Tuesday, September 10, 2019

भोकमरी, नाकाबन्दी र कृषि

चाणक्य भन्छन्, जुन देशका शासक बेइमान छन्, प्रजाको दुख बुझ्दैनन् त्यो देशलाई बचाउन सकिँदैन ।

चिनियाँहरू भन्छन्, जुन देशले खाद्यवस्तु आयात गर्छ त्यो देश कुनै न कुनै बेला भोकमरीमा पर्छ ।

मैले यी दुई भनाइ प्राचीन र आधुनिक सन्दर्भबाट लिएको छु । चाणक्यले राज्य बेइमान भयो भने के हुन्छ त्यसबारे समुद्रगुप्तलाई सम्झाउँदै भनेको वाक्य हो पहिलो अनि दोस्रो चाहिँ चिनीयाँहरुले कृषिलाई कसरी हेरेका छन्, त्यसको के महत्व छ भन्ने देखाउँछ । 

चाणक्यकालीन मगध र अहिलेको नेपाल

जुनबेला मगधमा विलासिता, शासकीय लापरवाही, अल्छ्याईं, विलासी शासक, बिकाउ र कमजोर प्रशासन थियो त्यतिबेला चाणक्यले समुद्र गुप्तलाई राजकीय विद्या र प्रेरणमूलक युद्धकला सिकाएर त्यस देशको गौरव र इज्जत जोगाएका थिए । देशको गौरव बचाएका थिए ।

चाणक्यको बेलाको मगध र अहिलेको नेपालको अवस्था शासकीय दृष्टिले करिबकरिब उस्तै छ । देशको चिन्ता र चासो गर्नेहरु पाखा परेका छन्, उद्यम मरेको छ, कर्मचारी यन्त्र बिकाऊ भ्रष्ट र नालायक छ, राजनीति बेइमानी, गुटबन्दी र दुराचारको पर्याय बनेको छ । प्रशासनयन्त्र र राजनीतिक नेतृत्व सदाचार र नैतिकताका दृष्टिले कमजोर छ । जनताको विश्वास अहिलेको प्रशासन यन्त्र र राजनीतिबाट टुट्तै गइरहेको, निराशा बढिरहेको अवस्था छ । 

न शासकहरुलाई जनता के चाहन्छन् भन्ने लेखाजोखा गर्ने फुर्सत छ न कर्मचारी यन्त्र त्यसो गर्न चाहन्छ । त्यसले गर्दा राज्यको क्षमतामा ह्रास आएको छ, विश्वसनीयता खस्केको छ । कानुनी राज्यको अवधारणमा पनि जनविश्वासमा कमी आएको छ । आन्तरिक सुरक्षा संयन्त्र फितलो र अप्रभावकारी छ । यसरी हेर्दा जननिर्वाचित रुपमा बहुमतको सरकार भए पनि त्यसले जुन आशा र भरोशा जनतामा सिर्जना गर्नुपर्ने हो त्यो हुन सकेको छैन । 
शासन र सत्ताको वरिपरि बस्नेहरुलाई सधैँ एउटा भ्रम हुन्छ, यतिका मानिस हाम्रो अगिपछि छन्, हामी बलिया छौँ । सन् १९९१ मा निकोलस चाउचेस्कू सत्ताबाट बाहिरिने अगिल्लो दिनसम्म पनि त्यही भ्रममा थिए तर भोलिपल्ट उनको वरपरकै मानिस विद्रोही बनेर उनलाई निवासबाट थुतेर सडकमा ल्याए । उनको दुःखद अन्त्य भयो । यस्ता कैयन् उदाहरण छन् संसारमा । 

एउटा सामान्य पत्रकार पक्डाउ पर्दा राज्यले सँभाल्न नै धौधौ हुने गरी विरोधको सामना गर्नुपर्ने अवस्था आएको छ अहिले । त्यो भीड राज्यप्रतिको विश्वास टुटेको संकेत हो । यसलाई गम्भीर रुपमा लिन आवश्यक छ ।

त्यसो हो भने राज्य असफल भइसक्यो त ? प्रश्न उठ्न सक्छ । पूरै असफल नभए पनि त्यतातिर चाहिँ गइरहेको छ । मानिसहरु आफूले देखेको कुरा भन्न डराइरहेका छन् । बौद्धिक वर्गमा पनि दासत्वचेत हाबी हुँदै गएको छ । यी कुरा बलियो र जनमुखी राज्यका संकेत होइनन्, ह्रासोन्मुख राज्यका संकेत हुन् । 

यस्तै जनमनोविज्ञान सिर्जना भएकाले सिक्किम विलय हुँदा त्यहाँका जनताले विरोध गरेनन् । नालायक शासकको मातहतमा रहनुभन्दा बरु अर्को शक्तिशाली देशमा विलय बेश भन्ने लागेको थियो होला जनतालाई । अहिले हामीले जतिसुकै सिक्किमीकरण भयो भनेर भारतलाई सत्तोसराप गरे पनि सिक्किम भारतीय राज्यहरुमध्ये तेस्रो धनी राज्य र सुखी जनता भएको, प्रतिव्यक्ति आयका हिसाबले उच्च तीन राज्यमध्ये पर्छ । त्यसैले राज्यप्रतिको जनताको सकारात्मक भावना टिकाइराख्नु सफल र सक्षम सरकार अनि राज्यको प्रथम कर्तव्य हो । त्यसमा वर्तमान सरकार खरो उत्रन सकेको छैन । यही अवस्था रहिरहने हो भने कि अर्को चाणक्य र समुद्र गुप्तहरु देखापर्नुपर्छ अन्यथा फेरि अर्को परिवर्तनको ज्वार उठ्न सक्छ । देश समृद्ध हुँदैन, द्वन्द्वमा रुमल्लिरहन्छ ।

कृषि उत्पादन, भोकमरी र सार्वभौमिकता 

अब अर्को पक्ष खाद्यान्न उत्पादन र राज्यको भविष्य एकअर्काका पूरक हुन् । विगत केही वर्षदेखि  अमेरिकाको अगुवाइमा इरान, उत्तर कोरिया लगायत देशहरुले नाकाबन्दी भोगिरहेका छन् । इरानमा खाद्यान्न उत्पादनमा आधुनिकीकरण राम्रो हुनसकेको र अरु देशबाट खाद्यान्न नल्याउँदा पनि बाँच्न सक्ने अवस्था भएकाले जनता भोकमरीको शिकार भएका छैनन्, टक्कर लिएर बाँचिरहेको छ । 

उत्तर कोरिया शुरुमा खाद्यान्नको कारण नाकाबन्दी झेल्न नसक्ने अवस्थामा पुगिसकेको थियो, चीनले खाद्यान्न सहयोग गरेपछि क्रमशः उत्पादनमा सुधार गर्दै गयो, अहिले उत्पादन वृद्धि गर्न सकेकाले टिकिरहेको छ । इन्धन र खाद्यान्न आधुनिक विश्वको सार्वभौमसत्ता बच्ने वा मासिने भन्ने कसी हुन् । यी कसीमा खाद्यान्न्को ठूलो भूमिका हुन्छ । 

केही वर्ष पहिले भारतले केही महिना नाकाबन्दी गरिदिएको बेला हाम्रो खाद्यान्न र इन्धनको अवस्था के थियो भन्ने हामीले बिर्सेका छैनौँ । जतिसुकै ठूलो कुरा गरे पनि भोको पेटले कति दिन कराउन सकिन्छ र ? खाद्यान्नमा परनिर्भर देश जहिल्यै सार्वभौमिकताका दृष्टिले जोखिममा हुन्छ । 

चीनले गण्तन्त्र स्थापनापछिको समयमा ठूलो भोकमरीको सामना गर्नुप¥यो । ‘ग्रेट लिप फरवार्ड’ अभियान मार्फत् औद्योगीकरण गर्ने नेतृत्वको चाहनालाई पूरा गर्ने वहानामा ढाकछोप गर्दा संरचनागत अव्यवस्थाको कारणले उत्पादन ह्वात्तै घट्यो र चीनमा तीसौँ लाख मानिस धोकमरीको शिकार भए । त्यसपछि चीनले ‘एग्रिकल्चर फस्ट’ नारामार्फत् कृषिलाई आधुनिकीकरण ग¥योृ र उत्पादन भारी मात्रामा वृद्धि ग¥यो । कृषिका धेरै विश्वविद्यालयहरु स्थापना गरिए । विज्ञान र प्रविधिमा जोड दिइयो । नयाँ प्रविधिको अनुसन्धानमा राज्य केन्द्रित भयो । 

यी सबै प्रयासपछि चीनको निचोड के रह्यो भने खाद्यान्नमा बलियो नभई देशले उन्नति गर्न गाह्रो हुन्छ । खानेकुरा किन्न देशको ढुकटी प्रयोग गर्न थालियो भने अरु काम के गर्ने ? त्यसैले चिनीयाँहरु खाने कुराको उत्पादनलाई पहिलो प्राथमिकतामा राख्छन्, त्यसका लागि आवश्यक अनुसन्धान र पूर्वाधार वृद्धिमा ध्यान दिन्छन् । विश्वविद्यालयहरु निरन्तर रुपमा कृषि प्रविधि सुधारमा कन्द्रित छन् । परिणामस्वरुप अहिले चीन खानेकाुरा पर्याप्त उत्पादन गर्ने देशमा पर्छ । उसको अर्थतन्त्र बलियो भएको छ । स्वाधीनतामा अडिएको छ । 

कृषि उत्पादनमा हाम्रो अवस्था

कृषिको उत्पादन बढाउने कुरा हामी पनि गरिरहेका छौँ । तर हाम्रो उत्पादन बढ्नुको सट्टा घटिरहेको छ । जनसंख्या वृद्धि र कृषि उत्पादनबीच तालमेल छैन । वर्षेनी खद्यान्नको परनिर्भरता बढ्दो छ । भएका नीतिहरु र कार्यान्वयन संयन्त्र, निर्णय प्रकृया पारदर्शी र किसानमैत्री छैनन् । 

कृषि उत्पादन बढाउन अहिलेको कानुन र नीति दुवै बाधक छन् । जति कुरा गरेपनि अहिलेको नीतिले कृषि उत्पादन बढ्दैन । अहिले पनि भूमि टुक्र्याएर भूमिसुधार गर्ने कुरामै हाम्रो जोड छ । भूमिको खण्डीकरणले उत्पादन वृद्धि हुँदैन । चक्लाबन्दी खेतीका लागि यो सबैभन्दा ठूलो बाधा हो । 

विकसित देशहरुमा कृषिको लागि भूमिको चक्लाबन्दीमा सुविधा, छुट र प्रोत्साहन, करमा छुट, अनुदान सुविधा, प्रविधि विकासमा सरकारको जोड आदि गरेको देखिन्छ । कृषि अनुदानमा सबैभन्दा बढी अनुदान दिने र कृषकमैत्री नीति भएका देशमा युरोपेली देशहरु पर्दछन् । फ्रान्स संसारमा सबैभन्दा बढी कृषि अनुदान दिने देशमा पर्छ । अमेरिका सबैभन्दा कम कृषकबाट सबैभन्दा बढी उत्पादन लिने देशमा पर्छ । त्यहाँ कृषि उत्पादनलाई प्रोत्साहन गर्न प्रविधि, पूँजी र सुविधामा जोड दिएको देखिन्छ ।

हामी करिब डेढ खर्बभन्दा बढीको खाद्यवस्तु ढुवानी गर्न थालिसक्यौँ । यो वर्षेनी बढेको बढ्यौ छ । खेतबारी बाँझिएका छन् । ज्याला अकासिएको छ । सरकारको भरथेग शून्य बराबर छ । कृषकलाई दिने अनुदानमा बिचौलिया हाबी छन् । वास्तविक किसानसमक्ष राज्यको सुविधा पुगेकै छैन । कर्मचारी र टाठाबाढाले किसानको नाममा राज्यले दिने सुविधा दुरुपयोग गरेका छन् । कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान घट्तो छ । कृषि अनुसन्धान केन्द्रहरु थला परेका छन् । प्रविधिमा अध्ययन र अनुसन्धान पटक्कै छैन । भएको पनि साह्रै अपर्याप्त छ । 

साँच्चै कृषि उत्पादन बढाउने हो भने सरकारी स्तरबाट तत्काल केही सुधारका काम गर्न आवश्यक छः 

१. साँच्चै कृषिको आधुनिकीकरण गर्ने हो र उत्पादन बढाउने हो भने कृषि र उद्योग प्रयोजनको लागि संस्थागत रूपमा सहकारी र कम्पनीहरूलाई कृषि प्रयोजनको लागि जमिन खरिदमा तुरून्तै हदबन्दीको व्यवस्था खारेज गर्नुपर्छ ।

अहिलेकै हदबन्दीमा जग्गा लिएर न कृषिको आधुनिकीकरण हुनसक्छ न औद्योगीकरण । जमिनको आकार ठूलो नभई आर्थिक सम्भाव्यता हुँदैन । १० विगाहा र ५० रोपनीको हदबन्दीमा सीमित भएर के आधुनिकीकरणको कुरा गर्नु ? नीति र नियम चाहिँ जग्गा टुक््रयाउने छ अनि आधुनिकीकरणको नारा लगाएर उत्पादन बढ्न र व्यावसायिक हुन सक्तैन । 

कुनै कम्पनीले चाह्यो भने सोही प्रयोजनको लागि मात्र उपयोग गर्ने गरी कम्तिमा १०० विगाहा वा १००० रोपनीसम्म कम्पनी स्वयंले निर्णय गरेर जग्गा खरिद गर्नसक्ने कानुनी व्यवस्था हुनु जरूरी भयो । सहकारी मार्फत् मिलेर खोती गर्ने किसानलाई बढीभन्दा बढी प्रोत्साहित गर्नुपर्छ । ससाना टुक्रा जमिन सहकारीमा एकीकृत गरेर ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा खेती गर्ने किसानलाई आवश्यक सामग्री, प्रविधि र सुविधा प्रादन गर्न आवश्यक छ । संस्थागत काम गर्ने परिपाटी बसेमा कृषकको मनोवल पनि बढ्छ र उत्पादन पनि व्यावसायिक र अलि ठूलो परिमाणमा हुनसक्छ । जसले बजारको पहुँच विस्तार गर्न पनि सजिलो हुन्छ ।  

जमिनको सानो टुक्रामा खेति गरेर आधुनिकीकरण र कृषि उत्पादन बढाउने जमाना रहेन अब । जतिसुकै सरकारले दबाव दिए पनि किसान खेति गरेर घाटाको श्रम गर्दैनन् ।

अब रह्यो कुरा सरकारी संयन्त्र कृषिमैत्री छ छैन त भन्ने कुरा । यसका लागि तलको बक्समा हालै कान्तिपुर दैनिकमा प्रकाशित समाचार नै पर्याप्त छ । हामी कुरा त गरिरहेका छौँ तर काम ???? प्रश्नवाचक छ । 


किसानलाई अनुदान पाउनै सास्ती
======================

कृषक दुर्गा लिम्बु कृषि व्यवसायका लागि अनुदान लिन धेरैपटक कृषि ज्ञान केन्द्र धाए जति धाए पनि प्रतिफल भने पाएनन् उनले कफी खेती विस्तारका लागि अनुदान लिन खोजेका थिए सहयोग नपाउँदा अहिले निराश छन्
एकातिर यस्तो अवस्था भने अर्कातिर गत आर्थिक वर्षमा जिल्लामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि आएको करिब करोड रुपैयाँ बजेट फ्रिज गयो यस्तो सरकारी काम गराइले अधिकांश चिया तथा कफी खेतीमा संलग्न कृषक प्रभावित बनेको कफी व्यवसायी संघका अध्यक्ष डिल्लीश्वर दर्नालले बताए
अनुदान रकम माग गर्न कयौं पटक कार्यालय धाउँदा पनि पाइएन, उनले भने, काम गर्ने उत्साह भएर पनि आर्थिक अभाव भएपछि जाँगर मर्ने अवस्था जिल्लामा रहेका २२१ कफी कृषक यसबाट प्रत्यक्ष प्रभावित भएका छन् दर्नालले ५० रोपनी क्षेत्रफलमा कफी खेती गर्दै आएका छन् उनले लाख कफीका बिरुवा उत्पादनसमेत गरेका छन्
यसै आर्थिक वर्षदेखि कफी व्यवसायलाई पूर्वका अन्य जिल्लामा पनि विस्तार गरिने राष्ट्रिय कफी तथा चिया विकास बोर्डको सूचना अधिकारी गौरव लुइँटेलले बताए यसरी कफी खेती विस्तारका क्रममा आवश्यक अनुदान तथा बजेटबाट किसानलाई बिमुख हुन नदिन जरुरी रहेको उनको भनाइ
आवश्यक प्रक्रिया पूरा गरेर कृषकले अनुदान पाउनुपर्ने लुइँटेलले बताए प्रदेश अन्तर्गत कृषि मन्त्रालयले समयमा निर्देशिका बनाउन नसक्दा ३० करोड बढी रकम फ्रिज भएको प्रदेशअन्तर्गतका कृषि ज्ञान केन्द्रमा विनियोजित अधिकांश शीर्षकको बजेट निर्देशिका अभावकै कारण आर्थिक वर्षको अन्तिम समयसम्म खर्च हुन नसक्दा फ्रिज भएको स्रोतले जनाएको
कृषि मन्त्रालयका सचिव हस्त विष्टका अनुसार प्रदेशभरका सबै जिल्लामा कृषिसम्बन्धी विभिन्न शीर्षकमा विनियोजित रकम निर्देशिका पारित हुन नसक्दा प्रभावित बनेको हो बजेट खर्च गर्ने निर्देशिका बने पनि कानुन तथा अर्थ मन्त्रालयबाट सहमति गर्न ढिलाइ भएकाले महत्त्वपूर्ण काममा खर्च गरिनुपर्ने बजेट फिर्ता हुन पुगेको हो, उनले भने, पहाडी जिल्लाका कृषि ज्ञान केन्द्रका लागि गएको बजेट कामै लागेन आर्थिक वर्षको अन्तिम समयसम्म बजेट खर्च गर्नेबारेको कार्यविधि तथा निर्देशिका नबन्दा बजेट फ्रिज भएको उनले जानकारी दिए
कृषि निर्देशनालय विराटनगरअन्तर्गतको कृषि ज्ञान केन्द्र धनकुटामा बजेट तथा कार्यक्रम सञ्चालन गर्ने निर्देशिका तथा कार्यविधि नबन्दा बजेट फ्रिज भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केसीले बताए धनकुटा तेह्रथुम जिल्लाको क्षेत्राधिकार रहेको ज्ञान केन्द्रमा ती दुई जिल्लाका लागि आर्थिक वर्ष ०७५/७६ मा विनियोजन भएर प्रदेश सरकारबाट आएको विभिन्न शीर्षकको बजेट खर्च हुन नसकी फिर्ता भएको
कुल बजेट करोड ४९ लाख २० हजार रुपैयाँमध्ये करोड ९५ लाख रुपैयाँ खर्च नभएको उनले बताए सबैभन्दा बढी अदुवा मिसन कार्यक्रमका लागि आएको ६० लाख, सुन्तला जात बगैंचा व्यवस्थापन तथा सुदृढीकरण आयोजनाका लागि २५ लाख, कागती खेतीको २० लाख, फलफूल खेती प्रवर्द्धन साझेदारी कार्यक्रमको २० लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालय प्रमुख केसीले बताए
त्यसैगरी अलैंची नर्सरी तथा बगान सुदृढीकरण आयोजनाको दुई जिल्लाका लागि ४० लाख, कफी खेती विस्तार कार्यक्रमको ४० लाख, धनकुटाका लागि किबी खेतीको २० लाख, व्यावसायिक फलफूल बगैंचा स्थापना प्रस्तावनमा आधारित कार्यक्रमका लागि ९० लाख, कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजित रकम खर्च नभएको उनले बताए
कृषि ज्ञान केन्द्रले कृषकको पहुँचमा पुग्ने गरी सूचना जारी नगर्ने किसानको गुनासो तर बारम्बार सार्वजनिक सूचना गर्दा पनि निवेदन नपरेको कार्यविधि नबनेका कारण बजेट फ्रिज भएको केसीको दाबी पहिलो प्राथमिकतामा राखिएको शीर्षकको बजेट पनि खर्च हुन नसक्दा कृषिसम्बन्धी दुई जिल्लाका महत्त्वपूर्ण बजेट फिर्ता भएको थियो
भाद्र , २०७६ कान्तिपुर संवाददाता

१. बजारीकरणको काममा सरकार फिटिक्कै केही गर्दैन । सडक पहुँच अर्को कठिनाइ छँदैछ ।

२. बजारको सुविधाका लागि सरकारले तीव्र गतिमा केही काम गर्नुपर्छ । गाउँको कुरै छाडौँ, दुधौली नगरपालिकाका कटहर कुहेर गएका छन् । ट्रकमा हालेर बजार पुर्याउनुभन्दा कुहाउनुमा फाइदा छ किसानलाई । ढुवानीमा सहजता ल्याइदिए बेच्न मन कुन किसानलाई नहोला र ?

जहाँ पनि नाफै मात्र हेर्ने बनियाँहरू नीतिनिर्माण गर्ने ठाउँमा बसेपछि आकासको फल आँखा तरी मर् भनेझैँ भएका छन् किसानका लागि नीतिहरू ।

कहाँ भन्ने यी कुरा ? काठमाडौँमा भएको एउटा सरकारी बजार पनि बिचौलियाको कब्जामा छ, अरू बनाउने कुरा कथामै सीमित । मनहरा फाँटमा बजार बनाउन छुट्याइएको जग्गा १० वटा जति सरकार फेरिएहोलान् भवन बन्ने सुरसारै छैन । त्यसलाई यथासक्य चाँडो बनाउनुपर्छ । 

३. कर्मचारीतन्त्रको कार्यप्रणालीलाई पूरै बदल्नुपर्छ कृषिमा । कागजको चाङ लगाएर भन्दा फिल्डमा गरिएको काम हेरेर सुविधा दिने गर्नुपर्छ । सरकारले दिने सुविधा सहकारी खेती प्रणालीमा वास्तविक रूपमा काम गर्ने कृषकहरूलाई कार्यस्थलमै दिनुपर्छ । किसान अफिस धाउने होइन किसानकहाँ कृषिका अफिसहरू धाउनु पर्छ र आधिकारिक मानिसले फिल्डमै बसेर निर्णय दिनुपर्छ । अनेक कागजातका झन्झटबाट किसानलाई मुक्त गर्नुपर्छ ।

४. कृषिमा अध्ययन र अनुसन्धान व्यापक मात्रामा बढाउनुपर्छ । विश्वविद्यालयहरु, कृषि कलेजहरु र तालीम केन्द्रहरुलाई अनुसन्धानमूलक  र प्रविधि विकासमा केन्द्रित गरी त्यसमा गरिने खर्च कमसेकम आजको भन्दा ५०० प्रतिशतले वृद्धि गर्नुपर्छ । कृषि वैज्ञानिक, स्वतन्त्र अनुसन्धाता, प्रविधिमा काम गर्ने संघ–संस्थालाई अनुसन्धानमा प्रेरित गर्नुपर्छ ।

५. पानीको स्रोत संरक्षण र साना देखि ठूला सम्म ड्याम बनाएर पानी संकलन गर्ने र ती जलाशयहरुबाट उर्जा र सिँचाइको व्यवस्था मिलाउने गर्न आवश्यक छ । 

६. सिँचाइका लागि अत्यन्त थोरै पानीबाट धेरैभन्दा धेरै जमिनमा सिँचाइ गर्न सकिने थोपा सिँचाइ जस्ता प्रविधिलाई प्रोत्साहित गर्नुपर्छ । त्यसका लागि सरकारी सुविधा किसानलाई कार्यथलोमै उपलब्ध गराउनु पर्छ ।  
७. अहिले हामीकहाँ ‘चामल संस्कृति’ हाबी हुँदै गएको छ । जसरी पनि जहाँ पनि चामल खानुपर्छ लाई इज्जतको विषय बनाइएको देखिन्छ । हामीकहाँ मकैको पनि उत्पादन निकै हुन्छ तर त्यसलाई खाद्यान्नको रुपमा खाने प्रचलन हराउँदै गएको छ । त्यसबाट बन्ने परिकार बारे अनुसन्धान गर्ने प्रविधि विकास गर्ने र त्यसलाई स्वादिष्ट परिकारको रुपमा कसरी खान सकिन्छ भन्ने चेतनाको अभाव यसमा मुख्य बाधा रहेको छ । 

मकैको पिठो र भटमासको पिठो मिसाएर असाध्यै मीठो परिकार बनाउन सकिँदो रहेछ । मैले चीनको साङ्सी प्रान्तको भ्रमण गर्दा एउटा चिनीयाँ गाउँमा पुग्दा मकैका परिकार असाध्यै मीठो बनाएर खाएको देखेको र म स्वयंले पनि खाएको थिएँ । त्यस्ता परिकारको खोजी गरी फुड फेस्टिभल मार्फत् प्रवद्र्धन गर्न आवश्यक छ । पाखोमा सहजै उत्पादन हुने कोदो खेती अहिले हराइसक्यो । त्यसलाई कसरी प्रवद्र्धन गर्ने, बढी उत्पादन गर्न सकिने जातको विकास कसरी गर्ने ? त्यसमा ध्यान जान आवश्यक छ ।  

यति हुनसके कृषिमा काम गर्न चाहनेहरुलाई प्रोत्साहन मिल्न सक्छ । उत्पादनमा वृद्धि हुनसक्छ । अन्यथा खेत बाँझो राखेर खाद्यान्न किनिरहन्छौँ अनि एउटा सानो विपत्ती आइलाग्यो भने भोकभोकै मर्ने अवस्था आउन सक्छ ।
  
सहकारी सञ्चार, भाद्र २०७६ मा प्रकाशित   

Saturday, August 3, 2019

नेपालमा सहकारीः संख्यामा विस्तार,पहिचानमा पछि

यही आषाढ महिनाको १५ र १६ गते श्रम तथा रोजगार सम्मेलन भयो काठमाडौँमा । सरकार, ट्रेड युनियन र निजी क्षेत्रका संस्थाहरुका प्रतिनिधिहरु ठूलै संख्यामा भेला भए तर सहकारीको न एक जना प्रतिनिधि त्यहाँ देखियो न सहकारीसम्बद्ध संस्थाका नेताहरु नै त्यहाँ आमन्त्रित थिए विज्ञ वा छलmलकर्ताको रु
पमा । संविधानले अर्थतन्त्रका तीनखम्बा त भनेको छ तर सहकारी ? विचारणीय छ । करिब एक हजार जना प्रतिनिधि रहेको त्यो भेलामा देशभर छरिएको संस्थागत सञ्जाल भएको सहकारी क्षेत्रमा रोजगारीका सम्भावना नै छैनन् त ? कि छलफल गर्नलायक नै छैन यो क्षेत्र ? प्रश्नवाचक छ अवस्था ।

हाम्रो एउटा सहकारी संस्था छ, काठमाडौँको मुटुमा । चलेको करिब १२ वर्ष नाघिसक्यो । वित्तीय र व्यवस्थापकीय हिसाबले संस्था पूर्ण स्वस्थ छ, न कुनै व्यवस्थापकीय झमेला छ न ऋण डुबेर बचत फिर्ता गर्न कठिनाई । सबै कारोबार पारदर्शी छ, नाफा यथोचित गरिरहेकै छ । सीमित समुदायभित्र मात्र कारोबार गर्छ । कर्मचारी पनि थोरै छन् । तर, विडम्बनाको कुरा के भने कहिलेकाहीँ कर्मचारी खोज्न र टिकाउन निकै धौधौ पर्छ । हामीले सरकारले तोकेकोभन्दा बढी नै पारिश्रमिक दिने गर्छौं, वार्षिक वृद्धि पनि गर्ने गरेका छौँ तर पनि कर्मचारीको भित्रिने र बाहिरिने दर उच्च नै छ । पाए अन्त नभए सहकारी भन्ने ठान्छन् प्रायजसो रोजगारी खोज्नेहरु । 

धेरै मानिसले मलाई छोराछोरीहरुलाई जागिर खोजिदिन अनुरोध गर्छन् । मेरो चिनजान भएको क्षेत्रमध्ये सहकारी पनि पर्छ । जब म सहकारीमा सम्भावना छ, काम गर्ने भए पठाइदिनू भन्छु, अनि सम्पर्क गायब हुन्छ । एक प्रकारले सजिलो हुन्छ मलाई । कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदियो । कोही अपवादका रुपमा काम गर्छु भनेर आइहाले भने पनि केही महिना काम सिकेपछि या त बैंकतिर आकर्षित हुन्छन् वा अन्य क्षेत्रतिर । 

म कहिलेकाहीँ सहकारीका साथीहरु भेट्न उनीहरुका संस्थामा जान्छु, भेटघाट हुन्छ । केहीबेरको कुराकानीपछि उनीहरुका गुनासाहरु शुरु हुन्छन्ःसंस्थामा अचाक्लि राजनीतिक द्वन्द्व रहेको, सदस्यहरुले सहयोग नगरेको, एक्लै चलाउनुपरेको, नेतृत्वको विकल्पविकास नभएको, आर्थिक श्रोत परिचालनको व्यावसायिक क्षेत्र खोज्न नसकेको आदिआदि । यी समस्या र गुनासाहरु चाहे शहरका सहकारी होउन् वा गाउँका उस्तै र उत्तिकै छन् । करिब ६० वर्षको वृद्ध हुन लाग्दा पनि सहकारीका यी कमजोर पक्ष सबलतातिर लागेका छैनन् । सहकारी क्षेत्रले खेपिरहेका समस्या र सर्वसाधारणको यस क्षेत्रप्रतिको अवधारणा उस्तै छ ।  

यी घटना र सन्दर्भ मैले किन उठाएको भने सहकारीले कति अवधिमा आपूmलाई अर्थतन्त्रको एउटा बलियो खम्बा हुँ, म पनि प्रतिस्पर्धी हुँ, म पनि समर्थ छु, मैले पनि मर्यादित श्रमको अवधारणमा रहेर रोजगारी दिन र रोजगारी सिर्जनागर्न सक्छु भनेर दाबी गर्न सक्छ ? किन हामी देशको मुख्य रोजगारी क्षेत्रको रुपमा, संस्थागत संस्कार भएको क्षेत्रको रुपमा र सरकारलाई यो क्षेत्र पनि अर्थतन्त्रको बलियो र भरपर्दो क्षेत्रको रुपमा पहिचान दिनयोग्य छ भनेर स्थापित गर्न सकेनौँ ? यसमा के कमजोरी रहे र हामी हेपियौँ ? यसका केही कमजोरी र सुधार गर्नुपर्ने पक्षहरुबारे छलफल र बहस पो जरुरी छ कि ? यसबारे केही चर्चा गर्ने प्रस्तुत लेखको उद्देश्य हो । 

हाम्रो कार्यशैली र सोचको समीक्षा गरौँ 

हाम्रो देशमा सहकारी क्षेत्रको शुरुआत भएको करिब ६० वर्षभन्दा बढी भइसकेको छ । पञ्चायतकालमा सहकारीलाई आर्थिक विकासको मुख्य आधार नै मानिएको थियो । त्यसअनुसार राज्यका आर्थिक कारोबारमा प्राथमिकता पनि दिइएको थियो तर सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भन्ने पञ्चायती नारा जस्तै सबै सहकारी सरकारी, सबै सरकारी मानिस सहकारीका भनेजस्तो गरी राजनीतिक व्यक्तिहरुले र प्रशासकहरुले सहकारी क्षेत्र सञ्चालन गर्दा सरकारी प्रणालीभित्र भएका बेथिती, सरकारी कर्मचारीतन्त्रभित्र भएका विकृति पनि सहकारी क्षेत्रमा स¥यो । देशैभर स्थापित सहकारी संस्थाहरु सरकारी संस्थाका प्रतिछाया भए । सरकारी कर्मचारीका छायामा मुर्झाए साझा संस्थाहरु । अनि, देश विकासको आर्थिक ढाँचामा योगदान गर्ने महत्वपूर्ण ती संस्था जनताको व्यापक मायाममता हुँदाहुँदै आफ्नो कार्यक्षेत्र सँघु¥याउँदै मलबीउ बेच्ने संस्थामा रुपान्तरण भए । व्यापारिक कारोबार गर्ने ती संस्था आफू बाँच्न पनि सरकारको मुख ताक्नुपर्ने गरी ऋणमा चुर्लुम्म डुबे र उठ्नै नसक्ने गरी धराशायी भए । अहिले पनि ती पुराना साझा संस्थाहरुमा कृषि विकास बैंकको करोडौँ रकम फसिरहेकै छ । तीनका पूर्वाधार लथालिङ्ग छन् । कतिपय त लिलाम भइसके । 

२०४८ सालपछि समुदायले सहकारी सञ्चालन गर्ने गरी सहकारी सिद्धान्त र भावना अनुरुपको ऐन आयो, संस्थाहरु खुले । शहरमा त त्यसको बाढी नै आयो गाउँमा भने अलि कमै फैलिए । शहरमा रोजगारी चलाउन चाहने कलिला युवाहरुदेखि अरबौँको व्यापार गरिरहेका व्यापारीहरुले पनि सहकारीको आवरणमा आफ्ने पूँजी परिचालन गर्ने, रोजगारी चलाउने मौका पाए । ससाना बचत गर्ने र ससाना ऋण लिएर व्यवसाय गर्न चाहनेहरुका लागि शहरी बचत तथा ऋण सहकारीहरुले ठूलो सहयोग पु¥याए । रु. २५०० शेयर उठाएर पच्चीस जना मिलेपछि संस्था चलाउन पाइने भएपछि अनुभवै नभएका, सहकारी सिद्धान्त र मूल्य नै थाहा नभएकाहरुले पनि सहकारी चलाउन थाले । यसले गर्दा व्यावसायिक रुपमा चल्नुपर्ने संस्था लहडमा चल्दा विकृति थपिँदै गए । 

कानुन बनाएपछि संस्था, प्रणाली र संरचना चाहिन्छ भन्ने हेक्का न सरकारले राख्यो न चलाउनेहरुले । बढ्दै गएका समस्या हेरेर सरकार र सदस्य दुवै रमिते भए निकै वर्षसम्म । जब राजधानीमा ठडिएका आकासे टावरहरुमा सुधिर बस्नेतजस्ता मानिसहरुको अनुहार देखिन थाल्यो अनि मात्र चेत खुल्यो सरकारको अब त कानुनी कारवाही गर्ने, ऋण असुली गर्ने, जनताको बचत सुरक्षा गर्ने, सम्पत्ति व्यवस्थापन गने लगायत अनेक समस्या सुल्झाउनुपर्ने, रेखदेख बढाउनुपर्ने भयो भनेर । त्यसको परिणामस्वरुप अहिलेको ऐन आएको छ । विगतका धेरै समस्या यो ऐन र नियम कार्यान्वय भएमा हल हुनेछन् । तर पनि युगीन रुपमा फेरि नयाँ समस्याहरु थपिँदै छन् । बचत तथा ऋण र अन्य संस्थालाई एउटै डालोमा राखेर सञ्चालन गर्दा समस्या समाधान हुनुको साटो बढ्ने र जेलिने अनि साँच्चिकै सहकारी सिद्धान्तअनुरुप काम गर्ने मानिसलाई अप्ठ्यारो सिर्जनागर्ने देखिँदै छ । त्यसैले समस्याको प्रकृतिअनुसार र देशको सामाजिक–आर्थिक परिवेश अनुसार समाधान दिने गरी सहकारी सञ्चालनका लागि तीन छुट्टाछुट्ै ऐन ल्याउनुपर्ने आवश्यकता देखिएको छ । यो कार्यान्वयमा आएपछि त्यसतर्फ सोचिएला । 

सामूहिक सहकार्य र उद्यमको नयाँ ढाँचा विकास गर्न सरकार र सदस्य दुवैबाट प्रयास गर्नु, अनुगमन बढाएर सिद्धान्तअनुरुप चल्न उपयुक्त वातावरण दिनुभन्दा नियमन र नियन्त्रणको भारी बढी लगाउने हो कि भन्ने डर अहिलेको नियम र ऐन हेर्दा देखिन्छ । 

कानुनी रुपमा यस्तो अवस्था छ भने व्यावहारिक रुपमा सञ्चालन गर्नेहरुले गर्ने कामकारवहीमा पनि विकृतिहरु यथावत् छन् । सहकारी संस्थामा संगठित सदस्यहरुमा सामूहिक उद्यमशीलता विकास गर्ने र सहकार्य गर्ने संस्कृतिको झलक अझैँ पाउन सकिँदैन सहकारीमा । संस्थागत परिपाटीभन्दा पनि नेतृत्वकर्ताले तजबिजमा चलाएजस्ता लाग्छन् संस्थाहरु । ऐन र नियमले तोकेका प्रकृया त पु¥याइएको होला तर अन्तरवस्तुमा केलाएर हे¥यो भने त्यसभित्र राजनीतिक विचार, गुटगत समूह, गैरसामुदायिक चरित्र विद्यमान रहेको देखिन्छ । शिक्षा, तालिम र सूचनाको आधारमा नेतृत्व विकास गर्दै अघि बढ्ने काममा संस्थागत प्रयास भएको देखिँदैन । व्यावसायिक मर्यादाका आधारमा संस्था सञ्चालन गर्ने सोच, व्यासायिकता र दूरदृष्टिको अझै टाढा छन् संस्थाहरुमा । संस्थापनाकालदेखि दशकौँसम्म एउटै मानिस नेतृत्वमा रहेर सञ्चालन गरिहेको भेटिन्छ । संस्थाहरुमा आर्थिक कारोबार र प्रशासन तथा कर्मचारीसम्बन्धी आन्तरिक नियम, विनियम अधिकांशका छैनन् । नेतृत्व विकासलाई सकेसम्म प्राथमिकता नदिने परिपाटी विद्यमान छ । कर्मचारी राख्ता योग्यलाईभन्दा आफन्तलाई प्राथमिकतामा राख्ने गरेको र लाएअह्राएको काम गराउने गर्नाले उनीहरुमा पेशागत दक्षता विकास भएको पाईंदैन । निर्णय क्षमताको अवस्था त झन् परको कुरा ।

शहरी क्षेत्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा जनशक्ति केही विकास भएको पाइए पनि अरु सहकारीहरुको अवस्था दयनीय छ । त्यसैले अबका सहकारीहरुले आफूलाई प्रतिस्पर्धी आर्थिक क्षेत्रको रुपमा विकास गर्ने हो र पहिचान स्थापित गर्ने हो भने पुराना रोग पालेर अगाडि बढ्न सकिँदैन भन्ने कुरालाई आत्मसातगर्न आवश्यक छ । नयाँलाई नेतृत्व विकासको अवसर दिने, अनुभवीले नयाँलाई सिकाउने, कर्मचारीलाई पेशागत दक्षतामा खरो उतार्दै जाने, उनीहरुको पेशागत क्षमता विकासमा ध्यान दिने, संस्थालाई परदर्शी प्रणालीमा आबद्ध गर्नेआदि काम गर्न आवश्यक छ । वित्तीय स्रोत संकलन गर्नु र नाफा गर्नु मात्र सहकारी होइन, यसले सामाजिक पक्ष पनि समेट्नुपर्छ भन्ने कुरा पनि आत्मसात गर्न आवश्यक छ । 

राजनीतिक गन्ध सुँघेर नेतृत्व दिने परिपाटी सहकारीभित्र निकै जब्बर छ । प्रारम्भिक सहकारीमा यो अलि कम भए पनि जिल्ला, विषयगत संघ, केन्द्रीय संघ र महासंघहरुमा त यो क्यान्सर जस्तै छ । त्यसैले सहकारी भनेपछि राजनीतिक छायामा चल्ने संगठनको पहिचान पाएको छ यसले । त्यही कारण पनि यसको पहिचान व्यावसायिक क्षेत्रको रुपमा स्थापित हुन सकेन आजसम्म न त नेतृत्वले आफूलाई व्यावसायिक साबित गर्न सकेको देखिन्छ । संघको नेतृत्वकर्ताहरुमा व्यावसायिक सफलताका कथा जोड्ने अवसर पनि उहाँहरुले दिनुभएको पाइँदैन । कुनै पनि परियोजनालाई सहकारीले व्यावसायिक रुपमा, गैरराजनीतिक हिसाबले सञ्चालन गर्न सक्छ भन्ने स्थापित गर्नेभन्दा कुन राजनीतिक विचारका मानिसलाई नेतृत्वमा स्थापित र विस्थापित गर्ने भन्ने कोणबाट परिचालित हुँदा सहकारीकर्मीको व्यावसायिक सफलता आम मानिससामु प्रस्ट हुनै पाएन । परिणामतः हालैको श्रम सम्मेलनमा सहकारी क्षेत्रलाई रोजगारमूलक क्षेत्रभन्दा अन्य आँखाले हेरियो र वेवास्ता गरियो ।  

अर्को पक्ष छ पेशागत दक्षता, वृत्ति विकास र व्यावसायिक क्षमता विकास । यस दृष्टिले सहकारीलाई हेर्दा यो क्षेत्र अहिले पनि न सरकारको प्राथमिकतामा परेको छ न रोजगारीको खोजीमा रहेका युवाहरुको । यो क्षेत्रले व्यासायिकता दिनसक्छ भन्ने विश्वास नै आर्जन गर्न सकिएको छैन । जसले, जसरी र जस्तो गरी चलाउन भन्छ त्यसैगरी चल्ने र चलाउने गरिएको क्षेत्र ठान्ने गरेका छन् युवाहरुले यसलाई । न यो क्षेत्रलाई निजी व्यावसायीलेझैँ व्यापारिक वा व्यावसायिक क्षमताका साथ चलाउने र त्यहाँ गएर केही व्यावसायिक सीप र कला सिक्न सकिन्छ भनेर विश्वास दिलाउन सकिएको छ न यसमा भविष्य छ, सिकेर केहीगर्न सकिन्छ भनेर आश्वस्ता तुल्याउन । 

देशभरमा भएको एउटा सहकारी तालीम केन्द्र व्यावसायिक रुपमा आपूmलाई समर्थ बनाउँदै आफैँ बाँच्ने एउटा पेशागत विकास र अध्ययन, अनुसन्धानको मर्यादित स्थाल बन्नुको साटो सरकारी असक्षमताको थिचाइमा निरिह बनेर सरकारको मुख ताकेर बसेको छ । देशभरका करिब ३५ सहकारी चलाउन आवश्यक पर्ने पेशागत जनशक्ति विकास गर्ने न कुनै कलेज वा विश्वविद्यालय छ न कुनै भरपर्दो तालीम तथा अध्ययन केन्द्र । यस्तो अवस्थामा कसरी पेशागत जनशक्ति विकास हुन्छ र पेशाको मर्यादा काम गर्ने गरी काम हुनसक्छ सहकारी संस्था र संघहरुमा ?

सहकारी नीति २०६९ ले संसारकै राम्रो नीति लिपीबद्ध गरेको छ तर काम ? शून्य छ । भएको संस्था पनि खिइएर टाक्सिएको अवस्था छ । विश्वविद्यालयहरुमा सहकारीलाई व्यावसायिक उद्यमको रुपमा ऐच्छिक विषय बनाएर अध्यापन गराइने भनिए पनि व्यवस्थापनका पाठ्यक्रमहरुमा यसलाई प्राथमिकता दिइएको कतै देखिँदैन न कुनै स्ंस्थाले यस्तो विषयको माग गरेर विश्वविद्यालयमा आफ्ना भनाइ राखेको सुनिन्छ । यस्तो अवस्थामा यसले पेशागत भविष्यको पहिचान युवाहरुमाझ स्थापित गर्ने कुरै भएन । यसको पहल आवश्यक छ ।

अन्त्यमा, सहकारीहरुले आपूmलाई व्यावसायिक आर्थिक उद्यमको रुपमा स्थापित गर्न र आर्थिक विकासका तीनखम्बामध्ये एउटा खम्बा बन्न आफूलाई धेरै कुरामा परिमार्जन गर्न आवश्यक छ । सबैभन्दा ठूलो कुरा त यो क्षेत्र राजनीति र पेशाबाट निवृत्तहरुको आराम गर्ने र गफ गर्ने थलो होइन, यो पनि व्यावसायिक उद्यमको रुपमा विकसित हुनसक्छ भन्ने विश्वास दिलाउन सहकारीहरुका जनशक्तिलाई दक्ष बनाउन, आपूmलाई व्यावसायिकतामा लैजान, व्यावसायिक ढाँचामा चलेको अनुभूति प्रदान गर्न सक्ने गरी खासगरी जिल्ला संघहरु, केन्द्रीय संघहरु र राष्ट्रिय महासंघले काम गर्न आवश्यक छ । यसो हुन सकेन भने फेरि पनि यो क्षेत्रले व्यावसायिक पहिचान भने प्राप्त गर्न कठिन छ । बचत तथा ऋण र दुग्धको क्षेत्रलाई बाहेक गर्ने हो भने हाम्रा सहकारीहरुले उद्यमको पहिचान प्राप्त गर्न अझै धेरै समय कुनुपर्ने छ ।  


Sunday, June 2, 2019

देखौँ सपना

सपनाको अनुभव तपाईं–हामी सबैसँग छ । सपना देखिन्छ, केही समय सम्झिइन्छ पनि र फेरि बिर्सिन्छ । सम्झनुस् त तपाईंले सम्झनलायक सपना देखेको मिति सम्झना छ ? तपाईंले देखेको र अहिलेसम्म सम्झिरहेको कुनै सपना बताउन सक्नुहुन्छ ? निदाएको बेला देखिएको सपना कसरी सम्झेका
होलाउँ हामीले ? के मानिसले चाहेर वा नचाहेर सपना देख्ने र नदेख्ने हुन्छ ? सपनाहरु असल र खराब पनि हुन्छन् ? यस्ता प्रश्नहरु तपाईंको मनमा कैयौ“पटक आए होलान् र बिलाए होलान् । मेरो जीवनमा पनि यस्ता प्रश्नहरु कैयौ“पटक उठे अनि बिलाए ।

यस्ता जिज्ञाशाको उत्तर खोज्ने प्रयत्न केही मानिसले गरे, उत्तर पहिल्याए पनि । केही मात्रामा त्यसको उत्तर दिएका पनि छन् मनोवैज्ञानिकहरुले । तर यसको समग्र पक्ष यही हो, यस्तै हुन्छ भन्ने एकिन गर्न सकिन्छ ? निद्रामै देखेका कतिपय सपनाहरु सत्य भइदिन्छन् । कुनै काल विशेषमा, घटना विशेषमा कुनै सपना सत्य भयो भन्दैमा सधै“ त्यही हुन्छ ? भन्न सकिन्न । मेरो जीवनमा पनि कैयन सपनाहरु सत्य भएका छन्, तर धेरै चाहिँ सत्य भएका छैनन् । त्यसैले म कहिलेकाही“ घेत्लिन्छु, आखिर सपना के हो ? किन कुनै सपना सत्य भए अनि कुनै चाहिँ हराए ? किन सपना देख्छ मान्छेले ? सम्भव के छ भने सपना कुनै न कुनै रुपमा हामीले गरेका अनुभव, कल्पना गरेका कुरा र मनमा आइरहने भावनासँग सरोकार राख्छन् । सपनामा देखिएका कुराले हाम्रो अनुभव, कल्पनाशक्ति, चाहना र मनोयथार्थलाई कुनै न कुनै रुपमा प्रकट गर्छ । हाम्रो भित्री तहको प्रचिनिधित्व गर्छ शायद हाम्रो सपनाले । 

म आपूmले देखेको एउटा सपना उल्लेख गर्न चाहन्छु । म एसएलसी परीक्षाको जाँचपछिको विदामा घरमै बसिरहेको थिएँ । वर्षायामको बेला । खेतमा मकै पाकेर भाँच्ने बेला भएको थियो । मकै भाँच्दै धान रोप्दै थिए किसानहरु । हाम्रो पनि खेत निकै थियो । धान रोपाइँ चलिरहेकाले कामको चटारो थियो । मानो खाएर मुरी उब्जाउने बेला भनिन्छ असार महिनालाई । म पनि काम गर्न सक्ने भइसकेको थिएँ, जीवनका करिब १६ वर्ष मैले त्यही धरतीमा बिताइसकेको थिएँ । दिनभरिको कामले थकाइ बेपत्तै लागेको थियो । खान खाएर सुतेको, गहिरो निद्रा परेछ । बिहान उठ्न अलि ढिलो भएछ । शायद निद्रा पनि पातलिएको थियो क्यार, एउटा सपना देखे“ । 

भएको के थियो भने मेरो एसएलसी परीक्षाको रिजल्ट भरेभोलि भएको थियो ब्याउने गाईजस्तै । जसरी गर्भिणी गाई महिना लागेपछि पुगेपछि आज ब्याउँछ कि भोलि ब्याउँछको अवस्था हुन्छ, गाईपालक किसानलाई कतिबेला र कसरी ब्याउला भन्ने चिन्ता हुन्छ त्यस्तै चिन्ता भइरहेको थियो मलाई पनि परीक्षाफलको । काममा व्यस्त हुँदा बिर्से पनि फुर्सतको बेला मन त्यतैतिर एकोहोरिन्थ्यो ।  

त्यतिबेला एसएलसी परीक्षा माघ महिनामा हुन्थ्यो र परीक्षाफल चाहिँ असारमा प्रकाशित हुन्थ्यो । पढाइबाट निकै लामो फुर्सत हुने भएकाले परीक्षाफल प्रकाशित नहुन्जेल घरै बस्ने चलन थियो । अहिले जस्तो न ब्रिज कोर्सको चलन थियो न अरु घुमफिर । म स्कूलको पढाइको चापबाट फुर्सत पाएकोमा दङ्ग थिएँ, घर प्यारो थियो । घरका काम सघाउने, पुराना साथीहरुसँग कहिलेकाहीँ भेटघाट गर्ने, पाएका पुस्तक पढ्ने यस्तै थियो विदाको मनोरञ्जन । 

सपनामा मैले त्यही परीक्षाफल देखे ।  म साथीहरुको भीडमा थिएँ । बडेमाको भित्तामा केही टाँसिएको थियो । केटाकेटीहरु तँछाडमछाड गरेर उभिएर त्यही भित्तातिर हेर्दै थिए । म त्यही भीडतिर बढे“, चिनेको एउटा साथी पनि भेटियो । म साथीनजिकै गएँ । उसले मलाई त्यो पर्खाल नजिक लिएर गयो र भित्तामा टाँसेको कुरा हेर्न भन्यो । पर्खालमा धेरै मानिसका नाम र नम्बर थिए । उसले मलाई भन्यो– “हेर् त त्यहाँ तेरो पनि नाम छ कि !” 
म एकैछिन अल्मलिएँ । विस्तारो खोज्दै जाँदा मेरो नाम भेटियो ।  म खुशीले बुरुक्बुरुक् उफ्रे“ । साथी भने अचल भएर बसिरह्यो । मैले चिच्याएर भने“– ‘के हेरिरा’को हिँड् लड्डु खान !’

‘मैले त अघि नै खाइसके“ लड्डु । तँ जा म घरतिर लागे“ ।’ 

उसको कुरा सुनेर म अक्कनबक्क परे“ । साथीको खुशीमा खुशी होला भनेर हर्षको समाचार सुना’को त बटारिएर पो हिँड्छ ! म फेरि उसलाई पछ्याउँदै केही पर पुगे“ र हातमा च्याप्प समाएँ । दुवैजना आँपको रुखमुनि गएर बस्यौ“, साथी बोल्दैन । चुपचाप एकअर्कालाई हेरिह्यौै“ केहीबेर । म भित्रैदेखि खुशीले भरिएको थिएँ, साथी भने आँखाभरि आँशु लिएर मलाई एक टकले क्वारक्वार्ति हेरिरहेको थियो । एकछिनमा ऊ रुन थाल्यो, त्यतिकैमा म झल्याँस्स ब्युँझिएछु । 

ब्युँझेर बाहिर निस्कँदा घाम झलमल्ल लागिसकेको थियो । उठ्ने बेलाको सपना साँचो हुन्छ, राम्रो सपना देख्यो भने उठ्नासाथ नसुनाउनु भन्नुहुन्थ्यो आमा । म ओछ्यानबाट उठेर तलामुनि झरे“ । आमा आँगन बढारिरहनु भएको थियो । मलाई खुशीले कतिबेला सुनाऊँ भइरहेको थियो, एकै श्वासमा हतारहतार सपनामा देखेको कुरा आमालाई सुनाएँ । 

“सपनामा देखेको कुरा कसैको उल्टो हुन्छ कसैको सुल्टो हुन्छ । तेरो सपना सुल्टो हुन्छ कि उल्टो हुन्छ थाहा छैन । रिजल्ट देखिछस् क्यार । राम्रै भयो होला । अब आजभोलि रिजल्ट हुने कुरा पनि छ क्यार, मनमा कुरा खेलिरा’को त्यही भएर देखिस् होला ।” आमाको प्रतिक्रिया सोझो थियो ।

“हो, अब त रिजल्ट आउनै पर्ने हो ढिलो पो भैसक्यो त ! असार भैसक्यो ।” मैले उभिएरै भने“ । 

एक छिनमा रेडियोमा समाचार सुन्नु पर्यो भनेर रेडियो खोल्छु त समाचारमा एसएलसीको परीक्षाफल प्रकाशित भएको समाचार ! राति देखेको सपना एउटा त मिलिहाल्यो । अब भने मलाई छटपटी भयो परिणाम के भयो होला भनेर ।   
घरको काम छाडेर परीक्षाफल हेर्नका लागि हिँडिहाल्ने अवस्था थिएन । सपना साँचो हुने विश्वास पनि कताकता छँदै थियो । परीक्षामा उत्तर लेखाइ राम्रै भएको थियो । प्रथम नभएपनि द्वितीय श्रेणीमा चाहिँ पक्कै उत्तीर्ण हुन्छु भन्ने आत्मविश्वास थियो । वर्षात्को समय । झरी र वर्षा झेलेर परीक्षाफल हेर्न निकै टाढा पुग्नुपर्ने । जनकपुर वा सिन्धुली नपुगी पत्रिका हेर्न पाइँदैनथ्यो । पास भएको भए त ठीकै थियो फेल भएको भए फुस्रा ओठ लाएर फर्कनुपर्ने । तँछाडमछाड गरेर रिजल्ट हेर्न जान मन लागेन । 

एक हप्तापछि साथीहरुले खबर पठाए डकाहाबाट । करिब १३ दिनपछि गाउँमा परीक्षाफल प्रकाशित भएको गोरखापत्र आइपुग्यो । नाताले भिनाजु भन्नुपर्ने सुदर्शन पोखरेल हुलाकका बैदार थिए । उनले रिजल्ट हेर्ने भए आउनू भनेर खबर पठाए । म पनि त्यो खबर पाएपछि हेरिहालौ“ं न त भनेर हुलाक पुगे“ । मनमा भने केही खुचखुच छँदै थियो । तर संयोग, मेरो सपना सत्य भएछ, म पास भएँछु । मसँगै परीक्षा दिएका कतिपय साथीहरु अनुत्तीर्ण भएछन् । मचाहिँ उम्के“ ।

मेरो जीवनमा यस्ता घटना निकैवटा भएका छन् । जबजब म निकै व्यथित भएर वा भावनात्मक रुपमा अत्यन्त संवेदनशील भएको बेला कुनै सपना देख्छु, ती सपना सत्य भएका छन् । मलाई लाग्छ सपना हाम्रो अनुभव, कल्पना शक्ति र परामनोवैज्ञानिक शक्ति दुवैसँग गाँसिएका हुन्छन् । हाम्रा दैनन्दिनका व्यवहारमा मन अल्झिरहेको बेला देखिएका सपना सत्य नहुन सक्छन्, तर जब मन अत्यन्त सङ्लो भएको र भावनात्मक रुपमा संवेदनशील भएको बेला कुनै सपना देखिन्छ भने त्यसले हामीलाई बाटो देखाउने र अन्तरात्माको आवाजको रुपमा दिशानिर्देश गर्छ भन्ने लाग्छ मलाई । 

आर्किमिडिज, आइन्सटाइन, म्याडम क्युरी आदि वैज्ञानिकहरुका जीवनमा सपनाले यथार्थको बाटो देखाएको कैयौ“ किस्सा सुन्न पाइन्छ । कैयौ“ दार्शनिकहरुले, तपस्वीहरुले सपनामा देखेका कुरा जीवनमा सत्य भएको कुरा आफ्ना संस्मरणहरुमा लेखेका छन् । 

सफलताशास्त्रले बारम्बार देखिने सपनालाई लक्ष्य बनाउन सकियो भने र लक्ष्यलाई सपना बनाउन सकियो भने सहजै चाहेको कुरा प्राप्त गर्न सकिन्छ भन्छ । त्यसैले मलाई के लाग्छ भने जीवन चलाउन होस् वा जीवन बनाउन सपना बहुमूल्य छ । सपनाले नै हो मानिसलाई नयाँ दिशातिर डो¥याउने । मलाई त अझ के लाग्छ भने सपना जतिसक्दो निद्रा नआइकनै देख्नुपर्छ, हिँड्दा, सुत्दा, उठ्दा, आराम गर्दा, कुरा गर्दा । हरेक बेला सपनामय नै हुनुपर्छ जीवन । सपनाविनाको जीवन के जीवन ! जिउँदोले नै देख्छ सपना, मुर्दाले सपना देख्तैन । सपनाले जीवनको बोध गराउँछ । त्यसैले जीवन हुन्जेल र जीवनलाई चाहेजस्तो आकार दिन सपना आवश्यक छ । 

सपनाजस्तो हावादारी कुरा गर्ने मानिस मलाई असाध्यै पन पर्छ कुरै नगर्ने मानिसभन्दा । कमसेकम उसले हावादारी नै भए पनि सपना त देखेको छ । लागिरह्यो भने एक दिन उसले सपना साकार पारेरै छोड्छ । हिटलर, नेपोलियन, लेनिन, गान्धी, माओ सबका सब सपनाकै कारण त माथि उठेका हुन् नि ! सपना नदेख्ने, आपूmलाई सपनामा नउडाउने, हाउडेझै“ कुरा नगर्ने गजधम्म परेर मन र वचन दुवैमा ताल्चा लाउने हो भने एक दिन भावनामा पनि ताल्चा लाग्छ । भावना मरेपछि जीवन पनि मृत हुन्छ । त्यसैले सपना देख्ने प्रयास गर्नुस् । सकेसम्म राम्रा, ठूला, असम्भव सपना देख्नुस् । अनि तपाईं त्यतै तानिनुहुन्छ । नत्र के ले तान्छ तपाईंलाई ? जीवनलाई माथि तान्ने, बनाउने, बिगार्ने, सफल हुने, विफल हुने सबै सपनाले नै हो । त्यसलै मेरो सल्लाह त के छ भने कल्पना गर्नसक्ने जति कल्पना गर्नुस् र कल्पनामा बनाएको सपना आँखा नचिम्लिकनै देख्नुस् । सपना देख्नेले नै विपनामा त्यसलाई भोग्न पाउँछ, सपना नदेख्नेले त त्यतातिर पाइलै चाल्दैन, त्यसैले पाउने समभावना पनि हुँदैन । 
२०७६।२।१९

Monday, May 20, 2019

जीवन बदल्ने त्यो छात्रवृत्ति

एसएलसी पास गरिसकेपछि मलाई दुईतीनवटा कुराहरुमा निर्णय लिनुपर्ने अवस्था आयो । त्यतिबेला विवाह गर्ने उमेर सामान्यतः १६।१७ वर्ष थियो । पछि अलि पछि स¥यो । म एसएलसी परीक्षा उत्तीर्ण गर्दा १६ वर्ष लागेको थिएँ । त्यो उमेरका धेरै साथीहरु विवाहित भइसकेका थिए । मलाई पनि घरबाछ विवाहको दबाव बढ्दै गएको थियो । अलिअलि खानलाउन पुग्ने घरका धेरैजसो मेरा दौतरीहरु माष्टरको जागिर र जोडीमा आबद्ध भइसकेका थिए । घरमा यौवनमत्त अर्धाङ्गिनी र हातमा पैसा । दङ्ग थिए ती साथीहरु । घरपरिवार पनि कल्कलाउदो उमेरकी बुहारी भित्रबाहिर गरिरहेकी, छोरो कमाइमा लागेको, गाउँघरमा साहुका रुपमा २।४ हजार आसामी लगाउन पाइएको यस्तो लोभलाग्दो व्यवहार देख्दा त्यसबेलाका अभिभावक मक्ख पर्नु स्वाभाविक नै थियो । मलाई पनि कताकता लाग्थ्यो, यसै गरे पनि के बिग्रला र ?

जीवन कता लैजाने भन्ने महत्वपूर्ण गोरेटो कोर्ने बेला र यौन चञ्चलता एकैपटक प्रकट हुँदा निर्णयको अप्ठेरोमा पर्छन युवाहरु । विवाह, क्यारियर, अध्ययनक्षेत्र छनौट, यौनसाथी, उमङ्ग र उन्माद सबैकुरा यही बेला देखा पर्छन् यस उमेरका युवाहरुमा । 

साँच्चि भन्ने हो भने, जीवनबोध गर्ने, भविष्यको योजना बनाउने, अध्ययनको विषय छनोट गर्ने, आफूलाई आत्मोन्नतितिर बढाउने आदि सबै हिसाबले अत्यन्तै नाजुक समय हो यो । मेरा साथीहरु, दौ“तरीहरु यतिबेलाको  यौनरस, जागिररस, प्रेमरसमा जोजो डुबे, मजा लिए आज ती साथीहरु देख्छु न त अध्ययन अघि बढाउन सके, न त जागिरमा उन्नति गरेर आन्दित हुन सके, न त व्यवसायमा नै अब्बल हुनसके, न त घरव्यवहार, परिवार व्यवस्थिति राम्रो गरेर सुखी र सम्बृद्ध जीवन बाँच्न सके । त्यसबेला त उनीहरु घरपरिवार, नातागोता समाजका साथीभाइका अगाडि हाइहाइ नै भएका जस्ता देखिन्थे तर अहिले जीवनको कसीमा घोटिँदा त्यो अल्पकालीन मोज, ममता र हाइहाइले दीर्घकालीन भविष्यको सफलता त्यसै तुहिएर गएको देख्छु । 

धेरै कुरा विचारेर मैले विवाह र मास्टरको जागिरको प्रस्ताव अस्वीकार गरिदिएँ । परिवारका सबै सदस्यहरुलाई स्नातकसम्म पढ्न दिनका लागि राजी भए । त्यतिबेला मेरो अवचेतनले पढनेबाहेक विवाह र पैसा कमाउनतिर मलाई तानेन । त्यही परिणाम पछिल्ला दिनहरुमा मैले प्राप्त गरेँ । त्यसबेला मसँंगै पढने सहपाठीहरु अस्थायी शिक्षकको जागिरबाटै निवृत्त हुने अवस्थामा छन् । उनीहरुको न त परिवार समृद्ध छ न त सन्तुष्टी नै । 

यसरी मास्टरको सजिलो जागिर र विवाहको कुरा पर सारेपछि बाँकी रहयो अब प्रवीणता प्रमाणपत्र (त्यतिबेला उच्च मा. वि. हरु थिएनन् ) अध्ययन के विषयमा गर्ने भनेर छान्ने कुरा । एस. एल. सी. उतीर्ण गर्नासाथ २।३ जना साथीहरुले पढ्ने विषयका बारेमा सरसल्लाह गर्यौ“ । भविष्यमा राम्रो रोजगारीका लागि कुन विषय उपयुक्त होला भन्ने सल्लाह लिने आफन्त, शुभचिन्तकहरु पनि त्यति थिएनन् । भएकाहरुले पनि सल्लाह त्यति चित्तबुझ्दो दिन सकेनन् । त्यसैले २ जना साथी मिलेर वर्षात्को समय भएपनि काठमाडौ“ं जाने र कलेजहरु बुझ्ने भन्ने निर्णय गरियो । साथी गणेश सापकोटा र म असारको दिनमा जनकपुर हुँदै काठमाडौ“तिर लाग्यौ“ । 

जनकपुरमा केही आफ्न्त र साथीहरु पढ्थे । उनीहरुसँग भेटघाट गरिसकेपछि र उनीहरुका अनुभव सुनिसकेपछि कृषि, वन वा इन्जिनियरिड पढ्न पाइयो भने पढ्ने, अन्यथा साधारण, सजिला विषयहरु लिएर मानविकी पढनकालागि जनकपुरमा नाम लेखाउने निर्णय मैले लिएँ । काठमाण्डौ आएर पुल्चोकस्थित इन्जिनियरिड अध्ययन संस्थान  (त्रि. वि. वि. अन्तर्गत) मा ओभरसियर पढन पाइन्छ कि भनेर बुझ्न गएको त अत्यन्त थोरै संख्या, त्यसमा पनि प्राप्ताङ्कका आधारमा मात्र पढ्न पाइने भन्ने थाहा भएपछि मेरो प्राप्ताङ्कले यो विषय पढन पाउने सम्भावना छैन भन्ने मलााई लाग्यो । 

त्यसपछि हेटौ“डास्थित वन विज्ञान अध्ययन संस्थानमा गइयो । त्यहाँ पनि त्यस्तै कुरा बुझेपछि अब जनकपुर गएर भर्ना हुने भन्ने निर्णयमा दुवैजना पुग्यौ“ं । काठमाडौंबाट फर्कने निधो गर्यौ“ं । त्यतिबेला गाउँकै राजनीतिज्ञ भद्रकुमारी घले  श्रम तथा समाजकल्याण राज्यमन्त्री थिइन् । काठमाडौ“मा उनैकहाँ नै बसेका थियौ“ । एक दिन बिहानै हामी भेटघाट गर्न बैठक कक्षमा बसिरहेका थियौ“, निस्कन लागेकी मन्त्री घलेले भनिन्–  “ए केटा हो जागिर खान्छौ भने खानेपानीमा केही कर्मचारीहरु मागेको छ, म मन्त्रीलाई भनिदिन्छु, निवेदन हाल्ने भए हाल है ।”

मन्त्रीको यो जागिरसम्बन्धी कुराले मेरो साथी गणेशलाई अलिअलि झस्कायो । उनी अलि अक्मकिए तर मैले भने तुरुन्तै जवाफ दिएँ– “यति थोरै पढाइमा जागिर खाएर के गर्नु र दिदी बरु पढनेतिरै लागौ“ जस्तो लागेको छ, जागिर त पछि फेरि पनि पाइएला नि ।”

यति भनेपछि उनले फेरि भनिन्– “गाउँघरका केटाहरु यसो जागिर खान्छौ भने मिलेको छ भनेर भनेको पो त, पढने नै विचारमा छौ भने त राम्रै भो नि त ।”

यति भनेर उनी मन्त्रीको गाडीमा चडेर निस्किन् । हामी पनि जनकपुर फर्कने विचारले एक जना साथीको सहयोगमा साझा बस चढेर बस पार्कतर्फ लाग्यौ“ । त्यसपछि मेरो दिमागमा कहिल्यै अस्थायी जागिरप्रति मोह भएन । पढाइमा होमिएँ । कमसेकम स्नातक उतीर्ण नगरी जागिरमा नअल्झिने मेरो निर्णय रह्यो । काठमाडौ“बाट फर्केर रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा मानविकी तथा सामाजिक शास्त्र संकायमा भर्ना भएँ  । भर्ना त भइयो तर अब कुनकुन विषय पढ्ने भन्ने फेरि निर्णय गर्नुपर्ने  भयो ।

त्यतिबेला शुरुमै सम्पूर्ण विषयहरु निश्चित्त गर्नु पर्दैनथ्यो । केही समय आफ्नै क्षमता पहिचान गरी विषयहरु छान्न पाइन्थ्यो । कुनकुन विषय समूह रोज्न पाउने भन्ने चाहिँ कलेजले तोकिदिएको हुन्थ्यो । केही हप्ता म कहिले कुन विषय त कहिले कुन विषयमा कक्षामा हल्लिँंदै रहेँ । त्यसपछि मैले आफूलाई राम्ररी नियालेँ । मेरो विषयहरुप्रतिको चाख कस्तो छ ? कुन विषयमा म बढी डुब्न सक्छु ? भन्ने विचार गरेँ । अंगे्रजी भाषाको मेरो क्षमता कम भएकाले अनिवार्यबाहेक अंगे्रजी पढ्ने हिम्मत गरिनँ । गणितको मिहिनेतको औचित्य देखिनँ । त्यसपछि बाँकी रहयो अन्य विषय छान्ने कुरा । मेरो लक्ष्य त्यसबेला सहज ढङ्गले स्नातक उतीर्ण गर्ने र स्थायी जागिर खाने अर्थात घुम्ने कुर्सी भएकाले नेपाली साहित्य एउटा छान्ने त्यसपछि इतिहास र भूगोल पढने विचार गरेँ । यो निर्णयले मलाई जीवनमा साह्रै ठूलो काम ग¥यो ।

एस. एल. सी. परीक्षामा नेपाली विषयमा अंगे्रजीपछि सबैभन्दा कम नम्बर आएको रहेछ । गाउँको स्कूल त्यस बेलाको अंगे्रजी पढाउने र पढने परिवेश आदिका आधारमा मलाई त्यसमा त्यति धेरै असन्तोष लागेन । तर आफूले जन्मेदेखि सिकेको, जानेको भनेको नेपालीमा समेत त्यति थोरै अङ्क ल्याएकोमा भने मलाई अत्यन्तै पीडाबोध भयो । मनमनै अत्यन्त ग्लानि पनि भयो । त्यसैले अब प्रथम वर्षमा नै कसरी नेपाली भाषा बोलाइ र लेखाइ दुवैमा उत्कृष्ट बनाउन सकिन्छ भन्नेतिर मेरो ध्यान गयो ।

अंगे्रजीभन्दा पनि नेपाली कसरी राम्रो गर्न सकिन्छ भन्नेमा म पूर्णत चिन्तित र समर्पित भएँ । राम्रो भाषिक मिठास भएका शिक्षकहरुका कक्षामा छानीछानी बस्ने, उनीहरुसँंग हिमचिम कसरी बढाउने ? कसरी ती शिक्षकहरुसँग बढीभन्दा बढी वार्तालाप गर्ने भन्नेमा म ध्यानदिन थालेँ । उठ्ता, हिँड्दा पढ्दा वा फुर्सतको समय हरेक समय शब्द प्रयोग, वाक्य गठन, त्यसको प्रवाह, अनुप्रास आदिमा मेरो तल्लीनता बढ्यो ।

शिक्षकहरुसँग  कसरी नजिक भएर उनीहरुबाट बढी भन्दा बढी भाषिक कला सिक्न सकिन्छ भन्ने विषयमा मेरो उत्सुकता र प्रश्न देखेर सबैजसो शिक्षकहरु मलाई सहयोग गरे । सबैजसो शिक्षकहरुले सल्लाह सुझाव र सहयोग गर्न थाले । अब म कलेज मात्र होइन विदाका दिन र फुर्सतका समयमा कैयौ“ं शिक्षकहरुका घरमा समेत धाउन थालेँ । यसले मलाई उनीहरुको बोल्न शैली, अभिव्यक्ति कला सिक्ने अवसर त मिल्यो नै पारिवारिक घुलमिलले अलि अन्तरङ्ग रुपमा आत्मीय हुने अवसर पनि प्रदान गर्यो । 

कक्षामा म उनीहरुको विद्यार्थी नभएपनि कतिपय शिक्षकहरुले व्यक्तिगत रुपमा पनि मलाई नेपाली साहित्य, भाषा, समालोचना अध्ययनका विविध तरिकाहरु र त्यसको विकासका लागि सरसल्लाहहरु दिएर सहयोग गरे । विशेषत त्यतिखेर मैले साहित्यिक कृतिहरुलाई अध्ययन गर्ने तरिका, समीक्षा गर्ने, समालोचना गर्ने तरिका, तिनको विश्लेषण गर्ने, चरित्रहरुको चित्रण गर्ने, कृति समीक्षा गर्ने र त्यसलाई लेख्दा प्रयोग गरिने भाषालाई कसरी चुस्त, स्पष्ट र सघन बनाउने भन्ने कला सिक्नमा केन्द्रित गरेँं । 

संयोगवश म त्यतिखेर साहित्य अध्ययनमा केही राम्रा भनिएका साथीहरुको सँगतमा रहेँ । उनीहरुसँगको छलफल, बहसले र शिक्षकहरुसँगको अन्तरङ्ग सम्बन्धले मलाई साहित्यको एक जिज्ञाशु विद्यार्र्थीका रुपमा कक्षामा चिनिन मद्दत गर्यो । त्यसबेला मलाई ईश्वर ढुंगेल, लक्ष्मण ढुंगेल, कूलप्रसाद कोइराला, श्याम दाहाल सरले नेपाली विषय अध्ययनमा विशेष निर्देशन र सरसल्लाह दिनुभयो । कूल प्रसाद कोइरालाले हामीलाई कक्षामा नपढाए पनि वहाँको भाषाशैलीको खरोपन, गहन अर्थबोधक शब्दहरुको प्रयोग, प्रस्तुतीकरण र समीक्षा शैलीले मलाई विशेष आर्कषण गर्यो । निकै समयसम्म म उहाँसँग अन्तरङ्ग सम्पर्क र सम्बन्धमा रहेँ । उहाँले मलाई भाषा सुधारका लागि कुनकुन पुस्तक कसरी पढ्ने, त्यसको मुख्य विषयलाई कसरी बुझ्ने अनि आफ्नो लेखनमा शुद्धता, मिठास र प्रवाह कसरी राम्रो बनाउने, विश्लेषणात्मक, विवेचनात्मक लेखनी कसरी बढाउन सकिन्छ भन्ने विषयमा अत्यन्तै मेहनतपूर्वक सिकाउनु भयो । जुनसुकै समय र सन्दर्भमा पनि निर्वाधरुपमा उहाँको निवासमा जाने र सोधपुछ गर्ने सुविधा मलाई थियो । त्यसबाट मैले आफ्नो भाषिक शैली सुधार, शब्दभण्डार विकासमा विशेष काम गर्न सकें । 

विशेषतः मैले यसबेला दैनिक रुपमा राति सुत्नुअघि डायरी लेख्ने गरेँ । त्यसमा दिनभरका घटनाहरु, आफूभित्र उठेका भावनाहरु, पढेका विषयबाट बुझेका कुराहरु लेख्नथालेँ । दैनिक रुपमा कक्षामा पढाइएका विषयहरुसँग सम्बद्ध नोटहरु बनाउने, सम्बद्ध विषयका पुस्तकहरु सकेसम्म त्यही दिन पढने वानी बसालेँ । यसले मलाई विषयको गहनता बुझ्न, त्यसलाई सिर्जनात्मक रुपले भाव ग्रहण गर्न, मुख्य विषय पहिचान गर्न, आफ्नो अभिव्यक्ति तिखार्न र विविध किसिमका भाषाशैलीमा आफ्ना भावना पोख्न, विश्लेषण गर्ने सामथ्र्य विकास गर्न मद्दत पुर्यायो । 

भाषा विकासको यो प्रयत्नमा मैले खासगरी साहित्यिक कृतिहरुमध्ये उत्कृष्ट ठहरिएर त्यसबेलासम्म पुरस्कृत कृतिहरु  (नाटक, एकाड्गी, कविता, खण्डकाव्य, कथा, समालोचना आदि ) सबैजसो सकेसम्म गहिरिएर अध्ययन गर्ने प्रयास गरेँ । साहित्यको अध्ययनले मलाई सामाजिक परिवेशले मानिसमा पार्ने प्रभाव, उसको मनोविज्ञान, मान्छेका चाहना, भावना र प्रकृति बुझ्न मद्धत गर्यो । त्यसलाई एउटा पद्धति अन्तगर्त रही व्याख्या, बिश्लेषण र समीक्षा गर्ने कला समालोचनात्मक ग्रन्थहरुको अध्ययनबाट प्राप्त भयो । यतिमात्र होइन मैले केही लेखकका भाषाशैलीलाई नक्कल गरेर आफ्नो अभिव्यक्तिकला उसको जस्तै बनाउने, सकेसम्म नयाँनयाँ शब्दको प्रयोग गर्ने गरेर एक प्रकारले रोलमोडेल लेखक, समालोचकका रुपमा केही लेखकहरुलाई आफूमा समाहित गर्ने प्रयास गरेँ । यसले मलाई भाषिक अभिव्यक्ति तिखार्न, विषय प्रस्तुतिमा मिठास बढाउन र लालित्यपूर्ण भाषा प्रयोग गर्ने कलामा दखल बढाउन मद्दत गर्यो । 

व्याकरण सुधारका लागि मैले सकेसम्म पुस्तक पढदा नै वाक्य गठन, शब्दको ह्रस्वदीर्घ आदि अत्यन्तै ख्याल गर्ने र आफू निश्चित नभएकोमा तुरन्तै शब्दकोष हेर्ने बानीको विकास गरँें । यसले मेरो एस. एल. सी.को अत्यन्त नाजुक भाषिक क्षमता सुधारमा आश्चर्यजनक ढंगले काम गर्यो । त्यही परिणाम स्वरुप प्रथम वर्षमा नै मैले नेपालीमा १०० मा ७६ अङ्क ल्याउन सफल भएँ । त्यसबेला त्यो प्राप्ताङ्क निकै राम्रो मानिन्थ्यो । 

एक वर्षमा मैले जनकपुरको पुस्तकालयमा भएका प्राय सबैजसो पुरस्कार प्राप्त कृति र समालोचना ग्रन्थहरु पढेर सिध्याएको थिएँ । सङ्ख्याको हिसाबले भन्दा करिव २०० जति नेपाली साहित्यसँग सम्बद्ध पुस्तकहरु पढेर सिध्याएको थिएँ । दैनिक जसो १।२ पुस्तक पढेर सिध्याउनु मेरा लागि त्यतिबेला सामान्य जस्तै भइसकेको थियो । भात खाएर भाँडा माझ्ने काम बाहेक प्रायजसो समय पुस्तकसँगै रमाउँथेँ, पढथे“ र पुस्तक र डायरी सिरानमै राखेर सुत्थेँ । परिणामस्वरुप मैले प्रथम वर्षको नेपाली बिषयको परीक्षामा सर्वाधिक अंक ल्याउन सफल भएँ ।
  
हाम्रो कक्षामा तीन सय पच्चीस जना विद्यार्र्थीहरु अध्ययन गर्थे । बुढानीलकण्ठबाट एसएलसी गरेकादेखि मजस्ता दूरदराजको गाउँबाट उत्तीर्ण गरेका विद्यार्थी थिए हाम्रो कक्षामा । एकसेएक पढन्तेहरु थिए कोही अनि कोह ीभने ज्याकेट कम्बरमा बाँधेर जेठको दिनमा कलेज आउनेहरु पनि थिए । कठोर अनुशासनमा स्कूल पढेकाहरु कलेज छिर्दा फुकेको राँगोजस्ता । प्रथम वर्षको परीक्षा भयो करिब डेढवर्षपछि । चिट चोर्न अहिलेजस्तो छाडा थिएन त्यतिबेला । निकै कडा हुन्थ्यो परीक्षा । साह्रै ठूलो जोखिम लिएर केही बुँदा हेर्न सकिन्थ्यो हातमा लेखिएका वा सानो चिटमा लेखिएका कुराहरु । भेटियो भने सोझै हलबाट बाहिर निष्कासन हुन्थ्यो । 

परीक्षा सकिएको ६ महिनापछि बल्ल नतिजा आयो । मलगायत ५ जना मात्र आई. ए. प्रथम वर्षको परीक्षामा उत्तीर्ण भएछौै“ । ५ जना मध्ये मेरो प्राप्ताङ्क सबैभन्दा बढी देखियो । 

सङ्कायगतरुपमा कलेजबाट सर्वाधिक अङ्क ल्याउने विद्यार्र्थीहरुलाई त्यतिबेला रु ३०००।– (तीन हजार मात्र) वार्षिक छात्रवृति दिने व्यवस्था थियो । सोही व्यवस्था अनुसार मलाई दोस्रो वर्षभर मासिक रु. २५०।–  (दुई सय पचास मात्र) को दरले छात्रवृति प्राप्त भयो । यो छात्रवृति रकमका हिसाबले त्यति ठूलो नभए पनि मेरो जीवन विकासका दृष्टिले भने तीन करोड जस्तै भयो । मेरो छाति गर्वले चौडा भयो, इज्जतले सगरमाथा छोयो अनि सम्मानको आकास फराकिलो भयो । पुरस्कार सानो होस् वा ठूलो शायद यसले गर्ने काम यही नै हो, व्यक्तिको व्यक्तित्व विकास र उन्नतिका लागि भने निरन्तर प्रेरणाको कार्य गर्नु । मलाई पछिल्ला दिनमा बदलिने र सफलताका सिँढी चढ्ने प्रेरणा दिने त्यही छात्रवृत्ति हो जनकपुर कलेजको । 

Tuesday, March 26, 2019

आहा, चितवनको मालभोग केरा !

अहिले तपार्इं चितवनको पदमपुर, पिठुवा, जुटपानी, रत्ननगर पुग्नुभयो भने त्यहाँका खेतबारीमा विगतभन्दा अलि भिन्न दृश्य देख्न पाउनुहुन्छ । जताततै केराको जङ्लैजङ्गल । ठाउँठाउँमा लटरम्म टमाटर फलिरहेका । अलि सिंचित खेतबारी हरिया तरकारीले भरिएका । हेर्दै मनमोहक । जताततै देखिने हरिया तरकारी, टमाटर र केराले त कुनै विकसित देशको व्यावसायिक कृषि गाउँमा पुगेजस्तो । 



केही दिनअघि सहकारीकर्मीहरुसँग अन्तरक्रियाको लागि चितवनको रत्ननगर पुग्दाको मेरो अनुभव हो यो । म त्यहाँ पुग्दा कुनै विकसित देशको कृषि फार्ममा पुगेझैँ आश्चर्यचकित भएको थिएँ । जताततै देख्तै रहर लाग्दा केराका घरी, ठूलाठूला केराका डिही अनि खेती त्यतिकै व्यावसायिक । चिटिक्क परेका केरा फार्म, गोडमेल र छाँटकाँट पनि भनेजस्तै सुन्दर । फार्म हेर्दा लाग्थ्यो यो कुनै प्राविधिकले नियमित हेरचाह गरेर स्याहारसुसार गरेको बगैँचा हो । मेरो मनमा खुलदुली चुलिँदै गयो । कसले ग¥यो होला यो नयाँ शुरुआत ? कसरी फैलियो यो लहर ? मन थाम्न सकिँन र एक जना सहकारीकर्मी केरा किसानसँग जिज्ञासा राखेँ— “तपाईं पनि यस्तो केरा खेती गरिरहनुभएको छ ?” मेरो प्रश्नमा मार्कण्डेय केरा उत्पादक सहकारी संस्थाका अध्यक्ष ध्रुव ढुंगाना भन्छन्— “त्यति धेरै त हैन, करिब बीस विगाहा होला ।”म चकित परेँ उनको उत्तरले । खेत साना आकारमा टुक्रिए भनेर कराइरहेको बेला एउटा किसानको बीस विगाहा केरा खेती ? उनको कुरा सुनेर छक्क पर्दै फेरि प्रश्न गरेँ— “आफ्नै जग्गामा कि भाडामा ?” उनी फिस्स हाँस्छन् र मलाई सच्याउँछन्— “जमिनको हदबन्दी नै दश विगाहा भएपछि कसरी आफ्नै बीस विगाहा जग्गा हुनु ! अरु किसानको जग्गा भाडामा लिएर गरिरहेको छु । मेरो त यहाँ जग्गै छैन ।” उनले यति भनेपछि हाम्रो सम्वाद गहिरिन्छ । हामी लाग्छौँ नजिकैको केरा बगैँचातिर जहाँ उनको केरा खेती थियो । उनी मलाई भन्दै जान्छन्— “यो एउटा हो अरु अलि वरपर छ । कहीँ कति कहीँ कति, सबै गरेर बीस विगाहा छ । हाम्रोमा परम्परागत केरा त थियो नै केही वर्षदेखि अन्न खेतीले किसानले जीवन नै धान्न नसक्ने अवस्था आएपछि यतातिर लाग्दा पो हुन्छ कि भनेर बुझ्दै जाँदा राम्रै आम्दानी हुने देखियो । गरे हुँदो रछ भन्ने ठानेर हामी पनि लाग्यौँ । अहिले अरु किसानहरु पनि व्यावसायिक रुपमा लाग्दै छन् । तपाईंहामी उभिएको यो बगैँचा तीन विघाको हो । मेरो आफ्नो एक विगाहा छ अरु भाडामा लिएको छु । भाडा प्रति विगाहा ८० हजार बुझाउँछु ।” इतिहास कोट्याए उनले । म उनका कुरातिर तानिँदै जान्छु उनी थप्दै जान्छन्— “शुरुमा केरा पनि व्यावसायिक रुपमा खेती गर्न सकिएला र भन्ने थियो । प्राविधिक ज्ञान पनि थिएन । केही पनि अन्न र तोरी छाडेर यो खेती गर्न चाहँदैनथे । तर २०६० सालतिर रजहरका अम्बिका प्रसाद अधिकारीले १२।१३ विगाहामा मालभोग केराका विरुवा ल्याएर खेती शुरु गरे । मानिसहरुले उनलाई गिज्याए, धान फल्ने खेतमा केरा लायो भनेर । उनले हार मानेनन् । हामीले पनि उनको केरा खेती देख्यौँ । केही वर्ष उनले त्यसबाट आम्दानी गरेको देखेपछि अरुले पनि लाउन थाले । हामीले पनि शुरु ग¥यौँ । पहिले अलि थोरैमा गरियो । त्यसबाट अन्नबाट भन्दा अलि बढी आम्दानी हुँदोरछ, दुःख पनि कम हुँदोरछ भन्ने थाहा भयो । त्यसपछि विस्तार गर्नुप¥यो भन्ने सोच बढ्दै गयो । गाउँमै पनि मीठो केरा उत्पादन हुन थालेपछि मानिसहरुले चाख मान्न थाले । त्यसपछि सहकारी बनाइयो । अहिले सहकारीले केही टेवा दिएको छ किसानलाई ।”“अनि मालभोग केरा नै किन ? अरु हरियो केरा त अझ बढी फलेको देखिन्छ ? यसका त घरी पनि साना छन् ।” मेरो जिज्ञाशाको अर्को पाटो थियो । “यो ठाउँको जमिन अलि सुख्खा छ । सिँचाइको सुविधा छैन । हरियो केरालाई सिँचाइ नगरी हुँदैन, सुख्खा सहन सक्तैन त्यसले । मालभोग केरा सुख्खामा पनि हुन्छ । त्यसैले यो केरा यहाँको लागि ठीक ठानेका हौँ । सिँचाइको सुविधा हुन सके त हरियो केराबाट बढी नै आम्दानी हुन्छ योभन्दा ।” मेरो जिज्ञाशा शान्त गरे उनले ।केही वर्ष एक्लाएक्लै केरा खेती गरेर मनग्गे आम्दानी गरिरहेका यस्ता किसानहरुलाई सहकारी किन चाहिएको होला त ? मेरो मनमा कुचकुच लागिरह्यो, सोधेँ– “केरा खेती गर्न सहकारी नै चाहिँदोरछ भन्ने चाहिँ किन लाग्यो तपाईंहरुलाई ?” “ठूला किसानलाई त सहकारी नभए पनि हुन्छ होला भन्ने लागेको थियो शुरुमा तर हाम्रो त्यो सोच ठीक होइन रहेछ । किसानलाई व्यावसायिक बनाउने हो भने सहकारी अनिवार्य छ । सानालाई अझ बढी चाहिँदो रछ । १० कठमा केरा लगाएर कहाँ लगेर बेच्नु ? मल, बिरुवा, उत्पादन बिक्री सबैको तनाव । थोरै भएपछि न व्यापारी यहाँ लिन आउँछ न टाढा लगेर भनेजति दाम लिन सकिन्छ । लगाएको बाली मौसमी प्रतिकूलताले नष्ट हुँदा मर्का पर्ने हुनाले बीमाको पनि समस्या । व्यावसायिक गर्ने हो भने त सहकारी नभइनहुने रछ । वरपरका किसानलाई पनि आपूmसँगै हिँडाउन पनि सहकारी राम्रो कुरा रहेछ ।” अनुभवले सिकाएको थियो उनलाई । त्यसपछि मार्कन्डेयकै अर्का सदस्यले कथा जोडे— “हामी केही किसानले हालको रत्ननगर  नगरपालिका १४, विगतको पिठुवा गा.वि.स. वडा नं. ३ मा केरा खेती शुरु ग¥यौँ । अलि ठूलो परिमाणमा खेती गर्न थालेपछि मल, औषधि, सामग्री अलि बढी नै चाहिने भयो । जुनसुकै कुरा किन्दा पनि उचित मूल्यमा नपाइने । एक पटक मल किन्न नजिकैको अर्को सहकारीमा गएको उसले त केरावालालाई हो भने त प्रतिबोरा रु. ५० बढी तिर्नुपर्छ भन्यो । मलाई नमीठो लाग्यो । त्यसपछि फर्केर आएर आफैँ कृषि सहकारी बनाउनेतिर लागेँ । वि.सं. २०७१ सालको आषाढमा हाम्रो संस्था मार्कन्डेय केरा उत्पादक कृषि सहकारी संस्था दर्ता भयो, द.नं. ११३४ मा । हाल संस्थामा १०२ सदस्य छौँ करिब ३०० विगाहा जग्गामा केरा खेती भइरहेको छ ।”“आम्दानी कस्तो छ नि ?” मेरो प्रश्न अध्यक्षलाई थियो जसले करिब २० विगाहामा केरा खेती गरिरहेको कुरा बताएका थिए । “खर्च कटाएर प्रतिविगाहा एक लाख त बस्छ ।” उनले गौरवसाथ उत्तर दिए । म भने अझ गम्भीर भएँ । सिँचाइको सुविधा नभएको ठाउँमा प्रति विगाहा खर्च कटाएर खूद नाफा नै एक लाख हुन्छ भने यो त राम्रै आम्दानी हो हाम्रो देशको सन्दर्भमा ।मार्कन्डेय सहकारीअन्तर्गतका सदस्यहरुले करिब ३०० विगाहामा खेती गरेर करिब १२ करोड आम्दानी गरिरहेका छन् । “सरदर प्रतिकोसा रु. ३।५० मा बिक्री हुन्छ । सिजनमा त अझ बढी पनि हुन्छ कोसा अलि ठूलो भएकाले । अफ सिजनमा अलि भिन्न हुन्छ । तर पनि करिब २५ प्रतिशत त फाइदा हुन्छहुन्छ ।” उनीहरुको अनुभव बोल्छ, म टिप्तै जान्छु ।अहिले उनीहरु बाह्रै महिना समान रुपले हरियो केरा (सामाज्य भाषामा लामो कोसा हुने जहाजी केरा) उत्पादन गर्ने प्राविधिक ज्ञान हासिल गरिसकेको तर त्यसका लागि सिँचाइ सुविधा हुनुपर्ने माग छ उनीहरुको । “राज्यले सिँचाइ सुविधा दिने हो भने बाह्रै महिना केरा फलाउन सकिन्छ । त्यो ज्ञान हामीले पाइसकेका छौँ । सय विगाहामा केरा खेती गर्ने योजनाका किसानहरु पनि हामीसँग छन् तर जमिन छैन । बारा र रौतहटतिर पनि केरा खेती गर्ने जग्गा खोज्दैछन् साथीहरु ।” यसरी व्यावसायिक केरा खेती हुन थालेपछि यसलाई थप सेवा र टेवा पु¥याउन यस क्षेत्रलाई सरकारले केरा खेतीको सुपरजोन घोषणा गरेको छ । सिँचाइ सुविधाको अभावमा मनसुनमा भर परेर खेती गर्नुपर्ने बाध्यता झेलिरहेका किसानहरुका लागि केरा उनीहरुका लागि बरदान साबित भएको छ । आम्दानी बढेको छ, सामूहिक कार्यमा लाग्ने प्रेरणा दिएको छ । गाउँलेहरुलाई सहकारीको एकसूत्रमा बाँधेको छ । बाली बीमाले यसलाई अझ बल प्रदान गरेको छ । तर यो सधैँ यस्तै हुँदैन कि भन्ने चिन्ता छ  । कैयौँ ठाउँमा यो केरा फैलिँदै–हराउँदै गरेको इतिहास छ भन्ने थाहा पाएका छन् उनीहरुले । अहिले केही वर्ष केरा खेती गरिएको ठाउँमा केराको थाम नै फुट्ने ‘पनामा’ भन्ने रोग लाग्ने गरेको र त्यो लागेपछि खेती फेर्नुपर्ने समस्या उनीहरुले भोगिरहेका छन् । त्यो रोग लागेपछि केरा उगालेर फेरि अर्को खेती गर्नुपर्ने, चारपाँच वर्ष पर्खनुपर्ने अनि बल्ल अर्को पटक केरा लगाउन मिल्ने प्राविधिक सिफारिसपछि उनीहरु झस्केका छन् । राज्यले अनुसन्धान गरी विकल्पको खोजी गरेर अर्को कुनै जात विकास गरिदिए हामीलाई ढुक्क हुन्थ्यो भन्ने आशा व्यक्त गर्छन् अध्यक्ष ध्रुव ढुंगाना । ..........  अहिले नेपाली केरा उत्पादक किसानहरु भारतीय भूमिबाट आयातीत केरासँग प्रतिस्पर्धा गरिरहेका छन् । भारत सरकारले हालैका वर्षहरुमा कृषि उत्पादनका लागि प्रदान गरिहेका विभिन्न सुविधा, सहुलियत र अनुसन्धानका कारण उत्पादन लागतमा ठूलो मात्रामा कमी आएको छ । कम लागतमा बढी उत्पादन भएका भारतीय केरा नेपालमा आइपुग्दासमेत यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भइरहेको गुनासो किसानहरुको रहेको छ । कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्री र मजदुर ज्यालामा भएको उच्च वृद्धि, ढुवानी भाडा आदिको कारण उत्पादन र बजारीकरणको लागत बढ्न भई प्रतिस्पर्धा गर्न कठिन भएको उनीहरुको गुनासो छ । तर पनि किसानहरु मिहिनेत गरिहेकै छन् । हालै शुरु भएको कृषि बाली बीमा कार्यक्रमले पनि किसानहरुलाई अप्रत्यासित क्षति हुँदा क्षतिपूर्तिको व्यवस्था गरिएकाले केही राहत मिलेको छ । यसले पनि थप प्रोत्साहन दिएको छ किसानलाई ।अनुभवले पाकेका मार्कन्डेयका ती सहकारीकर्मीका माथि उल्लेखित शब्दले सहकारी र कृषि व्यवसाय दुवैको चरित्र र आवश्यकता बताउँछन् । सही अर्थमा कृषिलाई व्यवसायिक बनाउने हो र किसानको हित वृद्धि गरेर उत्पादनबाट उचित मूल्य लिने हो भने एकातर्फ कृषि सहकारीलाई प्रवद्र्धन गर्ने सरकारी नीति आवश्यक छ भने अर्कोतिर राज्यको लगानी थप अध्ययन र अनुसन्धानमा केन्द्रित गर्न आवश्यक छ । अध्यक्ष ढुंगानासँग सहमती जनाउँदै म थप्छु— “उन्नत जातहरुको विकास, बजारीकरणमा उचित नीति र सुविधा प्रदान नगरी जुनसुकै नाममा जेसुकै कार्यक्रम भने पनि त्यसले कृषिको रुपान्तरण सम्भव हुँदैन ।  व्यावसायिक कृषि उत्पादन प्रणालीमा जान आवश्यक पर्ने आँट, विज्ञता, आवश्यक सामग्रीको जोहो अनि बजार पहुँचमा व्यहोर्नुपर्ने हैरानी अनि दिक्दारी, यी सबैले एक्लो किसानले कसरी व्यावसायिक हुन सक्छ ? त्यसमा पनि हाम्रो जस्तो सानो आकारको जमिन भएका साना किसानहरुले कृषिको व्यावसायिक उत्पादनमा जाने र त्यसबाट लाभ लिने हो भने सहकारी खेतीमा जाने तपाईंहरुको प्रयास सह्राहनीय छ । बजारमा हुने मूल्यको चलखेल, दलाली अनि भुक्तानीमा हुने ठगी, अनावश्यक मूल्य उतारचढाव यी सबैका लागि किसानहरुको सामूहिक शक्ति निर्माण गर्न आवश्यक छ । पूर्वाधार विकासमा काम गर्न आवश्यक छ । यो सबै गर्न न सरकार मात्रले सम्भव छ न किसान एक्लैले । सरकारले आवश्यक नीति, प्रशासन र नियमन अनि सहकारीले भएका पूर्वाधारको व्यवस्थापन, सञ्चालन र किसानहरुलाई सेवा, सुविधा र सचेतता दिन सक्छ । यसो हुन सक्यो भने तपाईंहरुले पिठुवा, रत्ननगर र पदमपुरमा गरिहेको व्यावसायिक केरा खेती अरु ठाउँमा पनि फैलाउन सकिन्छ । तपाईंहरुले  गर्नुभएको प्रयास शब्दमा वर्णन गर्न कठिन छ ।”मेरो भनाइले अध्यक्ष ढुंगाना भावुक हुन्छन् र नजिकै रहेको एउटा फलपूmल पसलतिर मलाई अगुवाइ गर्छन् । एक काइँयो केरा किनेर मतिर बढाउँदै भन्छन्— “यतिका कुरा गरिसकेपछि चितवनको मालभोग केराको स्वाद नै नचखाई तपाईंलाई कसरी बिदा गर्नु ! खाऊँ केरा ।”मेरो मुख रसाउँछ । केराको बोक्रा निकालेर खाँदै भन्छु— “आहा, चितवनको मालभोग केरा !” चितवनका ती मिहिनेती केरा किसान सहकारीकर्मीहरुलाई सलाम ! जसले यति ठूलो रुपान्तरण ल्याए देशमा ।  
   

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...