मूर्ति चाहिँ बनाउनै पर्छ । त्यसैका लागि म यो मिहिनेत गरिरहेको छु ।”

मूर्तिकारको जबाफपछि बटुवासँग प्रश्न बाँकी रहेन । ऊ त्यहाँबाट उठ्यो र बाटो लाग्यो । मूर्तिकार र कामदारहरू आआफ्ना काममा लागे । तर पछिल्लो कामदार (मूर्तिकार)ले दिएको जबाफ उसको मनमस्तिष्कमा घुमिरह्यो ।

केही वर्षपछि त्यो बटुवा फेरि त्यही गाउँ हुँदै कहीँ जाँदै थियो । बाटाको छेउमा भव्य मन्दिर बनिसकेको थियो । वरिपरि थरिथरिका कलात्मक मूर्तिहरू थिए । हुनसम्म कलात्मक मूर्तिहरू देखेपछि उसले झ्वाट्ट सम्झ्यो पहिलेको मूर्तिकार । उसले चारैतिर हे¥यो र बाटाको छेउमा उभिइरहेका एक जना युवकलाई मूर्तिकारका बारेमा सोध्यो ।

युवकले भन्यो— “को ? त्यही मन्दिरमा राख्ने मूर्ति बनाउने मूर्तिकार ? ए, ऊ त अहिले ठूलो उद्यमी बनिसक्यो । कहाँ पहिलेको जस्तो छ र !”

युवकको कुराले बटुवालाई त्यो मूर्तिकारसँग भेट्ने उत्कण्ठा बढ्यो । ऊ मूर्तिकारलाई भेट्न उसको कार्यशालामा पुग्यो । मूर्तिकार अब मूर्ति कुँद्नभन्दा अरुलाई सिकाउन, अह्राउन, सम्पर्क बढाउनमै व्यस्त थियो । निकैबेर कुरेपछि उसले बल्ल्तल्ल भेट गर्न पायो ।

मूर्तिकारले विनम्र भावमा बटुवालाई सोध्यो— “केही सेवा हजुर ?”

बटुवासँग कुनै प्रश्न थिएनन् । उसले त्यहाँको अवस्था देखेरै सबै कुरा बुझिसकेको थियो । मूर्तिकारको व्यवहारले थप कुरा बताइसकेको थियो । उसको व्यस्तताले नै धेरै कुरा भनिसकेको थियो । तर पनि उसले सोध्यो— “कसरी प्राप्त भयो यति उच्च सफलता ? म त छक्क परेँ तपाईंलाई देखेर ।”

मूर्तिकारले मुसुक्क हाँस्तै कार्यशाला भ्रमणको अगुवाइ ग¥यो र भन्दै गयो— “म त त्यही तपाईंसँग भेट हुँदा धुलोमा बसेर मूर्ति कुँदिरहेको मानिस नै हुँ तर के गर्नु भ्याउँदिन अब । मेरा हात बढेका छन्, मन फैलिएको छ । सहयोगी बढेका छन् । मैले अब उनीहरुलाई पनि सिकाउनु छ ।”

मूर्तिकारको भव्य कार्याशालाले र त्यहाँ काम गर्ने मजदुरहरुको संख्याले बताइरहेको थियो, अब ऊ सामान्य मूर्तिकार मात्र रहेन । ऊ अब उद्यमी भइसक्यो । सफलताले उसलाई काखमा राखेर म्वाइँ खाँदै छ । निकै धेरै मानिस उसको कार्याशालामा काम गरिरहेका थिए । अब ऊ मजदुर होइन मालिक र उद्यमी बनिसकेको थियो । त्यो देखेर बटुवा दङ्ग प¥यो । मूर्तिकारले बटुवालाई सम्मानसाथ सम्झेर आएकोमा कृतज्ञता व्यक्त गर्दै भोजन गरायो र विदाइ ग¥यो । बटुवा आफ्नो गन्तव्यतिर लाग्यो ।

बटुला मूर्तिकारसँग छुट्टिएर केही कदम पर पुगेको मात्रै थियो, पहिले भेटेका ईंटा बोक्ने दुई जना मजदुर भेटिए । उनीहरू मन्दिर वरपर पहिलेकैजस्तो काम गरिरहेका थिए । उनीहरूको जीवनमा कुनै परिवर्तन आएको थिएन । केही पारिश्रमिक पाउने आशामा मजदुरी नै गरिहेका थिए ।

किन यस्तो भयो ? तीनै जना कामदार मन्दिरकै लागि काम गर्दै थिए । तीनै जना मजदुर नै थिए । तर उनीहरूको जीवनमा किन यति ठूलो अन्तर ? एक जना सफलताको शिखरमा अनि अरु चाहिँ जस्ताको तस्तै ।

जीवन नदेखिने र देखिने दुवै तत्वको समन्वयमा चल्छ । हामी देखिने कुरालाई त ठम्याउँछौँ तर नदेखिने कुरालाई अध्ययन, अनुसन्धान र निरीक्षण गर्दैनौँ । बाहिरी रुप नै हाम्रा लागि महत्वपूर्ण हुन्छ, त्यसकै पछि दगुरिरहेका हुन्छौँ । माथि उल्लेल गरिएका तीन जनामा नदेखिने भित्री तहको जुन फरक थियो त्यसले नै उनीहरुलाई भिन्न बनाइदियो । उनीहरुभित्र रहेको सोच्ने तरिका, उनीहरुभित्रको भावना अनि उनीहरुले गर्ने व्यवहारको त्रिवेणी नै हो उनीहरु बाँचेको जीवन । सफलता र असफलता ल्याउने पनि यिनै तीन कुरा हुन् । हामी आपूmभित्रको भावनालाई कहिल्यै वास्ता गर्दैनौँ, विचारलाई, तर्कलाई, सूचनालाई महत्व दिन्छौँ, वरपरको वातावरणलाई आपूm अनुकूल भएन भन्छौँ र त्यसलाई नै आपूm असफल हुनुमा दोषी देख्छौँ । मुख्य दोष कहाँ छ ? त्यसको खोजीमा न त समय दिन्छौँ, न मिहिनेत ! हामीलाई तत्कालै चमत्कार चाहिन्छ । धैर्य गर्नेतिर लाग्दैलाग्दैनौँ अनि त जीवन तनावतिर एकोहोरिन्छ, शान्ति र सफलता हराउँछ ।

त्यो मन्दिर बनाउने तीन जना मजदुरभित्रको सोच र कामलाई विचार गरौँ त ! तेस्रोको सोचले ऊ सफल भयो अरु दुई जना सोचकै कारण गरिबका गरिब रहे । जत्रो भाँडो छ त्यति नै अडिन्छ भिक्षा । दिनेले धेरै दिन चाह्यो तर तपाईंले सानो भाँडो लिएर माग्न जानुभएको छ भने कहाँ भनेजति पाउनुहुन्छ र ? सफल हुने र असफल हुनेहरुमा फरक यही हो । हरेक मानिसले आफूलाई भावनात्मक रुपमा धैर्यवान्, दीर्घकालीन सोचका साथ यसरी अगि बढ्छु भन्ने लक्ष्यचिन्तन नगरी अगाडि जे आयो त्यसैका पछि लाग्ने गर्नाले सफलताको सिँढी चढ्न कठिन भएको हो । धैर्य गरेर हेरौँ, लगातार मिहिनेत गरौँ, भावनात्मक रुपमा आपूmलाई लक्ष्यउन्मुख बनाऔँ, सफलताका सिँढी तपाईंहाम्रो अगाडि सहज भएर तेर्सिन्छ । अब खोज्नै पर्दैन ।

तीन जना कामदारका तीन भिन्नभिन्न सोचाइ थिए कामका बारेमा । पहिलो आफ्नै पेटको लागि काम गर्दै थियो । दिनभरि काम गर्ने र आफ्नो पेट भर्ने सोचले काम गरिहेको थियो । त्यही नै उसको अन्तिम लक्ष्य थियो । दोस्रोको लक्ष्य परिवार पाल्नु थियो, दिनभर काम गरेर केही कमाउने र परिवार धान्ने सोचले काममा लागेको थियो । तेस्रोको विचार अघिल्ला दुई जनाकोभन्दा भिन्न थियो । पैसा त उसलाई पनि चाहिएको थियो तर ऊ त्यसमा मात्र सीमित थिएन । ऊ कसरी उत्कृष्ट कला सिर्जना गर्न सकिन्छ भन्ने सोचमा केन्द्रित थियो । सुन्दर मूर्ति बनाउनु उसको मुख्य लक्ष्य थियो भने पैसा दोस्रो । त्यही सोचबाट ऊ काम गरिरहेको थियो । 

तीन जनाको सोचामा रहेको यही भिन्नताले मूर्तिकार केही समयपछि उद्यमी बन्न सक्यो भने अरु दुई जना मजदुर नै रहे वर्षौं बितिसक्ता पनि ।

समृद्धि, सम्पन्नता र सफलता प्राप्तिका लागि सर्वप्रथम सोचाइ र भावनामा समृद्धि आउनुपर्दछ । सोचाइमा दरिद्रता, गरिबी र पछौटेपनको सोच बोकेर कुनै पनि व्यक्ति समृद्ध, सफल र महान हुन सक्दैन । समृद्ध सोचको शुरुआत हुन्छ, हाम्रो आफ्नो अन्तर्दृष्टिको उत्खनन, निक्र्योल र परिवर्तनको प्रक्रियासँगै । त्यसका लागि आवश्यक छ, आफ्नो क्षमताको, रुचिको, भावनाको उत्खनन । यसमा काम नगरीकन कुनै पनि मानिस सफलताको स्वाद चाख्न समर्थ हुन असम्भव छ ।

तपाईंले कुनै पनि रुखलाई हेर्नुभयो भने सबैभन्दा ठूलो र बलियो रुखको जरा सबैभन्दा लामा र बलिया हुन्छन् । जरा बलियो नभई रुख थामिन सक्तैन । बुद्धि र सूचनाभन्दा हाम्रा भावना बलवान छन् । भावनालाई स्थिरता दिन्छ हाम्रो सोच्ने तरिकाले, लक्ष्यउन्मुख कार्यशैलीले, संकल्प शक्तिले । त्यसलाई नबढाई हामी बलिया जरारहित हुन्छौँ । जरा कमजोर भएको रुख कमजोर हुन्छ, सानोतिनो हावाले हल्लाएर लडाइदिन्छ ।

हाम्रो मनमा जस्तो बीज रोप्छौँ, त्यस्तै बाली लाग्छ जीवनमा । बाली लगाउनेबित्तिकै फल पाइन्छ र ? अनि त्यसको लागि सही र उन्नत बीऊ रोप्नु पर्दैन र ? अवश्य पर्छ । बीऊको गुणात्मकता अनुसार नै तपाईंले फल पाउनु हुन्छ । हाम्रो बीऊको गुणत्मक पक्ष चाहिँ हाम्रो सोच्ने तरिकामा हुन्छ । त्यसैले असल सोचौँ, सकारात्मक सोचौँ, बृहत् सोचौँ । अनि बल्ल हाम्रो जीवनमा सही फल लाग्न सक्छ । 

बाँकी क्रमशः ..........अर्को हप्ता ... शनिवार


Sunday, February 16, 2020

हाँसो माग्ने युवती

सियानको टेराकोटा आर्मी हेरिसकेर  बाहिर निस्केपछि रेष्टुराँअगाडि उभिएर मलाई अथ्र्याउँदै उनले भनिन्—
“मिस्टर भण्डारी, म क्षमा चाहन्छु, तपाईंलाई उपयुक्त हुने भोजन यहाँका रेष्टुराँमा पाउनै मुस्किल छ । बल्लतल्ल अलिकति दही, उसिनेको मकै अनि तारेको आलु अर्डर गरेकी छु तपाईंको लागि । अरुलाई समस्या छैन, सबैलाई केएफसीमा चिकेन अर्डर गरेकी छु । भरे चाहिँ सियानकै विशेष खाले साकाहारी रेष््टुराँमा लान्छु तपाईंलाई । अहिले चाहिँ नराम्रो नमानी यही खानुस् ल !”

कुनै मायालु प्रेमिकाले आफ्नो प्रेमीलाई फकाउन गरेको आग्रहभन्दा कम थिएन उनको त्यो आग्रह । शायद विदेशीहरुलाई पाहुनाको रुपमा बोलाएपछि उत्कृष्ट सेवा दिनु र उनीहरुको खानपान र रुचिको मर्यादा राख्नु पहिलो कर्तव्य ठानेकी थिइन् उनले । मैले उनको त्यो आग्रहलाई सहज रुपमा स्वीकारेँ । आखिर अस्वीकार गरेर अर्को विकल्प पनि त थिएन मसँग । उनले हुनेसम्मको राम्रो व्यवस्था मिलाईसकेकी थिइन् ।

“मिस सुन, म यहाँ रुचिअनुसारका भोजनकै लागि आएको होइन, चिनीयाँ सत्कार मलाई थाहा छ । यहाँको खानपान बारे पनि जानकार छु, धेरथोर । तपाईंले गर्न सक्ने जति त गरिसक्नुभयो । आखिर केही घण्टाको त कुरा हो, भोक मेटाउन यति भयो भने पर्याप्त भइहाल्छ, चिन्ता नलिनुस् ।” मैले उनको त्यो आग्रहलाई सामान्य रुपमा लिँदै भनेँ ।

मैले उनलाई सजिलो बनाइदिएँ । उनी मुस्कुराइन् र मतिर फर्केर फेरि थपिन्—“यो समझदारीका लागि धन्यवाद, मिस्टर भण्डारी !” उनले भन्दै गईन्— “यो समूहका केही सहभागीहरु असाध्यै अप्ठ्यारा छन् । खानपिन व्यवस्था मिलाउन साह्रै गाह्रो भएको छ । यो भएन, त्यो भएन भनेर हैरान पारिरहन्छन् । आखिर हामीले पनि रेष्टुराँकै सेवामा भर पर्ने हो, उनीहरुको संस्कार र प्रचलन ठ्याक्कै मिल्ने त कहाँ पाइन्छ र विदेशमा । यो कुरा उनीहरुलाई भनेको भए त कति रिसाउँथे होलान्, तपाईंले त कति सहज रुपमा लिइदिनुभो यो कुरा ! यो महानताका लागि हार्दिक आभार ।” 

फरक रुचिका मानिसलाई व्यवस्थापन गर्नुपर्दाको कठिनाई व्यक्त गरिरहेकी थिइन् उनी मसँग । शायद धेरैथरि संस्कार र संस्कृतिका मानिसहरुलाई एउटा कार्यक्रममा बोलाएर सबैलाई उपयुक्त हुने व्यवस्थापन गर्न निकै कठिन भएको थियो उनलाई । खासगरी अफ्रिका र मध्यपूर्वबाट आएका सहभागीहरु खानपिनमा निकै नै नाकनिक गर्ने र यो भएन त्यो भएन भनिरहन्थे । त्यही पीडा पोखेकी थिइन् सुनले मसँग त्यस दिन ।
......
उन्नत कृषि प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन म चीनको शाङ्सी प्रन्तको सानो शहर याङलिङ पुगेको थिएँ, सन् २०१० को अगस्टमा । उच्च कृषि प्रविधिको ठूलो प्रदर्शनी फार्म रहेको यो शहर उन्नत कृषि, सिँचाइ अनि सुख्खा क्षेत्रमा गरिने खेती प्रणालीसम्बन्धी अध्ययनका लागि चीनकै एक मुख्य केन्द्र मानिन्छ । प्रान्तीय राजधानी शहर सियानबाट केही पश्चिममा अवस्थित यो सानो शहर साँच्चिकै सुन्दर थियो ती सुन युन्नाजस्तै । 

सुन सियान शहरकी बासिन्दा । कृषि इञ्जिनियरिङमा स्नातक गरेकी । अङ्ग्रेजी भाषा पनि निकै राम्रो थियो उनको । त्यसैले उनलाई कार्यक्रमको संयोजक बनाइदिएको थियो आयोजक संस्थाले । उनी कृषि प्रदर्शनी केन्द्रको उपनिर्देशक पदमा कार्यरत रहेको कुरा हामीलाई प्राप्त जानकारी पुस्तिकाबाटै थाहा पाइसकेको थिएँ मैले । पहिलो दिनको परिचय गर्दा नै मलाई उनले नेपालको ह्याप्पिनेस इन्डेक्सको बारेमा चर्चा गरेकी थिइन् । असाध्यै शालीन र फरासिली सुन झलक्क हेर्दा नै आँखा लोभ्याइहाल्ने सुन्दरताकी धनी थिइन् । उमेर, उचाइ, मोटाइ सबै दृष्टिले उनलाई खोट लगाउने ठाउँ थिएन । सबैभन्दा महत्वपूर्ण थियो उनको आतिथ्यभाव, शालिनता अनि मन्दमुस्कान । सधैँ मुस्कुराइरहेझैँ लाग्थिन् उनी । 

चिनियाँहरु नेपालीलाई निकै माया गर्छन् । नेपालीहरुले उन्नति गरुन्, धनी होउन्, आफूले सकेको सहयोग गरौँ र उनीहरुसँग व्यापार र व्यवसाय विस्तार गर्न सकियोस् भन्ने भावना आम रुपमा नै चिनियाँहरुमा पाएको छु मैले पटकपटक चीन जाँदा । यसमा उनीहरुको पनि व्यापारिक स्वार्थ लुकेको होला तर त्यसभन्दा ठूलो थियो उनीहरुको उन्नति र प्रगतिको कामना । यिनीहरु धनी भए भने, धेरै खर्च गर्ने क्षमता बनाए भने छिमेकीको नाताले हामीलाई पनि फाइदा हुन्छ भन्ने भावना मैले आम चिनीयाँहरुमा पाएको छु । 

“पश्चिमा देशहरु सहयोग गर्दा दवाब र प्रभाव प्रयोग गर्छन् हामी अगि बढ्न र उन्नति गर्न सहयोग र प्रेरणा जगाउने गर्छौं” भन्ने गर्थे चिनियाँ युवाहरु मसँगको कुराकानीमा । सुनलाई मैले धेरै पटक चीनको यो भावना बारे कुरा गरेको थिएँ । उनले यसमा चीनको मनोविज्ञान कस्तो छ भनेर लामो दार्शनिक व्याख्या नै गरेकी थिइन् । उनले भनेकी थिइन्— “चीनियाँ सभ्यता जमिनमा हुर्केको सभ्यता हो समुद्री किनारमा हुर्केको सभ्यता होइन । जमिनमा हुर्केको सभ्यताले अरुलाई प्रभाव र दबावमा विश्वास गर्दैन, समुद्री किनारको सभ्यतामा हुर्केकाहरुले जहिले पनि अरुलाई आधिपत्यमा राख्न खोज्छन् । त्यसैले पश्चिमाहरु धाक, धम्की र आधिपत्यबाट आफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् तर चीन त्यसो गर्दैन । ऊ त्यहाँका मानिसको मन जितेर प्रभावित पार्न चाहन्छ ।” 

लामो समयको (करिब ३ हप्ताको) बसउठकै कारणले होला उनीसँग मेरो कुराकानी अलि बाक्लै हुन्थ्यो अन्य देशका सहभागीहरुसँगभन्दा । छिमेकी हुनुको फाइदा पनि थियो कि, यसै भन्ने सकिन्न तर निकटता अलि बढी नै थियो हाम्रो । त्यति खुलेर कुरा गर्ने परिवेश त्यसैले बनेको थियो ।
....... 
“देश गरिब भए पनि नेपालीहरु कसरी त्यति आनन्दित हुन सकेका ! कति खुलेर हाँस्छौ हगि तिमीहरु !” हाम्रो खुसी र हाँसोको ईष्र्या गर्दै एक दिन उनले मलाई भनेकी थिइन् । 

“हाँस्न र आनन्दित हुन पनि पैसा चाहिन्छ र ?” मैले उसलाई प्रश्नमै जबाफ फर्काएको थिएँ । उनी मेरो कुरा सुनेर निकै गम्भीर भएकी थिईन् । 

“हामीलाई त त्यसरी खुलेर हाँस्नै अप्ठ्यारो लाग्छ । चिनियाँहरु त तिमीहरु जसरी हाँसेको मैले कहिल्यै देखेकी छैन । जहिल्यै, पैसा, व्यापार, कमाइ यस्तैयस्तैको बोझले थिचिएका छौँ हामी चिनियाँहरु ।” एउटा गाउँको भ्रमण गर्न जाँदै गर्दा बाटोमा उनले मलाई भनेकी थिईन् । उनका यी शब्द ओठबाट मात्र होइन हृदयबाटै निस्केका थिए । मैले निकै पटक चर्को स्वरमा बाझैझैँ गरी कुराकानी गर्ने चिनियाँहरुको समूह त देखेको थिएँ तर गलल्ल दिल खोलेर हाँसेको भने देख्न पाएको थिइनँ । सधैँ गम्भीर, सधैँ चिन्तित जस्ता लाग्थे मलाई चिनियाँहरु । मन्द मुस्कान आक्कलझुक्कल देखिए पनि उन्मुक्त रुपमा हाँसो ननिकाल्नु शायद चिनियाँहरुको संस्कार नै होला । शायद चीनमा दिल खोलेर हाँस्ने चलन नभएर नै होला त्यहाँको साहित्यमा पनि हाँसोको चर्चा कमै पाइन्छ ।  

“हाँस्न बिर्से पनि संसारलाई खुसी दिँदैछन् चिनियाँहरुले सस्ता सामान बनाइदिएर । अरुलाई हँसाउँदा आफैँ हाँस्न बिसेका पो हुन् !” मैले ठट्टा गरेको थिएँ सुनसँग । 

त्यो दिनदेखि मसँग मिस सुन अझ नजिक भएकी थिइन् । घरिघरि भन्थिन्— “मिस्टर भण्डारी, तपाईंको हाँसो ओठबाट होइन दिलबाट निस्केझैँ लाग्छ मलाई । मलाई यसरी हाँस्न कस्तो मन लाग्छ तर फेरि ....।” उनी बीचैमा रोकिन्थिन् भन्दाभन्दै । शायद उनलाई हामीजसरी दिल खोलेर हाँस्न अप्ठ्यारो लाग्थ्यो । अरुले के भन्लान् भन्ने पनि लाग्दो हो शायद । म जबजब उन्मुक्त रुपमा हाँसेको हुन्थेँ, उनी ईष्र्यालु आँखाले हेर्थिन् मलाई अनि फिस्स मुस्कान फाल्थिन् केही भनेझैँ गरी । मलाई लाग्थ्यो उनी हाँस्न सिक्तैछिन् । 

हाँस्ने मान्छे निरोगी हुन्छ, खुसी हुन्छ भन्छन् जापानीहरु । त्यसैले संसारकै खुशी मानिन्छन् जापानका मानिसहरु अनि दीर्घजीवि पनि छन् उनीहरु । चिनियाँहरुलाई अध्यक्ष माओले युद्धकालमा आह्वान गरेका थिए, सजग हुन तर उनीहरुले सजगतालाई गम्भीता भनेर बुझे क्यार भन्ने अनुमान छ मेरो । त्यही भएर उनीहरुमा गम्भीरता ज्यादा र हल्कापन कम पाउँछु म । नहाँस्नेहरुको मुख पनि सानो हुन्छ भन्छन् शरीर विज्ञानका ज्ञाताहरु । चिनियाँहरुको मुख पनि सानो हुन्छ, शायद नहाँसेर पो हो कि ! 

मैले सुन युन्नालाई धेरै पटक पढ्ने प्रयास गरिरहन्थेँ भेट हुँदा । अनेक पटक मैले उनको अनुहारमा हल्का मुस्कान देखेको थिएँ । फिस्स मुस्कुराउँथिन् उनी । उज्यालो र हँसिलो अनुहारमा सधैँ तरोताजा र ऊर्जावान् देखिने सुनको स्फूर्ती सबैलाई लोभ्याउने खालको थियो । बिहान ८ बजे नै हामीसँग आइपुग्ने सुन राति १० बजेसम्म हामी बसेको होटलमै हुन्थिन् । घरमा केही कामै हुँदैनझैँ गरी आफ्नो जिम्मेवारीमा तल्लीन रहने त्यो युवतीको घरायसी जीवन कसरी व्यवस्थापन हुन्छ होला ? मलाई भित्रभित्रै खुलदुली भइरहन्थ्यो । 

उनी जस्तो अनुहार लिएर बेलुका हामीसँग छुट्टिन्थिन् भोलिपल्ट भेट्ता त्यस्तै अनुहारमा हुन्थिन् । मानौँ उनी रोबोट हुन्, सधैँ एकैनास रहिरहने । ढिलोचाँडोको वास्ता नगरी आफ्नो जिम्मेवारी पूरा गर्न रत्ति पनि नचुक्ने त्यो चीनियाँ युवतीको ऊर्जा कहिलेकाहीँ म आफ्ना देशका कर्मचारीहरुको अवस्था र कार्यशैलीसँग दाँजेर हेर्थे । दशथरि वहाना बनाएर नथाक्ने, मौका पायो कि कामचोर बनिहाल्ने हाम्रा कर्मचारी अनि बिहान आउँदाको अल्छिपन, हतारो । छिटो कार्यालयबाट निस्कन पाउँदा ठूलो विजय प्राप्त गरेझैँ ठान्ने हाम्रा कामदार र कर्मचारीहरु कहिले होलान् सुन युन्ना जस्ता ? मेरो मन चीनबाटै नेपालका अफिसका कर्मचारीहरु पढ्न आइपुग्थ्यो । अनि मन बुझाउँदै सोच्थेँ, एक दिन त यस्तो नभई सुख्खै छैन । अवश्य हुन्छ । यही आशाले मलाई सुन युन्नाको अनुहारमा देखिने सन्तुष्टि, कर्मठपन र आन्तरिक ऊर्जालाई सम्मान गर्न बाध्य बनाउँथ्यो । 

म मनमनै सोच्थेँ, — “हामी धेरै हाँसिसक्यौँ । हामी धेरै खुशी भइसक्यौँ । त्यसैले हामी अब खुशीसँगै सुनजस्तै जिम्मेवार बन्नु छ । उनीजस्तै ऊर्जावान् बन्नु छ हामी पनि । किनकि खुशी हुँदाहुँदै कहीँ हामीले तिम्रो जस्तो कर्मठता नै पो भुलेका हौँ कि ! अनि तिम्रो जस्तो कामप्रतिको इमान र लगाव नै भुलेका हौँ कि ! त्यसैले मलाई तिम्रो जस्तो काम गर्ने प्रेरणा, ऊर्जा र साहस देऊ, म तिमीलाई हाँसो उपहार दिएर जान्छुु ।”
.......
समयको चक्र स्थिर कहाँ हुन्छ र ! सुन र मेरोबीचमा पनि त्यो चक्र स्थिर भएन, चलिरह्यो निरन्तर । समयचक्रले मेरो घर फर्कने दिनको गोरेटो बनाउँदै गयो, सुनको भने त्यहीँ स्थिर गरिदियो । बिहानै उत्साह बोकेर आउनु, जिम्मेवारी पूरा गर्नु र अतिरिक्त समयसम्म बसेर सबै कुराको व्यवस्थापन गर्नु उनको दिनचर्या थियो । 

फर्कने दिनहरु नजिकिन थाले । आपसी माया र प्रेमको झोली भरिँदै थियो सबैको मनमा । त्यो भारी मनको झोलामा शाङ्सी बसाइका तीन हप्ताका सम्झना अटेसमटेस भएर कोचिएका थिए । त्यो झेली कसैले एसियाभरि लिएर जाँदै थिए त कसैले अफ्रिकाभरि । म भने उनी उता म यता भनेझैँ नजिकैको हिमालवारी फड्को मार्ने तयारीमा थिएँ । छुट्टिने दिनगन्तीसँगै सुन युन्नाको हँसिलो र कर्मठ अनुहाुर, मेरो हाँसोप्रति उसको लोभलाग्दो नजर, उसको त्यो जिम्मेवारीबोधले भरिएको ऊर्जाको छविचित्र, विनम्रता र आतिथ्यको न्यानोपनले मेरा पाइला र हृदय दुवैलाई भारी बनाउँथ्यो । म चाहन्थेँ म सुनलाई नजिक देखिरहूँ, हाँस्न सिकाइरहूँ । अनि सबैभन्दा गह्रौँ उसका ती अभिव्यक्तिका उपहारले सधैँ घेरिईरहूँ, उनको सुन्दरताको छहारीमा रमाइरहूँ तर सोचेजस्तो त कहाँ हुन्छ र जीवन ! बिदाइको गह्रौँ भारीसाथ म हिमालवारि फर्कने सुरसार गर्दैथिएँ । 

बिदाइ भोजको बेला मनजिकै आएर बसिन् सुन । सँगै बसेर हाँस्तै खाना खायौँ हामीले । खाना खाइसकेपछि मलाई सानो उपहार दिँदै भनिन्— “यो सानो उपहार सम्झनाको लागि अनि सबैभन्दा बढी त तपाईको त्यो मुक्त हाँसोको लागि ....। म तपाईंको हाँसो सिक्न चाहन्छु ।”

त्यसपछिको सम्वाद शब्दभन्दा पर थियो, आँखामा जुधिरहेका आँखाले भनिरहेका थिएँ भित्री मनका कुरा । 
छुट्टिँदै गर्दा अनारदाना खोलेर मेरो हाँसो सपटी लिएर उनले भनिन्— “मिस्टर भण्डारी, तपाईंको उन्मुक्त त्यो हाँसो मलाई साह्रै मन पर्यो, सक्नुहुन्छ भने मलाई छाडेर जानुस् है ! म यो हाँसो चिनियाँहरुलाई नेपालको उपहार भनेर बाँड्नेछु ।” 

मैले त्यतिबेला ऊसँग आँखाको सम्वाद पनि गर्न सकिनँ । आँखा र हृदयमा एकसाथ उर्लिरहेका कोशी र कर्णाली सँभाल्दै मैले हिमाल नाप्ने पाइला अगि बढाएँ । अलि पर पुगेर हेर्दा सुन युन्ना मेरो हाँसो सापटी लिएर मतिरै फर्कारहेकी थिइन्, म भने उनको सम्झनाका गह्रौँ पाइला उचालेर ट्याक्सीतिर बढाइरहेको थिएँ । 
.......
करिब एक वर्ष कट्नै लाग्दा एउटा इमेल आयो सुनको, छोटो समाचारसहितको । उनले लेखेकी थिइन्— “मेरी एउटी छोरी जन्मेकी छे । उसलाई तपाईंसँग सापटी लिएको हाँसो हस्तान्तरण गर्ने प्रयास गर्दै छु । आशा छ तपाईंको हाँसो उसले सिक्ने छ । उही, सुन युन्ना ।”

इमेल पढिसकेपछि घोरिएँ, हाँसो माग्ने युवती हाँसो फर्काउँदै छ मलाई नै । मज्जाले हाँसे फेरि एकपटक सुन युन्नासँग बिताएको शाङ्सी बसाइका पत्र पल्टाउँदै र छोटो प्रत्युत्तर इमेल पठाइदिएँ हाँसोयुक्त इमोजीसहितको । 
२०७६।११।४


       




Tuesday, September 10, 2019

भोकमरी, नाकाबन्दी र कृषि

चाणक्य भन्छन्, जुन देशका शासक बेइमान छन्, प्रजाको दुख बुझ्दैनन् त्यो देशलाई बचाउन सकिँदैन ।

चिनियाँहरू भन्छन्, जुन देशले खाद्यवस्तु आयात गर्छ त्यो देश कुनै न कुनै बेला भोकमरीमा पर्छ ।

मैले यी दुई भनाइ प्राचीन र आधुनिक सन्दर्भबाट लिएको छु । चाणक्यले राज्य बेइमान भयो भने के हुन्छ त्यसबारे समुद्रगुप्तलाई सम्झाउँदै भनेको वाक्य हो पहिलो अनि दोस्रो चाहिँ चिनीयाँहरुले कृषिलाई कसरी हेरेका छन्, त्यसको के महत्व छ भन्ने देखाउँछ । 

चाणक्यकालीन मगध र अहिलेको नेपाल

जुनबेला मगधमा विलासिता, शासकीय लापरवाही, अल्छ्याईं, विलासी शासक, बिकाउ र कमजोर प्रशासन थियो त्यतिबेला चाणक्यले समुद्र गुप्तलाई राजकीय विद्या र प्रेरणमूलक युद्धकला सिकाएर त्यस देशको गौरव र इज्जत जोगाएका थिए । देशको गौरव बचाएका थिए ।

चाणक्यको बेलाको मगध र अहिलेको नेपालको अवस्था शासकीय दृष्टिले करिबकरिब उस्तै छ । देशको चिन्ता र चासो गर्नेहरु पाखा परेका छन्, उद्यम मरेको छ, कर्मचारी यन्त्र बिकाऊ भ्रष्ट र नालायक छ, राजनीति बेइमानी, गुटबन्दी र दुराचारको पर्याय बनेको छ । प्रशासनयन्त्र र राजनीतिक नेतृत्व सदाचार र नैतिकताका दृष्टिले कमजोर छ । जनताको विश्वास अहिलेको प्रशासन यन्त्र र राजनीतिबाट टुट्तै गइरहेको, निराशा बढिरहेको अवस्था छ । 

न शासकहरुलाई जनता के चाहन्छन् भन्ने लेखाजोखा गर्ने फुर्सत छ न कर्मचारी यन्त्र त्यसो गर्न चाहन्छ । त्यसले गर्दा राज्यको क्षमतामा ह्रास आएको छ, विश्वसनीयता खस्केको छ । कानुनी राज्यको अवधारणमा पनि जनविश्वासमा कमी आएको छ । आन्तरिक सुरक्षा संयन्त्र फितलो र अप्रभावकारी छ । यसरी हेर्दा जननिर्वाचित रुपमा बहुमतको सरकार भए पनि त्यसले जुन आशा र भरोशा जनतामा सिर्जना गर्नुपर्ने हो त्यो हुन सकेको छैन । 
शासन र सत्ताको वरिपरि बस्नेहरुलाई सधैँ एउटा भ्रम हुन्छ, यतिका मानिस हाम्रो अगिपछि छन्, हामी बलिया छौँ । सन् १९९१ मा निकोलस चाउचेस्कू सत्ताबाट बाहिरिने अगिल्लो दिनसम्म पनि त्यही भ्रममा थिए तर भोलिपल्ट उनको वरपरकै मानिस विद्रोही बनेर उनलाई निवासबाट थुतेर सडकमा ल्याए । उनको दुःखद अन्त्य भयो । यस्ता कैयन् उदाहरण छन् संसारमा । 

एउटा सामान्य पत्रकार पक्डाउ पर्दा राज्यले सँभाल्न नै धौधौ हुने गरी विरोधको सामना गर्नुपर्ने अवस्था आएको छ अहिले । त्यो भीड राज्यप्रतिको विश्वास टुटेको संकेत हो । यसलाई गम्भीर रुपमा लिन आवश्यक छ ।

त्यसो हो भने राज्य असफल भइसक्यो त ? प्रश्न उठ्न सक्छ । पूरै असफल नभए पनि त्यतातिर चाहिँ गइरहेको छ । मानिसहरु आफूले देखेको कुरा भन्न डराइरहेका छन् । बौद्धिक वर्गमा पनि दासत्वचेत हाबी हुँदै गएको छ । यी कुरा बलियो र जनमुखी राज्यका संकेत होइनन्, ह्रासोन्मुख राज्यका संकेत हुन् । 

यस्तै जनमनोविज्ञान सिर्जना भएकाले सिक्किम विलय हुँदा त्यहाँका जनताले विरोध गरेनन् । नालायक शासकको मातहतमा रहनुभन्दा बरु अर्को शक्तिशाली देशमा विलय बेश भन्ने लागेको थियो होला जनतालाई । अहिले हामीले जतिसुकै सिक्किमीकरण भयो भनेर भारतलाई सत्तोसराप गरे पनि सिक्किम भारतीय राज्यहरुमध्ये तेस्रो धनी राज्य र सुखी जनता भएको, प्रतिव्यक्ति आयका हिसाबले उच्च तीन राज्यमध्ये पर्छ । त्यसैले राज्यप्रतिको जनताको सकारात्मक भावना टिकाइराख्नु सफल र सक्षम सरकार अनि राज्यको प्रथम कर्तव्य हो । त्यसमा वर्तमान सरकार खरो उत्रन सकेको छैन । यही अवस्था रहिरहने हो भने कि अर्को चाणक्य र समुद्र गुप्तहरु देखापर्नुपर्छ अन्यथा फेरि अर्को परिवर्तनको ज्वार उठ्न सक्छ । देश समृद्ध हुँदैन, द्वन्द्वमा रुमल्लिरहन्छ ।

कृषि उत्पादन, भोकमरी र सार्वभौमिकता 

अब अर्को पक्ष खाद्यान्न उत्पादन र राज्यको भविष्य एकअर्काका पूरक हुन् । विगत केही वर्षदेखि  अमेरिकाको अगुवाइमा इरान, उत्तर कोरिया लगायत देशहरुले नाकाबन्दी भोगिरहेका छन् । इरानमा खाद्यान्न उत्पादनमा आधुनिकीकरण राम्रो हुनसकेको र अरु देशबाट खाद्यान्न नल्याउँदा पनि बाँच्न सक्ने अवस्था भएकाले जनता भोकमरीको शिकार भएका छैनन्, टक्कर लिएर बाँचिरहेको छ । 

उत्तर कोरिया शुरुमा खाद्यान्नको कारण नाकाबन्दी झेल्न नसक्ने अवस्थामा पुगिसकेको थियो, चीनले खाद्यान्न सहयोग गरेपछि क्रमशः उत्पादनमा सुधार गर्दै गयो, अहिले उत्पादन वृद्धि गर्न सकेकाले टिकिरहेको छ । इन्धन र खाद्यान्न आधुनिक विश्वको सार्वभौमसत्ता बच्ने वा मासिने भन्ने कसी हुन् । यी कसीमा खाद्यान्न्को ठूलो भूमिका हुन्छ । 

केही वर्ष पहिले भारतले केही महिना नाकाबन्दी गरिदिएको बेला हाम्रो खाद्यान्न र इन्धनको अवस्था के थियो भन्ने हामीले बिर्सेका छैनौँ । जतिसुकै ठूलो कुरा गरे पनि भोको पेटले कति दिन कराउन सकिन्छ र ? खाद्यान्नमा परनिर्भर देश जहिल्यै सार्वभौमिकताका दृष्टिले जोखिममा हुन्छ । 

चीनले गण्तन्त्र स्थापनापछिको समयमा ठूलो भोकमरीको सामना गर्नुप¥यो । ‘ग्रेट लिप फरवार्ड’ अभियान मार्फत् औद्योगीकरण गर्ने नेतृत्वको चाहनालाई पूरा गर्ने वहानामा ढाकछोप गर्दा संरचनागत अव्यवस्थाको कारणले उत्पादन ह्वात्तै घट्यो र चीनमा तीसौँ लाख मानिस धोकमरीको शिकार भए । त्यसपछि चीनले ‘एग्रिकल्चर फस्ट’ नारामार्फत् कृषिलाई आधुनिकीकरण ग¥योृ र उत्पादन भारी मात्रामा वृद्धि ग¥यो । कृषिका धेरै विश्वविद्यालयहरु स्थापना गरिए । विज्ञान र प्रविधिमा जोड दिइयो । नयाँ प्रविधिको अनुसन्धानमा राज्य केन्द्रित भयो । 

यी सबै प्रयासपछि चीनको निचोड के रह्यो भने खाद्यान्नमा बलियो नभई देशले उन्नति गर्न गाह्रो हुन्छ । खानेकुरा किन्न देशको ढुकटी प्रयोग गर्न थालियो भने अरु काम के गर्ने ? त्यसैले चिनीयाँहरु खाने कुराको उत्पादनलाई पहिलो प्राथमिकतामा राख्छन्, त्यसका लागि आवश्यक अनुसन्धान र पूर्वाधार वृद्धिमा ध्यान दिन्छन् । विश्वविद्यालयहरु निरन्तर रुपमा कृषि प्रविधि सुधारमा कन्द्रित छन् । परिणामस्वरुप अहिले चीन खानेकाुरा पर्याप्त उत्पादन गर्ने देशमा पर्छ । उसको अर्थतन्त्र बलियो भएको छ । स्वाधीनतामा अडिएको छ । 

कृषि उत्पादनमा हाम्रो अवस्था

कृषिको उत्पादन बढाउने कुरा हामी पनि गरिरहेका छौँ । तर हाम्रो उत्पादन बढ्नुको सट्टा घटिरहेको छ । जनसंख्या वृद्धि र कृषि उत्पादनबीच तालमेल छैन । वर्षेनी खद्यान्नको परनिर्भरता बढ्दो छ । भएका नीतिहरु र कार्यान्वयन संयन्त्र, निर्णय प्रकृया पारदर्शी र किसानमैत्री छैनन् । 

कृषि उत्पादन बढाउन अहिलेको कानुन र नीति दुवै बाधक छन् । जति कुरा गरेपनि अहिलेको नीतिले कृषि उत्पादन बढ्दैन । अहिले पनि भूमि टुक्र्याएर भूमिसुधार गर्ने कुरामै हाम्रो जोड छ । भूमिको खण्डीकरणले उत्पादन वृद्धि हुँदैन । चक्लाबन्दी खेतीका लागि यो सबैभन्दा ठूलो बाधा हो । 

विकसित देशहरुमा कृषिको लागि भूमिको चक्लाबन्दीमा सुविधा, छुट र प्रोत्साहन, करमा छुट, अनुदान सुविधा, प्रविधि विकासमा सरकारको जोड आदि गरेको देखिन्छ । कृषि अनुदानमा सबैभन्दा बढी अनुदान दिने र कृषकमैत्री नीति भएका देशमा युरोपेली देशहरु पर्दछन् । फ्रान्स संसारमा सबैभन्दा बढी कृषि अनुदान दिने देशमा पर्छ । अमेरिका सबैभन्दा कम कृषकबाट सबैभन्दा बढी उत्पादन लिने देशमा पर्छ । त्यहाँ कृषि उत्पादनलाई प्रोत्साहन गर्न प्रविधि, पूँजी र सुविधामा जोड दिएको देखिन्छ ।

हामी करिब डेढ खर्बभन्दा बढीको खाद्यवस्तु ढुवानी गर्न थालिसक्यौँ । यो वर्षेनी बढेको बढ्यौ छ । खेतबारी बाँझिएका छन् । ज्याला अकासिएको छ । सरकारको भरथेग शून्य बराबर छ । कृषकलाई दिने अनुदानमा बिचौलिया हाबी छन् । वास्तविक किसानसमक्ष राज्यको सुविधा पुगेकै छैन । कर्मचारी र टाठाबाढाले किसानको नाममा राज्यले दिने सुविधा दुरुपयोग गरेका छन् । कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान घट्तो छ । कृषि अनुसन्धान केन्द्रहरु थला परेका छन् । प्रविधिमा अध्ययन र अनुसन्धान पटक्कै छैन । भएको पनि साह्रै अपर्याप्त छ । 

साँच्चै कृषि उत्पादन बढाउने हो भने सरकारी स्तरबाट तत्काल केही सुधारका काम गर्न आवश्यक छः 

१. साँच्चै कृषिको आधुनिकीकरण गर्ने हो र उत्पादन बढाउने हो भने कृषि र उद्योग प्रयोजनको लागि संस्थागत रूपमा सहकारी र कम्पनीहरूलाई कृषि प्रयोजनको लागि जमिन खरिदमा तुरून्तै हदबन्दीको व्यवस्था खारेज गर्नुपर्छ ।

अहिलेकै हदबन्दीमा जग्गा लिएर न कृषिको आधुनिकीकरण हुनसक्छ न औद्योगीकरण । जमिनको आकार ठूलो नभई आर्थिक सम्भाव्यता हुँदैन । १० विगाहा र ५० रोपनीको हदबन्दीमा सीमित भएर के आधुनिकीकरणको कुरा गर्नु ? नीति र नियम चाहिँ जग्गा टुक््रयाउने छ अनि आधुनिकीकरणको नारा लगाएर उत्पादन बढ्न र व्यावसायिक हुन सक्तैन । 

कुनै कम्पनीले चाह्यो भने सोही प्रयोजनको लागि मात्र उपयोग गर्ने गरी कम्तिमा १०० विगाहा वा १००० रोपनीसम्म कम्पनी स्वयंले निर्णय गरेर जग्गा खरिद गर्नसक्ने कानुनी व्यवस्था हुनु जरूरी भयो । सहकारी मार्फत् मिलेर खोती गर्ने किसानलाई बढीभन्दा बढी प्रोत्साहित गर्नुपर्छ । ससाना टुक्रा जमिन सहकारीमा एकीकृत गरेर ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा खेती गर्ने किसानलाई आवश्यक सामग्री, प्रविधि र सुविधा प्रादन गर्न आवश्यक छ । संस्थागत काम गर्ने परिपाटी बसेमा कृषकको मनोवल पनि बढ्छ र उत्पादन पनि व्यावसायिक र अलि ठूलो परिमाणमा हुनसक्छ । जसले बजारको पहुँच विस्तार गर्न पनि सजिलो हुन्छ ।  

जमिनको सानो टुक्रामा खेति गरेर आधुनिकीकरण र कृषि उत्पादन बढाउने जमाना रहेन अब । जतिसुकै सरकारले दबाव दिए पनि किसान खेति गरेर घाटाको श्रम गर्दैनन् ।

अब रह्यो कुरा सरकारी संयन्त्र कृषिमैत्री छ छैन त भन्ने कुरा । यसका लागि तलको बक्समा हालै कान्तिपुर दैनिकमा प्रकाशित समाचार नै पर्याप्त छ । हामी कुरा त गरिरहेका छौँ तर काम ???? प्रश्नवाचक छ । 


किसानलाई अनुदान पाउनै सास्ती
======================

कृषक दुर्गा लिम्बु कृषि व्यवसायका लागि अनुदान लिन धेरैपटक कृषि ज्ञान केन्द्र धाए जति धाए पनि प्रतिफल भने पाएनन् उनले कफी खेती विस्तारका लागि अनुदान लिन खोजेका थिए सहयोग नपाउँदा अहिले निराश छन्
एकातिर यस्तो अवस्था भने अर्कातिर गत आर्थिक वर्षमा जिल्लामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि आएको करिब करोड रुपैयाँ बजेट फ्रिज गयो यस्तो सरकारी काम गराइले अधिकांश चिया तथा कफी खेतीमा संलग्न कृषक प्रभावित बनेको कफी व्यवसायी संघका अध्यक्ष डिल्लीश्वर दर्नालले बताए
अनुदान रकम माग गर्न कयौं पटक कार्यालय धाउँदा पनि पाइएन, उनले भने, काम गर्ने उत्साह भएर पनि आर्थिक अभाव भएपछि जाँगर मर्ने अवस्था जिल्लामा रहेका २२१ कफी कृषक यसबाट प्रत्यक्ष प्रभावित भएका छन् दर्नालले ५० रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आएका छन् उनले लाख कफीका बिरुवा उत्पादनसमेत गरेका छन्
यसै आर्थिक वर्षदेखि कफी व्यवसायलाई पूर्वका अन्य जिल्लामा पनि विस्तार गरिने राष्ट्रिय कफी तथा चिया विकास बोर्डको सूचना अधिकारी गौरव लुइँटेलले बताए यसरी कफी खेती विस्तारका क्रममा आवश्यक अनुदान तथा बजेटबाट किसानलाई बिमुख हुन नदिन जरुरी रहेको उनको भनाइ
आवश्यक प्रक्रिया पूरा गरेर कृषकले अनुदान पाउनुपर्ने लुइँटेलले बताए प्रदेश अन्तर्गत कृषि मन्त्रालयले समयमा निर्देशिका बनाउन नसक्दा ३० करोड बढी रकम फ्रिज भएको प्रदेशअन्तर्गतका कृषि ज्ञान केन्द्रमा विनियोजित अधिकांश शीर्षकको बजेट निर्देशिका अभावकै कारण आर्थिक वर्षको अन्तिम समयसम्म खर्च हुन नसक्दा फ्रिज भएको स्रोतले जनाएको
कृषि मन्त्रालयका सचिव हस्त विष्टका अनुसार प्रदेशभरका सबै जिल्लामा कृषिसम्बन्धी विभिन्न शीर्षकमा विनियोजित रकम निर्देशिका पारित हुन नसक्दा प्रभावित बनेको हो बजेट खर्च गर्ने निर्देशिका बने पनि कानुन तथा अर्थ मन्त्रालयबाट सहमति गर्न ढिलाइ भएकाले महत्त्वपूर्ण काममा खर्च गरिनुपर्ने बजेट फिर्ता हुन पुगेको हो, उनले भने, पहाडी जिल्लाका कृषि ज्ञान केन्द्रका लागि गएको बजेट कामै लागेन आर्थिक वर्षको अन्तिम समयसम्म बजेट खर्च गर्नेबारेको कार्यविधि तथा निर्देशिका नबन्दा बजेट फ्रिज भएको उनले जानकारी दिए
कृषि निर्देशनालय विराटनगरअन्तर्गतको कृषि ज्ञान केन्द्र धनकुटामा बजेट तथा कार्यक्रम सञ्चालन गर्ने निर्देशिका तथा कार्यविधि नबन्दा बजेट फ्रिज भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केसीले बताए धनकुटा तेह्रथुम जिल्लाको क्षेत्राधिकार रहेको ज्ञान केन्द्रमा ती दुई जिल्लाका लागि आर्थिक वर्ष ०७५/७६ मा विनियोजन भएर प्रदेश सरकारबाट आएको विभिन्न शीर्षकको बजेट खर्च हुन नसकी फिर्ता भएको
कुल बजेट करोड ४९ लाख २० हजार रुपैयाँमध्ये करोड ९५ लाख रुपैयाँ खर्च नभएको उनले बताए सबैभन्दा बढी अदुवा मिसन कार्यक्रमका लागि आएको ६० लाख, सुन्तला जात बगैंचा व्यवस्थापन तथा सुदृढीकरण आयोजनाका लागि २५ लाख, कागती खेतीको २० लाख, फलफूल खेती प्रवर्द्धन साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालय प्रमुख केसीले बताए
त्यसैगरी अलैंची नर्सरी तथा बगान सुदृढीकरण आयोजनाको दुई जिल्लाका लागि ४० लाख, कफी खेती विस्तार कार्यक्रमको ४० लाख, धनकुटाका लागि किबी खेतीको २० लाख, व्यावसायिक फलफूल बगैंचा स्थापना प्रस्तावनमा आधारित कार्यक्रमका लागि ९० लाख, कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजित रकम खर्च नभएको उनले बताए
कृषि ज्ञान केन्द्रले कृषकको पहुँचमा पुग्ने गरी सूचना जारी नगर्ने किसानको गुनासो तर बारम्बार सार्वजनिक सूचना गर्दा पनि निवेदन नपरेको कार्यविधि नबनेका कारण बजेट फ्रिज भएको केसीको दाबी पहिलो प्राथमिकतामा राखिएको शीर्षकको बजेट पनि खर्च हुन नसक्दा कृषिसम्बन्धी दुई जिल्लाका महत्त्वपूर्ण बजेट फिर्ता भएको थियो
भाद्र , २०७६ कान्तिपुर संवाददाता

१. बजारीकरणको काममा सरकार फिटिक्कै केही गर्दैन । सडक पहुँच अर्को कठिनाइ छँदैछ ।

२. बजारको सुविधाका लागि सरकारले तीव्र गतिमा केही काम गर्नुपर्छ । गाउँको कुरै छाडौँ, दुधौली नगरपालिकाका कटहर कुहेर गएका छन् । ट्रकमा हालेर बजार पुर्याउनुभन्दा कुहाउनुमा फाइदा छ किसानलाई । ढुवानीमा सहजता ल्याइदिए बेच्न मन कुन किसानलाई नहोला र ?

जहाँ पनि नाफै मात्र हेर्ने बनियाँहरू नीतिनिर्माण गर्ने ठाउँमा बसेपछि आकासको फल आँखा तरी मर् भनेझैँ भएका छन् किसानका लागि नीतिहरू ।

कहाँ भन्ने यी कुरा ? काठमाडौँमा भएको एउटा सरकारी बजार पनि बिचौलियाको कब्जामा छ, अरू बनाउने कुरा कथामै सीमित । मनहरा फाँटमा बजार बनाउन छुट्याइएको जग्गा १० वटा जति सरकार फेरिएहोलान् भवन बन्ने सुरसारै छैन । त्यसलाई यथासक्य चाँडो बनाउनुपर्छ । 

३. कर्मचारीतन्त्रको कार्यप्रणालीलाई पूरै बदल्नुपर्छ कृषिमा । कागजको चाङ लगाएर भन्दा फिल्डमा गरिएको काम हेरेर सुविधा दिने गर्नुपर्छ । सरकारले दिने सुविधा सहकारी खेती प्रणालीमा वास्तविक रूपमा काम गर्ने कृषकहरूलाई कार्यस्थलमै दिनुपर्छ । किसान अफिस धाउने होइन किसानकहाँ कृषिका अफिसहरू धाउनु पर्छ र आधिकारिक मानिसले फिल्डमै बसेर निर्णय दिनुपर्छ । अनेक कागजातका झन्झटबाट किसानलाई मुक्त गर्नुपर्छ ।

४. कृषिमा अध्ययन र अनुसन्धान व्यापक मात्रामा बढाउनुपर्छ । विश्वविद्यालयहरु, कृषि कलेजहरु र तालीम केन्द्रहरुलाई अनुसन्धानमूलक  र प्रविधि विकासमा केन्द्रित गरी त्यसमा गरिने खर्च कमसेकम आजको भन्दा ५०० प्रतिशतले वृद्धि गर्नुपर्छ । कृषि वैज्ञानिक, स्वतन्त्र अनुसन्धाता, प्रविधिमा काम गर्ने संघ–संस्थालाई अनुसन्धानमा प्रेरित गर्नुपर्छ ।

५. पानीको स्रोत संरक्षण र साना देखि ठूला सम्म ड्याम बनाएर पानी संकलन गर्ने र ती जलाशयहरुबाट उर्जा र सिँचाइको व्यवस्था मिलाउने गर्न आवश्यक छ । 

६. सिँचाइका लागि अत्यन्त थोरै पानीबाट धेरैभन्दा धेरै जमिनमा सिँचाइ गर्न सकिने थोपा सिँचाइ जस्ता प्रविधिलाई प्रोत्साहित गर्नुपर्छ । त्यसका लागि सरकारी सुविधा किसानलाई कार्यथलोमै उपलब्ध गराउनु पर्छ ।  
७. अहिले हामीकहाँ ‘चामल संस्कृति’ हाबी हुँदै गएको छ । जसरी पनि जहाँ पनि चामल खानुपर्छ लाई इज्जतको विषय बनाइएको देखिन्छ । हामीकहाँ मकैको पनि उत्पादन निकै हुन्छ तर त्यसलाई खाद्यान्नको रुपमा खाने प्रचलन हराउँदै गएको छ । त्यसबाट बन्ने परिकार बारे अनुसन्धान गर्ने प्रविधि विकास गर्ने र त्यसलाई स्वादिष्ट परिकारको रुपमा कसरी खान सकिन्छ भन्ने चेतनाको अभाव यसमा मुख्य बाधा रहेको छ । 

मकैको पिठो र भटमासको पिठो मिसाएर असाध्यै मीठो परिकार बनाउन सकिँदो रहेछ । मैले चीनको साङ्सी प्रान्तको भ्रमण गर्दा एउटा चिनीयाँ गाउँमा पुग्दा मकैका परिकार असाध्यै मीठो बनाएर खाएको देखेको र म स्वयंले पनि खाएको थिएँ । त्यस्ता परिकारको खोजी गरी फुड फेस्टिभल मार्फत् प्रवद्र्धन गर्न आवश्यक छ । पाखोमा सहजै उत्पादन हुने कोदो खेती अहिले हराइसक्यो । त्यसलाई कसरी प्रवद्र्धन गर्ने, बढी उत्पादन गर्न सकिने जातको विकास कसरी गर्ने ? त्यसमा ध्यान जान आवश्यक छ ।  

यति हुनसके कृषिमा काम गर्न चाहनेहरुलाई प्रोत्साहन मिल्न सक्छ । उत्पादनमा वृद्धि हुनसक्छ । अन्यथा खेत बाँझो राखेर खाद्यान्न किनिरहन्छौँ अनि एउटा सानो विपत्ती आइलाग्यो भने भोकभोकै मर्ने अवस्था आउन सक्छ ।
  
सहकारी सञ्चार, भाद्र २०७६ मा प्रकाशित   

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...