Tuesday, June 18, 2013

युवावस्था र जरुरी, मनोरञ्जन र महत्वपूर्णको जटिलता


युवावस्थाका जीवन परिवर्तनकारी तीन पक्ष छन् — पढाइ, परिवार र पेशा । यी तीन पक्षको ठीकसँग छनौट र व्यवस्थापन गर्न सकिएन भने मानिसको जीवन न त समृद्ध हुन सक्दछ न त उन्नत, आनन्दित र सुखी नै हुन सक्दछ ।

अध्ययन, सिकाइ र समृद्धि  

अध्ययनको बिषय (औपचारिक, अनौपचारिक) आफ्नो पेशागत भविष्यसँग सम्बन्धित हुन्छ भने परिवार र पेशा जीवनको खुशी र आनन्दसँग सम्बन्धित हुन्छन् । एक प्रकारले भन्ने हो भने अध्ययनलाई हामी जसरी बढाउँछौँ, बिषय जे जसरी र जस्तो छनौट गरी अध्ययन गर्दछौँ हाम्रो भविष्य निर्माण त्यसले नै निर्धारण गर्दछ । जीवनलाई प्रेरणा दिने, सही र उन्नत सोच, चिन्तन र भावना तयार गर्न सहयोग गर्ने गरी आफ्नो अध्ययनलाई औपचारिक, अनौपचारिक माध्यमबाट अगाडि बढाउन सक्यौँ भने हामी आफ्नो विचार, भावना र चेतनालाई विस्तारै माथि उठाउन र सफलतातिर बढ्न सक्दछौँ । पढ्न चाहेको बिषय एउटा, आफूभित्रको प्रतिभा अर्कै अनि अध्ययन क्षेत्र चाहिँ त्यसभन्दा भिन्न भयो भने जीवनमा सफलता हासिल हुनसक्ने कुरै हुँदैन ।

अब प्रश्न आउँछ के जीवनको सफलताका लागि विद्यालय वा विश्वविद्यालय शिक्षा अनिवार्य नै हो त ? वा बिषय बिशेषको उच्च पढाइले मात्र मानिसले सफलता हासिल गर्न सक्छ त ? आफ्नो प्रबल इच्छा वा पेशागत दक्षताका क्षेत्रतिर लाग्यो भने के होला ? यो सम्बद्ध देश र समाजको अवसर र व्यक्ति आफूभित्रको प्रतिभा र त्यो प्रतिभालाई उत्खनन गर्ने आफूले बनाएको जीवनदृष्टिसँग सम्बन्धित बिषय हो ।

आफूलाई चाख भएको र अवसर भएको क्षेत्र छानेर त्यसमा तल्लीन हुन सकियो र जीवनको रहस्यलाई बुझ्ने शिक्षा प्राप्त गर्न सकियो भने औपचारिक विद्यालय वा विश्वविद्यालय शिक्षा मात्रै जीवन सफलताको कारक भने होइन । तर मुख्य कुरा पढ्नै नपर्ने रहेछ भनेर कुनै अल्छ्यिाईंबस आएको लहडमा पढाइलाई छोड्ने र कुनै गहन इच्छाको काममा जीवन समर्पण गरेर लाग्न पनि नसक्ने मानिस भने घरको न घाटको हुनसक्छ । हेर्नुपर्ने मुख्य कुरा चाहिँ आफूभित्रको गहन चाहना र आफूले पढेको बिषय वा अध्ययनको बिषयका बीचमा उचित तालमेल बनिरहेको, आफू रमाइरहेको र निरन्तर भित्रैबाट उर्जा प्राप्तभइरहेको छ कि छैन भन्ने नै हो । यदि त्यसो हुन सकेको छ भने एक न एक दिन आफ्नो लक्ष्यमा पुग्नसक्ने सफलता हासिल हुनसक्ने संभावना हुन्छ अन्यथा अल्छिबस त्यसलाई छोडिएको रहेछ भन्ने बुझ्नु पर्दछ ।

संसारमा यस्ता पनि मानिसहरु छन् जसले स्कूलै नदेखे पनि संसारका लागि धेरै महत्वपूर्ण काम गर्न सके र आफ्नो जीवन सफल बनाए । थोमस एल्बा एडिसनलाई मन्दबुद्धिको विद्यार्थी भनेर शिक्षकले विद्यालयबाट निकालिदिए । उनको शिक्षादीक्षा आमाले घरमै पूरा गराइन् । उनी सिर्फ तीन महिना स्कूल गएका थिए तर संसारमा सबभन्दा बढी आविष्कार गर्ने व्यक्ति उनै भए । यस्तै कहानी छ हेनरी फोर्डको पनि । हेनरी फोर्ड पनि औपचारिक शिक्षा धेरै आर्जन गरेका मानिस होइनन् तर उनको सफलता आज पनि संसारका मानिसका लागि प्रेरणाको स्रोत बनिरहेको देखिन्छ ।

विवाहः व्यक्तिबाट संस्थागत जीवनतर्फको पाइलो  

विवाहको कुरा त्यतिकै महत्वपूर्ण छ जीवनको सफलताका लागि । आफ्नो चाहना, भावना, जीवनशैलीसँग मिल्ने जीवन साथी पाउनु वा मिल्नु हरेक सफलतम व्यक्तिको जीवनमा देखिने सफलताको प्रमुख कारक तत्व रहेको देखिन्छ । विवाहपछिको जीवन व्यक्तिको जीवन नभएर त्यसले एक संस्थाको रुप लिने भएकाले विवाह पछि दुवैजनामा एकअर्काप्रति विकसित हुने प्रेम, समर्पण, एकअर्काप्रतिको विश्वास, आपसी सरसहयोग आदि जस्ता कुराहरुले नै जीवनमा एकअर्काले प्राप्त गर्ने सफलता निश्चित हुन्छ ।

विवाहपछिको पारिवारिक जीवनमा असफल, असन्तुष्ट र असहयोग पाएको मानिसले जीवनमा सफलता पाउने संभावना निकै नै कम हुन्छ । त्यसैले विवाह गर्नु भनेको जीवनलाई एक मोडबाट अर्को मोडतर्फको यात्रामा लैजानु हो, जीवनलाई संस्थागत गर्नु हो । संसारको समग्रताको एक सानो प्रतिरुप हो परिवार । प्रिन्सेस डायना भन्छिन्— संसारको सबभन्दा महत्वपूर्ण कुरा हो परिवार । संसारका मानिसहरुमा हुने विचार, भावना, समस्या, प्रतिरोध, अवसर सबै साना वा ठूला रुपमा हरेकको परिवारिक जीवनमा आउने गर्दछन् । परिवार मानिसको जीवनमा आवश्यक पनि छ तर त्यसको पूर्णचित्र बिना नै गरिने विवाहले भने हाम्रो जीवनको खुशी र आनन्दलाई नै टाढा धकेलिदिन सक्दछ । किन यसो हुन्छ ? भन्ने विषयमा सोपेनहावरको भनाइ छ — विवाहले मानिसको आफ्नो अधिकारका साथसाथै जिम्मेवारीलाई पनि दुईगुणा बढाइदिन्छ । यो कुरा नबुझीकन बिना तयारी गरिने विवाहले जीवन बोझिलो हुन्छ, आनन्द, प्रेम र सन्तुष्टी दिँदैन ।

नेपाली समाजमा अधिकांश युवाहरुको विवाह अभिभावकको चाहना र प्राथमिकता अनुरुप हुने गरेको छ । विवाह के हो ? यो के का लागि गरिन्छ ? कस्तो जीवनसाथी मलाई आवश्यक छ ? जीवनसाथी र परिवार के हो ? विवाह पछिको मेरो क्यारिअरमा यसले के फरक पार्दछ ? विवाहपछिका मेरा दायित्व र कर्तव्यहरु कस्ताकस्ता हुन्छन् ? यसले जीवनको सफलता र आनन्दमा के र कसरी असर पार्दछ भन्ने जस्ता प्रश्नहरुको मनन नै नगरी लहडको भरमा,  अरुको सल्लाह र प्राथमिकतामा वा यौनको भावनात्मक आवेगको अवस्थामा छनौट गरिएको साथी र गरिएको विवाहले धेरै युवाहरुको वैवाहिक जीवन धरापमा परेको, जीवन अलमलिएको र तनावका कारण पारिवारिक हिंसा बढाउने गरेको पाइन्छ ।

प्रेम विवाह होस् वा आयोजित विवाह जुनसुकै विवाह गरे पनि यी माथि चर्चा गरिएका प्रश्नहरुमा मन्थन गरेर र छनौटका उचित विकल्पहरु मन्थन गरेर यदि विवाह गरिएको छ भने त्यसले वैवाहिक जीवनपछिको जीवनलाई सकारात्मक उर्जा दिन सक्दछ । यी कुराहरु विचार नै नगरी गरिएको विवाहले जीवनमा चाहेको र पाएकोमा फरक ल्याउन सक्दछ र वैवाहिक जीवन एक प्रकारले बोझ बन्दै जानथाल्छ । समान किसिमको मानसिक, भावनात्मक र चिन्तन भएका जोडीहरुको विवाह पछिको जीवनले बढी उर्जा प्राप्त गर्न सक्ने गरेको पाइन्छ भने त्यो नमिल्ने गरी जोडिएको विवाह धरापमा पर्ने वा निकै अप्ठ्यारो सँग चल्ने गरेको देखिन्छ ।

विश्वका अधिकांश सफल पुरुषहरुको जीवनलाई हेर्ने हो भने त्यसको पछाडि प्रेमपूर्ण महिलाको हात रहेको देखिन्छ । महिला छ भने पुरुषको सकारात्मक सहयोग र भावनात्मक एकताका कारणले उसले त्यो सफलता हासिल गरेको पाइन्छ । त्यो उत्प्रेरणादायक व्यक्ति यदि जीवन साथी हुन सकेको छ भने त झनै प्रगति र उन्नतिको उर्जा शक्तिशाली हुने गरेको पाइन्छ । त्यसैले एउटा भनाइ पनि छ कि सफलताको शुरुआत आफ्नै परिवारबाट हुन्छ । जो व्यक्ति आफ्नो परिवारमा सफल हुन सकेको छैन त्यो व्यक्ति समाज, देश र संसारमा सफल हुने कमै संभावना हुन्छ । अपवाद वाहेक ती व्यक्तिहरु सफल हुने गरेको पाइन्न जो परिवारमै असफल छन् । त्यसैले पप जोन पल द्वितीय भन्छन् — जसरी परिवार चल्दछ, त्यसरी नै नै देश चल्दछ, जसरी देश चल्दछ त्यसरी नै हामी बाँचेको संसार चल्दछ ।

त्यसैले विवाह एउटा सामाजिक कार्य मात्र होइन यो आफ्नो व्यक्तित्व निर्माणको, जीवन विकासको, सफलताको र छनौटको स्वतन्त्रताको मानवीय शक्तिलाई चिन्ने र सही उपयोग गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो । त्यसमा उचित विकल्पको छनौट गर्ने आफ्नो शक्ति चिन्न ढिलो गर्यौँ वा अरु कसैको प्रभाव र सल्लाहमा परी आफूभित्रको छनौटको स्वतन्त्रतालाई अनदेखा गर्यौँ भने त्यसले हाम्रो जीवनलाई नराम्ररी असफलता, तनाव र छटपटीमा पुर्याइदिन्छ ।

कृषिमा आधारित अर्थतन्त्र भएकाले काम गर्ने मानिस घरमै भएमा किफायती हुने हुनाले छोराहरु बाहिर गएर काम गरे पनि बुहारीहरु त घरमा हुन्छन्, काम सघाउँछन् भन्ने ग्रामीण अवधारणाले हाम्रो समाजलाई छाडेको छैन । १६।१७ वर्ष काटेपछि विवाहको कुराकानी चल्ने र विश्वविद्यालय वा उच्च माध्यमिक तहको पढाइ पनि त्यति नै बेला आइपर्ने कारणले अधिकांश युवाहरु अध्ययनलाई प्राथमिकता दिने कि विवाहलाई भन्ने विषयमा अति नै अलमलमा निर्णय लिने गरेको पाइन्छ ।

यौनको बढ्दो चाहना, विपरित लिङ्गप्रतिको तीव्र आकर्षणको आवेगको यो समय होश भन्दा पनि जोश र आवेग बढी हुने समय हो । यसबेला हाइस्कूल शिक्षा उत्तीर्ण गरिसकेको र कलेजको शिक्षा आरम्भ गर्नुपर्ने अवस्थामा रहेका युवाहरु अत्यन्त नाजुक मानसिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यदि स्कूल शिक्षामा नै अनुत्तीर्ण भई केही समय रोकिनु पर्ने भयो भने र ग्रामीण परिवारमा जन्मेको छ भने त यो बेला युवाहरुका लागि झनै संकटपूर्ण हुन्छ । त्यसबेला अव अभिभावकले पनि धैर्यता र साहसका साथ असफलतालाई सामना गर्ने हौसला र प्रेरणा दिनुपर्ने हुन्छ । तर युवा मनोविज्ञानको जानकारीका अभावमा असफलता प्रति उल्टै निराशाजनक कुराकानी गर्ने र हीनता बढाउने काम गर्नाले उनीहरुको मनोवैज्ञानिक साहस र उत्साहमा कमी आई अभिभावक, नातेदारहरुको सल्लाहमा आफूलाई ढाल्दै जानु पो पर्छ क्यार भन्ने भाव विकास भई निर्णयको आफ्नोपन विस्तारै कमजोर हुनथाल्छ । परिणामतः छनौटको स्वतन्त्रताको अनुभव र अनुभूतिबाट आफू परतन्त्र हँुदै गएको, आफ्नो स्वतन्त्रता कुण्ठित भएको अनुभव ती युवाहरुले गर्नथाल्दछन् ।

महिलाहरुको हकमा त यो अझ बढी लागू हुन्छ । विद्यालय शिक्षामा असफल भएका केटीहरुका लागि त अभिभावकका लागि सबैभन्दा सरल उपाय हुन्छ छिटो विवाह गरिदिनु । हौसला र आगामी दिनमा त्यसबाट सिक्नुपर्ने शिक्षाका बिषयमा सम्झाएर उनीहरुलाई मानोवैज्ञानिक रुपमा सबल बनाउने र भावी दिनका लागि त्यसबाट सिक्ने प्रेरणा दिने भन्दा पनि तत्काल उपलब्धि हासिल गर्न नसकेको कुरालाई भावी अयोग्यताको रुपमा लिई उनीहरुको छनौटको स्वतत्रताको शक्ति नै अन्त्य हुने अवस्था बन्न थाल्दछ । त्यसबेला उनीहरु सँग या त सानो भए पनि काममा लाग्नु अनिवार्य हुन्छ भने या त विवाहको स्वीकृतिमा टाउको हल्लाउनुपर्ने अवस्था हुन्छ ।

छनौटको स्वतन्त्रता र युवावस्था

जीवन विकासका यी अत्यन्तै महत्वपूर्ण तीनै पक्ष विद्यालय शिक्षा पछि लगभग एकैसाथ आइपर्दछन् । आफ्नो दीर्घकालीन लक्ष्य र उद्देश्यसँग यसलाई गाँसेर हेर्न र त्यस अनुसार व्यवस्थापन गर्न सकिएन र छनौटको स्वतन्त्रतालाई प्रयोग गरी उचित निर्णय लिन सकिएन भने आफूले चाहेको र पाइरहेको कुराको बीचमा बेमेल सिर्जना हुन्छ र जीवन नै एक किसिमले धरासायी हुन सक्दछ ।

यही बेला हो युवाहरुको जीवन लक्ष्य पहिचानको बिशेष क्षमता विकास गर्ने, परिवर्तन गर्ने र व्यवस्थापनका नयाँ तरिकाहरु पहिल्याउने बेला । यो समय नै जीवनको जगहाल्ने नाजुक समय हो । यसबेलाका निर्णयले नै छनौटको वास्तविक शक्तिको प्रयोग ठीकसँग गरियो कि गरिएन भनेर आफूलाई बुझ्न सकिन्छ । यसबेला आफ्नो अन्तिम लक्ष्यसँग तत्कालको समस्या र नाजुक अवस्थाबाट पारपाउने क्षमता र दृष्टि विकास गर्न सकिएन, दुख, पीडा र असफलताको अवस्थालाई शिक्षामा रुपान्तरण गर्न सकिएन भने न त आफूले चाहेको अन्तिम लक्ष्यतिर बढ्न सकिन्छ, न त मध्यकालीन लक्ष्यमा सफलता हासिल नै गर्न सकिन्छ ।

जीवनको अर्काे महत्वपूर्ण पक्ष हो – पेशा वा कामको छनौट । कुन काम वा पेशा मेरो लागि उपयुक्त हो, कुन पेशामा मेरो भविष्य विकसित हुनसक्दछ भन्ने दीर्घकालीन सोचको आधारमा उचित निर्णयका साथ पेशामा संलग्न हुने भन्दा पनि हाम्रो समाजमा सानो भएपनि र कुनै भविष्य नभएको स–सानो काममा अल्झिइहाल्ने परिपाटी अलि बढी नै छ । कलेजको पढाइ पूरा गर्नासाथ आधारभूत आवश्यकता पूरा गर्नका लागि ससानो र जस्तो पाए पनि काममा अल्झिहाल्ने गर्ने गरेको पाइन्छ । यसले गर्दा लामो जीवन भविष्य धरापमा पर्ने र तत्कालको सानो काम चलाउ पेशामा जीवन अल्झेर बोक्नु न टोक्नुको अवस्था आउने खतरा आउनसक्दछ । छोडिहाल्दा अर्को नपाउने होकि भन्ने डर, नछोड्दा न जीवन राम्ररी गुजारा गर्न पुग्ने कमाइ हुन्छ न भविष्य उन्नत हुन्छ, न सन्तुष्टी नै हुन्छ ।

यी तीनवटै बिषयमा मैले गरेका जीवनबोध र विश्लेषण म आफ्नै जीवनका अनुभवका आधारमा प्रस्तुत गर्न उपयुक्त ठान्दछु । म एक ग्रामीण किसान परिवारमा जन्मेँ । हाइस्कूल पास गरेका युवाहरु त्यतिबेला गाउँमा फाट्टफुट्ट मात्र थिए । शिक्षकको जागिर जहाँसुकै पाइन्थ्यो । जागिर थोरै भए पनि पाउन सजिलो थियो । पढेलेखेका केटाहरुलाई विवाहको त्यस्तैबेलामा बढी नै आउँथ्यो ।

मलाई पनि हाइस्कूल उत्तीर्ण गर्नासाथ विवाह गर्नका लागि विभिन्न ठाउँबाट प्रस्ताव र जागिरका लागि निम्ता दुवै आउन थाले । मभन्दा अग्रज केही साथीहरु भने समउमेरका केटी साथीहरुसँग विवाह गरेर, स्थानीय स्कूलहरुमा शिक्षकको जागिरमा संलग्न भइसकेका थिए । कतिपयका छोराछोरीहरु पनि भइसकेका थिए । ग्रामीण परिवेशमा एउटा जागिर र परिवारमा केही आम्दानी भित्रिने अवस्था भएपछि घरायसी व्यवहारमा पनि केही सुधार आउनु स्वाभाविक थियो ।

केही साथीहरु भने घरमा अभिभावकहरुलाई सघाउन विवाह गरी श्रीमतीहरु घरमा छाडिदिने र आफू भने पढ्नतिर लाग्ने गरेका पनि थिए । मलाई पनि ती दुवैखाले अवसरहरु थिए । मेरो घरमा पनि घरायसी र खेतीपातीको काममा संलग्न हुनसक्ने बुवाआमा र हजुरबा मात्र हुनुहुन्थ्यो । हजुरबा अलि पाको भइसक्नुभएको थियो । त्यसैले सबै कामको भार बुबाआमामा मात्रै थियो । खेतीपाती अलि बढी नै भएकाले र गाइभैँसी पनि निकैवटा पालेकाले कामकाजको चटारो निकै थियो । एक किसिमले उहाँहरुको प्रस्ताव त्यतिबेलाको परिवेश र घरको अवस्था अनुसार अनुपयुक्त थिएन । तर मलाई भने त्यसरी सरल विकल्पमा लागियो र तत्कालको फाइदा हेरियो भने त्यसले दीर्घकालीन रुपमा आफूलाई पछि पार्नसक्छ भन्ने लाग्यो । कमसेकम स्नातक उत्तीर्ण नगरीकन कुनै अस्थायी जागिर नखाने र विवाह पनि नगर्ने निर्णयमा पुगेँ ।
जसले स–सानो भने पनि जागिर खाने, विवाह गरी जीवनसाथीसँग आनन्दसाथ बिताउने निर्णमा पुगे ती साथीहरुका शुरुका दिनहरु त सासानो कमाइ भएपनि नियमित कमाइ भएकाले, आम्दानीको स्रोत बनेकाले रमाइलो नै भयो । उच्च अध्ययनको विकल्प विस्तारै ओझेल पर्न लाग्यो । बच्चाहरु जन्मिए । दायित्व थपिँदै गयो । औपचारिक शिक्षाको अध्ययन छुट्यो । स्वाध्याय पनि व्यवहारिक चापले बढाउन सकेनन् । जागिरमा पनि सजिलो विकल्प छानेर प्रवेश गरेको र त्यसमा बढ्ने सम्भावनाहरु नभएकाले बढेन । बिस्तारै आर्थिक अवस्थामा पनि शुरुमा जुन उत्साह र उमंग थियो त्यो पनि व्यवहारका चापमा कठिन हुँदैगयो । न त जीवन उन्नत भयो न त भौतिक प्रगति, न त सुख, सन्तोष र आनन्द । अधमरोमै उनीहरुको जीवन चलिरहेको देख्छु अहिले । यी भए पुरुषहरुका कुरा । महिलाहरुको अवस्था त योभन्दा झनै विकराल छ ।

महिलाहरु र युवावस्था

महिलाहरुका लागि सबैभन्दा नाजुक निर्णय हो विवाह । महिलाहरुको जीवनको सफलता र असफलतामा अत्यन्तै गम्भीर प्रभाव पार्छ विवाहले । कस्तो जीवन साथीसँग, कस्तो परिवारमा, कस्तो पेशा, शैक्षिक अवस्था र परिवारको संरचना भएको घरमा र कस्तो पुरुषसँग विवाह गर्ने भन्ने यकिन दृष्टिकोण बनाई स्वनिर्णयका आधारमा विवाह गर्ने परिपाटी अझै नेपाली समाजमा बसिसकेको छैन । स्वनिर्णयको स्वतन्त्रता महिलाहरुले अझै पाइसकेका छैनन् । ग्रामीण क्षेत्रमा त यसको शुरुआत पनि भएको छैन । शहरी क्षेत्रमा र शिक्षित र आत्मवल दह्रो भएका केही महिलाहरुमा बाहेक आम रुपमा भन्ने हो भने शहरीयाहरुमा पनि यो प्रचलनको रुपमा आइसकेको छैन ।

विवाह किन गर्ने ? त्यसको जैविक महत्व के ?  सामाजिक पक्ष, दायित्व र जिम्मेवारी त्यसपछि कस्तो हुन्छ ? सन्तानको संख्या र सन्तान जन्माउने अवस्था कतिबेला हो ? विवाहपछिको आफ्नो भविष्य कस्तो हुन्छ ? आदि जीवन व्यवस्थापन र भोगाइका यावत पक्षका विषयमा कुनै पनि प्रष्टता नभई उमेरको एक अवस्थामा आइपर्ने भावनात्मक र संवेगात्मक आवेगमा नै युवावस्थामा विवाह गर्ने गरेको पाइन्छ अधिकांश व्यक्तिले ।  केहीले अभिभावकहरुको जिम्मेवारी पूरा गर्नका लागि विवाह गरिदिने प्रचलन पनि हाम्रो समाजमा विद्यमान छँदैछ । केटा हुन् वा केटी दुवै पक्षमा यस्ता गम्भीर जीवनदृष्टिको विकास नै नभई विवाह हुन्छ । सन्तान जन्मिन्छन् । क्यारियरको विभिन्न पेशामा संलग्न हुने निर्णय लिन्छन् । यसले नै हाल हाम्रो समाजमा घरेलु हिँसा, महिला हिंसा, यौनजन्य असन्तुष्टि, पारिवारिक विछोड जस्ता समस्याहरु देखापरिरहेका छन् । व्यक्तिको स्वतन्त्र व्यक्तित्व विकासका लागि यी प्रश्नहरु ज्यादै महत्वपूर्ण प्रश्नहरु हुन् । यस्ताकुराहरुमा सही जीवनदृष्टि बनाउन नसक्नाले जीवन अधुरो, तनावग्रस्त र असफल हुने गरेको छ ।

सन्तान, भविष्य निर्माण र आत्मनिर्भरता

विवाह पछिको महिलाहरुको जीवनमा आइपर्ने महत्वपूर्ण पक्ष हो सन्तानको जन्म । एक सन्तान भए ३ देखि ५ वर्ष र दुई सन्तान भए त अझ ५ देखि ७ वर्ष अझ १०  वर्ष नै सन्तानहरुको स्याहारसुसारको गहन जिम्मेवारी महिलाहरुले निर्वाह गर्नुपर्ने हुन्छ । दम्पती मात्र सँगै छन्, संयुक्त परिवारमा छैनन् भने बच्चा सानो होउन्जेल न त पढाइ हुनसक्दछ न त जागिर वा व्यवसाय नै । ५।७ वर्षको उर्वर समय सन्तानहरुको स्याहारसुसार र घरपरिवार भित्रै बितेपछि न त पढाइ थप विकास गर्न सकिन्छ न त कुनै व्यवसाय वा जागिरको संम्भावनाहरु सोच्न सक्ने आत्मबल नै रहन्छ । एक किसिमले भन्ने हो भने यो समय अब परिवार केन्द्रित समयका रुपमा बिताएको कारणले गर्दा बाहिर निस्केर काम गर्ने उर्जामा कमी आउँछ । जीवनमा केही गर्ने हिम्मत र आँट हराउँदै जानथाल्छ । आत्मबलमा कमी आएपछि त्यसले हिम्मत पनि कमजोर बनाउँदै जान्छ । अनि विस्तारै घर र भन्सामा महिलाहरु सीमित हुन बाध्य हुन्छन् । त्यसैले विवाह गर्दा पुरुषभन्दा पनि महिलाहरुले आफ्नो जीवनदृष्टि पूर्णतः स्पष्ट बनाउनु पर्नेमा झन् उनीहरुनै यसमा पुरुषभन्दा कमजोर बनिरहेका र बढी नै अनिर्णयको अवस्थामा विवाहित हुने गरेको पाइन्छ ।

यहाँनेर युवाहरु हरेकले बुझ्नुपर्ने कुरा केहो भने माथि उल्लेखित तीनवटै कुराहरुमध्ये पढाइ अर्थात् अध्ययन बाहेक अन्य दुवै कुरा जरुरी होलान् वा मनोरञ्जन होलान् तर महत्वपूर्ण र जीवन परिवर्तनकारी भने हुँदै होइनन् । ती दुवैकुराले जीवनमा खासै परिवर्तनकारी महत्व राख्दैनन् । जीवनलक्ष्यसँग तिनलाई दाँजेर र आफ्नो भूमिका र लक्ष्यलाई ध्यानमा राखेर सही प्राथमिकतामा राख्ने निर्णय गर्न सकियो भने मात्रै जीवन परिवर्तन र सफलताको शीखरतिर लाग्दछ अन्यथा यथास्थिति र औसत जीवनमै चित्त बुझाउनु पर्ने हुन्छ ।  

Sunday, May 12, 2013

भूमिका तथा लक्ष्यको तालमेल

मानिसको जीवन नाटकघरमा बनाइएको नाट्यमञ्च जस्तै हो । मञ्चमा एउटै व्यक्ति पनि अनेक भूमिकामा अभिनयका लागि देखापर्छ । अभिनय गर्छ, बहिरिन्छ । फेरि अर्को पात्र आउँछ अभिनय गर्छ, आफ्नो भूमिका निर्वाह गर्छ अनि फेरि बाहिरिन्छ । यसरी अभिनयको भूमिका अर्थात् “रोल” र अभिनय अर्थात् “गोल” नाट्यमञ्चमा चलिरहन्छ । तर ती भूमिका निर्वाह गर्ने अभिनयकर्ताहरु मध्ये एक वा दुई पात्रको भूमिका भने प्रमुख हुन्छ । त्यही पात्रको चरित्रलाई पुष्टि गर्ने वा खण्डनमण्डन गर्ने गरी अरु चरित्रहरुले अभिनय गरिरहेका हुन्छन् । 

मानिसको जीवनमा पनि त्यही कुरा लागू हुन्छ । हामी जीवन बाँच्नका लागि स्थान, समय, परिवेश र परिस्थिति अनुसार विभिन्न भूमिका निर्वाह गर्दछौँ । एउटा कर्मचारी कर्मचारी मात्र हुँदैन । ऊ कार्यालयमा रहँदा कर्मचारी हुन्छ । घरमा रहँदा पुरुष भए एउटा अभिभावक, छोरा, नाति, बाबु आदि होला महिला भए सोही अनुसार अभिभावक, आमा, दिदी, बहिनी, छोरी आदि होला । समाजमा रहँदा एक छिमेकी, समाजको सदस्य होला । संस्थाहरुमा भए कुनै पदाधिकारी, सदस्य, समर्थक, शुभचिन्तक केही होला । देशभित्र एक नागरिक होला । ती विभिन्न भूमिका निर्वाह गर्ने व्यक्ति त एउटै हुन्छ तर उसका भूमिका भने फरकफरक हुन्छन् । ती सबै भूमिकाको स्थान, परिवेश अनुसार आफ्नै महत्व र मूल्य पनि हुन्छ । ती भूमिकाहरु निर्वाह नगर्ने हो भने जीवन संचालन पनि गर्न सकिँदैन । आफ्नो भूमिका समग्र रुपमा थाहा पाउन सकियो भने ती भूमिकामा म आफू स्वयं कस्तो बन्नचाहेको हो त्यसको यकिन गरी आफूलाई सोही अनुरुप ढाल्न र परिवर्तन गर्न सजिलो हुन्छ । यदि ती भूमिकाहरु नै देख्न सकिएन भने मानिस लक्ष्यविहीन, मूल्यविहीन हुन्छ । सबै मानिस यस्तो भूमिका त निर्वाह गरिरहेका हुन्छन् तर त्यस भूमिकामा म कस्तो मानिस बन्न चाहेको हो भन्न्ो सचेतता चाहिँ धेरै कम मानिसलाई हुन्छ । राजनीति गर्नेले राजनीति त गरिरहेको हुन्छ तर मेरो राजनीतिमा गरिरहेको भूमिकाको लक्ष्य के हो ? म कतातिर जान यस भूमिकामा लागिरहेको छु ? भन्न्ो प्रष्टता भने धेरै कमलाई हुने गर्दछ । कुनै कार्यालयमा काम गर्ने कर्मचारी छ उसलाई मेरो भूमिकाका अरु पक्षहरु पनि छन्, म नागरिक पनि हुँ, समाजको सदस्य पनि हुँ भन्न्ो होस नै हुँदैन । विद्यार्थी छ तर म कस्तो विद्यार्थी बन्ने हो ? मेरा अरु भूमिका कस्ता छन् ? ती भूमिका कसरी निर्वाह गर्ने ? यस्तो बिषयमा कुनै चिन्तन नै गरेको हुँदैन । अनेक भूमिका सन्तुलन मिलाएर बाँच्नु पर्ने जीवनमा एउटा मात्र भूमिका निर्वाह गरेर बाँच्न खोज्छ अनि जीवनमा कहिल्यै सन्तुलन देख्दैन । असन्तुष्टि र खण्डितपनको पीडा महसुस गरिरहन्छ । अनेक भूमिकाहरु निर्वाह गर्ने कामको आधारभूत तहमा एक सामान्य मानिस हुन्छ । कुनै पद, कुनै प्रतिष्ठा, कुनै पहिचान नभएको विशुद्ध मान्छे । त्यो आधार मानिस एकदमै सरल, निष्कपट, निश्छल छ । हरेकभित्र त्यो मानिस अन्तरमा बसेको छ । त्यो सधैँ कमजोर, निरिह, असक्त बनाएका छौँ हामीले । हाम्रा सामाजिक अवधारणाको भारीले त्यो सरल, निष्कपट र आधारभूत मानिस थिचिएको छ । तर वास्तवमा मानिसलाई मानिस बनाउने त्यही भूमिकाविहीन मानिस, त्यही कपटरहित मानिस, त्यही अहंकाररहित मानिस नै हो । त्यसैले व्यक्ति स्वयंमा कुनै भूमिका नहुँदाको अवस्थामा जति सरल, जति निष्कपट, जति शान्त हुनसक्छ त्यति नै बढी आफनो सही लक्ष्य, सिद्धान्त र आदर्शमा अडिग रहन सक्दछ । त्यो भूमिका नै नभएको विशुद्ध मानिस देख्ने, चिन्न, आत्मसचेतता बनाइरहने र त्यसलाई बेलाबेलामा उपयोगमा ल्याइरहने कार्य गरेर हामीलाई अनेक भूमिकामा बाँडिएको जीवनलाई ठीक प्राथमिकतामा हिँडाउन सक्दछौँ । यदि भूमिकाहरु मात्र देखेका छौँ तर भूमिकारहित मानिस देख्न सकेका छैनौँ भने जगबिनाको घर जस्तै हुन्छ हाम्रो जीवन पनि । लक्ष्यविहीन रुपमा यताउता अभिनयमा हल्लिरहने अभिनयकर्ता जस्तै । अभिनय गरुन्जेल भूमिका छ, अभिनय हराएपछि त मानिस आधारभूत मानिस नै हो भन्ने हामीलाई ख्याल भएन भने जीवनका प्रथमिकताहरु कहिल्यै सही ठाउँमा आउन सक्दैनन् । अभिनयका लागि आफूलाई दिइएको जोकर, नायक, नायिका, खलनायक यस्तैयस्तै भूमिका निर्वाह गर्ने पात्र मात्र आफूलाई ठानिरहन्छौँ र पात्रकै रुपमा बाँचिरहन्छौँ । तर के पात्रको रुपमा भूमिका निर्वाह गर्ने अभिनयकर्ता नै तपाईंभित्रको वास्तविक मानिस हो त ? गहिरिएर बिचार गरेर हेर्यौँ भने बल्ल थाहा हुन्छ हामी भूमिका निर्वाह गर्ने पात्र होइन वास्तविक मानिस त भूमिका नभएको विशुद्ध व्यक्ति पो रहेछ । यो थाहा पाइयो भने बल्ल जीवनका वास्तविक प्राथमिकता थाहा पाउन सकिन्छ ।   

परिवर्तनका लागि चिन्तन प्रणालीको विस्थापन र प्रतिस्थापन

सामाजिक, आर्थिक वा वैज्ञानिक जुनसुकै क्षेत्रको परिवर्तन मानिसहरुमा प्रचलित सामाजिक विश्वास, सोच र चिन्तन प्रणालीको परिवर्तनबाट शुरुआत हुन्छ । संसारमा जति पनि सामाजिक, राजनीतिक र वैज्ञानिक परिवर्तनहरु भएका छन् तिनलाई हेर्दा परम्परागत रुपमा चलिरहेका स्थापित मान्यताहरुका स्थानमा नयाँ मान्यताको चिन्तनले त्यसको जग हल्लाइदिएपछि मात्र नयाँ परिवर्तनको जग बनेको देखिन्छ ।
हामी जहिले पनि एकै किसिमको विश्वास–प्रणाली, चिन्तन, सोच र व्यवहारका साथ जीवन बाँचिरहन्छौँ, कहिल्यै पनि सोच, चिन्तन र व्यवहारमा व्यापक झड्का महसुस गर्दैनौँ र पुरानाका ठाउँमा नयाँलाई प्रतिस्थापन गर्न आफूलाई खुल्ला पनि राख्दैनौ भने न त समाज न त जीवन दुवैमा व्यापक र उन्नतस्तरको परिवर्तन सम्भव हुँदैन ।
पुरानाको बदलामा नयाँ अवधारणा चर्चामा आउनासाथ एक प्रकारले हरेक मानिसको चिन्तन प्रणालीमा गहिरो झट्का लाग्ने गर्दछ । त्यतिबेला पुरानो मान्यताका स्थानमा नयाँ स्थापित पनि नभएको र पुरानो पनि धरमराएको एक किसिमको रिक्तताको अवस्था सिर्जना हुन्छ । त्यही रिक्तताले व्यक्तिको सोच, चिन्तन र कार्यशैलीमा व्यापक मात्रामा विकासका नयाँ संभावनाहरु तयार पार्दछ । परिणामतः व्यक्ति र समाज दुवैमा त्यसले एक प्रकारको आमुल परिवर्तन ल्याइदिन्छ । व्यक्तिको होस् वा समाजको हरेक परिवर्तन अघि एक प्रकारको अवधारणाबाट अर्को अवधारणाका बीचमा रिक्तता आउन जरुरी छ । त्यसले मात्र पूर्णतः नयाँ परिवर्तन ल्याउन सक्दछ । चिन्तन प्रणालीको व्यापक रिक्तताको अनुभव नगरेको समाजमा आएको परिवर्तनले फेरि पुरानै अवस्थातिर फर्कने बलियो संभावना रहिरहन्छ ।
उन्नाइसौँ र बीशौँ शताब्दीमा राजनीतिक रुपमा माक्र्स, वैज्ञानिक रुपमा आइन्स्टाइन र आध्यात्मिक रुपमा ओशोका अवधारणाले यी तीनै पक्षमा हरेक व्यक्तिका सोच, चिन्तन र व्यवहारलाई एक किसिमले जरैदेखि हल्लाइदिए । त्यसै हल्लाइले नै वास्तवमा तत्कालीन अवस्थामा प्रचलित तीनवटै पक्षमा परम्परागत रुपमा स्थापित भएर बसेको पुरानो अवधारणालाई प्रतिस्थापन गरी व्यापक रुपमा परिवर्तन ल्याइदियो । परिणामतः सबैमा बिजुलीको करेन्टको झट्का लागेझैँ चिन्तनमा एक प्रकारको झट्का लाग्यो । पछिल्ला दिनमा ती महापुरुषहरुका अवधारणाले ल्याएको परिणाम हामी सबैले महसुस गरिरहेकै छौँ ।

कार्लमाक्र्स र राजनीति

कार्लमाक्र्सको राजनीतिक दर्शनले पुरानो राजनीतिक अवधारणामा प्रहार गरी नवीन चिन्तनको शुरुआत गरेपछि विश्वव्यापी रुपमा शोषितपीडित र श्रमिकहरुले आफ्नो हक, अधिकार खोज्ने, राज्यको शासन प्रणालीमा परिवर्तन ल्याउने काम शुरु गरे । श्रमिकहरुलाई पनि मानिसका रुपमा स्थान दिन थालियो । मानवीय व्यवहार गर्न शुरुआत गरियो । राजनीतिक अधिकार बढाइयो । एक प्रकारले तत्कालीन अवस्थामा चलिरहेको सामाजिक, आर्थिक, राजनीतिक ढाँचामा यस अवधारणाको शुरुआतले व्यापक राजनीतिक र सामाजिक परिवर्तन ल्याइदियो । धार्मिक व्यक्तित्वहरु र सामन्तहरुको पकडमा रहेको राजनीतिलाई सर्वसाधारणमा त्यो शक्ति हस्तान्तरण हुनुपर्छ भन्ने सचेतता व्यापक फैलिन थाल्यो । परिणामतः एक जबर्जस्त परिवर्तनको लहर संसारमा सबैतिर देखापर्यो ।

आइन्स्टाइन र विज्ञान

आइन्सटाइन अघि पदार्थलाई हेर्ने वैज्ञानिकहरुको दृष्टिकोण एक प्रकारको थियो । त्यसबेलासम्म पदार्थहरु सबै जड हुन्, तिनमा चेतनतत्व हुँदैन, गतिहीन हुन्छन् भन्ने मान्यता थियो तर जब आइन्स्टाइनको प्रयोगले हरेक वस्तुमा गति र चेतना हुन्छ भन्ने देखाइ दियो त्यसपछिको विज्ञानका क्षेत्रमा जति कामहरु भए त्यसको मोड नै अर्कै ढंगले आयो । अणुअणुमा चेतना र गति हुन्छ, ठोस देखिएका वस्तुहरु त्यही गति र चेतनाका सघन रुपहुन् भन्ने उनको प्रयोगले सिद्ध गरिदियो । अहिलेसम्म उनको यो अवधारणामाथि चुनौती आएको छैन । चुनौती दिनसक्ने नयाँ अवधारणा आयो भने त्यसले फेरि यो अवधारणालाई हल्लाइदिनेछ र पुनः नयाँ अवधारणा साथ अझ उन्नतस्तरको विकास फेरि विज्ञानले प्राप्त गर्नेछ ।

ओशो र अध्यात्म

अध्यात्मका क्षेत्रमा ओशोका प्रयोगहरु त्यस्तै हुन् । ध्यानलाई नृत्य, उत्सव र सँगीतसँग गाँसेर शुष्क, निरश र अनाकर्षक बनिरहेको अध्यात्मलाई नयाँ किसिमले जीवन्त रुप प्रदान गर्ने ओशोको प्रयत्न रह्यो । त्यस प्रयत्नका कारण मानिसको अन्तरतम गहिराइमा परम्परागत रुपमा जरो गाडेर बसेका अध्यात्मका विविध पक्षलाई स्वीकार गरे पनि वा नगरे पनि भित्रभित्रै जरैदेखि हल्लाइदियो । परिणामतः ओशोपछिका अध्यात्म साधनाका क्षेत्रमा संगीत र नृत्यजस्ता मनोरञ्जक पक्ष पनि अनिवार्य अङ्ग बन्दै गए । अध्यात्मको साधना अब रुखो र निरश होइन, उत्सवमय, संगीतमय बन्न पुग्यो ।
यसरी कुनैपनि परिवर्तित नयाँ अवधारणाको प्रादुर्भावले त्यस बिषयका स्थापित सामाजिक–साँस्कृतिक चिन्तनपद्धति र अवधारणालाई नै हल्लाई एक प्रकारले झट्का दिन्छ अनि क्रमशः विस्थापित गरिदिन्छ । यस्ता प्रभावकारी नयाँ अवधारणाहरुले पुराना अवधारणालाई प्रतिस्थापित गर्दा विश्वलाई, व्यक्तिलाई, घटना विशेषलाई हेर्ने व्यक्तिको दृष्टिकोणमा पनि केही न केही अग्रगामी, विकासमूलक परिवर्तन आउँछ । पुरानाका बदलामा नयाँ दृष्टिकोण बन्दछन् । व्यक्तिको व्यवहार, चरित्र, अवधारणा सबै क्षेत्रमा व्यापक परिवर्तन देखापर्छ । यसको अन्तिम परिणामको रुपमा एकअर्काको सम्बन्धको दृष्टिकोण नै बदलिन्छ । पहिले चलिरहेको भन्दा नयाँ यथार्थ प्रकट हुन्छ । यो नयाँ यथार्थ अघिल्लोभन्दा भिन्न र नयाँ हुन्छ । नयाँ किसिमले यसले समाज र व्यक्तिलाई गतिमान् बनाइदिन्छ ।
यस्ता व्यापक परिवर्तनकारी अवधारणाहरुले कहिलेकाहीँ अल्पकालमा अत्यन्त सकारात्मक नतिजा ल्याउने र दीर्घकालमा परिणाम हेर्दा केही नकारात्मक असर पारेको पनि देखिन्छ । इतिहासलाई विश्लेषण गरेर हेर्दा द्वितीय विश्वयुद्ध अघिसम्म व्यक्तिभित्रको चारित्रिक पक्षको विकासलाई जोड दिइन्थ्यो र मानिसको सफलता र प्रभावकारितालाई त्यसैसँग गाँसेर हेरिन्थ्यो । तर जब द्वितीय विश्वयुद्ध पछि व्यक्तित्व विकास र मस्तिष्क क्षमता सम्बन्धी अवधारणाहरुले त्यसलाई प्रतिस्थापित गरिदिए व्यक्तिको प्रभावकारिता उसको प्रदर्शनकारी वाह्य व्यक्तित्वमा आधारित हुन्छ भन्ने अवधारणा स्थापित भयो । यसले व्यक्तिलाई आफ्नो व्यक्तित्व तात्कालिक रुपमा प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका पनि प्रदान गर्यो । व्यक्तिले आर्जन गर्नसक्ने उपलब्धिहरुमा यस चिन्तन प्रणालीले व्यापक रुपमा प्रभावकारिता पनि ल्यायो । तर यसको परिणामस्वरुप व्यक्ति नितान्त व्यक्तिगत, स्वार्थी र अनाचारी पनि बन्दै गयो । भौतिक उपलब्धि हासिल गरेर जीवनलाई उपलब्धिमूलक र प्रभावकारी बनाउनका लागि यो अवधारणा यद्यपि ठीक नै देखिन्छ तर व्यक्तिको आन्तरिक सचेतता विस्तार गरी सन्तुलित, सचेत र मानवीय भावनायुक्त मनिस तयार गर्नका लागि भने यो अवधारणा असफल नै भयो । यसका दुष्परिणामहरु वर्तमान विश्वमा आतंक, युद्ध, कलह, हिंसा, कुलत र भ्रष्टताका रुपमा  देखापरिरहेका छन् ।

Wednesday, January 23, 2013

ध्यानः गन्तव्य एक, मार्ग अनेक

“हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अवस्थाको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष पहिरनमा सजिएका मानिसहरुले आँखाचिम्लेर बसिरहेको सम्झन पुग्छौँ । पतञ्जलीले अष्टाङ्ग योगको चर्चाका क्रममा ध्यानलाई योगको छैठौँ चरणमा राखेका छन् । यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान अनि समाधि । योगको पूर्णावस्था समाधिमा गएर हुने हुनाले ध्यानलाई त्यसभन्दा तल्लो खुट्किलोका रुपमा उनले राखेको पाइन्छ ।

गुरु गोरखनाथले निकै अघि ध्यानको अवस्थाका लागि हामीले बनाएको धारणाभन्दा भिन्न रुपमा उल्लेख गरेका भए पनि ओशोभन्दा अघिसम्म ध्यान उत्सवमय, संगीतमय र नृत्यमय हुनसक्छ भन्ने कमैलाई लाग्दथ्यो । आशोको देन यसैमा छ । उहाँले ध्यानलाई नृत्य, उत्सव र उल्लासमय वातावरण संग जोडिदिनु भयो । अहिले आएर ध्यानमा संगीत भएन, उत्सव र नृत्य भएन भने ध्यान नै होइन कि भनेजस्तो भइसकेको छ । भजन, गायन, नृत्य तथा उत्सव ध्यानका अभिन्न अङ्ग भइसकेका छन् । ओशोले संसारलाई ध्यानका नयाँ विधिहरु सिकाउनु अघि उत्सव, नृत्य र संगीत ध्यानका अभिन्न र अनिवार्य पक्ष भइसकेका थिएनन् । तर त्यसपछि भने ध्यानका विधिहरुमा नै आमूल परिवर्तन आएको छ । संसारभर अब ध्यान भन्नु एकाग्रतापूर्वक स्थिर आसनमा बसिरहनु मात्र होइन भन्ने मान्यता स्थापित हुँदै गइरहेको छ । ध्यान जुनसुकै विधिबाट गर्न शुरुआत गरे पनि अन्तरनिरीक्षणको माध्यमबाट, आफैँप्रति प्रेम र होस जगाउने कला हो जसबाट मानिसले मानसिक शान्ति, प्रफुल्लता, सिर्जनात्मकता र आध्यात्मिक सुखको स्रोत फेला पार्न सक्दछ । यसलाई जति सजगताका साथ ग्रहण गर्न र अभ्यास गर्न सक्यो त्यतित्यति गहिराइका साथ जीवनमा ध्यानमय बन्न सकिन्छ ।

त्यसैले गोरखनाथ भन्नुहुन्छ — होसका साथ हिँड्नु, होसका साथ बोल्नु, होसका साथ काम गर्नु सबै ध्यान हुन् । जबसम्म हामी हाँस्दै, खेल्दै, नाच्दै होसपूर्ण हुन सक्दैनौँ तबसम्म हामी ध्यानको नाममा धारणा नै बनाइरहेका हुन्छौँ ।

ध्यानमा प्रगति भइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने ? भन्ने प्रश्नमा पथिक फाउन्डेशन सतुङ्गलका ध्यान कार्यक्रम संयोजक स्वामी प्रेम सतनाम भन्नुहुन्छ — ध्यानले हामीलाई म एक मानव हुँ भन्ने अनुभूतितिर, सरल जीवनतिर, सहज सोचाइतिर, सरल स्वभावतिर, सामान्यीकरणतिर, निरन्तर होस र जागृतितिर लगिरहेको छ कि भित्रभित्रै म त ध्यान गर्ने हुँ, अरुभन्दा फरक हुँ भन्ने दम्भ र अहंकारतिर लगिरहेको छ ? त्यसले नै ध्यानको गुणवत्ता स्थापित गरिदिन्छ । उनका विचारमा गोरखनाथको यो सूत्रले जीवनलाई सरलतम र स्वाभाविकतम अवस्थामा पुर्याउनु नै ध्यानको लक्ष्य हुनुपर्ने कुरा प्रष्ट्याउँछ । ध्यानी बन्नु भनेको चुपचाप आँखा बन्द गरेर बस्नु मात्र होइन निरन्तर रुपमा होसपूर्ण, सजग,  सचेत, स्वाभाविक, उर्जावान् र उत्सवमय हुन सक्नु हो । त्यसैले नृत्य, उत्सव र हाँसो पनि  ध्यानकै अभिन्न अंग हुन् भन्छन् उनी । गेरखनाथको ध्यान सम्बन्धी यही सूत्रका  आधारमा नै उनी संलग्न संस्था पथिक फाउन्डेशनले ध्यानका कार्यक्रमलाई कर्मका साधनासंग पनि जोडेर लैजाने गरेको छ । कर्ममा सरलता र सहजता आएन भने ध्यान मात्र गरेर त्यसबाट प्राप्त हुनुपर्ने परिणाम हामीले लिन सक्दैनौँ भन्छन् स्वामी सतनाम ।

यसैमा अझ थप्दै स्वामी सतनाम भन्छन् — “ध्यान मानिसको नैसर्गिक अवस्था हो । यसले हामीलाई हाम्रा कृत्रिमता के रहेछन् र हाम्रो स्वाभाविक र सहज स्वरुप के रहेछ भन्ने कुराको सत्यता बोध गराइदिन सक्दछ । सहज स्वभावबाट हामी जतिजति टाढा हुँदै जान्छौँ त्यतित्यति तनाव र दुःखमा फस्छौँ अनि जतिजति सहजता र सरलतातिर जान्छौँ त्यति नै हामी तनावरहित, शान्त र स्थिर हुन सक्दछौँ । ध्यानले यिनै कुराहरुप्रति होसपूर्ण हुन सघाउने हो र आफू्नो सहज अवस्था प्रति होस र प्रेम जगाउन प्रेरित गरिरहने हो । यो काम हामी नाच्दै, हाँस्दै, खेल्दै, काम गर्दै गर्न सक्दछौँ । जरुरत छ हामी ती कुराहरुलाई कति बढी स्वाभाविक खेलका रुपमा लिएर रमाउन सक्दछौँ ।” 

ध्यानका चरण के कस्ता छन् त ? भन्ने प्रश्नमा ‘बडीमाइन्ड वेलनेस एण्ड मेडिटेशन सेन्टर’ इमाडोलका स्वामी धर्मदास भन्छन् — मन, शरीर र अन्तस्करणलाई एकाकार गरी आफूले चाहेको विचार, वस्तु र दृश्यमा आफूलाई केन्द्रीत गर्न नसक्तासम्म ध्यान घटित हुन नसक्ने हुनाले यसको प्रथम आयाम हो भावनात्मक संवेदनशीलता र एकाग्रता । कल्पना, भावना, एकाग्रता र शून्यताको चरणमा अघिबढ्ने क्रममा ध्यान घटित हुनसक्तछ । त्यसैले ध्यान गरिने क्रिया होइन यो त घटित हुने बिषय हो । हामीले भन्ने गरेका ध्यानहरु वास्तवमा ध्यानसम्म पुग्ने विधिहरु हुन्, ध्यान होइनन् ।  ध्यानका केही विधिहरु छन् जसले ध्यानको अवस्थामा पुर्याउन सक्छन् हामी तिनै विधिहरुको प्रयोग गर्न सिकाउँछौँ । यी विधिहरु ध्यानका निम्ति बाटो तयार गर्ने औजारहरु हुन् । नृत्य, उत्सव, मन्त्र उच्चारण, भजन श्रवण तथा गायन यी सबैले हामीलाई सामान्यीकरण गर्न, सहज बन्न, भावनात्मक उर्जा विकास गर्न, तनावरहित र द्वन्द्वरहित सरल र सहज स्वरुपमा पुग्न मद्दत गर्छन् । मानिसको त्यही सहज र स्वाभाविक रुपको दर्शन नै ध्यानको अवस्था हो । यो एक्कासी घटित हुन्छ तर लगातारको प्रयत्नले हामीलाई त्यस अवस्थामा पुग्न मद्दत मिल्छ ।

पथिक फाउन्डेशन ध्यान केन्द्र सतुङ्गलको नृत्य ध्यानमा रमाइरहेकी बानेश्वर, काठमाडौँकी रिता गुरुङ भन्छिन् — ध्यान भनेको आफैँप्रतिको प्रेम र आफ्नो क्रियाकलापप्रतिको होस रहेछ । त्यो हामी नाच्तानाच्तै पनि गर्न सक्छौँ, काम गर्दागर्दे पनि गर्न सक्दारहेछौँ । जरुरी त हामी जे गर्छौ त्यसप्रतिको होस र प्रेमभाव रहेछ । आफूप्रति प्रेम हुन सक्यो भने काहाँ हामी तनावलाई ठाउँ दिन्छौँ र ? आफूलाई प्रेम गर्न सकिएन र म मा तनाव रहेछ भन्ने होस रहेनछ भने त्यो खालि ठाउँ केहीनकेहीले त उपयोग गर्दछ । त्यही खालि ठाउँमा आउँदो रहेछ तनाव । आफ्ना भावनाहरु प्रति, क्रियाकलापहरु प्रति निरन्तर पे्रमपूर्ण र होसपूर्ण भइयो भने त किन आँखा चिम्लिरहनु पर्यो र ? अनि त ध्यान गर्ने नै भनेर छुट्टै समय पनि छुट्याउन परेन नि । हाँस्दै, खेल्दै, नाच्दै ध्यान हामी पनि गर्ने कि त ?

Saturday, December 29, 2012

हाइकिङ र रिट्रिटको रमाइलो


“मनोरञ्जनात्मक वस्तुको उपभोगबाट पाइने क्षणिक आनन्द भन्दा प्राकृतिक रमणीयताको आन्तरिक अनुभूतिबाट लिइने आनन्द मानव जीवनका लागि कैयौँ गुणा बढी महत्वपूर्ण छ ।” एक प्रख्यात पर्यटकले संसार घुमेर निकालेको निष्कर्ष हो यो । फान्सको पेरिसको एक पुस्तक पसलमा पाएको सानो यात्रा विवरण जस्तो लाग्ने किताबको शुरु पृष्ठमा मैँले यो वाक्य पढ्न पाएको थिएँ । सारै मन परेकाले यात्रा डायरीको एउटा पन्नमा टिपिएको यो वाक्य र  एफेल टावर घुम्दै गर्दा पेरिसका मेरा एक जना नेपाली मित्रले भनेको मार्मिक वाक्यले चन्द्रगिरी पहाड चढ्दा र त्यहाँबाट देखिने काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्दा मलाई आज फेरि झस्कायो । उनले भनेका थिए – “धीर जी हामी नेपालीहरु जीवनमा रमाइलो गर्न त जान्दै जान्दा रहेनछौँ । रमाइलोका लागि कि त हामी तास खेलेर दिन बिताउँछौँ कि त रक्सी पिएर मात्ने गर्छौ । यसले त हाम्रो मानसिकता खुम्चँदो रहेछ अनि स्वास्थ्य पनि बिग्रँदो रहेछ । थाहै नपाई रमाइलोका नाममा हामी आफ्नो जीवन धरापमा पो पार्दारहेछौँ ।” उनको यो भनाइले मलाई त्यसबेला त त्यति छोएन तर जब मैँले स्वीटजरल्याण्डको पहाडमा कुद्ने पहाडी रेलबाट देख्दै लठ्ठ परिने मनोरम दृश्य हेर्दै पहाडको चुचुरोमा पुग्ने मौका पाएँँ, चीनको माउन्ट ताई पहाडका ३००० वटा भन्दा बढी खुटिकलाको सिँढी चढेर असिन पसिन हुँदै रमाइरहेका तन्नेरी देखि बुढाबुढीहरुको लस्कर देखँे अनि भारतको दार्जिलिङ र नैनितालको प्राकृतिक सुन्दरतामा मदमस्त हुन हतारिएर ओइरिएका दक्षिण भारतका पर्यटकहरु देखेँ, अनि बल्ल मलाई ती मित्रको मार्मिक भनाइले गहिरोसंग घोच्नथाल्यो । उनको भनाइमा केही अनुभूतिगत गहनता पाएँ मैले ।
संसारमा घुम्न निस्कने पर्यटकहरु मध्ये करिब दुईतिहाइ पर्यटकहरु साहसिक पर्यटनका लागि निस्कने गर्दछन् । उनीहरुको गन्तव्यमा प्राकृतिक दृश्यावलोकन, हाइकिङ, साहसिक खेल, पर्वतारोहण आदि हुने गर्दछन् । यसका लागि धेरथोर सुविधायुक्त शहरका वपिरि अवस्थित पहाड, चुचुराहरु र स–साना समुद्री टापूहरु उनीहरुका गन्तव्य हुने गर्दछन् । प्राकृतिक रमाइलोमा रमाउनु र त्यसबाट प्राप्त हुने आन्तरिक आनन्द लिनु उनीहरुको उद्देश्य हुन्छ । माथि उल्लेखित चीनको शान्दोङ पान्तमा पर्ने यान्ताई शहरमा वार्षिक रुपमा कम्तिमा ४० देखि ५० लाख आन्तरिक र वाह्य पर्यटकहरुले भ्रमण गर्दारहेछन् । यान्ताई शहरका दुईतिहाइ घरहरुमा होेटल छन् । ४।५ स्तरका हजारौँ गाइडहरुले पर्यटकहरु घुमाउने रोजगारी पाएका छन् । त्यस शहरको मानिसहरुको रोजगारी नै त्यही एउटा पहाडको पर्यटनले धानेको छ । स्वीटजरल्याण्डका पहाडका चुचुराहरु नै त्यस देशका लागि आन्तरिक आम्दानीका स्रोतहरु हुन् । पहाडको टुप्पासम्म पुग्ने रेल र केबलकारहरुबाट गरिने दृश्यावलोकन स्वीटजरल्याण्डका मुख्य आकर्षण हुन् । प्राकृतिक वातावरणको अवलोकन र घुमफिरको आनन्द कै लागि प्रसिद्ध छन् त्यहाँका पहाडहरु । पथिक फाउन्डेशन मातातीर्ण रिट्रिट सेन्टरका अध्यक्ष ज्ञान प्रकाश राई भन्छन्  – काठमाडौँका वरिपरि र अन्यत्र पनि सुविधाजनक शहर संगै अनेकौँ त्यस्ता मनोरम डाँडाहरु छन्, तिनलाई हाइकिङ र रिट्रिट गन्तव्यका रुपमा चिन्ने र प्राकृतिकताको मनोरञ्जन लिने आँखा हामीले विकास गर्न जरुरी छ । उनको संस्थाले काठमाडौँ आसपासमा १ देखि ३ दिनसम्मका स्वदेशी र विदेशी दुवै थरि पर्यटकलाई रिट्रिट र हाइकिङ कार्यक्रमहरु संचालन गर्दैै आइरहेको छ । उनका विचारमा चन्द्रागिरी, लाँकुरी भञ्ज्याङ, शिवपुरी प्राकृतिक हाइकिङका लागि निकै मनोरम गन्तव्यहरु हुन् । यी ठाउँहरुमा हाइकिङ जान कुनै खास खर्च लाग्दैन तर भरपुर मनोरञ्जन भने प्राप्त हुन्छ । रिट्रिटका लागि भने शरीर र मन दुवैलाई एकसाथ आनन्द दिने केही कार्यक्रमहरु पनि आवश्यक हुन्छन्, खालि पहाड घुम्ने र खाने मात्रैले मानिसलाई रमाइलो नलाग्न सक्दछ । त्यसैले हामी खानपान, हिँडाइ र मनोरञ्जनात्मक र ज्ञानबर्धक कार्यक्रमको रुपमा हाइकिङको आयोजना गर्न बढी मन पराउँछौँ भन्छन् राईजी । सकेसम्म त्यस दिनलाई मनोरञ्जनात्मक, ज्ञानबर्धक र आनन्दमय तीनै कुराको त्रिवेणी बनाउन चाहन्छौँ जसबाट हाम्रो मन र शरीर दुवैलाई तरोताजा र स्फुर्तिदायक बनाउन सकियोस् । कार्यक्रमको रुपरेखा बारे प्रष्ट पार्छन् राई ।
चन्द्रागिरी हाइकिङ तथा नेचर वाचमा चौथोपटक रमाउँदै गरेकी  अष्ट्रलियन नागरिक रचेल योङ्ग भन्छिन् – काठमाडौँका वरिपरि यतिका रमाइला ठाउँहरु छन्, अहिले त डाँडाको टुप्पोसम्म पनि कतिपय ठाउँमा सडक पुर्याइएको रहेछ, तर खै नेपालीहरुलाई प्राकृतिक सुन्दरताको चाख नै नभएर हो वा महत्व नै थाहा नभएर हो मैले त हाइकिङमा नेपालीहरु बिरलै भेटेँ । हामीकाहाँ त यस्ता ठाउँहरु बिरलै छन् भएका स–साना अग्ला पहाडहरुमा  खुट्टाहाल्ने ठाउँ नै हुँदैन बिदाको दिनमा– प्राकृतिक सुन्दरताको क्रेज दर्शाउँदै भन्छिन् उनी ।
बिहानै २।३ घंटा हाइकिङमा रमायो, खाना खायो अनि प्राकृतिकस्थलमान नाचगान, मनोरञ्जन वा ध्यान गर्यो अनि बिस्तारै बेलुका ओरालो लाग्यो र फेदिमा बस्यो भोलिपल्ट तरोताजा हुदै घर वा अफिसतिर लाग्यो गर्ने नेपालीहरु आजभोलि काठमाडौँ वरपरका हाइकिङ रुटमा फाट्टफुट्ट भेटिन थालेका छन् । तर शहरको जनसंख्याको अनुपातमा यो नगन्य नै छ ।
दिनभर हाइकिङले शरीरमा केही थकाइ भए पनि प्रकृतिको ताजा र शान्तपनको आनन्द लिएर फर्कदाको मस्ति अकैहुन्छ भन्छन् चन्द्रागिरी हाइकिङमा भेटिएका स्वामी विश्वदीप । उनी धेरैजसो शनिवार कहिले चन्द्रागिरी, कहिले लाँकुरी त कहिले शिवपुरी पुगेर शारीरिक र मानसिक उर्जा बढाउन केही समय हाइकिङ र केही समय प्रकृतिको शान्ति र सुन्दरतामा ध्यानको आनन्द लिने गर्दछन् । आफ्नो इच्छा अनुसार जतासुकै घुम्दा पनि हुन्छ तर सकभर शान्त प्राकृतिक जंगल भ्रमण मानसिक र शरीरिक स्वास्थ्यका लागि उपयुक्त हुने भनाइ छ उनको । धेरै थोरै खर्चमा वा खर्चै नगरी आफूसंग केही खाने कुरा र बसभाडा लिएर दिनभर प्राकृतिक शान्ति र मनोरमताको आनन्द लिन ठूला शहरको वरिपरि प्रकृतिले सितैमा दिएका ती सम्पदाहरु बुझ्नेहरुका लागि श्रीखण्ड र नबुझ्नेहरुका लागि खुर्पाका बीँड हुन् उनका बिचारमा । एकपटक लिने कि त काठमाडौँ वरिपरिका डाँडाहरुमा हाइकिङको मजा ? dhirbhandari@yahoo.com     

Saturday, December 8, 2012

बिषय बोधका लागि अनिवार्य कलाः सही सुनाइ, सही बुझाइ

हामी कुनै पुस्तक, लेख, रचना पढ्छौँ । प्रवचन, भाषण, व्याख्यानहरु सुन्छौँ, कुनै दृश्य हेर्छौँ, कुनै घटना वा परिस्थितिमा सामेल हुन्छौँ । त्यसका पाठक, दर्शक, श्रोता, द्रष्टा, अनुभोक्ता बन्दछौँ व्यक्तिगत वा सामूहिक रुपमा । एउटै लेख, रचना, घटना, दृश्यको बुझाइ र प्रभाव भने व्यक्तिपिच्छे फरक फरक हुन्छ । एउटाले एउटा निष्कर्ष निकाल्छ अर्काले अर्कै निष्कर्ष निकाल्छ । कोही साधारण अर्थमै सीमित हुन्छन्, कोही गम्भीर र गहन तहमा त्यसलाई बुझ्दछन्, छुन्छन् र बोध गर्दछन् । आखिर यस्तो किन हुन्छ त ? यसको एउटै कारण छ सही सुनाइ र सही बुझाइको अभाव । सही सुनाइ र बुझाइ कसरी त ? हामी विभिन्न बिषयहरु अध्ययन गर्दा वा सुन्दा त्यसलाई तीन किसिमले सुन्छौँ र बुझ्ने कोशिस गर्दछौँ – मस्तिष्कबाट, हृदयबाट र पूर्ण रुपले श्रद्धबाट । जब हामी मस्तिष्कबाट सुन्ने र बुझ्ने प्रयास गर्दछौँ त्यो सुनाइ बुद्धि वा तर्कजनित हुन्छ, त्यस्तो सुनाइबाट शव्दार्थको तहमा (अभिधा, लक्षणा र व्यञ्जना) हाम्रो बुझाइ केन्द्रित हुन्छ । यस्तो सुनाइमा हामी सामान्यतः संशय वा बुद्धिजनित रुपले यसबाट के भन्न खोजिएको हो भनेर जिज्ञाशा वा संशय राखेर सुन्ने र बुझ्ने प्रयास गर्दछौँ । यस किसिमको सुनाइमा हाम्रो मस्तिष्क सबैभन्दा बढी सकृय हुन्छ । जब श्रवण वा अध्ययन गर्दै हामी तर्क वा बुद्धिजनित ढंगले बुझ्ने कोशिस गर्दछौँ त्यहाँ लेखक, वक्ता र पाठक, श्रोताका बीच एक प्रकारको संशय भाव पैदा हुन्छ र लडाई शुरु हुन्छ अनि केवल सतही अर्थ बोध हुन्छ, त्यसको गहनतामा प्रवेश गर्ने संभावनाको द्वार नै बन्द हुन्छ । परिणामतः हामी सतही अर्थमा झुण्डिरहन बाध्य हुन्छौँ, गहन अर्थ बोधका लागि भावपूर्ण, प्रेमपूर्ण र सहानुभूतिपूर्ण सुनाइ आवश्यक हुन्छ । जबसम्म हामी तर्कपूर्ण वा संशयपूर्ण सुनाइ गर्दछौँ भावपूर्ण र प्रेममय सुनाइ गर्नै सक्दैनौ । तर्कबाट सुन्ने र बुझ्ने प्रयास मस्तिष्क सकृय गराइ बुझ्नुपर्ने बिषयहरु गणित, तर्कशास्त्र तस्ता बुद्धिजनित बिषयका लागि उपयुक्त हुन्छ तर भावपूर्ण लेख, रचना, कविता, कथा, उपन्यास आदिका लागि भने भावपूर्ण सुनाइ र बुझाइ नै आवश्यक छ । दोस्रो प्रकारको सुनाइ हो भावपूर्ण सुनाइ वा बुझाइ । कथा, कविता, कलात्मक रचना, भजन, प्रार्थना आदिको सुनाइ र बुझाइका लागि भावपूर्ण, प्रेमपूर्ण र सहानुभूतिपूर्ण हृदय आवश्यक पर्दछ । मस्तिष्क खेलाएर, बुद्धि लगाएर यस्ता कुराहरुको गहन भाव बोध गर्न सकिन्न । कुनै कविको कविता, कथाकारको कथा, उपन्यासकारको उपन्यास यदि हामी सुन्दैछौँ वा पढ्दैछौँ भने उसको शब्द संगसंगै आफ्नो भावदशालाई द्रवित, पल्लवित, पे्रममय बनाउन सकिएन भने त्यसले दिन खोजेको जुन गहन भाव हो त्यसको बोध गर्न सकिँदै सकिँदैन । त्यसबेला हाम्रो हृदय त्यही लेखकको हृदयका रुपमा परिणत हुन आवश्यक छ । यही कारणले गर्दा सामान्य लेख, पत्रिकाका आलेखहरु भन्दा त्यस्ता भावपूर्ण रचनाका पाठक, श्रोता र दर्शक कम हुन्छन् आम मानिसभन्दा अलि माथिल्लोस्तरको बोधकर्ता हो भावपूर्ण श्रोता । तेस्रो प्रकारको सुनाइ र बुझाइ हो श्रद्धाजनित सुनाइ । यस किसिमको सुनाइमा अब श्रोता, दर्शक, पाठक आफ्ना एक एक अंगबाट होइन समग्र श्रद्धा, आस्थाबाट सुन्दछ, सबै इन्द्रियको अनुभवभन्दा पर इन्द्रियातीत शुन्यावस्थामा आफूलाई पूर्ण रुपले खुल्ला राखेर सुन्दछ । यतिबेला उसमा न संशय हुनछ, न भाव उ स्वयं वक्ता, लेखक, द्रष्टामा परिणत भइसकेको हुन्छ । जव यसरी पूर्ण रुपमा त्यस बिषयलाई श्रद्धाजनित रुपमा सुन्न र बोध गर्न सक्छौँ अनि मात्र त्यसलाई सही रुपमा प्रज्ञाजनित रुपमा बोध गर्न सक्दछौँ । माथि उल्लेखित दुई प्रकारका सुनाइ र बुझाइभन्दा निकै माथिल्लो स्तरको सुनाइ र बुझाइ हो यो । यतिबेला हामी त्यो कुनै कृति, सुक्त वा शास्त्र सुनिरहेको रुपमा होइन स्वयं आफैँले रचना गरेको, अनुभूति गरेको र स्वयंको भोगाइको रुपमा बोध गर्न समर्थ हुन्छौँ । सिद्धान्त, दर्शन, पुराण, उपनिषद्, सन्तहरुका देशना, भजन, सवद यही स्तरको सुनाइ र बुझाइबाट मात्र बोध गर्न सकिन्छ । जब यस्तो सुनाइ र बोध हुन्छ मानिस मानिसबाट क्रमशः माथि उठ्न थाल्छ, आदर्श पुरुषका रुपमा स्थापित हुन थाल्दछ, महापुरुष बन्नपुग्छ, एक किसिमको विराट प्रतिभा हामी भित्र विकसित हुन थाल्दछ, मानिस त्यही हुन्छ तर उसको दृष्टि र अनुभव भने निकै माथिल्लो भइसकेको हुन्छ । यसरी सुन्ने र बोध गर्ने व्क्तिका लागि माथिल्ला दुवै सुनाइ र बुझाइ फिका लाग्दछन् । विद्यार्थी हो भने उ अव असामान्य विद्यार्थ बन्नपुग्छ, श्रोता हो भने माथिल्लोस्तरको श्रोता बन्दछ, पाठक हो भने उ असाध्यै गहन अध्येता बन्दछ उसको तुलना सामान्य श्रोता वा बोधकर्ता संग हुनै सक्दैन ।

Friday, December 7, 2012

थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम

थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम


 “तरकारी तेल र मसलाले होइन, पकाउनेको प्रेमभावले मीठो हुन्छ ।” यो वाक्य मैले कुनै आध्यात्मिक साधना चल्ने आश्रममा कुनै बेला पढ्ने मौका पाएको थिएँ । आज म त्यसलाई फेरि स्मरण गर्दैछु र पोखराका थकाली भान्साका बारेमा केही रहस्य खोतल्ने प्रयास गर्दैछु । यसपटक पोखरा भ्रमणको ४ दिने बसाइमा पनि खानेकुराको लागि मेरो रोजाइमा परे थकाली भान्साघरहरु । चाहे महेन्द्रपुलमा होस् वा पृथ्वीचोकमा होस् वा पातले छाँगोको छेउमा होस् मेरो खानाखाने होटल थिए तिनै थकाली भान्साघरहरु । बसेको होटलमा पनि हुनतः थकाली परिकार नपाएको होइन तर किनकिन त्याहाँ मैँले त्यति रमाएर स्वाद लिनै सकिन । एक छाक खाएपछि थकालीहरुले नै चलाएको होटल खोज्न थालेँ र पुगेँ मुस्ताङ थकाली भान्साघर महेन्द्रपुलमा । मेरो पोखरा अवधिभर त्यही होटलमा खाना खाएँ यसपाली । देशदेसावर घुम्दा स्वदेसी र विदेसी विभिन्न खानाका परिकारहरु खान पाइयो । नाम चलेका अन्तर्राष्ट्रिय ब्रान्डहरु म्यकडोनाल्ड, के.एफ.सी. देखि पिज्जाहट सम्मका परिकारहरु, पूर्वि एशिया, चीन र यूरोपमा चाख्न र त्यसको स्वाद लिन पाइयो । थाइल्यान्डको चाउचाउ र तोमयाङ सुप, चिनीयाँहरुको स्टीम ब्रेड, सुप अनि सादा र बास्नादार जेस्मीन चिया, स्वीसहरुको चीजकेक, उत्तर भारतीयहरुको चपाती, दक्षिण भारतको इडली, साम्बर र डोसा यस्ता केही मौलिक खानेकुराहरु हुँन् ती ठाउँका । एकदुई छाकका लागि यस्ता खानेकुराले केही मात्रामा स्वाद फेर्न काम गरेपनि २।४ दिन बस्ने हो भने नेपालीहरु दालभात खोज्न थालिहाल्दा रहेछौँ । दालभात पायो कि त्यसको मजा छुट्टै । धेरै पटक पोखरा पुगेको र थकाली भान्सामा खाना खाएको भएपनि यसपटक भने मलाई थकाली भान्साको रहस्य र यसको गुणस्तर बारे केही बुझ्न मन लाग्यो । एकदिन बेलुकाको खाना खाएर बील तिरिसकेपछि मैले आफ्नो जिज्ञाशा बढाएँ मुस्ताङ थकाली भान्सा महेन्द्रपुलका होटल मालिक बसन्त गौचन संग । “सबै थकाली होटलहरुमा एकै किसिमको खानेकुराको मेनु, खानाको गुणस्तर, सरसफाइ अनि एक प्रकारको घरेलु प्रकारको आतिथ्य भाव कायम गरी एक प्रकारले थकाली ब्राण्ड जस्तै गर्न कसरी सम्भव भएको हो बसन्तजी ?” मैले प्रश्न तेस्याएँ । बसन्तले मेरो कुरालाई खुब ध्यानपूर्वक सुने र मुस्कुराउँदै भने – “हजुरले भन्नुभएको कुरा सही हो थकालीहरुले चलाएका होटलहरुमा नेपालीपनको खाना, सरसफाइ र घरेलु आतिथ्य जहाँसुकै पनि प्रायः उस्तैउस्तै पाउनु हुनेछ । यसमा केही रहस्य अवस्य छ ।” मैले फेरि उनलाई प्रश्न गरेँ – “यो कला थकालीहरुले कहाँबाट सिके त ?” बसन्त फेरि मुस्कुराए र भने – “जसरी म्याकडोनाल्ड र के.एफ.सी.हरुको एक प्रकारको मेनु र स्वाद हजुरले पाउनु हुन्छ, थकालीहरु पनि नेपाली खानाका लागि त्यस्तै ब्राण्ड हुन् भन्ने मलाई लाग्छ । त्यो गुण थकालीहरुले परम्परागत रुपमै आर्जिन गरेका हुन् ।” उनले फेरि थपे –“हामीले हाम्रा पुर्खाहरुले अरुहरुलाई प्रदान गरेको आतिथ्य सत्कार, सरसफाइ र प्रेमभावबाटै यी कुराहरु सिक्ने मौका पायौँ । यो हाम्रो रगतमा नै सरेर आयो । बाँकी रह्यो खानाको गुणस्तरको कुरा, त्यो चाहिँ हाम्रो भावना संग सम्बन्धित छ भन्ने लाग्छ । थकाली भान्सामा बिशेषतः थकाली महिलाहरुले आफैँ काम गर्दछन् । उनीहरु यो मैँले पकाएको खाना पराईलाई पकाएको भनेर सोचेर होइन आफ्नै परिवार र आफन्तलाई खुवाउन पकाएको हो भने जसरी मेहनत र लगनका साथ पकाउँछन् । त्यसैले हाम्रो खाना मसला, तेल र इन्धनको भरले मात्र होइन त्यसमा मिसिएको प्रेम, आतिथ्य र समर्पणको भावले स्वादिष्ट हुन्छन् । आतिथ्य भाव, प्रेम र समर्पण बिना कहिल्यै पनि होटलले उत्कृष्ट स्वादको परिकार तयार गर्न सक्दैन । छोटकरीमा भन्ने हो भने थकालीहरुले संचालन गरेका थकाली भान्साघरहरुको रहस्य यही हो ।” बसन्तले थकाली भान्साको रहस्य र त्यसमा लुकेको दार्शनिक पक्ष पनि उजागर गर्ने प्रयास गर्दै मेरो प्रश्नको विस्तृत उत्तर दिए । थकालीहरु सामान्यतः धेरै ठूलो व्यवसायिक होटल चलाउने भन्दा पनि मझौला खालका होटलहरु आफ्नै पारिवारिक रोजगारी र आतिथ्य भाव प्रयोग गर्न चलाउने गर्दारहेछन् । थकाली होटलहरुमा प्रायजसो पुरुषहरुले किनमेल गर्ने, वाह्य व्यवस्थापन मिलाइ दिने र महिलाहरुले भान्साको हेरविचार र गुणस्तर अनुगमन गर्दा रहेछन् । बसन्त भन्छन् – “म याहाँ काउन्टरमा बसेर सेवाको ख्याल गर्छु, मेरी श्रीमती भान्सा सम्हाल्छिन् । मेरो होटल त्यति ठूलो छैन, ठीक्कको छ । पुख्यौली रुपमा भन्ने हो भने मैँले आमाले चलाएको सानो पसलबाटै आफनो व्यवसाय शुरु गरेको हुँ । १५ वर्ष त्यसैमा बिताएँ । सानो होस् वा ठूलो आफ्नो व्यवसाय सकेसम्म राम्रो ग्णस्तरमा चलाउने र ग्रहकलाई नठग्ने मेरो व्यवसायिक मान्यता छ । पैसा त समय अनुसार सस्तोमहँगो हुन सक्छ तर गुणस्तर र सेवाकै माध्यमबाट त्यसलाई संचालन गर्छु म ।” बसन्तको यस भनाइले थकालीहरुको होटल व्यवसाय कसरी चलेको रहेछ भन्ने जानकारी मलाई प्राप्त भयो । मैले केही बढी जान्ने हिसाबले फेरि प्रश्न तेस्याएँ – “थकालीहरु सामान्यतः त्यति धेरै पर्यटकहरु आवतजावत गर्ने ठाउँमा बसोबास गरेर यो व्यवसायको संचालनको दक्षता त हासिल गरेका होइनन् होला ? कसरी यस्तो व्यवस्थापन कला र दर्शन कै विकास गर्न सके त ?” बसन्तले फेरि मुस्कुराउँदै भने – “थकाली गाउँमा यदि याहाँ जानु भयो भने स्थान अनुसार केही फरक भए पनि तीन कुरामा समानता पाउनु हुनेछ – घरको सरसफाइ, भाँडाकुँडाको सरसफाइ अनि आतिथ्यको प्रेम भाव । अहिले अनेक थरिका पर्यटकहरु आउने क्रम बढेकाले केही मात्रामा व्यवसायिक भएपनि र पैसाका दृष्टिले केही महँगो भएपनि आतिथ्यभाव भने त्यही पाउनु हुनेछ, त्यसमा एकरति पनि कमी पाउनु हुने छैन । गहुँ, फापर, आलु, जौ जे भएपनि खानेकुरामा प्रेमपूर्ण भावले तयार गर्ने र आएका आगन्तुकहरुलाई पराइ होइन आफन्त ठान्न्ो भावले गर्दा न्यानो स्नेहभाव पाउनु हुनेछ थकालीहरुकाहाँ । त्यसैले म भन्छु नेपाली खाना र नेपाली आतिथ्य भावका दृष्टिले पश्चिमी शैलीका खाने कुरामा म्याडोनाल्ड र के.एफ.सी. जस्तै हुन् नेपाली खानाका लागि थकाली होटलहरु ।” व्यस्तताकै बीच लामो कुराकानी भए पनि बसन्त आफ्नो जाति र जातीय पेशाको गौरव सुनाउन पाउँदा एक किसिमको आनन्द मानिरहेका थिए । म पनि थकाली खानाको मीठास र आतिथ्य भावको रहस्य थोरै भएपनि जान्न पाएकाले एक किसिमले भित्रै देखि खुशी र आनन्दमा मग्न थिएँ । अहिले पनि म उनको भनाइ सम्झिरहेछु – “खाना मीठो ह्नका लागि खानापकाउनेको प्रेमभाव त्यसमा मिसिएकै हुनुपर्छ नत्र त्यसले वास्तविक स्वाद र सन्तुष्टि दुवै दिन सक्दैन ।” मैँले सार्वजनिक बसमा यात्रागर्दा खाना खान दिने भाव भन्दा खानाका नाममा यात्रीका पकेटका पैसा लुट्ने राजमार्ग आसपासका ती दुर्गन्धित, रुखा र प्रेमभाव विहीन होटलहरुलाई सम्झैँ र मनमनै भने – धन्य ती थकाली दाजुभाइ, दिदीबहिनीहरु जसले प्रेम, आतिथ्य र समर्पणका साथ नेपालीपनको खाना र आतिथ्यमा एक किसिमको ब्राण्ड नै स्थापित गर्न सक्षम भएका छन् । देखासिखी गर्नेहरुले बदनाम गर्न नसकुन्, युगयुग चलोस् थकाली भान्सा र थकाली खानाको यो ब्राण्ड, यही मेरो शुभकामना । प्रतिकृयाका लागि ः dhirbhandari@yahoo.com

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...