Thursday, September 10, 2015

सहज स्वीकृति, तनावबाट उन्मुक्ति

गत महिना भुकम्पपछिको तनाव कसरी कम गर्ने भन्ने बारेमा मनोपरामर्श कार्यक्रम चलाउँदै गर्दा एक जना सहभागीले गरेको प्रश्नले मेरो मनमस्तिष्क हल्लाइदियो । उनको प्रश्न मेरो मानसपटलमा अझै घुमिरहेको छ । घरिघरि त्यसले झस्काइरहन्छ मलाई ।


यति भनेपछि तपाईंलाई जिज्ञाशा भयो होला के थियो त ती सहभागीको प्रश्न ? किन त्यसरी झक्झक्याइरह्यो एक महिना बितिसक्ता पनि ? प्रश्न निकै असामान्य हुनुपर्छ । तर यथार्थ त्यस्तो होइन । प्रश्न अति नै सामान्य र अबोध किसिमको थियो । सोध्ने मानिस पनि कुनै बौद्धिक मानिस थिएनन् । उनी थिए साधारण किसान । निकैबेर मेरो कुरा सुनेपछि उनको मनमा उठेको जिज्ञाशा थियो त्यो । 

उनले मलाई सोधेका थिए– “भुकम्प गयो । घर ढल्यो । आफन्त मरे । सम्पत्ती सकियो । घटना त सकियो तर मन भने अझै हल्लिाराको छ । घर हल्लिनुभन्दा मनि मन हल्लिनु चाहिँ सारो रछ । कसरी मन बुझाउने त्यो चै बताइ दिनुपरो ।”
यति थाहा पाएपछि तपाईंलाई फेरि जिज्ञाशा लाग्नसक्छ– तनाव र यो प्रश्नको के सम्बन्ध ? आउनुहोस् यसबारे अलि विस्तारमा चर्चा गरौँ ।
...........
हाम्रो दैनिक जीवनमा अनेक घटनाहरु घट्छन् । कुनै घटना हामीले सोचे अनुरुप, चाहे अनुरुपका घट्छन् कुनै नसोचेका नचाहेका घटना घट्छन् । आफूले चाहेकोजस्तो घटना हुँदा हामी खुसी हुन्छौँ, नचाहेको घटना हुँदा दुःखी हुन्छौँ, हामीलाई तनाव हुन्छ । घटना बाहिर घट्छ तर त्यसको असर देखिन्छ हाम्रो मनमा । मन विथोलिएपछि हाम्रो अनुहार, काम गराइ, बोलीबचन सबैमा परिवर्तन आउँछ । मानिसहरु भन्न थाल्छन्– “यो मानिस त यस्तो थिएन, आजभोलि के भएको छ कुन्नि बेग्लै भएको छ, कुनै टेन्सन होला बिचरालाई । नत्र यस्तो होइन यो मान्छे ।” 

सबै घटनाले सबैलाई समान असर पार्दैन । घटनाप्रतिको भावनात्मक तादात्म्य जति गहिरो हुन्छ त्यतिकै गहिरो हुन्छ, त्यसको असर पनि । वर्षभरि मिहिनेत गरेर पढेको विद्यार्थी राम्रो श्रेणीमा उत्तीर्ण हुँदा जति खुशी हुन्छ उसको परिवारका अरु सदस्यलाई उसलाई जति उत्तेजना हुँदैन, स्वाभाविक कुरा लाग्छ । सुखद लाग्ने घटना हुँदा हामीलाई खुसी लाग्छ अनि दुःखद लाग्ने घटना हुँदा तनाव हुन्छ । के घटनाले नै ल्याउने हो तनाव ? 
कसैलाई सन्तान आफूले भनेजस्तो नभएर तनाव छ, कसैलाई मायाप्रीति टुटेर तनाव छ, कसैलाई पैसा कमाउने धुनमा लाग्दा परिवार टाढा भएर तनाव छ, कसैलाई पुस्तापुस्तबीचको सोचाइ र व्यवहार नमिलेकाले तनाव छ, कसैलाई कमाइ घट्तै जाँदा हुने अभावबोधले तनाव छ । कारण थरिथरि छन्, तर परिणाम भने एउटै छ– तनाव ।
..............
चाहे विकसित समाजमा होस् वा अविकसित सबैतिरका ठूलो संख्याका मानिसमा एक न एक तनावले घर गरिरहेकै छ । उन्नत र विकसित भनिएको समाजमा त मानिसका आन्तरिक समस्या झन्झन् बढेका छन् । पारिवारिक विघटन, सामाजिकताको अभाव, एक्लोपन आदि पनि बढेका छन् । धन कमाउने, प्रसिद्ध बन्ने, ख्याति र प्रसिद्धि कमाउने आकांक्षा पनि बढेको छ अवसरका कारणले । 

हालैका अध्ययनले देखाएको छ, अमेरिकामा बस्ने करिब ६० प्रतिशत मानिसहरुलाई कुनै न कुनै किसिमको तनाव र डिप्रेसनको समस्या छ, युरोपमा यो संख्या ४५ प्रतिशतको हाराहारीमा छ, एशियाका देशहरुमा ३५–४० प्रतिशत छ । तनाव बढ्दै जाँदा आउने निराशा र छटपटीका कारण आत्महत्या गर्नेको संख्या र अपराध कर्म पनि विकसित भनिएकै समाजमा बढी छ । आखिर किन यस्तो डरलाग्दो अवस्था आएको छ त ? यसलाई कसरी घटाउन सकिन्छ ? विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गएको यही तनाव, यसका कारण र व्यवस्थापनको कलाबारे यस आलेखमा छोटकरीमा चर्चा गरिनेछ । चर्चा सुरु गरौँ एउटा कथाबाट ।
घोडा पाल्ने बूढा
चीनको एउटा गाउ“मा एक जना बूढा किसान बस्थे । उनले एउटा घोडा पालेका थिए । घोडा निकै सुन्दर र फुर्तिलो थियो । उनलाई कतै जानु पर्यो भने त्यही घोडा चढेर जान्थे । गाउँलेहरु उनको घोडा देखेर मनमनै भन्थे– ‘यी बूढाको घोडा निकै राम्रो छ ।’ 

बूढाको घोडाको प्रसंशा एक कान दुई कान गर्दै दरबारसम्म पुग्यो । राजा घोडाका सौकिन थिए । उनले बूढाको घोडा किन्न आफ्ना दूतहरु पठाए । दूतहरुले सामान्यभन्दा निकै चर्को मूल्यमा घोडा किन्ने प्रस्ताव राखे । राजाका मानिसहरु घोडा किन्न आएका छन् रे भन्ने सुनेर गाउँलेहरु पनि बूढाकहाँ भेला भए । राजाका मानिसले निकै बढी मूल्यमा घोडा किन्ने प्रस्ताव राखे । तर बूढाले घोडा बेचेनन् । राजाका मानिसहरु रित्तोहात दरवार फर्के । 

‘यति धेरै मूल्य पाएको बेला घोडा बेच्नुपथ्र्यो, नबेचेर तिमीले राम्रो काम गरेनौ ।’ गाउँलेहरुले बूढालाई भने– ‘भोलि घोडा म¥यो वा हरायो भने यत्रो पैसा त्यसै गुम्ने भयो । 

‘राम्रो वा नराम्रो के भयो थाहा छैन तर तथ्य (घटना) यही हो मैले घोडा बेचिन“’ —बूढाले भने ।

त्यसको केही दिनपछि घोडा हरायो । घोडा हराएकोमा सहानुभूति व्यक्त गर्न गाउ“लेहरु फेरि बूढाकहाँ भेला भए । राजाले घोडा किन्न पठाएको कुरा दोहो¥याउ“दै उनीहरुले भने– ‘घोडा नबेचेर ठूलो गल्ती भयो हेर घोडा हरायो, ज्यादै नराम्रो भयो ।’ 

गाउँलेहरुको कुरा सुनिसकेपछि बूढाले भने– ‘राम्रो वा नराम्रो के भयो थाहा छैन सत्य यति हो कि घोडा हरायो ।’

हराएको घोडा केही दिनपछि घर फर्कियो । साथमा अरु ८।९ वटा घोडा पनि लिएर आयो । घरकोभन्दा राम्राराम्रा घोडाहरु तबेलामा देखेर छोरोचाहि“ दङ्ग प¥यो । बूढाकहाँ आएका जङ्गली घोडा हेर्न गाउँलेहरु बूढाकहाँ जम्मा भए । बूढालाई हौस्याउँदै भने– ‘तिमीले घोडा नबेचेर राम्रै काम गरेछौ, यतिका एक से एक राम्रा घोडाहरु आए, अब बेच्यौ भने झन् धेरै पैसा पाउने भयौ, बधाइ छ तिमीलाई ।’ गाउ“लेहरु हौसिए । 

बूढाले फेरि गाउ“लेहरुलाई भने– “राम्रो वा नराम्रो के हो थाहा छैन तर कुरा यति हो, मेरो घोडाले जङ्गलबाट केही साथीहरु लिएर आएको छ र ती घोडाहरु मेरो घरमा छन् ।’

बूढाको घरमा आएका एकसेएक राम्रा घोडा देखेर दङ्ग थियो । सबारीलायक बनाउने विचारले घोडा दाउन सुरm ग¥यो । जङ्गली घोडाहरु भएकाले दाउन निकै कठिन थियो । ऊस“ग त्यस्ता घोडा दाएको अनुभवको कमी थियो । घोडा दाउने क्रममा बूढाको छोरो लड्यो र खुट्टो भा“चियो । 

छोराको खुट्टो भा“चिएको सुनेर गाउ“लेहरु फेरि बूढाकहा“ जम्मा भए र सहानुभूति दर्शाउँदै भने– “हेर बूढा घोडा बेचेको भए न यी घोडाहरु घरमा आउने थिए, न छोराले दाउनु पथ्र्यो, न उसको खुट्टो नै भा“चिन्थ्यो । तिमीले घोडा नबेचेकाले यो सब भएको हो, तिम्रै कारणले बिचरा छोराको खुट्टो भा“चियो, साह्रै नराम्रो भयो ।’
बूढाले फेरि भने – “राम्रो नराम्रो के भयो थाहा छैन, तथ्य यति हो, छोराको खुट्टो भा“चियो ।’

केही समयपछि देशमा अनिवार्य सैन्यसेवा सुरु भयो । हरेक घरका युवाहरु पल्टनमा भर्ना भएर देशका निम्ति युद्ध लड्नु पर्ने भयो । सबैका छोराहरु सिपाहीमा भर्ना हुन गए । असक्त, अपाङ्गहरु, बूढाबूढीहरु मात्र गाउँमा बाँकी भए । बूढाबूढीहरु बिरामी परे भने घरमा पानी दिने समेत कोही रहेनन् । गाउ“लेहरु मलिन अनुहार लगाउ“दै फेरि बूढाकहा“ आए । उनीहरुले भने– “तिम्रो छोराको खुट्टो भा“चिएर ज्यादै राम्रो भयो । ऊ त केही दिनमा ठीक हुन्छ, घरमा बस्छ तिमीहरुलाई हेरचाह गर्न सक्छ तर हाम्रा छोराहरु त सबै लडाइ“ गर्न जानुपर्ने भयो, मर्ने बा“च्ने थाहा छैन । हामी टुहुराजस्ता भयौ“, तिमी बडो भाग्यमानी रहेछौ ।’ गाउ“लेहरुले बूढाकहा“ आफ्नो मनको वह पोखे ।

बूढाले यसपटक गाउ“लेहरुलाई सम्झाउ“दै भने– “हेर, जीवनमा यस्ता अनेक घटनाहरु आउ“छन्, जान्छन् । तिमीहरु हरेक घटनालाई राम्रो–नराम्रोमा विभाजन गर्छौ, म केवल एउटा घटना देख्छु र त्यसको निरीक्षण गर्छु । म तिमीहरुको जस्तो राम्रो नराम्रोमा छुट्याउँदिन । घटनाको परिणाम नहेरी छुट्याउँदा पछि धोका पनि हुनसक्छ । तत्कालका लागि कुनै घटना राम्रो वा नराम्रो लाग्न सक्छ, तर त्यसको अन्तिम परिणाम कस्तो हुन्छ त्यो हामी जान्दैनौ“ । तत्काल अनुमान मात्र लाउन सक्छौँ । त्यसैले म घटनालाई मूल्यांकन गर्नुभन्दा त्यसमा लुकेको सत्य र शिक्षा खोज्छु । 

हरेक घटनाले कुनै न कुनै शिक्षा दिएर जान्छ, म त्यसलाई ग्रहण गर्छु । तर तिमीहरु त्यसलाई मूल्याङ्कन गरेर राम्रो र नराम्रोमा छुट्याइरहन्छौ । त्यसैले तिमीहरु हरेक घटनामा कि त दुःखी हुन्छौ कि त सुखी । म घटनाबाट शिक्षा लिन्छु । यो घोडा र छोराका घटनालाई पनि मैले त्यसैगरी लिएको छु बा“की कुरा तिमीहरु जान ।”
..................
यस कथाका बूढा मानिसले देखेका घटना र गाउँलेले देखेका घटना समान छन् । तर उनीहरुका प्रतिकृया भने नितान्त भिन्न छन् ।  गाउँलेहरु घटनासँगै कि खुशी भए कि दुःखी भए । बूढा भने समभावमा रहे । घटनालाई स्वीकार गरिरहे, निरीक्षण गरिरहे र शिक्षा लिइरहे । सबै घटनालाई साक्षी बनेर तटस्थ रुपमा हेरिरहे । घटनामा बहकिएनन् । राम्रानराम्रा, शुभअशुभ भनेर मूल्याङ्कन पनि गरेनन् । आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहे । हुनुपर्ने काम भई नै रह्यो । बूढाले घटनालाई भावनात्मक उत्तेजनाका आधारमा लिएका भए गाउ“लेहरु जस्तै घटनैपिच्छे एक न एक मूल्याङ्कन गर्न सक्थे । आफूलाई सोही अनुसार सुखी वा दुःखी बनाउन सक्थे । तर उनले त्यसो गरेनन् । घटनालाई शिक्षाका रुपमा लि“दै जीवनयात्रामा अघि बढिरहेकाले उनी न तनावमा आए न हौसिए । गाउ“लेहरु घटनैपिच्छे या त तनावमा फसे या त हौसिए खुशी भएर ।
..........
हाम्रो जीवनमा पनि यस्ता घटनाहरु भइरहन्छन् । कहिले सुखद घटना हुन्छन् त कहिले दुःखद । घटनाले आफै“ तनाव लिएर आएको हुँदैन । त्यसलाई हेर्ने हाम्रो जुन दृष्टिकोण छ त्यसले नै हामीलाई सुखद वा दुःखद उत्तेजनामा पुर्याउँछ । त्यतिबेला हामी चाहेको र पाएकोमा भिन्नता देखेर या त आत्तिन्छौँ या त मात्तिन्छौँ । हामीले व्यक्त गर्ने त्यही प्रतिकृया नै घटना हाम्रो तनावको कारण बन्छ, हामी तनावमा फस्छौँ । 
घटनालाई स्वीकारौँ र सत्यबोध गरौ“  
घटनाहरुले पार्ने मानसिक तथा उत्तेजनात्मक प्रभावहरु व्यक्तिपिच्छे फरकफरक हुन्छन् । कसैलाई अत्यन्तै दुःखद लागेको घटना अर्कोका लागि कुनै असरै नपार्ने हुन्छ । कुनै घटनामा कोही मानिस छाती पिटीपिटी रोइरहेको हुन्छ कसैलाई त्यसको अर्थ नै हु“दैन । कोही खुसीले मातिएर रमाइलो गरिरहेको बेला अर्को व्यक्तिलाई चाहि“ त्यही घटना अर्थ न बर्थको लाग्दछ । 

अब प्रश्न आउ“छ आखिर सबै घटनाहरु घटना मात्र हुन् भने यसो किन हुन्छ त ? किनभने घटनालाई मूल्याङ्कन गर्ने हाम्रो दृष्टिकोण र अनुभव भिन्नाभिन्नै छ । त्यही भिन्नताको कारण एउटै घटनाले पनि व्यक्तिपिच्छे फरकफरक प्रभाव पार्दछ । आफ्नो धारणा, पूर्व अनुभव, संस्कार र त्यस घटनाबाट आफूले गरेको अपेक्षालाई जोडेर व्यक्तिले घटनाको मूल्याङ्कन गर्दछ र एउटा कथा बनाउँछ । त्यही कथाले हाम्रो मनभित्र सुखद र दुःखद उत्तेजना पैदा गरिदिन्छ, भावनामा डुबाइदिन्छ र हामी सुखी वा दुःखी हुन्छौ“ । घटना सानो घट्छ, तथ्य अति नै सीमित हुन्छ तर हामी त्यसमा भावनाका कथा जोड्छौँ र लामो सिनेमा नै बनाउँछौँ । त्यो सिनेमालाई हामी बारम्बार सम्झिरहन्छौँ, हेरिरहन्छौँ । घटनालाई घटनाकै रुपमा स्वीकार गर्ने बानी परेको भए त्यसबाट सत्य ग्रहण गर्न सकिन्थ्यो र शिक्षा प्राप्त हुन्थ्यो । आगामी दिनमा त्यस्ता घटनाबाट कसरी बच्ने वा उपयोग गर्ने भन्ने सिक्न सकिन्थ्यो । 

तनाव व्यवस्थापनका सेमिनारहरु चलाउँदा कैयौँ सहभागीहरुले मलाई भन्ने गरेका छन्, सुखदुःखको भावनामा नआउने मानिस त ढुङ्गोजस्तो भइहाल्यो नि, मानिस त भावनात्मक प्राणी हो त्यस्तो कहा“ हुन्छ र ! तपाईंलाई पनि त्यस्तो लाग्न सक्छ । तर एकैछिन विचार गरौ“ त के भइसकेको दुःखद घटनालाई सम्झेर हामीले त्यसलाई सुखद बनाउन सक्छौँ ? यदि सक्दैनौँ भने हामीले बनाएका कथाले के काम गर्छन् त ? घटनालाई स्वीकार गरेर अघि बढ्नुभन्दा के विकल्प हुन्छ हामीसँग ?
.................
एउटा उदाहरणबाट यसलाई अलि प्रस्ट पार्न चाहन्छु । हामी सबैभन्दा बढी दुःखी हुन्छौँ आफन्तको मृत्युमा । यो सबैको जीवनमा आउने साश्वत घटना हो । हामी पनि आखिर एक दिन मर्नैपर्छ । तर आफन्तको मृत्यु हामीलाई स्वाभाविक लाग्दैन । वर्षौं थलिएर, रोगाएर, दिशापिसाब ओछ्यानमै भएको दीर्घरोगी आफन्त मर्दा पनि हामी कैयौँ दिनसम्म कथा बनाएर तनावमा हुन्छौँ, रुन्छौँ, कराउँछौँ । के हामी तनावमा आएर त्यो मृतकलाई फर्काउन सक्छौँ ? अवश्य सक्तैनौँ । बरु यसलाई स्वीकारेर शिक्षा ग्रहण गर्न सक्छौँ– सबै जन्मेका प्राणीहरु एक दिन मर्छन्, मृत्यु साश्वत छ, नमर्दै अमर हुने केही काम गरेर मृत्युलाई अमरतामा परिणत गर्नुपर्छ । मृत्युको घटनालाई स्वीकार गर्दा हामी यो सत्यबोध गर्न सक्छौँ ।

घटनास“ग हाम्रा अपेक्षा र भावनालाई नजोडीकन तिनलाई शिक्षा ग्रहणको अवसरका रुपमा लिने मानसिक प्रौढता हासिल गर्न सकियो भने हाम्रो जीवनमा आइरहने घटनाहरु न सुखमय हुन्छन्, न दुःखमय हुन्छन् । जीवनमा आइपर्ने हरेक घटनाहरु हामीलाई शिक्षा दिन आएका शिक्षक जस्ता लाग्नथाल्छन् । हामी तिनबाट शिक्षा लिने विद्यार्थीजस्ता हुन्छौ“ । त्यसो भयो भने हामीमा आउने तनाव स्वतः कम हुन्छ । घटनाबाट अघि बढेर जीवनलाई उन्नत र विकसित गर्न समर्थ हुन्छौ“ ।
 
दुःखद घटनाबाट सत्य ग्रहण गरेर केही गरिछाड्ने संकल्प गरेर अमर बन्ने काम गरेका कैयौँ मानिसहरु छन् संसारमा । साँच्चै भन्ने हो भने दुःखद घटना नब्योहोरेको मानिस बिरलै मात्र संसार प्रसिद्ध भएका छन् । जीवनको अन्त्य हुने गरी दुःखद घटना, अभाव र पीडा व्यहोरेपछि त्यसबाट शिक्षा लिएर बौरिएका मानिसहरुले नै संसारमा आफूलाई अमर बनाएका छन् ।
कसरी कम गर्ने नकारात्मक असर ?
घटित भइसकेका घटनालाई हेर्ने प्रचलित धारणाको बदलामा जब हामी घटना र प्रतिक्रियाका बीचमा प्रज्ञा, विवेक, चेतना र अन्तर्निर्भर इच्छालाई स्थान दिनथाल्छौ“, घटनालाई घटनाका रुपमा स्वीकार गर्छौं, हाम्रा उत्तेजना र प्रतिक्रियाका बीचमा एक अन्तराल पैदा हुन्छ । यो अभ्यास जति बढी गर्दै जान्छौँ घटनाहरुलाई हेर्ने हाम्रो दृष्टिमा पनि गुणात्मक भिन्नता आउँछ । यस अवस्थामा मात्र हामी जीवनमा आउने घटनालाई आफूले कसरी ग्रहण गर्ने र कसरी आफ्नो जीवन सफल, उन्नत, विकसित बनाउने भन्ने सही विकल्प छान्न सक्दछौ“ । भइसकेका घटनाबाट शिक्षा ग्रहण गरेर भविष्यमा आइपर्ने त्यस्तै घटनाहरुबाट आउने कठिनाइ, तनाव र पीडाबाट मुक्त हुन सक्छौ“ । 

कस्ता घटनाहरु हाम्रा लागि राम्रो, नराम्रो, खराब, असल, सुखद, दुःखद हुन् भनेर छुट्याएर हेर्ने र मूल्याङ्कन गर्ने हाम्रीभित्रको जुन विश्वास—प्रणाली छ त्यसले नै हरेक घटनालाई अनेक कथामा परिणत गरेर सुखद र दुःखद उत्तेजना व्यक्त गर्न बाध्य पार्दछ । जीवनमा आइपर्ने घटनाकै आधारमा हामी भावुक हुन्छौं । उत्तेजित हुन्छौं । जीवनलाई सङ्घर्षमय, दुखमय, आनन्दमय, सुखमय, रमाइलो, नरमाइलो आदि परिभाषाभित्र बा“ध्दछौ“ । त्यही परिभाषामा बहकि“दा हामीलाई जीवन कहिले सुखद र आनन्दमय जस्तो लाग्दछ त कहिले दुःखद र पीडामय लाग्दछ । 

यथार्थमा जीवनमा न बिषाद र दुःख मात्र छ न खुसी र उल्लास मात्र । यी दुवै कुरा लगातार चलिरहन्छन् । कुनै पनि दुःखद र सुखद अवस्था चीरकालसम्म रहिरहँदैन । ती पनि बित्छन् र जीवन अगाडि बढ्छ । हामी जन्मनु पनि घटना हो र मर्नु पनि घटना नै हो । हाम्रो जीवन घटनाबाट सिर्जना भएको छ र घटनाबाटै यसको अन्त्य हुन्छ । बा“की सबै हामीभित्रका कथा मात्र हुन् । जीवनमा घटेका घटनाहरुलाई गहिरोस“ग बुझ्ने प्रयत्न ग¥यौ“ भने हरेक घटनास“ग एक तथ्य वा शिक्षा लुकेको हुन्छ । त्यसलाई बुझ्नसक्यौ“ भने हाम्रो जीवन घटनैपिच्छे नया“ ढङ्गले रुपान्तरण हुनसक्छ । यदि त्यसो गर्न सकिएन भने घटनैपिच्छे हामी सुख र दुःखका धारणामा, पीडा र खुसीयालीमा अल्मलिन्छौ“ । तनाव वा उन्मादमा फस्छौ“ । जीवनको उपलब्धितर्फ बढ्न सक्दैनौ“ । जीवनऊर्जालाई हरेक घटनास“गै उतारचढावमा क्षय गरिरहन्छौँ ।

हरेक घटनाले त्यो घटना भइसकेपछि भिन्न परिवेश ल्याउँछ । त्यसलाई स्वीकार गरेर सकारात्मक परिणामतर्फ लैजाने प्रयत्न गर्नुपर्छ । त्यसो हुन सकेन र दुःखद घटना भई नै हाल्यो भने त्यस घटनाबाट आफूलाई अलग गर्नु बुद्धिमानी हुन्छ । अनिर्णयको अभ्यासबाट घटनालाई शिक्षामा रुपान्तरण गरेर परिस्थितिलाई सहज हुन दिनु पर्दछ । त्यसो गर्नाले हामी घटनाबाट शिक्षा लिन सक्छौ“ र तनावबाट पनि आफूलाई बचाउन सक्छौ“ । माथि उल्लिखित कथाका ती बूढा किसानले त्यही कुराको अभ्यास गरिरहे । त्यसैले उनले तनाव झेल्नु परेन । गाउँलेहरु तनावमा फसे ।    
दृष्टिकोण बदले तनाव रोकिन्छ
हामीले सामाजिक–साँस्कृतिक रुपमा शदीयौँदेखि समस्याको जड आफूभित्र होइन बाहिर खोज्न सिकेका छौँ । त्यसैले आफ्ना कमीकमजोरी सच्याएर अघि बढ्ने साहस पनि हामीसँग हुँदैन । बाह्य परिवेशबाट सिर्जित कुराहरुलाई नै समस्याका लागि जिम्मेवार ठानेर समाधान पनि सोही अनुसार खोज्दछौ“ । जुन आधार र तहबाट समस्याको सिर्जना भएको हुन्छ त्यसैको वरिपरि हाम्रा समस्या समाधानका प्रयत्नहरु घुमिरहेका हुन्छन् । समस्या सिर्जना भएकै तहमा समाधानका प्रयत्न पनि घुमिरहँदा हामी समस्याकै थप उल्झनमा फस्तै जान्छौ“ । जब उल्झनमा फस्तैजान्छौँ हाम्रो बुद्धि र भावनामा दूरी बढ्छ । हृदयको भावनाले भन्छ यसबाट छिटो निस्किहाल, बुद्धिले भन्छ यसमा मैले बिजय पाउनै पर्छ । हृदय जहिले पनि सत्यको पक्षमा आवाज उठाउँछ, बुद्धिले जहिले पनि तर्कको साहारा लिन खोज्छ र जित्न चाहन्छ । यही कारणले व्यक्तिको मनमा द्विविधा बढ्छ र तनाव सिर्जना हुन्छ ।
 
समस्यालाई तनावको बिषय नबनाउनका लागि समस्या उठान भएको बिन्दुबाट हाम्रो सोचाइ र व्यवहारलाई अलि माथि उठाउनु र समस्याको जिम्मेवार आफू पनि हो भन्ने स्वीकार गर्नु आवश्यक हुन्छ । जब हामी घटनालाई स्वीकार गर्छौं र सत्यबोध गर्छौं समस्या समाधानका नयाँ विकल्पहरु प्रकट हुन्छन् । समस्याको निकास पनि सहज रुपमा निस्कन्छ । त्यतिबेला हामी ‘आहा’ त्यति पनि किन पहिले नै सोचिएनछ, कस्तो त्यति पनि बुद्धि नआको आदि भन्न थाल्छौ“ । एकछिन अघिको तनाव त्यसै हराएर जान्छ । त्यसैले प्रसिद्ध वैज्ञानिक आइन्स्टाइन भन्दछन्– जुन आधारबाट समस्याको उठान भएको हो त्यही आधारबाट समस्याको समाधान कहिल्यै पाउन सकि“दैन । 

वाह्य उपाय होइन आन्तरिक तयारी गरौँ
घटनाबाट सिर्जित तनाव कम गर्नका लागि हामी प्रायजसो छोटकरी र तात्कालिक उपायहरु अवलम्बन गर्न खोज्दछौ“ । कसैले तनाव घटाउन नयाँ ठाउँको भ्रमणको सल्लाह दिन्छन्, कसैले मनोरञ्जनमा जोड दिन्छन्, कसैले नशा आदि सेवन गरेर मस्ती लिन खोज्छन्, तर के तिनले दिगो समाधान दिन सक्छन् त ? अवश्य सक्तैनन् । हामीभित्रको बोध, जागरण, स्वीकारभाव जति बलियो हुन्छ त्यति नै घटनालाई सहज रुपमा ग्रहण गर्न सक्छौँ । घटनालाई सहज रुपमा स्वीकार गर्नासाथ तनाव स्वतः टाढा हुन्छ । जब हामी घटनालई अस्वीकार गछौँ तब नै तनावले हामीलाई घेर्दै लैजान्छ । 

मानिसको जीवन प्राकृतिक प्रणालीकै एक हिस्सा भएकाले यसको सञ्चालन र नियमनमा पनि प्राकृतिक नियमहरु लागू हुन्छन् । प्रकृति न सधैँ हराभरा रहन्छ न सधैँ सुख्खा र बन्जर । कहिले सिर्जनशील हुन्छ कहिले बिनाशकारी । प्रकृतिमा आइपर्ने कष्टदायक परिस्थिति फेरि नयाँ रुप फेर्नका लागि सिर्जना हुन्छन् । सधैँ एकनाश हुने हो भने प्रकृतिमा न कुनै नयाँ सिर्जना हुन्छ न अनावश्यक कुराहरुको बिनास । मानिसको जीवन पनि त्यस्तै हो । कष्टदायक अवस्था नआउने हो भने मानिसले प्रगतिको बाटो नै खोज्दैन । दुःखद घटनाहरुले नै जीवनलाई नयाँ उचाइमा पुग्ने हिम्मत र साहस सिर्जना गर्दछ । यो विश्वव्यापी प्राकृतिक नियम, सिद्धान्त र आफ्नो आन्तरिक चरित्रलाई बुझ्न सक्यौँ भने सबै समस्या, पीडा र छटपटीका दीर्घकालीन र सुखद समाधान देख्न सकिन्छ । यसका लागि आवश्यक छ धैर्य र स्वीकारभाव । मानिसले परिस्थितिलाई बदल्न सक्दैन तर आफू त्यस अनुरुप बदलिएर अघि बढ्न सक्छ । त्यही हो मानिसको उच्चतम विवेक । अरm आफू अनुकूल बनाउन सकिँदैन तर आफूलाई अरु अनुकूल बनाउन जहिले पनि सकिन्छ । 

हावाहुन्डरीपछि धरती शान्त हुन्छ । प्रलयकारी बर्षापछिको आकाश शान्त र स्वच्छ हुन्छ । हरेक ठूला घटनापछि प्रकृतिले फेरि सहज रुप लिन्छ । मानिस भने घटनामा कथा जोजेर अझ अशान्त र तनावयुक्त बन्छ । प्रकृतिको यो सन्देश नै हाम्रो तनाव मुक्तिको आधार हुन सक्छ, घटनापछिको सहज स्वीकारभाव ।
अरुलाई दोषी देख्ने, तथ्य नकेलाउने र सत्य ग्रहण नगर्ने कारणले नै हामी भित्रभित्रै आन्दोलित भइरहेका हुन्छौँ । घटना भइसकेपछि त्यसको तथ्य बुझ्न र सत्य ग्रहण गर्न हामीभित्र अपार शान्ति र धैर्य आवश्यक पर्छ । दुःखद घटना भएकाबेलामा त यो झन् आवश्यक हुन्छ । यस्तो बेलामा हामी झन् अधैर्य हुन्छौँ । त्यसैले तनाव बढ्छ । घटनापछिको प्रकृतिलाई हेरेर हामीले बुझ्नुपर्छ जति ठूलो र बिनाशकारी घटना घट्छ त्यति नै बढी मानसिक धैर्य, सन्तुलन र स्थिरता आवश्यक पर्छ जीवनमा । त्यो प्राप्त हुन्छ सहज स्वीकार भावबाट । जबसम्म हामी जीवनमा घटेका घटनालाई सहज रुपमा स्वीकार गर्न सक्तैनौँ, तबसम्म चाहेर पनि मनमा तनाव घटाउन सक्तैनौँ ।

जब हामी घटित घटनामा मेरो पनि जिम्मेवारी छ, म पनि यो घटनाका लागि जिम्मेवार छु, यो घटनाले मलाई केही शिक्षा दिन आएको छ त्यो शिक्षा मैले ग्रहण गर्नुपर्छ भनेर आफैँभित्र फर्केर घटनालाई स्वीकार गर्दै अघि बढ्छौँ यसले तनावलाई स्वतः छेकिदिन्छ । तर जब यस्तो नहुनु पर्ने हो, यो नहुनु पर्ने थियो, यसो हुनै नहुे, यसो हुनै हुँदैन भनेर त्यसको प्रतिवाद गर्न खडा हुन्छौँ तब स–साना घटनाहरुले पनि हामीभित्र असाधारण तनाव सिर्जना गर्दछन् । हामीलाई शारीरिक र मानसिक रुपमा कमजोर र रुग्ण बनाउँदै लैजान्छ ।

हामी घटनालाई रोक्न त सक्तैनौ तर घटना भइसकेपछि प्रतिकृयाको उचित विकल्प भने अवश्य छनोट गर्न सक्छौँ । घटना भइसकेपछि त्यसलाई अस्वीकार गरेर किन तनावमा फस्ने ? घटना त भइसक्छ तर हामी कथामा अल्झेर जीवन बर्बाद गछौँ । घटनालाई घटनाका रुपमा हेरौँ, त्यसलाई स्वीकार गरौँ, त्यसबाट लिन सकिने शिक्षा लिऔँ, जीवनलाई तनावमुक्त बनाऔँ । स्वीकारले शान्ति दिन्छ, अस्वीकारले तनाव ।
   

Tuesday, June 2, 2015

नयाँ सङ्कल्पसाथ सुरु गरौँ नयाँ वर्ष

कसैको जीवनको गुणस्तर भनेको उसको सङ्कल्प अर्थात् प्रतिबद्धता नै हो । कर्मक्षेत्र जुनसुकै रोजेको भए पनि खास फरक पर्दैन । — (Vince Lambarde)

नयाँ वर्ष २०७२ सुरु भएको छ । नजाने तपाईँले कति यस्ता नयाँ वर्ष बिताइसक्नुभयो होला । कैयौँ पटक नयाँ वर्ष लागेपछि अब त यो काम नगरी छाड्दिन भनेर सोच्नु पनि भयो होला त
र के तपाईँका ती सोच साकार हुन सके ? सकेनन् भने किन सकेनन् ? आत्मसमीक्षा गर्ने र आफूलाई अझ नयाँ जोश र उत्साहका साथ उचाइतिर अघि बढाउने अवसर हो नयाँ वर्षको सुरुआतको यो बैशाख महिना ।

कविहरु बसन्तको आगमनमा नयाँ कविता कोर्दैछन्, कलाकारहरु नयाँ जीवनको रंग भर्दैछन्, कोइली र न्याहुल आफ्ना स्वरलहरी तिखार्दै छन्, विरुवाहरु नयाँ पालुवा हालेर फुल्न र फल्न उद्यत छन्, प्रकृति स्वयम् पनि हाँस्न, हसाउँन र सिर्जनाको प्रणयज्वर छर्दै प्रफुल्लित हुँदैछ । तपाईँहामी चाहिँ त्यसबाट किन अछुतो हुने ? आउनुहोस् यो नयाँवर्षको सुरुआत गरौँ केही नयाँ संकल्पका साथ, जसले तपाईलाई जीवनको नयाँ गन्तव्य दिन सक्नेछ । 

नयाँ जीवन बनाउन कस्तो सङ्कल्प लिने ? कस्ता सङ्कल्पले हामीलाई माथि उठाउँछ ? राम्ररी मनन गरौँ । असफल हुने र सफल हुने मानिसमा धेरैजसो कुरा एकैखालका हुन्छन्, तर फरक हुन्छ काम गर्ने र सोच्ने तरिकाको । त्यसैले सफल बन्नका लागि प्रथमतः आवश्यक पर्छ उचित सङ्कल्प । 

ह्याप्पि साइन्सका संस्थापक ¥युहो ओकावा सङ्कल्पित सोचलाई समुन्नत जीवनको आधार नै ठान्छन् । उनी भन्छन्, ‘सङ्कल्पित सोच मानिसका लागि जीवन नक्सा अर्थात् ब्लुप्रिन्टजस्तै हुन् । जीवन कस्तो बनाउने भन्ने कुरा तपाईँ आफैँले लिने सङ्कल्पमा भर पर्छ । सङ्कल्प वास्तवमा एउटी महिलाभित्र गर्भस्थ भएको र जन्मिनसकेको शिशुजस्तै हो । शिशु गर्भमा आइसक्यो, अब त्यसलाई स्याहार–सुसार गरेर, समय पु¥याएर जन्माउने बेला पर्खन मात्र बाँकी छ । (ओकावा पृ. १३५)

तपाईँ सफलताको बच्चा जन्माउन चाहनुहुन्छ भने सङ्कल्पका माध्यमबाट मात्रै शिशु गर्भधारण गर्न समर्थ हुनुहुन्छ । सङ्कल्प नभएको काम त खालि बच्चा जन्माउने शुक्रकीटहरू नभएको वीर्यस्खलन गर्नुजस्तो मात्रै हो । शक्ति खर्च भएको छ, काम पनि भएको छ, तर त्यससँग बच्चा जन्माउन सक्ने बीजको बिजाधानचाहिँ भएकै छैन । यस्तो अवस्थामा तपाईँको बच्चा जन्माउने लक्ष्य पूरा होला त ? अवश्य हुनेछैन ।

सङ्कल्प लिनु भनेको योजनासहित लक्ष्यतिर बढ्न चाहने अग्रसरता हो । यसले कदम–कदम तपाईँलाई लक्ष्यतिर केन्द्रित हुन मन, वचन र कर्मका माध्यमले लागिरहन बाध्य गर्छ । सोचाइलाई जब सङ्कल्पमा परिणत गरिन्छ, तब मात्र तिनले लक्ष्यउन्मुख हुने सामथ्र्य प्राप्त गर्छन् । सङ्कल्पित सोचमा त्यो सामथ्र्य हुन्छ । जसले पृथ्वीका मनुष्य मात्र नभएर यसबाहिरको अदृश्य जगत्का प्राणीसमेतलाई आकर्षित गर्न सक्छ । तपाईँले ती उच्च आत्माहरूको अनुभव नगरेको भए पनि उनीहरूले तपाईँको रखबारी गरिरहन्छन् । उनीहरू सधैँ तपाईँको मद्दत गर्न तत्पर छन् । समयको पर्खाइमा बसिरहेका छन् । तपाईँको मनमा यदि महान् कार्ययोजना छ भने त्यो निश्चय नै सफल हुन्छ । त्यसैले सङ्कल्पित सोचको सामथ्र्यलाई बुझ्न, मनन गर्न र ग्रहण गर्न अति जरुरी छ ।

म यहाँ जीवन बदल्ने केही महङ्खवपूर्ण सङ्कल्पका बारेमा चर्चा गर्दैछु, जसले हरेकको जीवनलाई आश्चर्यजनक रुपले बदल्ने सामथ्र्य राख्दछन् नयाँ वर्ष २०७२ मा । 

प्रथम सङ्कल्पः ‘म राम्रो बानी विकास गर्छु र त्यसको नोकर बन्छु’ 

यो सङ्कल्प जीवन परिवर्तनको सबैभन्दा महङ्खवपूर्ण सङ्कल्प हो । हरेक मानिसका आआफ्ना निजता हुन्छन् । पुराना प्रचलित बानीले तपाईँको निजता प्रस्फुरण नहुन सक्छ । त्यसका लागि तपाईँको आफ्नै स्वभाव अनुसारको बानी विकास गर्न आवश्यक हुन्छ । यो सङ्कल्पले तपाईँको आफ्नो निजत्व प्रकट गर्ने उत्साह देखाउँछ । यदि यो सङ्कल्प लिने हिम्मत गर्छौँ र यसलाई पालना गर्छौँ भने यही एउटा सङ्कल्पले असम्भव कुराहरू सम्भव बनाइदिन्छ । यो सङ्कल्प तीन हप्ता (२१ दिन) सम्म हरेक तीन घन्टामा दोहो¥याउने हो भने मानिसले जुनसुकै कुलत, कुसंस्कार, गलत बानीबेहोराको त्याग गर्न सक्छ । नयाँ बानीको विकास गर्न सक्छ र जीवन परिवर्तन गर्न सक्छ । रक्सीको कुलतमा लागेको एउटा जँड्याहाले यो सङ्कल्पबाट आफ्नो जीवनलाई कुलतबाट माथि उठाउन सक्छ । दुव्र्यसनीले त्यसबाट छुटकारा पाउन सक्छ, कुसङ्गत र कुलतमा फसेको मानिसले त्यसलाई चटक्कै छोडेर आफ्नो जीवनलाई नयाँ गति दिन सक्छ । यही एउटा वाक्यमा नै आजसम्म सफल भएका मानिसको सफलताको रहस्य लुकेको छ । नयाँ बानी विकास नगरी नयाँ काम गर्नै सकिँदैन । जब तपाईँ यसलाई बारम्बार उच्चारण गर्नुहुन्छ, तब त्यो शब्दले ल्याउने कम्पन रौँ–रौँमा फैलिनेछ, नसा–नसामा दौडिनेछ र मस्तिष्कको तन्तु–तन्तुमा स्थापित हुनेछ । यसले तपाईँलाई निद्रामा पनि बेहोसीमा जान, अलमलमा फस्न र अल्छ्याइँ पालेर बस्न दिने छैन । तपाईँ सपनामा पनि आफू बदलिएको देख्न थाल्नुहुनेछ । किनकि, सपनाहरू पनि मनमा आएका तर वास्तविकतामा परिणत नभएका अस्पष्ट चाहनाकै प्रतिरूप हुन् ।

सङ्कल्प दृढतामा परिणत गर्न बारम्बार त्यसलाई दोहो¥याइरहन आवश्यक छ । यसले तपाईँलाई काममा लाग्न मानसिक रूपमा तयार पार्नेछ, अनि काम गर्दा सुखद अनुभव प्रदान गर्नेछ ।

जब तपाईँको जीवनमा कुनै असम्भवजस्तो लाग्ने सुखद कल्पना आउँछन्, तिनलाई त्यसै नछोड्नुहोस् । वास्तविकतामा परिणत हुनुअघि संसारमा हामीले देखेका सबै कुरा कसै न कसैको दिमागमा कल्पनाकै रूपमा आएका थिए । त्यही कल्पना सङ्कल्प, योजना, विशेषज्ञान अनि पूरा गरिछाड्ने प्रतिबद्धता मिलेपछि अहिलेको रूपमा प्रकट भएका हुन् । तपाईँको कल्पनामा आएका जुनसुकै कुरा पनि सत्यतामा, वास्तविकतामा परिणत हुन सक्छन् । तर, त्यसलाई वास्तविकतामा परिणत गर्न योजना, सङ्कल्प र निरन्तर प्रयास जरुरी छ । त्यो शक्ति हरेक मानिससँग छ । जसले कल्पनालाई वास्तविकतामा परिणत गरे, सपना साकार पारे, तिनीहरू र सामान्य मानिसमा एउटै फरक छ, त्यसलाई वास्तविकतामा परिणत गर्ने साहसपूर्ण सङ्कल्प र निरन्तर प्रयास र प्रयत्न ।

असफलताको सबैभन्दा प्रमुख कारणमध्ये एउटा हो निरन्तरताको अभाव । यति मात्रै होइन, बढीभन्दा बढी मानिसको असफलताको कारण पनि यही हो । यो कमजोरी हामी आफ्नै प्रयासबाट शक्तिमा परिणत गर्न सक्छौँ ।

दोस्रो सङ्कल्पः ‘म आफू प्रेमपूर्ण भएर आजको दिन बिताउँछु’ 

सफलताको लागि दोस्रो महत्वपूर्ण सङ्कल्प हो यो । मैले यहाँ ‘आपूm’ र ‘आज’लाई जोड दिएको छु । भोलि हुने कुरा हुँदै गर्ला तर आज तपाईँ बाँचिरहनुभएको छ, जीवनका रमाइला क्षण बिताउने अवसर तपाईँसँग छ । हरेक दिन बिहान उठ्नासाथ यो सङ्कल्प दोहो¥याउनुहोस् । आज मात्र भन्नुहोस् । अबदेखि वा यसपछि जस्ता अनन्तकालसम्म कायम राख्नेगरी आदर्शवादी नबन्नुहोस् । भोलिकोनिम्ति भोलि नै सोचौँला । केवल आजको लागि प्रेमपूर्ण हुनुभयो भने भोलि त्यसै तानिएर आउँछ । आजदेखि भन्न थाल्नुभयो भने भोलि फेरि दोहो¥याइरहनु परेन । यसलाई बिर्सिदिँदा पनि केही फरक पर्नेछैन भन्ने अर्थ ग्रहण गर्छ तपाईँको मस्तिष्कले । त्यसैले अनन्तकालसम्म प्रेमपूर्ण हुने सङ्कल्पले तपाईँको जीवन बदल्दैन । केवल आज मात्र भन्नुहोस् । आइनसकेको समयलाई किन झुठो आश्वासनमा बाँध्ने ? के भोलि चाहिँ तपाईँ प्रेमविहीन बन्ने हो र ? होइन । दिनदिनै प्रेमपूर्ण त हुनु नै छ । त्यसैले यो सङ्कल्प दैनिकै रुपमा लिनु आवश्यक छ ।

तपाईँ–हामी ठूला–ठूला कुराहरू त गर्छौँ, तर सानो काम गर्दैनौँ । त्यसैले मैले यहाँ दिनभरको मात्रै कुरा गरेको हुँ । आफूलाई प्रेमपूर्ण बनाउने कि निरस र कठोर बनाउने ? यो हामी स्वयं गर्न सक्छौँ । यसका लागि परिवेश, परिस्थिति वा वातावरण अनुकूल वा प्रतिकूल हुनुले कुनै फरक पर्दैन । हामी हाम्रो मनमा खराब वा असल भावना कायम राख्न स्वतन्त्र छौँ । तर, हामी त्यसका लागि सङ्कल्पवान् छौँ त ? प्रेमपूर्ण बन्न पनि शर्तहरू त राखिरहेका छैनौँ ? यदि ........भयो भने म प्रेमपूर्ण हुनेछु भनेर त सोचिरहनुभएको छैन ? यदि छ भने तपाईँभित्र प्रेमपूर्ण हुने सङ्कल्प कमजोर छ ।

प्रेमपूर्ण हृदयमा ठूलो शक्ति हुन्छ । कामप्रति, कुनै मानिसप्रति, प्रकृतिप्रति, आफन्त र परिवारप्रति, समाज र देशप्रति, समस्त आदरणीय अग्रजहरूप्रति प्रेमपूर्ण र सकारात्मक हुन सक्नुभयो भने, त्यसको अभ्यास बारम्बार गर्नुभयो भने, त्यसबाट तपाईँमा काम गर्ने उत्साह, प्रेरणा र सामथ्र्य बढेको अनुभव हुन्छ भने, त्यसो हुन नसक्ता निराशा र छटपटी हुन्छ । 

प्रेमपूर्ण हुने सङ्कल्प दृढ भएका मानिसमा ज्यादा सहनशक्ति हुन्छ । सहनशक्ति प्रगतिका लागि ज्यादै मूल्यवान् शक्ति हो । आफू प्रेमपूर्ण हुने सङ्कल्प लिनासाथ तपाईँले गर्ने व्यवहार पनि प्रेमपूर्ण नै गर्नुहुन्छ । बाधाहरू आउँछन्, सिक्ने कुरा खोज्नुहुन्छ । हावा र हुन्डरीमा फस्ता शक्ति आउने सम्भावना देख्नुहुन्छ । यसले तपाईँले गर्ने व्यवहारमा र सोच्ने तरिकामा व्यापक परिवर्तन ल्याइदिन्छ ।

यदि हरेक मानिसले प्रेमपूर्ण हृदयले व्यवहार गर्न थाल्यो भने ऊ स्वयंप्रति प्रेमपूर्ण हुन थाल्नेछ । आफूप्रति प्रेमपूर्ण हुनु भनेको आफ्नो शरीर, आफ्नो मस्तिष्क, आफूभित्रको हृदय, आफ्नो विवेकप्रतिको विश्वास र प्रेम बढ्नु हो । त्यसप्रति होसपूर्ण हुनु र सचेत व्यवहार गर्नु हो । यसो हुनासाथ हामी शरीरका अनावश्यक आग्रह र आकर्षणमा फस्नेछैनौँ । शरीरलाई संयमित र सफासुग्घर राख्नेछौँ । मस्तिष्कमा अनावश्यक, निराशावादी र नकारात्मक सोचाइ आउन दिनेछैनौँ । सदीयौँदेखि ब्रह्माण्डमा भरिएका ज्ञान र बुद्धिको प्रयोग गरेर आफूलाई सामान्य मानिसभन्दा माथि उठाउनेछौँ । निरन्तर साधना, ध्यान र प्रार्थनाबाट आफ्नो विवेक र अन्तःस्करणलाई शुद्ध गर्दै उन्नत र विकसित गर्नेछौँ । कटु वचन बोलेर अरू र आफ्नै हृदयलाई चोट पु¥याउनेछैनौँ । आफ्नो प्रेम भावलाई समस्त ब्रह्माण्डमा फैलाउन सक्नेछौँ । 

घृणा, द्वेष र ईष्र्या प्रेमभन्दा कमजोर तत्व हुन् । हृदयमा प्रेम भरिनासाथ यी दुर्गुणहरू आफैँ टाढा भाग्नेछन् । प्रेमभन्दा ठूलो कुनै अस्त्र छैन, काममा सफल हुने । जुन काम गरिन्छ, त्यसलाई जीवनको सबैभन्दा प्रेमपूर्ण काम, वर्तमानको सबैभन्दा महत्वपूर्ण काम अनि अहिलेका लागि सबैभन्दा महत्वपूर्ण समयको उपहार भनेर सम्झ्यौँ भने हामी जुनसुकै इच्छित काममा खुसीसाथ संलग्न हुन सक्छौँ । त्यसमा रमाउन सक्छौँ । यदि त्यसो हुन सकेन भने त्यसबाट खुसी मिल्न सक्नेछैन । खुसी नमिल्दा–नमिल्दै काम गरिरहन्छौँ भने त्यस्तो कामबाट सन्तोषजनक परिणाम पनि आउनेछैन । त्यसैले आफ्नो जीवनप्रति, परिवार र अग्रजप्रति, रोजगारदाताप्रति, मातृभूमिप्रति, समस्त चराचर जगत्प्रति प्रेमपूर्ण भावको सङ्कल्पको कुनै विकल्प छैन सफलताका लागि । त्यसैले प्रेमपूर्ण रहने सङ्कल्प लिनुहोस् । 

तेस्रो सङ्कल्पः ‘म तबसम्म यस काममा लागिरहन्छु, जबसम्म सफल हुन्न’ 

यो सफलताको तेस्रो महत्वपूर्ण सङ्कल्प हो । थाइल्यान्ड, चीन, भारतका कतिपय ठाउँहरू र नेपालमा पनि पुरानो समयमा आफूले पालेका उन्नत भाले छानेर आपसमा लडाउने चलन थियो । दुईवटा भालेलाई खास ‘रिङ’ मा एकअर्कालाई आक्रमण गर्न छोडिदिने र एकअर्कामा आक्रामक प्रहार गर्दा कुन भालेले कतिसम्म प्रहार सहन्छ र आफूलाई निरन्तर लडाइँमा प्रेरित गरिरहन सक्छ भनेर निरीक्षण गर्ने गरिन्थ्यो । जुन भालेले बढीभन्दा बढी चोट सहेर लडिरहन सक्छ, त्यसलाई विजयी घोषणा गर्ने गरिन्थ्यो । आज पनि यदाकदा यो चलन छँदै छ । एउटा खुट्टा हातले समाएर अर्को हात पिठ्युँमा राखेर कुम जुधाइ गरेर खेलिने भाले जुधाइ खेल त्यही खेलको मानवीय रुप हुनुपर्छ । हाम्रा युवाहरुमा यो खेल यद्यपि प्रचलित छँदैछ ।

सफलता चाहने व्यक्ति पनि भाले जुधाइमा जुध्न तयार भएको भालेजस्तै हो । हरेक दिन उसका लागि विजयको दिन हो, जसमा उसले लडाइँ जित्ने सम्भावना छ । यदि लगातारको कठिन लडाइँ लड्ने साहसका साथ कोसिस गरिरह्यो भने निश्चित रूपमा भाले जुधाइमा सफल घोषणा हुने भालेझैँ सफल हुनेछ । यदि मैदान छोडेर विजयको घोषणअगावै बाहिरियो भने त्यसले ‘भगौडा’को तिरस्कार पाउनेछ । विजयको पुरस्कार पाउन सक्नेछैन । त्यसैले लगातार लागिरहने सङ्कल्प सफलताका लागि तेस्रो महत्वपूर्ण सङ्कल्प हो । (ओकावा पृ १३८)

 सफलता चाहने व्यक्तिले असफलतामा फसेको, रुग्णता, अल्छ्याईँ र निराशामा फसेको मानिसको उदाहरणबाट होइन, सफलता, सङ्घर्ष र प्रयासका आधारमा सफल बनेका मानिसबाट सिक्ने आँट गर्नुपर्छ । सिकायत र रुवाइबाट होइन, हौसला र उत्साह भरिएको हृदय लिएर आफूलाई अघि बढाउने हिम्मत गर्नुपर्छ । 

सफलताको पुरस्कार यात्राको अन्त्यमा प्राप्त हुन्छ, तर त्यो यात्रा लक्ष्यबाट कति टाढा वा नजिक छ भन्नेचाहिँ हामीलाई पहिले नै थाहा हुँदैन । हुन सक्छ, त्यो तपाईँकै अगाडि पनि होला वा हजार माइल टाढा । जीवनले अघिल्लो मोड नलिएसम्म त्यो कसैलाई पनि थाहा हुँदैन, तर एउटा कुरा भने पक्का छ– हरेक कदमले तपाईँलाई सफलताको नजिक भने पु¥याइरहेको हुन्छ । 

प्रयास र प्रयत्न रूख ढाल्न प्रयुक्त बन्चरोको एक प्रहारजस्तै हो । हरेक प्रहारले कति काम ग¥यो भन्ने कुरा रूख नढलुन्जेल बन्चरो चलाउनेलाई थाहा हुँदैन । लगातार प्रहारको मात्रा पुगेपछि रूख अवश्य ढल्छ । बन्चरोको स–सानो प्रहारले नै रूख अन्तिम रूपमा धराशयी हुन्छ । निराशा र हारको भावना अनि लक्ष्यप्रतिको अविश्वासले निरन्तर प्रयासमा टिकिरहने लगनशीलतामा बाधा पु¥याउँछ । यी शब्दका बारेमा सोच्नु र त्यसमा आफूलाई केन्द्रित गर्नु भनेको मैदान छोडेर भाग्नुसरह नै हो । 

निराशा सफलताका लागि धमिराजस्तै हो । हरेक असफलताले सफलताको सम्भावनालाई नजिक तानिरहेकको हुन्छ । दिन आउनका लागि रातको अँध्यारो घना भएजस्तै हो, सफलता प्राप्त गर्नका लागि असफलता झेल्ने सामथ्र्य । एकपटक सफल हुनका लागि कैयाँैपटकको असफलताबाट आफूलाई खार्नैपर्छ । यदि असफलता बेहोर्ने सामथ्र्य विकास गर्न सकिएन भने सफलता कहिल्यै प्राप्त हुँदैन । 

प्रयत्न, प्रयत्न अनि फेरि प्रयत्न । लगातारको ठीक–ठीक प्रयास, प्रयत्न र अभ्यासबाटै मानिसले लक्ष्य हासिल गर्छ । एउटा ओलम्पिक खेलको सय मिटर दौडमा स्वर्णपदक जित्ने विजेतालाई सम्झनुहोस् वा म्याराथन धावकलाई सम्झनुहोस् । उसले एउटा स्वर्णपदक जित्ने केही सेकेन्डको खेलका लागि वर्षौँ अझ दशकौँ मिहिनेत गरेको हुन्छ, रौँ–रौँमा हिम्मत र जोस भरेर आफूलाई उत्कृष्ट सावित गर्ने प्रयास गरेको हुन्छ । कैयौँ स्वदेशी र विदेशी खेलका प्रतियोगितामा आफूलाई प्रतियोगी बनाएर जित्ने कला हासिल गरेको हुन्छ । 

कैयौँ आपतकालीन अवस्थामा समुद्रमा तैरन सिकेपछि मात्र एउटा नाविक कुशल नाविक बन्न सक्छ । त्यो कुसलता प्राप्त गर्नुअघि हरेक मुस्किलबाट आफूलाई पाको बनाएर खारेको हुन्छ । लगातार रूपमा कठिनाइको सामना गर्ने तरिका सिकेर आफूलाई ‘एकपटक, अझ एकपटक, अनि अझै एकपटक’ गर्दै कदम–कदममा सफलताका सूत्रहरू सिकेको हुन्छ । काम गर्ने तरिका दमदार नभएका कारण, योजना अपूर्ण भएका कारण, त्यस कामका लागि आवश्यक पर्ने ज्ञान, सीप र दक्षता कमी भएका कारण नै असफलता आउने हो । जुन दिन त्यस कामको निपुणता हासिल हुन्छ, त्यस दिन सफलता निश्चित रूपमा हात लाग्छ । 

चौथो सङ्कल्पः ‘म भूतलाई बिर्सेर नयाँ सङ्कल्प लिन्छु र अन्तिम सास रहुन्जेल र आफ्नो शरीरमा एक थोपा रगत रहुन्जेल मैदान छोड्नेछैन’ 

सफल हुनेहरुका लागि अर्को उत्कृष्ट सङ्कल्प हो यो । जुन योद्धा निरन्तर युद्ध मैदानमा लड्छ, वास्तवमा त्यही योद्धा हो, लडाईँमा विजयी हुने । सफलताको महान् रहस्य पनि यही हो । 


साँच्चिकै गतिलो सपना देख्न थालियो वा देख्न सकियो र त्यसलाई सङ्कल्पसँग जोड्न सकियो भने असम्भव भन्ने कुरा केही पनि हुँदैन । सपना र सङ्कल्पका अगाडि भुभाग, कुल, घराना, डिग्री सबै फिक्का हुन्छन् । आजको विश्वमा को व्यक्ति कुन देशमा जन्मिएको होरु कुन परिवारमा जन्मिएको हो ? वा कुन विश्वविद्यालयमा अध्ययन गरेको हो भन्ने कुराले खासै अर्थ राख्दैन । सफलताको एकाधिकार कुन विश्वविद्यालयमा पढेको हो वा कुन डिग्री हासिल गरेको हो भन्नेसँग गाँसिएको हुँदैन । तपाईं के सपना देख्दै हुनुहुन्छ र त्यो सपनालाई विपनामा बदल्न कस्तो संकल्प लिनुहुन्छ भन्ने कुरा चाहिँ अहं महङ्खवको हुन्छ । हामी सबैले विल गेट्स र स्टिभ जब्सको जीवनी पढेका छौँ, जसले विश्वविद्यालयको औपचारिक शिक्षा पूरा गरेनन् र पनि विश्वका सर्वाधिक सिर्जनशील सोचका उद्यमीका रूपमा पहिलो पंक्तिमा नाम लेखाए । उनीहरूको सपना र त्यसलाई कार्यान्वयन गर्ने दृढताका अगाडि दुनियाँ नतमस्तक छ । 

चिनियाँ नागरिक ज्याक मा, चीनको झेइज्याङ प्रान्तको हाङजोउमा सामान्य परिवारमा जन्मिएका थिए । उनका बाबुआमा परम्परागत कथा सुनाउने र बाजा बजाउने पेसामा थिए । ३३ वर्षको उमेरसम्म ज्याक माले कम्प्युटर देखेका थिएनन् । तर आज तिनै ज्याक मा इन्टरनेट बिजनेसका वादशाह अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष छन् र चीनको दोस्रो धनाढ्य । 

सन् १९९९ मा ज्याकले साथीहरूसँग मागेर ६० हजार डलर जम्मा गरेर अलिबाबा स्थापना गरे । इन्टरनेट मार्फत् व्यवसायलाई कसरी एकैद्वारबाट संसारभर फैलाउन सकिएला भनेर अनेक कुरा सोचे । अन्तमा एउटा यस्तो वेभसाइटको परिकल्पना गरे जसमा किन्ने र बेच्ने दुवै संलग्न भएर आफ्नो सामान बेच्ने र आफूले चाहेको सामान किन्ने गर्न सकुन् । ३३ वर्षमा कम्प्युटर देख्ने व्यक्तिका लागि यो सामान्य कुरा थिएन । उनको सपना चानचुने थिएन । त्यसैले सपना पूरा गर्ने संकल्प पनि त्यत्तिकै दृढ हुनु आवश्यक थियो । उनी लगातार लागिरहे । त्यसैको परिणमस्वरुप आज उनी विश्वका सर्वाधिक चर्चित र सफल उद्यमी बनेका छन् । तपाईं सपना देख्नुस् र संकल्प लिनुस् । सफलता तपाईंको दास नबनी सुखै छैन ।   

तपाईं कति धनी परिवारमा जन्मिनुभयो, गरिब परिवारमा या कति कुलिन परिवारमा जन्मिनुभयो भन्ने कुराले भविष्य निर्धारण गर्दैन । तपाईंसँग कति सिर्जनशील सोच छ र त्यसलाई कार्यान्वयन गरेरै छोड्ने कति अटल विश्वास र धैर्य छ भन्ने कुराले नै तपाईंको भविष्य निर्धारण गर्छ । १५ वर्षअगाडि सन् २००० को फोब्र्स अर्बपतिको पहिलो १० जनाको सूचीमा कार्लोस स्लिम, अमानसियो ओर्टेगा, चाल्र्स कोच, डेभिड कोचहरूको नाम भेटिँदैन । तर सन् २०१५ मा आइपुग्दा उनीहरूले आफूलाई यो सूचीमा उभ्याएका छन् । त्यतिबेला यो सूची ओगट्नेहरू अहिले पछाडि पर्दै गएका छन् । नेपालमै हेरौं न, १५ वर्षअगाडि नेपालका प्रमुख औद्योगिक घराना भनेर चिनिनेहरू अहिले परिदृश्यमा पुगेका छन् भने नयाँ सोचका साथ व्यवसाय गर्नेहरू फ्रन्टलाइनमा । त्यसैले तपाईंको हजुरबुबा के हुनुहुन्थ्यो वा बुबा के गर्नुहुन्थ्यो भन्ने कुराले तपाईंको भविष्य निर्धारण गर्दैन । तपाईं आफ्नो सिर्जनाले मात्रै जीवनमा नयाँ रङ भर्न सक्नुहुन्छ । 

जबसम्म हामी आफूलाई बितेका कुराबाट अलग गर्न सक्दैनौँ हाम्रो प्रगतिका लागि त्यो तगारो बनिरहन्छ । पुर्खा, हैसियत, कुल, घराना, बिताएका रमाइला क्षण आदि यस्ता केही तगारा हुन् हाम्रो जीवनमा । पुर्खाको सम्पत्ती र हैसियतमा गर्व गरेर, म यस्तो कुलको हुँ भनेर त्यो धङ्धङी पालेर तपाईँको जीवन बदलिँदैन । जीवन बदल्न र सफल हुन निरन्तर रुपमा आफूलाई नयाँ सपनामा हिँडाउन र धैर्यसाथ लागिरहन तयार पार्नुपर्छ । जीवनको अन्तिम सास रहुन्जेल र अन्तिम थोपा रगत रहुन्जेल म निरन्तर लागिरहन्छु भन्ने सङ्कल्पले मानिसलाई जुनसुकै कुरामा सफल बनाउँछ ।  





अन्तर्विज्ञानसँग नजोडिएको आजको शिक्षा


यो महिनाको चर्चित दुइटा अपराधका घटनाले मलाई साह्रै मर्माहत बनाए । एउटा केटाले ट्युसन पढ्न जाँदै गरेका दुई जना केटीहरुलाई एसिड छ्याप्यो र सख्त घाइते बनायो, अर्को एउटा केटाले छ वर्षकी कलिली बच्चीलाई बलात्कार गरेर मरणासन्न बनाएर एकान्तमा छोडेर भाग्यो । उपचारका क्रममा बच्चीको मृत्यु 
भयो ।

यी दुवै घटनामा संलग्न अपराधीहरु पढेलेखेका, शिक्षित नै थिए । ती अपराधी अनपढ, सीधासादा मानिस थिएनन् । गाउँका पनि थिएनन् । ती दुवै केटाहरु सहरकै थिए । हामी शिक्षा, संचार, चेतना सबै दृष्टिले सहर र शिक्षितहरुलाई अगाडि देख्छौँ, ठान्छौँ । 

पढेलेखेका, शिक्षित, जान्नेबुझ्नेहरु नै किन समाजमा अनाचार, अपराध र भ्रष्टाचारका बाहक बन्दै गइरहेका छन् ? किन हाम्रा शिक्षितहरुले यस्ता कुरामा चासो दिए ? किन अपराध कर्म खराब हो भन्ने बुझेर पनि आफूलाई सम्हाल्न सकेनन् ? यी प्रश्नहरु पेचिला बन्दैछन् आजको समाजमा । शिक्षा क्षेत्रमा लागेकाहरुका लागि र सरकारका लागि पनि यो सोचनीय बिषय हो ।

देशलाई अधोगतितिर लैजाने भ्रष्टाचारमा संलग्न भएकाहरुको रेकर्ड पल्टाउने हो भने हावाले उडाउने पुल बनाउनेदेखि पीच गरेको दुई दिनमै उप्केर खाल्डाखुल्डी हुने गरी सडक बनाउने प्राविधिक हुन् वा बिरामीलाई अनावश्यक औषधि र अपरेशनको भारी लादेर अनुचित पैसा असुल्ने डाक्टरहरु हुन् सबै शिक्षित नै हुन् हाम्रो बुझाइमा, तर के उनीहरुले आफूले जानेको र बुझेको कुराको सदुपयोग गरे त ? आजको पुस्ता सूचना, संचार र प्रविधिले जति सम्पन्न हुँदै गएको छ नकारात्मकता, कुलत र दुव्र्यसनले पनि त्यतिकै घेरिँदै गएको छ । 

आखिर किन यस्ता काम गर्न उद्दत त शिक्षितहरु ?

जीवन र शिक्षाको सम्बन्ध

हरेक मानिस सजिलोस“ग बा“च्न चाहन्छ, सम्बन्ध विस्तार गर्न चाहन्छ । केही सिकेर आफनो बौद्धिक क्षमता बढाउन चाहन्छ अनि जीवनपर्यन्त अरmले सम्झने छाप छोडेर मर्न चाहन्छ । हाम्रो जीवन सामान्यतः यिनै चार आयामहरुको संयुक्त रुप हो । यी चार आयामहरु जीवनका आर्थिक, सामाजिक, बौद्धिक र आध्यात्मिक पक्षस“ग सम्बन्धित छन् । यिनले हाम्रा चार आवश्यकताहरु– ब“चाइ, सिकाइ, प्रेमपूर्ण सम्बन्ध र सार्थक योगदानस“ग सम्बन्ध राख्दछन् । यी चारवटै पक्षले हाम्रा चार क्षमता भौतिक, बौद्धिक, भावनात्मक र आध्यात्मिक क्षमता विकासमा सहयोग गर्दछन् । त्यसबाट अनुशासन, अन्तर्दृष्टि, भावनात्मक शक्ति र अन्तश्चेतना उजागर हुन्छन् । 

भौतिक र सामाजिक पक्ष जीवनका बाह्य पक्ष हुन् भने मानसिक र आध्यात्मिक पक्ष जीवनका आन्तरिक पक्ष हुन् । बाह्य रुपमा देखिने जीवनका विविध पक्षलाई ऊर्जा दिने, व्यवस्थित गर्ने, निर्देशित गर्ने, सञ्चालन गर्ने काम जीवनका यिनै आन्तरिक पक्षले गर्दछन् । आन्तरिक पक्ष जति परिष्कृत र उन्नत हुन्छ व्यक्ति त्यति नै उदार, शान्त, आनन्दित र प्रेममय हुन सक्छ । यसको अभावमा आवेग, तनाव र कुण्ठाले घर गर्दछ ।
वर्तमान शिक्षा चाहे हाम्रो देशको होओस् वा अमेरिका वा बेलायत वा अन्य कुनै देशको सम्पूर्ण रुपमा मानिसको वाह्य पक्ष (भौतिक पक्ष) लाई सुविधायुक्त र सुखी बनाउने कुरामा केन्द्रित छ । यसले कमाइ खानका लागि आवश्यक पर्ने बौद्धिक खुराक प्रदान गर्न अत्यधिक जोड दिन्छ, केही मात्रामा सीप दिन्छ र्र  भौतिक रुपले सुविधाजनक बनाउनका लागि त्यसको प्रयोग गर्न जोड दिन्छ । 

यसैको परिणामस्वरुप मानिसले भौतिक उन्नति, प्रविधिको विकास तीव्रगतिमा गरिरहेको पनि छ । तर मानिसको जीवन त्यतिले मात्रै समृद्ध हुँदैन भन्ने कुरालाई भने वर्तमान शिक्षाको समग्र प्रणालीले वेवास्ता गरेको छ । जीवनका वाह्य पक्षमा मात्र केन्द्रित भएर भौतिक सम्पन्नता हासिल गर्ने दौडमा आफूभित्रका भाव र भावनाको निरीक्षण गर्ने, आनन्दित र खुसी हुने कलाको ज्ञान आर्जन गर्ने अन्तर्विज्ञानको शिक्षा पूरै ओझेलमा परेको छ । परिणामतः शिक्षितहरुमा जीवनका आन्तरिक पक्षहरु जति उन्नत र विकसित हुनुपर्ने हो त्यति हुन सकेको छैन । तनाव, प्रतिशोध र इष्र्या आजका शिक्षितहरुमा अत्यधिक रुपले बढिरहेको छ । आन्तरिक चरित्र निर्माणभन्दा वाह्य व्यक्तित्वलाई जोड दिनाले मानिसमा हुनुपर्ने सहज मानवीय भावना हराउँदै गएको छ । 

‘विद्या ददाति विनय, विनय ददाति पात्रतात्, पात्रतात् धनमाप्नोति, धनात् धर्म तत् सुखम्’ भन्ने युगाँैदेखिको अनुभवलाई आजको शिक्षाले पूरै वेवास्ता गरेको छ । मानिसमा मानवीय भावना र जिम्मेवारीबोधको स्खलन भइरहेको छ । त्यसैले हाम्रा शिक्षितहरुले जीवनका दुवै पक्षलाई जोड्ने र एकाकार गर्ने कार्य गर्न सकेनन् । त्यसो गर्न नसकेपछि जीवनलाई उन्नत, सफल र आनन्दित बनाउन पनि सकेका छैनन् । माथि उल्ल्खिित चारवटै आयामहरु जीवनको सफलता र सन्तुष्टीका लागि उत्तिकै महत्वपूर्ण आयाम हुन् । यी सबै आयामहरुको पूर्ण सन्तुलनमा मात्र हाम्रो जीवन सन्तुलित रुपले चल्न सक्दछ । यसलाई सन्तुलनमा ल्याउने विज्ञान पनि छ । तर हाम्रो शिक्षामा त्यो विज्ञानलाई पटक्कै महत्व दिइएको छैन । त्यो विज्ञानको आवश्यकताबोध पनि आजका शिक्षितहरुमा विकास गर्न सकिएको छैन । फलतः जीवनका एक वा दुई पक्षको अपाङ्ग जीवन लिएर हिँड्न खोज्दा कुनै न कुनै रुपमा असन्तुलनको शिकार भएका छन् आजका शिक्षितहरु । 

यस्तो अवस्था किन आयो त ? 

अपूरो शिक्षा

शिक्षा ग्रहण गर्ने हाम्रो प्रमुख अंग हो हाम्रो मस्तिष्क । हाम्रा तीन मस्तिष्क छन् । तीनै मस्तिष्क मार्फत् हामी शिक्षा ग्रहण गर्दछौँ । हामीले सिकेका कुराहरु त्यहीँ रेकर्ड हुन्छन् । ती मध्ये देबे्र मस्तिष्क हो तर्क, बुद्धि, गणितको मस्तिष्क, दोस्रो हो दायाँ अर्थात् सिर्जना, कल्पना, उत्प्रेरणा, भावनाको मस्तिष्क । तेस्रो हो मेडुलाअब्लाङ्गटा अर्थात् चेतनासंग सम्बद्ध मस्तिष्क । हाम्रो शिक्षाले देब्रे मस्तिष्कबाट मात्रै शिक्षा ग्रहण गर्न हाम्रा नागरिकहरुलाई सक्षम बनायो जसलाई ग्रहण गर्न तर्क र सूचना भए पुग्छ । त्यसैले हाम्रा शिक्षितहरुको मूल उद्देश्य भयो सूचना संग्रह र त्यसबाट उत्प्रेरणा आयो – जागिर कसरी खाने, धन कसरी कमाउने, जीवीकोपार्जन कसरी गर्ने । जसरी पनि पैसा कमाउने, धनी हुने, प्रतिष्ठित हुने, ठूलो पद पाउने । त्यहाँभन्दा माथिल्ला कुराहरू हाम्रा शिक्षितहरुले जानेनन् । त्यहाँभन्दा माथिल्ला अन्य मानवीय कुराहरू सबै लोप भए । उच्चतम मानवीय भाव र भावनाको विकास गर्ने पद्धती शिक्षामा सामेल गरिएन ।

भनाइ र गराइको बेमेलका शिक्षकहरु

शिक्षा दिने जो व्यक्तिहरू छन्, तिनीहरूको आचरणमा द्वैधता देखिन्छ । यो द्वैधताले गर्दा विद्यार्थीहरु अन्यौलमा छन् । कक्षामा एक कुरा बताइन्छ, शिक्षकको चरित्र ठीक उल्टो देखिन्छ । कुन पत्याउने विद्यार्थीले ? भनेको कुरा पत्याउने कि गरेको ? अलमल हुन्छ । शिक्षकले कक्षामा पढाउँदा चुरोट खान हुँदैन, रक्सी खानु हुँदैन भनेर पढाउँछन् । विद्यार्थीहरू त्यसलाई पत्याइरहेकै हुन्छन् तर जब आफ्नै टोलमा बस्ने सरले कक्षाबाट बाहिर जानसाथ बाथरुमा गएर सट्ट चुरोट सल्काएर सुईंय, सुईंय गर्दै गरेको देख्छ । यो देखेर सानो विद्यार्थी अलमलिन्छ । भनेको कुरा ठीक कि यो देखेको ठीक ? यो व्यवहारबाट विद्यार्थीले बुझ्छ चुरोट खान हुँदैन भनेर पढाउने मात्रै रहेछ । यो खाएपछि ठूलो मान्छे भइन्छ । अनि सरको जस्तै बानी बनाउँछ । चुरोट खानथाल्छ । रक्सी खानु हुँदैन भनेर जो शिक्षकले पढाइरहेका हुन्छन् उनीहरु नै होटलमा बसेर बोतलभरि रक्सी लिएर तनतनी तानिरहेको देखेपछि फेरि विद्यार्थीले सोच्छ खानुपर्ने कुरा चाहिँ यही रहेछ तर भन्न चैँ नखानु है भन्नुपर्ने रहेछ ।   

अब कसरी सुधार ल्याउने ? 

व्यवहारबाट र आचरणबाट विद्यार्थीहरूले जति सिक्छन्, त्यति किताबमा लेखेको कुराबाट सिक्दैनन् । त्यसैले पढाउने शिक्षकको आचरण र व्यवहारले शिक्षामा ज्यादै धेरै महत्व राख्दछ । जुनकुरा अहिलेको समयमा अत्यन्तै दुषित अवस्थामा छ । अहिलेको शिक्षकको पनि रुपान्तरण हुनु आवश्यक छ । उनीहरूलाई शिक्षकबाट गुरु बन्नेतिर प्रेरित गर्न सकिएको छैन । यस्ता व्यक्तिलाई तालीम र साधनामा लगेर सक्षम बनाउन सकिन्छ । घरमा दिइने शिक्षालाई अभिभावकीय शिक्षा मार्फत् रुपान्तरण गर्नु आवश्यक छ । घर सुधार नगरी स्कूल मात्र सुधारेर शिक्षा अपांग हुन्छ । घर नै बच्चाको प्रथम विद्यालय हो त्यसमा कसैको ध्यान पुगेको छैन अहिले । अभिभावकहरु सुनका अण्डा दिने कुखुरी जस्ता मात्र छन् । त्यसलाई परिवर्तन गरेर अभिभावकलाई पनि रुपान्तरण गर्ने शिक्षा दिनु आवश्यक छ । घरमा, समाजमा प्रचलित सामाजिक–साँस्कृतिक शिक्षा र विद्यालय र कलेजमा दिइने सूचनामुलक शिक्षालाई मिलाएर, सुधार गरेर मानवीय शिक्षा बनाउन आवश्यक छ । 
  
हाम्रा तीनवटा मस्तिष्कहरू छन् । देब्रे मस्तिष्कले सूचना ग्रहण गर्ने र त्यसलाई तर्क र अनुभवसँग अबद्ध गरेर सुसूचित हुने काम गर्दछ भने दाहिने पट्टीको मस्तिष्कले चित्रात्मक रुपमा भावनालाई ग्रहण गर्ने, मानवीय संवेदना विकास गर्ने, भावनात्मक रुपमा संवेदनशील बनाउने, आफूभित्र भइरहेका उतारचढाव निरीक्षण गर्ने सूक्ष्मतम क्षमता विकास गर्ने र व्यक्तिलाई सिर्जनात्मकतातिर प्रेरित गर्ने काम गर्दछ । मस्तिष्कको त्यो भाग विकसित गर्ने शिक्षा अहिलेको शिक्षाले दिँदैन । हाम्रो विद्यमान शिक्षाले बाह्य गतिविधिबाट सूचना ग्रहण गर्ने र तर्क र अनुभवमा आधारित काम गर्न आवश्यक पर्ने सूचनाको भारी त हामीलाई बोकाएको छ तर सिर्जनात्मकता, भावना र अन्तर्निरीक्षणबाट आफूभित्र नियाल्ने कला भने प्रदान गर्न सकेको छैन ।  दायाँ मस्तिष्कको उत्खनन गर्ने, त्यसलाई प्रयोग गर्ने कला सिकाउन नसकेकाले हाम्रा शिक्षितहरु बौद्धिक त भए तर अन्तर्विज्ञानको कला नजान्नाले आफूलाई विवेकी, शीलवान्, सिर्जनात्मक, सदाचारी र भावनात्मक रुपमा समृद्ध बनाउन भने सकेनन् । 

परिणामतः शिक्षितहरु जानकार भए शिक्षित हुन सकेनन् । प्रमाणपत्रधारी त भए तर योग्य हुन सकेनन् । विवेक, प्रज्ञा र शिलजस्ता कुराहरु भुल्दै गए । जति बढी शिक्षित त्यति बढी अहंकारी, दुराचारी र अनाचारी पनि हुँदै गए । आफू र आफ्नो भावनालाई निरीक्षण गर्ने त्यस आँखाबाट संसार, समाज र व्यक्तिलाई नियाल्ने कला नजान्नाले कुलत, कुसंस्कार र अनाचारबाट जोगिने आत्मबल सिर्जना गर्न सकेनन् । शिक्षित भएपछि समाजका लागि उपयोगी र उदारणीय बनेर बाटो देखाउने कुरामा शिक्षितहरु नै पछि परे । असन्तुलन, असन्तुष्टी र अपूर्णता रहिरह्यो उनीहरुमा ।  

अबको शिक्षाले अवचेतनको रुपमा रहेको मानिसको दायाँ मस्तिष्कलाई प्रशिक्षित गर्ने शिक्षा समावेश गर्नु जरुरी छ । यसो हुनसक्यो भने व्यक्तिभित्र रहेको कल्पना, भावना, सिर्जनात्मकता, मानवीयपन बढ्नेछ । यतिले मात्रै पनि केही सुधार हुनेछ तर पनि पूर्णता भने हुने छैन । त्यसपछि विशुद्ध आध्यात्मिकताको शिक्षा आवश्यक पर्नेछ जसका माध्यमबाट शिक्षितहरुले आफ्नो अथाह क्षमतालाई उत्खनन गर्न सक्नेछन् । यस्तो शिक्षा योग र ध्यानका विभिन्न विधिहरुमार्फत् दिन सकिन्छ । त्यसका लागि उसले कुनै वाद, धर्म वा सम्प्रदायमा बाँधिनु पर्ने छैन । विशुद्ध मानवीय चेतनाको यात्रामा लाग्ने तत्परता भए पुग्छ । यसो हुन सक्यो भने बल्ल हामी पूर्ण शिक्षित मानिस तयार गर्न सक्नेछौँ । त्यसरी शिक्षित गरिएको व्यक्तिले हिंसा, हत्या त्याग्नेछ, भ्रष्टाचार गर्न डराउनेछ र शिक्षित हुनुको सुगन्ध दिन सक्नेछ । 

Monday, May 18, 2015

भत्केका बस्ती पुनर्जिवित गर्ने र घर बनाउने सम्बन्धमा

अलि ठण्डा दिमागले सोचौँ । भावनामा आएर काम बन्दैन । अहिले घर निर्माणको बहस चलिरहेको छ । कस्ताकस्ता घर बनाउने भनेर सहयोगी, स्वयंसेवक र सुरक्ष संयन्त्रहरु पनि गाउँमा परिचालित छन् । यति र उति घर बनाइदिने भनेर सामाजिक सञ्जालमा आइरहेका छन् । तर अहिले बनाउने घर होइन आश्रयस्थल हो जहाँ मानिसहरु तत्काल टाउँको लुकाउन सकुन् । 

घर भन्नासाथ मानिसले आफ्नो संस्कार, संस्कृति र आर्थिक गतिविधिको अनुकूलता र प्रतिकूलतासँग गाँसेर हेर्छ । छरछिमेक, परम्परा र संस्कार पनि विचार गर्छ । अहिलेको अवस्थामा सामान्य रुपमा घामपानीबाट बच्ने छाप्रो बनाउन सकिन्छ । स्थानीस्तरमा पाइने सरसामानहरु प्रयोग गरेर अस्थायी आश्रयस्थलहरु बनाउने अभियान चलिरहेको छ । यो ज्यादै सह्राहनीय पनि छ । तर यससँगै हामीले अहिले सोच्नुपर्ने केही कुराहरु छन् बुँदागत रुपमा केही उल्लेख गर्न चाहन्छुः

१. हाम्रो भुगोल र बस्तकिा बारेमा यसअघि कुरा उठाउने दुईजना व्यक्ति भए राज्ययन्त्रमा– राजा महेन्छ्र र हर्क गुरुङ । कर्णाली अञ्चलका बस्तीहरु एकीकृत गर्ने र सघन बस्ती बसाउने कुरा ०२७ सालतिर चल्यो । तर त्यसलाई हाम्रो भूमिसम्बन्धी ऐन र प्रचलन अनि सामाजिक संस्कारका कारण कार्यान्वयनमा ल्याउन कठिन भयो । राज्यले आँट गर्न सकेन । 

२. हाम्रो देशमा सार्वजनिक हितका लागि राज्यले जमिन उपयोग गर्न सजिलो हुने गरीभन्दा व्यक्तिले जमिनमाथि आधिपत्य कायम गरेर राज्यलाई निरिह बनाउने गरी कानून बन्यो । सरकारले उपयोग गर्न पनि अनेक झमेला व्यहोर्नुपर्ने भयो । सार्वजनिक हितमा जमिन प्रयोग गर्न अति कठिन छ । व्यवहारिक कानुन बनेन । जमिनमा आधिपत्य व्यक्तिको भयो र राज्य निरिह भयो । सार्वजनिक हितका लागि जमिनको कारण नै धेरै आयोजनाहरु अलपत्र परिरहेका छन् । विद्युत, सिँचाइ, सडकका लागि जमिनको उपयोग र मुआब्जाको प्रश्न सधैँ बाधक भएर गएको छ । त्यसलाई संशोधन गरेर राज्यको हात माथि पार्न सकिएन भने अबको पुनःनिर्माण अझ पेचिलो बन्नेछ । पेचिलो मात्र होइन असम्भव नै हुनेछ । 

३. कहाँ बस्ती बसाउनुहुन्छ, कहाँ बस्ती बसाउनु हुँदैन अनि सरकारले बस्ती बसाउन मिल्ने र नमिल्ने ठाउँ छुट्याउन कहिल्यै अध्ययन गराउने काम भएन । मानिसहरु जहाँ मन लाग्छ त्यहाँ फँडानी गर्ने, घर बनाउने र बस्ने गर्दै गए । बस्ती अत्यन्त अव्यवस्थित र विकास पुर्याउनै नसकिने ठाउँमा बस्न पुगे । भिरालो ठाउँ र विकट ठाउँका बस्ती अहिले मुख्य समस्या बने उद्धार र राहत कार्यमा । 

४. मानिस बस्नुभन्दा त्यसलाई खेती, पशुपालन, जडिबुटी खेतीजस्ता कार्यमा लगाउँदा देशको अर्थव्यवस्थामा ठूलो टेवा पुग्ने पहाडी भुभागमा कसरी व्यवस्थापन गर्ने भन्ने सोचाइको अभावका कारण अहिलेको अवस्था अझ पेचिलो बन्दै गयो विपद्को बेलामा । ज्यादै भिरालो ठाउँमा र अनकन्टर ठाउँमा बस्ती बस्नाले त्यस्ता ठाउँमा सडक, खानेपानी लगायतका सुविधा पुर्याउन जहिले पनि कठिनाइ भयो । त्यसैले निश्चित भिरालोपनभन्दा बढी भिरालो ठाउँमा बस्ती बसाउन रोक्न आवश्यक थियो त्यसले वातावरण पनि संरक्षण हुन्थ्यो बस्ती पनि सुविधाजनक हुन्थे । 

५. जंगल र जमिनलाई प्रमुख स्थान दिएर राजनीतिक पार्टीहरुले सधैँ राजनीति गरे । भूमिको व्यवस्थित प्रयोग र वैकल्पिक प्रयोग हुँदा के फाइदा हुन्छ भनेर कसैले सुोच्ने काम भएन । जबजब राजनीतिक संक्रमण आयो तबतब हाम्रा वनजंगल फँडानी तीव्रभयो र वातावरणको ख्यालै नगरी बस्तीहरु बसे । अहिले त्यही समस्या भएर आएको छ ।

अब के गर्ने ?
भुकम्पपछि देशमा भयावह अवस्था सिर्जना भएको छ । मानिसहरु पाल पनि नपाएर खुल्ला आकासमा रातदिन बिताइरहेको अवस्था छ । यस्तो अवस्थामा छाप्रो भए पनि बस्न मिल्ने आश्रयस्थल बनाउने काम स्वयं घरध्वस्त भएकाहरु पनि लागेका छन् भने राजनीीतक पार्टी र राज्य पनि लागेको छ । यो तात्कालीक कुरा भयो । तर सँगसँगै अहिले बनाउने आश्रयस्थलहरु पनि पानी पर्न थालेपछि बगेर कहाँ पुग्नेहुन् भन्ने भयावह अवस्था पनि छ । जमिन फाटेर धाँजा परेका छन् । लगातारको कम्पनले सुख्खा पहिरो गएको छ । त्यसले जमिन थिलथिलो भएको संकेत गर्छ । त्यसैमा संरचना बनाउँदा ढुक्कले बस्ने अवस्था आउँदैन । अहिले संसारभरबाट विशेषज्ञहरु अध्ययनका लागि आएका छन् । उनीहरुले प्रतिवेदन दिनेछन् । आशा गरौँ यसपटकका तिनीहरुका प्रतिवेदन हाम्रा अधिकारवाला निकायमा मानिसहरुले पढ्ने छन् र के गर्न सकिन्छ भनेर योजनामा लैजाने छन् । 

यसपटकको भुइचालोको शिक्षा र संसारभरका अनुभव हेरेर बस्तीको पुनःसंरचना गरिनु आवश्यक छ । प्रभावित जिल्लाको अध्ययनका आधारमा हिमाली, पहाडी र तराइको भुउपयोगको ढाँचा पुनव्र्यवस्थित गर्नु आवश्यक छ । यो कठिन छ तर असम्भव छैन । बस्ती बसाउँदा जमिनको ढाल, त्यसको भौगर्भिक संरचना र सरकारी सुविधा पुर्याउन सकिने संभावनालाई हेरेर पुनःसंरचना गरौँ । बढी भिरालो भागमा फलफुल, जडिबुटी र उपयोगी जंगल विकासमा ध्यान दिऊँ । सम्भाव्य विद्युत उत्पादन केन्द्र र ड्यामहरु बनाउनुपर्ने ठाउँहरु आँकलन गरेर बस्तीलाई पुव्र्यवस्थित गरौँ । 

उद्योग, कलकारखानाको लागि आवश्यक जमिन छुट्याएर त्यसका लागि पनि योजना बनाउँ । एउटा योजना बनाउँदा अर्को नहेर्ने हाम्रो बानी त्यग्न सकेनौँ भने जतिसुकै लहडी कुरा गरेपनि देश बन्दोरहेनछ । देश बनाउन संकल्प र दूरदृष्टि अनि एकीकृत योजना चाहिन्छ । एकीकृत योजना र दरिलो नेतृत्वको अभावमा कुनै पनि देश बनेको छैन । 

अध्ययन अनुसन्धानबाट जोखिम नदेखिएका ठाउँमा बस्तीको लागि आवश्यक जमिन खाली गरेर मात्र स्थायी बस्तीको लागि सरकारले दिने सुविधा वा राहत दिऊँ । जथाभावी घर बनाउनका लागि अहिले घोषण भएको राहत रकम जनतालाई नबाँडौँ । फेरि पनि अर्को विपत्ती नआओस् भनेर अहिले पनि नसोच्ने हो भने सोच्ने र गर्ने बेला कहिल्यै आउने छैन । 

गाउँमा घरहरु बनाउँदा संसारमा अति नै सर्व सुलभ प्रविधिहरु उपलब्ध छन् । थोरै मात्र वाह्य प्रविधि र सरसामानको प्रयोग गरेर गाउँको काँचुली फेर्न सकिन्छ । त्यसको लागि तलका मेशीन र संरचाना म यहाँ प्रस्तुत गर्दछु । स्कूलहरु, सार्वजनिक संरचनाहरु(गा.वि.स., हेल्थपोष्ट, सैनिकहरु र प्रहरीहरुका क्याम्प आदि) बनाउन भारत, थाइल्याण्ड र अफ्रिकी मुलुकहरुमा यस्तो संरचना विपद्पछि निकै धेरै प्रयोग गरियो र त्यो रुचिकर पनि छ । प्रविधि मानिसको रुचि र व्यवहारिक कुरालाई ध्यान दिएर डिजाइन गरिएको छ । 

शहरमा एक तले घर बनाउँदा करिब रु. ५०० प्रति वर्गफिटसम्ममा बनाउन सकिन्छ भने गाउँमा त्यो भन्दा अझ सस्तो हुनसक्छ । स्थानीय सरसामानको प्रयोग गरी अझ कम लागतमा बनाउन सकिएला । संरचनाको आकार अनुसार लागतमा पनि तलमाथि हुनसक्छ । सुरक्षाका दृष्टिले र वातावरणीय दृष्टिले पनि यो प्रविधि हाम्रो देशको लागि उपयोगी हुनेछ । 















Sunday, May 10, 2015

राहत र पुनर्निर्माणका लागि तत्काल यी काम गरौँ

दलहरुबीच भुकम्पबाट तहसनहस भएको देशलाई कसरी राहत दिने भन्ने सहमति त भएको छ तर त्यसको खाका बनाउन र काम गर्ने तत्परता चाहिँ देखिएको छैन । नेताहरु भावनात्मक भाषण र लेखमा दिन बिताउँदै छन् । नयाँ सोचमा काम गर्ने प्रतिबद्धता त देखाएका छन् तर त्यसलाई कार्य
रुप दिने आँट र तत्परता देखाउन सकेका छैनन् । सरकारको आलोचना गर्नमै समय बिताइरहेका छन् । त्यसैले तत्काल गर्न सकिने केही कुराहरु यहाँ प्रस्तुत गर्न चाहन्छुः
  •  तत्काल एकजना शीर्ष नेताको संयोजकत्वमा सबै दलको सहमति निर्माण गरी राष्ट्रिय स्वयंसेवक अभियानको सुरुआत गर्ने । सरकारी निकाय र पार्टीका स्थानीय संयन्त्र मार्फत् यसका लागि तत्काल आह्वान गर्ने ।
  •  सिकर्मी, डकर्मी र साधारण श्रमिक गरी तीनथरि मानिस आवश्यक छन् तत्काल पुनर्निर्माणको लागि । सबै पार्टीले आफ्ना कार्यकर्तालाई कम्तिमा दुईहप्ताको स्वयंसेवा गर्न अनुरोध गरी सार्वजनिक आह्वान गर्ने ।
  •  विपद्मा परेका १४ जिल्ला र त्योसँग जोडिएका जिल्लालाई त्यसमा प्राथमिकता दिने ।
  • स्वयंसेवीहरुलाई दुई डकर्मी, दुई सिकर्मी र अरु साधारण श्रम गर्ने १० जनाको समूह बनाई गाउँमा परिचालन गर्ने ।
  • एउटा समूहले एक दिनमा स्थानीय साधनको प्रयोग गरी कम्तिमा एउटा टहरा बनाउन सक्छ । दुईहप्ता काम गरे भने त्यस समूहले कम्तिमा १५ देखि २० ओटा टहरा पुनः निर्माण गर्न सक्छन् । अहिले जे जस्तो र जहाँ छ त्यहीँ पुनर्निर्माण गरौँ । पछि सरकारी योजना बनेछ भने सोही अनुसार गर्ने गरी तात्कालीक व्यवस्थापना यसरी गर्न सकिन्छ ।
  •  एउटा समूहले २० ओटा टहरा बनाए भने कम्तिमा ६ लाख घर बनाउन ३०००० स्वम्सेवक टोली तत्काल आवश्यक पर्छ । त्यो समूह १० जनाको हुने हो भने तीन लाख मानिस आवश्यक हुन्छन् । सबै पार्टीले आह्वान गर्ने हो भने क्षति नभएका बाँकी ६१ जिल्लाबाट यति जनशक्ति जुटाउन कुनै गाह्रो छैन । गर्न चाहने हो भने सबै पार्टीहरु मिलेर तत्काल गर्न सकिन्छ । सुरक्षाकर्मीहरु त्यसमा थप सहयोगी हुन सक्छन् ।
  •  विदेशमा काम गरिरहेका यस्ता सिपालु डकर्मी र सिकर्मी छन् भने आऊ भनेर आह्वान गरौँ । यो देश बनाउने र सबै लाग्ने बेला हो समय खेर फालेर सरकार बदल्ने र भाषण गर्ने बेला होइन ।
  •  सबै नेताहरुले भावनामा ल्याएर आफू प्रधानमन्त्री बन्ने सपना देख्न थालिसके । साँच्चिै गर्ने हो भने सबै राजनीतिक दलहरुलाई एकएक जिल्ला जिम्मा दिएर एकजना बरिष्ठ नेताको मातहतमा यो परिचालनको काम गर्न सकिन्छ । त्रिपाल र खाद्यान्नको हाहाकार पनि यसले व्यवस्थित गर्न सक्नेछ ।
  • ६ लाख घर बनाएर जनताको मुहार फेर्ने सामथ्र्य अहिलेको सरकारसँग छैन । सबै शक्ति लगाएर काम गर्दा पनि वर्षमा एकलाख भन्दा बढी घर बनाउन सक्ने सामथ्र्य कुनै हालतमा छैन । सामग्रीको अभाव त्यतिकै टड्कारो छ । भुकम्प प्रतिरोधी घर बनाउने भनिए पनि न हामीसँग त्यसको उपयुक्त प्रविधि छ न भुगोलको आँकडा र योजना । हावादारी कुरा गरेर निर्माणको काम हुँदैन । नीति बनाउनमै ६ महिना बित्ला । त्यसपछि सामान छैन । निर्माण सामग्रीको भरपर्दो आपुर्ति अर्को समस्या छँदैछ । माँग बढ्नासाथ कार्टेलिङ गरेर भाउ बढाउन तम्सिने कमिशनखोर र बेइमानी हाम्रो संस्कारै बनिसकेको छ । त्यसलाई रोक्न सक्ने सामथ्र्य राज्यसँग छैन । गर्नुपर्छ भन्नासाथ त्यो बनिहाल्ने अवस्था पनि छैन । त्यो शक्ति आर्जन गर्नका लागि धेरै समय लाग्छ ।
  •  निर्णय प्रकृया पारदर्शी र हिम्मतिलो बनाउन अझ कठिन छ । कागजमा खेल्ने र टाउको पन्छाउने कर्मचारी मनोवृत्तिमा आश्चर्यजनक सुधारको अपेक्षा गरिहाल्न सकिने अवस्था छैन ।
  •  त्यसैले साँच्चिकै देश निर्माणमा लाग्ने हो भने एउटाएउटा जिल्ला एउटाएउटा पार्टीलाई दिएर तत्काल स्हयोगी हातहरु खोजी गरी स्वयंसेवामा जनातालाई परिचालनको योजना बनाऊँ । यो बाहेक अर्को विकल्पले हामी जनतालाई राहत पुर्याउृन सक्दैनौँ । यसबाट कुन पार्टीले जनतासँग मिलेर के काम गर्न सक्छ भन्ने पनि देखिनेछ । उनीहरुले आफ्नो सामथ्र्य बुझ्ने मौका पाउनेछन् । 

Wednesday, April 1, 2015

अवसर खोज्ने होइन चिन्न सिकौँ

‘हाम्रो देशमा अवसर छैन, अवसर नभएपछि पलायन अनिवार्य छ । त्यसैले विदेश जानेको लर्को यति ठूलो छ’, प्रायःजसो मानिसहरूले यही भनेको सुनिन्छ । यही भनाइ सुन्दा–सुन्दा हामीलाई पनि लागेको हुन सक्छ, वास्तवमा अवसर नै छैन, त्यसैले मानिसहरू विदेश जा
न तँछाडमछाड गरेर लागिरहेका छन् । यसो भन्ने र यस्तो बुझ्ने दुवै थरीलाई म फेरि एक पटक ‘परिवर्तनकारी जीवनदृष्टि’ पुस्तकको तेस्रो अध्यायमा उल्लिखित अदुवा र अम्रिसो लगाउने किसानहरूको कथा पढ्न आग्रह गर्छु । र, बजारमा सेल्सम्यान, एकाउन्टेन्ट, अफिस असिसटेन्टको विज्ञापनमा ध्यान दिन अनुरोध गर्छु ।

हाम्रो देशमा प्रमाणपत्रधारीहरू धेरै भए पनि साँच्चै काम पाउँदा सक्षमताका साथ काम गर्न सक्ने सीप र भावना भएका जनशक्तिको अभाव छ । श्रम बजारमा आउनेभन्दा बढी जनशक्ति विद्यार्थी र कामदारका रूपमा विदेसिएका देखिन्छन् । के अवसर नभएरै हो यसो भएको ? के हमीले साँच्चै यहाँभन्दा बढी कमाइ हुने राम्रा काम पाइरहेका छौँ, विदेशमा ? के यहाँको भन्दा राम्रो शिक्षाका लागि विदेसिएका हुन् विद्यार्थीहरू ? गहिरो गरी सोच्ने हो भने यसको उत्तर सकारात्मक पाउन मुस्किलै होला । एकदुईले पाएका राम्रा अवसर अपवाद हुन्, तिनलाई सामान्यीकरण गरेर हेर्न मिल्दैन ।

विदेसिएको जनशक्तिले कमाएर ल्याएको पैसा घरायसी उपभोगमा खर्च भएको छ । उत्पादनशील क्षेत्रमा २÷४ प्रतिशतभन्दा बढी गएको छैन । घर धान्न सक्ने र घरायसी खर्च चलाउने कमाइका लागि मात्र युवाहरू विदेसिने अनि बुढेसकालमा काम गर्न नसक्ने भएपछि फर्केर आएर घरमा बस्ने भयावह अवस्थातिर देशको भविष्य धकेलिइरहेको छ । त्यसैले आउनुहोस्, यसपटक अलि भिन्न कोणबाट हाम्रो देशभित्र उपलब्ध अवसरहरूबारे चर्चा गरौँ ।

सीपयुक्त जनशक्तिको माग देशभित्रै छ
जो कामदारसँग सीप छ उसले महिनाको २०÷२५ हजार कमाउन कुनै गाह्रो छैन । उदाहरणका लागि सिकर्मी वा डकर्मीलाई लिऊँ । देशभित्र परिवारसँग बसेर उसले १० बजेदेखि ५ बजेसम्म काम गर्दा रु. ७००–८०० प्रतिदिन ज्याला पाउँछ । कामप्रति इमानदार हुने, काम नठग्ने र उत्साही कामदार छ भने जहाँसुकै उसको माग छ । निर्माण व्यवसायको क्षेत्रमा मानिस नभएर देशको विकास निर्माण नै ठप्प हुने अवस्थामा पुगेको छ । विदेशमा जाने सामान्य कामदारले महिनाको १५–२० हजार कमाउन पनि मुस्किल छ, फेरि सुरुमा लाखौँ रूपैयाँ ऋण काढेर म्यानपावर कम्पनीलाई र दलालहरूलाई बुझाएको हिसाब गर्ने हो भने त्यसभन्दा बढी नै कमाइ त देशभित्रै गर्न सकिन्छ ।

उत्पादनका अवसर बग्रेल्ती छन्
मैले अघिल्ला अनुच्छेदमा जागिर खोज्नेहरूका लागि अवसर भएका क्षेत्रको चर्चा गरेँ । उत्पादकहरूको पनि केही क्षेत्रको चर्चा गरियो । यसलाई अझ गहिरोगरी विश्लेषण गरौँ । संसारभर खाद्यवस्तुको र उपभोग्य सामानको भाउ आकासिँदो छ । यो आकासिँदो महँगी उत्पादकका लागि, कृषकका लागि अवसर हो ।
मेरा एक जना मित्र छन् टमाटर खेती गर्ने । राजविराजमा छँदाखाँदाको प्रेस बेचेर काठमाडौँ छिरे । सामान्य परिवारका मान्छे । उनले काठमाडौँमा सामान्य प्रेस चलाएर प्रतिस्पर्धा गर्न सकिने देखेनन् । विकल्प खोज्ने क्रममा काठमाडौँभित्र टमाटर र बेमौसमी तरकारी खेती गरेर राम्रो कमाइ गरिरहेका मानिससँग भेट भएछ । उनीसँग परम्परागत खेतीमा ज्ञान र सीप भए पनि बेमौसमी तरकारी खेती र टमाटर खेतीबारे गहिरो ज्ञान थिएन । सिक्नका लागि एक जना विशेषज्ञको फार्ममा एक सिजन काम गरे । अर्को सिजन लाग्दा उनी टमाटर र बेमौसमी तरकारी खेतीका अनुभवी कृषक बने । हरित गृह खेती गर्नका लागि आवश्यक प्रविधि पनि त्यहीँ सिके ।

खेती गर्नका लागि जमिन चाहियो, त्यो भाडामा लिए । एक्लै नसकिने हो कि भनेर अर्को एक जना साथीसँग सहकार्य गर्ने निर्णय गरे । ५ रोपनी जग्गामा ५ लाख जति लगानी गरेर खेती सुरु गरे । एक बालीमा सम्पूर्ण खर्च उठ्यो । टनेल अझै ३÷४ बालीका लागि काम लाग्ने छँदै छ । बालीपिच्छे एक सिजनमा ६ लाख जति आम्दानी हुन्छ । त्यसमा करिब ३ लाख खर्च हुन्छ, ३ लाख त खुद आम्दानी हुन्छ । एउटा अरबी वा मलेसियन लाहुरले पनि त्योभन्दा बढी कमाउने सम्भावना छैन । त्यहाँ पनि दिनको ८ देखि १० घण्टा काम गर्नैपर्छ । टनेल खेतीमा वर्षको ३ महिना मात्र त्यति धेरै काम गर्नुपर्छ, अरू बेला २–३ घण्टा मात्र काम गरे पुग्छ । यस्ता अनेक अवसर छन् आफ्नै देशमा तर तिनलाई हामीले अवसरको उपयोग गर्ने दृष्टि विकास गर्न सकेका छैनौँ ।
बाख्रा पालन निकै राम्रो आम्दानी दिने व्यवसाय बन्दै छ । गाई पालेर त्यसबाट उत्पादित वस्तुहरू दूध, गहुँत, गोबर बेचेर आम्दानी गर्ने सम्भावना जताततै छ । फलफूल खेती गरेर आम्दानी गर्न सकिने सम्भावनाहरू त्यस्तै छन् । जहाँसुकै जग्गा बाँझै देखिन थालिसक्यो । यातायातको सुविधा बढिरहेको छ । उपयुक्त ठाउँमा राम्रो कृषिफर्म खोलेर विकासको अवसर लिन सकिने सम्भावनाहरू त्यत्तिकै छन् । आखिर श्रम नै गर्ने हो भने किन देशभित्रै स्वभिमानी भएर श्रम नगर्ने ?

केरा खेती, मेवा खेतीमा नवलपरासी, सुनसरी र मोरङ, तरकारी उत्पादनमा धादिङ, काभ्रे, बारा, सर्लाही, सुनसरी, धनकुटा, भुइँकटरमा सर्लाही, माछा पालनमा धनुषा, सप्तरी, नवलपरासी, कुखुरा पालनमा धादिङ, चितवन, भक्तपुर, काभ्रे बिस्तारै नाम कमाउँदै गएका छन् ।

दूध उत्पादनमा काभ्रे, चितवन, मोरङ, इलामले नाम कमाइरहेकै छन् । ती जिल्लाहरूमा पनि सीमित क्षेत्रमा ती उत्पादन भएका छन् । सिन्धुलीको जुनार खेती प्रसिद्ध छ । रामेछाप पनि त्यसमा अगाडि नै छ । यी जिल्लामा त्यसको विस्तारका सम्भावना पनि छन्, तर हामीले त्यसलाई निर्वाहमुखी रूपमा हेरेका छौँ । त्यसलाई उद्यमको रूपमा विकास गर्ने उद्यमशीलताको सीप, बजारीकरणको सीप अनि गुणात्मक दृष्टिले उत्कृष्ट उत्पादन गर्न सकियो भने यसले नै हामीलाई अर्थिक रूपमा समृद्ध, राष्ट्रिय रूपमा स्वाभिमानी र अन्तर्राष्ट्रिय रूपमा सम्मानजनक स्थानमा पु¥याउँछ । यो काम गर्न र त्यसबाट उत्पादन गरेर आर्थिक आर्जन गर्न देशको अवस्थाले कसैलाई रोक्दैन ।

यी क्षेत्रका अतिरिक्त हामीसँग प्रकृतिक वनजङ्गल पनि छन्, आर्थिक रूपमा रोजगारी बढाउने । महाभारत पर्वत श्रृङ्खलाको पूर्वदेखि पश्चिमसम्म फलफूल खेतीको प्रचुर सम्भावना छ । वनजङ्गल विनाश पनि नहुने, मानिसले आर्थिक लाभ पनि लिन सक्ने थुप्रै सम्भावनाहरू छन् । चीन, जापान, नर्बे, डेनमार्क, फिनल्यान्ड, स्विटजरल्यान्ड, न्युजिल्यान्ड जस्ता देशहरूले पहाडी भूभागलाई ठूलो आर्थिक स्रोतको रूपमा उपयोग गर्न सकेका छन् । प्राकृतिक स्रोतको विनाश नगरी त्यसबाट उत्पादन लिनका लागि सामुदायिक वनहरूका सम्भावना भएका ठाउँमा फलफूल खेती लगाउनु अति नै आवश्यक छ । उदाहरणका लागि माहाभारत शृङ्खलामा फल्ने ओखर, कटुस, लालीगुराँस, रुखकटहर, भुइँकटर, हलुवावेद, नास्पाती, आरुबखडा, आरु, जामुनो आदि लगाउन सकिन्छ । यी बिरुवाहरू लगाउँदा ठाउँ हेरेर र आर्थिक सम्भाव्यता हेरेर प्रयोगको योजना बनाएर काम गर्न सकिन्छ । महाभारतको उत्तरतर्फ किवी जस्तो मूल्य धेरै प्राप्त हुने फलफूल लगाउन सकिन्छ । अति कम मिहिनेत पर्ने खेती हो यो । एक पटक हुर्काएपछि कैयौँ वर्षसम्म यसबाट उत्पादन लिन सकिन्छ ।

परम्परागत विचारलाई छोडेर जीवन र जगत् बदल्ने शक्ति, जोस र जाँगर मसँग छ भनेर सोच्ने हो भने हामी अवसरै अवसर देख्न सक्छौँ । त्यसो गर्न सकिएन भने आफूसँग समस्यैसमस्या र अरुसँग अवसरैअवसर देख्छौँ । मसँग काम गर्ने क्षमता, शक्ति र जोस छ, यसबाटै म अघि बढ्छु भनेर कुनै एउटा सानो क्षेत्र छानेर काम गर्न थाल्ने हो भने हरेक मानिसले आफ्नै अगाडि अवसर नै अवसर देख्छ । अवसर देख्न थालेपछि समस्याहरू आफैँ भाग्छन् । परिस्थिति आफैँ अनुकूल बन्दै जान्छ । प्रसंशा, सम्मान र पुरस्कार पनि पछि लाग्दै आउँछन् । समृद्धि त्यसरी नै अगाडि स्वागत गर्न तयार हुन्छ ।  

योग्य व्यक्तिलाई रोजगारीका सम्भावना जहाँसुकै छन् 
अहिले बजारमा ज्ञान, सीप, क्षमता र भावनाको तालमेल मिलेका जनशक्तिको ज्यादै ठूलो अभाव छ । तुरुन्ता–तुरुन्तै फाइदा खोज्ने, तुरुन्तै प्रशस्त पैसा आर्जन हुनुपर्ने, आफ्नो क्षमता, दक्षता र सेवाभावको फिटिक्कै विकास नगर्ने, आफू सक्षम र सीपयुक्त हुन नखोज्ने मानिसहरूको भीड मात्र छ । त्यो भीड मानवस्रोतको रूपमा विकास हुन सकेको छैन । मानिस, मानवस्रोत हुनका लागि उसँग व्यवहारोपयोगी सीप र सेवाको अनुकूल भावना आवश्यक हुन्छ । इमानदार र कर्तव्यनिष्ठ भावना पनि त्यतिकै जरुरी छ । त्यसको खडेरीमा सैद्धान्तिक ज्ञान मात्रले मानिस मानवस्रोतका रूपमा प्रयोग हुन सक्तैन ।

अहिले नेपाली बजारमा कम्प्युटर राम्ररी चलाउन सक्ने, अङ्ग्रेजी र नेपाली भाषामा टाइप गर्ने, त्यसलाई उपयुक्त आकार प्रकारमा डिजाइन गरेर आकर्षक रिपोर्टको रूप दिन सक्ने सीप र कर्तव्यनिष्ठ भावना भएको मानिस कोही बेरोजगार हुँदैन । इन्टरनेटको वेभसाइट डिजाइन गर्न सक्ने व्यक्ति त्यसप्रतिको लगाव र निष्ठा छ भने राम्रो कमाइ गर्न समर्थ छ,  उसले केही समय काम सिकेर विदेशमा समेत राम्रो काम पाउन सक्छ । त्यस्तो जनशक्तिले घरमै बसेर काम गरेर पनि राम्रो कमाइ गर्न सक्छ ।

जनशक्ति माग भएको अर्को क्षेत्र हो लेखाको क्षेत्र । बजारमा लेखापालको काम गर्न सक्ने मध्यमस्तरको जनशक्तिको ठूलो माग छ । शैक्षिक योग्यता र अनुभवले आफ्नो काम स्वतन्त्रतापूर्वक गर्न सक्ने लेखापालको जहाँसुकै माग छ । बजारमा खोज्यो भने शैक्षिक योग्यता भएका व्यवस्थापनका स्नातक त पाउन सकिन्छ, तर कामको सीप र निष्ठाको साह्रै अभाव छ । सिक्ने चाहनाभन्दा बहाना बढी छ । यदि उनीहरूले व्यावहारिक सीपयुक्त बनाउने र केही समय दुःख गर्ने हो भने काम पाउने सम्भावना निकै धेरै छ ।

त्यस्तै अर्को क्षेत्र छ, कृषि र पशुसम्बन्धी प्राविधिकहरूको । यस बिषयमा स्नातक तहको अध्ययन सकिनासाथ रोजगारीमा लाग्न सक्ने बजार छ आजभोलि ।

विकासे कार्यकर्ताहरूको माग पनि त्यत्तिकै छ । सामाजिक परिचालक, समूह उत्प्रेरक, परियोजना सहायक, परियोजना प्रमुख आदिका रूपमा ग्रामीण क्षेत्रमा सामाजिक विकासको काममा गैरसरकारी क्षेत्रमा रोजगारी विस्तारित भएको छ । यहाँ जनशक्तिको माग छ, तर बजारमा त्यसखाले जनशक्ति नै पाउन मुस्किल छ । योग्य व्यक्तिलाई यस क्षेत्रमा प्रशस्त रोजगारीका सम्भावना छन् भविष्यमा पनि । विदेशमा पनि यस्ता काम गर्नेहरुको माग बढ्दो छ ।

उत्पादनको बिक्री गर्ने सेल्सम्यानहरू बन्ने अर्को रोजगारीको क्षेत्र छ । इमानदार विक्रेता, बजार निर्माता, बिक्री प्रवद्र्धकको ठूलो माग छ बजारमा । हाम्रा स्नातकहरू यस्ता काममा कम आकर्षित हुन्छन् । दुःख गर्न, परिश्रम गर्न, ग्रामीण र असजिला ठाउँमा जान गाह्रो मान्छन् । यसरी गाह्रो मान्दा अवसर पनि देखिँदैनन्, त्यसका कठिनाइ मात्रै देखिन्छन् ।

बजारमा बजार प्रवद्र्धकको काम गर्ने जनशक्तिको माग संसारभर नै उच्च रहेको पाइन्छ । सर्वाधिक रोजगारीका क्षेत्रमध्येको एउटा हो बिक्री वा बजारीकरणको क्षेत्र । सामान बिक्रीको क्षमता र आफ्नो सीप बिक्रीको क्षमताको भावनात्मक पक्ष उस्तै नै हो । दुवै बिक्री नै हुन् । एउटा भावनाको बिक्री, अर्कोमा सामानको बिक्री । बिक्रीको योग्यता भएन भने प्रतिभा पनि बेच्न गाह्रो नै हुन्छ । ठाउँ र परिवेश अलि फरक हुन्छ दुवै बिक्रीमा ।

यी त भए रोजगारीका केही क्षेत्रहरू । अरू पनि क्षेत्रहरू हुन सक्छन् । जस्तै, न्याय प्रदान गर्ने वकालत सेवा, अडिटर सेवा, स्वास्थ्य सहायक, जनस्वास्थ्य कार्यकर्ता, होटल तथा रेस्टुरेन्टमा वेटर, कुक, रिसेप्सनिस्ट, हाउस किपर , क्लिनर, पाइप मिस्त्री, बिजुली मिस्त्री, इलेक्ट्रोनिक सामानको मिस्त्री, फर्निचर मिस्त्री, कम्प्युटर रिपेरिङ यस्ता केही क्षेत्रहरू छन् बजारमा । यी क्षेत्रमा काम गर्ने दक्षता भएका मानिसहरूको जहाँसुकै माग छ । यस्ता क्षेत्रमा स्वरोजगारका सम्भावना पनि छन् । कमाइ पनि राम्रो हुन्छ । तर, हामी के यस्ता क्षेत्रमा रोजगारीका समभावना छन् भनेर सोचिरहेका छौँ ? हाम्रो सोचाइ कतातिर गइरहेको छ ? त्यसले नै हामी तिनलाई अवसर वा अभिशापका रूपमा लिइरहेका छौँ ।

विदेश जाने धेरै विद्यार्थीको अवस्था दयनीय छ
एक पटक म जर्मनीको फ्र्याङ्कफर्ट भ्रमणमा गएको थिएँ । त्यहाँ मैले केही दिन बिताएँ । निकैजना नेपाली भाइबहिनीहरू भेटिए । एउटा भाइले फ्र्याङ्कफर्ट मेन रेल्वे स्टेसनको पूर्वपट्टि अलि टाढा एउटा होटल खोलेको रहेछ । हामी पनि नेपालीको होटल छ अरे भनेर बेलुकाको खाना खान त्यहाँ पुग्यौँ । केटाकेटीहरूको सन्ध्याकालीन भेटघाट हुने जमघट स्थल पनि रहेछ त्यो होटल । निकै जना भाइबहिनीहरू भेट भए । कोही विद्यार्थी थिए, कोही रोजगार गरेर बसिरहेका थिए । धेरैजसो चाहिँ काम गर्नेहरू थिए । केही विद्यार्थीहरू पनि कलेज सिध्याएर अवैध रूपमा बसोबास गरिरहेका पनि थिए, अनेक बहाना बनाएर ।
मैले विद्यार्थीहरूलाई सोधेँ, “के फरक छ, नेपाल र यहाँको शिक्षामा ?”

उनीहरूले जवाफ दिए, “यहाँ विद्यार्थी आफैँले अलि बढी मिहिनेत गरेर सिक्नुपर्छ, त्यसैले कलेज छाडेपछि विद्यार्थीहरू कामयोग्य र समर्थ हुन्छन् । यहाँ शिक्षकहरू जानकार हुन्छन्, कम पढाउँछन्, सिक्न प्रेरित गर्र्दछन् । हामीकहाँ शिक्षकले विद्यार्थीलाई सिक्न प्रेरित गर्नुभन्दा आफूले जानेको बताउने काम गर्छन् । त्यसैले विद्यार्थीले सिक्नेभन्दा रट्ने काममा ध्यान दिन्छन् । पढाइने विषय भने एउटै हो । तर, के गर्नु अङ्कल, अहिले त विदेश जाने फेसन नै भइसक्यो । म बाबुआमाकै कारणले करकापले यहाँ आएँ, कमाएर मुस्किलले खान र फी तिर्न पु¥याउँछौँ । पहलो पटक यहाँ आउँदा लागेको पैसा त युरोपियनहरूलाई बुझाउनु मात्रै हो । फिर्ता गर्न सकिँदैन ।”

नेपालीहरूले मिहिनेत गरेर कमाएको त्यति रकम विदेशमा छोराछोरी पढाएको देखाउन खर्च भइरहेको छ । बेलायत, जापान आदि देशमा आफ्ना छोराछोरीहरू गाउँमा ऋण खोजेका पैसाले पढाउने काम भइरहेको छ । के भाषा पढ्न जापान जानु आवश्यक छ, वर्षको १२÷१५ लाख खर्च गरेर ? त्यो पैसा विद्यार्थीहरूले कमाएर फर्काउने सम्भावना त छँदै छैन । तर पनि, परिवारको कुनै न कुनै सदस्य विदेशमा छ भनेर मख्ख परिरहेका छौँ हामी । त्यसले जनशक्तिको उर्वर समय पनि खेर गइरहेको छ, देशको प्रगति पनि अवरुद्ध हुँदै छ । विदेश जाने भनेको केही सिक्न, केही कमाउन अनि केही सिकेर देशमा आएर नयाँ काम गर्न नै हुनुपर्छ । तर, हामी त्यो गर्न सकिरहेका छैनौँ ।

विदेशीको सेवा गरेर देश कहिल्यै सम्पन्न हुँदैन । देश सम्पन्न नभई नागरिक सम्पन्न हुनुको कुनै अर्थ छैन । देश प्रतिष्ठित र समृद्ध भयो भने मात्र नागरिकको पनि सम्मान बढ्छ संसारमा । गरिब देशका धनी नागरिक भएर विदेश छिर्नुहोस्, हैसियत प्रकट भइहाल्छ, एअरपोर्टको पासपोर्ट चेकिङमा नै ।

त्यसैले अवसर देख्न सक्नुपर्छ खोज्न टाढा जानु पर्दैन । आफ्नै देशमा भएका सम्भावना विकास गर्न सकेकाले नै आज स्वीटजरल्याण्ड जस्तो सानो र अत्यन्तै कम स्रोत साधन भएको देश संसार प्रसिद्ध भएको छ । सिंगापुर हाम्रो राजधानी काठमाडौँ जत्रो मात्रै छ तर संसारका ठूला आर्थिक अवस्था भएको देशमा पर्छ । दक्षिण कोरिया त्यति सानो मुलुक र श्रोत साधनमा हाम्रो देशभन्दा कमजोर भएर पनि संसारकै समृद्ध देश बनिसक्यो । के हामी अरुका अवसर देखेर त्यसको पछि लागेर विकसित हुन सक्छौँ त ? अवसर त त्यसै आउँदैन, देख्न सक्ने आँखा र प्रयोग गर्न सक्ने जाँगर विकसित गर्न आवश्यक छ ।

Friday, March 27, 2015

काठको पाटीमा धुलौटे अक्षर

एक कक्षामा धेरै साथीहरु थिएनन् । १५।१६ जना थियौ“ । सबैजना कालोपाटी वा स्लेट अनि खरी (चक) लिएर स्कूल आउँथे । लामो फित्ता भएको पछाडि बोक्न मिल्ने झोला हुन्थ्यो सबैसँग । काँधमा फित्ताभिरेर बोक्ता लत्रक्क तलसम्म झुण्डिने । झोलाको मुख बन्द गर्ने चेन, बटन केही हँुदैनथ्यो । भएका १।२ वटा किताब त्यही खुल्ला मुख भएको झोलामा हालेर बोक्ने गर्थे सबै विद्यार्थीहरु । घुमन्ते पर्यटकहरु पनि बाहिरफेरो हिँड्दा पनि त्यस्तै झोला बोक्थे । बजार गइरहनेहरुले बुट्टा भएको रंगीन झोला किनेर ल्याउँथे । बजारतिर नजानेहरुले गाउँमै पाइने खाँडीका कपडा किनेर स्थानीय दमाइहरुलाई सिलाउन लगाउँथे । अलि ठूला दाइदिदीहरु छड्के पारेर बोक्थे । हामी स–साना चाहिँ पछाडि डोको बोकेजस्तै गरी झोला बोक्थ्यौ“ । त्यस झोलामा प्रायः एउटा कालो पाटी वा सिलोट, अनि १ वा २ वटा किताब हुन्थे । बोक्न सक्नेले पाटी हातमा बोक्थे, नसक्नेले त्यही झोलामा हालेर बोक्थे । मसँंग शुरुमा न झोला थियो न स्लेट । एउटा किताब मात्रै थियो ।

स्कूल जान थालेपछि हजुरबाले आफूले जानेका र चिनेका अक्षर र अंकहरु मलाई लेख्न सिकाउन शुरु गर्नुभयो । फुर्सतको बेला पाउँना साथ दलानमा हजुरबा एउटा गुन्द्री वा पिरामा बस्नुहुन्थ्यो अनि मलाई अलिकति सुख्खा धुलो माटो लिएर आउन अह्राउनु हुन्थ्यो । त्यो धुलो माटोलाई दलानको सम्म मिलेको सतहमा फिँजाइन्थ्यो । कतैपनि भुइँ नदेखिने गरी अलि बाक्लो गरी धुलो बिछ्याएर त्यसैमा अक्षर लेखिन्थ्यो । बिहान बेलुकाको मेरो गृहकार्य त्यसैगरी आरम्भ भयो । स्कूलले कुनै कुरा लेख्नु भनेको होसनहोस् हजुरबा मलाई पढाउन तयार भइहाल्नु हुन्थ्यो । बेलुका चाहिँ सानो भएकाले छिट्टै सुत्न पाइन्थ्यो ।

शुरुशुरुमा मलाई धुलो फिँजाउन पनि आउँदैनथ्यो । हजुरबा आफैँले धुलो फिँजाएर ठिक्क पार्नुहुन्थ्यो । धुलो फिँजाएर ठिक्क पारेपछि मेरो दाहिने हातको चोर औलालाई आफूले समाएर अक्षरको आकार कोर्न सिकाउनुहुन्थ्यो । हातको औ“लो यसरी भुइँमा घोट्ता कहिलेकहीँ त अलिअलि दुख्थ्यो । दुखेपछि म हजुरबासँग कसरी टाढिने भनेर उपाय खोज्थे“ । म थाकेको थाहा पाएपछि हजुरबाले मलाई विदा दिनुहुन्थ्यो । बालकको मनोविज्ञानको यो गहिरो पक्षको ज्ञान हजुरबालाई रहेछ भन्ने अहिले म थाहा पाउँदैछु । कुटेर जबर्जस्ती गरेर कहिल्यै मैले पढाइलेखाइ गर्नु परेन । हाँस्दैखेल्दै हुन्थ्यो पढ्ने काम ।

केही दिनको परिश्रमपछि म आफै“ औंलाले धुलौटे अक्षर बनाउन सक्ने भएँ । औ“लाले लेख्न जानेपछि मलाई फेरि स्तरोन्नति गरियो । अब औलाले होइन काठका अथवा बाँसका छेस्काले कलमजस्तै समाएर लेख्न सिकाइयो । बाँसको ठिक्कको छेस्को बनाउने अनि धुलोमा अक्षर लेख्ने । यो क्रम लगभग ४।५ महिनाजति चल्यो । धुलोमा लेख्न जानेपछि मलाई एउटा काठको टुक्रामा धुलो फिँजाएर लेख्न सिकाइयो । त्यसमा पनि प्रविधि त त्यही थियो तर अब भने छरितो फल्याकरुपि अभ्यास पुस्तिका मैले पाएको थिएँ । त्यसपछि अनुकूल ठाउँमा बसेर लेख्न पाइने भयो । दलानमै जानु पर्ने बाध्यता रहेन ।

त्यतिबेला हाम्रो गाउँमा आराले चिरेका फलेकहरु थिएनन् । बञ्चरो र बसिलाले आकार मात्रै फलेकका जस्ता देखिने फलेकहरु थिए । बाले एक दिन एउटा काठको अलि भद्दा आकारको काठको पाटी बनाइ दिनु भयो । काठको पाटी भएपछि कालो अँगारले मस्याएर कालो बनाउने अनि त्यसमा स्थानीस्तरमा पाइने कमलो रंगीन ढुंगाले लेख्न थालियो । विस्तारै मेरा अभ्यासपुस्तिकाहरु परिवर्तन हुँदै गए ।

अक्षर मिलेन अथवा बिग्रियो भने यस्ता पाटीमा सच्याउने खुब सुविधा हुन्थ्यो तर घरिघरि मेट्ता नाकबाट चुहिने सिँगानसँगै त्यो धुलो र कालो पनि मिसिन्थ्यो । यसरी कालो मिसिएपछि अनुहारपनि लङ्गुर बाँदरको जस्तो हुन्थ्यो । कहिले जुँगा बनिएको हुन्थ्यो त कहिले गाला पनि कालाम्मे हुन्थे । यस्तो विभत्स रुप देखेर कहिलेकहीँ खिसीको पात्र पनि हुन्थेँ । घरमा त त्यसको त्यति वास्ता हुँदैनथ्यो तर स्कूलमा भने विचित्रसँग हाँसोको पात्र हुन्थेँ म ।

स्कूलमा कालो लाग्यो वा धुलो लाग्यो भने धुने सुविधा थिएन । पुछ्ने कुनै चीज हुँदैनथ्यो । दौराको फेर तानेर पुछ्दा कहिलेकाहीँ दौरा पनि हेरिनसक्नुको हुन्थ्यो विरुप भएर । यस्तो दौरा र हात सफा गर्न हिँडेर पुगिने खोलामै पुग्नु पथ्र्यो । आउन जान कम्तिमा १० मिनेट लाग्थ्यो । कुनै पढाइको कक्षामा त्यसरी कालो लाग्यो भने टिफिनसम्म पर्खनु पथ्र्यो । त्यतिबेलासम्म साथीहरुले अनेकचोटी खिज्याएर र खिसी गरेर हैरान पारिसकेका हुन्थे । यस्तो कालो कहिलेकहीँ दौरामा पनि लाग्थ्यो । सेतो रंगको दौरामा कालो लागेपछि त्यो दौरा पनि विचित्रको चित्राकृतिले रंगिएको जस्तो देखिन्थ्यो । यसरी सकियो मेरो प्रारम्भिक अक्षर लेखनको अभ्यास ।

करिब दुइवर्षसम्म मेरो हातमा कपी परेन । यस्तै धुलो र पाटीले नै काम चल्यो । मसँग पढ्ने कति साथीहरुसँग त त्यो पाटी पनि हुँदैनथ्यो । उनीहरु भुइँमा बसेर धुलो फिँजाउँथे अनि त्यहीँ आफूले गर्नुपर्ने अभ्यास गर्थे । शिक्षकहरु घुमिघुमी विदार्थीका अभ्यास धुलोमै नियाल्थे । आजका विद्यार्थीहरुको परिकल्पनाभन्दा निकै टाढा थियो यो दृश्य ।

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...