Sunday, May 14, 2017

सुनिलबाबु श्रेष्ठसँग ‘सम्झना–बगैँचा’ चहार्दा

नयाँ ठाउँ, नयाँ वस्तु, नयाँ कामको चाहना राख्नु त्यस्ता ठाउँ घुम्नु, हेर्नु र त्यसबाट केही सिक्नु, आनन्दित हुनु अनि स्मृतिमा सँगालेर त्यसका कथा सुनाउनु शायद मानिसले आदि कालदेखि नै गर्दै आएको काम हो । हामीमध्ये कैयौँले देश–विदेशका रमाइला ठाउँहरु घुमेका हौँला, नयाँ वस्तु र कामबारे जानकारी हासिल गरेका हौँला तर कतिले ती नयाँ र कामलाग्दा अनुभवलाई लिपीबद्ध गर्ने गरेका छौँ ? शायद प्रतिशतमा आउँदैन त्यो संख्या । संसार घुमेर आनन्दसँगै जानकारी एकठ्ठा गर्ने र त्यसलाई लिपीबद्ध गरेर अरुलाई पनि जानकारी गराउने, अनुभव, सूचना र ज्ञान बाँड्ने काम साह्रै थोरै मानिसले गरेका छन् र अहिले पनि घुमेर देखेका र भोगेका अनुभव लेखेर संसारलाई जानकारी गराउनेहरु अत्यन्त थोरै छन् । 

संसार घुमेर अनुभव गरेका, देखेका र भोगेका कुराहरु लिपीबद्ध गर्ने अनेक तरिका छन् । कसैले डायरी लेख्छन्, कसैले यात्रा–वृतान्त लेख्छन्, कसैले यात्रा–अनुभव लेख्छन् अनि कतिले त्यसलाई भावनासँग जोडेर नियात्रा लेख्ने गर्छन् । यी सबै यात्रा–वृतान्त नै हुन् वास्तवमा । पाश्चात्य क्षेत्रमा यस्तो लेखन शुरु भएको पाइन्छ इशाको दोस्रो शताब्दीतिर । इशाको दोस्रो शताब्दीतिर लेखिएको भनिएको पौसानियाको ‘ग्रीसको वृतान्त’ नै अहिलेसम्मको प्राचीन लेखन हो यात्रासम्बन्धी । त्यसपछिका अरबी साहित्यमा यात्रा–वर्णन गरेर लेखिएका कैयौँ कृतिहरु पाइन्छन् जसले यसको प्रयोग पाश्चात्य र पूर्वीय दुवै साहित्यमा चलेको प्रमाणित गर्छन् ।  

यात्रा साहित्यको लोप्रियताको श्रेय भने चीनियाँ साहित्यलाई जान्छ । मध्ययुगीन चीनको साङ राजवंश काल (ईं.सं.९६० देखि १२७९)मा यसलाई चीनियाँ भाषामा ‘योउजी वेन्स्यु’ अर्थात् ‘यात्रा–अभिलेख साहित्य’ भनिन्थ्यो । त्यस्तो साहित्य व्याख्यात्मक, गद्यात्मक, डायरी वा निबन्धको रुपमा लेखिन्थ्यो । 

जापानमा यस्तो यात्रावृतान्त लेखन आठौँ शताब्दीतिर शुरु भएको मानिन्छ । कुकाइको ‘जोराइ मोलुरोकु’(सन् ८०६), किनो सुराओकीको ‘तोसा डायरी’ (दशौँ शताब्दीतिर) जापानका पुराना यात्रा साहित्य मानिन्छन् ।  
पेट्रार्क (सन् १३०४–१३७४)को सन् १३३६ मा लेखिएको ‘एक्सेन्ट अफ माउन्ट भेन्टक्स’ नै यस्तो कृति हो जो यात्रा वृतान्त लेख्ने अभिप्रायले यात्रा गरेर आपूmले गरेको अनुभूति समेटेर कृति तयार पारेका थिए । हुनतः ईसापूर्व आठौँ शताब्दीतिर लेखिएको मानिएको होमरको ‘ओडेसी’ महाकाव्य पनि एक किसिमको यात्रा–काव्य नै हो जो ट्रायको युद्धपछिको यात्रा वर्णनमा आधारित छ । जे होस् आधुनिक युगमा यात्रावृतान्त एउटा महत्वपूर्ण पाटो बनेको छ साहित्यको । यस्तो लेखनको लोकप्रियता भने मार्कोपोलोको चीन यात्राको अनुभवमा आधारित ‘द मिलियन’ (सन् १२९८)पछि नै हासिल भएको हो । 

इसाको अठारौँ शताब्दीमा यात्रा अनुभवमा आधारित धेरै प्रसिद्ध कृतिहरु लेखिए । जेम्स कुकको डायरी (सन् १७८४) अत्यन्तै लोकप्रिय रह्यो संसारभर नै । जोसेफ कनार्डको ‘हर्ट अफ डार्कनेस’, ड्यानियल डिफोको ‘रोबिन्सन क्रुसा’े, जोनाथम स्विफ्टको ‘गुलिभर्स ट्राभल’, जुलेस भर्नेसको ‘द जर्नी एराउन्ड द वल्र्ड इन एट्टी डेज’ यस्तै प्रसिद्ध कृति हुन् । त्यसपछिका धेरै विख्यात लेखकहरु यसतर्फ तानिएको पाइन्छ । हान्स क्रिस्चियन, चाल्र्स डिकेन्स, मार्क ट्वीनहरुले पनि यात्रा लेखन साहित्यमा कलम चलाएका पाइन्छन् । 

भारतीय साहित्यमा भि एस नयपालको ‘इन्डियाः अवन्डेड सिभिलाइजेसन’ (सन् १९७६) प्रकाशनमा आएपछि यात्रा लेखनले साहित्यमा चर्चा पाएको पाइन्छ । नेपालमा यात्रा साहित्यलेखनमा तानासर्माको नाम यस्तै प्रसिद्ध नाम हो जसले यात्रालाई यात्रावृतान्त मात्रमा सीमित नराखेर अनुभूति थपेर साहित्यसँग जोड्ने काम गरे । ‘बेलायततिर बरालिँदा’ प्रकाशनमा आएपछि नेपाली साहित्यमा यात्रा साहित्यले महत्वपूर्ण स्थान जमाएको पाइन्छ । हुनतः त्यसअघि पनि त्यस्ता साहित्य नलेखिएका होइनन् तर भाव र भावनासँग र अनुभूतिमूलक साहित्यिक अभिव्यक्तिको लेखनको श्रेय भने उनलाई नै जान्छ । 

हाल आएर धेरै नेपाली लेखकहरुले यात्रा साहित्यमा कलम चलाएका छन् । घनश्याम राजकर्णिकार, प्रकाश ए राज, निर्मोही व्यास, कृष्ण बजगाईं, जीवा लामिछाने आदि लेखकहरु यस क्षेत्रमा थपिएका छन् । तिनका यात्रा साहित्यले संसारका धेरै कुरा नेपालीहरुलाई पस्केका छन् स्वादिलो बनाएर । यसै मेसोमा थपिएका छन् डा. सुनिलबाबु श्रेष्ठ ‘सम्झना–बगैँचा’ मार्फत् । 

ठीक्कको स्लीम शरीर, शान्त र हँसमुख अनि विनम्र स्वभाव । सुनिललाई प्रथम पटक भेट्ताको मेरो अनुभव त्यस्तै रह्यो । शायद उनलाई चिन्नेहरुको प्रथम प्रभाव यही हुन्छ होला व्यक्तिका रुपमा । व्यक्तिको रुपमा डा. सुनिल जस्ता छन् त्यस्तै छ उनको ‘सम्झना–बगैँचा’ पनि । थोरै बोल्ने, बढी गफ नगर्ने अनि आपूmलाई लागेको कुरा सटिक शब्दमा सकेसम्म कम शब्दमा व्यक्त गर्ने । उनको स्वभाव र अभिव्यक्तिको प्रथम अनुभव यस्तै रह्यो मेरो ।
‘सम्झना–बगैँचा’को अग्रभागमा हरियो जङ्गलले घेरिएको सुन्दर प्यागोडा शैलीको मन्दिर, तलपट्टि सफा पानीको पोखरी अनि दायाँ भागमा झलक्क हेर्दा जापानी जस्तै लाग्ने झर्झराउँदो युवाको फोटो छ । म त्यो बगैँचा नियाल्न थाल्छु, सोच्छु सझनाको पनि बगैँचा हुन्छ ? बगैँचा त पूmल र बिरुवाको पो हुन्छ । मनले भन्छ, मिलेन यो कुरा । अघि बढ्छु बगैँको प्रस्थान गेटमै गाइडभैmँ भेटिन्छन् प्रा.राजेन्द्र सुवेदी । हुनसम्मको वृतान्त पस्कन्छन् सुवेदीले सुनिलको बगैँचाका बारेमा । बगैँचा भ्रमणका लागि एक कदम मात्र अघि बढ्छु सुनिल अघि सर्छन् केही भन्न हतारिएझैँ । म उनका कुरा सुन्छु धैर्यपूर्वक । 

सुनिल मलाई बताउँदै जान्छन्, पूmलहरु देखाउँदै र व्याख्या गर्छन्– यो बगैँचा कसरी जन्म्यो ? म कसरी यसको जन्मदाता हुन पुगेँ ? आदिआदि । उनी मलाई बगैँचाका एकभन्दा एक राम्रा पूmलतिर तान्दै जान्छन् । कहिले उनी जापानी भू–भागको नेपाली मन्दिरमा पु¥याउँछन्, कहिले जापानी रेल र बसमा सयर गराउँछन् त्यसको सेवा वर्णन गर्दै । बगैँचाभित्रको जापानी बगैँचामा पु¥याउँदै गफिन्छन् सुनिल उनीहरुको तारिफ गर्दै । म उनका कुरा सुन्छु गम खाँदै । किन बनाउन नसकेका हामीले प्रकृतिको नजिक रहेर पनि त्यति रमाइला बगैँचा ? के ले छेक्यो हामीलाई त्यस्ता बगैँचा बनाउन ? प्रश्नसँगै उनी अगुवाइ गरिहेकाले म पछ्याइरहन्छु । उनी मलाई बगैँचाभित्रका कारुणिक कथा सुनाउँछन् टोकियोका पार्कमा नीला पाल टाँगेर बस्ने जापानी सुकुम्बासीहरु देखाउँदै । मेरो मन द्रवित हुन्छ र भन्छ, मानिसको दारिद्र्य नाश हुने मनले हो कि धनले ? राष्ट्र धनी हुँदैमा जनता धनी भइहाल्छन् भन्ने पनि भ्रम नै हो त हाम्रो ? त्यासो हो भने संसारको सबैभन्दा धनी देश जापानका मानिस पनि सुकुम्बासी कसरी बने ? मनमा कुचकुच लागिरहन्छ । उनी मलाई बगैँचाको एउटा सुन्दर घरमा लैजान्छन् जापानी चिया चखाउन । त्यहाँ जापानको चिया घर र संस्कृतिबारे लामै व्यख्यान् दिन्छन् । शायद उनलाई त्यो चिया संस्कृतिको निकै माया लागेको छ । अनि बाहि¥याउँदै अगुवाइ गर्छन् कराइमो होम स्टेतिर । त्यहाँ लगेर जापानी संस्कृति, पाहुनालाई गरिने व्यवहार अनि बोलचालका बारेमा व्याख्या गर्दै जान्छन् । म उनको व्याख्यामा मनमुग्ध हुँदै जान्छु ।
मलाई सुनिलको ‘सम्झना–बगैँचा’ घुमिसक्नु छ उनीसँगै हिँडेर । मेरो मन उनको बगैँले अलि दिक्क मान्छ वर्णनको अलि निरशता देखेर । भाषाको रिपोर्टपरक शैली, अखवारी रिपोर्टिङ जस्तो प्रस्तुतिले मलाई बगैँचा डुल्न अलि दिक्दार बनाउँछ तर पनि उत्सुकता छ बगैँचाको सुन्दरता पिउने र रमाउने । के होला त बगैँचाको अर्को कुनामा ? फेरि जिज्ञाशा उमार्छु र उनीसँगै लाग्छु पछिपछि । उनी मलाई जापानी विवाह उत्सवमा रमाउँदै गरेका युवायुवतीसँग भेटघाट गराउँछन् । उनीहरुको विवाह व्यवस्थापन कलाबारे गाइड गर्छन् । निम्तो कसरी दिन्छन् ? भोज कसरी आयोजना गर्छन् ? उपहार कसरी दिने गर्छन् ? विवाह कसरी सम्पन्न गरिन्छ ? भन्दै जान्छन् उनी, म सुनिरहन्छु । 

मलाई विवाह उत्सवबाट निकालेर अग्लो जापानी टावरमा पु¥याउँछन् सुनिल । धराहरा ढलिसकेपछिको र ढल्नुअघिको कथा गाँस्तै टोकियो टावरको संरचना खोतल्दै सुनाउँछन् । उनका प्राविधिक कुरा म त्यति बुझ्दिन तर मनमा लागिरहन्छ त्यस्तै हल्लिँदा नढल्ने धरहरा बनाउने कहिले होला काठमाडौँको अग्लो ठाउँमा ? त्यो दिन देख्न पाउँला हामीले ? कठै मेरो देश, राजनीतिको धरहरा ठड्याएर बुरुक््बुरुक् जनता उफारेर एक–अर्काको आलोचनाका शब्दशीखर बनाउन नछोडेसम्म कहाँ सम्भव होला र यस्तो टावर ? मेरा आँसु टिल्पिलाउँछन् उनको बगैँचा घुम्दाघुम्दै अनि धिक्काछु आझ्नै बुद्धिलाई र लाग्छु फेरि उनको पछि बगैँचा चाहार्न ।

सुनिल मलाई बगैँचा घुमाउन निकै मिहिनेत गर्छन् । चिल्लो जापानी साइकलमा सवार ‘स्यालरी म्यान’हरुको साइकल चढाएर सुन्दर र चिटिक्क परेका तर पटक्कै गफ गर्न नमिल्ने अफिसको कोठाभित्र पसाउँछन् जहाँ बिहान सबेरै घरबाट निस्केर बिना गफगाफ ‘स्यालरी म्यान’हरु काममा लाग्छन् र आपूmले पाएको जिम्मेवारी कसरी पूरा गर्ने भनेर अबेरसम्म टसमस नभई मिहिनेत गरिहन्छन् । खाना पनि सडकबाटै किनेर खान्छन् । व्यक्तिभन्दा ठूलो त मेरो देश र संस्था हो भन्छन् । म मेरो देशका ‘स्यालरी म्यान’हरु सम्झन्छु, जो शायदै तोकिएको समयमा काममा पुग्छन् । काममा लाग्नुअघि घन्टौँ अखबारमा झुम्मिन्छन, गफमा रम्छन्, सेवाग्राहीलाई काँडाझैँ ठान्छन् अनि सकेसम्म काम नगरी स्यालरी बुझ्न पाएहुन्थ्यो भन्ने सोच्छन् । काम गर्नुपरे टेबलमुनिबाटै नजरनाको आस गर्छन् । मेरो मन कुडिन्छ सुनिलसँग हाँसिरहेका ती स्यालरीम्यानहरु देख्ता । म सन्,न हुन्छु अनि सोच्छु के मेरो देशका स्यालरी म्यानहरु पनि ती जापानी स्यालरी म्यानझैँ हुने दिन आउला ? म कालो अनुहार लाएर सुनिलको बगैँचा चाहार्दै परपर हेर्छु, भविष्यतिर, आँखा डब्डबाउँछन् मेरा र टपक्क आँसु खस्छन् उनको बग्ैँचाका पूmलहरुमा । 

सुनिल मलाई बगैँचा घुमाउन गाइड बनेर अगुवाइ गरिरहेकै छन्, मलाई थकाइ लागे पनि । उनको घुमाउने जाँगरका अगाडि मेरो अल्छीले पनि आराम लिन सक्तैन । म उनको पछि लुरुलुरु हिँडिरहन्छु लुरुलुरु । उनी मलाई सडक किनाराका अबिर, पूmल र अक्षेताले लतपतिएकासडकछेउका हाम्रा देवी–देवता जस्तै लाग्ने रोबोउसी देखाउन थाल्छन् । एक–एक गर्दै रोबोउसीको वर्णनमा एकोहोरिन्छन् सुनिल । म वाक्क हुनै लागेको ठानेर मलाई सडकबाट ओसाका क्यासल चढाउन थाल्छन् र त्यहाँबाट ओसाका शहर नियाल्न भन्छन् । मेरो पहाडको घरभन्दा फरक त छैन त्यो संरचना तर बुद्धि पु¥याएर बनाइएको छ । त्यसैले सिमेन्ट र माटोकै जोडले उभिएर पनि भूकम्पको हल्लाइमा टसमस भएको छैन त्यो ढुंगे घर । कसरी बनाए होलान् यस्तो संरचना ? हामीलाई पनि पो काम लागिहाल्छ कि ? मन जिज्ञासु हुन्छ जान्न तर सुनिल हतारमा छन् । उनको बगैँचा घुमाइसक्नु छ उनलाई । मलाई अगुवाइ गर्छन् फेरि जङ्गलले ढाकिएको व्यस्थित शहरतिर । त्यसबारे उनको आफ्नो सोचाइ जोड्छन् प्रश्न गर्दै । के जङ्गलले खान दिन्छ ? हरियो मात्र भएर हुँदैन खान मिल्ने हरियो रुख रोप्नुपर्छ भन्छन् सुनिल । म उनको कुरा सुनिरहन्छु । उनी मलाई बगैँचाको बाहिरिने गेटनजिकै उभिएर भन्छन्, ‘शहर मात्र बनाएर हुँदैन, बगैँचा मात्र भएर पुग्दैन, आफ्नो लागि खाने कुरा पनि उत्पादन गर्नुपर्छ त्यस शहरमा बस्नेहरुले । के तपाई शहरको एउटा कुनामा खानमिल्ने वस्तु उत्पादन गरिहनुभएको छ ?’ प्रश्न गर्छन् उनी मलाई । कसैले उत्पादन नगर्ने हो भने कसले खुवाउँछ हामी शहरियालाई खाने कुरा ? के पैसा खान मिल्छ ? के यी भव्य महल र चिल्ला सडकले खान दिन्छन् तपाईंलाई ?’ टाउको झन्झनाउने प्रश्न सँगै बिदा गर्छन् सुनिल मलाई । पाइला बढाउन नपाउँदै सोध्छन््– कस्तो लाग्यो मेरो ‘सम्झना–बगैँचा’ तपाईंलाई ? म गम खान्छु केही कुरा अलि राम्रा बनाएको भए त सुन्दर नै थियो तपाईंको बगैँचा । बरु एकपटक मैले माथि उल्लेख गरेको तानासर्माको पुस्तक पो पढ्ने हो कि सजावट मिलाउन । तर म त्यसो भन्दिन र भन्छु, वाह ‘सम्झना–बगैँचा’, धेरै राम्रा पूmल छन् तपाईंको बगैँचामा । सुन्दर छ बगैँचा । धेरै कुरा सिकेको छु मैले यस बगैँचाबाट । फेरि यस्तै रमाइलो बगैँचा घुम्न निम्ता दिनुस् है सुनिल जी ! 


    


Thursday, April 27, 2017

प्रकृति, पर्यटन र पत्तीको इलाम

इलाम र सिलाम
म सानो हुँदा अग्रजहरुले भनेको सुन्थेँ, ‘सिलाम खाने भए इलाम जानू ।’ इलाम र सिलामको के सम्बन्ध थियो मलाई त्यतिबेला थाहा भएन । म सोच्थेँ, इलाममा प्रसस्त सिलाम पाइने भएकाले शायद त्यसो भनेका होलान् । 

म सिन्धुलीको पहाडी भागमा जन्मेहुर्केको । गाउँघरका रुखा बारीमा सिलाम फल्थ्यो । पाकेर सुकेका गेडा काँचै खाँदा पनि हुन्थ्यो । भुटेर अमिलो र नून मिलाएर अचारको रुपमा खाने चलन पनि थियो । काँचो चालम र दहीसँगै सिलाम लिाएर खाने चलन पनि थियो नयाँ धानको न्वागीसँगै । अरु फाइदाका बारेमा भने थाहा थिएन । अहिले पनि मलाई हल्का भुटेको सिलाम असाध्यै मन पर्छ ।
............
म २०१० मा थाइल्याण्ड घुम्न जाँदा बौद्ध भिक्षुहरुको एउटा उपचार केन्द्रमा भ्रमण गर्ने र त्यहाँको उपचार विधि बुझ्ने अवसर मिल्यो । त्यहाँको उपचार पद्धती विचित्रको थियो । जुनसुकै रोग भए पनि एउटै उपचार गर्थे उनीहरु । सुरुका तीन दिन उपवास राखेर दिउँसो र बेलुका काँचो नरिवलको पानी खान दिइन्थ्यो । दिउँसो एक पटक सिलामको पातलो झोल र रातो चामलको माड खान दिइन्थ्यो । तेस्रो दिन बेलुका २५० ग्राम ओलिभ आयल अनि पाँचवटा कागतीको रस मिलाएर खान दिइन्थ्यो । चौथो दिन शरीरभित्रको आन्द्रामा लुकेर रहेको सबै मल सफा हुन्थ्यो । उपचारकले सबैलाई एकेकवटा बाल्टिन दिएका हुन्थे । सबैले आफ्नो शरीरबाट निस्केको मलमूत्र बाल्टिनमा लिएर लाम लाग्नुपथ्र्याे । त्यो हेरेपछि उपचारकले कसको के रोग लागेको अनि के औषधि खाने, खानेकुरा के खाने भनेर ठम्याउँथ्यो र उपचार बताउँथ्यो । बैंककको सुविधासम्पन्न अस्पतालमा उपचार गराएर निको नभएका बिरामी पनि त्यहाँबाट निको भएका प्रशस्त उदाहरण थिए उनीहरुसँग । 

शायद मैले बाल्यकालमा सुनेको सिलामको उपचार विधि ती अग्रजहरुले पनि थाहा पाएका थिए कि ! मलाई इलाम गएर सिलाम खानू भन्ने पाका मानिसले संसार छाडिसके, नत्र म उनीहरुलाई यसबारे सोध्ने थिएँ । यस पटक इलाम पुगेपछि ती पाका मानिसको सम्झना भइरह्यो बारम्बार । आखिर किन इलाम र सिलामलाई दाँजे त उनीहरुले ? प्रश्नले घोचिरह्यो मलाई । अनुमान गरेँ सिलाम सुख्खा र रुखो ठाउँमा हुने बाली हो शायद इलामको रुखा डाँडापाखामा सहजै फल्ने भएकाले प्रशस्त सिलाम फल्दो हो र त्यसबाट शरीरका रोग पनि भाग्ने भएकाले बूढापाकाहरुले सिलाम र इलाम अनुप्रास मिलाएर भनेका होलान् भन्ने लाग्यो ।
.......
२०७४ सालको सुरु, बैशाख ३ गते बिहान, म चर्चित लेखक तथा पत्रकार मित्र आश्विनी कोइरालाको निकैपटकको घच्घच्याइपछि इलाम घुम्न निस्किएँ । निकै वर्षअघि इलाम गएकाले पछिल्ला दिनमा इलाममा आएको परिवर्तन हेर्ने र बुझ्ने अझ चियाको विकाससँग एकाकार हुने चाहनाले मलाई आश्वीनीजीको अनुरोध स्वीकार्न बाध्य पारेको थियो । इलामकै रैथाने मित्र नरेन्द्रकुमार गुरुङको आतिथ्य पाउने भएपछि म फुरुङ्ग हुँदै इलामतिर तानिएको थिएँ । इलाम घुम्ने, इलाम बुझ्ने अनि इलामका सम्भावनासँग एकाकार हुने । मेरो लक्ष्य यही थियो यसपटकको इलाम भ्रमणको ।

हुनतः म यसअघि पनि इलाम त गएको थिएँ तर त्यहाँ घुम्ने, रमाउने, केही बुझ्ने भन्दा पनि एउटा कामको सन्दर्भमा केही दिन बिताएर फर्केको थिएँ । घुमाइ र अध्ययनको चाख पनि थिएन त्यतिबेला । यस पटक भने मेरो चासो थियो इलामको विकास प्रयास, त्यहाँको प्राकृतिक सुन्दरता, पर्यटन अनि चिया ।

दुई वर्षअघि चीनको फुजियान, जियाङ्सी र ग्वाङदोङ प्रान्तको चिया खेती र प्रविधि हेरेर फर्केपछि मलाई इलामको चियाले तानिरहेको थियो । तर मौका नमिली कहाँ पाइन्छ र अवसर ! म आजआज, भोलिभोलि भन्दै रोकिएको थिएँ । तर यसपाली भने नरेन्द्रजी र आश्वीनीको अनुरोध र मेरो इच्छाको त्रिवेणी मिल्यो । 
 ‘क्लिन इलाम, ग्रिन इलाम’
झापा कटेर इलाम लाग्नासाथ सडकछेमा अड्याएर राखिएको बसको पछाडि लेखिएका शब्दले मलाई आकर्षित गरे । बसमा लेखिएको थियो ‘क्लिन इलाम, ग्रिन इलाम’ । मैले सम्झेँ छिमेकी भारतीय राज्य सिक्किमको सिको गरेका होलान् बसवालाहरुले, ‘क्लिन सिक्किम, ग्रिन सिक्किम’ भनेझैँ । तर मेरो मनमा भने अलि अनौठो अनुभूति हुँदै गयो उकालो लागेसँगै । मलाई लाग्न थाल्यो के साँच्चै त्यो बसका शब्द जस्तै हुँदै त छैन इलाम ? हेर्ने दृष्टि जस्तो छ त्यस्तै त हुँदो रहेछ नि दृश्य पनि । यस पटक मेरो दृष्टि खोजमूलक थियो मेरो हेर्ने दृष्टि भिन्न थियो । चारैतिर हरियाली, प्रकृतिको सुन्दर मुहार, पौरखी मानिस अनि प्रकृतिसँग सुहाउने जे उत्पादन हो त्यसैबाट आम्दानी । मैले इलामलाई यस पटक यसैगरी बुझ्ने प्रयास गरेँ । 

व्यक्तिगत आयस्तरको हिसाबले इलाम नेपालको सबैभन्दा धनी जिल्ला । इलामलाई के ले यति धनी बनायो ? अनुभवीहरु यसको उत्तरमा भन्छन्– इलामलाई अम्रिसो, अदुवा, अलैँची, ओलन (दूध), आलु र इस्किुसले धनी बनायो । तर अहिले अलि फरक भएको छ अवस्था । अब इलाममा अलैँची करिबकरिब लोप भएको अवस्थामा छ । अम्रिसो, अदुवा, दूध, आलु र इस्कुस भने अझै आर्थिक आर्जनलाई टेवा पु¥याइरहेका छन् । तर अब इलाम नयाँ श्रोतका साथ अघि बढिरहेको छ, प्रकृति, पर्यटन, पत्ती (चियापत्ती) र पशुका साथ सहकारी ।
प्रकृतिको वरदान
फिक्कलको चिसो हावा माइक्रोबसको झ्यालबाट मेरो गालामा म्वाइँ खान आएसँगै विर्तामोडबाट मसँगै साथ लागेको गर्मी सुइँकुच्चा ठोक्यो । म हल्का र तरोताजा भएँ । भर्खरको उत्ताउलो गर्मी कन्यामको चियावारीसँगै गायव ! कस्तो विविधता इलामको ! करिब एक घण्टाको दूरीमै यति फरक प्रकृति । कहाँ विर्तामोड र चारआलीको त्यो गर्मी कहाँ फिक्कल देख्नासाथ ज्याकेट खोजौँखोजौँ लाग्ने शितलता । काठमाडौँदेखि फिक्कलसम्मको करिब १० घण्टाको यात्राको थकाइ क्षणभरमै गायव भयो अनि म चारैतिरका हरिया डाँडामा हार मिलाएर हाँसिरहेका चियाका बोटका ती कलिला पालुवासँगै मुस्कुराउन थालेँ र भन्न थालेँ, वाह क्या गजव छ ग्रिन इलाम ! 

गर्मीले रापिएर हायलकायल भएका युवा तन्नेरीहरु चिसो हावामा मोटरसाइकलमा हुँइकिएर एक घण्टाभन्दा कम समयमा शितल चियाबारीमा लुकामारी खेल्न पुगेका थिए । हिँड्न सक्नेहरु हिँडेरै दृश्यावलोकन गर्दै थिए्, हिँड्न नसक्नेहरु घोडामा चढेर शयर गर्दै थिए । सुविधाले भरिँदै गएको छ फिक्कलको पर्यटन व्यवसाय । म फिक्कलको कन्याम पुग्दा युवतीहरु फोटो खिच्न चियावारीका बोटमा झुक्दै र अंकमाल गर्दै थिए, कोही भने वरिपरिका हरिया पहाडसँगै अचम्मित भएर आफ्नो सबैभन्दा महँगो चाहिँ क्यामेरा निकालेर जुम गर्दै थिए त्यो दृश्य क्यामेरामा कैद गर्न । वाह प्रकृति ! अनि सँगै जोडिएको त्यो विकास पस्कने इलाम । जति प्रशंसा गरे पनि कमै हुन्छ इलामलाई । म फिक्कल पुगेसँगै दङ्ग हुन्छु ।
फेरिँदै छ परिचय
केही वर्षअघिसम्मको परिचय फेर्न कम्मर कसेर लागेको छ इलाम । प्रशस्त वर्षा, ओसिलो जमिन , ठिक्क उचाइका पहाड, प्रचुर मात्रामा पानीको श्रोत अनि रमाइला पर्यटकीय स्थलले इलामलाई विकासका नयाँ सम्भावनातिर तानिरहेको छ ।  चियाखेतीको विस्तारसँगै यसको प्रविधि फेरेर आम्दानी र ख्याति बढाउन कम्म्र कसेर लागेका छन् किसान र उद्यमी । पर्यटकका लागि नयाँ गन्तव्यहरु विकास गरिँदै छ । सूर्योदयको दृश्यावलोकन गर्न अन्तुपछि सन्दकपुरलाई विकास गरिँदै छ । माइपोखरीलाई पर्यटकीइ आकर्षणसँगै बस्नेखाने सुविधा विस्तार गर्दैछन् व्यवसायीहरु । अबको इलाम प्रकृति, पर्यटन र पत्तीको इलाम बन्ने सम्भावना बोकेर अघि बढ्दै छ । 

प्रविधि, पर्यावरण र पौरखको त्रिवेणी इलामले मलाई घ्वापल्याक्क अँगालो मा¥यो इलाम बजार पुगेपछि । मित्र नरेन्द्रजीको आतिथ्य अनि उहाँका असी काटिसक्नुभएका पिताजीका पुराना विकासे अनुभव । सुन्दासुन्दै तीन दिन हराएँ म । प्रकृतिको काखमा गुन्जने न्याहुलीको मीठो स्वरसँगै, धूपी र चियाको वासनासँगै, पहाडी घाँसको पोषण पाएका इलामे गाईको दूधबाट बनेका छुर्पी, कुराउनी र ललिपपसँगै मेरो इलाम बसाइको घडी घुमिरह्यो उकालीओराली गर्दै । 

बिहानै चियावारी घुम्न निस्कन्छु, इलाम बाहिरबाट घुम्न गएकाहरु कोही चिया पर्यटनमा रमाउँदै डोको बोकेर चिया टिप्तै छन् त कोही माइपोखरी र सन्दकपुरको ट्रेकिङमा ह्याभरस्याकको भारी बोकेर असिनपसिन हुँदै प्राकृतिक सुन्दरता पान गर्दैछन् एकल वा समूहमा । कोही भने ‘भोलि त अन्तु पनि जानुपर्छ है’ भन्दै अन्तुडाँडाबाट बिहानी सूर्योदयको दृश्यपानमा रमाउन योजना बनाउँदै छन् । हेर्दै आनन्द लाग्ने मानिस, पर्यावरण र विकासको त्रिवेणी बन्दै गरेको त्यो इलाम देख्ता । 

माइपोखरीको जैविक र प्राकृतिक विविधता, नेपालटार र रक्सेका चिया बगान, पुवाखोलाको चिसो पानी र इलामेली ललिपप, छुर्पी र अर्थोडक्स चियाको स्वादसँगै मैले इलामको न्यानो आतिथ्यका तीन दिन बिताएँ । ती सबैले मलाई मोहनी लगाए यसपाली । अब मलाई लागिरहेको छ, इलाम यो देशको जीवन्त उदाहरण हो विकासको, प्राकृतिक वातावरण संरक्षण र भूगोल सुहाउँदो विकासको ।
छटपटीमा चिया क्षेत्र
विकासको स्वभाव हो नयाँपनको खोजी । इलाम र चिया पर्यायवाची नै हुन् । चिया भन्नासाथ हाम्रो मनमा आउँछ बिहानै गृहिणीहरुले उमाल्ने दूधसहितको गुलियो पानी अनि अलिकति कालो रंगको अलिअलि वासनादार धूलो मिलाएको पेय पदार्थ । घरमा बिहानै तलतल मेटाउन होओस् वा आतिथ्य सत्कार हामी चियाको नाम लिन्छौँ । त्यो उत्पादन गर्ने नेपालको भूभाग हो, इलाम । 

मेरो यस पटकको चासोको बिषय पनि थियो चिया उत्पादन, त्यसमा प्रयोग भइरहेको प्रविधि अनि किसानको तहमा त्यसको उत्पादन प्रणालीप्रतिको सचेतता । सहकारीमार्फत् चिया उत्पादन सुरु भएको केही वर्ष भइसकेको र त्यसले उद्योगी र किसान दुवैको ध्यान तानिरहेको अवस्थामा मेरो चासो थियो कृषकहरुमा प्रविधिप्रतिको सचेतता । यसै क्रममा भेट भए इलाम बरबोटेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष मोहन आचार्य । करिब सयको हाराहारीमा सदस्य रहेको यस संस्थाका कृषहरुबाट करिब ३ लाख केजी हरियो पत्ती चिया प्रशोधक कारखानालाई बेच्ने गरिँदो रहेछ । गुराँसे चिया उद्योगले हरियो पत्ती खरिद गरेर प्रशोधन गर्दो रहेछ । अब भने उनीहरु आफैँ पनि प्रशोधन कारखाना खोलेर चिया उत्पादन गर्ने सुरमा छन् । आगामी वर्षदेखि प्रशोधित चिया बजारमा ल्याउने योजनामा छन् सहकारीका किसानहरु । 

मैले उनीसँगको भेटमा चिया प्रशोधन प्रविधि, उत्पादनमा रासायनिक पदार्थ र बिषादि प्रयोगबारे जिज्ञाशा राख्ता उनले भने– ‘केही वर्षअघिदेखि माइ खोलायताको भागमा बिषादि र रासायनिक मलको प्रयोग चियामा गर्नु हुन्न भन्ने सचेतता बढ्दै गएको छ । खासगरी अर्थोडक्स चिया उत्पादन हुन थालेपछि यसलाई किसानहरुले ह्वात्तै घटाएका छन् । रासायनिक मल निकै कम भएको छ, बिषदि लगभग शून्यमा पुगेको छ । अबको केही वर्षभित्र इलाममा बिषादिरहित र रासायनिक मलरहित चियाबारी निकै ठूलो आकारमा हुनेछन् । हामी पूर्णतः अर्गानिक उत्पादन गर्छौं । बिषादि बहिष्कार अभिायान चलेको छ गाएभरि ।’

त्यसपछि मेरो थप जिज्ञाशा रह्यो चिया प्रशोधन र चिया संस्कृति विकासको । त्यसका लागि मित्र नरेन्द्र जी र म लाग्यौँ नेपालटार र जसवीरेको चिया बगान र प्रशोधन केन्द्र भ्रमण गर्नेतिर । जसवीरेमा सञ्चालित जसवीरे चिया उद्योगका उद्यमी शरद लिम्बूसँग चिया टेष्टिङ र चिया बगान भ्रमण गरिसकेपछि थाहा भयो अर्थोडक्स चियाको प्रशोधनमा अहिले भारतीय र चिनीयाँ दुवैथरी मेशीन र प्रविधिको प्रयोग भइरहेको छ ।
अर्थोडक्स चिया उत्पादन र उपभोग दुवैमा संसारकै अग्रणी मानिन्छ चीन । चीन संसारकै सबैभन्दा बढी चिया उत्पादन गर्ने देश र सुरुआत गर्ने देश अनि सबैभन्दा बढी चिया खपत गर्ने देश पनि हो । यससँगको सहकार्य प्रविधि हस्तान्तरण र व्यावसायिक सहकार्यबिना नेपालले खासगरी ‘स्पेसियालटी टि’को गुणस्तर विकास गर्न असम्भव नै हुन्छ । 

‘आजका दिनसम्म हाम्रो चियाको बजार भारतरनिर्भर रहेको छ । व्यापार पनि ठूला व्यापारीको हातमा छ । त्यसमा पनि भारतीय मूलकै व्यापारीको कब्जा छ । बजार र मूल्य दुवै ठूला व्यापारीको हातमा छ । हामी टुहुरा छौँ । प्रविधि सिकेको दार्जिलिङबाटै हो । त्यही चियाका व्यापारीहरु हाम्रा पनि व्यापारी हुन् । अब चीनीयाँ चिया प्रविधि नल्याउने हो भने अहिलेकै अवस्थामा कति अघि जान सकिन्छ यसै भन्न सकिन्न ।’ जसवीरे चिया उद्योगका शरद लिम्बू भन्छन् ।  

नेपालमा चियाको खेती गर्न थालेको सय वर्षभन्दा बढी भइसक्यो तर एउटा पेयको रुपमा हेर्नेभन्दा बढी अध्ययन, अनुसन्धान हामीले गर्न सकेका छैनौँ । केही समयअघिसम्म चिया भनेको धूला नै हुनुपर्छ भन्ने मान्यता थियो । जब केही उद्यमीहरुले अर्थोडक्स चिया उत्पादन गर्न थाले अनि बल्ल हामीले थाहा पायौँ चिया त यसरी पनि पो खान मिल्दो रहेछ । चिया पेयपदार्थ मात्र होइन यो एक औषधीय गुण भएको वनस्पती पनि हो भन्ने अझै हामीले बुझिसकेका छैनौँ । त्यसबारे अध्ययन र अनुसन्धान गर्ने कुनै निकाय र संस्था पनि छैनन् हामीकहाँ । हाम्रो चिया संस्कृति पनि चियाको औषधीय गुणको उपयोग गर्नेखालको छँदा पनि छैन । धेरै सुधार गर्नुपर्ने छ हाम्रो चिया सँस्कृतिमा । 

केही वर्षअघिदेखि विदेशी दातृ निकायको सहयोगमा चिया सहकारी बनाउने र उत्पादनका लागि केही मात्रामा पूँजीगत अनुदान र प्रविधि प्रदान गर्नेे काम सुरु भएको छ । सरकारले पनि केही मात्रामा यसमा काम थालेको देखिन्छ । किसानहरु नपकाइकन खाने पदार्थ भएकाले यसमा बिषादिको प्रयोग गर्नुहुँदैन भन्नेमा सचेत हुँदै गएका छन् । तर पनि रासायनिक मल नहाली उत्पादन लिन सकिन्छ भन्नेमा अझै ढुक्क हुन सकेका छैनन् । गुणात्मक भन्दा मात्रात्मक चेतनाले अझै किसानलाई छोडेको छैन । चिया उत्पादन गर्दा त्यसमा रासायनिक पदार्थ र बिषादिको प्रयोग नगर्न सम्झाउँदासम्झाउँदा बल्लतल्ल किसान सचेत त हुन थालेका छन् तर त्यो अनुकूल बजार विस्तार, प्रविधिमा पहुँच र मूल्य निर्धारण हुन सकेको छैन । यसमा सरकार, सहकारीकर्मी, उपभोक्ता, उद्यमी सबैले ध्यान दिन सके हाम्रो चिया संसारकै उत्कृष्ट र मूल्यावान् चिया हुनसक्छ । यसमा सबैले सोचौँ । अब रुखा पखेरामा सिलाम रोप्ने होइन चियाका हरिया बगान बनाएर प्रकृति, पर्यटन र पर्यावरण तीनै पक्ष मिलेको उन्नत इलाम बनाउन सकिन्छ । अन्तमा मेरो सलाम छ त्यो ‘प्रकृति, पर्यटन र पत्ती’ को त्रिवेणी मिलेको इलामलाई अनि ‘क्लिन’ अनि ‘ग्रिन’ इलामलाई, जो सही गन्तव्यतिर अग्रसर भइरहोस् युगीन चेतना र विकाससँगै ।

Tuesday, April 25, 2017

कर्णाली, हिमचुली सहकारी र नेतृत्व–कला

कर्णाली यात्राः रोमाञ्चक अनुभव

काठमाडौँ र अरु सुविधा सम्पन्न शहरहरुमा बस्नेहरुका लागि कर्णाली
भन्नसाथ आदिम सभ्यता र दुर्गमको बुहार्तनझैँ लाग्ने गर्छ । आवतजावतका लागि सवारी भाडा र खाने खर्चको हिसाब गर्दा ठूलै रकम खर्चका लागि छुट्याएर हवाइ टिकटको लाममा बस्नुपर्ने अवस्था थियो केही वर्षअघिसम्म । अहिले अवस्था केही परिवर्तन भएको छ । कर्णाली र काठमाडौँ सडक आवागमन र संचारले नजिक्याइदिएको छ । हवाइजहाजको मात्रै भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ कर्णाली राजमार्ग सञ्चालनमा आएपछि ।

निकै वर्षअघि हवाइजहाज चढेर जुम्ला पुग्दा कर्णालीप्रतिको मेरो सोचाइ उल्टिएको थियो त्यहाँका अवसर र सुविधाको पहुँच देखेर । जुम्ला बसुन्जेल मैले किन यो ठाउँलाई दन्त्यकथाको कुनै अदृश्य ठाउँझैँ बनाएर कथा र कहानीमा गुँथिएको होला भनेर धेरै पटक गम खाएको थिएँ । जल, जडिबुटी र जमिनको प्राकृतिक सुन्दरताको त्यो स्वर्णभूमि कर्णालीको स्पर्श गर्दा मन विश्मय र रोमाञ्चले भरिएको थियो । मन फुरुङ्ग भएको थियो त्यस ठाउँको जीवन र भूभाग दुवै देख्न, भोग्न र हेर्न पाउँदा । कुनै विदेशी दातृ निकायको विशेषज्ञ बनेर पुगेको थिएँ म जुम्लाकै विकट मानिने पातमारा भन्ने ठाउँमा । 

यस पटक पनि विशेषज्ञको रुपमा राष्ट्रिय योजना आयोगको एक अध्ययनको सिलसिलामा फेरि कर्णाली घुम्ने, बुझ्ने र अध्ययन गर्ने सौभाग्य मिल्यो यही वर्षको शुरुमा । निहुँ थियो सरकारले सहकारी संस्थाहरुलाई बाँडेको अनुदान कार्यक्रमको प्रभावकारिता र उपयोगबारे अध्ययन गर्ने ।

जेठको अन्त्यतिर भएकाले पानी पर्न थालिसकेको थियो । पानी कम पर्ने ठाउँमा थोरै वर्ष भए पनि पहिरोको जाखिम हुने भएकाले हाम्रो टोली काठमाडौँबाट आफ्नै गाडी लिएर कर्णालीसम्मको यात्रामा निस्केको थियो । सुर्खेतबाट मान्म पुग्न सार्वजनिक सवारी साधन मनग्गे नै थिए । साना ठूला सवारी साधन प्रशस्तै चल्दा रहेछन् । सुर्खेतबाट मान्म जाने दुइटा बाटा रहेछन् । निकै वर्षसम्म राजनीतिक खिँचातानीमा अल्झेर बल्लतल्ल सार्थकता पाएको कर्णाली राजमार्ग टुनिबजार पुगेपछि दुवैबाटाहरु एकैभएर अघि बढ्दा रहेछन् । त्यसपछिको बाटो अलि फरक थियो । तल बग्ने कर्णालीको तिरैतिर वारिपारि अग्ला डाँडाले भनिरहेका थिए, दुर्गम नभएको भए सुगमको मजा कहाँ ? दुःखै नदेखे सुखको आनन्द कहाँ ? दुर्लङ्घ्य बनेर उभिएका हामी जस्ता चुचुराले दिने अवसर खोइ चिन्न सकेको तिमीहरुले ? यी खोचहरुमा गहिरा र ठूला ड्याम बनाएर हजारौँ मेगावाट बिजुलीको सम्भावना देखेको भए कर्णालीले यो गरिबी देखिरहनु पथ्र्यो र ? अनुत्तरित प्रश्न गरिरहेका थिए कर्णालीका अग्ला पहाड, निर्जन खोँच र शक्तिशाली नदीहरुले । देशको अपार सम्पदा खेर फालेर गरिबीमा रमाउँदै छौँ हामी गरिबीको भारी बोकेर । कर्णालीको तिरैतिर यात्रा गर्दा यसरी नै घोचिरहे ती अग्ला पहाड, खोँच र नदीहरुले ।
  
हाम्रो टोली जतिजति अघि बढ्दै भयो त्यतित्यति कोमल धरती देखिँदै गयो । भूभागको अवस्था अत्यन्त कमलो । अलिकति पानी परेपनि खुलुलुलु बगेर तलतिर खसिहाल्ने । बाटो बन्द भइहाल्ने पहिरो खसेर । टोपी खस्नेगरी आँखा आकासतिर फर्काएर हेर्दा पनि टुप्पो नदेखिने सुख्खा पहाड चारैतिर । पहाडको फेदीमा सर्पझैँ लमतन्न तेर्सिएको कर्णाली राजमार्ग । सडकको आसपासमा ससाना बस्ती जस्ता लाग्ने गाउँहरु देखिन्थे घरीघरी । यहाँ बस्नेहरुको जीविकोपार्जन चाहिँ के हुँदो हो ? सबैका मनमा जिज्ञाशा थिए । सडकको छेउमा झुप्राहरु देखिन्थे घरीघरी । सानोतिनो होटलको स्वरुप ठान्थ्यौँ हामी त्यसलाई ।  मानिसको बसाइ र जीविकोपार्जनबारे अनेक जिज्ञाशाका पहाड चुलिएका थिए सबैका मनभित्र । 

बेलुकी साँझ पर्नेबेला दैलेखको खोली बजार पुग्दानपुग्दै बसहरु बासबस्ने तरखरमा थिए । सुरक्षाकर्मीहरुले गाडीको ब्लुबुक लिने र बिहानै सवारीधनीलाई फिर्ता गर्ने चलन रहेछ । सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको क्षेत्रमा रात परेपछि सवारी चलाउन रोक लगाइएको र त्यसको लागि सवारी अनुमति पत्र लिनुपरेको बताउँदै थिए सुरक्षाकर्मीहरु । सुरक्षाको लागि सतर्कता ठीकै भए पनि उनीहरुको व्यवहार भने अलि बिझाउने खालको थियो । नयाँ यात्रुका लागि यसले दिने प्रभावतर्फ उनीहरुको कुनै वास्ता थिएन ।
हामी बास बस्ने होटलको खोजीमा लाग्यौँ । प्रतिव्यक्ति रु. २०० तिरेपछि बास बस्ने सुविधा थियो सडकछेउका होटलहरुमा । सुविधा र सरसफाइ पैसाको दरभाउअनुसारकै थियो । जेनतेन रात काट्न मिल्ने त्यतिको ठाउँ पाउँदा पनि हामी भने आफूलाई धन्य ठान्दै थियौँ । 

भोलिपल्टको हाम्रो गन्तव्य थियो कालिकोट जिल्लाको मान्म बजार । खोली बजारबाट बिहान छ बजे हाम्रो टोली मान्मका लागि हिँड्यो । अलिपर पुगेपछि कर्णालीको तिरमा अकल्पनीय ढुंगाको पहरो फोरेर बनाइएको ‘ओडारे सडक’ सुरु भयो, हेर्दै आँङ सिरिङ्ग हुने । तल कर्णाली सुसाएर बगेको देखिन्छ करिब २०० मिटरभन्दा बढी गहिरो खोँचमा । सडक बनाउँनका लागि खोपिएको ढुंगो माथिबाट सडक नै ढाकेर बसिरहेकै छ, मानौ त्यो ओडार सडक हो त्यस भेगको । मुस्किलले कहीकहीँ दोहोरो गाडी पास हुने सडक भए पनि अधिकांश भागमा भने दोहोरो सवारी साधन गुड्ने अवस्था छैन ।

यस्तो अनकन्टरमा सडक बनाउने ती परिश्रमी हातहरु नेपाली सेनाका वीर जवानहरुका थिए भन्ने सुन्दा मेरो शिर उनीहरुप्रति असीम श्रद्धाले भरिएको थियो । ती अनकन्टर ठाउँमा कडा पहिरो काटिरहेका परिश्रमी जवानहरुले ‘श्रमको सम्मान गर्छौं’ भनेर नथाक्नेहरुले नै पहरो फोरेर राति सुतिरहेको समयमा करिब आधा सय जवानहरुको हत्या गरेको घटना सम्झँदा क्रान्ति र परिवर्तनको राजनीति गर्नेहरुलाई भन्न मिल्ने शब्दको अभाव खट्केको थियो मलाई । मनमनै घृणा र आक्रोसको ज्वालामा दन्किएको थिएँ म । राजनीतिको नाममा निहत्था मानिसहरुको हत्या गर्नेहरुको क्रान्तिकारिताप्रति बारम्बार प्रश्न गर्न मन लागेको थियो । यस्तो अनकन्टर ठाउँमा बाटो बनाएर जनताको सेवा गर्ने सेनाका जवानहरुको के अपराध थियो र उनीहरुको हत्या गरियो ? एकपटक ती क्रान्तिकारीहरुलाई यस्तो अनकन्टर पहरो फुटाउन लगाउन पाए शायद उनीहरुको मनमा पनि आफ्नो त्यो कायर कार्यप्रति पश्चाताप हुने थियो कि ! हेर्न मन लागेको थियो मलाई । मनै अमिलो बनाउँदै अकालमा अनि अकारण ज्यान गुमाएकाहरु सम्झँदा अश्रुसिक्त भएका थिए मेरा दुवै आँखा ।  
   
हुल्म बजार नाधेपछि हाम्रो जम्काभेट भयो बसहरुसँग । लाम लागेर सडकमा पार्किङ गरिएका बसहरु हेर्दा कुनै बसपार्क झैँ लाग्थ्यो । सडकको भित्तातिर चेपेर होओस् वा एउटा चक्का सडककिनारबाट अलिकति खसालेर होस् गाडी पार्किङ गरेर ढुक्क साथ खाजा खाँदै थिए चालकगण । हाम्रो गाडी नछिर्नेजस्तो लागेर जब चालकले साइडको माग गरे बस चालकले एक फिट जग्गा खालि छ अलि चेप्नुस् भन्दा मेरो आङ सिरिङ्ग नभइरहेन कर्णालीतिर खसिने पो हो कि भन्ने भयले । 

ठाउँठाउँमा मोटरसाइकलका अस्थिपञ्जर सडकछेउमा टाँगेर दुर्घटनाको खतरा औल्याएको दृश्य साँच्चिकै सम्झनलायक थियो । दुर्घटनाको भयानक दृश्य झल्काउने कर्णाली राजमार्ग किनाराको त्यो दृश्यले त्यहाँ हुने दुर्घटनाको भयानकता दर्शाउँथ्यो ।  

तिला र कर्णालीको दोभाननजिकै बनाइएको पुल पार गरेर हाम्रो गाडी ठाडै उकालो लाग्यो डाँडातिर । डाँडाको थुम्कोमा देखियो सानो बजार । हेर्दा नजिकै देखिए पनि घुम्ती र उकालो काट्न निकै समय खर्चनु प¥यो । जसोतसो पुगियो मान्म बजार । कर्णालीको अपेक्षाकृत सुगमझैँ लाग्ने जिल्ला भए पनि सदरमुकामबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने गाउँहरुमा सरकारी सेवा र विकासको अवस्था दुइ सय वर्षअघिकै अवस्थामा थियो । हाम्रो उद्देश्य कर्णाली जस्तो दुर्गममा साना अनुदानबाट सहकारीहरुले के गरिहेका छन् ? तिनको सदुपयोगको अवस्था कस्तो छ भन्नेबारे अध्ययन गर्नु रहेको थियो । हाम्रो अध्ययनको छनोटमा परेको थियो मान्म बजारस्थित हिमचुली कृषि सहकारी संस्था ।

नाम जस्तै काम

गाउँमा ससाना बचत समूहमा संगठित भएर बचत गर्ने बानी परेका अनौपचारिक समूहलाई संगठित गरेर करिब ५ वर्षअघि गठन गरिएको कृषि सहकारी रहेछ हिमचुली । सुरुआतमै १७०० सदस्य लिएर दर्ता भएको हिमचुली हाल आएर कालिकोटका ३० वटै गा.वि.स.मा फैलिएको र ६५०० सदस्यमाझ पुगिसकेको रहेछ । कृषि, पशुपालन, लघुवित्त, दूग्ध व्यवसाय गरी आफ्नो कार्यक्षेत्रलाई व्यापकता दिँदै क्रमिक विस्तारमा अघि बढिरहेको यो संस्थाले छोटै समयमा कर्णालीको एउटा सक्षम संस्थाको रुपमा आफूलाई उभ्याइसकेको छ । हाल १६ वटा गा.वि.स.मा लघुवित्त कार्यक्रम संचालित छ भने ५ वटा सेवा केन्द्र मार्फत् ६५०० सदस्यबीच संस्थाले कार्य सञ्चालन गरिरहेको छ । 

कसरी सम्भव भयो यस्तो दुर्गममा यति व्यापक विस्तार ?

हामीलाई हिमचुलीमा स्वागत गर्ने व्यक्ति हुनुहुन्थ्यो व्यवस्थापक तथा अध्यक्ष श्री भीम प्रसाद बराल । अनुभवले आधा शताब्दी कटाउनै लाग्नुभएका बराल शिक्षक पेशा छोडेर सहकारीतामा प्रवेश गर्नुभएको रहेछ । स्थानीय स्तरमा आफूले दिनसक्ने योगदान समाजलाई दिने उद्देश्यका साथ शिक्षक पेशा छाडेर सहकारीमा पूर्ण समय दिने निर्णय गर्नुभएको रहेछ उहाँले । स्थानीय जनताको जीवनस्तर र बजारको मागलाई ध्यानमा राखेर संस्था स्थापनापछि बढीभन्दा बढी मानिसलाई समेटेर सहकारीताको प्रसार गर्ने योजना बनाएछ नेतृत्वले । त्यसको पहल गर्नुभयो बरालजीले । स्थानीय रुपमा दूधको माग निकै देखेपछि संस्था स्वयम्ले एउटा गाईफार्म सञ्चालन गर्ने, लघुवित्त मार्फत् वित्तीय सेवा प्रदान गर्ने, एउटा डेरी उद्योग सञ्चालन गरी जुम्लासम्म दूध आपूर्ति गर्ने, पशुपालनलाई क्रमशः सुधार गर्दै जाने अनि एक घर एक सदस्य अभियान चलाउने आदिजस्ता महत्वाकांक्षी योजना बनाउनुभयो सञ्चालकहरुले । 

छुवाछुतले जरो गाडेको समाज भएकाले दलितहरुको दूध बिक्री हुँदैनथ्यो स्थानीय बजारमा । त्यसमा पनि गाईको दूध त बिक्री हुन झन् मुस्किल । उहाँहरुले डेरी फर्म पनि सञ्चालन गर्ने र गाई फार्म पनि सुरु गर्ने योनासाथ २०६७ सालमा डेरी सञ्चालनको योजना बनाउनुभयो । पशु विकास कार्यालय र कृषि कार्यालयले भरमग्दुर सहयोग गर्यो । मेशीन मगाइयो, डेरी खोलियो, गाई फार्म सञ्चालनमा ल्याइयो । बराल भन्नुहुन्छ– ‘करिब ६ महिना त सञ्चालकहरु पनि डोको बोकेर घाँस काट्ने र गाइको गोबर सफा गर्ने र हेरचाह गर्ने काम पनि गरियो । स्थानीय मानिसलाई गाई हेरचाहका लागि रोजगारी दिने प्रयास गर्दा पनि कोही गाईपालक कर्मचारी बन्न तयार भएनन् । जग्गा लिजमा लिएर उन्नत घाँस लगाइयो । यति काम गर्दा पनि जर्सी गाईको लागि मान्म बजारको वातावरण त्यति उपयुक्त ठहरिएन । दुई वर्षं पुग्दानपुग्दै गाईहरु रोगाउन थाले । गर्भिणी भएनन् । आखिर गाईफार्म असफल भयो । बिजुली निकाल्ने बाँध बाढीले बगाएपछि डेरी फर्म पनि बन्द भयो । स्थानीय रुपमा संकलित दूधलाई तताएर प्याकिङ गरेर बेच्ने काम भने हालसम्म चलेको भए पनि ठूलो असफलता व्यहोर्नु प¥यो संस्थाले ।’ 

यसरी असफलता बेहोरेपछि हिमचुली आजका दिनमा गाइपालन भन्दा बाख्रा र भेडा पालनमा स्थानीय कृषहरुलाई सहयोग गर्दै छ । लघुवित्त कार्यक्रम अन्तर्गत हाल आएर पशुमा बाख्रा र भेडा अनि दुग्धका लागि भैंसी पालनलाई प्रोत्साहित गरेको छ । हाल संस्थामा पूर्णकालीन करिब २० कर्मचारी छन् । पाँचवटा सेवा केन्द्र छन् अनि करिब ८ करोडभन्दा माथिको आर्थिक कारोवार छ । 

‘नेतृत्वकर्ताले असफलताबाट निराशा होइन शिक्षा लिनुपर्दो रहेछ’ बराल भन्नुहुन्छ– ‘हामीले विकल्प नदेखेर गाईपालन र डेरी असफल भयो भनेर टाउकोमा हात लगाएर बसेको भए अहिले हाम्रा सदस्यहरु ६५०० हुने थिएनन् । नेतृत्वकर्ता भनेको नै विकल्प देख्न सक्ने अनि असफलताबाट सिकेर अघि बढ्ने रहेछ । हामी अहिले त्यही गरिहेका छौँ ।’

हुन पनि बराल सरको कुरा सही नै हो । अहिले मान्मको कृषि सहकारीको नाम लिँदा सबैले हिमचुली सम्झँदा रहेछन् अनि लघुवित्तको अग्रणी संस्था कुन हो भनेर सोध्दा पनि सबैको मुखमा झ्वाट्ट आउने नाम बनेको छ हिमचुली, कालिकोट जिल्लामा । हिमचुली हिमाल जस्तै चुलिइरहोस् हाम्रो पनि शुभकामना ।

  

Saturday, April 15, 2017

‘स्वर्गको अर्को पाटो ’ उघार्दा

Other Side of Paradise (स्वर्गको अर्को पाटो) । समुद्रको नीलो पानी, हिमाल अनि अमेरिकी वास्तुकलाको सुन्दर भवन तीनवटाको संयोजन छ बाहिरी भागमा । समुद्रको नीलो पानीभित्र सेता अक्षरमा लेखिएको छ Other Side of Paradise । शीर्षक र चित्र दुवैले आकर्षित गर्छन् मलाई । तल लेखिएको केनी पाण्डेले मलाई द्विविधामा पार्छ । कसको सिर्जना हो यो ? नेपाली नाम अनि अंग्रेजी भाषा । जिज्ञाशा बढ्छ, के होला यसभित्र ? किन स्वर्ग नै राखियो शीर्षकमा ? फेरि स्वर्गका पनि विविध पाटा हुन्छन् र ? जिज्ञाशासँगै अघि बढ्छु म । पाइला चाल्नासाथ भेट हुन्छ शेर्पा युवक पेम्बा जो हिमालमा हुर्केको, शिक्षित, कमाइदार अनि विनम्र, शिष्ट र भद्र छ, युवमा हुनुपर्ने सबै गुणले भरिएको छ ऊ, अनि अमेरिकी युवती लिन्डा छे ऊसँगै । अमेरिकाको प्रसिद्ध स्मिथ ल फर्ममा काम गर्छे, एक्जिक्युटिभ सेक्रेटरीका रुपमा । रुप, स्वभाव, प्रतिभा र आर्थिक सम्पन्नताले झर्झराउँदी छे ऊ । म दुवैसँग सँगसँगै यात्रा गर्न थाल्छु नेपालका पहाड, पर्वत, खोलानाला, कन्दरा, गाउँ र हिमालसँगै । रमाइलो लाग्छ उमेरले नेटो काटे पनि युवाहरुसँगसँगै यात्रा गर्दा । म घरि काठमाडौँ, नाम्चे र फाप्लुमा पुग्छु, घरि अमेरिकाको लसएन्जल्स, मियामी अनि डेनभर हुँदै एमिश समुदायको प्राचीन र सरल गाउँमा पुग्छु जहाँ उनीहरु तपस्या गरिहेका छन् मुक्तिको खोजी गर्ने पूर्वीय ऋषिहरुझैँ ।

पेम्बा र लिन्डासँगै म युरोपका पेरिसको लुभ्रका चित्रहरु नियाल्छु, ग्रिक कला र सँस्कृतिको रहस्य बुझ्छु अनि हेर्न पुग्छु रोमको प्राचीन कला र भव्य स्मारकहरु, पोपको दरवार अनि त्यहाँ कोरिएका प्राचीन चित्रअरुसँग हातेमालो गर्छु । घरी उनीहरुका प्रेमालाप सुन्छु, घरी युवाजोशका प्रणयलीला हेर्छु, सडकदेखि शयनकक्षसम्मका । उनीहरुको जीवनका विछोड र पीडाले घरी व्यथित हुन्छु, फेरि तपस्या गर्दै गरेका अमेरिकाको भव्यता र आधुनिकताबाट टाढा बसेका एमिश समुदायमा खेत जोत्न र गाडा चलाउन पुग्छु, अनि फेरी फर्केर अमेरिकीहरुलाई स्वर्गको अर्को पाटो देखाउने कामलाई व्यवसाय बनाएर प्रसस्त कमाइ गरिहेका व्यावसायी पेम्बा र मोनासँगै खुसी हुँदै हाँस्छु दंग परेर र भन्छु वाह क्या जीवन, यही त हो स्वर्ग । 

युवाजोडीसँग डुलादुल्दै म झस्कन्छु र पल्टाउँछु केनी पाण्डेको स्वर्गको अर्को पाटो (Other Side of Paradise) जसले मलाई स्वर्गका भिन्नभिन्न अझ व्यक्तिव्यक्तिका स्वर्ग देखाउन थाल्छ म रमाउँछु उनीहरुका ती स्वर्गसँगै । २०७३ को अन्त्य र २०७४ को शुरुआतको दोसाँधका करिब चार दिन म यात्रारत हुन्छु केनी पाण्डेसँगै स्वर्गको अर्कोपाटो हेर्न, घुम्न, रमाउन र उघार्न ।  

स्वर्ग के हो र नरक के हो ? यसबारेमा पूर्वीय र पाश्चात्य दुवै जगतमा व्यापक बहस भएका छन्, अनेक ग्रन्थ, दर्शन र साहित्य लेखिएका छन्, लोककथा प्रचलित छन् । तर सामान्य मानिसका लागि स्वर्ग के हो ? प्रश्न सजिलो भए पनि उत्तर त्यति सजिलो छैन । स्वर्गका आआफ्ना परिभाषा छन् मानिसका । खान नपाएकालाई पेटभरि खान पाउनु नै स्वर्ग, दुःखमा बाँचेकालाई दुःखबाट मुक्त हुन पाउनु स्वर्ग । 

सामान्यतः लाईखाई गर्न पुग्ने धन, शान्त र सुखी परिवार, मानसिक रुपमा शान्ति र अमनचयन शायद यही होला सामान्य मानिसका लागि स्वर्ग । जीवनपछि भोगिने कुराको अमूर्ततामा मुक्तिको कामना गर्नेहरुका लागि स्वर्गको काल्पनिक संसार बढी प्रभावकारी छ । तर जीवन छँदै भोग्न नपाएको कुराको अनुभूति कसरी गर्ने ? जीवनमै भोगेर त्यसको मजा लिन चाहनेहरुका लागि भौतिक सुख, सुविधा र मानसिक शान्ति र सन्तुष्टिका पक्ष नै बढी महत्वपूर्ण हुन्छन् स्वर्गको अनुभूतिका लागि । 

स्वर्गको अनुभूति वर्णन गर्नु शायद त्यति सजिलो छैन । त्यसैले मानिसहरु भन्छन् कस्तो स्वर्गीय आनन्द ? कस्तो हुन्छ त्यो आनन्दको अनुभव ? फेरि पनि अमूर्त नै आउँछ त्यसको उत्तर । हरेक मानिसका आआफ्नै परिभाषा छन् स्वर्गका, आआफ्ना अनुभव छन् त्यसका बारेमा । एउटाको लागि स्वर्ग मानिएको त्यही ठाउँ र सुविधा शायद अर्काको लागि नरक हुन्छ अनि फेरि अर्को स्वर्ग खोज्छ ऊ । 

सामान्य नेपालीका लागि अमेरिका स्वर्ग हो । त्यहाँका सुख, सुविधा, भौतिक समृद्धि अनि कमाइले दिने सुखानुभूतिका कारणले नै शायद मानिसहरुले अमेरिकालाई स्वर्ग ठानेका होलान् । त्यहाँ जान पाए कस्तो हुँदो हो भनेर अनेक प्रयत्न गर्छन् मानिसहरु । तर त्यहाँ पुगेपछि उसले भोग्ने कुरा कति सुखद वा दुखद छ ? शायद त्यहाँ पुगेपछि उसको कल्पना र यथार्थबीच ठूलो खाडल पत्ता लगाउँछ । 

काम, पैसा, व्यापार, समयको सीमा आदिमा निरन्तर जेलिएर त्यसकै सीमामा बाँधिएकी अमेरिकी युवती लिन्डाका लागि नेपालको साधारण जीवन, तनावरहित समयतालिका, कम अपेक्षायुक्त जीवनशैली, प्रकृतिसँग सामीप्य रहेको जीवन व्यवहार नै स्वर्ग लाग्छ भने नेपालको हिमाली भागमा सुखदुःख भोगेर जीवन गुजारेको पेम्बालाई लागि प्रशस्त कमाइ, आर्थिक आधार दिने गतिलो व्यवसाय, सुन्दर घरबार अनि आर्थिक सुरक्षा नै स्वर्ग लाग्छ । त्यसैले स्वर्गको परिभाषा नै भिन्न छन् हरेका मानिसैपिच्छे । 

लेखक केनी पाण्डेको करिब ४०० पृष्ठ लामो कृति इतजभच क्ष्मभ या एबचबमष्कभ पढिसकेपछि मैले गरेको अनुभूतिको एउटा पक्ष हो यो । 

उमेर र अनुभवले आधा शताब्दी काटिसकेका पाण्डेको यो कृति नेपालका त्यसमा पनि खासगरी हिमालको नजिक बस्ने शेर्पाहरुका जीवनशैली, सामाजिक व्यवहार, साँस्कृतिक पक्ष आदि समेटेर पेम्बा नामको मध्यम वर्गीय पात्रको चरित्रचित्रणसँगै पुस्तकको शुरुआत हुन्छ । पेम्बा एउटा ट्रेकिङ कम्पनीमा काम गर्छ । ट्रेकिङका लागि आउने यात्रुलाई गाइड र समन्वय गर्ने जिम्मा छ उसको । अमेरिकी समाजमा हुर्केबढेकी किशोरी लिन्डा प्रकृतिको स्वर्ग मानिने देशको रुपमा कल्पना गर्दै एउटा ट्रेकिङ समूहकी सदस्य बनेर नेपाल आउँछे । उसलाई पेम्बाको रुप, बानी र व्यवहार साह्रै मन पर्छ । दुवै एकअर्काको प्रेममा पर्छन् । शेर्पा युवक पेम्बा शिक्षित, सुसंस्कृत र विनयशीलताले भरिएको छ । पश्चिमा व्यक्तिगत जीवनशैलीमा हुकेर्ककी किशोरीको मनमा उसले सहजै स्थान पाउँछ । पेम्बालाई हृदयको राजा बनाउँछे लिन्डाले । 

मन सुम्पेपछि शरीर सुम्पन कठिन छैन अमेरिकी नारीहरुका लागि । लिन्डाले मन र शरीर दुवै सुम्पन्छे पेम्बालाई फाप्लु यात्रामै । पेम्बाको पुरुषत्व पनि काँतर बन्न चाँहदैन लिन्डाको सुन्दर शरीर र रुपमा लठ्ठिन पाउँदा । दुवैको मन र शरीर एकाकार हुन्छ फाप्लुको होटलको कोठाभित्र । स्वर्गीय आनन्दको अनुभव गर्छन् दुवैले एकअर्कालाई पाउँदा । 

पेम्बाका आफ्नै भावना र कल्पना छन् जीवनका बारेमा । नेपालका उच्च हिमाल घुम्दै, ट्रेकिङमा आउने विदेशी पर्यटकहरुलाई हिमाली भेगको यात्रा गराउने संयोजक र कुकको काम गर्दै उसले आफूलाई क्रमशः आर्थिक रुपमा समर्थ र सक्षम बनाउँदै लगेको छ । सबैको  प्यारो छ पेम्बा । स्वदेशी मात्र होइन विदेशी पनि उसको कामबाट खुशी हुन्छन्, इनाम दिन्छन्, बेलाबेला सम्झेर उपहारहरु पठाउँछन् । पेम्बा आफ्नै स्वर्गमा रमाइरहेको छ हिमालको फेदीमा बसेर । उसका केही पारिवारिक दायित्व र जिम्मेवारीहरु छन्, निर्वाह गरिहेको छ आफ्नो बुताले भ्याएसम्म । परिवारलाई सुख र सुविधासँग पाल्ने, बाबुआमालाई राम्ररी हेरचाह गर्ने, बहिनीहरुलाई राम्ररी पढाइलेखाइ गराएर सक्षम बनाउने अनि सकेसम्म एउटा सानो व्यवसाय खोलेर जीवन धान्ने धोको छ उसको । धेरै महत्वाकांक्षा छैनन् उसका । बौद्ध धर्माबलम्बी भएकाले जीवनशैली साधारण छ । बौद्ध दर्शन र संस्कृतिको गहिरो प्रभाव छ उसको जीवनमा । 

लिन्डासँगको भेटपछि पेम्बाको जीवनले नयाँ मोड लिन्छ । लिन्डालाई नेपालीहरुको जीवनशैली, यहाँको प्राकृतिक वातावरण, पारिवारिक माया र प्रेम स्वर्गीय लाग्छ । ऊ पेम्बालाई छोड्नै नसक्ने अवस्थामा पुग्छे । दलाइ लामालाई भेट्न पेम्बालाई सहयोगी बनाएर भारत यात्रा गर्छन् दुवैले । सोच्दै नसोचेको जीवनयात्रा शुरु हुन्छ पेम्बाको । उसभित्र कल्पनाको जीवन फैलिन थाल्छ । संसारभरका मानिसका लागि स्वर्ग मानिएको अमेरिका अब उसको पनि कल्पनाको स्वर्ग बन्छ । त्यहाँ जान पाउने अवसर बनेर आउँछे लिन्डा । लिन्डाको प्रेमीको रुपमा ऊ अमेरिका पुग्छ, लिन्डासँग विवाह गर्छ र सँगसँगै जीवन बिताउन थाल्छ । 

करिब पौने एक वर्षको प्रतिक्षापछि लिन्डा र पेम्बा अमेरिकी जीवनशैली र पारिवारिकतामा एकाकार हुन्छन् । परिवारका लागि भरणपोषणको जिम्मा केही समयका लागि लिन्डाले लिन्छे । लामो हनिमुनका लागि पेम्बा र लिन्डा युरोप पुग्छन् । पेरिस, रोम, ग्रीस घुम्दै हनिमुन सकेर अमेरिका फर्कन्छन् । लिन्डाको किशोर शरीर पेम्बासँग हरदम लुटपुटिन र त्यसको रसपानमा रमाउन चाहन्छ तर काम र समयको तालमेल नमिल्दा उसले जे खोजेको हो त्यो नपाएको रिक्तताको अनुभव गर्छे । विस्तारै उसलाई पेम्बाको विकल्प खोज्ने इच्छा बढ्न थाल्छ, काम पनि परिवर्तन गर्ने चाहना बढ्छ । 

हवाइ यात्राको क्रममा एकाएक भेटिएको एक जना फिल्म अभिनेताले लिन्डाको आँखामा अर्को प्रेमी बनेर प्रकट हुन्छ । पेम्बाभन्दा आफ्नो लागि त्यो मानिस उपयुक्त हुने र नयाँ करियरका लागि सहयोगी बन्न सक्ने निचोडमा पुग्छे । एक दिन एकाएक पेम्बासँग डिभोर्सको प्रस्ताव राख्छे लिन्डाले । समयको गति यति तीव्र हुन्छ, पेम्बाले त्यसलाई पछ्याउन सक्तैन । घर, परिवार, जागिर अनि समाज सबै छोडेर आफ्नो देशभन्दा कहाँ हो कहाँको त्यो अपरिचित भूमिमा एक्लो हुनुपर्ला भन्ने कल्पना पनि नगरेको पेम्बाको जीवनमा आइपरेको बज्रपातले उसको हृदय छियाछिया हुन्छ । सहन गर्ने शक्ति गुमाउँछ । मानसिक आघातका कारण आफूलाई बेसहारा सम्झन थाल्छ । नचिनेको ठाउँ, अपरिचित संसार, अभ्यस्त नभइसकेको जीवनशैलीमा जेलिएर बस्ताबस्तै शहरमा बसेर पनि घनघोर जङ्गलमा हराएझैँ हुन्छ पेम्बा । डिप्रेसनले गाँज्दै लैजान्छ । जीवन बिताउने कुनै उज्यालो बाटो देख्तैन अगाडिको । एकाएक सपनमा देखेको एमिश समुदाय उसको सहारा हुन सक्ने लाग्छ उसलाई । त्यसैको खोजीमा निस्कन्छ । आपूmले कमाएको केही पैसा घरतिर पारिवारिक सहयोगका लागि पठाउने व्यवस्था गरेर ऊ अमेरिकाको एक रहस्यमय एमिश समुदायको शरणार्थी बन्न पुग्छ । करिबकरिब नेपालको दुर्गम गाउँझैँ लाग्ने, आधुनिक सुखसुविधाबाट परै रहेको ग्रामीण जीवन शैलीको झल्को दिने त्यो ठाउँ नै जीवनको एक मात्र सहाराको रुपमा देख्छ पेम्बाले । घर फर्कने र अर्को संसार बसाउने आश मारिसकेकाले आफ्नो पासपोर्ट, ग्रिन कार्ड सबै जलाएर नष्ट गर्छ र करिबकरिब गुप्तबासमा बस्छ ।
निराशाको बीचमा आशाको दियोझैँ बनेर आउँछ एमिश समुदाय पेम्बाको लागि । त्यहाँ बसेको करिब छ महिनामै ऊ त्यहाँको जीवनमा पूर्ण अभ्यस्त हुन्छ र समुदायको माया र प्रेम पाउन सफल हुन्छ । सबैको प्यारो हुन्छ पेम्बा । त्यही बीचमा एक जना शुभचिन्तक अमेरिकी नागरिक जेम्स उसलाई खोज्दै त्यहीँ आइपुग्छ । जेम्स ¥याफ्टिङका लागि नेपाल आएका बेला ठूलो दुर्घटना हुनबाट बचाएको थियो पेम्बाले । त्यसैको गुन सम्झेर जेम्स पेम्बालाई भेट्न पुगेको थियो एमिश समुदायको गाउँमा । 

जतिसुकै घनघोर अँध्यारो भए पनि उज्यालोको अस्तित्व त रहिरहेकै हुन्छ । पेम्बाको जीवनमा प्रकाश बनेर प्रकट हुन्छ जेम्स । उसले एमिश समुदायबाट पेम्बालाई निकालेर फेरि अमेरिकी सम्पन्नताको संसारमा प्रवेश गराउँछ । आफ्नो कम्पनीको शेयरहोल्डर बनाउँछ, काम दिन्छ, सहारा दिन्छ । काममा इमान र मिहिनेत गर्नसक्ने पेम्बा जेम्सको साथ र सहयोगले आर्थिक रुपमा सबल र सक्षम बन्दै जान्छ । कमाइले एउटा घर किन्न र आफ्नै आवासमा बस्न थाल्छ । साथीभाइ र शुभचिन्तकहरु विवाहको कुरा गर्न थाल्छन् । ऊ अब विजातीय संस्कृतिकी महिलासँग होइन आफ्नै संस्कृति र समाजकी महिलासँग जीवनयापनको सम्भावना देख्छ र नेपाल आउँछ विवाहका लागि । 

उसको काकाले सबै व्यवस्था मिलाउँछ । पोखरामा होटल चलाएर व्यवसाय गरिरहेकी सुसंस्कृत केटी मोनासँग उसको सम्बन्ध गाँसिन्छ । करिब दुई वर्षको प्रतिक्षापछि फेरि पेम्बाको दाम्पत्य जीवनको सुखसहित अमेरिकी व्यवसायी बन्छ । मोनाले एउटा होटल चलाउँछे । कमाइ बढ्दै जान्छ । पोखरामा पनि एउटा विदेशी ढाँचाको घर बनाउँछ । अमेरिकामा पनि व्यवसाय, घर र कमाइको पर्याप्त सुरक्षासहितको स्वर्गीय जीवनमा प्रवेश गर्छ पेम्बा । 

उपन्यासको कथावस्तु उतारचढायुक्त छ । पेम्बा र लिन्डा हुर्केबढेको समाज, उनीहरुको सोच्ने र काम गर्ने तरिका अनि जीवनप्रतिको अपेक्षा र आकांक्षाको विपरिततामा कथा अघि बढ्छ । दुवैको समानान्तर चित्रणले उपन्यासलाई गतिमान् बनाएको छ । दुई भिन्न संस्कार, सँस्कृति र जीवनशैलीको मसिनो चित्र प्रस्तुत गर्छ उपन्यासले । शेर्पाहरुको समाजको चित्र प्रस्तुत हुन्छ पेम्बाको माध्यमबाट अनि अमेरिकी समाजको सँस्कृति र व्यवहार अनि जीवनशैली प्रस्तुत हुन्छ लिन्डाको माध्यमबाट लिन्डा स्वच्छन्दता मन पराउँछे । उसका लागि आपूm पहिलो हो अनि मात्र परिवार र समाज । पेम्बाका लागि समाज र परिवार पहिलो प्राथमिताको र त्यसपछि मात्र आफू र आफ्नो स्वतन्त्रता । लिन्डाका लागि पारिवारिकता तोड्नु र जोड्नु बायाँ हातको खेल हो जहाँ आफूलाई कमाइ, करियर र सन्तुष्टी हुन्छ त्यही मानिससँग शरीर र मन समायोजन गरी अवसर र कमाइमा रोमाञ्चित हुन पाउनु नै उसका लागि प्राथमिकताको विषय हो । तर पेम्बाको लागि जीवन आफूले भोग्नु र रोमान्स गर्नु मात्र होइन परिवार, समाज र व्यवसाय अनि आर्थिक कमाइ सँगसँगै लैजानु पर्छ । यसो गर्दा आइपर्ने कतिपय कुरामा सम्झैता र समायोजन पनि गरिरहनु पर्छ । 

लिन्डा समाज र परिवारभन्दा आफ्नो व्यक्तिगत चाहना र आकांक्षालाई मुख्य ठान्छे । आफ्नो जीवन कसरी चलाउने, कसरी बाँच्ने त्यो पूर्णतः आफ्नै हातमा र आफ्नै रोजाइमा हुनुपर्छ भन्ने ठान्छे । बाबु पनि उसको इच्छामा हस्तक्षेप गर्न चाहँदैनन् तर आमा अन्त्यसम्म पनि अमेरिकी र क्रिस्चियन बाहेक अरुकेटासँग विवाह नगरे हुन्थ्यो भनेर लागिरहन्छिन् । केही सीप नलागेपछि मात्र पेम्बालाई स्वीकार्ने अवस्थामा पुग्छिन् । पेम्बाको संस्कृतिको सम्मान गर्छे लिन्डा अनि लिन्डाको संस्कृतिको सम्मान गर्छ पेम्बा । 

उपन्यासकारले दुई भिन्न सँस्कृतिको भिन्नताको चित्र प्रस्तुत गर्न निकै मिहिनेत गरेको देखिन्छ । कहीँ कसर बाँकी राखेका छैनन् उनले । अमेरिकी नारी र नेपाली शेर्पा पुरुष । भिन्न संस्कृति, भिन्न अपेक्षा र जीवनप्रतिको भिन्न दृष्टिकोण । अमेरिकी नारीहरुका लागि जीवन रोमान्स र अमेक्षापूर्तिका लागि हो, पेम्बाका लागि जीवन दायित्व, प्रेम र सहकार्यको त्रिवेणी हो । यसमा कैयौँ कुरा समायोजन, सम्झौता र सहकार्य आवश्यक हुन्छ । तर लिन्डा तत्काल आफ्नो चाहना पूरा हुनुपर्ने ठान्छे, धैर्य र अर्को पक्षको सुविधा र मर्काप्रति उसलाई कुनै सरोकार नै छैन । पैसा र रोमान्स नै उसको लक्ष्य हो । आफ्ना चाहना पूरा नहुने र अहिलेकोभन्दा उन्नत अवसर आयो भने भइरहेको लोग्ने छोड्नु र अर्को खोज्नु उसका लागि सामान्य कुरा हो, खेलजस्तै । तर पेम्बाका लागि वैवाहिक जीवन प्रेम, दायित्व र कर्तव्यले बाँधिएको त्रिवेणी हुनुपर्छ, लिन्डाका लागि वैवाहिक जीवन रसमय, प्रेमिल र रोमान्सले भरिएको हुनुपर्छ । यिनै दुई भिन्न दृष्टिकोणबीचको दूरी बढ्दै जाँदा दुवैबीच पारपाचुके हुन्छ । लिन्डाले डिभोर्स गर्छे अर्को सक्षम पुरुषसँग आफ्नो करियर राम्रो हुने देख्नासाथ । 

पेम्बाले लिन्डासँग डिभोर्स होला भन्ने सोचेको नै हुँदैन, त्यो पनि यति भाँडै । एकल पतिमा जीवन गुजार्ने र अनेक दायित्वबोधको सीमाले बाँधिएर दाम्पत्यको धागो कायम राख्ने समाजको पेम्बा दालभात झैँ एक वा अर्को प्रेमी र पति फेर्न कति पनि संकोच नमान्ने लिन्डा देख्ता लाग्छ अमेरिकी समाजमा पारिवारिकता भन्ने कुरा नारीको इच्छाको वरिपरि तरवारको धारझैँ चलेको हुन्छ । कतिबेला तरवारको धारले जीवन समाप्त पार्छ त्यसको कुनै अन्दाज हुँदैन । अमेरिकी पारिवारिकतामा । 

भौतिक सुख र सुविधामा जीवनको सार्थकता खोज्ने समाजको संस्कार र समाजमा हुर्कीएकी लिन्डाहरुका कारण अमेरिकी समाजले ठूलो पारिवारिक पीडा भोगिरहेको चित्र प्रस्तुत गर्छ उपन्यासले ।
हरेक समाज र भूगोलपिच्छे मानिसका आस्था, विश्वासप्रणाली र साँस्कृतिकता भिन्न छन् । जतिसुकै खराब समाजमा पनि केही असल मानिस फेला पर्नसक्ने म्भिावना भने जहिल्यै रहन्छ । अमेरिकी जापानी मार्लोटे र तनाका, जेम्स वा सुमित्ज यस्तै मानिस हुन् जसलाई उपन्याले असल चरित्रको रुपमा चित्रण गरेको छ । मानिस भएर मानिसप्रति देखाउने सद्भाव अनि दया र प्रेम भने मरिसकेको चाहिँ छैन है भन्ने सन्देश पनि उपन्यासले दिएको छ । संसारभर जहाँसुकै राम्रा र नराम्रा पक्षाले समाज बनेको छ । खराबभन्दा खराब समाजमा पनि कोही न कोही असल मानिस भेटिने सम्भावना भने रहिरहन्छ भन्ने संकेत गर्छन् लेखक तनाका, जेम्सजस्ता मानिस प्रस्तुत गरेर । मानिस भएर भोग्न पाउने उज्यालो संसार तिनै मानिसका कारण बाँचिरहेको कुरा पनि ती असल चरित्रको माध्यमले देखाउन खोजिएको छ । पेम्बाले तिनै असल मानिसको सहारा पाएर जीवनको अर्को स्वर्ग पाउँछ अमेरिकी समाजमा । 

पेम्बाको अमेरिका प्रस्थानको क्रममा थाइल्यान्डमा भेटिएकी उबोनको जीवन र उसको परिवारको शब्दचित्र प्रस्तुत गरेर थाइ पारिवारिकताको चर्चा गर्न चुकेका छैनन् लेखक । थाइ र नेपाली दुवै पूर्वीय सँस्कृति र माजका अंग भएकाले दुवैको सोचाइ र दायित्वबोधको समानता देखाएका छन् लेखकले । थाइल्यान्डको रात्री जीवनमा युवतीहरुको प्रयोग कसरी भइरहेको छ, उनीहरुको कस्तो बाध्यता छ र पारिवारिक दायित्वमा उनीहरु आफूलाई कहाँसम्म बलिदान गर्न तयार छन् भन्ने कारुणिक चित्र उबोनका माध्यमले प्रस्तुत गरिएको छ । 

आफ्नै शरीर, रुप र जवानी बिक्री गरेर भनेपनि परिवारको भरणपोषण र बाबुको उपचार गर्ने बैंकककी उबोन र लिन्डाबीचको तुलना गर्न मन लाग्छ पुस्तक पढिसकेपछि । बैंकको  महँगो जीवनमा बाँचिरहेको एउटा गाउँबाट शहर पसेको थाइ किसान परिवारको त्यो अवस्थालाई माथि उठाउन आफूलाई समर्पित गर्ने त्यो थाइ युवती उबोनको जीवन अनि एउटा पतिबाट आफ्ना इच्छा पूरा हुननसक्ने देख्नासाथ चटक्क छोडेर अर्कैसँग टाँसिने लिन्डको तुलना गरेर कुन समाज चाहिँ स्वर्गीय हो सोच्न बाध्य बनाउँ छ पाठकलाई । परपुरुषसँग हिँडेर केही पैसा आर्जन गर्ने र परिवारको पालनपोषण गर्ने उबोन पुस्तक पढिसक्ता पनि निकैदिन आँखा अगाडि आइरहन्छे, जसलाई पाठकको मनले सहानुभूतिको वर्षा गरिहन्छ । 

ग्रिक र रोमन सँस्कृतिसँग हिन्दू सँस्कृति र देवीदेवताको तुलना गरेर युरोप र एशियाको दूरी टाढा भए पनि मानिसभित्रको विश्वास प्रणालीबीच कुनै न कुनै समाानता रहेको औँल्याएका छन् लेखकले । 

भाषिक सरलता र सरसता अनि प्रवाहमान् लेखनकलाले लेखकको अंग्रेजी भाषाको दख्खल देखाउँछ । आदिदेखि अन्त्यसम्म शायदै कुनै शब्दको अर्थ खोज्न डिक्सनरी पल्टाउनुपर्ला । विमातृभाषी भएर पनि मातृभाषी लेखकझैँ अंग्रेजी भाषामा त्यो स्तरको प्रस्तुतिको र पाण्डेको लेखकीय क्षमताको प्रशंसा गर्नै पर्छ । अंग्रेजी भाषामा त्यो स्तरकोअनि  त्यति ठूलो आकारको कृति लेखिनु आफैँमा गौरवको विषय हो भने त्यो स्तरको भाषिक दख्खल भएका लेखक पाउनु नेपालीका लागि गौरवको विषय हो । 

चाहे प्रकृतिको वर्णनमा होओस् वा कलाको, मानवीव भावनाको होओस् वा दृश्यको सजीव वर्णन सामथ्र्य र तदनुकूल शब्द चयनमा लेखकको दक्षता प्रशंसनीय छ । कार्यालयमा गरिने कुराकानी होओस् वा रात्रीकालीन शयनकक्षाभित्र दम्पत्तीबीच गरिने कृयाकलाप सबैमा जुन सम्बादको प्रयोग लेखकले गरेका छन् त्यसले लेखकको क्षमतालाई उजागर गर्छ । 

यति हुँदाहुँदै पनि पुस्तकमा केही कमजोरी नभएका भने होइनन् । पेम्बा र लिन्डाको चरित्रचित्रण सुरुमा जसरी गरिएको छ त्यसको एक रुपता बीचमा पुगेपछि धरमराउँछ । अत्यन्त शालीन, भद्र र पाको चरित्रका रुपमा शुरुमा प्रक्षेपित हुने दुवै चरित्र जीवनको व्यवस्थापन र दृष्टिकोणमा क्रमशः कच्चा देखिन्छन् पछिल्ला चरणमा । शयनकक्षको क्रियाकलापको वर्णनमा शालीनता प्रशर्दन भएन कि भन्ने लागिरहन्छ । कहीँकहीँ असाध्यै उच्चाटलाग्दो गरी मसिनो वर्णन गरेर लेखकले पाठकको धैर्यता जाँच गरेझैँ लाग्छ । मिहीन वर्णनमा लागिरहँदा मूल कथावस्तु बेलाबेला हराएझैँ लाग्छ । लिन्डाको कार्यालयको व्यवहार, युरोपको हनिमुनताकाको वर्णन, पेरिसको लुभ्र संग्रहालयका चित्र अनि रोमको वर्णनमा अत्यधिक मिहिनताले पाठकलाई वाक्क बनाउँछ । यिनलाई छोटकरीमा प्रस्तुत गर्न सकिन्थ्यो जसले पुस्तकलाई अझ सरस बनाउँथ्यो ।

मोनालाई विवाह गर्न केटी हेर्न जाँदाको पेम्बा र मोनाबीचको सम्बाद र क्रियाकलाले नेपाली होइन अमेरिकी समाजको झल्को दिन्छ । नेपाली समाजका केटीहरु एउटा अपरिचित केटो आफूलाई विवाहका लागि हेर्न आउँदा त्यस्तो व्यवहार गर्न सक्ली र ! भन्ने मनमा लागिरहन्छ । त्यति मात्र होइन शयन कक्षमा सुहागरातको दिन मोनाले गरेको व्यवहार र पेम्बाको प्रस्तुति अमेरिकन दम्पतीको प्रतिस्थापन भएझैँ लाग्छ, स्वाभाविक लाग्दैन । जतिसुकै शिक्षित र खुला व्यवहारका भए पनि नेपाली संस्कृतिको परिवेशले त्यो स्तरको व्यवहार अझै सम्भव छैन । 

यी सानातिना कमजोरी बाहेक समग्रमा लेखक केनी पाण्डेको जुन मिहिनेत, कल्पना सामथ्र्य र आख्यानीकरणको कला छ त्यो निश्चय नै सम्भावना र सामथ्र्यले भरिएको छ । यति बृहदाकार कृति, यति विस्तृत परिवेश अनि दुई भिन्न सँस्कृति, विश्वास प्रणाली, धार्मिकता र पारिवेश समेटेर पुस्तकको रुपमा प्रस्तुत गर्नु निश्चय नै लेखकको सफलता हो । लामो धैर्य, कठिन परिश्रमबिना यो सम्भव छैन । नेपाली र अमेरिकी सँस्कृतिको तुलना गरेर यति बृहदाकार कृति लेखिनु नेपालीको लागि गौरवको बिषय हो । यो स्तुत्य प्रयासमा लेखक बधाइका पात्र छन् । भविष्यमा पनि यस्तै गहकिला कृति सिर्जनाको अपेक्षा गर्न सकिने लेखकको सम्भावना देखिन्छ पाण्डेभित्र ।
२०७४।१।२

Wednesday, March 29, 2017

नानजिङ रोडकी चे न्युहाई

सांघाइको पर्ल टावर चढेर याङपु नदीमा जलयात्राका लागि ‘फेरी’ चढ्नै लाग्दा पश्चिमपट्टिको आकास रक्तिम थियो । सडक  वरपरका दृश्य रक्तिम प्रकाशमा अझ मादक र रोमाञ्चक हुँदै थियो । गाडी बढी र मानिस कम हुने सांघाइका सडकमा युवायुवतीका जोडी बाक्लिएका थिए । पार्कहरु भरिभराउ थिए युवा जोडीले । साँझको रंगीन बत्तीको झलझलाकार उज्यालोमा आलिंगनबद्ध भएर मादकता भर्दै थिए सुन्दर युवा–युवतीहरु । हामी घुम्दाघुम्दै कल्पनाको स्वर्गमा आइपुगेको अनुभव गर्न बाध्य भएका थियौँ ती सबै दृश्य आँखाभित्र कैद गरेर ।
‘बेलुकाको सांघाइ दिनभन्दा रमाइलो हुन्छ । नानझिङ रोड र पर्लटावर एरिया दिनमा भन्दा राति घुम्नु राम्रो । बेलुका त्यहाँ जान नछुटाउनू है !’ भर्खरै सांघाइ पुगेर फर्केको साथी मिङ्मा शेर्पाले मलाई भनेको थियो, काठमाडौँमै । सांघाइ जान लागेको खबर सुनाउँदा सिरिथापको साथी सावतले पनि उसलाई त्यसै भनेको रहेछ । सांघाइ पुगेपछि सिरिथापको युवा मन नानझिङ रोडतिर तानियो । 

‘कस्तो होला रात्रिकालीन सांघाइ ? कस्तो होला नानझिङ रोड रातको झिलीमिलीमा ?’ जिज्ञाशा चुल्याएर व्यग्र बनेको थियो हामी दुवैको मन । त्यहाँ पुगेर अघाउन्जेल रात्रीकालीन सुन्दरता पिउन र त्यहाँको रात्रीकालीन रमझममा रमाउन, रसपानमा लठ्ठिन अनि रमाइला दृश्य क्यमरामा कैद गर्न हतारिएका थियौँ हामी ।
याङपु नदीविहारका लागि चिटिक्क परेका मझौला आकारका सेता रङका फेरीहरु तैनाथ थिए किनारामा । साँझपख फेरी चढेर याङ्पु नदीबिहार गर्न चाहनेहरु ह्वात्तै बढेका थिए । युवादेखि बुढाबुढीसम्म तँछाडमछाड गर्दै फेरी चढ्न हतारिएका देखिन्थे । सिरिथाप र म फेरीको माथिल्लो तलामा चढ्यौँ र छेउको रेलिङमा अडेस लागेर दृश्यावलोकनमा तल्लीन भयौँ । एकातिर चिनियाँ निर्माण–प्रविधिको गौरव पर्ल टि.भी. टावर र फाइनान्सियल टावर रंगीन बत्ती बालेर यात्रु र दर्शकतिर सन्ध्याकालीन सुन्दरता पस्किरहेका थिए भने अर्कोतिर झकमक्क बत्ती बालेर पूर्वी नानझिङ रोड पाहुनालाई स्वागत गर्न हतार गर्दै थियो ।

फेरीको माथिल्लो तलाबाट याङपूको छेउमा फहराइरहेको थाई झण्डा देखेपछि उत्तेजित हुँदै सिरिथापले भन्यो –‘सांघाइमा थाई झण्डा ! पक्कै पनि सियाम बैंक हुनुपर्छ त्यो ।’ उसका आँखा थाई झण्डा, याङ्पू, पर्ल एरिया र नानझिङ एरियामा ओहोरदोहोर गर्न थाले । हामी दुवै रोमाञ्चित हुँदै सांघाइको सुन्दरता पिउन मस्त भयौँ सन्ध्याकालीन रमझमसँगै । सिरिथाप घरिघरि फोटोखिच्न हतारिएर झुम्मिएका चिनियाँ युवायुवतीतिर आँखा सोझ्याउँथ्यो भने घरिघरि वरपरका रमाइला दृश्यतिर तानिन्थ्यो । 

सिरिथापले सुनेको थियो— ‘चिनिया सुन्दरीहरु संसारमै लोभलाग्दा मानिन्छन् साह्रै राम्रा । गोरो र चम्किलो अनुहार, स्लिम शरीर, सानो कद, छरिता, साह्रै फुर्तिला र आकर्षक । विदेशीहरु त चिनीयाँ सुन्दरी भनेपछि हुरुक्कै हुन्छन् ।’ आज उसले अरु कुरासँगै धित मारेर ती एक से एक सुन्दरीको सुन्दरता पिउने धोको पूरा गर्ने योजना बनाएको थियो । त्यो इच्छा पूरा गर्ने ठाउँमा आइपुग्दा सायद उसले आफूलाई संसारकै भाग्यमानी ठानेको थियो । 
..........
‘तिम्रो र मेरो केमिकल साह्रै मिल्छ, बेलुका नानझिङ रोड जाऊँ है ।’ मलाई उसले दिउँसै बुक गरेको थियो । मैले उसलाई स्वीकृति दिएको थिएँ । 

हाम्रो होटल नानझिङ रोडबाट करिव ३० किलोमिटर टाढा थियो । तीनवटा मेट्रो परिवर्तन गर्नुपथ्र्यो नानझिङ रोड पुग्न । नयाँ यात्रीका लागि कठिन नै भए पनि रात्रीकालीन दृश्यपानको आनन्दमा लुटपुटिन मेरो मन पनि तम्तयार भएको थियो । हामी दुवैजना सांघाइको रात्रीकालीन रमझममा रमाउन होटलबाट निस्केका थियौँ । मैले पनि सोचेको थिएँ– ‘फेरि यस जीवनमा सांघाई आइएला, नआइएला, आएको बेला सकेसम्म हेर्ने र बुझ्ने कुरा किन छुटाउनू !’ मेरो मनको उमङ्ग पनि हिमालझैँ चुलिएको थियो । 

पछौटेपन, गरिबी र अविकासको भुमरीमा फसेको मुलुकमा जन्मेहुर्केका मानिसलाई मात्र होइन विकसित मुलुकका पर्यटकलाई समेत चिनियाँ भौतिक विकासका आश्चर्यलाग्दा संरचनाले जिब्रो टोक्न बाध्य बनाउँथे । गाउँ, शहर, पर्वत, कन्दरा, नदी, समथर जहाँसुकै आश्चर्यजनक भौतिक संरचना बनाएर पचास वर्षमै संसारका सामु कुम जोड्न सक्नु पिछडिएको मुलुकको पर्यटकका लागि मात्र होइन संसारकै धनी र गौरवशाली देशका पर्यटकका लागि पनि रहस्यमय लाग्दो हो सांघाइ हेर्दा । मानिसले गर्न चाह्यो भने कसरी काम गर्न सक्छ भन्ने उदाहरण नै थियो त्यहाँको भौतिक र आर्थिक विकास । मेरो शिर सांघाइ पुगेपछि चिनीयाँहरुप्रति श्रद्धाले निहुरिएको थियो । मैले चिनियाँ समाज र शासनका बारेमा अनेक कुरा सुनेको थिएँ । चिनियाँहरुको अनुशासन, मर्यादा र संस्कृतिका बारेमा आफूले सुनेका कुराको सत्यता जाँच्ने र देख्ने अनुपम अवसर थियो मेरा लागि त्यो घुमाइ ।

सिरिथाप र मैले योजना बनायौँ, मेट्रोबाट पर्ल–टावर एरिया जाने, फेरीमा चढेर याङ्पूको सन्ध्याकालीन दृश्यावलोकन गर्ने अनि रात्रीकालीन नानझिङ रोडको रमझममा धितमरुन्जेल रम्ने । 

एक घन्टे याङ्पु नदीको दृश्यवलोकनको समय सकिँदानसकिँदै नानझिङ रोड बेहुलीजस्तै भइसकेको थियो । सिरिथापको मन नानझिङ रोडतिर दौडिन थाल्यो । शरीरमा रोमाञ्च र आँखामा जिज्ञासा लिएर सिरिथापले भन्यो– ‘साँच्चिकै रमाइलो रहेछ यो ठाउँ, नआएको भए त थकथक पो हुने रहेछ ।’

उसलाई लागेको हुँदो हो, सांघाइ चिनीयाँहरुको सपना हो अनि संसारकालागि आश्चर्य । त्यसलाई हेर्नु, भोग्नु र त्यसको स्वाद लिन पाउनु उसकालागि जीवनकै ठूलो उपलब्धि, आनन्द र गौरवको विषय हो ।
याङ्पू नदीको किनारमै रहेको फ्रेन्च होटेल पनोरमाको भव्यताले उसलाई आकर्षित ग¥यो । झिलिमिली बत्तीले धपक्क बलेजस्तो देखिएको त्यो होटल हेर्दै मसँग भन्यो– ‘फ्रान्स गएर यस्ता होटल हेर्ने र बस्ने अवसर पाइएला, नपाइएला यहाँ एकछिन घुमिहालौँ ।’ 

हामी होटेल पनोरमाको फराकिलो लबीमा पुग्यौँ । होटल साँच्चिकै आकर्षक र भव्य थियो । विथोविन र मोजार्टको सिम्फोनीमा झुमिरहेका थिए चिनीयाँ र विदेशीहरु । हामी पनि होटेलको सुन्दरतापानका लागि झिलिमिली बत्तीले झकिझकाउ बगैँचामा केहीबेर टहलियौँ । होटेलका कर्मचारी हामीलाई सोधपूछका लागि उपस्थित भए । सिरिथापले होटलको मूल्यसूचीतिर आँखा सोझ्यायो र आफ्नो खल्तीको ‘पर्स’ मा भएका विदेशी मुद्रा सम्झ्यो र मतिर फर्केर भन्यो— ‘मेरो खल्तीको सबै पैसा रित्याउँदा पनि एक रात बस्न नपुग्ने रहेछ ।’

मैले उसको भनाइलाई मुस्कानले सार मिलाएँ, शब्दमा व्यक्त गरिनँ ।

हामी बाहिरियौँ पनोरमाबाट । सडक किनाराका बस्नेटाहरुमा होओस् वा छेउमा उभिएर, चिनियाँ युवायुवती आपसी आलिङगन र चुम्बनमा अलमस्त थिए । आलिंगनबद्ध ती जोडीहरुमा साँझको रंगीन प्रकाश ठोक्किँदा हुनसम्म सुन्दर देखिएका थिए ती युगल जोडीहरु । चोर आँखाले फर्किफर्की हेरेको थियो सिररिथापले ती जोडीलाई । मैले मनमनै भनेको थिएँ, लोभलाग्दो युवा उमेर, भर्भराउँदो बैंश अनि खुल्ला र उन्मुक्त समाज अनि मनलाग्दी खर्च गर्न पुग्ने कमाइ । यस्तो उमेरमा सुन्दरता र शरीरको मादकतामा डुबुल्की नमारे कहिले गर्नु रमाइलो ? समय, समाज र उमेर अनुसार ठीकै गर्दैछन् यी युवाहरु । 

हामी जतिजति नानझिङ रोडतिर बढ्दै गयौँ, सिरिथापको मन लोभ्याउने त्यस्ता दृश्य पनि बढ्दै गए । उसको मनमा अनौठो कुतकुती लाग्न थाल्यो ती दृश्य हेर्दाहेर्दै । हामी नानझिङ रोडको मध्यभागमा रहेको ‘पर्यटक पार्क’ मा पुग्यौँ । मानिसहरु खचाखच थिए । पार्कका बस्ने ठाउँ भेटाउनै मुस्किल । रात र दिन नछुट्टिने त्यो पार्कमा आइरिएका मानिसहरु हेर्दा लाग्थ्यो संसारको खुसी त यो भन्दा अर्को ठाउँमा कहाँ होला र । युवाभन्दा निकै बढी थिए युवतीहरु । 

सलहझैँ युवतीको ताँती देख्ता मलाई मनमनै लागेको थियो, ‘यतिका युवतीहरु, रातीको समयमा किन आएका होलान् यहाँ ? के गर्दा हुन् यिनीहरु राती यहाँ घुमेर ?’ आपसी आलिङगन र चुम्बनको रसपानमा आबद्ध युवा जोडी अनि सडकमा सलहझैँ एक से एक सुन्दरीहरु देख्त्तादेख्तै त्यसको उमङ्ग हामीभित्र पनि अलिअलि गरेर सर्दै थियो । सिरिथाप टोलाउन थालेको थियो चारैतिरको दृश्य हेर्दाहेर्दै । उसको युवा आँखा गोरा र चिटिक्क परेका चिनीयाँ परीहरुले चोरिसकेका थिए । 

नानझिङ रोडको रौनक बढिरहेकै थियो, हामीभित्र र बाहिर । जतिजति रात छिप्पिँदै गयो त्यतित्यति झन्झन् झल्झलाकार र सुन्दर देखिन थाल्यो नानझिङ रोड । मानिसको भीड झन्झन् बढ्दै थियो । रात हो कि दिन छुट्याउन मुस्किल थियो चारैतिर घुमेर हेर्दा । मलाई लाग्यो, रातभर जाग्राम बस्तोरहेछ नानझिङ रोड ।
निकैबेरको घुमाइपछि दुवैजना एउटा खालि बेन्चमा बस्यौँ सुस्ताउन । एउटी अधबैसे चिनीयाँ आईमाई नजिकै आई र हामीलाई लक्षित गर्दै सोधी– ‘उड यु लाइक चाइनिज मसाज ? लेडी मसाज । उई ह्याभ ‘व्युटिफुल’ लेडी । ह्याभ अ लुक, नो मनी ।’ 

उसले टुटेफुटेको अङगे्रजीमा के बोली त्यो प्रस्टै थियो । व्यागबाट नेमकार्ड साइजका केही कार्ड निकाली र हामीतिर तेस्र्याइ । कार्डमा एकातिर चिनीयाँ युवतीहरुको नग्न तस्वीर थियो, अर्कोतिर सम्पर्क नम्बर । सिरिथाप आश्चर्य र कौतहलले भरिएका आँखा लिएर कार्डतिर एकोहोरियो । उसको हातमा भएका अरु कार्ड देखाउँदै आइमाईले थपी– ‘सेक्स मसाज । ब्युटिफुल ।’

उसले के भन्न खोजेकी थिई त्यो बुझ्न कठिन थिएन हामीलाई । चिनीयाँ आइमाईले पनि सिरिथापको मनको भाषा बुझ्न ढिलो गरिन । नजिकैको मसाज सेन्टरतिर इशारा गर्दै भनी– ‘नट भेरी फार, इट्स नियर । कम अन ।’ 

सिरिथाप खाइलाग्दो थियो । थाई युवक । ३०÷३२ को हुँदो हो । आईमाईले राम्रो ग्राहक हुनसक्ने अनुमान गरी र अझ नजिक सर्दै थपी– ‘कम, कम, नो मनी । लुक ।’

सिरिथापको मन पग्लिँदै गएको थियो । उसको मनले संवाद सुरु ग¥यो– ‘कस्ता होलान् त यस्तो काम गर्ने ती सुन्दरीहरु ? एकपटक त हेर्नै पर्ने भयो ।’

सिरिथाप सिटबाट जुरुक्क उठ्यो र मतिर फर्केर भन्यो– ‘जाऊँ न त, हेर्दैैमा त के बिग्रन्छ र ? मात्र हेराँै अनि फर्कौँला ।’ 

मलाई थाहा थियो भित्री इच्छा नभई शब्द त्यसै निस्कँदैन । उसको मन मसाज सेन्टरका सुन्दरीहरु हेर्न लालायित भइसकेको थियो । उसलाई मसाजको चुम्बकले तानिसकेको गरिसकेको थियो । उसको आँखामा ‘फेरी को छेउमा उभिएर फोटो खिच्ने चिनियाँ सुन्दरी युवतीको हुल, पनोरमा अगाडिको स्वप्निल जोडी नाचिरहेका थिए । साथीले बैंककमा भनेको कुराले पनि ऊभित्र थप जिज्ञासा र कौतुहलको पहाड चुलएको थियो । 

‘कस्तो होला त्यो मसाज सेन्टर ? कस्ता होलान् ती ‘व्युटिफुल’ हरु ?’ नानझिङ रोडमा ओहोरदोहोर गर्ने छाला रङ्गको स्टकिन्स, र छोटा हाफपाइन्टमा सजिएका स्वप्नसुन्दरीहरु धेरै छानिसकेका थिए उसका आँखाले । तिनले उसको मनलाई नजिकबाट छोइसकेका थिए । उसको मनले भनिरहेको थियो— ‘अघि देखिएकैजस्ता भए त ... ! 

‘मात्र हेरौँ न त ।’ मेरो हात तान्दै सिरिथापले मलाई उठाउन खोज्यो । मैले मसाज सेन्टरबाट फर्कंदा रित्ता भएका खल्ती सझँे । ऊसको आँखामा याचना दौडिरहेको थियो । ऊ मेरो स्वीकृति खोजीरहेको थियो । मैले मेरो देश र सांघाइको दुरी सझँे, कति ‘मोडर्न’ रहेछ मैले सुनेको र आज देखेको सांघाई ? कति फरक रहेछ मैले सुनेको र अहिले देखिरहेको माओको देश ? कति परक छ नारा घोक्नु, फलाक्नु र समाजलाई र देशलाई चलाउनु ? कति फरक छ महिला मुक्ति, दासता अनि वस्तु नबनाऊँ भन्ने भनाइ र गराइमा ? के गरिरहेका छन् यी मसाजका लागि ग्राहक खोज्ने ती अधबैँसे  आईमाईहरु ? आखिर मान्छेभित्रका चाहनाको बाढी बाँध बाँधेर कहाँ छेक्न सकिन्छ र ।’

मनोवादका कीरा स्याउँस्याउँती सलबलाए मभित्र, म जुरुक्क उठेँ । हामीलाई कार्ड देखाउने आईमाई अघि लागी सिरिथाप बीचमा अनि म सबैभन्दापछि ।
हामी अलि अँध्यारो गल्लीमा छिर्यौँ । मधुरो रक्तिम मादक प्रकाशले ढपक्क ढाकेको थियो त्यो साँघुरो गल्लीलाई ।

‘ठूला सडकमा पुलिसले बढी दुःख दिन्छ त्यसैले अलि टाढा छ । नडराउनुस् म छु ।’ महिलाले हामीलाई आश्वस्त पारी । अलि अघि बढेपछि बाटामा एउटा सेक्युरिटि गार्ड भेटियो । ऊ फिस्स हाँस्यो हामीलाई देखेर । आइमाईले चिनियाँ भाषामा के के भनी हामीले बुझेनौँ । उसले गेट खोलिदियो । 

गल्ली अझ ढुंगिएको थिएन, हामी त्यो आईमाईको पछि लागिरहेकै थियौँ, अर्को अलि फराकिलो सडकमा पुगियो । छेउको मसाज सेन्टरको बोर्ड देखाउँदै उसले एउटा सानो होटलभित्र छिराई हामीलाई । होटलमा धेरै महिला अनि थोरै पुरुष थिए बसेर केही पिउँदै गरेका ।

मादकताले भरिएको मुस्कानसाथ स्वागत गरी होटेलकी युवतीले । झलक्क हेर्दा कुनै स्तरीय होटलमा काम गर्ने कामकाजी महिलाको पहिरनमा थिई ऊ । हमीलाई उसले अलि भित्रको कोठामा लिएर गई र सानो बोतलको पानी टक्र्याई । त्यहाँ राखिएको लचकदार सोफामा बस्न आग्रह गरी । बाहिरपट्टि केही युवाहरु बियरको चुस्कीसँगै युवतीको चुम्बन मिसाएर पिउँदै थिए । मादक स्पर्श र मुस्कानले युवा शरीरमा गर्मी भर्दै थिए सुन्दरीहरु । 

सिरिथापको अनुहारमा आशंका र रोमाञ्चको बादल मडारिइरहेको थियो । हामीलाई सत्कार गर्ने आईमाईतिर लक्षित गर्दै उसले खुसुक्क मेरो कानमा भन्यो – ‘सि इज रियल्ली व्युटिफ्ल ।’ उसको रोमाञ्चको पहाड सगरमाथाभन्दा अग्लो भएको छ भन्ने सहजै अनुमान गरेँ मैले । 

‘ल इन्जोय गर्नुस ।’ यति भनेर हामीलाई नानझिङ रोडबाट त्यहाँ ल्याउने अधबैंसे आईमाई विदा भई ।
‘बियर खाने कि ?’ सिरिथापले साँच्चिकै सुन्दरी ठानेकी महिला फेरि हाम्रो सामुन्ने देखापरी टकटक जुताको आवाज सँगै । विनम्र भावमा हम्रो अगाडि उभिएर उत्तरको प्रतिक्षा गरीरही । हामीले कुनै उत्तर नदिएपछि उसैले थपी– ‘इट्स् कम्लिमेन्ट्री, नो पे ।’ उसको अंग्रेजी जस्तो भएपनि हामीले आशय बुझिहाल्यौँ ।

‘हामी ११ बजेभित्र मेट्रो चढिसक्नुपर्छ । यो चालले त रात बित्छ यहीँ । छिटो काम सिध्याइ हाल् काममा लाग्ने भए ।’ मैले सिरिथापलाई समयको सीमा सम्झाउने प्रयास गरँे । 

‘तँ पनि हिड्न न, म एक्लै त...।’ अलि अनकनाउँदै भित्रभित्रै पग्लेर भिजिसकेको सिरिथापको आत्मा बोल्यो ।

‘मलाई पाले राख् । पैसाको ‘पर्स’ मसँगै छोड् । काम सकेपछि फिर्ता दिउँला । नत्र त पैसा र तँ दुवैलाई खलास पार्देलान् यी नखरमाउली ‘ब्युटिफुल’ले ।’ मैले अलि ठट्टा गर्दै सिरिथापको मुटु छामेँ । सिरीको अनुहार द्विविधाको जालोले ढाकियो । अघिकी ‘स्वप्नसुन्दरी आम्रो अगाडि उभिएकै थिई, लोभी आँखा लगाएर । बाहिर बियरको घुट्कीसँगै सुन्दरीको सुन्दरता–पान गर्ने युवाहरु अझ बढेका थिए । सिरिको आँखाअगाडि उभिएकी ‘ब्युटिफुल’ले उसलाई तताउन थालिसकेकी थिई । उसका आँखा त्यो ‘ब्युटिफुल’को मिनिस्कटभित्रको अँध्यारो गर्तदेखि छातिमा चुलिएका टाकुरासम्म ओहोरदोहोर गरिरहेका थिए रसिला भएर ।
‘ओके । वेट अ ममेन्ट ।’ ‘ब्युटिफुल’ बाहिर निस्की र दुई बोतल बियर हातमा लिएर फर्की ।
‘आज अलि धेरै ग्राहक छन् । केहीबेर बियर पिउनुहोस् । म छिट्टै आउँछु ।’

उसले यति भनेपछि बाहिर बियर पिउँदै गरेका केटाहरु पनि लाइनमा रहेछन् भन्ने बुझ्यौँ हामीले । मेरो मन मेट्रोको समय सम्झेर फत्र्याकफत्र्याक गर्दै उफ्रन थाल्यो । भागूँभागूुझैँ भएँ म ।  सिरिथाप भने ब्युटिफुलको रापले तातिएर रापिलो भइसकेको थियो । केहीबेरमा अर्की ‘ब्युटिफुल’ आइपुगी टाँस्सिएर बस्न । नकचचरो स्वरमा सोधी– ‘के म पनि बियर शेयर गर्न सक्छु ?’

सिरिथापको अनुहार रातो मात्र रहेन, रगतै चुहेलाजस्तो भयो । नयाँ ‘ब्यटिफुल’ ले नजानिँदो गरी सिरिथापको हातमा हात राखी र शरीरसँग लपक्क टाँस्सिई । घरि उसका आँखा छातिमा फुलेका गुलाफतिर हुन्थे त घरिघरि सुकुमारी गाला र अनुहारभरि । सिरिथापले मनमनै सोच्यो– ‘यस्तो अवसर जीवनमा फेरि आउँछ आउँदैन, यसलाई धित मारेर पिउनुपर्छ मौका परेको बेला ।’

उसलाई मेट्रोको समय र पर्स रितिने भयले सताउन छोडिसकेको थियो । अलमस्त थियो फुलको रसपानका लागि व्यग्र भँमराझैँ । सिरिथापलाई पाखुरामा समाएर विस्तारै उठाइ ‘ब्युटिफुल’ले । ऊ पछि लाग्यो आज्ञाकारी बालकझैँ । माथिल्लो तलामा बसेका थरी–थरीका ‘ब्युटिफुल’ सँग मिसाएर फर्की उसलाई डो¥याउने सुन्दरी । ऊ मलाई चियाउन आइपुग्दा रातको साँढे दश बज्नै लागेको थियो ।

शरीरसँगै खल्ती खलास् हुँदा चिनीयाँ भूमिमा भोग्नुपर्ने अवस्थाको कल्पनाले मेरो टाउकाका रौँ ठाडा भए । मनभित्र भयको पहाड सगरमाथाझैँ चुलिन थाल्यो । मलाई अब त्यो सुन्दरीको सुन्दरता, वन टाइम खलास्, वन आवर यिथ ब्युटफुल जस्ता कुराले नछुने भइसकेको थियो । मभित्रको तापमान शून्यभन्दा तल झरिसकेको थियो ।
............
सिरिथापलाई माथिल्लो तलाको रक्तिम प्रकाशयुक्त कोठामा छिराई एउटी सुन्दरीले । असंख्य जिज्ञाशाका बिरुवा हुर्काउँदै रापिलो शरीर लिएर ऊ कोठाभित्र पस्यो । बैंककदेखि सांघाइसम्मको उसको यात्रा उत्कर्षमा पुग्नै लागेको अनुभव ग¥यो उसले । करिब दुईघण्टासम्म चल्ने यो यात्रा उसको जीवनको एक अनौठो यात्रा हुनेछ भन्ने लागेको थियो उसलाई । 

नानझिङ रोडमा भेटिएकी अधबैंशे आइमाईले हामीलाई देख्नासाथ दरभाउको फेहरिस्त तेस्र्याएकी थिई– ‘वन टाइम खलास् एक सय आरएमबी, वन आवर टु हन्ड्रेड आरएमबी, वन नाइट वन थाउजेन्ड आरएमबी । नो मनी फर लुकिङ ।’ 

सिरिथापले दरभाउपत्र सम्झ्यो र कोठामा भएका ‘ब्युटिफुल’तिर आँखा सोझ्यायो । उसलाई अगुवाइ गर्ने ब्युटिफुलले सिरिथापको अनुहार पढ्दै भनी– ‘दे अल आर अन्डर ट्वान्टी ।’ उत्तरको प्रतिक्षामा एकै छिन रोकिएर लहरै बसेका ब्यटिफुलहरुतिर क्रमशः देखाउँदै भनी– ‘सी फ्रम बेइजिङ, सी फ्रम इनर मंगोलिया, सी इज फ्रम सान्सी, सी इज फ्रम रसा, सी इज फ्रम हङकङ ।’ रोकिएर सिरिथापतिर हेरेर मुस्काउँदै सोधी– ‘ह्विच यु लाइक ?’ 

सिरिथापले आफूभित्र उम्लिरहेको लाभातिर ध्यान दियो र सुन्दरीहरुतिर नियाल्यो । रक्तिम प्रकाशमा सबै ‘ब्युटिफुल’हरु जवानीको सुरापानका लागि स्वर्गकै अप्सराजस्ता लागे उसलाई । सबै एक से एक राम्रा र खाइलाग्दा । उसलाई निःसंकोच भावमा बसिरहेकी अलि अग्ली र खाइलाग्दी ‘व्युटिफुल’को चुम्बकले नराम्ररी झट्का दियो । उसका आँखा, नाक, गाला, छाति, कम्मर अनि तिघ्राको दुईकापदेखि मुनिका पिँडुला हुँदै तलसम्मै खुब राम्ररी नियाल्यो  । अनि मनमनै भन्यो, यही त हो मेरो मनले खोजेको कुरा, योभन्दा सुन्दरी त के होलान् र सांघाइमा ? उसलाई त्यो सुँदरीसँग धितमरुन्जेल लठारिन र उसको शरीरसँग तृप्त हुनेगरी खेल्न मन लाग्यो । उसले सोच्यो– ‘यो भीडमा छोटो समयभन्दा त होटलमा रातभरि बिताउनु नै बेश हुन्छ । अघाउन्जेल उसको सुन्दरतामा लुटपुटिन चाहन्छु म ।’ 

आफूभित्रको उम्लिरहेको भावनाको ज्वालामा पौडिँदै उसले अलि बढी रकम चुक्ता गर्ने विचार ग¥यो । सोच्दासोच्दै ध्यान दियो, शरीरभित्रको म्याग्मा लाभा बन्न आतुर भइसकेको छ । मनले कर लगाउँदै थियो, यो दुर्लभ अवसर हिरा फोर्ने अवसर हो, चुक्नुहुँदैन यसमा । 
 
उसको आँखाले जाँचेकी ‘ब्युटिफुल’लाई देखाउँदै ऊसँगै अर्डर लिन प्रतिक्षारत ‘ब्युटिफुल’सँग भन्यो– ‘के म यिनलाई मेरो होटल लिएर जान सक्छु ?’

‘अवश्य ।’ उसले तुरुन्तै जवाफ दिई– ‘तर, यिनलाई होटेल लाने हो भने अलि बढी पैसा तिर्नुपर्छ । हाम्रोमा भएमध्येकी रोजा हो यो केटी ।’

सिरिथापको मनको तरङ्ग पढिसकेकी गाइडले दरभाउ गर्न खोजी । उसको अनुहार र मनले त्यो केटी छोड्ने छैन भन्नेमा ढुक्क भएकी थिई ऊ । 

‘कति दिनुपर्ने हो, रातभरका लागि ?’ शरीरको तरङ्गलाई खल्तीसँग तुलना गर्न खोज्यो उसले ।

‘रातभरका लागि पूरै २००० आरएमबी । सबै पैसा यहीँ चुक्ता गर्नुपर्छ । टिप्स तपाईंको इच्छा ।’

सिरिथापले बैंककमा आफूले कमाउने मासिक कमाइ सम्झ्यो र थाइ मुद्रामा हिसाब निकाल्यो । त्यही पैसाले उसलाई महिनाभर त्यस्तो अवसर आउन सक्थ्यो थाइल्याण्डमा । तर फेरि अर्को मनले सम्झायो, बैंकक र सांघाइको किन तुलना गर्नु ? विदेशीसँगको कुरै अर्को । विदेशीलाई ओछ्यान बनाउनुको गर्वले उसको छाती चौडा भयो, पैसाको गणित ओझेल प¥यो । 

‘यो त अलि धेरै नै भयो । मलाई यहाँ लिएर आउनेले त रातको हजार मात्र भनेकी थिई ।’ उसले शरीरको तापमान तताउने कि नतताउने निर्णय पैसामा जोख्ने सुर ग¥यो ।

‘ठीकै छ, त्यसो हो भने उसलाई सन्तुष्ट गराउने जिम्मा तपाईंको । मलाई दिने एक हजार यहीँ बुझाएर होटेल लैजान सक्नुहुन्छ यिनलाई ।’ 

सिरिथापको मन खल्तीको पैसा र अघिल्तिर उभिएकी कलिली सुन्दरीको चेपुवामा चेपियो । टाउकोभरि द्विविधाका राँका सल्किए । 

‘सांघाइ फेरि कहिले आइएला र यी ‘ब्युटिफुल’सँग रात बिताउन ?’ मनमनै हिम्मतको ज्वारभाटा उर्लियो सिरिथापभित्र । 

‘म जम्माजम्मी एक हजार आरएमबी मात्रै दिन सक्छु ।’ उसले बैंककको चिकपेट मार्केटमा बोलिने भाषा बोल्यो ।

‘ठीक छ, तर, केटीलाई सन्तुष्ट पार्ने जिम्मा तपाईंको ।’ सिरिथापको मन पढिसकेकी सुन्दरीले वैश्ययुगको भाषा बोली । 

सिरिथापले खल्तीबाट ‘पर्स’ निकाल्यो र त्यसभित्रका आरएमबीका चाङबाट दशओटा नोट झिक्यो । सुन्दरीको अनुहारमा झिलिक्क बिजुली चम्क्यो । उसले सिरिथापको हृदय चोर्ने सुन्दरीलाई इशारा गरी । दुवै बाहिरिए होटल जान ।

ढोकाबाट बाहिरिनै लाग्दा दुवै सुन्दरीले कान र मुख जोडे । आवज चाहिँ सुनेन सिरीले । उसले आफू पहिले आएर बसेको टेबुलमा साथी छ कि भनेर हे¥यो । साथी त्यहाँबाट टाप कसिसकेको थियो । 

सडकमा रोकिएको ट्याक्सीतिर निहुरिएर सिरिथापकी स्वप्नसुन्दरीले चिनीयाँ भाषामा के के कुरा गरी, ड्राइभरले टाउको हल्लायो र गाडी स्टार्ट ग¥यो । ऊ ट्याक्सिीभित्र पसी । सिरि पनि ऊसँगै ट्याक्सिभित्र पस्यो ।
आफूले सपनामा देखेकी परीलाई विपनामा पाउँदा सिरिथापको छाति फुलिएर प्रशान्त महासागरजत्रो भएको थियो । उसको मनले भनिरहेको थियो– ‘म पनि चिनीयाँहरुको शरीर किनेर मोज गर्ने सामथ्र्य राख्छु ।’
उसले नानझिङ रोडमा देखेका सुन्दरीहरुभन्दा कता हो कता राम्री र हिसी परेकी सुन्दरी देख्यो सँगै ट्याक्सीमा बसेकी केटी । उसले मनमनै भन्यो, ‘यस्तो चमत्कारिक विकास गर्ने देशकी सुन्दरीसँग, त्यो पनि सांघाइमा रात बिताउन पाउनु साँच्चिकै ठूलो अवसर हो । जीवनको गौरव हो ।’

उसको मन गदगद भयो सँगै बसेकी सुन्दरीको तातोपन आपूmमा सर्दा । शरीरभरि काउकुती लागेर आयो । उसलाई कतिखेर ट्याक्सी होटल पुग्ला भनेझैँ भयो । छड्के आँखाले केटीलाई पुलुक्क हे¥यो र एउटा हात सुन्दरीको काँधमाथि राख्यो । अघि देखेभन्दा अझै राम्री र हिसीपरेकी देख्यो आपूmसँगै टाँसिएर बसेकी चिनीयाँ केटी । ट्याक्सीको गतिसूचक सुइ १०० मा गएर अडिएको थियो । त्यो गति देख्ता अरु बेला उसलाई अत्यास लाग्थ्यो र ड्राइभरलाई अलि स्लो गर्न भन्थ्यो । तर, आज उसलाई त्यो गति पनि साह्रै ढिलोजस्तो लाग्यो । 

‘के तिमी अंग्रेजी बोल्छ्यौ ?’ उसले सँगै बसेकी केटीसँग टाँस्सिएर मनको डाहा शान्त पार्ने उपाय निकाल्यो ।
‘एस आइ एम ।’ नसोचेको उच्चारणमा उसले जवाफ फर्काई । अंग्रेजी मातृभाषीकै जस्तो उच्चारणमा अंग्रेजी बोली उसले । 

‘के गछ्र्यौ ?’ केटीको गहिराइतिर डुबुल्की लगाउने प्रयास गर्यो । 

‘म एउटा अनुसन्धान गर्दैछु, यहीँको एउटा विश्वविद्यालयमा पढ्दै पनि छु ।’

युवतीबाट यस्तो उत्तर आउन सक्ला भन्ने कल्पना पनि गरेको थिएन उसले । उसको सोचमा चारहजार भोल्टको करेन्ट लागेभैmँ भयो । शरीरको राप ओर्लेर शिताङ्ग भयो । के को अनुसन्धान गर्दै होली यो कटी ? फेरि किन यस्तो पेशामा ? उसले आफ्नो हात युवतीको काँधबाट एक्कासी हटायो र केहीबेर अघि घुमेको होटलको भव्यता सम्झ्यो । होटलअगाडिको जोडी आँखामा ल्यायो र फेरीको छेउमा तँछाडमछाड गरेर फोटो खिच्ने सुन्दरीहरु सम्झयो । आफूभित्रको ज्वरो ओर्लेको अनुभव गर्यो उसले । ट्याक्सी आफ्नै गतिमा दौडिरहेको थियो ऊ बसेको होटलतिर ।

‘काम गछ्र्यौ भने फेरि यस्तो पेशामा... !’  

‘किन ? म यो पेशामा नभएकी भए तपाईं र मेरो भेट कसरी हुन्थ्यो ? यसलाई म संसारका मानिस चिन्ने र बुझ्ने एउटा उपाय ठान्छु । म बाध्यताले होइन स्वेच्छाले यसमा लागेकी हुँ । पैसा त लिन्छु तर त्योभन्दा बढी म संसारका मान्छेको बानीबेहोरा र चरित्र बुझ्छु यसबाट । मेरा लागि यो पनि एउटा अध्ययनको हो मानिस बुझ्नका लागि ।’

सिरिथाप तीन छक प¥यो । त्यतिबेलासम्म उसले त्यो केटीको नाम पनि सोधेको थिएन । आपूmभित्रका चाहना पूरा गर्ने एउटी यौनकर्मीभन्दा बढी के नै होली र ? भन्ने ठानेकी केटीले अनपेक्षित उत्तर दिएपछि उसलाई त्यो केटीको नाम सोध्न मन लाग्यो । 

‘के म तिम्रो नाम जान्न सक्छु ?’ सिरीको हृदय त्यो सुन्दरीप्रति कोमल हुँदै गयो । सुरुमा त्यो केटी देख्ता उसमा जुन भावना थियो केटीसँगको वार्तालापपछि क्रमशः पग्लँदै गएको थियो । उसको जवाफ र व्यक्तित्वले उसलाई गाल्दै लगेको थियो । 

‘मेरो नाम जिया । मेरो अंग्रेजी र चिनीयाँ नाम एउटै छ ।’ संक्षिप्त उत्तर दिई र बाहिरतिर अनुहार फर्काई । सिरिथाप टाउको फुट्लाजस्तो गरी रन्थनियो । शरीरबेच्ने पनि सोख हुनसक्छ ? यस्तो पनि अध्ययनको बिषय हुनसक्छ ?’ जिज्ञाशाको दलदलमा भासिँदै गयो सिरिथाप । 

‘म यसबाट संसारका मानिसको सोच, स्वभाव, जीवनशैली र व्यवहार बुझ्न चाहन्छु ।’ जियाले सिरीतिर फर्केर भनी–  ‘आफ्नो शरीरको आवश्यकता पूरा गर्छु । यसैबाट आवश्यक पर्ने पैसा पनि कमाउँछु । पैसा मेरो लागि सहायक मात्र हो ।’ यति भनेर जिया फेरि बाहिरतिर आँखा दौडाउन थाली । केहीबेरको मौनतापछि जोडिई– ‘म चीन र अरु देशका मानिसमा के भिन्नता रहेछ भन्ने कुरा बुझ्दैछु यसबाट । मानिसका बारेमा गहिरो रुचि छ मेरो ।’

सिरीथापले आफ्नो उचाइ पग्लेर घट्तै गएको र जियाको उचाइ बढ्दै गएको अनुभव गर्न थाल्यो । उसलाई एकैछिनअघि सुस्त लागेको ट्याक्सीको गति अब अझै सुस्त भए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।  
‘म अध्ययनका लागि मात्रै यसमा लागेकी हुँ । म पेशेवर वेश्या होइन ।’

पैसामा शरीर बेच्ने मान्छे वेश्या नभए के त ? जियाको पछिल्लो भनाइले सिरीको मनमा आठ रेक्टर स्केलको भुकम्प गयो । कहाँ उसले सोचेकी यौनकर्मी युवती, कहाँ उसका कुरा ! जताबाट आएको हो त्यतै ट्याक्सी फर्काएर त्यो केटीलाई नानझिङ रोडमै लगेर छोडिदिऊँ र एक्लै होटल फर्कौंजस्तो लाग्यो सिरिथापलाई । सोच्दासोच्दै ट्याक्सि घ्याच्च रोकियो होटल अगाडि ।
............
रातभरि संसारकै आश्चर्यलाग्दो पराक्रम गर्ने देशकी एउटी सुन्दरीको शरीर किनेर भोग्ने उत्कण्ठामा रहेको सिरिथापलाई युवतीसँगको संवाद निकै गह्रौँ हुँदै गयो । शरीरको व्यापार गर्नेहरु कि त बाध्यताले कि कुलतका कारणले यसमा लागेका हुन्छन् भन्ने उसको सोचाइ झुटो बनाइदिएकी थिई जियाले । त्यस्तो पेशामा लागेकी युवतीले त्यस्तो कुरा गर्ली भन्ने उसले दश मनमा एक मनले पनि सोचेको थिएन । तर भयो त्यस्तै । कहिलेकाहीँ सोचेको र भएको कुरा उल्टो भइदिन्छ जीवनमा । सिरिथाप त्यस दिन त्यही भोग्दै थियो त्यो चिनीयाँ युवतीसँग । 

युवतीको उन्मुक्त शब्दले उसको मनमा अनेकौँ तर्कनाका छाल उठे । चीनमा युवतीहरुलाई विदेशीको गुप्तचरीमा लगाइन्छ भन्ने पनि सुनेको थियो उसले । कतै त्यसै त होइन ? मनमनै डरले अड्डा जमाउन थाल्यो । शंकैशंकाले घेरिएर ऊ ट्याक्सिबाट बाहिरियो र कोठातिर बढ्यो जियाको साथमा । ढोका खोलेर कोठामा पस्नासाथ उसले जियाको अनुहारमा आँखा दौडायो । उसको अनुहारमा न संकोच थियो न लज्जा र हीनता । जियालाई बेडमा बस्न इशारा गर्दै आफू चाहिँ बाथरुमभित्र छि¥यो ।

बाथरुमभित्र जियाका शब्द चारैतिर ठोकिएर गुन्जिएझैँ लाग्यो सिरिथापलाई । कति ढुक्कसँग भन्नसकेकी होली– ‘यो मेरो सोख हो, अध्ययन हो भनेर ? के यो पेशा पनि सोख हुनसक्छ ? सोख नै हो भने त्यस्तो ठाउँमा किन गई शरीरको मोलतोल गर्न ?’ उसको गिदी खायो यस्ता अनेक अनुत्तरित प्रश्नले ।
सिरिथापको शरीरको ज्वरो अब दिमागतिर सरेको थियो आश्चर्य र रहस्य बनेर । उसले युवतीलाई उसको काम र परिवारका बारेमा सोध्यो । युवतीले निःसंशोच बताई सबै कुरा ।
.......
जिया एउटा इन्जिनियरकी पत्नी थिई भर्खरै विवाह गरेकी । श्रीमान् चीनकै कुनै दुर्गम भेगमा काममा थिए । उसका श्रीमान् उसलाई सांघाइ राखेर पढाउन चाहन्थे । ऊ त्यहाँ कुनै होटलमा काम गर्थी र अध्ययन पनि गर्दै थिई । यौन मनोविज्ञान र विदेशीहरुको यौन व्यवहारमा उसको गहिरो रुचि थियो । 

सहज भावमा उसले भनेकी थिई— ‘सेक्सको बन्देजबाट मुक्ति सबैभन्दा ठूलो मुक्ति हो नारीहरुका लागि । पश्चिमाहरुले यसलाई बेलैमा तोडेर फालिदिए । हामीले त्यो तोड्न सकेनौँ, हामी बन्धित छौँ एकल पुरुषप्रति । म यही मनोविज्ञानको अध्ययन गरिरहेकी छु यहाँ बसेर । हजार पुस्तक पढेर आर्जन गरेको सैद्धान्तिक ज्ञानभन्दा व्यवहारबाट आर्जित ज्ञान सत्यको नजिक हुन्छ । मैले गरेको अनुभवबाट जति यथार्थ बुझ्न सक्छु, अरुले लेखेको पुस्तक पढेर त्यो कुरा कहिल्यै बुझ्न सक्तिनँ । यसमा लागेर भरियादेखि राजनेतासम्मका मानिसको आनिबानी र व्यवहार बुझ्र्दैछु । यो सकिनासाथ म यसबाट अलग हुनेछु ।’
जियाको कुराले सिरिथापको मुटु हल्लिन थाल्यो । उसको मनले त्यो केटीलाई कुनै यौनकर्मी नभएर अरु नै केही हो भन्ने ठान्यो । केटीको बौद्धिक उचाइले सिरिथापलाई झन्झन् थिच्तै लग्यो । 

ऊ चुपचाप बसेको देखेर जिया आफैँले फेरि मुख खोली— ‘सबैभन्दा प्राचीन र सबैको चासोको पेशा हो यो । देखाउनु र नदेखाउनु मात्रै फरक हो । लुकाउन सक्ता सबै इमानदार नै लाग्छन्, कसैले नदेखी अवसर पायो भने सबै लडखडाउँछन् । तपाईं आफ्नी श्रीमतीले थाहा पाउने अवस्था भयो भने मसँग आउनुहुन्थ्यो र ? सबैको हाल यस्तै छ । सुन्दरी युवतीप्रति आकर्षित नहुने मानिस बिरलै हुन्छन् संसारमा । कोही लुकेर गर्छन् कोही खुलेर फरक यति मात्रै हो ।’

सिरिलाई झन् रहस्यमय लाग्यो त्यो केटी । कतै यसले अप्ठ्यारो त पार्ने होइन ! ऊ केही सोध्न खोज्दै थियो जियाले भनी– ‘आफूलाई आवश्यक पर्दा पुरुषसँग बस्नु, कुराकानी गर्नु, शरीरका इच्छा पूरा गर्नु सामान्य कुरा हो मेरा लागि । कोही पैसा लिएर अरुको आवश्यकता पूरा गर्छन् म मेरो आवश्यकता पैसामा बेच्छु ।’ निर्भयतासाथ बोलीरही जिया । सिरिथाप श्रोता बनेर उसका कुरा सुनिरह्यो । प्रतिवाद गर्ने कुनै ठाउँ देखेन उसले । गल्दै गयो भित्रभित्र ।

चिनीयाँ युवतीको बाहिरी सुन्दरतामा अल्झिएर मसाज सेन्टर पुगेको सिरीको चाहना माटोमा मिलाइ दिई जियाले । उसको चाहनाले पल्टा खायो । युवतीसँग शरीरक्रिडामा रातभरका लागि पैसा तिरेर किनेकी युवतीसँग रमाउने हिम्मत जुटाउनै मुस्किल भयो उसलाई । पग्लिँदै गएको मैनबत्तीझैँ आफू खिइँदै, पग्लिँदै, गल्दै र घट्तै गएको अनि युवतीको बौद्धिकता र तार्किकताले उसलाई खर्लप्पै निलेको अनुभव गर्न थाल्यो । 
जिया सिरीको अनुहार नियाल्न चाहन्थी, ऊसका आँखामा आँखा जुधाएर कुरा गर्न चाहन्थी तर उसले त्यो हिम्मत गुमाइसकेको थियो । उसको मनले भन्न थालेको थियोे– ‘यो केटी अब म जान्छु भनेर उसले लिने पैसा लिएर कोठाबाट बिदा होओस् र आफू सञ्चोसँग सुतौँ । जे हुनु थियो भयो अबदेखि यस्तो गल्ती दोहो¥याउने छैन भनेर माफी मागौँमागौँजस्तो लाग्यो उसलाई । मुख फोरेर भनिहाल्न भने सकिरहेको थिएन । 

‘म एउटी विवाहित युवती हुँ । मभित्र पनि शरीरका चाहना ज्युँदै छन् । मेरा श्रीमान् मबाट २००० किमी टाढा छन् । एउटा केटामान्छे खल्तीमा पैसा बोकेर तिमीजस्तै कोठी चाहार्न सक्छ भने पत्नीले पनि त्यसैगरी कसैबाट सुरक्षित रुपमा पैसा लिएर आफ्नो चाहना पूरा गर्छे भने के अन्यथा भयो र ? म त्यही गरिरहेकी छु । मेरो शरीरप्रति आकर्षित भएर भोग्न चाहने पुरुषहरु जतिसुकै पैसा तिर्न तयार छन् भने म किन कसैलाई सित्तैँमा आफ्नो शरीर सुम्पूँ ?’ 

जियाको भनाइ सिरिथापका लागि गालामा चड्चन हानेझैँ भयो । उसलाई लाग्यो, यो कुरा जिया उसलाई नै भन्दै छे । उसकी पनि घरमा भर्खरै मात्र विवाह गरेर भित्र्याएकी कलिली श्रीमती छे । ऊभित्रका चाहनालाई उसले पनि कुनै अपरिचित युवकबाट पूरा गर्न खोजी भने ? के म त्यसलाई सहन गर्न सक्छु ? 

सिरीथाप सोचमा डुबिरहेकै थियो, जिया बेडमा डङ्रङ्ग पल्टी उत्तानो परेर । उसका पुष्ट वक्षस्थल टाकुराजस्ता देखिए उत्तानो परेको युवा शरीरमा । घुँडामाथिसम्म छोप्ने मिनीस्कर्ट सरेर निकैमाथि पुग्यो । उसले गुप्तांग छोप्न लगाएको भित्री बस्त्र उदाङ्गो भयो । मुखभरि ¥याल काढ्ँदै उसले शिरदेखि पाउसम्मै जियालाई हेर्यो र आफूभित्र कुनै हिम्मत बचेको छ कि भनेर नियाल्यो । शरीरलाई तयार पार्ने प्रयास ग¥यो तर सकेन, ऊ गलिसकेको थियो जियाको थप्पड र आपूmभित्रको अपराधबोधले ।   

‘तिमीले बुझेको चीन र अहिलेको चीन फरक छ सिरीथाप !’ 

जियाको दृष्टिमा सिरीथापसँग उसलाई गिजोल्ने र शरीरसँग लुटपुटिने साहस मरिसकेको थियो । सिरीको शरीर हिउँझैँ भएको थियो । जियाको भनाइसँगै उसले फेरि सम्झ्यो आफ््नी श्रीमतीको अनुहार । जियाले दुवै हात उसको घाँटी पछाडि कैँची पारेर अँगालो मारी र आफ्ना पुष्ट वक्षस्थल सिरिथापको छातिमा टाँसिदिई । सिरथापको शरीरमा कुनै नयाँ तरङ्ग सल्बलाएन । जियाको शरीरबाट सल्केको आगोको राप त अनुभव ग¥यो तर आफू रापिन सकेन ।

सिरीथापलाई जियाको शरीरले लपेट्नै लागेकोबेला उसको मोवाइलको घण्टी बज्यो । कल उसकी श्रीमतीको थियो थाइल्याण्डबाट । अन्कनाउँदै गह्रौँ मनले उसले फोन उठायो । जिया उसको शरीरमा लुटपुटिरहेकी थिई अँगालोमा कसिएर । श्रीमतीले थाहा पाउली भनेर जियालाई शान्त रहन संकेत ग¥यो । आपूmलाई जियाको अँगालोबाट अलग ग¥यो र हीनताको दलदलमा भासिएर कृत्रिम खुसी व्यक्त ग¥यो श्रीमतीसँग ।
‘कस्तो हुँदैछ ट्रिप ? रमाइलो नै त होला नि ! होटलमै छौ कि बाहिर ? पैसा कति खर्च ग¥यौ ? मलाई के ल्याइदिने विचार ग¥यौ ?’ एकै पटक प्रश्नैप्रश्नको वर्षा गरी श्रीमतीले ।

भन्नुपर्ने कुरा त अर्कै थियो तर उसले भन्यो– ‘अहिले भर्खर होटल फर्कें । थकाइ लागेको छ । सोचेभन्दा निकै भिन्न छ सांघाइ, तिमी र मेरो कल्पनाबाट निकै टाढा । आश्चर्यजनक रहेछ यो ठाउँ ।’ 

उसले श्रीमतीको लागि भनेर केही किनिसकेको थिएन । आफ्नो लागि पनि केही किन्न भ्याएको थिएन । बजार घुम्न र किनमेल गर्नका लागि दुई हजार आरएमबी छुट्याएको थियो । एक हजार मसाज सेन्टरमा छोडेर आइसकेको थियो । अब ऊसँग एक हजार मात्र बाँकी थियो । श्रीमतीको फोनपछि ऊ झल्याँस्स भयो । सबै पैसा ब्युटिफुलको नशामा लागेर सिद्धिने अवस्थामा थियो । अझै भोलि बिहान सँगै रहेकी जियाको बिदाइमा कति खर्च हुने हो निश्चित भइसकेको थिएन ।  

सिरीथापले श्रीमतीलाई सांघाइ निकै खर्चिलो शहर भएको, पैसा सबै घुम्न र खानमा सकिएको, सामान पनि निकै महँगो भएको कुरा ग¥यो । पैसा सकिएकाले महँगा सामान नल्याए पनि एउटा चिनो ल्याउने बाचा ग¥यो । ‘पैसा सकिन लागेको छ, धेरै अपेक्षा नराख है’ भन्दै फोन राख्यो उसले । 

जिया उसको कुरा सुनेर मुस्कुराई । सिरीको अनुहार भने अझ कालो–नीलो देखियो । 

जियाले न्यानो अँगालोमा फेरि लपेटिदिई सिरीलाई । ऊ श्रीमतीको फोनपछि झन् जमेर हिउँको ढिक्काजस्तो  भइसकेको थियो । उसको मुटु पनि जोडजोडले धड्किरहेको थियो बाहिरै निस्केला जस्तो गरी । निन्याउरो र लज्जित थियो उसको अनुहार । 

कोठाभित्रको वातावरण एकाएक बोझिलो भयो । जियाले कसिलो अँगालोमा सिरीलाई कसी र अलि भावुक हुँदै भनी– ‘मलाई थाहा थियो सिरी तिमी अरु केटीलाई जसरी भोग्न सक्छौ त्यसरी मलाई भोग्न सक्ने छैनौ । तर पनि तिमीले मेरो रातभरको समय किनेका छौ । तिम्रो अधिकार छ ममाथि ।’ जियाले भने पनि सिरीले आफूलाई तयार पार्न सकेन ।
‘मलाई अँगालोमा कस्ने हिम्मत त निकैले गर्छन् तर भोग्ने हिम्मत भने कमैले गर्छन् । यही मेरो शक्ति हो श्रीमान्प्रतिको प्रेमको । जब उनीहरु मसँग कुरा गर्न थाल्छन्, मेरो बारेमा सोधीखोजी गर्न थाल्छन् उनीहरुमा त्यो शक्ति नै उत्पन्न हुन सक्तैन । गल्छन् उनीहरु । गल्ती गर्नेहरुसँग कहाँ शक्ति हुन्छ र !’ 
‘नैतिकबल आवेगभन्दा निकै बलवान रहेछ जिया ! म तिमीसँग हारेँ ।’  

सिरीले खल्तीबाट पर्स निकाल्यो जियालाई बिदाइ गर्न । जियाले पुलुक्क हेरी उसको पर्सतिर र टाउको अर्कोतिर फर्काई । सिरिथापले चाल पाएन । उसले पर्स खोल्न खोज्यो जियाले रोकी ।

‘तिमीलाई लाग्दो हो चिनीयाँ मसाज सेन्टर र चिनीयाँ युवतीहरु विदेशीका खल्ती रित्याउन शरीर पनि बेच्न तयार छन् । तर त्यो अवसर त उनीहरु स्वयम्ले दिएका हुन् नि हैन र ? आपूm यस कामका लागि मञ्जुर नभएसम्म कसले रित्याउन सक्छ उनीहरुलाई ? तिमी त्यहाँ नगएको भए कसरी रित्तिन्थ्यो तिम्रो खल्ती ? जबसम्म तिमी स्वयम्ले स्वीकृति दिँदैनौ तबसम्म तिमीलाई कसैले पनि बिगार्न सक्तैन । आफूलाई रित्याएर धनी भएको गौरव गर्नुभन्दा सत्यमा बाँच्नु कैयाँैगुणा मूल्यवान छ सिरीथाप ! म यही भावना साट्न चाहन्छुु संसारका लोग्ने मान्छेहरुसँग ।’

जियाको भनाइले तर्सेको सिरिथाप उसका प्रेमिल वचनले उज्यालिँदै गयो । एउटी वेश्याभन्दा बढी हितैषी सल्लाह दिने साथीजस्तो लाग्यो जिया उसलाई । आपूmभित्रको भएभरको हिम्मत निकालेर जियाको अनहारमा हे¥यो । जियाले सिरिको ओटमा ओठ जोड्दै पुनः आफ्नो अँगालोमा बाँधिदिई उसलाई । रातभर सँगै बसेर रमाइला अनुभव साटासाट गरे उनीहरुले । बिहान फ्रेस भएर कोठाबाट निस्कनै लाग्दा जियाले टेबुलमा राखेको सिरिथापको पर्स खोलेर नियाली । उसको पर्समा जम्मा १० ओटा चिनीयाँ नोट थिए सयसयका । सिरिथाप जियातिर हेरिरहेको थियो याचक आँखाले । जियाले सबै नोट निकाली । सिरिको मुटुको धड्कन ह्वात्तै बढ्यो । रौँ ठाडा भए । आङ सिरिङ्ग भयो । जियाले पुलुक्क हेरी ऊतिर । याचक आँखाले केही भनिरहेको थियो । जियाले आँखाको भाषा बुझी र पाँचओटा नोट आफ्नो हातमा लिई । पाँचओटा सिरीथापको हातमा राख्तै भनी– ‘यो पाँचसय मेरो ट्याक्सी भाडाका लागि अनि यो पाँचसय तिम्री श्रीमतीलाई सांघाइको उपहार किन्नका लागि ।’ 

यति भनेर जियाले सिरीको गालामा गाला जोडेर अंकमाल गरी, गहिरो चुम्बन गरी अनि छुट्टिएर फटाफट निस्की होटलबाहिर । सिरीका आँखा टेबलको नेमकार्डमा परे । कार्डमा लेखिएको थियो— ‘जिया, यौन मनोविज्ञान अध्येता, विद्यावारिधी विद्यार्थी ।’ सजल नेत्रले उसले बाहिर हे¥यो, जिया ट्याक्सिभित्र बसिसकेकी थिई । २०७२।१०।१०
।।इति।।
 चिनीयाँ भाषामा नगरबधूलाई '
चे न्युहाई' भनिन्छ ।

  

   
    




    









Sunday, March 26, 2017

माटो नछुने किसान

 प्रविधिको कमाल, कपास फार्म जहाँ एक मिटरभन्दा बढी अग्लो बोट नै देखिँदैन
शीर्षक पढ्दा अलि अनौठो लाग्यो होला तपाईंलाई, माटो नछुने पनि किसान हुन्छ ? यो त असम्भव । किनभने हामी नदेखेको र नभोगेको कुरा पत्याउँदैनौँ, कल्पना भनि

दिन्छौँ । कुरा ठीकै पनि हो यथार्थमा परिणत भएर देख्न र भोग्न नपाएसम्म त त्यो कल्पना वा सपना नै हुन्छ । तर आज मानिसले कल्पनै गर्न नसकेका धेरै कुरा यथार्थ हुँदै गएका छन् । विज्ञान र प्रविधिको तीव्र विकास अनि आधुनिक व्यवस्थापन कलाका कारण असम्भवहरु सम्भव ह’ँदै छन् । कृषि क्षेत्र पनि यी सम्भावनाबाट अछुतो छैन ।

कृषि प्रविधि र यान्त्रीकरणले जमिनको उत्पादनशक्तिलाई ह्वात्तै बढाइदिएको छ एकातिर भने अर्कोतिर वर्षैभरि जुनसुकै ठाउँमा जुनसुकै बाली उत्पादन गर्नसक्ने सम्भावना देखिँदै छ । विज्ञान र प्रविधिको विकासले किसानको कार्यक्षमता, कार्यशैली र कृषि प्रणालीमा अकल्पनीय विकास भएको छ । माटो नछोइकनै र खेत नटेकीकनै खेती गर्न सकिने सम्भावना बढेको छ । माटै नछुने मानिस पनि कृषक बनेर जमिनबाट चाहेको कुरा उब्जाउन र आय आर्जन गर्न सक्ने भएका छन् । यान्त्रीकरण र प्रविधिको उच्चतम प्रयोग गसिकेका अमेरिका, युरोप, जापान जस्ता देशहरुमा मात्रै होइन हाम्रै छिमेकी देश चीनमा पनि लाखौँ किसानहरु छन् जो शायदै माटो छुन्छन् । प्रविधिको उच्चतम प्रयोग र व्यवस्थापन–कला सिकेर पेशाले किसानै भएर पनि अन्य व्यवसायसँग प्रतिस्पर्धी आम्दानी गरिहेका पाइन्छन् । 

सन् २०१६ को जुलाई महिनामा चीनका अपेक्षाकृत कम विकसित र कृषिप्रधान मानिएका प्रान्तहरुको कृषि प्रविधि अवलोकन गर्ने र त्यहाँको प्रविधिबारे बुझ्ने अवसर जुरेको थियो यो पंक्तिकारसहितको चार जनाको नेपाली टोलीलाई । बेइजिङबाट रेल मार्फत् सिन्ज्याङ प्रान्तको राजधानी उरुम्ची जाँदा बाटाको दुवैतिर फराकिला फाँटहरुमा देखिने ठूला कृषि फार्महरु हेर्दा मलाई लागेको थियो– यति ठूला भूभागमा खेत ीगर्ने मजदुरहरु कसरी जुटाउँछन् होला चिनीयाँहरु ? कसरी गर्छन् होला यत्ति बृहत् आकारका फार्महरुमा खोती ? मानव बस्ती कम त्यसमा पनि आधुनिक जीवनको मोहमा शहर पस्नेहरुको संख्या ह्वात्तै बढेको चीनमा कसरी यत्रा ठूला फार्ममा काम गर्ने मानिस जुटाउन सकेका होलान् यिनीहरुले ? एक दुई विगाहा जग्गा भएका हाम्रा किसानहरु खेती गर्ने मजदुर पाइएन भनेर जग्गा नै बाँझो छोड्न थालेको बेला यस्ता दृश्यले मेरो मथिङ्गलमा उथलपुथल मच्च्एिको थियो । उरुम्ची पुगेपछि सबै जिज्ञाशा मेटिने आशमा यात्राभर गम खाँदै समय बिताइरहेँ । 

उरुम्ची रेल स्टेशन पुग्दा आयोजक समूहका एक जना युवा गाडी लिएर हामीलाई कुरिरहेका थिए । करिब एक घण्टाको सडक यात्रापछि हामी पुग्यौँ माओको परिकल्पना नगरी सेहजी, जहाँ अर्धसैनिक जवानहरुले त्यहाँको कृषिको उत्पादन प्रणालीलाई परिवर्तन गर्ने र व्यवस्थित शहरीकरण गर्ने काम सम्पन्न गरेका थिए करिब ५० वर्षअघि । 

सिन्ज्याङको आधुनिकीकरण र विकासका लागि बनाइएको विज्ञान तथा प्रविधि पार्क त्यही शहरमा थियो जहाँ मरुभूमि गुल्जार गर्ने प्रविधिका विभिन्न प्रयोग गरिन्छ । पानीको थोपा प्रत्येक धानका गाँजमा पु¥याएर धान बाली लगाउनु, मकैबारीका हरेक लाइनमा तपतप थोपा खसालेर सयौँ हेक्टरमा फैलिएको मकैबाली लहलह बनाउनु, शहरका हरेक कुनामा शहरी नहरप्रणाली विकास गरेर होटल र घरहरुबाट निस्कने पानीको उच्चतम उपयोग गरेर पार्क र सडक किनारालाई हरियालीयुक्त बनाउनु आदि प्रयोग  हेरेपछि लाग्यो विकासका लागि चाहिने त सोच र योजना पो रहेछ साधन र श्रोतभन्दा । 
करिब ६०० हेक्टरमा फैलिएको अंगुर फार्म अवलोकन गर्दै

आजभन्दा करिब ५० वर्षअघि भोकमरि, अभाव र गरिवीको कहालिलाग्दो अवस्था भोगिरहेका अनि विभिन्न अल्पसंख्यक र पिछडिएका जातिहरुको बसोबास रहेको त्यो सानो शहर अहिले सिन्ज्याङको नमूना र सुन्दर शहर बनेको रहेछ । प्रतिव्यक्ति वार्षिक आम्दानी १० हजार डलरभन्दा माथि रहेछ । मुख्य पेशा कृषि नै भए पनि अन्य व्यवसायको भन्दा उच्चस्तरको आयआर्जन गर्दारहेछन् किसानहरु । हेर्दा सुख्खा मरुभूमिजस्तो उजाड भूभागमा कसरी सम्भव भयो यति ठूलो परिवर्तन ? मेरो प्रश्न थियो आयोजक समूहका यन्जिनियर मिस्टर झाङ लीलाई । 

‘सिन्ज्याङको कृषि, कृषि प्रविधि अनि कृषि प्रणाली र कृषक सबै हामीले सोच्नै नसकिने आधुनिक अवस्थामा छन् अहिले । यो सब त्यसैको परिणाम हो ।’ उनले सहज उत्तर दिएका थिए । 

कसरी भयो कृषिको यति व्यापक आधुनिकीकरण ?
सिन्ज्याङ प्रान्त चीनको मात्र होइन विश्वकै ठूला प्रशासनिक इकाइमध्येमा पर्दछ । करिब १० लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको त्यो प्रान्तमा जनसंख्या भने करिब २ करोड ५० लाख रहेको छ । प्रशस्त जमिन भएकाले खेती गरिने जमिन प्रशस्त छ । फार्महरु निकै ठूलाठूला छन् । खेती गर्न चाहनेहरुलाई प्रस्तावअनुसार सरकारले नै जमिन उपलब्ध गराउने भएकाले खेतीगर्ने विदेशी र स्वदेशी कम्पनीहरु पनि सिन्ज्याङमा निकै रहेछन् । अमेरिकी, जापानी, रसियाली, कजाक धेरैथरी व्यावसायिक कम्पनीहरु सिन्ज्याङमा अहिले फलपूल र तरकारी खेती गरिरहेका छन् । खासगरी फलपूmल (तरबुजा, खरबुजा, अंगुर, स्याउ, चेप्टो आरु, नासपाती आदि), टमाटर अनि मकै खेतीमा प्रसिद्ध छ सिन्ज्याङ । 

‘तपाईले देखिरहेका यी धेरैजसो अग्ला भवन र सपिङ मलहरु किसानकै हुन् । यहाँका किसानहरु चीनकै धनी किसानमध्येमा पर्छन् ।’ इन्जिनियर मिस्टर झाङले मलाई बताएका थिए शहर घुम्दै गर्दा  । उनले यसो भनेपछि मैले सोधेको थिएँ– ‘कसरी यति धेरै धनी भए यहाँका किसानहरु ? यहाँ त खेतीका लागि न प्रसस्त पानी छ न उर्वर जमिन । सबैतिर त सुख्खा बलौटे जमिन मात्रै देख्छु, पानी पनि साह्रै सीमित मात्रामा छ, वर्षा पटक्कै हुँदो रैनछ ।’

‘यो सबै प्रविधिको देन हो । प्रविधिले धनी बनाएको ठाउँ हो यो । पानी त जमिन मुनि छँदैछ । कति गहिराइमा छ भन्ने मात्रै हो । पानी नभए त जमिन नै हुँदैन । हामीले पन्ध्र वर्षमा धेरै जमिनमा पानी पु¥याएका छौँ । मरुभूमिमा हरियाली बढाउने र खेतीयोग्य जमिनमा रुपान्तरण गर्ने कार्य तीब्र पारिएको छ । जमिनमुनि ३००–४०० मिटर गहिरो बोरिङ गरेर निकालिएको पानीबाट सिँचाइ गर्ने व्यवस्था गरिएको छ । अधिकांश पानी पाइप मार्फत् खेतमा पु¥याइन्छ । खेतीलाई सकेसम्म यान्त्रीकरण गरिएको छ । अधिकांश काम मेशीन र कम्प्युटरबाट हुन्छ । त्यसले कृषि मजदुरको समस्या ह्वात्तै घटाएको छ । हाम्रा किसानहरु माटो कमै छुन्छन्, मोवाइलबाटै खेती गर्छन् ।’ मुस्कुराउँदै उनले व्याख्या गरे ।

मिस्टर झाङका कुरा हाम्रा लागि सपना थिए । तर उनीहरुका लागि त्यही यथार्थ बनिसकेको थियो ।  करिब १५ वर्षअघि सिन्ज्याङ सरकारले आधुनिक थोपा सिंचाइ प्रविधि सुरु गरेको रहेछ सिन्ज्याङमा  । सिंचाइसँगै बिउ उत्पादन र प्रशोधन, प्रविधि सुधार, नीतिगत सुधार, सरकारी सेवामा सुधारका कामहरु सुरु गरिएका रहेछन् । कपास खेती, पशुपालनका लागि चाहिले अल्फाल्फा भन्ने पोषिलो घाँस खेती, पशु आहारका लागि ‘सिलेज कर्न’ खेती, विभिन्न प्रकारका तरबुजाहरु, अंगुर अनि स्याउ र आरु सिन्ज्याङको मुख्य उत्पादन बनाउन सरकारले आवश्यक सबै सुविधा जुटाइ दिएको रहेछ किसानलाई । नहरहरु पक्की बनाउने, ठूलाठूला बोरिङहरु गाडेर पाइप मार्फत् खेतहरुमा सिंचाइ पु¥याउने, कम्पुटराइज्ड र रिमोट कन्ट्रोल प्रविधिका माध्यमले सिँचाइलाई आधुनिकीकरण गर्ने काम सुरु भएका रहेछन् । हरियाली बढाउन, खेती गर्न सीमित पानीले धेरै प्रभावकारी सिंचाइ गर्न सकिने थोपा सिंचाइ प्रविधिको लागि अनुदान दिने सरकारी नीति रहेछ । यान्त्रीकरणका लागि सरकारी सेवा र प्रविधि केन्द्रहरुको विस्तार गरिएको रहेछ, जहाँबाट आवश्यक प्राविधिक परामर्श र मेशीन सरकारले उपलब्ध गराउँदो रहेछ । 
रिमोट कन्टोलबाट गरिने सिँचाइको भल्भ अवलोकन गर्दै सहभागीहरु

‘अहिले चीनका ठूला कृषि फार्महरुमध्ये धेरैजसो फार्म सिन्ज्याङमै छन् र ती सबै पूर्ण यान्त्रीकरण भइसकेका छन् । रेल र सुपर हाइवेले हरेक शहरलाई जोडिएको छ । तरकारी र फलपूmल ढुवानी गर्ने खास किसिमका रेलका डब्बाहरुको व्यवस्था छ । हाम्रा किसानहरु माटो खनेर र खेतमा पसीना चुहाएर होइन मोवाइलका नम्बर दाबेर खेती गर्छन् अहिले ।’ इन्जिनियर झाङले सिन्ज्याङको कृषिको शब्दचित्र प्रस्तुत गरेका थिए हाम्रा सामु । 

सिन्ज्याङ प्रान्तको कपास खेती विश्वकै उन्नत कपास खेती मानिँदो रहेछ । कपासको प्रति हेक्टर उत्पादकत्व अमेरिकामा भन्दा बढी रहेछ सिन्ज्याङमा । कपास खेती पूर्णतः यान्त्रीकरण भइसकेको छ । जोताइ, मलखाद, सिंचाइ, बाली कटान, प्रशोधन सबै मेशीनबाटै गरिन्छ । अब किसानले खेतमा जानु पर्ने र आफैँ काम गर्नुपर्ने अवस्था छैन । 

‘उनीहरु आफ्नो जमिनमा के खेती लाउने निर्णय गर्छन् अनि सम्बन्धित प्राइभेट वा सरकारी कम्पनीलाई जमिन तयारी र खेती लाउनका लागि फोन गर्छन् । जोत्नेले जोत्छ, बीउ कम्पनीले बीउ दिन्छ, छर्नेले छर्छ, औषधि उपचार गर्नेले सूचना पाएपछि आएर उपचार गरिदिन्छ, सिँचाइ कार्यालयले सिँचाइ गरिदिन्छ, बजारमा पु¥याउने र बेच्ने काम व्यापारिक कम्पनीहरुले गर्छन् । यति भएपछि किन पसिना चुहाउनुप¥यो खेतीगर्ने किसानले । यहाँ किसानको काम निरीक्षण र निर्णय गर्ने मात्रै हो ।’ सिन्ज्याङ कृषि प्रविधि केन्द्रका निर्देशक हु जिया जुङ भन्छिन् । 

अवलोकनमा जे देखियो
करिब तीन हप्ताको सिन्ज्याङ बसाइमा त्यहाँको खेती प्रणाली अवलोकनका लागि हामीलाई विभिन्न कृषि फार्महरुको भ्रमण गराइयो । आँखाले देखेसम्म एकै आकार र उचाइका कपासका बोटहरु, समान उचाइका अंगुरका झाङहरु, समान उचाइका आरुका रुखहरु, खेतमा बग्रेल्ती छरिएका पाकेका तरबुजाका गल्लेँठाहरु हेर्दा लाग्थ्यो हामी कुनै स्वप्न नगरीमा छौँ अनि आधुनिक कृषिको अवलोकन सपनाको संसारमा रमेर गरिरहेका छौँ । तर त्यसो थिएन हामी अंगुर फार्ममा फलाइएका उत्कृष्ट जात र स्वादको अंगुरका झुप्पा हातमा लिएर विपनामै खाँदै थियौँ जुन अंगुर रोप्ने देखी काट्नेसम्मका सबै काम मेशीनले गथ्र्यो । आँखाले देखेसम्म टमाटरै टमाटरका सयौैँ हेक्टरमा फैलिएको कृषि फार्ममा टमाटर ‘हार्भेष्टर’ले बोटबाट पाकेका टमाटर टिप्तै टिपरमा हाल्दै गरेको दृश्य आफ्नै आँखाले देखिरहेका थियौँ । सिंचाइ कार्यालयको नियन्त्रण कक्षमा बसेर प्राविधिकहरु नहरको पानी खोल्ने र बन्द गर्ने स्वचालित सिंचाइ प्रणाली–नियन्त्रक कम्प्युटरमा औँला दौडाइरहेका देखिन्थे । कुन भागमा कति मल कुन पाइपबाट पठाउने भनेर योजना बनाउँदै गरेका प्राविधिकहरु देखिन्थे । त्यो सब हेर्दै गर्दा मेरो मन भने घरी एक बेरा युरिया मलका लागि खाजा–सामल कुम्लोमा बोकेर सदरमुकाम धाइरहेका सिन्धुपाल्चोकका फुर्बा शेर्पाको अनुहार आँखा अगाडि आउँथ्यो, घरी क’टो र कोदालो लिएर दिनभरि खन्दा पनि बारीको एक छेउ नसकिएर वाक्क मानेर टोपीले पसिना पुछ्दै डिलमा बसेको कृषि मजदुरको अनुहार सम्झन्थेँ त घरी तरकारी बालीमा ‘ढुसी लागेर सखाप भयो हजुर के दबाइ गर्ने’ भनेर कृषि कार्यालय धाउँदाधाउँदै बाली सखाप भइसक्ता पनि किसानको खेतमा जान आनाकानी गरिरहेका हाम्रा कृषिका हाकिम सा’बहरुको अनुहार र किसान मोहनलाल कोइरीको आँसु डब्डबाएका आँखा झलझली सम्झन्थेँ अनि राजनीतिक खिँचातानीमा ५० वर्षदेखि देशलाई बन्धक बनाइरहेका हाम्रा नेताका भाषणमा दिइने आश्वासनहरु सम्झन्थेँ । मनमनै लाग्थ्यो, कठै मेरो देश के मेरो देशका किसानले पनि मोवाइलको नम्बर दाबेर खेती गर्ने दिन देख्न पाउलान् ? मेरो मन अमिलो भएर आउँथ्यो, बोल्ने शब्दहरु गलामै अड्किन्थे, दुवै आँखाबाट पत्तै नपाई आँसुका डल्ला टप्प खसेर सिन्ज्याङको मरुभूमितिर बिलाउँथे । गाँठो परेझैँ हुन्थ्यो छातिमा । मनमनै देशका श्रोत र साधनको थुप्रोमा बसेर पनि गरिबीको दुर्दान्त पीडामा पिल्सिएका किसानका ती चाउरिएका अनुहारहरु नाचिरहन्थे आँखा अगाडि । अनि लाग्थ्यो, कठै मेरो देश ! कहिले आउने होला हामीले यो सब भोग्ने र देख्ने दिन ? 

धेरै समय बितिसक्यो सिन्ज्याङ घुमेर फर्किएको, करिबकरिब एक वर्ष हुनै लागेछ । अहिलेसम्म पनि मलाई ती किसान र फाँटहरुभन्दा पनि इन्जिनियर झाङका शब्दले खिज्याइरहेझैँ लाग्छ । उनका शब्द बारम्बार गुन्जिरहन्छन् मेरा कानमा अहिले पनि– हाम्रा किसानहरु माटो खनेर र खेतमा पसीना चुहाएर होइन मोवाइलका नम्बर दाबेर खेती चलाउँछन् ।’ के हाम्रा किसानले पनि त्यो दिन देख्न पाउलान् ? म गम खान्छु, देशको शासन र नेताहरुका व्यवहार सम्झन्छु अनि भन्छु– एक दिन त कसो नआउला त्यो दिन ! आशाको दियो बाल्छु भविष्यतिर आँखा लगाउँदै ।               

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...