Friday, March 27, 2015

काठको पाटीमा धुलौटे अक्षर

एक कक्षामा धेरै साथीहरु थिएनन् । १५।१६ जना थियौ“ । सबैजना कालोपाटी वा स्लेट अनि खरी (चक) लिएर स्कूल आउँथे । लामो फित्ता भएको पछाडि बोक्न मिल्ने झोला हुन्थ्यो सबैसँग । काँधमा फित्ताभिरेर बोक्ता लत्रक्क तलसम्म झुण्डिने । झोलाको मुख बन्द गर्ने चेन, बटन केही हँुदैनथ्यो । भएका १।२ वटा किताब त्यही खुल्ला मुख भएको झोलामा हालेर बोक्ने गर्थे सबै विद्यार्थीहरु । घुमन्ते पर्यटकहरु पनि बाहिरफेरो हिँड्दा पनि त्यस्तै झोला बोक्थे । बजार गइरहनेहरुले बुट्टा भएको रंगीन झोला किनेर ल्याउँथे । बजारतिर नजानेहरुले गाउँमै पाइने खाँडीका कपडा किनेर स्थानीय दमाइहरुलाई सिलाउन लगाउँथे । अलि ठूला दाइदिदीहरु छड्के पारेर बोक्थे । हामी स–साना चाहिँ पछाडि डोको बोकेजस्तै गरी झोला बोक्थ्यौ“ । त्यस झोलामा प्रायः एउटा कालो पाटी वा सिलोट, अनि १ वा २ वटा किताब हुन्थे । बोक्न सक्नेले पाटी हातमा बोक्थे, नसक्नेले त्यही झोलामा हालेर बोक्थे । मसँंग शुरुमा न झोला थियो न स्लेट । एउटा किताब मात्रै थियो ।

स्कूल जान थालेपछि हजुरबाले आफूले जानेका र चिनेका अक्षर र अंकहरु मलाई लेख्न सिकाउन शुरु गर्नुभयो । फुर्सतको बेला पाउँना साथ दलानमा हजुरबा एउटा गुन्द्री वा पिरामा बस्नुहुन्थ्यो अनि मलाई अलिकति सुख्खा धुलो माटो लिएर आउन अह्राउनु हुन्थ्यो । त्यो धुलो माटोलाई दलानको सम्म मिलेको सतहमा फिँजाइन्थ्यो । कतैपनि भुइँ नदेखिने गरी अलि बाक्लो गरी धुलो बिछ्याएर त्यसैमा अक्षर लेखिन्थ्यो । बिहान बेलुकाको मेरो गृहकार्य त्यसैगरी आरम्भ भयो । स्कूलले कुनै कुरा लेख्नु भनेको होसनहोस् हजुरबा मलाई पढाउन तयार भइहाल्नु हुन्थ्यो । बेलुका चाहिँ सानो भएकाले छिट्टै सुत्न पाइन्थ्यो ।

शुरुशुरुमा मलाई धुलो फिँजाउन पनि आउँदैनथ्यो । हजुरबा आफैँले धुलो फिँजाएर ठिक्क पार्नुहुन्थ्यो । धुलो फिँजाएर ठिक्क पारेपछि मेरो दाहिने हातको चोर औलालाई आफूले समाएर अक्षरको आकार कोर्न सिकाउनुहुन्थ्यो । हातको औ“लो यसरी भुइँमा घोट्ता कहिलेकहीँ त अलिअलि दुख्थ्यो । दुखेपछि म हजुरबासँग कसरी टाढिने भनेर उपाय खोज्थे“ । म थाकेको थाहा पाएपछि हजुरबाले मलाई विदा दिनुहुन्थ्यो । बालकको मनोविज्ञानको यो गहिरो पक्षको ज्ञान हजुरबालाई रहेछ भन्ने अहिले म थाहा पाउँदैछु । कुटेर जबर्जस्ती गरेर कहिल्यै मैले पढाइलेखाइ गर्नु परेन । हाँस्दैखेल्दै हुन्थ्यो पढ्ने काम ।

केही दिनको परिश्रमपछि म आफै“ औंलाले धुलौटे अक्षर बनाउन सक्ने भएँ । औ“लाले लेख्न जानेपछि मलाई फेरि स्तरोन्नति गरियो । अब औलाले होइन काठका अथवा बाँसका छेस्काले कलमजस्तै समाएर लेख्न सिकाइयो । बाँसको ठिक्कको छेस्को बनाउने अनि धुलोमा अक्षर लेख्ने । यो क्रम लगभग ४।५ महिनाजति चल्यो । धुलोमा लेख्न जानेपछि मलाई एउटा काठको टुक्रामा धुलो फिँजाएर लेख्न सिकाइयो । त्यसमा पनि प्रविधि त त्यही थियो तर अब भने छरितो फल्याकरुपि अभ्यास पुस्तिका मैले पाएको थिएँ । त्यसपछि अनुकूल ठाउँमा बसेर लेख्न पाइने भयो । दलानमै जानु पर्ने बाध्यता रहेन ।

त्यतिबेला हाम्रो गाउँमा आराले चिरेका फलेकहरु थिएनन् । बञ्चरो र बसिलाले आकार मात्रै फलेकका जस्ता देखिने फलेकहरु थिए । बाले एक दिन एउटा काठको अलि भद्दा आकारको काठको पाटी बनाइ दिनु भयो । काठको पाटी भएपछि कालो अँगारले मस्याएर कालो बनाउने अनि त्यसमा स्थानीस्तरमा पाइने कमलो रंगीन ढुंगाले लेख्न थालियो । विस्तारै मेरा अभ्यासपुस्तिकाहरु परिवर्तन हुँदै गए ।

अक्षर मिलेन अथवा बिग्रियो भने यस्ता पाटीमा सच्याउने खुब सुविधा हुन्थ्यो तर घरिघरि मेट्ता नाकबाट चुहिने सिँगानसँगै त्यो धुलो र कालो पनि मिसिन्थ्यो । यसरी कालो मिसिएपछि अनुहारपनि लङ्गुर बाँदरको जस्तो हुन्थ्यो । कहिले जुँगा बनिएको हुन्थ्यो त कहिले गाला पनि कालाम्मे हुन्थे । यस्तो विभत्स रुप देखेर कहिलेकहीँ खिसीको पात्र पनि हुन्थेँ । घरमा त त्यसको त्यति वास्ता हुँदैनथ्यो तर स्कूलमा भने विचित्रसँग हाँसोको पात्र हुन्थेँ म ।

स्कूलमा कालो लाग्यो वा धुलो लाग्यो भने धुने सुविधा थिएन । पुछ्ने कुनै चीज हुँदैनथ्यो । दौराको फेर तानेर पुछ्दा कहिलेकाहीँ दौरा पनि हेरिनसक्नुको हुन्थ्यो विरुप भएर । यस्तो दौरा र हात सफा गर्न हिँडेर पुगिने खोलामै पुग्नु पथ्र्यो । आउन जान कम्तिमा १० मिनेट लाग्थ्यो । कुनै पढाइको कक्षामा त्यसरी कालो लाग्यो भने टिफिनसम्म पर्खनु पथ्र्यो । त्यतिबेलासम्म साथीहरुले अनेकचोटी खिज्याएर र खिसी गरेर हैरान पारिसकेका हुन्थे । यस्तो कालो कहिलेकहीँ दौरामा पनि लाग्थ्यो । सेतो रंगको दौरामा कालो लागेपछि त्यो दौरा पनि विचित्रको चित्राकृतिले रंगिएको जस्तो देखिन्थ्यो । यसरी सकियो मेरो प्रारम्भिक अक्षर लेखनको अभ्यास ।

करिब दुइवर्षसम्म मेरो हातमा कपी परेन । यस्तै धुलो र पाटीले नै काम चल्यो । मसँग पढ्ने कति साथीहरुसँग त त्यो पाटी पनि हुँदैनथ्यो । उनीहरु भुइँमा बसेर धुलो फिँजाउँथे अनि त्यहीँ आफूले गर्नुपर्ने अभ्यास गर्थे । शिक्षकहरु घुमिघुमी विदार्थीका अभ्यास धुलोमै नियाल्थे । आजका विद्यार्थीहरुको परिकल्पनाभन्दा निकै टाढा थियो यो दृश्य ।

Friday, February 27, 2015

यसरी बदले नेपोलियनले आफ्नो भाग्यरेखा



हाम्रो समाजमा धेरै मानिसहरु भाग्यमा विश्वास गर्छन् र यो भावीले लेखेर पठाएको हुन्छ भन्ने ठान्छन् । केही मानिसहरू जीवनको सफलता र असफलतालाई भाग्यसँग गाँसेर हेर्छन् । सफल मानिस देखेपछि हामी पनि भन्छौँ, “भाग्यमानी रहेछ यो मान्छे । यसको भाग्य चम्केको छ ।” यो भाग्यवादी सोचाइले हामीलाई नराम्ररी पछाडि पारिरहेको छ । सफल, समृद्ध र वाहवाही हुने मान्छे असफल, हीनताग्रस्त र दुःखी भएको छ । के काम कसरी गर्ने हो त्यो तरिका नसिकेर, नजानेर बर्बाद भएको छ ।
हामीकहाँ भाग्य बनाइदिने ठेक्का लिनेहरुको पनि कमी छैन । केही रकम र समय लिएर उनीहरुकहाँ पुगेपछि भाग्य बन्ने सजिलो उपाय बताइदिइहाल्छन् । तर उनीहरुको अवस्था हेर्यो भने ........ ? भाग्य बनाउनेहरु आफैँ अभागी भएर भौतारिइरहेका छन् । भाग्य बनाउने नाममा उनीहरुले मानिसलाई ग्रहशान्ति, जाप, पूजाआजा अनेकका तानाबानामा फसाइदिन्छन् र पैसा असुलेर आफ्नो गुजारा चलाउँछन् । मानिसहरु पनि भाग्य बन्ने लालसामा उनीहरुको खानेमेलो बनेको र आफ्नो क्षमता खिइँदै गएको पत्तो पाउँदैनन् । धाउँदाधाउँदा हतास हुन्छन्, समय बित्छ तर ज्योतिषीले भनेका अनेक कुरा गर्दा पनि भाग्य भने बन्दैन । जीवन जहाँकोतहीँ हुन्छ ।
कतिपय मानिसहरू प्रयत्न र लगनशीलताले सफल बन्न सक्ने क्षमता हुँदाहुँदै मिहिनेत नगरी भाग्यको पर्खाइमा बसेको देखिन्छ । के साँच्चै भाग्य भन्ने कुरा हुन्छ ? हुन्छ भने यो कसरी बन्छ ? आउनुहोस्, त्यसबारे अलिकति चर्चा गरौँ ।
प्रसिद्ध आध्यात्मिक गुरु ओशो सिद्धार्थको भनाइमा, “वर्तमानमा जो कर्म हामी गर्छाैँ, त्यही कर्म कालक्रममा भाग्यको रूपमा प्रकट हुन्छ ।” (ओशोधारा–प्रज्ञासूत्र नं. ३) भाग्यको आधार हो कर्म अर्थात् हामीले गर्ने कामहरू । हामी कसरी काम गर्छौँ, के के गर्छौँ, त्यहीअनुसार त्यसको परिणाम आउँछ । काम राम्ररी, ध्यान दिएर ग¥यो भने, सुझबुझ पु¥याएर ग¥यो भने, राम्रो परिणाम आउँछ भने उत्साहहीन, हीनभावनाले ग्रस्त, अर्काको कुभलो चिताएर, आफूले मात्र फाइदा पाऊँ भनेर गरिने कामले राम्रो परिणाम आउँदैन ।
हामीले गर्ने त्यस्ता कतिपय कामहरु तत्काल परिणाम दिइहाल्ने खालका हुन्छन् भने कतिपय चाहिँ परिवेशलाई बिस्तारै अनुकूलतामा बदलेर ढिलो परिणाम दिने खालका हुन्छन् । कुनै कामको परिणाम देखिन्छ, कुनैको परिणाम प्रत्यक्ष रूपमा देखिँदैन, तर आफूलाई र समाजलाई त्यसको अनुभव भने हुन्छ । त्यसरी प्रत्यक्ष रूपमा नदेखिने तर परिवेश र परिस्थितिलाई बिस्तारै प्रभाव पार्ने कामहरूबाट निस्कने परिणाम नै वास्तवमा कालान्तरमा भाग्यका रूपमा देखा पर्छ ।
रुख रोप्ने बृद्ध मानिस
चारैतिरबाट उजाड मरुभूमिले घेरिएको एउटा गाउँमा एक जना बृद्ध मानिस बस्थे । ती बृद्धलाई आफ्नो गाउँमा कसरी हरियालीले हराभरा बनाउने भन्ने चिन्ता लागेछ । निकै दिन सोचविचार गरेर सडकको छेउमा बिरुवा रोप्ने विचार गरेछन् । साथ र सहयोग गर्ने कोही भेटेनछन् तैपनि काम सुरु गरेछन् । बृद्ध मानिस एकोहोरो सुरमा असिनपसिन भएर सडकको किनारामा आँपका रुख रोप्दै थिए, एउटा युवकले देखेछ । बुढाको काम अलि अटपटाजस्तो लागेछ त्यो युवकलाई र नजिकै गएर सोधेछ— “तपाईँ यो उमेरमा आएर आँपको विरुवा रोप्दै हुनुहुन्छ, तपाईँको जीवनकालमा त यो फल्दैन, तपाईँले खान पनि पाउनुहुन्न होला, किन दुःख गर्नुभएको यो बुढेसकालमा ?”
बुढाले युवकतिर फर्केर जवाफ दिएछन्— “अहिले जुन आँपको रुखबाट तिमीले फल टिपेर खाइरहेका छौ, त्यो रोप्ने मानिस सायद यो संसारमा छैन होला । उसले मैले लगाएको रुखको फल मैले नै खानु पर्छ भनेको भए आज तिमीले आँप खान पाउने थिएनौ बाबु ! मैले खान नपाए पनि मेरा छोराछोरी, तिमी र तिमीजस्ता अरु युवाले त खान पाउलान् नि ! आऊ बरु सँगै केही विरुवा रोपौँ । मलाई सघाऊ ।”
बुढाको कुरा सुनेर युवक छक्क प¥यो । बुढाको कुराले चित्त पनि बुझ्यो । रुख रोप्न उसले पनि सहयोग गर्न थाल्यो । निकै धेरै रुख रोपे ती युवा र बृद्ध मिलेर ।
विरुवा हुर्कँदै गए । हरियाली बढ्यो । घाँसपात पलाउन थाले । पानीको मूल फुट्यो । शीतलता बढ्यो । यस्तो परिणाम देखिएपछि मानिसले बिस्तारै वृक्षरोपणको महत्व बुझ्न थाले । कसले यो काम गरेको रहेछ भनेर खोज्न थाले । रुख रोप्नेप्रति सम्मानभाव देखाउन थाले ।
रुख रोपेर हरियाली बढाएकोमा गाउँलेहरु सबै मिलेर बुढालाई पुरस्कृत गरे । प्रत्यक्ष रूपमा कसैले प्रशंसा नगरे पनि मनमनै उसको  भलो चिताउन थाले । त्यसपछि बुढाले गर्ने हरेक काममा, गाउँलेहरुले पत्यार गरेर सहयोग गर्न थाले । साथ र सहयोग पाएपछि असल र उपयोगी काममा बुढा एकपछि अर्को गर्दै सफल हुँदै गए । हिजोसम्म बुढाले व्यहोरिरहेका दुःख र प्रतिकूलता पनि अनुकूलतामा बदलिन थाले ।
त्यसपछि मानिसहरु भन्न थाले– “बुढा भाग्यमानी रहेछन्, गाउँलेबाट यत्रो सम्मान र वाहवाही पाएका छन्, भाग्यमानीहरुले मात्रै यस्तो सफलता र सम्मान पाउँछन् ।”
बुढाको कर्मले नै उनलाई यस्तो अवस्थामा पुर्याएको हो । कर्म राम्रो नगरेका भए गाउँलेले न बुढालाई पुरस्कृत गर्थे न साथ र सहयोग नै । लगातार असल काम गर्दै गएपछि त्यसका अनुकूल परिणामहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा देखिन थाल्छ । गरेको काममा सफलता मिल्न थाल्छ । त्यसभन्दा अघि उसले गरेका दुःख र कष्टको फल पनि अप्रत्यक्ष रूपमा अर्को कामबाट सहज रुपमा मिल्न जान्छ । वरपर, इष्टमित्र सबैमा असल कामको कारणले सकारात्मक भावनाको विकास हुन्छ । चारैतिर राम्रो कुरा सुनिन थालेपछि चाहेको काम गर्न सक्ने सामथ्र्य पनि बढ्छ । त्यसैलाई समाजले भाग्यका रुपमा लिन्छ । आफ्नो चाहिँ भाग्य चम्कन्छ ।
वास्तवमा कर्म र परिस्थितिको सामूहिक स्वरूप नै भाग्य हो । भाग्यको निर्धारक हाम्रो आफ्नै कर्म हो । कर्म सही, उपयोगी र सद्भावपूर्ण भयो भने त्यसले परिवेश र समाजमा सकारात्मक सन्देश दिन्छ, गर्नेका लागि त्यही भाग्य बन्छ । गलत कर्म, गलत मनशायका साथ गरियो भने त्यसले सही परिणमम ल्याउन सक्तैन र सकारात्मक परिवेश पनि बनाउन सहयोग गर्दैन । त्यसले व्यक्तिको जीवनमा सौभाग्य होइन दुर्भाग्य पैदा गर्छ । माथिको प्रज्ञासूत्रमा ओशो सिद्धार्थ अगाडि भन्न्ुहुन्छ– “हामी जुनजुन कर्म गर्दछौँ फल पछिपछि आउँछ, हामीले गर्ने पुरुषार्थ नै कालक्रममा पाकेर अटल प्रारब्ध बन्न जान्छन् । समयक्रममा हामी आफूले गरेको कर्म भुल्दछौँ, आफ्नै हस्तक्षर बिर्सन्छौँ अनि विधाताको खेल भन्दछौँ । त्यसैले आफ्नो हस्ताक्षर सम्झ र कथा बनाएर विधातालाई दोष नदेऊ । तिम्रो भाग्य तिमी आफैँले लेखेका तर कालक्रममा धमिलिएका अक्षरहरु हुन् ।” त्यसैले भाग्य भन्ने कुरा कर्मको अर्को रूप मात्रै हो, कर्मलाई अलग गरेर कोही पनि भाग्यमानी हुन सक्तैन ।
प्रसिद्ध लेखक तथा ‘ह्यापी साइन्स’ का संस्थापक ¥युहो ओकावा भन्छन्, “अरूलाई पनि फाइदा र आफूलाई पनि फाइदा हुने गरी तपाईँले जे उद्देश्य बनाउनुहुन्छ, त्यसलाई ईश्वरले पनि सहयोग गर्न कर लाग्छ ।”
वास्तवमा मानिसको भाग्य यही भावनाले निर्धारण गर्छ । असल नियत राखेर गरिएका कामहरूले भाग्य चम्काउँछन्, खराब नियत र दुर्भावना राखेर गरेको कामले दुर्भाग्य निम्त्याउँछन् । त्यसैले महाभारतमा श्रीकृष्णले कर्ममा जोड दिए । ‘कर्ममा अधिकार छ त्यो राम्ररी गर, फलमा तिम्रो अधिकार छैन, त्यसको परिणामलाई प्रसादका रुपमा ग्रहण गर’ भन्ने उनको भनाइको अर्थ थियो । त्यसलाई गलत व्याख्या गरियो र ‘कर्म गर, फलको आशा नगर’ भनेर व्याख्या गरियो । वास्तवमा मानिसले सही कर्म ग¥यो भने त्यसको परिणाम पनि सही आउन करै लाग्छ । त्यसलाई ग्रहण गर्दा प्रसादस्वरुप ग्रहण गरियो भने त्यसबाट सिक्न सकिन्छ । तनाव पनि बढ्दैन ।
भाग्यरेखा बदलेर सम्राट बनेका नेपोलियन
फ्रान्सका प्रसिद्ध सम्राट नेपोलियन जतिबेला सैनिक सेवामा काम गरिरहेका थिए, एक जना ज्योतिषीकहाँ हात देखाउन पुगेछन् । ज्योतिषीकहाँ गएर उनले सोधेछन्– “ज्योतिषीजी म यो देशको सम्राट बन्न चाहन्छु, मेरो भाग्यमा सम्राट बन्ने कुरा लेखेको छ कि छैन हेरिदिनुस् ।”
नेपोलियनको कुरा सुनेर ज्योतिषीले उनको हस्तरेखा नियालेर हेरेछन् र जवाफमा भनेछन्– “तिम्रो हस्तरेखाले त फ्रान्सको सम्राट बन्ने देखिँदैन ।”
ज्योतिषीको कुरा सुनेपछि नेपोलियनले फेरि ज्योतिषीलाई सोधेछन्– “सम्राट बन्न कस्तो रेखा आवश्यक छ ज्योतिषीजी ?”
ज्योतिषीले सम्राट बन्नेहरुको हस्तरेखाको प्रकृति बताइदिएछन् । नेपोलियनको साथमा धारिलो तरवार छँदैथियो । उनले तरवार निकालेर ज्योतिषीले भनेजस्तै गरी आफ्नो हात चिरेछन् र ज्योतिषीलाई भनेछन्– “तपाईँले भनेजस्तो हस्तरेखा कोर्ने काम मेरो हो । तपाईँलाई जस्तो रेखा चाहिन्छ त्यस्तो रेखा म आफैँ कोर्न सक्छु । के तपार्इं त्यो रेखा हेरेर मलाई सम्राट बनाउन सक्नुहुन्छ ?”
ज्योतिषी अक्कनबक्क परेछन् । नेपोलियन भने त्यस दिनदेखि सम्राट बन्ने धुनमा लागेछन् । सामान्य सैनिकका रुपमा फ्रान्सेली सेनामा प्रवेश गरेका नेपोलियन फ्रान्सेली क्रान्तिपछि प्रसिद्ध सम्राट नै बने ।
निरन्तरको सकारात्मक कर्म, आत्मविश्वासले भरिएको मन र मस्तिष्क अनि आफू मात्र नभई आफूवरपरको समाज, परिवेशलाई सहयोग पुर्याउने सकारात्मक भावनाका साथ कर्ममा लागिरहने मानिसलाई नै परिवार, समाज र देशले सहयोग गर्छ । जसले आफ्ना कर्मका आधारमा सबैलाई प्रभावित पार्न सक्छ त्यसैले आफूले चाहेको काममा सफलता प्राप्त गर्न सक्छ । भाग्य त्यही सकारात्मक र नकारात्मक कर्मका कारणले सिर्जना हुने परिवेश र परिणामको संयुक्त रुप भएकाले कर्म नै सफलताको मुख्य पक्ष हो । भाग्यको आधार पनि त्यही हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन्– “मैले कहिल्यै म के बन्छु भन्ने बारेमा सोचिनँ, बरु म के गर्न सक्छु भन्ने बारेमा मात्र सोचेँ, किनभने कोही मानिस म के बन्छु भनेर होइन म के गर्न सक्छु भन्ने सोचेर नै महान बन्न सकेका रहेछन् ।”



Monday, January 12, 2015

सेवा बिक्रीको कला

बिक्री भन्नासाथ हाम्रो मनमा के आउँछ ? कुनै सामान र बिक्रेता । बिक्रीको कला सामान बेच्ने मानिसका लागि मात्र आवश्यक हुन्छ भन्ने हामीलाई लाग्छ । सेवा पनि बिक्रीको बिषय हो भन्ने लाग्दैन । तर संसारमा ख्याति कमाएका धनाढ्य व्यापारी हुन् वा विद्वान् व्यक्ति, प्राध्यापनमा लागेका हुन् वा कुनै सेवामा, सीपयुक्त मानिस होस् वा सामान्य कर्मचारी सबैले केही न केही सेवा बेचेर त्यसबाट आर्जिक धनबाट आफ्नो जीवन चलाइरहेका हुन्छन् ।
प्रसिद्ध लेखक शिव खेरा ‘बिक्रीको कला’ सम्बन्धी पुस्तक सार्वजनिक समारोहमा आफ्नो पुस्तकबारे पत्रकारहरूलाई बताउँदै थिए । एक जना पत्रकारले सोधेछन्— “यो पुस्तक त बिक्रेताको काम गर्नेहरूका लागि लेखिएको रहेछ । यसमा हाम्रो लागि के छ ?”
शिव खेराले हाँसेर प्रश्नैबाट उत्तर दिएछन्— “के तपाईं पनि आफ्नो लेखन कला दैनिकरूपमा बेचिरहनुभएको छैन ?”
उनको जवाफ सुनेर पत्रकार छक्क परेछन् । उनले थप्दै भनेछन्— “चाहे डाक्टर होस् वा प्राध्यापक, व्यवस्थापक होस् वा वकिल, सिकर्मी, डकर्मी होस् वा सरकारी सेवामा काम गर्ने कर्मचारी, पत्रकार होस् वा परामर्शदाता, सबैले आआफ्नो प्रतिभा, सीप वा बुद्धि नै त बेचिरहेका छन् । त्यसैले, यो पुस्तक आफ्नो क्षमता र प्रतिभालाई सेवाका रूपमा बेचेर केही आर्जन गर्ने र समृद्ध हुन चाहनेहरू सबैका लागि हो, सामान बेच्नेहरूका लागि मात्र होइन । तपाईँ, म वा कुनै धनाढ्य, सबैले केही न केही बेचिरहेकै छौँ ।”
संसारमा जसले सर्वाधिक सम्पत्ति कमाएका छन् उनीहरूमध्ये अधिकांशले बुद्धि र योजना बेचेर, आफूले गर्न सक्ने सेवा बेचेर नै त्यसको सुरुआत गरेको पाइन्छ । आफ्नो प्रतिभा बेच्ने बुद्धिमत्तापूर्ण योजना र बिक्रीको कला नै उनीहरूको धन आर्जनको पहिलो खुट्किलो हो । यसलाई कुशलतापूर्वक बेच्न सक्ने मान्छेले नै दीर्घकालमा सफलताको शिखर चढ्न सकेको पाइन्छ । सुरुमा सबैेसँग धन कमाउने काम गर्नका लागि आवश्यक पर्ने पुँजीको अभाव नै हुन्छ, तर यदि ऊसँग आफ्नो विचारलाई पैसामा रूपान्तरण गर्ने शक्तिशाली र दमदार योजना छ भने उसले क्रमिक रूपमा धन आर्जन गर्न सक्छ । त्यसका लागि प्रथम अभ्यास हो, आफ्नै प्रतिभा, ज्ञान, क्षमता र सीप बिक्रीको योजना । आफूभित्रको प्रतिभाका आधारमा दिन सक्ने सेवा बिक्री गर्ने प्रभावशाली योजना बनाउनु र त्यो बेच्न सक्नु सफलताको पहिलो पाइलो हो । यसले अन्य कुराहरू क्रमशः आफूतिर तान्दै ल्याउँछ ।
कसरी बिक्री गर्ने त आफ्नो प्रतिभा ? प्रसिद्ध लेखक ब्रायन ट्रेसी भन्छन्— “जति बेला म भाँडा माझ्ने काम गर्थेँ, मलाई लाग्थ्यो जति बढी काम गर्छु, त्यति बढी पैसा पाउँछु । तर, यो विचार बकबास रहेछ । यो विश्वासले तपाईँलाई अँध्यारो गल्लीमा पु¥याउँछ । यथार्थमा ज्यादा असरदार तरिकाले काम गर्नुपर्दोरहेछ लक्ष्य हासिल गर्नका लागि । शारीरिक शक्ति मात्रै होइन, मानसिक शक्तिको ज्यादा प्रयोग गर्नुमा नै सफलता निहित रहेछ ।” (ब्रायन ट्रेसी, अधिकतम सफलता, पृ. १२५)
प्रायःजयो मानिसहरू धनले मात्रै धन कमाउन सकिन्छ भन्ने सोच्छन् । मसँग यति पैसा भए .... यसो गर्थेँ, उसो गर्थेँ भन्छन्, अनेक सर्तहरू पहिले तेस्र्याउँछन् । यो काम गर्ने र सफलता प्राप्त गर्ने सही तरिका होइन । धनले धन कमाउँछ तर योजनाविहीन धनले कहिल्यै धन कमाउँदैन ।
धन विचार र इच्छाशक्तिको उपज हो । नेपोलियन हिल भन्छन्— “धन आफैँमा केही पनि होइन । यो एक निर्जीव पदार्थ मात्रै हो । यो न हिँड्न सक्छ, न सोच्न सक्छ, न बोल्न सक्छ तर यो सुन्न सक्छ । जब कोही व्यक्ति यसको प्रबल इच्छा राख्छ, तब यो उसको निमन्त्रणामा तानिएर दौडिँदै आउँछ ।”
व्यक्तिगत सेवा बिक्रीको कला
जो व्यक्ति आफ्नो प्रतिभा र क्षमता बजारमा बिक्री गरेर त्यसबाट आफ्नो जीवन सफल बनाउन चाहन्छ, उसले सर्वप्रथम बजारमा आफूले प्रदान गर्ने सेवाबारे राम्ररी अध्ययन गर्नु आवश्यक छ । परिस्थिति तीव्र गतिले बदलिइरहेको छ । कम्पनी र संघसंस्थाहरू नयाँ–नयाँ प्रकारका जन्मिरहेका छन् । मानिसको क्षमता र समयभन्दा तीव्र छ यो गति । मालिक र कर्मचारी, सेवाप्रदायक र उपभोक्ता सबैको सम्बन्धको ढाँचा पनि तीव्र गतिमा परिवर्तन भइरहेको छ । प्रत्येक वर्ष नयाँ–नयाँ सेवा र व्यवसायको जन्म हुने र बिलाउने क्रम चलिरहेको छ । मालिक, मजदुर, कर्मचारी, विशेषज्ञ सबैको ध्यान कसरी उत्कृष्ट सेवा दिने भन्ने कुरामा केन्द्रित छ । उत्कृष्ट सेवा दिन नसक्नेहरू हराउँदै गएका छन् उत्कृष्टता र गुणवत्तामा अब्बल ठहरिएकाहरू बाँचिरहेका छन् ।
व्यक्तिगत प्रतिभालाई सेवाका रूपमा बेचेर सम्पन्नता र प्रसिद्धि हासिल गर्न चाहनेहरूले यो कुरालाई राम्ररी बुझ्नु आवश्यक छ । यो बुझिएन भने व्यक्ति जतिसुकै सक्षम भए पनि उसले सफलता पाउन सक्तैन । चाहे विशेषज्ञ होस् वा व्यवस्थापक, मजदुर होस् वा कर्मचारी होस, उसको अन्तिम परिणाम त उसले देश, समाज र जनतालाई दिएको सेवाको उत्कृष्ठतामा नै निर्भर हुन्छ । यदि उसको सेवाले वा कामले मानिसलाई उत्कृष्ट सेवा दिन सक्दैन भने काम पाउने अवसर पाउन पनि मुस्किल छ । पाइहाल्यो भने टिकाउन मुस्किल छ । उत्कृष्टताको कुनै विकल्प छैन । जुन कम्पनी, संस्था वा कार्यालयले अफूलाई जनताका सेवकको रूपमा हेर्छ र त्यसअनुरूप आफ्नो व्यवहार, ज्ञान र सीपलाई परिवर्तन गर्न समर्थ हुन्छ, त्यसैले नै आफूलाई उत्कृष्ट बनाउन सक्छ ।
‘हामी भलाद्मीहरूको सेवामा समर्पित भलाद्मीहरू हौँ’
सेवा बिक्रीको योग्यता कसरी तयार गर्ने भन्नेबारेमा स्टेफेन कोभेले आफ्नो पुस्तक सेभेन ह्याबिट्स् अफ हाइली इफेक्टिभ पिपुल’मा उल्लेख गरेको एउटा प्रसङ्ग म यहाँ उल्लेख गर्न चाहन्छु । कोभे एउटा सेमिनार कार्यक्रम संचालनको सिलसिलामा न्यूयोर्कको एउटा पाँचतारे होटलमा बास बस्न पुगेछन् । त्यो होटल अनेक सुविधाहरूले सम्पन्न त छँदै थियो, त्यसबाहेक एक अतिरिक्त कुरा पनि त्यहाँ थियो । हरेक व्यक्तिको छातीमा एउटा ट्याग झुन्डिएको थियो, जसमा लेखिएको थियो, ‘हामी भलाद्मीहरूको सेवामा समर्पित भलाद्मीहरू हौँ । (ध्भ बचभ तजभ नभलतझिभल तय कभचखभ तजभ नभलतझिभल)’ अनि होटलको भित्तामा टाँसिएको थियो– ‘सम्झौतारहित सेवा’ ।
स्टेफेन कोभेले हरेक कर्मचारी र कामदारको छातीमा टाँसिएको त्यो ट्याग र उनीहरूले प्रदान गर्ने उत्कृष्ट सेवा देखेपछि होटलका मुख्य व्यवस्थापकसँग भेटघाट गर्ने इच्छा गरेछन् । कर्मचारीले व्यवस्थापकसँग समय मिलाइदिए । निर्धारित समयमा व्यवस्थापक र कोभेको भेट भयो ।
कुराकानीको क्रममा कोभेले त्यस ट्यागको बारेमा मुख्य व्यवस्थापकसँग सोधे । व्यवस्थापकले सहज उत्तर दिए— “यदि मैले आफूलाई भलाद्मी ठान्छु भने यस संस्थाको सेवा पनि भलाद्मीले प्रदान गर्ने स्तरकैे हुनुपर्छ भन्ने हामीले ठान्यौँ । सबैले यसमा सहमति ग¥यौँ । हरेकले यही लक्ष्य बनाएर सेवा प्रदान गर्ने र यो ट्याग सबैले आफ्नो पोसाकमा देखिने गरी लगाउने निर्णय गरेका हौँ । यसमा हामीलाई पनि गौरव बोध हुन्छ र उत्कृष्ट सेवा प्रदान गर्न हामीलाई भित्रैबाट प्रेरित पनि गरिरहन्छ । यदि हामी यो होटलका भलाद्मी हुन चाहन्छौँ भने यस होटलमा आउने हरेक ग्राहकको सेवा एउटा भलाद्मीले गरेजसरी नै गर्नुपर्छ । नत्र हाम्रो सेवाले हामीलाई भलाद्मी बनाइरहन सक्तैन । चाहे सुरक्षाका लागि ढोकामा बस्ने गार्ड होस् वा मुख्य व्यवस्थापक, सबैको उद्देश्य यस होटलको उत्कृष्ट सेवा प्रदान गरेर ग्राहकहरूलाई सन्तुष्ट पार्नु नै हो । त्यसैमा हामी आफू भलाद्मी भएको ठान्छौँ ।”
कोभे व्यवस्थापकको उत्तरबाट अति नै प्रभावित भएछन् । अन्त्यमा उनी भन्छन्– “सेवाको मूल्यबोध गर्ने त्यही प्रेरक वाक्यकै कारण त्यस होटलले उत्कृष्ट सेवा दिन सकेको थियो । हरेक कर्मचारी उत्कृष्ट सेवा दिने प्रेरणका प्रतिमूर्ति जस्ता थिए । त्यही होटलमा मैले ‘बिनासम्झौता व्यक्तिगत सेवा’को सही अर्थ बुझेको थिएँ । संस्था होस् वा व्यक्ति, जसले सेवा बेच्छ र आफूलाई सफल बनाउने उद्देश्य राख्छ, उसका लागि उसले प्रदान गर्ने सेवाको मात्रा मात्रै महत्वपूर्ण हुँदैन, त्यसको गुणस्तर र भावना पनि महत्वपूर्ण हुन्छ ।”
बिक्रीयोग्य सेवाका आवश्यक सर्तहरू
कोही मानिसले जुनसुकै ठाउँमा काम पाउँछन् तर सँगैको अर्को मानिस अनेक ठाउँमा धाउँदा पनि काम पाउँदैन । जेनतेन अल्झिएर जीवन चलाइरहेका हुन्छ । किन यस्तो हुन्छ भनेर हेर्यो भने सेवा बेच्ने मानिसले निम्नलिखित कुरामा ध्यान पुर्याएको पाइन्छ ः
१. मानवीय मूल्यको सम्मान
मानवीय मूल्यप्रति सम्मान उत्कृष्ट सेवाको पहिलो शर्त हो । मानिस चाहे जस्तोसुकै होस् त्यसको सम्मान गर्ने भावनाले मासिलाई आफ्नो सेवामा उत्कृष्टता ल्याउन सघाउँछ । एउटा रोगी र अशक्त मानिस चाहे धनी होस् वा गरिव, जुनसुकै रंगको होस् वा वर्णको एउटा डाक्टरका लागि त्यही महत्वपूर्ण व्यक्ति हो । जो मानिस उसको अगाडि छ त्यस समयका लागि त्यही मूल्यावान् मानिस हो । त्यसको उपेक्षा गरेर अरुलाई जतिसुकै राम्रो सेवा दिए पनि मानवीय मूल्यप्रतिको वेवास्ताले त्यो डाक्टरको सेवालाई पनि हीनतर बनाइदिन्छ । उसले आफूलाई उत्कृष्ट बनाउन सक्तैन ।
एउटा व्यवसायीका लागि आफ्नो अगाडि उभिएको ग्राहक नै भगवान हो । त्यसलाई उपेक्षा गरेर अर्को ग्राहकलाई सम्मान दिन्छु, यो सम्मानलायक छैन भनेर पन्छाएर उत्कृष्ट सेवा दिन सकिँदैन । मानिसलाई, मानिसको मूल्यलाई सम्मान नगरी सेवाको बिक्रीयोग्यता बन्दैन ।
२. अधिकतम क्षमताको प्रयोग
सेवा बिक्रीको अर्को महत्वपूर्ण तत्व हो आफूले प्रदान गर्ने सेवाको मात्रा । यसको अर्थ हो, आफ्नो तर्फबाट बढीभन्दा बढी सेवा प्रदान गर्न, आफ्नो क्षमताको अधिकतम प्रयोग गर्नका लागि हरदम तयार रहनु । क्षमतालाई बढाउन र निरन्तर उत्कृष्टतातिर बढ्नका लागि आफ्नो क्षमतालाई अधिकतम रूपमा प्रयोग गर्नैपर्छ । क्षमता साँचेर राख्न सकिने बिषय होइन । जति बढी क्षमताको प्रयोग गरिन्छ त्यति नै बढी आन्तरिक क्षमता पनि विकसित हुन्छ । आफूलाई क्षमतावान् सावित गर्नका लागि मात्रात्मक रूपमा बढीभन्दा बढी सेवा दिन सधैँ तत्पर रहनै पर्दछ । यसले अझ बढी, अतिरिक्त, थप एउटा अरु आदितर्फ तपाईँलाई प्रेरित गर्नैपर्छ । क्षमताको बढीभन्दा बढी उपयोगले नै सफलता ल्याउँछ ।
३. उत्कृष्टता र गुणात्मकता
हामी जब कुनै व्यक्तिगत सेवा बिक्री गरेर धन आर्जन गर्न खोज्छौँ, त्यसलाई बजारमा बिक्री गरेर आफूलाई सफल बनाउन प्रयत्न गर्छौँ भने आफूले प्रदान गर्ने सेवा अधिकाधिक दिएर मात्रै पुग्दैन, त्यो सेवाको गुणात्मकता पनि त्यतिकै महत्वपूर्ण हुन्छ । सर्वाधिक प्रभावकारी, गुणात्मक र त्रुटिरहित सेवाको लक्ष्य नै बनाउनु आवश्यक हुन्छ । सेवा क्षेत्रमा काम गर्ने मानिसले यति भए त भइहाल्छ नि, सबैलाई यस्तो भए हुन्छ, यसभन्दा राम्रो किन चाहियो ? यस्तो भए अरू सबैलाई हुन्छ, तपाईँलाई किन नहुने ? आदि जस्ता भावना सेवाग्राहीलाई सम्प्रेषण ग¥यौँ भने हाम्रो सेवा दीर्घकालसम्म बिकिरहन सक्तैन, बिकिरह्यो भने पनि उत्कृष्ट बनेर आफूले चाहेको आर्जन गर्न सकिँदैन । छिट्टै त्यसको आयु समाप्त हुन्छ । बिनासम्झौता उत्कृष्ट र त्रुटिरहित सेवा नै हाम्रो लक्ष्य हुनुपर्छ । निरन्तर अभ्यास, अनुभव र अनुसन्धानबाट आफ्नो गुणत्मकता तिखार्दै जाने र सेवाको गुणात्मकता पनि विकसित गर्दै जाने मानिस मात्रै दीर्घकालीन रूपमा सफल भइरहन सक्छ । सफलता भन्नु गुणात्मकताको निरन्तर यात्रा हो ।
४. सेवाको भावना
सेवाको मात्रात्मक र गुणात्मकताका साथ भावनात्मक रूपमा पनि यदि व्यक्ति सेवाप्रति समर्पित हुन सकेन भने त्यसले सफलता हासिल गर्न सक्तैन । आफ्ना सहयोगी र सहकर्मीसँग पारस्परिक सहयोग, सहकार्य, विनम्रता र तालमेल मिलाएर काम गर्ने भावना भएन भने अघिल्ला गुणहरू हुँदाहुँदै पनि मानिस असफल हुन्छ । सेवाको ‘क्वान्टिटी’ र ‘क्वालिटी’ मात्रैले आफूलाई उत्कृष्ट बनाउन सकिँदैन, त्यसमा असल भावना जोड्नैपर्छ । सेवा प्रदान गर्ने काम चाहे संस्थालाई होस् वा व्यक्तिलाई तपाईँ काम गर्दा कस्तो भावनाले गर्नुहुन्छ, त्यस आधारमा नै तपाईँले पाउने सम्मान, आदर, सद्भाव अझ कतिपय बेलामा तलब, सुविधा, रोजगार अवधि पनि प्रभावित हुन्छ । आफैँभित्रबाट प्रफुल्लित र उत्साहित भएर सेवा गर्ने तर सरदर गुणवता र क्षमता भएको मानिस छ भने त्यही मानिस अधिकांश रोजगारदाताले मन पराउँछन् । राजनीति होस् वा व्यापार वा व्यवसाय, पेसा वा समाजसेवा सबैतिर भावनाको ठूलो महत्व छ ।
सकारात्मक सोच, आदर र सम्मानको भावना, सरलता र विनम्रता मानिसका यस्ता मूल्यवान् भावना हुन्, जसले सरदर क्षमताको र सरदर गुणात्मकताको मानिसलाई पनि सफलताको शिखरमा पु¥याइदिन सक्छन् । सेवाको मात्रात्मक र गुणात्मक पक्षमा भएका कमिकमजोरीलाई पनि भावनात्मक पक्ष प्रबल भएको अवस्थामा क्षतिपूर्ति प्राप्त हुन सक्छ । असल भावनाको स्थान अरू कुनै कुराले भरपाई गर्न सक्तैनन् ।
सेवा बिक्रीको तयारी कसरी गर्ने ?
गाउँबाट सहर पसेर रोजगारीको खोजी गर्ने व्यक्ति होस् वा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको स्नातक, कुनै सीपमा दक्ष भएको व्यावसायिक व्यक्ति होस् वा पेसा व्यवसाय सुरु गर्ने अवसर खोजिरहेको साधारण मानिस, सबै आआफ्नो इच्छाअनुसारको काममा संलग्न हुन चाहन्छन् । विदेशमा गएर पनि आफूले चाहेजस्तो काम नै गर्न चाहन्छन् । आफैँले चाहे जस्तो भइदेओस् भन्ने सबैको चाहना हुन्छ, तर कतिपयले त्यस्तो काम पाएर पनि आफूलाई योग्य साबित गर्न सक्तैनन् । कसरी आफूले चाहेको काम प्राप्त गर्ने ? केही सूत्रहरूबारे सङ्क्षेपमा चर्चा गरौँ ।
१. सर्वप्रथम आफूले काम गर्न चाहेको काम वा पेसा पत्ता लगाउनुहोस् । बजारमा आफूले चाहे जस्तो काम पाउने सम्भावना छ, छैन खोजी गर्नुहोस् । त्यस्ता संघसंस्था, कार्यालय, काम, उद्यम पहिचान गर्नुहोस् ।
२. आफूले गर्न चाहेको काम मिल्ने संस्था वा कम्पनी चुन्नुहोस् । त्यसमा उपलब्ध काम, अवसर, त्यसमा काम पाउन आवश्यक पर्ने योग्यता, नीतिनियम, भविष्यमा प्रगति र उन्नतिका सम्भावना आदिबारे गहिरो अध्ययन गर्नुहोस् ।
३. बुँदा नं. २ मा उल्लिखित कुराहरूको अध्ययन गरिसकेपछि आफूसँग त्यस कामका लागि आवश्यक पर्ने ज्ञान, सीप, क्षमता, दक्षता र भावना छ, छैन विश्लेषण गर्नुहोस् । तपाईँले त्यस संस्थामा काम पाउनुभयो भने के गर्न सक्नुहुन्छ त्यसको लेखाजोखा गर्नुहोस् । आफूसँगको क्षमता, दक्षता र योग्यताका आधारमा त्यस संस्थालाई फाइदा पु¥याउने के सेवा, विचार, सीप वा सल्लाह दिन सक्नुहुन्छ त्यसको सूची बनाउनुहोस् ।
४. त्यस्ता संस्थामा तपाईँले नोकरी गर्न पाउनुहुन्छ वा हुन्न भन्ने कुरालाई दिमागमा आउन नदिई तपाईँ यस संस्थामा काम गर्ने अवसर पाउँदा के दिन सक्नुहुन्छ ? त्यसमा आफूलाई एकाग्र गर्नुहोस् र त्यसको प्रभावशाली योजना बनाउनुहोस् । योजना बनाउने सीपका लागि कुनै अनुभवी विज्ञ व्यक्तिको सल्लाह लिनुहोस् । त्यसको विस्तृत खाका तयार पार्नुहोस् ।
५. अब आफूले तयार पारेको योजना, जिम्मेवार र सही व्यक्ति छनोट गरेर प्रस्तुत गर्नुहोस् । हरेक संस्था, कम्पनी, अफिस यस्तो उपयोगी काम गर्ने भावनाले भरिएको मानिसको खोजीमा रहिरहेकै हुन्छन् । निश्चित कार्ययोजनाबिनाको हावादारी विचारले कुनै काम बन्दैन । चाहनालाई योजनामा रूपान्तरण गर्ने क्षमता भएका मानिसहरू ज्यादै कम हुन्छन् । हरेक संस्थालाई यस्ता योजनामूलक व्यक्तिको जहिले पनि खाँचो रहेको हुन्छ ।
जब माथिका पाँच चरणमा तपाईँले आफ्नो तयारी गरेर निरन्तर हिम्मत, जोस र उत्साहका साथ लागिरहनुहुन्छ, तब केही हप्ता, महिना अतिरिक्त समय लाग्ला तर काम पाउने सम्भावना भने निश्चित हुन्छ । तपाईँको तयारीले भावी दिनमा हुने तपाईँको प्रगति र लाग्ने समय दुवैलाई बचाउनेछ । योजनाविहीन मानिसहरूको भीडमा योजनावाला व्यक्ति सहजै भीड छिचोलेर अघि बढ्न समर्थ हुन्छ ।
जीवन दर्शन मासिकमा प्रकाशित 

वैवाहिक जीवनको व्यवस्थापन

विवाहले मानिसको आफ्नो अधिकारका साथसाथै जिम्मेवारीलाई पनि दुईगुणा बढाइदिन्छ ।
                                                                                                                     –सोपेनहावर ।
एउटा विवाहित जोडीले विवाहको पच्चीसौँ वार्षिकोत्सव भव्य रुपमा मनाउने उद्देश्यले आफ्ना नजिकका साथीहरु र नातेदार बोलाएर भव्य पार्टी आयोजना गरेछन् । पार्टीमा आएको एकजना साथीले श्रमिान् चाहिँलाई सोधेछ– “यार, तैँले एउटै श्रीमतीसँग कसरी पच्चीस वर्ष बिताइस् हँ ?”
साथीले जवाफ दिएछ– “म कहाँ एउटै श्रमितीसँग पच्चीस वर्ष गुजार्न सक्छु, म त दिनदिनै नयाँ श्रीमतीसँग पो हुन्छु त !”
साथीले आश्चर्य मानेछ र फेरि सोधेछ– “दिनदिनै नयाँनयाँ श्रमिती कसरी पाउँछस् हँ तैँले ? मैले त भर्खर तीनओटी मात्रै पाएको छु ।”
जवाफ दिने साथी मज्जाले हाँसेछ र भनेछ– “यार, मेरी श्रीमतीलाई म सधैँ नयाँ देख्छु । ऊ हिजोजस्ती आज हुन्न, अनि आजजस्ती भोलि हुन्न । मेरी श्रीमती बिहान उठ्ता अर्कै हुन्छे, दिउँसो अर्कै अनि बेलुका फेरि अर्कै । हरेक दिन नयाँ देख्छु म उसलाई । नयाँनयाँ श्रीमतीसँग दिन बिताउन पाएपछि अर्की किन खोज्नु ?”
यो सम्बादले हामीलाई के सिकाउँछ ? जीवनलाई हेर्ने दृष्टिकोण र सम्बन्धलाई टिकाउने कला । हामी व्यक्तिगत, वैवाहिक वा सामाजिक सम्बन्धलाई कसरी हेर्छोँ, हाम्रो सम्बन्ध पनि त्यस्तै बन्छ ।
हामी सामाजिक रुपले पुरातन र आधुनिक समाजको संक्रमणबाट गुज्रिरहेका छौँ । पुराना संस्कार, शैली र पद्धतीहरु हामीलाई वाहियात लाग्न थालेका छन्, नयाँको खोजी गरिरहेका छौँ तर त्यसलाई आत्मसात गर्ने मानसिक बुद्धिमत्ता र चरित्र भने हामीसँग विकास भइसकेको छैन । सामाजिक परिवेश पनि त्यसरी फड्को मार्न सकिरहेको छैन । त्यसैले हामी संक्रमणकालीन संस्कृतिबाट अघि बढिरहेका छौँ ।
विवाह, परिवार, सामाजिकता, मान्यजनप्रतिको सेवा र आदरभाव सबैतिर हामी यही संक्रमण अनुभव गरिरहेका छौँ, पुरानालाई छोड्न खोजेको तर छोडिनसकेको ।
विवाहको अवस्था पनि त्यस्तै छ हाम्रो समाजमा । मागी विवाहले क्रमशः प्रेमविवाहतिर पाइलो सार्दैछ । विवाहका लागि युवायुवतीहरु बढी स्वन्त्रता खोज्दैछन् । बाबुआमाले केटा वा केटी खोजेर विवाह गरिदिने चलनभन्दा आफैँ रोज्ने चलन बढिरहेको छ । तर त्यसको व्यवस्थापन ठीकसँग नहुँदा अनेकन समस्याहरु पनि सिर्जना भएका छन् । त्यसलाई कसरी व्यवस्थापन गर्ने त ? आउनुस् यसबारेमा छोटो चर्चा गरौँ ।
विवाहको प्रभाव ठीकसँग बुझौँ
अपवाद बाहेक संसारमा जन्मेका अधिकांश मानिस वैवाहिक जीवनमा बाँधिन चाहन्छन् । वैवाहिक जीवनमा बाँधिएर जोडी बन्नु, सन्तान जन्माउनु र पारिवारिकताको आनन्द लिनु सामान्य जीवनशैलीको परिचायक मानिन्छ । व्यक्तिगत जीवनको सफलता र असफलताका लागि पनि विवाह आवश्यक ठानिन्छ । यसले जीवनको सफलता र असफलतामा  ठूलो भूमिका खेल्दछ । आफ्नो चाहना, भावना र जीवनशैली मिल्ने जीवनसाथी पाउनु वा मिल्नु हरेक सफलतम व्यक्तिको जीवनमा देखिने सफलताको प्रमुख कारक तत्व रहेको देखिन्छ ।
विवाहपछिको जीवन व्यक्तिको एकल र व्यक्तिगन जीवन मात्र नभएर त्यसले एक संस्थाको रुप लिन्छ । त्यसै भएकाले विवाहपछि दुवैजनामा एकअर्काप्रति विकसित हुने प्रेम, समर्पण, विश्वास, आपसी सरसहयोग आदि जस्ता कुराहरुले नै एकअर्काको जीवनमा प्राप्त हुने सफलता निश्चित हुन्छ ।
विवाहपछिको पारिवारिक जीवनमा असफलता, असन्तुष्टि र असहयोग पाएको मानिस सफल हुने सम्भावना निकै नै कम हुन्छ । त्यसैले विवाह गर्नु भनेको जीवनलाई एक मोडबाट अर्को मोडतर्फको यात्रामा लैजानु हो । जीवनलाई संस्थागत गर्नु हो ।
समग्र संसारको एक सानो प्रतिरुप हो परिवार । प्रिन्सेस डायना भन्छिन्– संसारको सबभन्दा महत्वपूर्ण कुरा हो परिवार । संसारका मानिसहरुमा हुने विचार, भावना, समस्या, प्रतिरोध, अवसर सबै साना वा ठूला रुपमा हरेकको परिवारिक जीवनमा आउने गर्दछन् । परिवार मानिसको जीवनमा आवश्यक पनि छ तर त्यसको स्वरुपको पूर्णचित्र मनमा नल्याई गरिने विवाहले भने हाम्रो जीवनको खुसी र आनन्दलाई नै टाढा धकेलिदिन्छ । माथि उल्लेखित सोपेनहावरको भनाइ मननीय छ । त्यो कुरा नबुझीकन बिना तयारी गरिने विवाहले जीवन बोझिलो हुन्छ, आनन्द, प्रेम र सन्तुष्टि दि“दैन ।
नेपाली समाजमा अधिकांश युवाहरुको विवाह अभिभावकको चाहना र प्राथमिकता अनुरुप हुने गरेको छ । विवाह के हो ? यो के का लागि गरिन्छ ? मलाई कस्तो जीवनसाथी आवश्यक छ ? जीवनसाथी र परिवार के हो ? विवाह पछिको मेरो ‘करिअर’ मा यसले के फरक पार्दछ ? विवाहपछिका मेरा दायित्व र कर्तव्यहरु कस्ताकस्ता हुन्छन् ? यसले जीवनको सफलता र आनन्दमा के कसरी असर पार्दछ भन्ने जस्ता प्रश्नहरुको मनन नै नगरी लहडको भरमा,  अरmको सल्लाह र प्राथमिकतामा वा यौनको भावनात्मक आवेगको अवस्थामा छनोट गरिएको साथी र गरिएको विवाहले धेरै युवाहरुको वैवाहिक जीवन धरापमा परेको, जीवन अलमलिएको र तनावका कारण पारिवारिक हिंसा बढाउने गरेको पाइन्छ ।
प्रेम विवाह होस् वा आयोजित विवाह जुनसुकै विवाह गरे पनि यी माथि चर्चा गरिएका प्रश्नहरुमा मन्थन गरेर र छनोटका उचित विकल्पहरुमा ध्यान दिएर विवाह गरिएको छ भने त्यसले विवाहपछिको जीवनलाई सकारात्मक ऊर्जा दिन सक्दछ । यी कुराहरु विचार नै नगरी गरिएको विवाहले जीवनमा चाहेको र पाएकोमा फरक ल्याउँछ र वैवाहिक जीवन एक प्रकारले बोझ बन्दै जान्छ । समान किसिमको मानसिकता, भावना र चिन्तन प्रणाली भएका जोडीहरुको विवाहपछिको जीवन बढी ऊर्जावान् र सफल भएको पाइन्छ भने  त्यो विचार नगरी गरिएको विवाहले विवाहपछिको पारिवारिक जीवन नै धरापमा परेको र चले पनि निकै अफ्ठ्यारोस“ग चल्ने गरेको देखिन्छ ।
विश्वका अधिकांश सफल पुरmषहरुको जीवनलाई हेर्ने हो भने उनीहरुको सफलताको पछाडि प्रेमपूर्ण महिलाहरुको हात रहेको देखिन्छ । महिला छिन् भने पुरmषको सकारात्मक सहयोग र भावनात्मक एकताका कारणले उसले त्यो सफलता हासिल गरेको पाइन्छ । त्यो प्रेरणादायक व्यक्ति यदि जीवनसाथी नै छ भने त झनै प्रगति र उन्नतिको ऊर्जा शक्तिशाली हुने गरेको पाइन्छ । त्यसैले एउटा भनाइ पनि छ– सफलताको सुरmआत आफ्नै परिवारबाट हुन्छ । जो व्यक्ति आफ्नो परिवारमा सफल हुन सकेको छैन त्यो व्यक्ति समाज, देश र संसारमा सफल हुने कमै सम्भावना हुन्छ । जो परिवारमै असफल छन् ती व्यक्तिहरु बाहिर पनि सफल हुन सक्दैनन् । त्यसैले पप जोन पल द्वितीय भन्छन्– जसरी परिवार चल्दछ त्यसरी नै देश चल्दछ, जसरी देश चल्दछ त्यसरी नै हामी बा“चेको संसार चल्दछ ।  
त्यसैले विवाह युवावस्थाको एउटा सामाजिक कार्य मात्र होइन यो आफ्नो व्यक्तित्व निर्माणको, जीवन विकासको, सफलताको र छनोटको स्वतन्त्रताको मानवीय शक्तिलाई चिन्ने र सही उपयोग गर्ने महत्वपूर्ण अवसर पनि हो । त्यसमा उचित विकल्पको छनोट गर्ने आफ्नो शक्ति चिन्न ढिलो ग¥यौ“ वा अरm कसैको प्रभाव र सल्लाहमा परी आफूभित्रको छनोटको स्वतन्त्रतालाई बेवास्ता ग¥यौ“ भने त्यसले हाम्रो जीवनलाई नराम्ररी असफलता, तनाव र छटपटीमा पु¥याइदिन्छ ।
किन दुर्घटित हुन्छ वैवाहिक जीवन ?
प्रायजसो विवाहित जोडीको एउटै गुनासो हुने गर्छ– उसले मलाई वास्तै गर्दैन÷गर्दिनँ । मलाई माया गर्दैन÷गर्दिनँ । मेरो कुरा सुनवाइ नै हुँदैन । भनेको मान्ने भए पो ! आदि । के ले ल्याउँछ हामीभित्र यो अवस्था । यो त्यसै त आउँदैन । प्रेम गरेर वर्षौँसम्म अनेक पार्क र रेष्टुराँमा धाएपछि विवाहित जोडी भएकाहरुमा पनि यो असन्तुष्टि देखिन्छ । किन नबुझेका त्यतिका वर्षसम्म आफूले प्रेम गरेको मानिसलाई ?
यसमा सबैभन्दा प्रमुख हात हुन्छ हामीभित्रका अपेक्षा र अहङ्कारको । अपेक्षाहरुले नजानिँदो हिसाबले हामीलाई तनावमा पु¥याउँछन् भने अहङ्कारले त्यसलाई मलजल पु¥याउँछ ।
विवाह गर्दा सामान्यत पुरुषहरुले आफ्नो आर्थिक अवस्थामिल्ने घरानाका केटीहरु खोज्ने अझ पाएसम्म त माथिल्लो आर्थिक अवस्था भएका परिवारकी छोरी खोज्ने, केटीहरुले पनि आफू सुखसँग खानलाउन पाउने परिवार र पदको मानिस खोज्ने गरेको देखिन्छ । विवाहका लागि वरबधु खोज्दा स्वभाव, जीवनशैली, आचरण, मानवीय सम्बन्ध र व्यवहारको कलाजस्ता कुरालाई भन्दा हामीले आर्थिक हैसियत, पद, प्रतिष्ठा वा शिक्षाको कसीमा राखेर तौलिन्छौँ । जीवन आर्थिक पक्षभन्दा भावनात्मक पक्ष र सम्बनधको कलाबाट बढी आनन्दित हुन्छ भन्ने चाहिँ हामी बिर्सन्छौँ । असल सम्बन्धका लागि घराना, आर्थिक अवस्था होइन चरित्र र बानीव्यहोरा महत्वपूर्ण हुन्छ ।
खाने र लाउने अनि यौन चाहना पूरागर्ने इच्छा मानिसको आधारतलका इच्छा हुन्, प्रथम कोटीका । यो चेतना पशुहरुमा पनि हुन्छ । त्यसैले यसलाई हामी पशुवत् चेतना वा आधारतहको चेतना भन्न सक्छौँ । त्यो आवश्यकता पूरा हुनासाथ मानिसले शक्ति, प्रेम, प्रतिष्ठा, सम्मानभाव, ज्ञान र आनन्द खोज्न थाल्छ । जब उसलाई आर्थिक आँखाले मात्र हेरिन्छ तब ती कुनै पनि कुरा पूरा हुँदैनन् । राम्रो साडी र राम्रो गाडीले दम्पतीबीचमा हुने प्रेमपूर्ण सम्बन्ध र सम्मानभावको क्षतिपूर्ति कहिल्यै गर्न सक्दैन । राम्रो गाडी, साडी र आलिसान बंगलाभन्दा प्रेमपूर्ण र सरदर जीवनको स्वादमा रमाउन चाहन्छन् दम्पतीहरु ।
यसरी मानसिक रुपमा माथिल्लो चाहना बढ्दै गएपछि भावनात्मक चित्तवृत्तिको गुणस्तर पनि बदलिनु पर्छ, गुणस्तर बढ्दा मानिस सन्तुष्ट र आनन्दित हुन्छ, गुणस्तर घट्दा निराश र असन्तुष्ट हुन्छ । इच्छा। चाहना र चरित्र मिल्ने जोडी बाँध्न सकियो भने विवाहले हरेक दम्पतीलाई नयाँ उर्जा प्रादन गर्छ । त्यसैले जोडी छान्दा नै ध्यान पु¥याउन सकिएन भने वैवाहिक जीवन कहिल्यै पनि प्रेमपूर्ण र मायालु हुन सक्तैन ।
कसरी छान्ने मिल्दो र असल जोडी ?
तपाईँले कुनै मानिससँग भेट हुँदा अझै केहीबेर बसौँ वा निकैबेर कुराकानी गरौँ भन्ने लागेको अनि कोहीसँग भेट हुँदा भने कतिखेर हिँडौँ जस्तो लागेको अनुभव गर्नुभएको हुनुपर्छ । किन यसो हुन्छ ? किनभने त्यो मानिससँग तपाईँको चेतना र चरित्रसँग मेल वा बेमेल हुन्छ । तपाईँसँग जुन चरित्र, भाव र भावना छ त्यही प्रकृतिको मानिस भेटियो भने तपाईँ रमाउनुहुन्छ, त्यही प्रकृतिको भाव र भावना रहेनछ भने टाढिनुहुन्छ ।
भाव र भावना आत्मतत्वसँग गाँसिएको हुन्छ । हामी एक्कासि यस धरतीमा जन्मेका होइनौँ । हामीभित्रको सूक्ष्म चैतन्यले धेरैपटक यस पृथ्वीमा रहेका जीवहरुको शरीरमा रहेर आफ्नो काम गरेको थियो । केही इच्छा राखेको थियो । कति पूरा भएका थिए कति पूरा भएका थिएनन् । त्यही पूरा नभएका पूर्वइच्छाका कारण हामी यस धरतीमा फेरि यो शरीर धारण गरेर जन्म लिएका हौँ । हाम्रो जन्मको निश्चित कारण छ र लक्ष्य पनि निश्चित छ । त्यही पूरा गर्न हामी लागिरहन्छौँ, सहयोगी र परिवेशको खोजी गरिरहन्छौँ । त्यो पायौँ भने सन्तुष्ट हुन्छौँ नपाउँदा असन्तुष्ट हुन्छौँ ।
वैवाहिक जोडी पनि त्यही भाव र भावना भएकाहरुसँग गाँसियो भने सन्तुष्ट हुन्छ भएन भने असन्तुष्ट हुन्छ । अनेक तर्क, बुद्धि र गणितका आधारमा जबर्जस्ती सम्बन्ध जोड्यौँ वा यौनको आवेगमा राम्री वा राम्रो देखेर यौनेच्छा र पारिवारिक चापमा परेर विवाहमा बाँधियौँ भने वैवाहिक जीवन असन्तुष्टीले ग्रस्त हुन्छ ।
विवाहको तयारीको अवस्था नै सफल पारिवारिक जीवनको कोसेढुंगा हो । त्यही बेला नै विचार पु¥याउनु पर्छ धेरै कुरामा । विवाह भइसकेपछि ध्यान दिनुपर्छ आफ्नो व्यक्तित्वको परिष्कारमा र आपसी संचार कलामा । जब विवाहको तयारी गछौँ र केटा वा केटी हेराहेर गर्छौँ त्यतिबेला तपाईँले झलक्क हेर्दा भित्रैदेखि त्यो केटा वा केटीलाई मन पराउनु भयो कि भएन ? मन पराउनु भयो भने त्यो मानिसमा के देखेर मन पराउनु भयो ? तपाईँभित्र त्यतिबेला कस्तो भावना थियो ? यस्ता कुरा विचारणीय हुन्छन् । यदि झलक्क हेर्दा दुवैजनाले एकअर्कालाई हृदयदेखि नै मन पराउनु भयो भने त्यो जोडी सफल दम्पती बन्ने सम्भावना बढी हुन्छ तर घरपरिवार, नातागोताको सम्झाइबुझाइका आधारमा चित्त बुझाएर विवाह गरिएको हो भने त्यो जोडी अवस्य पनि समस्यामा पर्छ । कुनै न कुनै असन्तुष्टी लिएर बाँच्न बाध्य हुन्छन् उनीहरु ।
विवाहपछिको व्यवस्थापन कला
विवाह त भइसक्यो, जोडी बनिसकियो, एकअर्कालाई सम्बन्धमा गाँसिसकियो । अब मन नमिले पनि मिलाउनु पर्ने हुन्छ । कसरी मिलाउने त मन ? त्यसमा प्रमुख बनेर आउँछ तपाईँको व्यक्तित्व । व्यक्तित्व भनेको तपाईँभित्र भएको चरित्रको प्रकटित रुप हो । कस्तो चरित्र छ त्यस्तै रुप प्रकट हुन्छ बाहिर । त्यसलाई सचेत प्रयासले बदल्न सकिन्छ । त्यसका लागि पहिले आवश्यक छ आफूलाई चिन्नु । कसरी चिन्ने त आफूलाई ? चिनेपछि कसरी व्यवस्थित गर्ने ?
कुनै मानिस हामीलाई अहङ्कारीजस्तो लाग्छ, भन्छौँ, कस्तो मानिस रहेछ, अरुको कुरै सुन्दैन । त्यसैगरी अर्काथरि मानिसलाई हामी भन्छौं – कस्तो मानिस रहेछ खालि अरुलाई मात्रै गल्ती देखाउँछ आफ्नो गल्ती त देख्दैदेख्दैन । यस्तो भनाइबाट हामी व्यक्ति व्यक्तिको मूल्यांकन गर्दछौं, उसलाई एउटा स्वरुप दिन्छौं उसको व्यक्तित्वको । मानिसको अनुहार हेरेर होइन उसको बानीव्यहोराबाट उसको स्वरुप निर्धारण गर्ने गर्दछौंँ कि यो मानिस रिसाहा छ, यो मानिस दयालु छ, यो मानिस लोभी छ आदि आदि ।
त्यसरी प्रकट हुने उसको जुन स्वरुप छ त्यो त्यसै आउँदैन । त्यसलाई प्रकट गर्ने वा त्यस्तो स्वरुप बनाउन प्रेरित गर्ने कुनै तत्व मानिसभित्र छ जसले बारम्बार रिसाउन प्रेरित गर्दछ, अर्कालाई होच्याउन प्रेरित गर्दछ, अर्कालाई अधिनस्थ राख्न प्रेरित गर्दछ, आफूले नै सबै कुरा जानेको छु भनेर घमण्ड प्रदर्शन गर्नका लागि प्रेरित गर्दछ ।
यसरी प्रेरित गरेर मानिसको मनभित्र रहेको जुन तत्व छ त्यसलाई हामी ‘भूत’ भन्न सक्दछौं । त्यही भूतले हामीलाई बारम्बार रिसमा लैजान्छ, घमण्डमा लैजान्छ, आलोचनामा लैजान्छ, सिकायतमा लैजान्छ । व्यक्तित्वलाई नकारात्मक बनाइ दिन्छ । सकारात्मक व्यक्तित्व विकास गर्न दिँदैन । भित्रभित्रै अहङ्कार सिर्जना गर्दछ । त्यही अहङ्कारमा चोट लाग्दा क्रोधको रुपमा प्रकट हुन्छ । एकपटक होइन बारम्बार प्रकट हुन्छ । त्यसैले क्रोध मानिसको व्यक्तित्वको एक अभिन्न अंग हो, यसलाई व्यवस्थापन गर्न सकियो भने हाम्रो जीवनका ९० प्रतिशत समस्याहरु समाधान हुन्छन्, व्यवस्थापन गर्न सकिएन भने यसले मैत्री समाप्त पारिदिन्छ, बैमनस्यता ल्याउँछ, द्वेष ल्याउँछ र जीवन नै एक प्रकारले समाप्त हुन्छ ।
मानिसको अहङ्कार कसरी अभिव्यक्त हुन्छ र त्यसका लागि मानिस भित्र के कस्ता भूतहरु हुन्छन् भन्ने जान्नका लागि तलका वाक्यालाई गम्भीरतापूर्वक नियालौँ ।
व्यक्तित्व क                                                      व्यक्तित्व ख
म सही छु ।                                                       तिमी सही छौनौ ।
 म पकडमा राख्नेछु ।                                          तिमीले पकडमा राख्न सक्दैनौ ।
 म नियन्त्रण गर्नेछु ।                                         तिमीले नियन्त्रण गर्न सक्दैनौ ।
 म तर्कसंगत छु ।                                               तिमी तर्कसंगत छैनौ ।

एकथरि मानिसहरु अरुलाई दोषी देख्छन् अर्काथरि आफूलाई ठीक देख्छन् । दुवै भूत हुन् मानिसका । तपाईं आफूलाई सही ठान्नुहुन्छ भने तपाईं क वर्गमा पर्नुहुन्छ, अरुलाई गलत देख्नुहुन्छ भने ख वर्गमा पर्नुहुन्छ । दुवै व्यक्तित्वको भूतको प्रथम रुप सुरु वाक्यबाट हुन्छ  र अन्त हुन्छ अन्तिम वाक्यमा । 
जसरी भूतले मानिसलाई तर्साइरहन्छ ठीक त्यसरी नै यी भूतहरुले मानिसलाई तर्साउने प्रयास गरिरहन्छन् । हरेक मानिस भित्र यी भूतहरु छन् । हामीभित्र के कस्ता भूतहरु छन् र यी कसरी प्रकटित हुन्छन् भन्ने बुझ्न सकियो भने तिनलाई व्यवस्थित गर्न सकिन्छ । कसैले यिनलाई थाहा पाएर व्यवस्थित गरेका छन् कोही थाहै नपाई बेहाशी मै आफ्नो जीवन बिताइरहेका छन् । जो बेहोशमा छन् तिनको वैवाहिक जीवन भनेजस्तो हुन सकेको छैन, दुर्घटित भएको छ । त्यसैले आफूलाई होशपूर्ण बनाइराख्न र त्यसलाई सन्तुलनमा ल्याई आफूभित्र सकारात्मक उर्जाको विकास गर्नका लागि आफूभित्र क वा ख कुन वर्गका भूतहरु छन् भन्ने जान्न जरुरी छ ।
मानिसभित्रका यी भूतहरुले कसरी काम गर्दछन् भन्ने जान्नका लागि साह्रै सटिक उदाहरण हो– महाभारतको युद्ध । महाभारतको युद्ध हामी सबैलाई थाहा छ । आज पनि त्यस युद्धलाई संसारले बुझिरहेको छ, पढिरहेको छ, हेरिरहेको छ । त्यत्रा विद्वानहरु भएको ठाउँमा त्यत्रो ठूलो नरसंहारक युद्ध भड्कियो, १८ अक्षौहिणी फौज, त्यतिकै मात्रामा अन्य जीवजन्तु, घोडा, हात्ति आदि मारिए ।
अहङ्कारको यो भूत सबैको हृदयमा छ । व्यक्तिले आफूभित्र यो भूत छ र यसले मलाई बाधा गरेको छ भनेर गम्भीर रुपमा महसुस नगरेसम्म भूतले सताइरहन्छ । मान्नेवाला छैन । सारा संसारका मानिसहरु यसमा जागरुक छैनन् र यही कारण दुःख, पीडा र हीनताले ग्रस्त भएको छ जीवन । म भित्रको भूत के हो र यसले मलाई कसरी दुख दिइरहेको छ भन्ने जान्नासाथ अहङ्कार पग्लन्छ, गल्छ र नाश हुन्छ । जबसम्म आफूभित्रको भूतबारे हामीलाई जानकारी हुँदैन, हामी बेहोसीमा नै हिँडिरहेका हुन्छौं । बेहोशीमा नै काम गर्दछौं । त्यसले पैसा, परिवार, प्रतिष्ठा सबै सखाफ पारिदिन्छ ।
दैनिक जीवनमा भूतको अभिव्यक्ति 
श्रीमान्श्रीमती बीचको झगडाले हानी गर्दछ, कार्यालयमा कर्माचारी र हाकिम बीचको झगडाले हानि गर्दछ, राजनीतिका नेताहरुको झगडाले देशलाई हानि गर्दछ, यसले कसैलाई फाइदा पुग्दनै, जोजो झगडामा सहभागी हुन्छन् सबैलाई दुःख मात्र हुन्छ, यो सबैलाई थाहा छ । तर के गर्नु झगडा नगरौँ जस्तो लाग्दैलाग्दैन । सम्मान गर्नु राम्रो हो जानेको छ तर सम्मान गर्न मन लाग्दैलाग्दैन । यही हो अहङ्कार ।
जब अहङ्कार तपाईँको व्यक्तित्वको एक अभिन्न अंग बन्दछ, प्रगतिको बाटोमा तगारो लाग्न शुरु हुनथाल्छ । उदाहरण्का लागि तपाईँमा म जान्दछु भन्ने भूत छ भने अब जान्ने कुरा प्रति तपाईँको ध्यान जाने कुरै भएन, तपाईँले नजानेको कुरा जान्नबाट तपाई बञ्चित हुनुभयो । नयाँ नयाँ कुरा जानेर जीवनलाई नयाँ उचाइमा पु¥याउने सम्भावनाको ढोका त्यहीँ बन्द भयो । यो कुरा जति चाँडो हामी बुझ्छौं र आफूभित्रको भूतलाई चिन्दछौं त्यति नै छिटो जीवनको प्रगतिको यात्रा सहज हुन्छ र विकसित हुन सकिन्छ ।
भूतको व्यवस्थापन गर्ने केही तरिकाहरु
१. सर्वप्रथम आफ्नो भूतको रुप ‘क’ वर्गमा पर्दछ कि ‘ख’ वर्गमा पर्दछ सो पहिल्याउने ।
२. हाकिमलाई हाकिमको स्थान दिनुहोस् (इदभथ तजभ दयकक बक ब दयकक० । तपाईँ परिवारको सदस्य हुनुहुन्छ, परिवारको अर्को सदस्यले कुनै काम गर्दैछ,  तपाईँको विचारमा त्यो सही छैन भने तपार्इँ उसलाई सल्लाह दिनुहोस् तर सही वा गलतको तर्कमा नफस्नुहोस् । परिणाम बुझेपछि मात्रै मानिस सजग हुन्छ । घरभित्रको काममा प्राय महिलाहरु निर्णयक हुन चाहन्छन्, पुरुषले अनावश्यक हस्तक्षेप गरेको सहन गर्न सक्तैनन्, यो कुरा बुझेर महिलालाई घरको हाकिम मान्नुहोस् र सहयोग गर्नुहोस् ।
बाहिरका काममा लागेका पुरुषहरुलाई महिलाहरुले सल्लाह र सहयोग दिनुहोस् तर उसको काम मैले भनेजसरी नै हुनुपर्छ भनेर अड्डी नलिनुहोस् । अनावश्यक शंका नगर्नुहोस् । शंकाले लंका डढाउँछ । अधिकांश वैवाहिक दुर्घटना शंकाकारण हुने गरेका छन् । नचाहिँदा कामको परिणाम व्यक्ति आफैँले भोग्नुपर्छ भन्ने ठान्नुहोस् । यसले व्यक्तिलाई आ–आफ्नो स्वतन्त्रताको अनुभूति दिन्छ र स्वतः व्यक्तित्वको टक्कराव घटाइदिन्छ । केही समयपछि त्यसको प्रतिक्रिया हेर्नुहोस्, अवश्य सकारात्मक पाउनुहुनेछ । घरमा, अफिसमा, सडकमा, सानो काममा, ठूलो काममा सबै ठाउँमा यो लागू हुन्छ । हाकिमका रुपहरु फरक हुन सक्छन्, तर त्यसको अन्तरवस्तु एउटै हुन्छ । हाकिमलाई हाकिमको रुपमा पालना र सम्मान गर्ने गर्नुहोस् तपार्इंभन्दा जान्ने वा नजान्नेका रुपमा होइन ।
३. आफ्नो औकात मनन गर्नेहोस् र त्यस अनुसार काम गर्नुहोस् । हरेक पलमा शिक्षा ग्रहण गर्नुहोस् । मभित्र कमजोरी छ भन्ने जान्नासाथ कमजोरी हटाउनेतर्फ प्रयत्न शुरु गरिहाल्नुहोस् । यसमा आलोचना, तुच्छ देखाउने र अवसर हेरेर बस्ने प्रवृतिले मानिसलाई तत्काल शिक्षा ग्रहणमा बाधा दिने गर्दछन् । यसलाई गहिरोसँग मनन गर्नुहोस् ।
४. शिल र सम्मान अर्को महत्वपूर्ण सूत्र हो । नरम बोल्ने र सबैलाई सम्मान गर्ने कलाले सधँै राम्रो परिणाम ल्याउँछ । घरपरिवार, कार्यालय, संघसंस्था जहाँ पनि सम्मान गर्ने बानीले तपाईँलाई उँचो बनाउँछ, होचो कहिल्यै बनाउँदैन ।
५. गल्ती महसुस गर्ने बानी बसाल्नुहोस् । गल्ती गरेको थाहा पाउनासाथ माफी मागिहाल्नुहोस् । अरुले तपाईंलाई ठूलो नठाने तपाईं कहिल्यै ठूलो हुन सक्नुहुन्न भन्ने ख्याल गर्नुहोस् । आफूलाई कसैले सम्मान गरोस् भन्ने ठान्नुहुन्छ भने आफूले बढीभन्दा बढी सम्मान दिन सिक्नुहोस् । आफूलाई सामान्य मानिस मात्रको रुपमा जहिले पनि सम्झिराख्नुहोस् । तपार्इं हाकिम, अभिभावक, कुनै पदाधिकारी, विशेषज्ञ जे हो त्यो मान्नेहरुका कारणले भएको हो नत्र त तपाईँ एउटा सामान्य मानिस मात्रै हो भन्ने भावना कायम राखिराख्नुहोस् । यसले तपाईँमा विनम्रता र भद्रताको विकास हुन्छ नत्र अहङ्कारको भूतले दुर्घटना ल्याउन सक्दछ ।
हरेकसँग भूत छ, तर भूत छ भन्ने कुराप्रतिको सजगताले जीवनमा प्रज्ञा खुल्दछ, जीवन जगमग हुन्छ, यदि आफ्नो भूत प्रति सजग हुन सकिएन भने आफूलाई प्राप्त हुने सफलताको द्वार पनि बन्द हुन्छ । जीवनमा उचाइ चढ्ने उर्जा अहङ्कारको भूतले स्वात्तै निलिदिन्छ । त्यसैले आफ्नो भूत थाहा पाइरहने हरपल, हरक्षण थाहा पाउने । काम गर्दा थाहा पाउने, हिँड्दा थाहा पाउने, कुरा गर्दा थाहा पाउने, बाहिर, भित्र जहाँसुकै रहँदा थाहा पाउने बारम्बार, बारम्बार थाहा पाइरहने । यसले भूतलाई व्यवस्थापन गर्न मद्दत गर्दछ ।  भूतलाई व्यवस्थापन गर्न सकियो भने जीवनमा न तनाव हुन्छ न असफलता र गुनासो रहन्छ । यी सबै भूतका खेल हुन् । 
 जीवन दर्शन अंक ४ मा प्रकाशित

Monday, December 22, 2014

जीवन परिवर्तनका लागि योजना

यथास्थितिमा अल्झिरहेको, तनावयुक्त र प्रगतितिर नलागेको जीवन बाँच्न कसैलाई मन लाग्दैन । सबैलाई आफ्नो जीवन उन्नत, विकसित, सम्मानित, सम्पन्न, सन्तुलित र आनन्दित नै होस् भन्ने लाग्छ । त्यतातिर पाइला बढाएको पनि देखिन्छ, तर किन सफल हुँदैनन् ती मानिसहरू ? यसको रहस्य के हो ? कसरी काम गर्ने त सफल हुनका लागि ? आउनुहोस्, अब यसभित्र प्रवेश गरौँ । एउटा कथाबाट चर्चा सुरु गरौँ ।
 
योजनाविहीन व्यक्ति कहिल्यै सफल हुँदैन

केही वर्षअघिको कुरा हो, म एउटा प्रशिक्षण कार्यक्रम चलाउँदै थिएँ, भर्खर स्नातक उतीर्ण गरेका  युवाहरुका लागि । केही जोसिला युवाहरूको एउटा जमात प्रशिक्षण कार्यक्रममा सहभागी हुन भनेर आयो । कार्यक्रममा सामेल हुनुअघि छोटो कुराकानी भयो उनीहरुसँग । म आफैँ कार्यक्रम संचालन गर्ने मुख्य व्यक्ति भएकाले कुराकानी मैले नै सुरु गरेँ ।

मैले उनीहरुलाई सोधेँ— “तपाईँहरु जीवनमा के गर्न चाहनुहुन्छ ?”

थरिथरिका जवाफ दिए उनीहरुले । कोही राम्रो र आकर्षक जागिर खोज्न चाहन्थे, कोही उद्यमी बनेर धेरै पैसा कमाउन चाहन्थे, कोही समाजसेवाको काम गर्न चाहन्थे, कोही राजनीतिमा लागेर नेता बन्न चाहन्थे कोही गाउँको आफ्नै खेतबारीमा आधुनिक तरिकाले खेतीपाती गर्न चाहन्थे । कोही चाहिँ विदेश गएर राम्ररी पढ्ने र त्यहीँ काम गरेर धेरै पैसा कमाउन चाहन्थे ।

मैले सबैजसो सहभागीहरूका उत्तर सुनेपछि फेरि सोधेँँ— “यी कुरा प्राप्त गर्नका लागि काम गर्ने कसरी ? कसले यसमा सहयोग गर्न सक्छ ? पुँजी कति चाहिन्छ ? आफ्नो ज्ञान, सीप र दक्षता पुग्छ कि पुग्दैन ? त्यो सीप विकास कसरी गर्ने ? अप्ठ्यारोसँग जुध्नुप¥यो भने त्यसका लागि कस्तो योजना छ ? यसबिारेमा केही सोच्नुभएको छ ?”

यी सबै कुरा सोध्न थालेपछि उनीहरूको जोस, जाँगर र ऊर्जा सबै ओरालो लाग्न थाल्यो । अन्तर्वार्ता सकिँदा सबैजसो सहभागीहरू खुइय गर्न थाले । एक प्रकारको निराशा थियो उनीहरूको अनुहारमा ।

त्यसपछि हामीले केही दिनको परामर्श सेवा दियौँ उनीहरुलाई । परामर्शपछि केही युवाहरू ऊर्जावान् भएर काममा लाग्न तयार भए । अहिले तीमध्ये केही युवाहरू स्वरोजगार छन् । कोही विदेशमा गएर राम्रो कमाइ र पढाइ दुवै गर्न सफल भएका छन् । कोही उद्यमी बनेर केही मानिसलाई रोजगारी पनि दिइरहेका छन् ।

माथिको कथाबाट बुझिन्छ, सफल हुन र आफूसँगको ज्ञानलाई आर्थिक आर्जनमा परिणत गर्नका लागि जोस, जाँगर, इच्छा र लक्ष्य भएर मात्र पुग्दैन, त्यसलाई सफल पार्नका लागि व्यवस्थित योजना पनि आवश्यक हुन्छ । सबै कुरा कुनै पनि मानिस एक्लैले गर्न सक्तैन । एउटा मानिसको सफलता र उन्नतिमा कैयौँ मानिसहरूको साथ र सहयोग आवश्यक हुन्छ । केवल सपना र इच्छा बताएर सहयोग पाउन सकिँदैन । म सही काममा र सही कार्ययोजनाका साथ लागिरहेछु भनेर विश्वास दिलाउनु आवश्यक हुन्छ । त्यसका लागि चाहिन्छ– व्यवस्थित योजना । योजना नभएको इच्छा जतिसुकै आकर्षक भए पनि त्यसले हामीलाई सफलतामा पु¥याउन सक्तैन । अझ आर्थिक आर्जन गर्ने र भौतिक सम्पन्नता हासिल गर्ने कुरामा त योजना  नभई हुँदैन ।
 
योजनाले विश्वास जगाउँछ

दुईजना व्यापारी वाणिज्य बैंकमा ऋण माग्न गएछन् । एउटा निकै वर्षदेखि कारोबार गरिरहेको मानिस थियो, अर्को चाहिँ नयाँ । नयाँ व्यापारी आफ्नो साथमा व्यवस्थित योजना लिएर सबै आवश्यक कागजातसाथ बैंकमा गएको थियो । ऊ कुनै नयाँ व्यवसाय सुरु गर्न चाहन्थ्यो । त्यसका लागि आवश्यक अनुभव पनि उसले अर्को ठाउँमा काम गरेर आर्जन गरिसकेको थियो । पुरानो जुन व्यापारी थियो ऊसँग अनुभव त थियो तर ऋणका लागि आवश्यक पर्ने कुनै कागपत्र र तयारी गरेको थिएन । योजनामा ऊ कमजोर थियो ।

दुवैले ऋण आवेदनपत्र भरेर पेस गरे । पुरानोले म अनुभवी छु, धेरै वर्षदेखि व्यापार गरिरहेको छु भनेर व्याख्यान दियो, तर निवेदनबाहेक केही पनि कागज–प्रमाणहरू पेस गरेन । आवश्यक प¥यो भने पछि पेस गर्नेछु मात्र भन्यो ।

नयाँ जुन युवक थियो, निवेदनसाथ उसले आफ्नो योग्यता र अनुभव झल्किने बायोडाटा, व्यापार व्यवसायको व्यवस्थित योजना, वित्तीय अवस्था झल्काउने विवरण अनि ऋण तिर्ने योजनासहितको प्रस्ताव पनि पेस गरेको थियो । आफ्नो व्यवसायमा आउन सक्ने जोखिम, यसमा हुने फाइदाको अवस्था, सरकारको नीति, आवश्यक पर्ने पुँजी, त्यसका लागि स्रोतहरू सबै कुरा उसको प्रस्तावमा प्रस्ट थिए ।

बैंकका अधिकृतले दुवैको निवेदन लिए र उनीहरूको व्यवसायस्थलको निरीक्षणमा गए । पुरानो जुन व्यापारी थियो, ऊसँग आफ्नो निजी व्यापार गरिरहेकाले व्यापारको हिसाब राख्ने खातापाता पनि थिएन, दस वर्षदेखि उसले सामान खरिद–बिक्रीको कुनै हरहिसाब राखेको पनि थिएन । बैँक खाता भर्खर मात्रै खोलेको थियो । आफ्नो व्यवसाय बारेको जोखिम र सम्भाव्य प्रतिस्पर्धाका बारेमा पनि सोचाइ बनाएको थिएन ।

अर्को नयाँ व्यवसायी भने कम्प्युटर सफ्टवेयरमा लेखा राख्ने तयारीमा थियो । व्यवसायको भावी स्वरूपको बारेमा उसको स्पष्ट मार्गचित्र थियो । व्यवसाय सञ्चालन र उद्यमशीलताबारे एउटा छोटो अवधिको तालिम पनि लिइसकेको थियो ।

बैंक अधिकृतले दुवैको निरीक्षणपछि उनीहरूको ऋण आवेदनका बारेमा राय पेस गर्नुपर्ने थियो । उनले पुरानोलाई ऋण दिनुभन्दा नयाँलाई ऋण दिनु उपयुक्त हुने प्रतिवेदन पेस गरे । पुरानोले ऋण पाएन, नयाँ व्यवसायीले ऋण पायो ।

अहिले त्यही युवा व्यवसायी नेपालकै प्रसिद्ध आयात–निर्यातकर्ता व्यापारी भएको छ । नेपाल भित्रिने धेरै उपभोग्य सामानहरू विदेशबाट भित्र्याउने काममा संलग्न छ । व्यापारको विविधीकरण गरिरहेको छ । प्रतिस्पर्धात्मक व्यापारको बीचमा पनि अफूलाई निरन्तर अगाडि बढाइरहेको छ ।

त्यसैले जुनसुकै काम गर्न पनि इच्छा मात्र भएर पुग्दैन, लक्ष्य बनाएर मात्र हुँदैन, त्यसलाई सफल बनाउन आवश्यक पर्ने योजना पनि बनाउनुपर्छ । अधिकांश मानिसहरू व्यवस्थित योजना बनाउँदैनन् । बनाइहाले पनि उनीहरूसँग वैकल्पिक योजनाको अभाव हुन्छ । एउटा योजनामा काम गर्दा सानोतिनो बाधा आयो कि हतास–निराश भएर हातपाउ बस्ने अवस्थामा पुग्छन् । त्यसैले योजना मात्र बनाएर पनि पुग्दैन त्यसका अनेकन विकल्पहरूको अध्ययन गरेर वैकल्पिक योजना पनि बनाउनु आवश्यक हुन्छ ।
 
विचारलाई योजनामा बदल्ने कसरी ?

कुनै काम सुरु गर्दा वा व्यवसाय सुरु गर्ने विचार गर्दा तपाईँको कल्पनामा आएका हरेक कुरालाई टिपोट गर्नुहोस् । ती टिपोटहरूमा आएका कुराहरूका आधारमा एउटा मुख्य योजना तयार पार्नुहोस्, त्यसरी तयार पारिएको योजनामा काम गर्न थाल्नासाथ अनेक त्रुटिहरू देखिन थाल्छन् । ती त्रुटिहरूका कारण अनेक बाधा र असफलता पनि आउन सक्छन् । दीर्घकालीन उद्देश्यमा लागेर योजनाबद्ध रूपमा काम गर्दा अल्पकालीन असफलता आउनु स्वाभाविक हो । यसरी आउने असफलताले धैर्य र लगनशीलताको परीक्षा गर्छन्, सिर्जनात्मकता बढाउँछन् र सिक्ने दृष्टि विकास गर्छन् । त्यसैले बनाएको एउटा योजनामा बाधा व्यवधान आए र असफल भए जस्तो देखिए पनि त्यसबाट नआत्तीकन अर्को वैकल्पिक योजना तयार पार्नुहोस् । त्यसलाई नै आरम्भ मानेर फेरि पूर्ण ऊर्जाका साथ सुरु गर्नुहोस् ।

अल्पकालीन पराजय नै दीर्घकालीन असफलता हुन सक्तैन । अव्यावहारिक, अपूर्ण र त्रुटिका कारण त्यो योजना असफल भएको ठान्नुहोस् । योजना दमदार थिएन वा त्रुटियुक्त योजना थियो भन्ने ठानेर नयाँ रूपमा त्यसलाई फेरि अघि बढाउनुहोस् । आवश्यक प¥यो भने त्यसलाई थोरै समय ब्रेक गरेर सुधार र परिमार्जन पनि गर्नुहोस् । योजना नै बिचारलाई शक्ति दिने र सफलतामा पुर्याउने मुख्य तत्व हो । निरन्तर योजनाका साथ लागिरहने मानिस जीवनमा न कहिल्यै निराश हुन्छन् न कहिल्यै हार मानेर बसिरहन्छन् । जीवन बदल्ने सबैभन्दा मुख्य कुरा हो व्यवस्थित योजना । त्यसलाई आत्मसात गरेर बढीभन्दा बढी समय योजना बनाउनमा लगाउनुस् सफलता नजिक ल्याउँछ त्यसैले ।  

जीवनदर्शन अंक ३ मा प्रकाशित

Monday, October 13, 2014

प्रमाण पत्र नै योग्यता होइन

अहिले अनेक विषयमा स्नातक, स्नातकोत्तर गरेर प्रमाणपत्र लिएका युवाहरुको ठूलो सङ्ख्या बजारमा बेराजगार देखिन्छन् । यसको रोजगारीका अवसर कमजोर हुनु त छँदैछ, यदि अवसर उपलब्ध भयो ने भने पनि त्यसलाई उपयोग गर्न सक्ने क्षमता पनि आजका शिक्षितहरुका कमजोर छ । उनीहरुसँग आफूले सिकेको ज्ञान र सीपलाई व्यावहारिक रूपमा प्रयोग गर्ने कला, त्यसका लागि आवश्यक अनुभव हासिल गर्ने उत्प्रेरणा, मानवीय व्यवहार र सञ्चारसीपको कला पनि निकै कमजोर पाइन्छ  । प्रविधि जानेर र सैद्धान्तिक कुरा जानेर मात्रै आजको बजारमा आफ्नो प्रतिभा बिक्री गरेर जीवनयापन गर्न सकिँदैन । मानवीय व्यवहारको कुशलता काम पाउन र सफल हुन अति नै आवश्यक तत्व हो । यसको अभावमा हामीले न त चाहेको काम पाउन सक्छोँ न त काममा सफल हुन ।

म यहाँ एउटा अनुभवबाट यस कुरालाई अलि विस्तारमा सम्झाउन चाहन्छु । एक समयमा म काठमाडौँ उपत्यकाभित्रका केही सहकारी संस्थाको परामर्शदाताका रूपमा काम गर्थेँ । संस्थाहरूलाई आवश्यक पर्ने जनशक्ति छनोट गर्ने र तिनलाई लेखा र प्रशासन सम्बन्धी तालिम र परामर्श प्रदान गर्नु मेरो जिम्मेवारी थियो । संस्थाले कर्मचारी चाहियो भनेर विज्ञापन निकाल्थ्यो र त्यसमा आवश्यक योग्यताबारे पनि सूचित गरिएको हुन्थ्यो । विज्ञापन हेरेर धेरै दरखास्तहरू हालिएका हुन्थे । दरखास्तसाथ उनीहरूको व्यक्तिगत विवरण (बायोडाटा) र संस्थाले गरेको विज्ञापनको पदमा आफू किन योग्य छु भन्नेबारेमा एक पृष्ठको हस्तलिखित नोट पनि पेस गर्नुपर्ने व्यवस्था गरेका थियौँ ।

त्यसरी आवेदन हाल्नेहरूमध्ये करिब ९० प्रतिशत आवेदकहरूले काम खोज्न कस्तो विवरण (बायोडाटा) बनाउने ? त्यसमा के के उल्लेख गर्ने ? काम दिने संस्थाको मागलाई त्यो बायोडाटाले कसरी योग्य मान्छे छान्न सहयोग पु¥याउला भन्ने कुरा भने ख्याल गरेको पाइँदैनथ्यो । काम खोज्नका लागि आवश्यक पर्ने बायोडाटा तयारीमा उनीहरूको ध्यान पटक्कै पुगेको देखिँदैनथ्यो । त्यसपछिको अर्को हस्तलिखित नोटको अवस्था त झन् दयनीय थियो । अक्षर कस्तो लेख्ने ? कसरी लेख्ने ? भाषाको प्रवाह र कुराको तालमेल कसरी मिलाउने ? सुरु कसरी गर्ने ? लेख्दाखेरि प्रयोग गर्नुपर्ने शब्दावली कसरी ठीकसँग प्रयोग गर्ने ? आफनो क्षमता र दक्षता कसरी प्रस्ट्याउने ? यस्ता कलामा पटक्कै ध्यान दिएको पाइँदैनथ्यो । ज्यादै थोरैसँग मात्र त्यसको ज्ञान भएको पाइन्थ्यो ।

अन्तर्वार्ताको अवस्थामा आइपुग्दा झन् स्थिति दयनीय थियो । बल्लबल्ल  केही सीमित आवेदकहरूलाई छोटो सूचीमा समावेश गरेर बोलायो, न विषयको प्रस्तुतिको ढाँचा जानेको छ, न बोल्ने सीप छ, न संस्थागत कामको जिम्मेवारीबारे प्रस्टता छ । कुनै अध्ययनबिना नै दरखास्त हाल्न पुगेको पाइन्थ्यो  । त्यसरी कुनै पनि ठाउँमा चाहेको काम पाउन र आफूलाई क्षमतावान् साबित गर्न सकिँदैन ।

विश्वविद्यालयमा कुन विषयमा कति प्रतिशत अंक ल्याएको छ भन्ने कुरा कार्यक्षेत्रमा जाँदा त्यति महत्वको हुँदैन, जति ऊसँग सम्बद्ध सेवा प्रदान गर्ने भावना, काम गर्ने सीप र मानिससँग गरिने व्यवहार र संचारसीप । यी कला नभएको उत्कृष्ट अंकधारी स्नातकभन्दा ती कला भएको औसत अङ्कधारी स्नातक नै कम्पनीहरूको, संस्थाहरूको वा व्यस्थापकहरूको प्राथमिकतामा पर्छन् ।

सैद्धान्तिक ज्ञानलाई मानवीय सम्बन्धको सीप र भावनात्मक पक्षसँग जोडेर व्यवहारमा प्रदर्शन गर्न नसक्ने मानिस कहिल्यै पनि आफूले चाहेको क्षेत्रमा सफल हुन सक्तैन । त्यसैले ‘कुनै पनि क्षेत्रमा सफल हुन चाहने व्यक्तिले त्यसमा आवश्यक पर्ने ज्ञान र सीपको विकास गर्नुपर्छ’ भन्छन्, प्रसिद्ध पुस्तक ‘थिङ्क एन्ड ग्रो रिच’ का लेखक नेपोलियन हिल पनि ।

Sunday, August 17, 2014

कृष्ण जन्माष्टमीः आध्यात्मिक अर्थमा कसरी बुझ्ने कृष्ण र कृष्णअष्टमीलाई ?

आज भाद्र कृष्ण अष्टमी । भगवान कृष्णको जन्मजयन्ती देशभर धुमधामका साथ मनाईंदैछ । महिलाहरु व्रत बस्ने, कृष्णमन्दिर गएर भगवान कृष्णको प्रतिमाको दर्शन गर्ने, धूप, बत्ती आदि चढाउने गरिरहेका छन् । के यसको अर्थ र महत्व यतिमै मात्र सीमित छ त ? के हो यो पर्वको निहितार्थ ? यसबारे संक्षिप्तमा चर्चा गर्ने प्रयास गरिनेछ यस आलेखमा ।

महर्षि कृष्ण द्वैपायन व्यासले श्रीमद्भागवतमा कृष्ण चरित्रको विस्तृत कथा समावेश गरिदिए । कृष्णका बाल्यकाल, किशोर वय र त्यसपछिका कृयाकलापको विस्तृत चित्रण गरियो कृष्ण चरित्रमा । त्यस कथामा आधारित भएर अनेक अरु ग्रन्थहरु रचिए । श्रीकृष्ण चरित्र महाभारत र श्रीमद्भागवतसँगै लेखियो कि अघि वा पछि लेखियो त्यसको किटानी नभए पनि यी दुवै ग्रन्थहरु केही कालको अघिपछिमा सिर्जित भएका होलान् भन्न सकिन्छ । 

श्रीमद्भागवतको संस्कृत अध्यनका आधारमा हेर्दा त्यसको भाषा लौकिक संस्कृतकोभन्दा जटिल रहेको देखिन्छ । पछिल्लो चरणमा संस्कृतको सरलीकरण भएर लौकिक रुपमा बोलिने संस्कृतको प्रचलनमा आएपछि अरु संस्कृत ग्रन्थहरुको रचना भएको हो कि भन्न्े ठाउँ देखिन्छ । वेद, उपनिषद्, ब्राह्मण र पुराण ग्रन्थहरुको क्रमशः लेखन भएको हो, त्यसभन्दा पछिका ग्रन्थहरु हुन् महाभारत, कृष्णचरित्र र रामायणहरु भन्नेहरु पनि छन् । तथ्य जे भए पनि श्रीकृष्ण महर्षि कृष्ण द्वैपायन व्यसद्वारा सिर्जित श्रीमद्भागवत पुराण र महाभारतका एक अविस्मरणीय पात्र हुन् भन्नेमा भने कसैको पनि विमती छैन ।

यथार्थमा श्रीकृष्ण को थिए ? वास्तवमा द्वारकामा कुनै गोपाल वंशीय पुरुषको जन्म भएको थियो कि थिएन ? व्यसजीले आफ्ना ग्रन्थमा ती ठाउँहरुको चित्रण गर्नका लागि जस्तो चरित्रको प्रारुप तयार पारे र आफ्ना ग्रन्थहरुमा चित्रण गरे त्यही आधारमा पो ती ठाउँ र क्षेत्रले पछि नामाकरण र प्रसिद्धि पाएका हुन् कि ! त्यसमा अध्ययन र अनुसन्धानका आफ्ना निष्कर्षहरु छन् र भविष्यमा पनि यसबारे अध्ययन र अनुसन्धान हुँदै रहला । यसमा अनेक मतमतान्तरको ठाउँ पनि छँदैछ । स्वामी अडखडानन्दजस्ता विद्वानहरु महाभारत कल्पित कथा र सुन्दर काव्य भएकाले यसलाई आध्यात्मिक रुपमा अथ्र्याउनु पर्ने र त्यसका पात्रहरुलाई आध्यात्मिक रुपमा अर्थ लगाएर बुझ्नुपर्ने दावी पनि गरिरहेकै छन् । उनको भनाइलाई मान्ने हो भने महाभारतको युद्ध भएकै होइन । महर्षि व्यासले साधनाको यात्रामा अनुभूत गरेका कुरालाई रुपकका माध्यममा अनेक चरित्र खडा गरेर यसको रचना गरेका हुन् । त्यसैले त्यसमा वर्णत चरित्रलाई आध्यात्मिक रुपमा मात्रै ग्रहण गर्नु उपयुक्त हुन्छ भन्ने दावी उनको रहेको छ । 

यस्ता अनेक वादविवाद श्रीकृष्णको चरित्र चित्रणका कारणले उत्पन्न भएका छन् । धार्मिक तथा साँस्कृतिक रुपमा पनि श्रीकृष्णको चरित्रले मानिसलाई गम्भीर प्रभाव पारेको छ । श्रीमद्भागवत गीताका रचयिता कृष्ण द्वैपायन व्यासले अध्यात्म साधनाको एक अवस्थामा जुन आध्यात्मिक अनुभूति गरे त्यसको अनुभूतिका रुपमा गीता ग्रन्थ तयार भयो । काव्यात्मक रुपमा आउँदा एक प्रमुख पात्र श्रीकृष्ण्का माध्यमले ती भनाइहरु अभिव्यक्त महाभारतमा भए । कालान्तरमा मानिसहरुले व्यसलाई अर्थात् काव्यकारलाई बिर्से । पात्रका रुपमा चित्रित श्रीकृष्ण यति प्रभावशाली भएर देखापरे गीता कृष्णकै वाणीका रुपमा र कृष्णकै अनुभूतिका रुपमा प्रकट भएको ठाने मानिसहरुले । वास्तवमा गीता कृष्णको रचना थिएन त्यो थियो कृष्ण द्वैपायन व्यासको रचना । कृष्ण नामका एक पात्र थिए उनको महाकाव्यका । उनकै माध्यमबाट ती भनाइहरु राख्नु उपयुक्त देखिएकाले उनले ती भनाइहरु अघि सार्न कृष्ण रोजे । 

संसारमा पूर्वीय दर्शनको एउटै मात्र ग्रन्थ रोज्नु पर्यो भने सबैले रोज्ने ग्रन्थ हो भागवत् गीता । यो श्रीकृष्णले नै लेखेका हुन्जस्तो ठानेर व्यख्या गरिन्छ आजभोलि । तथ्य चाहिँ त्यो होइन यसका सर्जक हुन् महर्षि कृष्ण द्वैपायन व्यास । 

संसारका प्रभावशाली रचनामा चित्रित भएका चरित्रले लेखकलाई ओझेल पारेका अनेक उदाहरण छन् । आमा लेखे गोर्कीले तर मानिसहरुले आमाको भूमिका निर्वाह गर्ने पात्रालाई जति सम्झेका छन् शायद गोर्कीलाई त्यति सम्झँदैनन् होला । रामायण लेखे वाल्मीकिले, रामचरितमानस लेखे तुलसीदासले । उनीहरु दुवै गौण भए उनीहरुले चित्रण गरेका राम चाहिँ मुख्य पात्रका रुपमा जीवन्त भइरहे मानिसहरुका हृदयमा । कुशल काव्यकारको रचनाको शक्ति हो यो । नभएको चरित्रलाई पनि कल्पनाको प्रयोगले जीवन्त पात्र बनाइदिन्छ रचनाकारले । सर्जकको महानता यही हो । 
यति भनिसकेपछि अब आउँ कृणलाई कसरी बुझ्ने ? को हुन् कृष्ण ? के द्वारकाका कुनै ग्वालापुत्रका रुपमा जन्मेर केही लीला देखाउने व्यक्ति मात्रैका रुपमा हामीले कृष्णलाई बुझ्ने कि त्यसको कुनै गहिरो आध्यात्मिक र दार्शनिक व्याख्या पनि छ ? गीता त्यति गहन दर्शन बोकेको ग्रन्थ हो भने त्यसलाई प्रस्तुत गर्ने कृष्ण चाहिँ के सामान्य रुपमा हामीले ठानेकैजस्तो चरित्र, एउटा ग्वालाको छोरो, चमत्कारिक पुरुष, रसिक र रतिरागयुक्त युवा, युद्धमा अर्जनलाई युद्ध लड्न उक्साउने व्यक्ति मात्रैका रुपमा बुझेर यसको रहस्य बुझ्न सकिन्छ त ? आउनुहोस् यसबारे अलिकति विवेचना गरौँ । 

कृणको जन्म भाद्रकृष्ण अष्टमीमा भएको बताइन्छ । उनी कालावर्णका थिए भनेर उनको चित्रमा त्यही वर्ण उल्लिखित छ । चित्रमा हेर्दा उनको हातमा कि त मुरली छ कि त शंख रहेको छ । युद्धकालमा उनको हातमा शंख छ भने रसिक युवावस्थामा गोपिनीहरुसँगको रास लीलामा मुरली छ । बाल्यकालमा अनेक लीलाहरु भएको उल्लेख छ । ती अलौकिक र असाधारण तिलस्मी खालका छन् । आध्यात्मिक महत्वको ग्रन्थ, दार्शनिक आधारमा लेखिएको ग्रन्थ अनि सभक्ति त्यसको आदर र सम्मान गरिने ग्रन्थ भएकाले भागवत, कृष्णचरित्र र महाभारतमा उल्लिखित उनको चित्र, वर्ण, श्रृङ्गार र सामग्रीहरुको पनि बिना अर्थ व्यासले उल्लेख गरेका हैनन् कि भन्ने मान्नु पर्ने हुन्छ । यस आधारमा श्रीकृष्णलाई आध्यात्मिक रुपमा पनि हेर्नु र विश्लेषण गरेर तथ्य केलाउनु आवश्यक देखिन्छ । 

किन कृष्ण पक्षमा नै जन्मेको चित्रण गरे व्यासले ?

ज्योतीषीय हिसाबले कृष्ण पक्षलाई अँध्यारो अर्थात् कालो पक्ष र शुक्त पक्षलाई उज्यालो अर्थात् ज्योतिमय पक्षको रुपमा लिने गरिन्छ । स्वाभाविक रुपमा औंसी पक्ष बढी अन्धकारमय हुन्छ, कालो हुन्छ भने शुक्लपक्ष बढी प्रकाशमय अर्थात् ज्योतिमय हुन्छ । कृण पक्ष अध्यात्म साधनाका दृष्टिले सुरुआत गर्ने समय हो अर्थात् आध्यात्मिक जन्मतिर लाग्ने समय । अष्टिमी यो पक्षको ठीक बीचमा पर्दछ । अष्टमीमा एकहप्ता लामो साधनामा बसियो भने क्रमशः बढ्दै गएर पन्धौँ दिनमा पूर्णिमा आउँछ । पूर्णिमा निराकार र साकार दुवै खाले आध्यात्मिक साधना गर्नेहरुका लागि महत्वपूर्ण मानिन्छ ।

कृष्ण अष्टमीको अघिल्लो दिन नै दिनभर व्रत वस्ने गरिन्छ र रातभर जाग्राम बसेर श्रीकृष्णको जन्मको प्रतिक्षा गर्ने चलन छ । सप्तमीको दिन दिनभर उपवास वस्नाले शरीर शुद्ध हुन्छ । उपवासले शरीरको शुद्धिमा विशेष महत्व राख्दछ । उपवासबाट शुद्ध पारिएको शरीरलाई साधनामा लगाउँदा ध्यान गहिरोसँग लाग्ने र चित्त पनि एकाग्र गर्न मद्दत मिल्छ । उपवासबाट नै साधनाको उच्चतामा पुग्न सकिन्छ भनेर लामो उपवासको साधना गर्ने परम्परा जैन धर्मवलम्बीहरुबीच अहिले पनि विद्यमान छँदैछ । पर्व विशेषमा उपवास वस्ने र शरी र मन शुद्धि गर्ने अनेक साँस्कृतिक प्रचलन हिन्दूहरुमा पनि पाइन्छ । 
यसरी सप्तमीबाट उपवास बसेर निराकारको साधनामा प्रवेश गर्नेहरुका लागि अन्धकार रात्री अति नै महत्वपूर्ण हुन्छ । अघिल्लो दिन दिनभर उपबासबाट शुद्ध भएको शरीर र मनमा साधना गर्न चाहनेहरुलाई गुरुले कृष्ण अर्थात् इश्वरको अनुभूत गर्ने साधनाबीज प्रदान गर्दछन् अर्थात् कृष्ण जन्मको अनुभव गराइदिन्छन् । रातिको अन्धकारमा आँखाबन्द गरेर भित्र हेर्दा कालो नै देखिन्छ । त्यसैले रात्ति कृष्णको जन्म भएको बताइन्छ । अर्थात् साधनाका क्रममा पहिलो अनुभव साधकले निराकार अन्धकार रुपि कालो नै देख्छ । कृष्णको रुप नै कालो भनियो त्यस कारण  । अब कृणको जन्म हुन्छ अर्थात् निराकार साधनामा कृष्णमय हुन थाल्छ साधक । 

त्यसपछि अनेक लीलाहरु घटित हुन थाल्छन् । अर्थात् घरि नागहरु आउँछन् । तिनलाई कृण बिषविहीन बनाइदिन्छन् । हायलकायल पार्छन् । दैत्यहरु, राक्षसहरु आउँछन् तिनलाई मार्छन् । क्रमशः ठूलो हुँदै जान्छन्, मुरली बजाउन थाल्छन् । गोपिनीहरु कृष्णको मुरलीको धुनबाट आकर्षित हुन्छन् । लट्ठिन्छन् । कृष्ण्सँग वनवन चाहार्न पनि हिच्किचाउँदैनन् । कृष्ण नै कृष्ण देख्छन् सबैतिर । उनकै मुरली गुन्जिएको सुन्छन् । त्यसपछि निर्णयक युद्धमा कृष्ण लाग्छन् महाभारतमा । अर्जुनजस्ता अकडा मानिसलाई उनले सहयोग गर्नुपर्ने हुन्छ । भक्त त छन् तर शंकाले घेरिएका भक्त छन् उनी । जान्दछन् तर मोहमुक्त छैनन् । यस्तालाई अनेक ज्ञानका गोप्य सूत्रहरुको व्याख्या गरेर विराट रुपको दर्शन गराएपछि वल्ल आफ्नो स्वरुपको र आफ्नो अस्तित्वको बोध गर्दछन् अर्जुन । निर्णयक युद्ध लडेर युद्ध जित्छन् । पाण्डवको विजय अर्थात् कृष्णका पक्षको विजय हुन्छ अर्को पक्ष हार्छ । 

के हुन् यी सबै कुरा ? के यिनको अभिधार्थ मात्र छ त ? निश्चयनै कृष्ण द्वैपायनजस्ता महान् काव्यकारले लेखेको कृतिमा यसलाई अभिधयर्थमा मात्र चित्रण गरेर चित्त बुझाए होलान् भन्न सकिने ठाउँ छैन । 
त्यसो हो भने यसको व्यञ्जनार्थ, दार्शनिक अर्थ र अझ आध्यात्मिक रुपमा यसका रुपकहरुको अर्थ खोज्न आवश्यक हुन्छ । 

कृष्णको वर्ण किन कालो भनेर व्याख्या गरिन्छ ?

कृष्णको सोझो अर्थ नै हो कालो अर्थात् श्याम । अध्यात्म साधनामा जब साधक आत्मचिन्तनमा डुब्न तयार हुन्छ उसले आफ्नो आँखा आफैँभित्र फर्काउनु आवश्यक हुन्छ । बाहिरी आँखा बन्द गर्नुपर्छ । बाहिरी आँखाले संसार देख्छ भने भित्री आँखाले सत्य देख्छ । सत्यतिर फर्कँदा सबैभन्दा सुरुमा अनुभूत हुने तत्व हो अन्धकार अर्थात् अँध्यारो । प्रकाशमय उज्यालोमा आँखा बन्द गरेपछि स्वाभाविक रुपमा निराकारमय कालो अन्धकार नै देखिन्छ । कृष्णको वर्ण त्यस्तै छ, कालो, अर्थात् निराकारमय । अब साधक क्रमशः आध्यात्मिक यात्रामा प्रवेश गर्दछ । उसलाई यात्रा गर्ने क्रममा थाहा हुन्छ मभित्र त राक्षसजस्तो चीज पनि छ, नागजस्तो बिषमय चीज पनि छ । अनि अनेक पशुवत् चीजहरु पनि छन्, पुतनाजस्ता बिषपान गराउन तयार भएका दुराकांक्षाहरु पनि छन् । वास्तवमा बिषले भरिएको स्तन लिएर बिषपान गराउन तयार हुने पुतना, कालियदमनजस्ता अति बिषलु नाग हामीभित्रैका अनेक काम, क्रोध, लोभ, इष्र्या, द्वष र अहंकारका भावहरु हुन् । साधनाका क्रममा यीप्रति साधक क्रमशः सचेत हुँदै जान्छ । यस्तो सचेतता थाहा पाउन थालेको साधकलाई अब गुरुले क्रमशः कृष्णको असल रुपबोधतिर प्रवेश गर्नका लागि आफैँभित्र प्रकट हुने ओमकारमय परमसंगीत र आत्मतत्व पहिचान गर्ने तत्वाभ्यासका लागि केही साधनाविधिहरु थपिदिन्छ । अव उसको कृष्ण (ओमकार अर्थात् निराकार ब्रह्म) अझ बलवान र प्रेममय हुँदै जान्छ । ठूलो हुँदै जान्छ । हुर्कंदै जान्छ । 

के हो मुरली र शंख ?

जब सचेतता बढ्छ आफूभित्र रहेको निराकारबाट ध्वनिहरु सुन्न थाल्छ साधकले । त्यो जब जब भाव, भावना र उर्जासँग एकाकार हुँदै अघि बढ्छ अनि क्रमशः आफैँभित्र गुन्जने आत्मतत्व, ओमकार वा अनहदको ध्वनिको गुणवत्ता पनि फेरिँदै जान्छ । जतिजति साधक आत्मतत्वमा लीन हुँदैजान्छ त्यतित्यति भिन्न्भिन्न ध्वनि सुन्न थाल्छ । बाँसुरीको ध्वनि श्रवणको अवस्था भनेको चित्त एकाग्रभएको र चेतनाले क्रमशः माथिल्लो स्तरतिर बढिरहेको अर्थात् भक्तिभावमा डुबेको र अरुकुरा क्रमशः त्याग्दै आत्मतत्वतिर बढिरहेको अवस्था हो । भावनात्मक रुपले भक्तिको अवस्थामा र अनि उर्जा र चेतनाको आधारमा भने आज्ञाचत्रतिर बढिरहेको अवस्थामा साधकले मुरलीको धुन अनवरत रुपमा आफैँभित्र श्रवण गर्न समर्थ हुन्छ । आफैँभित्रको अनहद ध्वनि श्रवण गर्न थालेपछि भित्र र बाहिरको ध्वनि क्रमशः एकाकार हुँदै साधक गोपिनीमय हुन्छ । अलमस्त रुपमा आफैँभित्रको मुरलीमय ध्वनि सुनेर लटिठरहन्छ । यस्तो धुनको अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्नामय हुन्छ साधक । वासना गौण हुन्छ, अनहदको ध्वनिका कारण आन्तरिक रुपमा अत्यन्त उर्जावान् हुने हुनाले आफूलाई भित्रैदेखि कृष्णमय निराकारमय अनुभव गर्न थाल्दछ । यसैलाई कृष्ण द्वैपायनले मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिदिए । यतिवेलाको भक्त अव आफूभित्र स्त्रैण चरित्रमा रुपान्तरण भएको अनुभव गर्न थाल्छ अर्थात् उसभित्र फेनिस्ट उर्जाले प्रवेश पाउँछ । वाणी, हाउभाउ, हृदयको भाव सबै क्रमशः परिवर्तित हुन्छन् । 

त्यसपछि साधक निर्णायक रुपमा चित्तवृत्तिनिरोधतिर लम्कन्छ । यो वा ऊ को लडाइमा निर्णयक रुपमा होमिन्छ । यसरी होमिएको साधक कहिले मोहबाट तानिन्छ, कहिले अहंकारबाट अनि घरिघरि भगवत्ताको आनन्दमय अवस्थाको आकर्षणबाट । यही अवस्था हो महाभारतको अवस्था  । आफैभित्रको महाभारत । आफैभित्रको अर्जुन र कृष्णको द्वन्द्व । चरम द्विविधाको अवस्थामा पुगेको यो साधक अब यदि कृष्णको अर्थात् निराकार ओमकारको शरणमा साधनारत रहन सक्यो भने आन्तरिक प्रज्ञा जागरण गर्न समर्थ हुन्छ । यो अवस्थामा ऊ आफैभित्रबाट गीता प्रस्फुटित हुन्छ । यसबेला उसले आफूभित्र अनाहत ध्वनिको अर्को अत्युच्च रुप सुन्छ शंखमय ध्वनि । यो ध्वनिको श्रवणपछि साधक भगवत्तातिर लाग्दछ । शंखको आन्तरिक ध्वनिमा परिवेष्ठित साधक सांसारिक सुखदुखभन्दा माथि उठिसक्छ र अनन्त आनन्दमय परमउर्जामा आफूलाई विलीन गराउँछ, योगेश्वर हुन्छ । कृष्णमय ध्वनिमा विलीन हुँदाहुँदै उसले अस्तित्वको विराट रुपको दर्शन गर्न समर्थ हुन्छ । त्यही विराटमा आफूलाई विलीन भएको अनुभव गर्छ, योगेश्वर हुन्छ साधक त्यतिबेला । वित्तरागी बन्छ साधक यस अवस्थामा पुगेपछि । 

यसरी हेर्दा कृष्ण द्वैपायन व्यासको महाभारतमा वर्णित कृष्ण नामका एक व्यक्ति नभएर समस्त श्रृष्टिनियन्ता परमशक्तिका प्रतिक, ओमकारमय उर्जाको अन्तिम रुप देखा पर्दछन् भने उनका विशिष्ट लीलाहरु साधनाका क्रममा अनुभूत हुने विविध झाँकीहरु लाग्दछन् । यिनै भाँकीहरुको क्रमिक बोधबाट एउटा मानिस, मानव, साधक हुँदै भगवान अर्थात् कृष्ण हुन पुग्छ । यही अर्थमा श्रीकृण जन्माष्टमी मनाउने र आफ्नो घटमा कृष्णको जन्म गराउने प्रचलन साधना केन्द्रहरुमा थियो । तर पछि क्रमशः यो साधनाको पक्ष मर्दै गयो र आज आएर यो विशुद्ध कर्मकाण्ड र अन्ध श्रद्धाको रुपमा विकास भएको छ । यो एक किसिमले भन्ने हो भने धार्मिक अन्धविश्वासको पराकाष्ठा नै हो । आजभन्दा करिब ५००० वर्षअघि जन्मेका कृष्णको नाममा व्रत बसेर पुण्य लाभ हुन्छ भनेर आध्यात्मिक तत्वज्ञान को ज्ञ पनि अर्थ नलाग्ने यस्ता अन्ध परम्पराको पाण्डित्यपुर्ण व्यख्याको पछि लाग्नुको कुनै तुक छैन । कुरा साधना यात्रामा लाग्नेहरुले जन्माउने कृष्णको हो । यसलाई पुण्यको रुपमा साधना गर्ने हो भने आजैको रात्रीमा आफूभित्र कृष्ण अर्थात् ओमकारको बीजाधान गरेर कृष्ण जन्माउनु आवश्यक छ । यसो भयो भने बल्ल कृष्णका बाल लीलाको पनि अर्थ बुझ्न सकिन्छ अनि राक्षस बध, कंश बिनाश, गोपिनीसँगको रासलिला, महाभारत आदि आफैँभित्रको अनुभव र अनुभूतिमा आधारित भएर साक्षात्कार गर्न सकिन्छ । अब अन्ध श्रद्धा पालिरहेर एउटा अन्धसंस्कृति पालिरहने कि साधनाको गुह्यता बुझेर आफूलाई कृष्णमय बनाउने संकल्प लिने रोजाइ हरेकको आआफ्नै चेतना अनुसार गर्ने हो । 
अस्तु । 

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...