Tuesday, February 5, 2019

कसरी पाउने आफूले चाहेजस्तो काम ?

गाउँबाट सहर पसेर रोजगारीको खोजी गर्ने व्यक्ति होस् वा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेको स्नातक, कुनै  सीपमा दक्ष भएको व्यावसायिक व्यक्ति होस् वा पेसा व्यवसाय शुरु गर्ने अवसर खोजिरहेको साधारण मानिस, सबै आआफ्नो इच्छाअनुसारको काममा संलग्न हुन चाहन्छन् । विदेशमा गएर पनि आफूले चाहेजस्तो काम नै गर्न चाहन्छन् । आफैँले चाहे जस्तो भइदेओस् भन्ने सबैको चाहना हुन्छ, तर कतिपयले त्यस्तो काम पाएर पनि आफूलाई योग्य साबित गर्न सक्तैनन् । आफूले चाहेको काम प्राप्त गर्ने कसरी ? केही सूत्रहरू: 

१. सर्वप्रथम आफूले काम गर्न चाहेको काम वा पेसा पत्ता लगाउनुहोस् । बजारमा आफूले चाहे जस्तो काम पाउने सम्भावना छ, छैन खोजी गर्नुहोस् । त्यस्ता संघसंस्था, कार्यालय, काम, उद्यम पहिचान गर्नुहोस् । 

२. आफूले गर्न चाहेको काम मिल्ने संस्था वा कम्पनी चुन्नुहोस् । त्यसमा उपलब्ध काम, अवसर, त्यसमा काम पाउन आवश्यक पर्ने योग्यता, नीतिनियम, भविष्यमा प्रगति र उन्नतिका सम्भावना आदिबारे गहिरो अध्ययन गर्नुहोस् ।

३. बुँदा नं. २ मा उल्लिखित कुराहरूको अध्ययन गरिसकेपछि आफूसँग त्यस कामका लागि आवश्यक पर्ने ज्ञान, सीप, क्षमता, दक्षता र भावना छ, छैन विश्लेषण गर्नुहोस् । तपाईंले त्यस संस्थामा काम पाउनुभयो भने के गर्न सक्नुहुन्छ त्यसको लेखाजोखा गर्नुहोस् । आफूसँगको क्षमता, दक्षता र योग्यताका आधारमा त्यस संस्थालाई फाइदा पु¥याउने के  सेवा, विचार, सीप वा सल्लाह दिन सक्नुहुन्छ त्यसको सूची बनाउनुहोस् ।

४. त्यस्ता संस्थामा तपाईंले नोकरी गर्न पाउनुहुन्छ वा हुन्न भन्ने कुरालाई दिमागमा आउन नदिई तपाईं यस संस्थामा काम गर्ने अवसर पाउँदा के दिन सक्नुहुन्छ ? त्यसमा आफूलाई एकाग्र गर्नुहोस् र त्यसको प्रभावशाली योजना बनाउनुहोस् । योजना बनाउने सीपका लागि कुनै अनुभवी विज्ञ व्यक्तिको सल्लाह लिनुहोस् । त्यसको विस्तृत खाका तयार पार्नुहोस् । 

५. अब आफूले तयार पारेको योजना, जिम्मेवार र सही व्यक्ति छनोट गरेर प्रस्तुत गर्नुहोस् । हरेक संस्था, कम्पनी, अफिस यस्तो उपयोगी काम गर्ने भावनाले भरिएको मानिसको खोजीमा रहिरहेकै हुन्छन् । निश्चित कार्ययोजनाबिनाको हावादारी विचारले कुनै काम बन्दैन । चाहनालाई योजनामा रूपान्तरण गर्ने क्षमता भएका मानिसहरू ज्यादै कम हुन्छन् । हरेक संस्थालाई यस्ता योजनामूलक व्यक्तिको जहिले पनि खाँचो रहेको हुन्छ ।

जब माथिका पाँच चरणमा तपाईंले आफ्नो तयारी गरेर निरन्तर हिम्मत, जोस र उत्साहका साथ लागिरहनुहुन्छ, तब केही हप्ता, महिना अतिरिक्त समय लाग्ला तर काम पाउने सम्भावना भने निश्चित हुन्छ । तपाईंको तयारीले भावी दिनमा हुने तपाईंको प्रगति र लाग्ने समय दुवैलाई बचाउनेछ । योजनाविहीन मानिसहरूको भीडमा योजनावाला व्यक्ति सहजै भीड छिचोलेर अघि बढ्न समर्थ हुन्छ । 

विस्तृतमा जान्नका लागि ‘परिवर्तनकारी कार्यशैली’ पुस्तक पढ्नुहोस् ।

Sunday, July 1, 2018

कुटनीति र राजनीतिः एउटा ‘किङमेकर’को आत्मकथा

कोही मानिस आफ्नो निम्ति काम गर्छन भने कोही चाहिँ अर्काको निम्ति काम गर्नमा औधि रुचि लिन्छन् र सन्तोष मान्छन् । शक्तिमा पुग्न चाहने र शक्तिमा रहेकाहरुसँग घुलमिल भएर विश्वास जित्ने र आपूmले चाहेको काम गराउने शक्ति भएकाहरुलाई नै शायद ‘किङमेकर’ भनिन्छ । भारतीय भूखण्डमा मौर्य वंशको शासनकालका चाणक्य असाध्यै कुसल ‘किङमेकर’ मानिन्छन् । आपूm ब्राह्मण भएकाले युद्धकलामा होमिएर मौर्य वंशको गौरव रक्षा गर्न उपयुक्त नहुने भए पनि त्यसका लागि उपयुक्त पात्र समुद्र गुप्त मार्फत् आपूmले चाहेको काम गर्ने कुसल रणनीति र कुटनीति अपनाएर तत्कालीन भारतको गौरव जोगाउन सफल भएकाले अहिले पनि कुटनीति, राज्य र जातीय गौरवको उच्च आदर्श मानिन्छ चाणक्यलाई । उनले लागू गरेका कतिपय राजनीतिक समाधान र कुटनीतिका प्रयासहरु अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । 

इतिहासका कालखण्डमा अनेक ठाउँमा यस्ता मानिसहरु जन्मे र कैयौँ मानिसलाई आफ्नो ज्ञान र क्षमता प्रयोग गरेर अरु मार्फत् आपूmले चाहेको काम गराउन सफल भए । तिनका अनुभवले अहिले पनि मानव जाति लाभान्वित भइरहेको छ । भारतका लाल बहादुर शास्त्री र इन्दिरा गान्धीलाई त्यो ओहदामा पुर्याउनमा के कामराजको ठूलो भूमिका रहेको मानिन्छ । अहिलेको भारतीय राजनीतिमा अमित शाह यस्तै प्रभावशाली व्यक्ति मानिन्छन् जो भाजपाका अध्यक्ष र मोदीका प्रमुख रणनीतिक योजनाकार हुन् । 

नेपालमा यस्तै उचाइ र प्रभावका व्यक्तित्व नदेखिए पनि नेपालको कुटनीति र परराष्ट्र मामिलामा रमेशनाथ पाण्डे पनि ‘नेपालका चाणक्य’ मानिन्छन् । उनको आत्मकथा ‘कूटनीति र राजनीति’ पढिसकेपछि यो निष्कर्ष अझै प्रबल हुन्छ । १४ वर्षको उमेरमै पत्रकारितामा प्रवेश गरेका पाण्डे १६ वर्ष पुग्दानपुग्दै विदेशी सरकार प्रमुखहरुसँग अन्तर्वार्ता लिने र प्रश्न गर्ने हैसियत बनाइसकेको बुझिन्छ । विश्वेश्वर प्रसाद कोइराला सुन्दरीजल जेलमा भएको बेलामा दरवार र विपिको सम्पर्क सूत्र र पुस्तक आपूर्तिकर्ता बनेका पाण्डे त्यसपछिको करिब ५० वर्षको नेपाली राजनीति र वैदेशिक मामिलामा गहिरो अभिरुचि राख्ने, चिन्तन गर्ने र विदेशी विशेष दूतको रुपमा काम गर्ने अवसर पाएका व्यक्तित्व हुन् । धेरैले दरवार नजिकका पत्रकार र दरवारका विश्वास पात्र व्यक्तिका रुपमा चिन्ने गरे पनि वि.पि. कोइरालाको आत्मवृतान्त प्रकाशमा आएपछि भने पाण्डेको पहिचान दरवार र राजासँग मात्र सीमित रहेन । चाहे प्रजातन्त्रवादी होउन् वा वामपन्थी सबैलाई राष्ट्रिय स्वार्थ र देशको स्वाभिमान र विकासका लागि उपयुक्त रणनीतिक सरसल्लाह दिने र अन्तर्राष्ट्रिय समुदायसँग त्यसका लागि उचित भूमिका निर्वाह गर्न सक्ने पात्रको रुपमा पनि उनलाई ग्रहण गर्न थालियो । 

केही वर्षअघि प्रकाशनमा आएको ‘कूटनीति र राजनीति’ रमेश नाथ पाण्डेको अनुभवको सँगालो हो । सकेसम्म वस्तुनिष्ठ बनेर लेखिएको यो आत्मकथा आकारमा जति ठूलो छ यसले समेटेको विषय, परिवेश र व्यक्तिहरुको समूह र शासन प्रणालीको चित्रणको दायरा पनि  त्यतिकै फराकिलो छ । नेपालका छिमेकीहरुको सम्बन्धमा आउने गरेका समस्या, उतारचढाव, छिमेकीहरुको आन्तरिक राजनीति र विदेश नीति, उनीहरुको शासन सञ्चान कला आदि बारे पुस्तकले राम्रैसँग उजागर गरेको छ । यसबाहेक नेपालका राजनीतिक व्यक्तित्वहरुको शासन शैली, राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण, उनीहरुका कुसलता र अकुसलताको मसिनो र भित्री चित्रण पनि पुस्तकमा गरिएको छ । 

सानै उमेरमा जेल परेर आमरण अनसनसमेतको अनुभव गरिसकेका पाण्डेमा त्यसपछिका दिनमा आफ्नो जीवन, आफ्नै भिजनमा कसरी हिँडाउने भन्ने दृढता र लक्ष्यउन्मुख रुपमा आपूmलाई अगि बढाउने दृढता कसरी विकास हुनसक्यो त्यसको उजागर पुस्तकले राम्ररी गरेको छ भने सम्बन्ध कलाका कतिपय रमाइला आयामहरुको प्रस्तुति गरेर पाण्डेले भावी पुस्तालाई वैदेशिक सम्बन्धको कला सिक्ने उपयुक्त अवसर पनि प्रदान गरेका छन् । 

अहिले रेलको चर्चा उनी विदेश मन्त्री हुँदाताका नै उठेको र नेपालले चीनबाट पनि पारवहन सुविधा लिनुपर्छ भन्नेमा मध्य एसियाका केही नेताहरुले सुझाव दिएको कुरा पनि पाण्डेले उल्ल्ेख गरेका छन् । यी बाहेक म्यान्मारबाट बंगलादेश हुँदै भारतले ल्याउने ग्यास पाइप एउटा शाखा नेपालतर्फ पनि ल्याउने भनेर बिम्स्टेक बैठकमा सहमती भइसकेको कुरा उल्लेख गरेर केही दूरगामी महत्वका कुराहरुले निरन्तरता नपाउँदा देशले लाभ पाउन नसकेको कुरा पनि पाण्डेले उल्लेख गरेका छन् ।

आत्मकथामा नायक स्वयं हुने र ऊ नै सबै अवस्थाको हिरो हो भन्नेजस्तो कहीँ कहीँ देखिनु स्वाभाविक भए पनि करिब ७२५ पृष्ठ लामो पुस्तकमा उल्लिखित प्रसङ्गहरुले नेपालको राजनीति र कूटनीतिको अवस्था र दिशा भने राम्रैसँग देखाउँछन् । तेस्रो पटक संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न उनले शुरु गरेको प्रयास पछिल्ला विदेश मन्त्रीले निरन्तरता नदिएको र आपूmले गरेका प्रयास बताउन समय माग्दा पनि नपाएको प्रसङ्ग उठाएर पाण्डेले हाम्रो देशमा अरुका अनुभव सुन्ने र निरन्तरताको एक कडीका रुपमा आपूmलाई लिने परम्परा हराउँदै गएको प्रसङ्ग उक्काएका छन् । यसले देशको परराष्ट्र मामिलामा कूटनीतिक निरन्तरताको अनुभूति हुन सकेन भन्ने मार्मिक अनुभव पाण्डेको पुस्तक पढेपछि अनुभव हुन्छ । विदेशीहरुसँगको सम्बन्धमा कुराकानीको रेकर्ड राख्ने प्रचलन नहुँदा कतिपय सन्दर्भमा संस्थागत स्मृति नै नरहने अवस्थाको मार्मिक चित्र उनले प्रस्तुत गरेका छन् भने सार्क गठनका सन्दर्भमा भारतीय प्रधानमन्त्रीसँग भएको संस्थागत कुराकानीको टिपोटले कसरी सार्क गठन सम्भव भएको थियो भन्ने उल्लेख गरेर यसको महत्वका बारेमा पाण्डेले दृष्टान्त प्रस्तुत गरेका छन् । 
मानिसको लेखन सर्वाङ्ग पूर्ण हुँदैन, कमीकमजोरी केही मात्रमा हुन्छन् नै । पाठकका केही जिज्ञासा पुस्तक पढिसक्ता ज्युँदै रहन्छन् । जस्तो उनको दरवारसँग सम्पर्क कसरी भयो ? विपिसँग कसरी भेट भयो ? विपिसँग कसरी सम्बन्ध गहिरियो ? यस्ता कुराको थोरै संकेत भए पनि खासै चर्चा गरेको पाईंदैन । आगामी संस्करणमा ती कुराहरु थपिएमा पाठकको जिज्ञाशा शान्त हुने थियो । 

७०० पृष्ठभन्दा लामो आकारको पुस्तक लेख्नु र पढ्नु दुवै कष्टकर छन् । लामो धैर्यले मात्र यसलाई छिचोल्न सकिन्छ । राजनीति र कूटनीतिको जानकारी लिन चाहनेहरु, अध्येता र अनुसन्धाताहरुका लागि त छँदै छ यसबारेमा काम गर्न चाहने नेता, कार्यकर्ता, बौद्धिक व्यक्तित्व सबैका लागि यो पुस्तक एउटा उपयोगी पुस्तक हो । भावी पुस्तको लागि अर्को राजनीतिक दर्पण हो । कूटनीतिक क्षेत्रमा काम गर्नेहरुका लागि तालीम–पुस्तिका हो ।
  



Friday, June 15, 2018

मेची पुलदेखि गान्तोक बजारसम्म

२५ वर्षअघिको सिक्किम
फाल्गुण महिना । जाडो सकिएर गर्मी शुरु हुनै लागेको थियो । तराइमा लाग्ने बिहानी हुस्सु पनि लाग्न छाडेको थियो । गर्मी र जाडोको दोसाँधको मौसम आरामदायक थियो, न गर्मी न जाडो । मैले पहिलो पटक यस्तै मौसमको बेला हो सिक्किमको राजधानी गान्तोक जान पाइला अघि बढाएको । आजभन्दा करिब २५ वर्षअघि, एक जना मित्रको सहयोगमा म त्यो हिमाली भूमिको भ्रमण गर्न तम्तयार भएको थिएँ । प्रकृतिको अनुपम उपहार त्यो राज्य त्यसपछिका दिनमा मेरो अर्को घर बन्यो, समयसमयमा गइरहनुपर्ने, हेरिरहनुपर्ने र त्यहाँ गएर केही दिनको थकाइ मार्नैपर्ने गरी । डेन्जोङको त्यो चुचुरो मेरा लागि आफन्त भइदियो मायालु आतिथ्य र आफन्तभाव पस्केर । 

पहिलो पटक गान्तोक टेक्ता मैले जिब्रो टोकेको थिएँ त्यो शहरको अवस्थिति देखेर । त्यस्तो तारेभीरमा यत्रो शहर ! डेन्जोङ पहाडको चुचुरोमा ठडिएका अग्ला भवनहरुले भरिएको त्यो शहर हेरेर मनमनै सोचेको थिएँ– “यस्तो तारेभीरमा बसेको यो शहर ठूलो पहिरो गयो भने के होला ?” 

जबजब त्यो सानो भारतीय हिमाली राज्यमा पाइला टेक्छु मलाई अहिले पनि त्यस्तै लाग्छ । कुन दिन यो शहर पूरै पहिरोमा बग्ला र बिलाउला । मानव बस्तीको लागि बसालिने शहर कति भिरोलोमा कसरी बसालिनु पर्छ भनेर अनेक मापदण्ड बनाइए पनि गान्तोक एउटा बाध्यता हो सिक्किमको लागि । किनभने यही तारेभीरमा अडिएको त्यो सानो शहर सिंगै प्रान्तको राजधानी भएको छ सन् १९७५ मा एउटा स्वतन्त्र देश भारतमा विलय भएपछि । 

सिक्किम भारतमा विलय हुँदा म सानै थिएँ, अलिअलि सम्झन्छु, भारतले सिक्किम आपूmमा विलय गराउँदा निकै विरोध भएको थियो नेपालमा  । मेरो बालमस्तिष्कले राजनीतिका कुरा त्यति बुझेन तर त्यो एउटा गद्दारीको इतिहास ठान्छन् नेपालका राजनीतिकर्मीहरु । अहिले पनि विदेशीसँग बढी हिमचिम बढाउँदा नेताहरुलाई ‘लेण्डुप काजी’ र विदेशीको तरफदारीलाई ‘सिक्किमीकरण’ भन्ने गरिँदैछ । सिंगो देश अर्को देशमा विलय भएको त्यो घटनालाई राष्ट्रघातको नमूना नै मान्छन् राजनीतिमा चासो राख्नेहरु । मलाई पनि अलि पछि यसबारे जान्ने जिज्ञाशा पलाएको थियो । नेपालको पूर्वी भाग नै कार्यक्षेत्र भएकाले दार्जिलिङ, कालिम्पोङ र सिक्किमका मानिसहरुसँग यदाकदा भेटघाट पनि भइरहन्थ्यो । शिक्षा, साहित्य र संस्कृतिले ती ठाउँलाई नेपालसँग नजिक बनाइदिएको छ । दार्जिलिङको सुन्दरताको वर्णन गरेर लेखिएका नेपाली साहित्य धेरै छन् । दार्जिलिङमा जन्मेहुर्केका नेपाली साहित्यकारहरुले नेपाल पसेर पनि त्यहाँको परिवेशलाई साहित्यमा उतारे । त्यहाँको जीवनलाई लिपिबद्ध गरे । तर सिक्किमले त्यति गर्न सकेन जति दार्जिलिङले गर्यो । 

साहित्यको विद्यार्थी भएकाले मलाई पनि ती भूभागको यात्रा गर्ने र त्यहाँको जीवन बुझ्ने कुतकुती लागेको थियो । म उत्सुक थिएँ त्यो भूमि स्पर्श गर्न, बुझ्न र अवलोकन गर्न । शायद त्यही आकर्षणले मलाई वि.सं. २०४८ सालको फाल्गुण महिनामा पहिलो पटक सिक्किम जाने साइत जुरेको थियो ।  धुलाबारी काटेर पूर्वतर्फ नगएको म मेची पुल पार गरेर सिक्किमको राजधानी गान्तोकतिर पाइला बढाएको थिएँ । 
.......
भारतीय कम्युनिष्ट आन्दोलनको छुट्टै रुपको उद्गमस्थल नक्सलबाडी हुँदै जानुपर्दोरहेछ सिक्किम । नक्सलबाडी भन्नासाथ मेरो मनमा खुंखार आतंकका पर्याय क्रान्तिकारी योद्धाहरु उत्पादन गर्ने ठाउँ होला भन्ने परेको थियो । मैले सोचेको थिएँ, त्यस्ता क्रान्तिकारीहरु जन्माउने ठाउँ, सडकदेखि निकै टाढा, अनकन्टर होला, निकै डरलाग्दो र कडा सुरक्षा होला सुरक्षाकर्मीहरुको । जब हाम्रो गाडी नक्सलबाडी पुग्यो, हेर्छु त्यो ठाउँ त हाम्रै गाउँ जस्तो पो छ । साधारण गाउँले बस्ती अनि सानो बजार, हाम्रो सिरहा र सप्तरीतिरको कुनै गाम्रीण गरिबहरुको बस्तीजस्तो । न हेर्नलायक राम्रा भवनहरु त्यहाँ थिए न बजार व्यवस्थित र सुन्दर । विकासमा पछि परेको र हेपिएको ठाउँ लागेको थियो मलाई त्यो ठाउँ । खासगरी नजिकैको चिया बगानमा काम गर्ने गरिब मजदुरहरुको बसोबास रहेको सानो गाउँ थियो नक्सलबाडी । विकासका पूर्वाधार पनि भर्खर पुगेजस्तो, धुलाम्य र साँघुरो सडकले जोडिएको त्यो सानो गाउँ त्यस्तो चर्चित ठाउँ कसरी बन्यो होला ! मेरो मनमा तर्कना चलेका थिए ।

“हाम्रा झापाली क्रान्तिकारीहरु जन्माउने नक्सलबाडी यही हो त ?” मैले हतारिएर आपूmसँगै गएका साथीलाई प्रश्न गरेको थिएँ । मैले त्यो गर्नुको कारण थियो– उनी पनि तिनै क्रान्तिकारीहरुसँग हिमचिम भएका एक जना कार्यकर्ता थिए । निकै पहिलेदेखि नेपाल कम्युनिष्ट पार्टी (माले)मा लागेका ।

“हो यही ठाउँ हो चर्चित नक्सलबाडी । चारु मजुमदार भन्ने किसान नेता यही ठाउँबाट चर्चित बने । उनले यही गाउँका गरिब किसानहरुलाई संगठित गरेर चलाएका थिए त्यो आन्दोलन । सरकारले निकै दमन गरेपछि उनीहरु पनि आक्रामक भए अनि पछि हतियारबन्द आन्दोलनको रुप लियो त्यसले ।” उनले लामो कथा बताए नक्सलबाडीका नेता चारु मजुमदारको । अहिले पनि भारतमा त्यसको प्रभाव छँदैछ । उसले ती क्रान्तिकारीहरुलाई आतंककारी ठान्छ । उनीहरु आफूलाई परिवर्तनकारी र न्यायका लागि लडेको ठान्छन् । 
हेर्दाहेर्दै हामी चारु मजुमदारको शालिक ठड्याइएको ठाउँमा पुग्यौँ । सडक किनारामा उनको पूर्ण कदको शालिक गौरवसाथ ठडिइरहेकै थियो, त्यहाँबाट आवतजावत गर्ने लाखौँ मानिसलाई नक्सलबाडी आन्दोलनको इतिहास सम्झाउँदै । त्यस शालिकले अझै पनि भारतजस्तो विशाल देशलाई टाउको दुखाइरहेको होला भन्ने अनुमान गरेँ मैले । जबसम्म संसारमा थिच्ने र थिचिनेहरुको वर्ग रहिरहन्छ, यस्ता योद्धाहरु सडक किनारामा यसरी नै शालिक बनेर संसारलाई झस्काइरहन्छन् ।  

सँगै यात्रारत मित्रसँग कुराकानी गर्दै हामी सिलिगुडी पुग्यौँ । मानिसहरुको भीडभाड, अव्यवस्थित शहर, जताततै फोहर र दुर्गन्ध । साँच्चिकै अव्यवस्थित थियो सिलिगुडी शहर । न ट्राफिक व्यवस्थित छ न पसलमा उचित दाम र इमान । सरसफाइको कुरा त झन् परको । दार्जिलिङ मोडबाट दायाँ मोडिएर केही पर पुगेपछि हामी एउटा सानो बसपार्कभित्र पस्यौँ जहाँको दृश्य मैले सोचेभन्दा भिन्न थियो । बसहरु साँच्चिकै सफा र टिलिक्क् परेका थिए । सिटमा यात्रु भरिएपछि ती गाडीहरु गेटबाट निस्कन्थे र गन्तव्यतिर लाग्थे । हामी पानीटंकीबाट कोचाकोच गरेर बसमा त्यहाँ पुगेका थियौँ । धरानबाट काँकडभिट्टाको अवस्था पनि त्यसभन्दा कम थिएन । 

गाडी चलाउने चालक कुनै स्तरीय कार्यालयमा काम गर्ने अधिकृत कर्मचारीजस्ता थिए, सफा, चिटिक्क अनि खाइलाग्दा । टिकट काट्ने काउन्टर पनि व्यवस्थित थियो । न कुनै दलाल थिए त्यहाँ न भीड । सबैजना लामबद्ध भएर टिकट लिन उभिएका थिए । छेउमा सानो तर चिटिक्क परेको क्यान्टिन थियो निकै सफा । हामीले पनि टिकट लिएपछि त्यहीँ खाना खायौँ र बस छुट्ने समयको प्रतीक्षा गर्न प्रतिक्षालयतिर लाग्यौँ । प्रतिक्षालयमा यात्रुहरुलाई सशुल्क बाथरुम प्रयोगको सुविधा थियो । दिसा, पिसाब, नुहाइधुवाइ जे पनि गर्न मिल्ने । बसपार्क होस् त यस्तो भन्ने लागेको थियो मलाई त्यो सब देख्ता । त्यतिबेला हाम्रो देशका बसपार्कहरुको हाल सम्झँदा त्यो सुविधा नौलो थियो मेरालागि । कहाँ मलमूत्रमा डुबेका हाम्रा बसपार्कहरु अनि कहाँ त्यो बसपार्क । सिलिगुडीको अस्तव्यस्तताकै बीचमा त्यस्तो ठाउँ पनि होला भन्ने कल्पना गर्न सम्भव थिएन तर वास्तविकता त्यही थियो । 

त्यो सानो बसपार्क देखेपछि सिक्किमको परिकल्पित चित्र बनाएँ मैले । मलाई लाग्यो शायद त्यो हिमाली राज्य यस्तै व्यविस्थित, सुविधाजनक, सफा र सम्पन्न होला । त्यहाँका मानिस पनि भद्र र सज्जन होलान् यही बसपार्कमा देखिएको भद्रताजस्तै । मैले सँगै रहेका मित्रलाई आफ्नो परिकल्पित चित्र सुनाएँ उनले सार मिलाउँदै भने– “सिलिगुडी हेरेर सिक्किमको तुलाना गर्न कठिन छ । त्यहाँ तपाईंले योभन्दा नितान्त फरक दृश्य र अवस्था पाउनु हुनेछ ।” 

मलाई उनका कुराले अझ उत्सुक बनायो । हाम्रो बस छुट्न अझै दुई घण्टा बाँकी थियो । अहिलेजस्तो हातेफोन प्रचलनमा आइसकेको थिएन । सार्वजनिक टेलिफोन बुथमा पैसा तिरेर लाम बसेर ल्यान्डलाइन फोनबाट कुराकानी गर्न सकिन्थ्यो । मेरा साथीले त्यही पिसिओमा लाम बसेर हामी पुग्ने ठाउँमा खबर गरे । हामी गाडी चढेर सिक्किमको राजधानी गान्तोक तर्फ लाग्यौँ । दिनमा चल्ने बस भएकाले सिट र ओहोरदोहोर गर्ने ठाउँमा टनाटन मानिस होलान् भनेको त सिटभन्दा बढी एकजना पनि मानिस थिएनन् बसमा । बाटोमा कोही यात्रु भेटिए भने पनि सिट छैन भन्दै विनम्रातापूर्वक अस्वीकार गरे सह–चालकले । मलाई यातायात क्षेत्रको त्यो व्यवस्थाले अर्को तरङ्ग सिर्जना गर्यो । हाम्रोमा र पश्चिम बंगालका बसहरुमा सके त मानिसहरुको टाउकामा पनि अर्को मानिस राखौँझैँ गर्थे तर सिक्किमे बस त्यसभन्दा नितान्त भिन्न । देश त्यही हो, मानिस त्यस्तै हुन् तर सामान्य प्रणाली बसाल्दा मात्र पनि कति भिन्न ! 

हामी सिलिगुडी बजार कटेर गोर्खा राइफल्सको सैनिक इलाका हुँदै अघि बढ्यौँ । मैले अल इन्डिया रेडियोमा आसाम राइफल्समा काम गर्नेहरुका निकै कथाव्यथा सुनेको थिएँ । नाम आसाम भएपछि सैनिक व्यारेक पनि आसामतिरै होला भन्ने मेरो अनुमान थियो, त्यो सैन्य इलाका त्यहीँ देख्ता अलि अनौठो लाग्यो मलाई । राज्य संरक्षित घना वनको छेउमा रहेको त्यो क्याम्पलाई पछि पार्दै हामी क्रमशः अघि बढयौँ । केहीबेरको यात्रापछि हामी सिवुक पुग्यौँ, जहाँ अलि नयाँ खालको संरचनामा बनेको एउटा पुल थियो । 

“बाघपुल यही हो ।” मेरा सहयात्री मित्र मदनले मलाई जानकारी गराए । त्यहाँबाट पूर्वोत्तर भारतका आसाम, मेघालय, मणिपुर, नागाल्याण्ड आदि ठाउँ जाने र सिक्किमतर्फ जाने सडक छुट्न्थ्यिो । 

स्वर्गीय इन्द्र बहादुर राई लगायत धेरै दार्जिलिङ्गे साहित्यकारहरुका आख्यानात्मक कृतिहरुमा बाघपुलको चर्चा पाइन्छ । कैयौँ मानिसले त्यहाँबाट हामफालेर आफ्नो इहलिला समाप्त पारेको घटनाले गर्दा पुलको सुरक्षा व्यवस्था अत्यन्त कडा देखिन्थ्यो । सुरक्षा र रणनीतिक महत्वको कारणले होला जथाभावी फोटो खिच्न पनि निषेध थियो त्यहाँ । पुलको प्रवेशद्वारमै दायाँबायाँ राखिएका बडेमाका बाघका मूर्ति राखिएकाले मानिसहरुले त्यसलाई बाघपुल भन्ने गरेका रहेछन् । वास्तवमा त्यसलाई प्राविधिक रुपमा चाहिँ कोरोनेशन ब्रिज भनिँदो रहेछ । सन् १९३७ मा शुरु गरेर सन् १९४१ मा निर्माण सम्पन्न भएको त्यस पुलको वारिपारि मात्र खम्बा राखेर बीचको भागले भार थाम्नेगरी सन्तुलन कायम गरेर बडो दक्ष प्राविधिकद्वारा डिजाइन गरी बनाइएको रहेछ । दार्जिलिङ डिभिजनका अन्तिम बेलायती इन्जिनियर जोन चेम्बरले डिजाइन गरेको त्यो पुल टिस्टाको गहिरो गल्छीको दुवैतर्फबाट अर्धवृताकार आर्क बनाएर निर्माण गरिएको छ । टिस्टा नदीको तीव्र बहाव क्षेत्र र गहिरो र अग्लो गल्छीमा बीचमा पिल्लर बनाउन सम्भव नभएकाले त्यस्तो जटिल प्राविधिक संरचना बनाउनु परेको होला भन्ने सजिलै अनुमान गर्न सकिन्छ । 

केहीबेरको विश्रामपछि हामी सिबुकको त्यो पुललाई पछाडि पार्दै अघि बढ्यौँ टिस्टा नदीको किनारै किनार । कहीँ अति नै साँघुरो र पहिरो खसिरहने ठाउँ हुँदै तन्किएको सडक देख्ता आङै जिरिङ्ग हुन्थ्यो त कहीँ घना जङ्गल देख्ता वनजङ्गल संरक्षणको प्रशंसा गर्न मन लाग्थ्यो । तलतिर विशाल टिस्टा नदी सन्सनाएर बगिरहेको थियो अपार जलविद्युतको सम्भावना बोकेर । त्यसबाट उत्पादन गर्न सकिने हजारौँ मेगावाट विद्युत त्यस नदीको वहावसँगै लिएर बंगालको खाडीतर्फ लम्किरहेको त्यो नदीमा कुनै ड्याम थिएनन् उसलाई रोकेर बिजुली चाहिँ हामीलाई छोड भन्ने । यति सम्पन्न र ठूलो देशले यति ठूलो नदीले दिने अपार विद्युत किन त्यसै बगाएको होला पानीसँगै ? के क्षमता नभएर हो वा आवश्यकता नभएर ? टिस्टा नदीको पानी देख्ता र राजनारायण प्रधानको दार्जिलिङको बिजुलीबारे गरिएको व्यग्य सम्झैँ मैले । त्यतिबेला दार्जिलिङ त के सिलिगुडीमा पनि बिजुली कतिबेला आउँछ र कतिबेला जान्छ त्यसको कुनै ठेगान थिएन । भयानक लोडसेडिङको मारमा थियो त्यसतर्फको पूरै भारतीय भूभाग । 

कठिन भूभागमा बनाइएको त्यो रणनीतिक सडक भएकाले पहिरो खसिरहने ठाउँमा सडक मर्मतका लागि स्काभेटर र डोजरहरु राखेर अर्धसैनिक बलका केही मानिसहरु काम गरिरहेका र काम लगाइरहेका देखिन्थे । पहिरो गएको ठाउँ सकेसम्म छिटो खुलाउन सजिलो होओस् भनेर त्यो व्यवस्था गरिएको कुरा मेरा सहयात्री मित्र बताउँदै थिए । सडक किनारामा भीरमा टाँसेर बनाएजस्ता ससाना घरहरु यदाकदा देखिन्थे जङ्गलभित्र । शायद रुख कटानी गर्न कडा कानून भएकाले होला घरछेउमै बडेमाका रुखहरु नकाटी जोगाएर बनाइएका थिए घरहरु । जङ्लले घेरिएका ससाना बस्ती भेटिन्थे सडक किनारामा । माथितिर हेर्दा भूगोल अनुसारका वनस्पती भएको जङ्गल र पहाड टुप्पो मात्रै देखिन्थ्यो । त्यहाँ न कुनै खेतीपातीको दृश्य देखियो न पशुपालन । के गरेर खाँदा हुन् यी मानिस ? सडकमा कुद्ने गाडीले मात्रै त के जीवन धान्ने उपाय हुन्थ्यो होला र यिनलाई ! मेरो मनमा बारम्बार त्यही प्रश्न घुमिरह्यो यात्रा गरिरहँदा । म मनमनै सोच्थेँ– यस्तो कठिन भूभाग र यस्तो दुर्गम पहाडमा के गरेर जीवन धान्दा हुन् यी बस्तीका मानिसहरु ? 

नदी किनारै किनार हुइँकिएको हाम्रो गाडी टिष्टा बजार भन्ने सानो बजार पुगेर केहीबेर लामबद्ध भयो । लामो ‘बेलीबृज’ थियो त्यहाँ । संसारकै सबैभन्दा लामो बेलीबृज भनेर लेखिएको थियो त्यसको प्रवेशद्वारमा । संसारको कीर्तिमानी त्यो पुलले हामीलाई तिष्टापारी पुर्याउने काम सम्पन्न गर्यो । हामी त्यो किनारी बजारलाई पछि पार्दै अघि बढ्यौँ । पारिपट्टि केहीपर पुगेपछि कालिम्पोङतर्फ जाने बाटो छुट्टियो तर त्यो ठाउँ कस्तो होला अनुमान लगाउन कठिन नै थियो । त्यस्तो अनकन्टर ठाउँमा जङ्गलभित्र पसेको बाटो फेरि कस्तो ठाउँमा पुग्ला मैले अनुमान लगाउन सक्ने विषय थिएन त्यो ।  जङ्गल छिचोलेर अर्को बस्तीमा पुग्नै त हुइँकिएका होलानन् नि ती गाडीहरु । मेरो अनुमान मात्र थियो त्यो । तर पनि दार्लिलिङ र कालिम्पोङबारे निकै धेरै पुस्तकहरुमा पढेकाले त्यो दार्जिलिङ जस्तै कुने सानो पहाडी शहर होला भन्ने अनुमान गरेँ मैले । अब सडक किनाराका घरहरु पनि अलि फरक खालका देखिन थालेका थिए । कमै मात्र थिए दुईतले । साना चिटिक्क परेका एकतले टिनको छानो भएका रंगिन घरहरुले मलाई तानिरहे । सडक किनारामा व्यापार व्यवसाय गर्नका लागि सस्तोमा बनाउन सकिने भएकाले होला ती घरहरुमा प्राय बाँसको टाटीमा दुवैतर्फबाट प्लाष्टर गरेर बनाइएका र आकारमा निकै किफायती खालका थिए । रंगरोगन भने साह्रै राम्ररी गरेको देखिन्थ्यो । हाम्रो मुग्लिन बजार सम्झैँ मैले मल्ली बजार पुगेपछि । मल्ली बजार मुग्लिनजति फराकिलो त थिएन तर त्यस्तै थियो सडक किनारको दुवैतिर बसेको । पुरानो बजार नदीपारी रहेछ । राजमार्गमा जोरथाङ जाने पुल अलि दक्षिणतर्फ बनेपछि त्यो पारीपट्टिको बजार सुनसान छ, मृतशहर जस्तो । न त्यहाँ गाडीको घाइँघुइँ छ न त व्यापार र व्यवसाय । शायद सडक किनाराका बजारहरु खास रणनीतिक बिन्दू सरेपछि यसैगरी मृत हुन्छन् । त्यही नरमाइलो भोगिरहेको थियो नदीपारीको मल्ली बजारले । 
......
मल्ली कटेपछि बाटो अलि फराकिलो र सुविधाजनक थियो । टिस्टा नदीको किनारै किनार । केहीबेरको यात्रापछि हामी पश्चिम बंगाल र सिक्किमको सीमिानामा पर्ने रङपो (नेपाली उच्चारण ‘रम्पूm’) बजार पुग्यौँ । दुई नदीको सङ्गममा रहेछ त्यो बजार । सिक्किमका प्रायजसो बजारहरु यस्तै स–साना नदी किनारमै अवस्थित छन् । भिरालो पहाड भएकाले अलि सम्म परेको नदी किनारमा नै ससाना शहर बसेका देखिन्छन् । पूर्वपट्टिबाट आउने टिस्टा र पश्चिमतिरबाट आउने रङ्पोको दोभानमा रहेको त्यो शहर सिक्किमको प्रवेशद्वार रहेछ ।  

“पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ” राष्ट्रकवि माधव घिमिरेको त्यो गौरवशाली पंक्ति मेरो मनमा गुन्जन थाल्यो टिस्टा र रङ्पोको त्यो पानी देखेपछि । के हाम्रा पुर्खाले यो ठाउँसम्मै नेपालको विस्तार गरेका थिए त ? थिए भने टिस्टाको कुन चाहिँ ठाउँमा थियो त्यो सिमाना ? मनमा प्रश्न आउँदानआउँदै नदी किनारको सुन्दर तिब्बतेली शैलीको प्रवेशद्वारभित्र पसेर हाम्रो गाडी टक्क रोकियो । सिक्किम र पश्चिम बंगालको सीमाना थियो रङ्पो बजार । देश एउटै भए पनि फरक राज्यहरुको सीमानामा केही जाँचपडताल गर्ने चलन रहेछ । एक जना पुलिसले बसको बाहिरैबाट हामीलाई सोध्यो– “कहाँबाट आउनुभो ?” 

“सिलिगुडीबाट ।” सहज जबाफ दियौँ हामीले । आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा मक्ख परयो त्यो सुरक्षाकर्मी । कसैले नेपालबाट भन्यो भने उत्रेर नाम, ठेगाना टिपाउनुपर्ने र परिचयपत्र देखाउनुपर्ने व्यवस्था रहेछ । त्यसैले जहाँबाट गएका भए पनि नेपाली र भारतीय मूलका नेपाली अनुहारहरु सिलिगुडीबाट आएको भन्ने गर्थे । मलाई पनि त्यही भन्न सिकाएका थिए मेरा सहयात्री मित्रले । 

रङ्पो बजार देख्ता नेपालकै पहाडी भागको कुनै बजारमा पुगेजस्तो लाग्यो मलाई । निकै थाकेकाले केहीबेर सुस्ताउन चालकले गाडी रोके । केहीबेरको विश्रामका लागि सबै यात्रीहरु ओर्ले तरोताजा हुन ।  
छोटो विश्रामपछि हाम्रो बस फेरि बढ्यो गान्तोकतिर । माझिटारको फराकिलो ठाउँले मलाई अब फराकिलो उपत्यका पो आउने रहेछ क्यार भने झैँ लाग्यो  तर अलि अघि बढेपछि फेरि उही जङ्गल र फ ाट्टफुट्ट घरहरु । केही अघि बढेपछि रानीखोला र टिस्टाको संगममा अर्को सानो शहर देखियो नदी किनारको छेउमा लमतन्न परेर बसेको । भित्तामा टाँसिएका घरहरु अनि चिटिक्क पारेर रंगाइएका हेर्दै आनन्द लाग्ने । हाम्रोतिर आधा बनाएर डिङ्ग पिलर ठड्याएर कुरुप देखिने घरमा बस्ने चलन थिएन त्यहाँ । कि त बनिरहेका घर थिए कि त बनिसकेर मानिस बसिरहेका । सबै घर राम्ररी रंगाइएका र चिटिक्क पारिएका । त्यसले मानिसको आम्दानी र बसोबासको शैली देखाउँथ्यो शायद । 

सिङताम कटेर उकालो लागेपछि फेरि अर्को दोभान आइपुग्यो रानीपुल । पश्चिमपट्टि रानीखोला र पूर्वपट्टि रोरो चु खोलाको संगममा रहेको त्यो सानो बजार गान्तोकको प्रवेशद्वार रहेछ । झमक्क साँझ परिसकेकाले वरिपरि झलमल्ल बिजुली बलेका पहाड देख्ता साँच्चिकै स्वर्गीय ठाउँमा पुगेको अनुभव भयो मलाई । जाडोको मात्र बढिरहेकै थियो क्रमशः । चिसोचिसो मौसम अनि चारैतिर झिलीमिली, थकाइ लागेपछि त्यो दुर्गम भेगमा त्यति सुविधासम्पन्न ठाउँ देख्न पाउनु र पाइला टेक्न पाउनु मेरा लागि खुशीकै कुरा थियो । मन फुरुङ्ग थियो हर्ष र जिज्ञासाले भरिएर । 

रानीपुल कटेर अघि बढेपछि उकालो अझ ठाडो हुँदै गयो । गाडीको आवाज पहिलेकोभन्दा अलि चर्को हुन थाल्यो । यात्रीहरुको अनुहार थकाइले लखतरान परिसकेकाले ओइलाएका फूलजस्ता भएका थिए । पहाडी भेगको घुम्ति र मोडहरुमा कहिले दायाँ र कहिले बायाँ बटारिँदा शरीर पनि भारी भइसकेको थियो अलिअलि दुखाइ पनि अनुभव हुँदै थियो ।

अँध्यारो निकै घना भइसकेकाले तादोङ बजार पुग्दा बिजुली बत्तीले वरपरका सबै पहाड झल्झलाकार थिए । कतैकतै भने कालो अन्धाकार हाबी थियो शायद लोडसेडिङको भुक्तमानमा थिए होलान् ती बस्तीका मानिसहरु त्यतिबेला । बिजुली उत्पादन गर्ने स–साना पावरहाउसहरु बाटामा देखेका थियौँ हामीले । शायद ती पावरहाउसले पर्याप्त बिजुली उपलब्ध गराउन सकेका थिएनन् सिक्किमलाई । 

हुनतः करिब १५ वर्ष मुख्यमन्त्री भइसकेका नरबहादुर भण्डारीको नारा थियो– सिक्किमेको घरमा टिनको छाना, एउटा बत्ती, एउटा धारा । त्यसले चमत्कार देखाउँदै थियो । पश्चिम बंगालतिरका पहाडहरु अँध्यारोमा बस्न बाध्य भएका बेला सिक्किमका हरेक घरमा बिजुली बत्ती पुगिसकेको थियो । घरका छाना टिलिक्क परेका जस्ता पाताले टल्केका थिए । कच्ची भने पछि सबै गाउँमा सडक पुगेको थियो । बालबालिकाले स्कूल जान आधा घण्टाभन्दा बढी हिँड्नु पर्दैनथ्यो । प्रायजसो घरमा कोही न कोही जागिरे थिए । यस्तो अवस्थाको सिक्किममा पहिलो पटक मैले पाइला टेको थिएँ । मलाई लागेको थियो यही त हो नि मानिसले खोजेको विकास र समृद्धि । योभन्दा बढी के नै चाहियो र ? तर आजको सिक्किम त्यतिबेलाको सिक्किमभन्दा कहाँ हो कहाँ अगाडि पुगेको छ । शायद हामीले परिकल्पना गर्न पनि नसक्ने अवस्थामा । 

अहिलेको सिक्किम अर्कोमा....
(आज करिब २५ वर्ष बितेको छ म पहिलो पटक सिक्किम टेकेको । मैले त्यतिबेला अनुभव गरेको र स्मृति पटमा रेकर्ड भएको यात्रा अनुभव यहाँ चित्रण गरेँ । यस बीचमा सिक्किमको मुहार अचम्मैसँग फेरिएको छ । मानिसको आयस्तर, राज्यका सुविधा, पूर्वाधार विकास, रोजगारी, पर्यटनको विकास, वातावरण संरक्षण, बिजुली उत्पादन, मानव विकास सूचकांक आदि सबै कुरामा आनका तान फरक भइसकेको छ । यही वर्षको प्रथम महिनामा फेरि लामो समय बिताएँ सिक्किममा । त्यस बेलाको सिक्किम र अहिलेको सिक्किम दाँजेर हेरेँ, आफ्नो देशलाई हेरेँ, सम्झेँ अनि गमेर केही कोर्ने प्रयास गरेको छु त्यतिबेलाको सिक्किमको । अरु कुरा अर्को ब्लगमा पस्किनेछु ।)       

Thursday, May 24, 2018

नीतिगत अस्पष्टताको चपेटामा शैक्षिक सहकारीहरु

गणतन्त्र स्थापनापछिको संविधानले सरकार, सहकारी र निजीक्षेत्रलाई आर्थिक विकासको आधार मानेपछि काठमाडौँको बानेश्वर क्षेत्रका केही शिक्षक र अभिभावकहरु मिलेर एउटा शैक्षिक सहकरी स्थापना गर्ने र त्यसबाट एउटा राम्रो विद्यालय र कलेज सञ्चालन गर्ने निर्णय गरे । देशले तीन खम्बे अर्थनीति अपनाइसकेकाले कम्पनी, सार्वजनिक र सहकारी तीनवटै आधारमा शिक्षा क्षेत्र पनि सञ्चालित हुनुपर्छ भन्ने ठानेर उनीहरुले यस्तो निर्णय गरेका थिए । बढ्दो शैक्षिक व्यापारीकरणको विकल्प शैक्षिक सहकारी हुनसक्छन् भन्ने त्यो समूहको ठम्याइ थियो । आशय र दृष्टिकोण दुवै संविधान र राज्यको नीतिअनुरुप नै थिए । 

सहकारी दर्ता गर्न कानून बमोजिम पूरा गर्नुपर्ने विधि र कागजात पुर्याएर उनीहरु डिभिजन सहकारी कार्यालय काठमाडौँ पुगे । सहकारी डिभिजनले शैक्षिक सहकारी दर्ता
को व्यवस्था नै नभएकाले आपूmले यस्तो सहकारी दर्ता गर्न नसक्ने जानकारी दियो । संस्थापकहरुले राज्यको तीनखम्बे अर्थनीतिको वकालत शुरु गरे र माथिल्लो निकाय गुहारे । डिभिजन सहकारीले नीतिगत अस्पष्टता भएकाले के कसो गर्ने हो निर्देशन पाऊँ भनेर सहकारी विभागसमक्षा फाइल पठायो । कैयौँ पटकको बहसपछि शिक्षा क्षेत्रमा काम गर्नेगरी सहकारी दर्ता भयो । सहकारी दर्ता र अन्य पूर्वाधारपछि जब शिक्षा कार्यालयमा विद्यालय सञ्चालनका लागि अनुमति लिन उनीहरु पुगे, त्यहाँ फेरि उनीहरुलाई त्यही उत्तर प्राप्त भयो जुन उत्तर डिभिजन सहकारीले शुरुमा दिएको थियो । अनेक कोशिस गर्दा पनि उनीहरुले विद्यालय सञ्चालनको अनुमति पाउन सकेनन् ।

शैक्षिक संस्था सञ्चालन र सहकारीता

विद्यमान शिक्षा ऐनले कि त सार्वजनिक विद्यालयको परिकल्पना गरेको छ कि त गुठी वा कम्पनी । त्यसबाहेक सहकारी संस्थाबाट संचालन गर्नेगरी कुनै पनि हालतमा शैक्षिक संस्था संचालन गर्न दिन मिल्दैन भनेर सरकारी कार्यालय ठसमस नभएपछि कानूनी प्रकृया मिलाउन सहकारीका सदस्यहरुमध्येकै केही सदस्यहरुको नाममा प्रा.लि. दर्ता गरेर विद्यालयको अनुमति लिन उनीहरु बाध्य भए । यही अवस्था भोगाइका भुक्तभोगी छन् हाल माध्यमिक विद्यालय सञ्चालन गरिरहेका नवलपरासीको गैंडाकोटस्थित विजय विकास शैक्षिक सहकारी, हरिऔनको सगुन शिक्षा सहकारी, मकवानपुरको नवजागरण शिक्षा सहकारी, दाङको देउखुरी शिक्षा सहकारी आदि पनि ।

बढ्दो नाफाखोरी र व्यापारीकरणको विकल्पमा समुदायको प्रयासमा केही आर्थिक र व्यावसायिक गतिविधि होउन् भन्ने उद्देश्यले संविधानमै निजी, सरकारी र सहकारी गरी तीनवटा आर्थिक गतिविधिका क्षेत्रलाई संवैधानिक मान्यता दिइएको हो । यी तीनवटै क्षेत्रले सबैखाले व्यवसाय र आर्थिक गतिविधि समान रुपमा गर्नेछन् भन्ने संविधानको मूल मर्म देखिन्छ । तर हालसम्म पनि विद्यामान कानूनहरु सुधार र परिमार्जन नहुँदा, कानून निर्माताहरुमध्ये केहीको स्वार्थ बाझिएर संविधानको परिकल्पना अनुरुप कानून र नीतिहरु नबन्दा समुदायले त्यसबाट लिनसक्ने उचित लाभ लिन सकिरहेको छैन । त्यही मध्येको एउटा क्षेत्र हो शिक्षा । विद्यमान शिक्षा ऐन निर्माणको चरणमा केही शैक्षिक नाफाखोरहरुको स्वार्थका कारण सहकारीहरुलाई पनि शैक्षिक संस्थाहरु सञ्चालन गर्न दिने गरी विधेयकमा प्रस्तुत व्यवस्था हटाइयो । जसले गर्दा सहकारीहरुले शैक्षिक विकल्प दिनसक्ने सम्भावनाबाट बञ्चित गरियो । 

संविधान, कानून र नीतिमा बेमेलको अवस्था

संविधानतः देशले तीन क्षेत्रलाई आर्थिक गतिविधिको आधार मानेपछि तीनवटै क्षेत्रले बराबरी रुपमा आर्थिक र व्यवसायिक गतिविधिहरु सञ्चालन गर्न पाउनुपर्ने हो तर सरकार, विधायिका र कर्मचारीतन्त्रमा रहेका कतिपय पहुँचवालाहरुको स्वार्थका कारण संवैधानिक रुपमा गरिएको व्यवस्था अनुसार कतिपय कानून, सरकारी नीति र कार्यप्रणालीमा तदनुरुप सुधार हुन सकेको छैन । हालको शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐनले सहकारीलाई शैक्षिक संस्था सञ्चालनमा सहभागी गराउन सकिने संकेत गरे पनि अझै सहकारी संस्थाहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउने प्रकृया शुरु भएको छैन । अहिले पनि विद्यालय सञ्चालनको अनुमति लिन जाँदा कि त शैक्षिक गुठी कि त कम्पनी हुनुपर्ने अवस्था छँदै छ । शैक्षक संस्थाहरु संस्थागत ढाँचामा सञ्चालित होउन् भन्ने आसयले गुठी वा कम्पनीको परिकल्पना गरिएको हो । त्यसमा संस्थागत परिपाटीमा लैजाने आसयबाहेक अर्को आसय देखिँदैन । सहकारीहरु पनि आफैँमा कानूनी संस्था हुन् । तिनमा आन्तरिक सुशासन र नियन्त्रण प्रणालीको सबै व्यवस्था विद्यमान छ भने फेरि कम्पनी नै वा शैक्षिक गुठी नै चाहिन्छ भन्नु कुनै तुक छैन । यो नीतिगत अस्पष्टता र खास समूहको स्वार्थ मात्र हो । 

सरकारद्वारा सञ्चालित सार्वजनिक विद्यालयहरुपछि अर्को विकल्प समुदायमा आधारित सहकारी वा शैक्षिक ट्रष्ट हुनुपथ्र्यो । ती विकल्प बन्न नसक्ने अवस्थामा मात्र कम्पनी बनाएर शैक्षिक संस्था सञ्चालनको अनुमति दिने व्यवस्था स्पष्ट गरिनुपथ्र्यो । यसो गरेको भए अहिलेको जस्तो चरम व्यापारीकरण कम हुन्थ्यो, विकल्पहरु तयार हुन्थे । तर हाल नीजि लगानीमा सञ्चालित शैक्षिक संस्थाका सञ्चालकहरु राज्य यन्त्रलाई समेत प्रभावित पार्ने हैसियत भएका र सरकार र विधायिकामा समेत उनीहरुको पहुँच भएकाले सहकारी क्षेत्रले प्रवेश पाएमा आफ्नो स्वार्थ बाझिने र व्यावसायिक वर्चस्व गुम्नसक्ने भयले श्रोतमै अंकुस लगाउन उनीहरु सफल भएका छन् । यसले एकातिर संविधानको परिकल्पनाअनुसार शैक्षिक गतिविधिको विकल्प बन्न सहकारीहरुलाई रोकेको देखिन्छ भने समुदायको हित प्रबद्र्धनमा पनि यसले व्यवधान खडा गरेको छ । सीमित मुनाफा र व्यावसायिक लाभका आधारमा सामाजिक दायित्वसमेत वहन गर्ने सहकारीहरु शिक्षा क्षेत्रमा बढ्दै गएमा असीमित मुनाफा कमाएर एकलौटी रुपमा शिक्षालाई व्यपारिकरण गरिरहेका संस्थागत विद्यालयहरु र शैक्षिक संस्थाहरुलाई दीर्घकालीन रुपमा ठूलो असर पर्ने भय नीजि क्षेमा व्याप्त छ । त्यसबाट माथि उठेर सामाजिक भलाइका लागि कानूनी र नीतिगत परिमार्जन गर्नसक्ने साहस सरकारले पनि जुटाउन सकेको छैन ।

बढ्दो सहकारिता र सहकारी विकल्प विकास

नेपालमा सहकारी संस्थाहरुको विकासपछि केही खास क्षेत्रमा यसले आपूmलाई स्थापित गर्दै लगेको छ । ग्रामीण, अझ शहरी क्षेत्रमा पनि साना व्यावसायिक ऋणको दह्रो विकल्पमा बचत तथा ऋण सहकारी संस्थाहरु स्थापित भएकाले बैंकको विकल्प दिन सक्षम भएका छन् । त्यसैगरी दूग्ध उत्पादन र संकलनमा पनि सहकारी संस्थाहरुले आफ्नो पहिचान स्थापित गरेका छन् । त्यसले पशुपालक किसानहरुलाई राम्रो व्यावसायिक आधार प्रदान गरेको छ । यसबाहेक कृषि उत्पादन, उपभोग्य वस्तुहरुको वितरण र उत्पादनलगायतका क्षेत्रमा भने हाम्रो देशका सहकारीहरु समर्थ हुन सकेका छैनन् । केही प्रयास अवश्य भएका छन् तर ती क्षेत्रमा व्यावसायिक बन्नका लागि सरकारी तवरबाट केही नीतिगत सुधार र केही प्रकृयागत सहयोग आवश्यक छ । यसो हुन सक्यो भने सहकारीहरु समाजका हरेक आर्थिक गतिविधिका अंग बन्न सक्ने सम्भावना छ । यसमा तगारो बनेको छ नीजि क्षेत्रको व्यावसायिक सोच । सहकारी संस्थाहरु आए भने हाम्रो व्यावसायमा धक्का पुग्छ कि भन्ने साँघुरो सोचाई नीजि क्षेत्रमा भएकाले र सरकारको सहजीकरणका नीति र प्रकृया अत्यन्तै अप्रभावकारी भएकाले कृषि क्षेत्रको आधुनिकीकरणमा सहकारीहरुले अपेक्षाकृत सफलता हासिकल गर्न सकेका छैनन् । 

त्यसैगरी सहकारी प्रबद्र्धनको अर्को क्षेत्र हो स्वास्थ्य क्षेत्र । यो क्षेत्रको सेवा अत्न्त महँगो हुँदै गएको छ । यस क्षेत्रमा पनि शैक्षिक क्षेमा जस्तै सहकारी संस्थाहरुलाई प्रवद्र्धन गर्न सके सरकारी क्षेत्रको विकल्प र नीजि क्षेत्रको स्वस्थ प्रतिस्पर्धि सहकराी क्षेत्र बन्न सक्ने सम्भावना रहेको छ ।

अबको भर स्थानीय सरकार

हालै जारी भएको स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत र माध्यमिक तहसम्मको शैक्षिक गतिविधिको सञ्चालन र नियमनको जिम्मा स्थानीय सरकारलाई दिएकाले अवका दिनमा नीजि, सरकारी शैक्षिक संस्थाहरुको हाराहारिमा सहकारी संस्थाहरुलाई अघि बढाउन सकिने सम्भावना प्रदान गरेको छ । विद्यमान संविधान र कानूनले निषेध गरेकोबाहेक सोसँग नबाझिने गरी स्थानीय आवश्यकता र औचित्यका आधारमा शिक्षा क्षेत्रको संचालनको बन्दोबस्त स्थानीय सरकारले गर्न सक्ने कानूनी व्यवस्था भइसकेकाले अब स्थानीय सरकारले आफ्नो कानून बनाएर शैक्षिक सहकारीहरुलाई शैक्षिक संस्था संचालन गर्न अनुमति दिने र उनीहरुलाई सार्वजनिक र निजी क्षेत्रको विकल्पको रुपमा विकसित हुन आवश्यक अवसर प्रदान गर्ने व्यवस्था मिलाउन ढिलो गर्नुहुँदैन । हाल भइरहेको शिक्षा क्षेत्रको चरम व्यापारीकरणलाई सहकारी शैक्षिक संस्थाहरुको विकासले एक उचित विकल्प दिन सक्छ । यो एउटा उपयुक्त अवसर पनि हो स्थानीय जनतालाई शिक्षा जस्तो आधारभूत कुरालाई व्यापार गरेर अनुचित नाफा कमाइरहेका नाफाखोरहरुलाई नियन्त्रण गर्ने । 

घरदैलोमै भएको स्थानीय सरकारलाई यति धेरै अधिकार दिँदा पनि सरकारी विद्यालयको सुधार हुन सकेन, सहकारी विद्यालयहरुलाई प्रबद्र्धन गर्न सकिएन र यसरी नै संस्थागत शैक्षिक संस्थाहरुको मनोमानी सहन गरिरहने हो भने हामीलाई हाम्रा सन्ततीले भोलि धिक्कार्नेछन् । विकल्प नै नहुँदा एउटा कुरा हो विकल्प हुनसक्ने ठाउँमा सकेसम्म शैक्षिक सहकारीहरुलाई प्रबद्र्धन गर्न अब स्थानीय सरकारले बढावा दिन जरुरी छ र यसलाई प्रदेश र संघीय सरकारले पनि ध्यान दिन आवश्यक छ ।    
  

Monday, March 26, 2018

निर्माण सामग्रीको उत्खनन, दोहन र प्रयोग व्यवस्थित गर सरकार

यो हप्ता सुनकोशी नदीमा भइरहेको बालुवा उत्खखनले निकै धेरै चर्चा पायो । धेरैले यसलाई बालुवा तस्करी भनेर नकारात्मक रुपमा चर्चा गरेको पाइयो । हामीकहाँ निर्माण सामग्रीको उत्खनन, ओसारपसार र प्रयोगको नियमन र अनुगमन नहुँदा जसले जे कुरा जसरी भने पनि हुने अनि निर्माण सामग्री आपूर्तिकर्ता सबै तस्कर, बदमास र हानिकारक हुन् झैँ गरी चित्रण गर्ने गरेको पाइन्छ । निर्माण गर्न केही न केही अनि कहीँ न कहीँ विनाश नगरी हुँदैन । विना विनास सिर्जना हुँदैन कुनै कुरा । तर त्यो व्यवस्थित चाहिँ हुनुपर्छ । दीर्घकालमा मानव हितकारी हुनुपर्छ । 

एउटा तीतो उदाहरण

गोदावरी मार्वल जतिबेला सञ्चालनमा थियो त्यसले केहीलार्य रोजगारी दिएको थियो, आयात प्रतिस्थापन गरेको थियो र केही मात्रामा कर पनि तिरेको थियो । तर त्यसलाई संसारै सिध्यायो भनेझैँ गरी एएटा समूह लगातार विरोधमा लागिरह्यो, सरकारले पनि गहिराइमा गएर त्यसको औचित्य अध्ययन गर्न र त्यसको उत्खनन्को पुष्टि गर्न सकेन । करोडौँ अझ अरबौँ रुपियाँ विदेशी ढुंगा किन्नमा खर्च भइरहेको छ अहिले । भएको एउटा मात्र मार्बल उद्योग हल्लाकै भरमा व्यवस्थापनका उपाय अवलम्बन नगरीकन सरकारले बन्द गरिदियो । त्यसमा ठूला मार्बल व्यापारीहरु पछि लागेका थिए समूह बाँधेर । तिनैले पत्रकारलाई लेखाउँथे र नकारात्मक प्रचार गर्थे । हामी साधारण मानिसलाई पत्रिकाका समाचार र लेख पढ्दा यो काठमाडौँको वातावरण सिध्याउने काम त्यही मार्बल उद्योगले नै पो गरेछ क्यार भनेझैँ लाग्थ्यो । 

त्यो उद्योग बन्द भएपछि राजस्थानको ढुंगा ल्याएर महाँगो विदेशी मुद्रा भारत पठाइरहेको छ देशले । कसले लियो फाइदा ? बन्द हुँदा कति घाटा भयो देशलाई ? केही वनस्पती र वन्यजन्तुलाई हानी पुग्यो भनेर त्यस्तो ठूलो उद्योग बन्द गर्नुहुन्थ्यो ? चित्तबुझ्दो जवाफ कसैले दिन सक्तैन । कुरा बन्द वा खुला भन्दा पनि त्यसको व्यवस्थापन र नियमनको हो । मुख्य प्रश्न खानी क्षेत्रको आसपासको बस्ती र जमिनको संरक्षण र व्यवस्थापनको थियो, त्यो गर्न नसकेर बन्दा गरियो । बन्द गरेपछि न बजे बाँसुरी न रह्यो मरलीझैँ भयो, सकियो ।

चापागाउँको ढुंगा खानी उत्खनन् गर्न दिँदा अनेक हल्ला चलाइए । एकजना मन्त्रीले त्यही सन्दर्भमा एलडियो थुन्नेदखि अनेक वितण्डा गरेर त्यो ढुंगा खानी बन्द गरियो । अहिले त्यसको परिणाम हेर्नुस् त ढुंगाको भाउ कहाँ पुगेको छ ? ठूला शहरनजिकका केही पहाडहरु निर्माण सामग्रीको लागि कसरी दोहन वा उत्खनन् गर्ने भन्ने सोचाइ सरकारी स्तरमा नबन्दा अहिले निर्माणकार्यको मूल्य अकास छुने अवस्थामा पुगेको छ । बालुवाको अवस्था पनि त्यस्तै छ । काठमाडौँ उपत्यकाभित्र कैयौँ यस्ता माटो र बालुवाका ढिस्काहअरु छन् जसको उत्खखन गर्दा त्यहाँको जमिनको आकार पनि राम्रो हुनसक्छ अनि निर्माण सामग्री पनि सुलभ हुनसक्छ । तर गर्ने कसले र कहिले ? ढिलो भएन अब पनि यस्ता काम गर्न ? 

चर्चा खोला, नदी र सुनकोशीको अनि पत्रकारको हल्लाको 

अहिले कुनै विषय संचारमाध्यमको आँखा तत्काल गइहाल्ने कुनै क्षेत्र छ भने त्या हो क्रसर, बालुवा र ढुंगा खानी । के यीविना देशको भौतिक निर्माणले गतिलिन्छ ? लिन्छ भने त्यसको विकल्प के ? सरकारले कहाँकहाँ कति उत्खनन् हुन्छ भनेर तोकेका क्षेत्रहरु कुनकुन हुन् ? केही काम भएको छ यसमा ? छैन भने कहाँबाट ल्याउने निर्माण सामग्री ? बालुवा नदीकै आसपासमा पाइन्छ । ढुंगा कुनै पहाडमै हुन्छ । गेगर वा गिट्टी या त खोला, बगरमा हुन्छ या त पहाडका ढुंगा कुटेर बनाउनुपर्छ । यीविना केही विकल्प छन् ? जतिजतिबेला व्यापक विकास निर्माणको काम गर्नुपर्ने बेला आउँछ त्यतिबेला नै नदी दोहन, बगर दोहन, खानी दोहन जस्ता अनेक नकारात्मक कुरा निकालेर निर्माण सामग्रीका बारेमा नकारात्मक हल्ला किन फैलाइन्छ ? किन यसलाई रोक्न मात्र जोड दिइन्छ ? के हामीले ठूला विकास निर्माण गर्नबाट रोक्ने कुनै गिरोह त रणनीतिक हिसाबले लागिरहेको छैन यसमा ? सोच्नुपर्नेबेला भएको छ । कुरा नबुझी यसरी निर्माण सामग्रीका बारेमा नकारात्मकम कुरा मात्र नगरौँ । 

नदी, खोला र खहरेका निर्माण सामग्रकीका बारेमा केही कुरा

हाम्रा खोँच क्षेत्रका धेरै नदीहरु बगरको फैलावट र नदी उकासको समस्याका कारण वरदान हैन अभिसाप भएका छन् । काठमाडौँको नजिक पर्ने कमला, मरिन, बाग्मती आदि नदीहरु पहाडबाट बगेर तराइ झर्दा निकै ठूलो मात्रामा माटो र बालुवा लिएर जाने  र सम्म ठाउँमा पुगेपछि त्यो सामग्री नदीको सतहमा थिग्रेर बस्ने गर्दा कैयौँ क्षेत्रमा बाढीको प्रकोप झेल्न नदीतटका बासिन्दाहरु बाध्य छन् । नदी सतह उकास भएर थोरै पानी पर्दा पनि बाढी फैलिएर घरखेत गुमाएको अवस्था छ । यस्तै अन्यत्रका नदीहरुमा पनि छ । 

जाइकाले केही वर्षअघि गरेको अध्ययनमा नेपालको पडहाडबाट मधेस वा खोँच क्षेत्रतिर बग्ने नदीले सतह उकास गरी जमिन कटान गरेको तथ्यांक सार्वजनिक गरकोने थियो र ती नदीहरुमा तटबन्ध गर्दा पनि निश्चित समयपछि उचाइ थप्दै जानुपर्ने उल्लेख गरेको थियो । त्यसो हो भने ती नदीहरुका निर्माण सामग्रीको रुपमा काम लाग्ने बालुवा, गिट्टी, ढुंगाको प्रयोग गर्ने निश्चित तरिका किन अवलम्बन नगर्ने ? ती नदीहरु र चुरेबाट निस्कने खहरेको सतह वर्षेनी बढ्छ । त्यसलाई सतहको निश्चित मात्रामा वैज्ञानिक रुपमा उत्खनन् गर्न दिँदा केही हानि हुँदैन बरु खोला वा खहरेको सतह बढ्न नदिन त्यसले ठूलो रोकथामको काम गर्छ । तर यसो गर्दा एकै ठाउँमा गहिरो गरी उत्खनन् नगरी निश्चित सतह काट्ने गरी सोहोरेर थुपार्ने र ओसार्ने विधि अबलम्बन गर्नुपर्छ । यसो गर्दा सामान उत्खखननले कुनै हानि नोक्सानी गर्दैन । 

मैले केही समयअघि कमला नदीबाट बालुवा, ढुंगा र गिट्टीको उत्खनन वर्षेनी गर्नेगरी कसरी उचित तरिकाले सामग्री उत्खखन गरी नगरपालिकाको आर्थिक स्रोत बृद्धि गर्न सकिएला भन्ने बारेमा एउटा कार्यपत्र तयार पारेको थिएँ । त्यसमा नदीको खास क्षेत्रमा मात्र गहिरो गर्न नदिई वर्षैपिच्छे बाढीपछि हिउँदमा एक देखि डेढफिट सम्म बराबर गरेर नदीजन्य पदार्थ उत्खखन गर्न दिने र केही खास ठाउँमा भने गहिरो गरी उत्खखन गर्न दिने व्यवस्था मिलाउन सके नदी सतह बढेर बाढीको प्रकोप पनि नबढ्ने र निर्माण सामग्री निर्यात गरेर नियमित रुपमा ठूलो आय नगरपालिकाले आर्जन गर्न सक्ने विकल्प देखाएको थिएँ । त्यसमा सरोकारवालाहरु पनि सहमत हुनुभएको थियो । 

यसरी उत्खखन गर्दा नदीजन्य पदार्थ दोहनले कुनै वातावरणीय हानि पुग्दैन । बरु, नदी सतह उकास भई बाढीग्रस्त हुने वरपरको क्षेत्रलाई बाढीबाट समेत जोगाउन सकिन्छ । 

विदेशका केही उदाहरण 

मैले एकपटक दिगो विकासको अध्ययनको सिलसिलामा थाइल्यान्डको नाखोन राचासिमा भन्न्े ठाउँको भ्रमण गर्दा एउटा पहाड पूरै ढुंगा र माटो तथा अन्य खनिज पदार्थ निकालेर सम्म बनाइएको पहाड देखेको थिएँ । धेरै नेपालीहरु भ्रमण गर्ने बैंकक र पतायाको बीचमा पर्ने एउटा ठूलो क्षेत्रमा सयोँको संख्यामा क्रसर उद्योगहरु, माटोका लरीहरु चलिरहेको र एउटा पहाड पूरै काटेर त्यसको व्यवस्थापन गरेको देखिेको हुनुपर्छ । 

सन् २०११ मा चीनको साङ्सी प्रान्तको भ्रमण गर्दा त्यहाँको मुख्य शहर सियानभन्दा केही उत्तरपश्चिमको क्षेत्र सधैँ बादल लागेजस्तो देखिने र त्यहाँ सयौँ मात्र होइन हजारौँ, माबैल, सिमेन्ट, क्रसर आदि उद्योगहरु रहेको देखेको थिएँ । कैयोँ गाउँहरु त्यहाँबाट स्थानान्तरण गरिएको थियो र उद्योगका लागि छुट्याइएको थियो । त्यस्तै हालैका वर्षहरुमा तीव्रगतिको रेलसेवाको लागि आवश्यक पर्ने गिट्टी झिक्नका लागि साँघाइबाट बेइजिङ जाँदा बीचमा पर्ने ठूलो पहाडलार्य टुप्पादेखि काटेर रोपवे मार्फत रेल चल्ने ठाउँसम्म पुर्याउने र त्यसपछि रेलका डब्बाहरुमा हालेर अन्यत्र लैजाने गरी सयोँ किलोमिटर क्षेत्र निर्माणका लागि आवश्यक पर्ने ढुंगा, माटो, गिट्टी, मार्बल आदि उत्खनन् गर्न दिने गरेको कुरा हामीलाई बताइएको थियो । 

भारतकै पनि ठूला निर्माण कार्य हुने ठाउँका पहाडी क्षेत्रमा निर्माण सामग्री उत्खननका लागि आयोजना वा निर्माण कम्पनीलाई सरकारले तोकिदिने व्इवस्था मिलाउने गरिएको छ । हामीले न त निर्माण कम्पनीलाई त्यसरी तोकिदिने गरेका छोँ न उत्खनन् गरेर उपलब्ध गराएका छौँ अनि कसरी बनाउने हामीले ठूला आयोजनाहरु ? कहाँबाट ल्याउने खर्चिलो ढुवानी गरेर निर्माण सामग्रीहरु ? 

अब गर्ने के त ?

केही समयअघि काठमाडौँको चत्रपथ निर्माणका लागि तोकिएको मात्रामा निर्माण सामग्री नपाएर कामै रोक्नुपरेको उदाहरण हामीले सुनैकै हौँ । ललितपुरको एक ठाउँमा आयोजनाले माटोका लागि जग्गावालासँग सम्झौता गर्यो, स्थानीयले टिपर जानै दिएनन् । बाटो सुधार गर्ने र निर्माण कार्यको वातावरण बनाउने जिम्मा कसको ? बाटै रोकेपछि सामान ल्याउने कहाँबाट ? त्यो समस्यामा न सरकारले आयोजनालाई सहयोग गर्यो न स्थानीयले । आखिर त्यो माटो लगेर एउटा खोल्सामा फालेको र थुपारेको देखिन्छ अहिले । कसरी काम गर्ने अबका दिनमा ठूला आयोजना निर्माण गर्दा ? बलियो र स्थिर सरकाको अनुभव यस्तै कुराको व्यवस्थापन गरेर दिने, हो भाषणले मात्रै बन्दैन देश । देश विकास गर्न वातावरण बनाउन जोड दिनुपर्छ भाषण हामीले धेरै सुन्यौँ, वातावरणवादीहरुका डकार पनि धेरै सुनियो अब यिनलार्य धेरै चलखेल र हल्लामा लाग्ने अवसर दिनुहुँदैन । यसमा चाँडै सोचेर निर्वाध रुपमा र सुलभ रुपमा निर्माण सामग्रीको बढ्दो मागको व्यवस्थापन गर्न सरकारले काम गर्न ढिलो गर्नु हुँदैन । वनले रोकेको, सडकको क्षमता नपुगेको, साँघुरो बाटो भएर नदिएको जस्ता कुरा गरेर समय खेर फाल्नु हुँदैन अब । 


Thursday, November 30, 2017

‘प्रेमालय’को कक्षामा प्रेमका अनुभूति

‘प्रेमालय’। नामैले कुनै विद्यालयजस्तो, कलेजजस्तो, जहाँ पढ्ने र पढाउने काम हुन्छ । जहाँ केही सिक्ने र सिकाउने काम हुन्छ । आख्यान लेखनमा लागेकाले अर्को आख्यानकारको कृति सार्वजनिक हुने सुन्दा फेसबुके निम्तोकै भरमा म महेन्द्र पुलिस क्लबको हलमा पुगेँ । हलको पृष्ठभागमा घरजस्तो आकृतिमा लेखिएको थियो ‘प्रेमालय’ । पुस्तकको शीर्षक । केही नौजवान नारी–पुरुषको उपस्थिति थियो मञ्चमा जो अतिथी थिए पुस्तक सार्वजनिक गर्न बसेका । म पुग्दा पुस्तकको प्रतिकृया दिने पालो सकिनै लागेको थियो । त्यसैले पुस्तकको विषयबारे पढेकाहरुको प्रतिकृया जान्न पाइएन । केहीको सुनेँ ती पनि पुस्तकै नपढेकाले कनिकुथी केही बोल्दै थिए । 


सबैजसो पुस्तक लोकार्पण÷विमोचनको बिडम्बना नै भन्नुपर्छ, पुस्तकै नपढेकालाई अतिथी बनाएर पुस्तक सार्वजनिक हुन्छन् । यस्तालाई किन कृति विमोचनमा उभ्याउनुपरेको होला ! म मनमनै सोच्दै केहीबेर बसेँ र बाहिर निस्केँ, पुस्तक किनेँ र बाहिरिएँ । 

लेखकका रुपमा मैले आश्विनीजीलाई चिनेको चाहिँ उनले फेसबुक वालमा पोष्ट गरिरहने प्रेमका कथा, उद्धरण, नियम र केही टिप्पणीकै आधारमा हो । युवा लेखक भएकाले युवाहरुको लागि प्रिय विषय छान्ने उनको रहर मलाई मन पथ्र्यो । मैले ‘जुकेरबर्ग क्याफे’का केही कथा पढेको छु । कथा लेख्ने ढाँचा मलाई मन परेकै हो उनको ।

प्रेमालयका कक्षाहरुमा प्रेमको पढाइ

मैले तिहार बिदामा ‘प्रेमालय’ पसेर आश्विनीजीलाई गुरु मान्ने विचार गरेँ र पसेँ ‘प्रेमालय’भित्र । दुई दिन लाग्यो प्रेमालयको परिक्रमा गर्न र कक्षा सिध्याउन । सुरुमा केही अल्छी पनि लाग्यो । सम्झेँ, यो त गुराँस र सहजजस्ता किशोरहरुको लागि पो रहेछ । तैपनि गुरु मानिसकेपछि गुरुद्वारभित्र नपसी फर्कनु अनादर हुन्थ्यो । म धकेलिएँ कक्षाभित्र । के पढाउलान् त आश्विनीले यो पे्रमालयमा ? प्रश्न थियो मनमा उत्तर पाउन कक्षाभित्र बस्नै पर्ने भयो । म उत्तर खोज्न पसेँ प्रेमालयका कक्षाभित्र । 

के मैले बुझेको प्रेम र आश्विनीले बुझेको प्रेम फरक छ ? कसरी पढाउँदै छन् आश्विनी यो बिषय युवादेखि पाको उमेरका प्रौढहरुलाई ? गुराँसजस्ती कलिली केटीले के प्रेम पढाउली र ! गुराँस, प्रेमालयकी गाइड, जो सहजलाई लिएर प्रेम पढाउन प्रेमालय जाँदै थिई, मैले उसलाई मन नलागीनलागी पछ्याउन थालेँ । 

मैले झ्वाट्ट हेर्दा गुराँस एउटी कलिली केटी देखेको थिएँ । तर जबजब ऊसँग सङ्गत बढाउँदै गएँ, उसका व्यवहार हेर्दै गएँ, त्यो केटी मभन्दा परिपक्व लाग्दै गई, रहस्यमय लाग्न थाली त्यो केटी । ऊ प्रेमालयकी एउटी अभियन्ता बनिसकेकी रहिछे । बुझ्दै गएँ । उसको आनिबानी, व्यवहार, अरुलाई सम्झाउने र सिकाउने तरिका, प्रेमालयको आचारसंहिताको परिपालना, जीवन र विवाह सबै कुरामा मैले बुझेभन्दा भिन्न पाउँदै गएँ उसको विचार र व्यवहार । केटीले मलाई मोहनी लगाई । शायद आश्विनी यही कलिली केटीको सुन्दरता, व्यवहार र उर्जाका माध्यमबाट प्रेमधारा पिलाउन चाहन्थे प्रेमालयका कक्षाभित्र राखेर । गुराँसको सुन्दरता र परिपक्वताले मलाई तान्दै लग्यो प्रेमालय परिसरभित्र । 

गुराँसको गाइड र सहजको भावनाबीच खेल्दाखेल्दै म प्रेमालयको कक्षाभित्र छिर्छु जहाँ तीन जना गुरुहरु कहिले विद्यार्थी त कहिले गुरु बनेर २३ जना विद्यार्थीहरुलाई प्रेम पढाउन सुरु गर्छन् । प्रेमालयको वातावरण कुनै आध्यात्मिक केन्द्रको झैँ लाग्छ वर्णन हेर्दा, कुनै ध्यान केन्द्रजस्तो पनि देखिन्छ अनुभूत गर्दा । आचार्यको रुपमा पूवीय दर्शन र शास्त्र बुझेका दीपक वत्स र ऋषभ छन् भने पश्चिमको दर्शन र विज्ञान बुझेका राना सर छन् । मजस्ता चाहिँ विद्यार्थी । कोही विद्यार्थी विछोडको पीडाबोकेर त्यहँ प्रेम पढ्न पुगेका छन् त कोही विवाह गरेर पश्चाताप गर्दै नयाँ ढङ्गले जीवन बुझ्न त्यहाँ पुगेका छन् । कोही भने गुराँसजस्ता छन् जो प्रेम गर्दै, सिकाउँदै, पे्रमालयको अभियानलाई फैलाउँदै छन् ।  

पहिलो कक्षा सुरु भयो रामायणमा संकेत गरिएको तर उल्लेख नगरिएको एउटा अपरिचित कथाबाट । रामायण, पूर्वीय संसारमा सर्वाधिक आदरका साथ पढिने राम र सीताको गाथा, जसले मानिसलाई प्रेम, भ्रातृत्व, पितृश्रद्धा, सतीत्वजस्ता सद्गुण सिकाउँदै आएको छ शदीयौँदेखि । त्यसलाई उल्टाउँदै दीपक वत्स सुरु गर्छन् रावण र सीताको प्रेम कथा पढाउन । प्रेम बुझ्न हाम्रो बनिबनाऊ धारणा उल्ट्याउनुपर्छ भन्छन् उनी । 

सीता र रामको कथा सुन्दै आएको म रावण र सीताको कथा सुन्नासाथ आश्चर्यचकित हुन्छु । मेरो बुझाइको सीमितताबोधले म चाउरिँदै जान्छु । कति महान् केटी रहिछे यो गुराँस ! कसरी बुझी यसले यति गहिरो कुरा ! कहाँ मैले बुझेको रामायण कहाँ सीता र रावणको प्रेम कथा ! मलाई प्रेमको अर्को पाटो देखाइ दियो प्रेमालयको पहिलो कक्षाले– रावण र सीताको कथाले ।

रावणले सीतालाई हरण गरेर लङ्का लगेपछि किन सीताको शरीर स्पर्श पनि नगरी बस्न सक्यो ? किन हरण गरयो केही नचाहेको भए ? बाल्यकालदेखि पढ्दै आएको तर गुत्थी फेला पार्न नसकेको त्यो कथालाई एकैछिनमा छर्लङ्ग पारिदिए वत्सले । रावणको सीताप्रतिको प्रेमको अगाडि राम तुच्छ ठहरिए । मेरो मनमा प्रश्न मडारिन थाल्यो, रावण महान् कि राम ? प्रश्नका साथै आँखा डबडबाए अरु विद्यार्थीसँगै मेरा पनि । कति महान् रहेछ रावण ! कति उच्च प्रेम ! आफूले प्रेम गरेकी एउटी अवला नारीलाई स्पर्शसम्म नगरी बस्न सक्ने कत्रो आत्मसंयम रावणको ? प्रेमको पहिलो पाठ थियो त्यो । शरीरप्रतिको आसक्तिभन्दा माथि उठेको रावणको प्रेमकथाले पहिलो झट्का दियो मलाई ।   भावनात्मक प्रेमको उचाइमा पुगेको रावणको प्रेमलाई कसरी बुझ्ने ? मन्थन गर्न स्वयम्लाई नै छाडिदिए शिक्षकले । 

रावणको कथाले हाम्रो बुझाइको सीमितता प्रस्ट्याउँदै गयो । कहाँ रावण कहाँ राम तुलना नै गर्न नसकिने । तर के यो स्वीकार्य हुन्छ र ! शदीयौँदेखि रामलाई आदर्श पुरुष मान्दै आएको समाजमा रावण सही हो भनेर मान्न को तयार होला र ! म मथिङ्ल घुमाउँदै छात्रावासतिर पसेँ प्रेममय रावणसँगै । 

दोस्रो कक्षामा प्रेमको परिभाषा आफैँले खोज्नुपर्ने थियो । सबैका आआफ्ना थिए परिभाषा । हामीले बुझेको प्रेम के साँच्चिकै प्रेम नै हो त ? कि एउटा शरीरको अर्को शरीरप्रतिको आकर्षण ? जिज्ञासा जाग्दै गए तर उत्तर कठिन हुँदै गयो । प्रेम के हो ? आकर्षण, माया र शारीरिक समर्पण नै प्रेम हो ? विपरित लिङ्गका व्यक्तिहरु सँगै बस्न समाजको स्वीकृति नै प्रेम हो ? के हो ? मन्थनबाटै बुझ्नुपर्ने र सिक्नुपर्ने कक्षा थियो दोस्रो कक्षा । प्रेम र विवाहका बारेमा हाम्रा बुझाइ उल्टाइदिन उद्यत थिए स्वनामधन्य प्रेम गुरुहरु । 

एउटा जँड्याहा पतिलाई सधैँ किन प्रेम गरिहन्छे एउटी महिला ? संसार हारेर रक्सी पिएर मात्ने पतिलाई सबैकुरा बुझेर पनि किन प्रेम गरिहन्छे उसकी पत्नी ? पेचिलो प्रश्न गर्दै प्रेम बुझे संसार बुझिनेतर्फ संकेत गर्छन् लेखक यहाँ आइपुग्दा । 

‘गतिशील प्रेमले नै संसार चलेको’ देखाउँछ प्रेमालयले केही अगाडि बढेपछि । ‘परिवर्तनको गति र प्रेमको गतिमा सामञ्जस्य नहुँदा कुनै समयको प्रेम पनि विष बनिदिन्छ’ भन्दै संसारको गतिशीलता भन्नु नै प्रेम हो भन्ने दर्शन अघि सार्छन् अर्को कक्षाका प्रेम गुरु राना सर । उनी पश्चिमी संसार बुझेका गुरु हुन् । प्रश्नोत्तर विधिबाट चलेको यो कक्षामा प्रेमसम्बन्धी हाम्रो बुझाइको चिरफार हुन्छ । प्रेम यौन हो, एउटाले भन्छ । प्रेम आकर्षण हो, अर्कोले थप्छ । प्रेम आफैँमा हाराउनु हो, अर्को भन्छ । यसैगरी कक्षा अघि बढ्छ । प्रेम केमिकल रियाक्सनको मेल हो, विज्ञानको एउटा विद्यार्थी जुरुक्क उठेर प्रतिवाद गर्छ । म हेरेको हेर्यै हुन्छु सबैका कुरा सुनेर । 

अन्तमा राना सरले प्रेमका तीन नियम बताउँछन्– अब्जरभेसन, जजमेन्ट र इन्भल्भमेन्ट । गम्भीर दर्शन र प्रेमका नियम सरल भाषा र उदाहरणबाट सम्झाए राना सरले । सबै सहभागीहरुले आफ्नो जीवनलाई पल्टाएर हेरे यहाँ पुगेपछि । प्रेम गरेका धेरैको अनुभव गाँसेर हेर्न र तौलन एउटा स्वर्णिम मौका दिए राना सरले सबैलाई ।
गुराँसले यो कुरा गहिरोसँग बुझेकी थिई । सहजलाई गाइड गर्ने त्यो युवती उसलाई प्रेम गर्छे कि पढाउँछे म अन्योलमा परेँ उसको बुझाइ र सहजप्रतिको व्यवहार देखेर । 

हाम्रो अनुभव, बुझाइ र ज्ञानको आधार कस्तो छ त्यसको ऐना देखाउने कक्षा थियो– तेस्रो कक्षा । संसारका ठूला विद्रोह, शान्ति र परिवर्तनका महान् घटनाहरुमा प्रेमले कसरी काम गरिहेको थियो ? इतिहासमा प्रेमको कारण नै ठूला युद्ध भए, परिवर्तनमा पनि प्रेमकै भूमिका रह्यो भन्दै विवाहले हामीलाई कसरी प्रेमबाट वञ्चित गरेको छ भन्ने पढाइयो । विवाहले प्रेमलाई कुरुप बनाइदिएको निष्कर्ष पढाउन अनेक कथा र घटना जोडियो यस कक्षामा । दर्शन पढ्दै छौँ कि गुराँस र सहजको प्रेम ? म हराएँ । हाम्रो विवाह पद्धतीका कुरुप पक्ष खोतलेर छरपस्ट पारियो कक्षामा । यौनबाट प्रेम सुरु गर्ने कि प्रेमबाट यौन ? प्रश्नैप्रश्न उठाए गुरुले । विवाहअघिको यौन–आनन्द के घटिया नै हो त ? हो भने यौनको आनन्द लिने बेला चाहिँ कहिले हो ? विवाहपछिको बन्धनमा मानिसले उन्मुक्त यौनको आनन्द लिन सक्छ ? सक्तैन र यो सृष्टिको अभिन्न तत्व हो भने किन सामाजिक रुपमा वर्जित र अपहेलित गरियो ? यस्ता अनेक प्रश्न उठाएर उत्तर आफैँ खोज्न लगाए गुरुहरुले । मैले पनि पछाडि फर्केर अनेक पटक घोत्लिएँ उत्तर खोज्न । 

के विवाह गरेकै मानिससँग प्रेम हुनुपर्छ र ? सामाजिक दायित्व हो भने यसले मानिसलाई सधैँ सन्तुष्टि नै दिन्छ भन्ने के ग्यारेन्टी छ र ? आनन्द र सन्तुष्टि नभएको सम्बन्धमा जीवन विताउँदा कसरी प्रेम गर्न सकिन्छ एकअर्कालाई ? विवाह एउटासँग र प्रेम अर्कोसँग हुन सम्भव छ कि छैन ? प्रश्नैप्रश्न उठे मेरो मनमा यो कक्षा सकेपछि । गुराँसले ऋषभ सरलाई पछ्याएको देख्ता मलाई कताकता शंका लाग्न थाल्यो । कतै यी दुईबीच लसपस त छैन ? छ भने गुरु र शिष्याबीच यस्तो घृणित सम्बन्ध ? मलाई मेरा धारणाले झाँगलझुँगल पारिरहे । खुलदुली भइरह्यो भित्रभित्रै ।
सहजको भावुक प्रेमको अभिव्यक्ति अनि गुराँसको निश्छल र स्थिर भावनाले मलाई चिमोटिरह्यो । सहज आसक्त छ गुराँसलाई पाउन तर गुराँस निरपेक्ष छे सहजप्रति । न उसलाई समाउँदा प्रतिवाद गर्छे न कुनै कुरा गर्दा सही थाप्छे । म उसको व्यवहारले अझै रहस्यमा पर्छु र घरिघरि चोर आँखाले सहज र गुराँसका कृयाकलापप्रति जिज्ञासु भइरहन्छु । ऊ सहजको किस पनि सहन्छे, अँगालोमा कस्सिन्छे, एउटै ओछ्यानमा सुतिदिन्छे तर फेरि भन्छे सहजलाई, ‘यो तिम्रो रोमान्स हो सहज, प्रेम होइन । यो प्रेम तिमीले आफूललाई गरेको कि मलाई ?’ प्रश्न गर्छे सहजलाई । सहज शायद कलिलो छ यसमा ।

कुनै पनि पदार्थ दुई विपरित स्वभावका अणुहरुको गतिशीलताले निर्मित हुन्छ । तिनलाई बन्डले जोड्छ । पदार्थलाई गतिमान् बनाउने यी बन्ड मानवजीवनमा प्रेमको रुपमा गतिशील छ भन्ने बुझाउन कथालयका व्याख्यानले मलाई ठूलो शिक्षा प्रदान गरे । उच्चस्तरको बौद्धिक प्रवचन भए पनि जीवनका व्यावहारिक पाटोबाट व्याख्या गर्ने गुरु भएकाले सरल रुपमा बुझिन्थ्यो । घरी–घरी जीब्रो टोक्ने तथ्य र तर्कहरु प्रस्तुत हुन्थे । त्यहाँ न कसैले कुनै कुरा गर्नु पाप ठान्थ्यो न कुनै बन्धनमा बस्न सिकाइन्थ्यो । सेक्स, कथा, प्रेम अनि बोध सबै स्वच्छन्द, सबै स्वतन्त्र । शरीर नबुझी, भावना बुझिन्न, भावना नबुझी बोध हुन्न । यही अवधारणामा प्रेमालयका कक्षाहरु अघि बढिरहे म विद्यार्थी बनेर ती सबै कक्षाहरुमा सामेल भइरहेँ । 

अनुभव, अनुसन्धान, बोध र प्रयोग । यस्तैयस्तै गरी कक्षा अघि बढिरह्यो । टोली–टोली बनाएर आफ्नै माटोमा प्रेम कथा खोज्ने होमवर्क साँच्चिकै अविस्मरणीय थियो प्रेमालयको । अरुका कथा सुनिन्छ, पढिन्छ तर आफ्नो कथा कहाँ पढ्ने ? कहाँ सुनाउने ? त्यो ठाउँ प्रेमालयले दिएको थियो कथालय खडा गरेर । 

वासन्ती र गजमेरको कथा प्रेमको अर्को अद्भूत पाटो पढाउने कथा थियो । त्यो कथा थियो कि कल्पना थियो ? कि अपवाद थियो ? अहिले सम्झँदा लाग्छ, त्यो कथा हामीले बुझेको प्रेमको बुझाइ बदल्ने कथा थियो । अझ भन्ने हो भने परिकल्पित सम्भावनाको कथा थियो । गजमेरसँग बस्ने, सहवासको स्वीकृति पनि दिने तर प्रेम भने अमेरिका बसेको केटालाई गर्ने त्यो वासन्ती कस्तो पात्र हो ? अहिले पनि मेरो मनमा घुम्दै छे । ऊ गजमेरलाई प्रेमको निशानी दिन गर्भधारण पनि गर्छे तर त्यो गर्भको बच्चा देख्न नपाउँदै अमेरिकी प्रेमीसँग पुगिसक्छे र उहीँ बच्चा जन्माउँछे । 

उसको प्रेमी पनि अचम्मको छ ती सबै कुरा स्वीकार गर्छ र वासन्तीलाई प्रेम गरिहन्छ । के यो सम्भव छ आजको समाजमा ? हाम्रो समाजले यसलाई सहन गर्न सक्छ ? के उनीहरु यही समाजका मानिस होइनन् ? कि कल्पना मात्र हो ? युटोपिया त होइन गजमेर र वासन्तीको ? मेरो मनले पटक्कै स्वीकार गर्दैन तर त्यही पढाइन्छ प्रेमालयमा । शरीरको स्वामीत्व नखोज्नु, इच्छामाथि अङ्कुश नलगाउनु अनि प्रेमीलाई उसको मर्जी अनुरुप कार्य गर्ने स्वतन्त्रता दिनु । प्रेमलाई यसरी नै परिभाषित गर्न चाहन्थे वत्स, ऋषभ र राना सरहरु प्रेमालयभित्रका कक्षाहरुमा । 

‘जब मानिसले प्रेमको प्रमाण माग्न थाल्छ, त्यो प्रेम त्यसै बेलादेखि मर्नथाल्छ ।’ मलाई सबैभन्दा बढी झस्काएको थियो वाक्यले । विवाहका बारेमा गरिएका छलफलभन्दा बढी मलाई यसले किन झस्कायो होला  ? कैयौँ दिन मैले प्रेमालयका कक्षाभित्र आफूलाई घोत्ल्याइरहेँ यस बारेमा निक्र्योल निकाल्न । अनि, निष्कर्ष बनाएँ दुवैको मन्जुरी नभएको शारीरिक सम्बन्धको चाहनाले आखिर कहाँ प्रेम पलाउन दिन्छ र ? प्रेमपछिको शारीरिक समर्पणले प्रेमको आँकुरालाई अझ पुष्ट गरेर झ्याङ बनाइदिन्छ । यही त सिकाउँदै थिई वासन्तीले गजमेरलाई । 

कथालयको एउटा रोचक क्षण मेरो सम्झनामा आजसम्म तरोताजा छ । तीन जोडीले खोजेका तीन प्रेम कथाले प्रेम बाहिरी तत्व, रुप, श्रृङ्गार, जवानीभन्दा पर भावनासँग गाँसिएको हुन्छ भन्ने देखाउन ती कथाहरु सुनाइएका थिए । ती कथाहरु हाम्रो आफ्नै अध्ययनबाट छनोट गरिएका थिए ।

यसरी नै रमाइलोसँग बिते मेरा धेरै दिनहरु । जब म प्रेमालयका अन्तिमतिरका कक्षामा सामेल भएँ तब मलाई अलि नमीठो अनुभूति भयो । प्रेमालयका कक्षाहरु अनायास फिल्मी स्टाइलमा कुद्न थाले । घटनाहरु अलि अनियोजित र बेग्लै धारमा प्रवाहित हुन थाले । जब सहज उठेर गुराँसको कोठामा राति नै पुग्यो र खोज्दै भौतारिन थाल्यो, मैले सोचेँ, यो अनिष्टको सङ्केत हो । कसलाई भन्ने आश्विनीजीलाई वा गुरु दीपक वत्स र ऋषभलाई वा सँगै बसेकी गुराँसलाई ? मलाई छटपटी भयो । 

गुराँसले ऋषभसँग गरेका पुराना पत्राचारको ईकपी सहजलाई पठाइदिई इमेल मार्फत् । प्रेमको भीख माग्दै दान पाउने आशामा गुराँस खोज्दै हिँडेको सहजले जब ऋषभका ती पत्रहरु पढ्न थाल्यो, त्यतिबेला मलाई लाग्यो सहज यो अवस्थामा नपुगी हतारो गरिन् गुराँसले । यसले अनिष्ट निम्त्याउन सक्छ । मनमनै आश्विनीजीलाई गाली गरेँ, हरे यस्तो कच्चा खेल किन खेल्यौँ लेखक ! कि गुराँस रहन्न कि ऋषभ सर रहँदैनन् । म दुवै बाँचेको र संसारलाई प्रेम पढाएर दीक्षित बनाएको हेर्न चाहन्थेँ । तर बिडम्बना ! मेरो इच्छाले थामिएन, ऋषभसँगै सहज पनि मर्यो । कथा हिन्दी फिल्मको फर्मूलातिर बढेकामा दुःखित भएँ म । 

नभन्दै इमेल पढिसकेपछि सहजलाई लाग्यो ऊ अब गुराँसलाई पाउने अवस्थामा छैन । गुराँस ऋषभकी भइसकेकी छे । परम्परागत सोचाइ नढल्दै सहजलाई त्यति गहिरा प्रेमपत्रहरु गुराँसले सुम्पनै नहुने ! मैले मुर्मरिएर गुराँसको कच्चापनलाई गाली गरिरहेँ । म प्रतिकार गर्न खोज्दै थिएँ, सहजले ऋषभ सरलाई खुकुरी प्रहार गरी मरणासन्न बनाइदियो । गुराँसले आफूलाई गाइडमा मात्रै नराखी उसकी गुरु बन्ने जुन कच्चा प्रयास गरी त्यसले त्यो दुर्घटना निम्त्याएको थियो ।

त्यस दिनदेखि मलाई त्यो गुराँस भन्ने केटी पनि अपरिपक्व लागी । त्यहाँका सरहरु पनि लहडी लागे । त्यति रमाइलो भइरहेको प्रेमालय एकाएक सानो कमजोरीले भताभुङ्ग भयो । म निराश भएर घर फर्कें । 

संसारमा नयाँ प्रयोग गर्ने भनेर मात्रै हुँदैन, त्यस अनुसारको तयारी, सतर्कता, टिम र व्यवस्थापन पनि चाहिन्छ । शायद यही कमजोरी भएको थियो प्रेमालयभित्र । उद्देश्य राम्रो थियो, मानिसहरु समर्पित थिए। तर को गुरु बन्ने अनि को गाइड र प्रशिक्षार्थी बन्ने कुरा छुट्याएर उनीहरुको चेतना अनुसारको काम लाउन नसक्ता नै त्यति ठूलो दुर्घटना भएको थियो । यो दुर्घटना रचनाकारको थियो, व्यवस्थापकको थियो वा विद्यार्थीको त्यो खोजी हुँदै जाला तर म यति भन्छु, कमजोरी नभई कुनै पनि दुर्घटना हुँदैनन् संसारमा । आश्विनीजीको उपन्यासबाट मैले सिकेका कुरा हुन् यी र पाठकीय प्रतिकृया पनि । 

कथा, चरित्र र बुनोट

उपान्यासको विषय गम्भीर छ । मूल पात्रहरु युवा समूहबाट चयन गरिएको छ । मूल पात्रको रुपमा गुराँस र सहज छन् । उनीहरुसँगै झिनो कथावस्तु अघि बढ्छ । दुवै कलेजका सहपाठी हुन् । सहज गुराँसलाई एकतर्फी प्रेम गर्छ । गुराँस उसलाई प्रेम गर्छे वा गर्दिन त्यो खुलेको छैन । तर, हाम्रो समाजले भन्ने गरेको प्रेम भने दुवैमा देखिन्छ । लेखकले देखाउन खोजेको प्रेम भने दुवैतर्फ देखिन्न । आसक्तिमा वहकिएको छ सहज । गुराँस अनिर्णयमा छे । निद्र्वन्द्व भइसकेकी छैन । 

गुराँस सहजलाई प्रेमको वास्तविकता पढाउन प्रेमालय लिएर जान्छे, किनकि ऊ त्यस संस्थाकी एक अभियन्ता हो । सहज प्रेमालय पुग्छ, त्यहाँ हुने हरेक क्रियाकलापमा सहभागी हुन्छ । तर उसको ध्यान प्रेमका सिद्धान्तमा भन्दा गुराँसलाई पाउनमा छ । गुराँस सहजका सबै इच्छा पूरा गर्दै जान्छे, कतिसम् मभने सहजको यौन चाहनामा पनि नाइनास्ती गर्दिन । तर गुराँसको एउटै उद्देश्य छ, प्रेमको सिद्धान्त र प्रयोग दुवैमा खरो उत्रने । 

ऊ सहजलाई आफूले प्रेम गरेनगरेको कुरा शब्दमा व्यक्त गर्न चाहन्न । परिवेश तयार पारेर आफैँ बुझोस् भन्ने चाहन्छे । तर सहजमा त्यो धैर्य छैन । गुराँसको मुखबाट म तिमीलाई प्रेम गर्छु भन्ने वाक्य सुन्न लालायित छ । गुराँस भने प्रेमको गहिरो दर्शनमा डुबिसकेकी छे । ऊ प्रेम के हो भन्ने बुझिसकेकीले भन्दैमा प्रेम हुँदैन भन्ने ठान्छे । धेरै दिन यसरी नै बितेपछि सहजको धैर्य टुट्छ । 

एक दिन गुराँसले सहजसँग आफू ऋषभ सरलाई १० वर्षदेखि प्रेम गर्न थालेको र उनको प्रेममा परेको कुरा गर्छे । तैपनि केही मात्रामा प्रेमको गहिराइ थाहा भइसकेकोले सहज ठान्छ, शरीर समर्पण, सँगै बस्ने कुराले मात्रै प्रेम हुँदैन भन्ने ठान्छ र आशा गरिहन्छ गुराँसलाई आफ्नी बनाउन । तर जब गुराँसले एक दिन ऋषभसँगका प्रेमपत्रहरु सहजलाई पढ्न दिन्छे र त्यसैबाट आफू र ऋषभलाई बुझ्न भन्छे, सहजको धैर्य गुम्छ । ऊ सिरानीमा रहेको खुकुरी लिएर ऋषभको कोठामा प्रवेश गर्छ र उसलार्य घाइते बनाउँछ । ऋषभलाई घाइले बनाइसकेपछि आफूलाई पनि प्रहार गर्छ । सहजलाई प्रेम पढाउने गुराँसको धोको पूरा हुँदैन । वियोगान्त अवस्थामा उपन्यास टुङ्गिन्छ । 

उपन्यास पढ्दा सुरुमा किशोर उमेरका युवाको कथा हो कि झैँ भान पर्छ तर जब केही अघि बढिन्छ, कथा गम्भीर दार्शनिक तथ्य र विवेचनामा प्रवेश गर्छ । हामीले बुझेको प्रेमको अवधारणा र वास्तविक प्रेमको पर्दा खोतल्दै उपन्यास गम्भीर दार्शनिक पक्षमा केन्द्रित हुन थाल्छ । मूल कथा छोडेर संसारको सृष्टि प्रकृयासँग प्रेमलाई जोड्दै दार्शनिक व्याख्यातिर मोडिन्छ । विज्ञानका तथ्यबाट संसार प्रेममा अडेको पुस्टि गर्दै अघि बढ्छ । 

प्रेमको अनुसन्धान र खोजपरक तथ्यहरुले उपन्यासलाई बौद्धिक वहस र वैचारिक गहिराइतिर लैजान्छ । प्रेमको नयाँ पक्ष, नयाँ व्याख्या, नयाँ दर्शन दिन लागेझैँ लाग्छ उपन्यासकारले । तर, जब उपन्यासको अन्ततिर पुग्दा गुराँसले सहजलाई ऋषभको प्रेमबारे रहस्योद्घाटन गर्छे, उपन्यासले गहिराइ गुमाउँने हो कि भन्ने लाग्छ । चरित्रको परिपक्वताबिना उसलाई प्रेम दर्शनको भारी बोकाइन्छ, जो उसले थाम्ने सामथ्र्य राख्तैन । दुर्घटनाको आशंका बढाउँछ । 

स्वामीत्वभावको भावनामा बहकिँदै गरेको एउटा भावुक र रोमान्टिक युवकलाई ईष्र्याको ज्वाला जगाउने मसला दिनु भनेको दुर्घटना निम्त्याउनु हो भन्ने लाग्न थाल्छ । उपन्यास अब उपन्यास होइन, सिनेमा र नाटक झैँ लाग्न थाल्छ । एकाएक उपन्यासको गरिमा घट्नेगरी कथावस्तु अघि बढेको देख्ता लेखकप्रति रिस पनि उठ्छ । यति गम्भीर विषयको उठान गरेर अन्त्यचाहिँ के नाटकीय र सिनेमाजस्तो बनाएको होला भन्ने लागिरहन्छ । मैले ‘मलाया एक्सप्रेस’ पढ्दा पनि यस्तै अनुभव गरेको थिएँ । कतै पत्रकार व्यक्तित्वले त काम गरेको होइन भन्ने पनि लाग्यो ।  

उपन्यासको समग्र संरचना सहजको मानसिक परिवर्तनका लागि तयार पारिँदै गरेको अनुभव हुन्छ पढ्दै जाँदा । ऊ प्रशिक्षित पनि बनिरहेको छ । तर असमयमै कथालाई टुंग्याउने उपन्यासकारको उद्देश्यले उपन्यास वियोगान्त बन्छ र जुन उद्देश्य र संरचनामा उपन्यास लेखिएको हो त्यसमा चाहिँ न्याय हुन सकेन कि भन्ने लागिरहन्छ ।
ऋषभको इमेल पढाउनुअघि उसको कथा र बुझाइको पाटो कथालयको व्याख्यामा राखेर उसको बोध परिपक्व भएको देखाएर अनि गुराँसले आफू कसरी बहुव्यक्तिसँग प्रेम गर्न समर्थ भएँ भन्ने देखाउन ऋषभको इमेल वा केही सम्वादहरु प्रयोग गरेको भए यो उपन्यास प्रेमसम्बन्धी दर्शनलाई आख्यानीकरण गर्ने मास्टरपिस बन्नसक्थ्यो भन्ने लागिरहन्छ उपन्यास पढिसक्ता । 

टुङ्ग्याउनी उपन्यासकार स्वयम्ले नै यस्तो बनाउनुभएको हो वा प्रकाशकले मसलेदार बनाउन सम्पादनका क्रममा यसो हुन गएको हो त्यो कुरा मजस्ता पठकले अनुमान गर्न सक्छौँ, किटान गर्न सक्तैनौँ तर यति भन्न सकिन्छ जसबाट भए पनि यसले लेखकीय व्यक्तित्वमाथि प्रहार गरेको छ । सुन्दरतामा कमी ल्याएको छ ।
पुष्कर शाहको ‘संसारलाई साढे पाँच फन्को’ पढ्दा पनि मलाई कतिपय उपशीर्षक र त्यसभित्रका घटना वर्णनको असंगति अनुभव भएको थियो । कुराकानीको सन्दर्भमा उनले मेरो यो प्रतिकृया सहज रुपमा स्वीकर्दै भनेका थिए, ‘मलाई पनि यो चित्त बुझेको छैन, सम्पादन गर्दाका त्रुटीलाई मैले नस्वीकारी धर छैन । तर ममाथि अलि अन्याय चाहिँ भएको छ ।’ 

लेखकले लेखेको कुरालाई बिकाउ बनाउन त्यसो गरिएको हो भने अन्याय हुन्छ स्रष्टालाई । आगामी संस्करणमा यसलाई थोरै परिमार्जन गरेर अन्त चाहिँ सुधार गर्न सके आश्विनीजीमा प्रेमको जुन दार्शनिक र बौद्धिक गहिराइ देखिन्छ त्यो अझ निखारिएर आउँथ्यो र पाठकले पनि त्यही सुगन्ध अनुभव गर्न पाउने थिए । मेरोतर्फबाट आश्विनीजीलाई यही तीतो प्रतिकृया । 

अन्तमा, प्रेम गर्न सक्नु र प्रेम गर्न पाउनु दुवै कुरा ईश्वरसँग नजिक बस्न पाउनुजत्तिकै स्वर्णिम अवसर हो । जसले प्रेम गरे तर प्रेम बुझेनन् अनि जसले पे्रम बुझे तर गर्न पाएनन् दुवैलाई यस कृतिले भिन्नै आनन्द प्रदान गर्नेछ । भविष्यमा पनि यस्तै गहन कृति लेखिरहनुहोस् र हामीजस्ता पाठकले त्यसको स्वाद लिन पाइरहौँ । मेरो यही शुभकामना आश्विनीजीलाई ! अस्तु ।
 
 




Wednesday, November 29, 2017

उम्मेदवारका गलाबाट फूलहरुको चित्कार

अहिले चुनावको मौसम छ । भोट माग्ने र भोट दिने क्रम चलिरहेको छ, गाउँ, शहर, घर, चोक, बजार सबैतिर । कतिपय उम्मेदवारहरु भोट पाउनेमा ढुक्क छन् त कोही भोट पाउनभन्दा मुख देखाउन पाएकोमा मक्ख छन् । यसपालीको चुनाव अलि अनौठो छ । केही नयाँ र साना पार्टीबाहेक सबैजसो ठूला पार्टीका उम्मेदवारहरु बिहानैदेखि गलाभरि माला भिरेर जनताको घरदैलो धाइरहेका छन् । सभा गर्दा मानिस जम्मा गर्न धौधौ भएपछि यो जुक्ति निकालेर लाज ढाक्तै छन् राजनीतिक मनुवाहरु । 

मलाई पनि थोरबहुत चुनाव त लागेकै छ । म पनि यही धरतीको मनुवा न परेँ । हाम्रो जस्तो असीम राजनीतिक चेतले भरिएको राष्ट्रमा राजनीतिक निरपेक्ष मनुवा पाउनु आइसल्याण्डमा सर्प पाउनु जस्तै हो । सके त स्वर्गधाम पुगिसकेका मृतक पितृहरुलाई पनि चुनावका बेला हाम्रा राजनीतिक मनुवाहरुले पार्टी प्रवेश गराउँथे होला तर त्यस्तो प्रविधि आविष्कार गर्न भ्याएका छैनन् वैज्ञानिक मनुवाहरुले । मेरो विश्वास छ, भविष्यमा यो पृथ्वीमा त्यो दृश्य पनि सम्भव हुनेछ । किनभने यो राजनीतिक आवश्यकता हो मेरो देशको । 

यसपालीको राजनीतिक उम्मेदवारी फूलमय छ । उत्सवमय छ । जतततै फूल मालाले ढाकिएका सुन्दर उम्मेदवारहरु देखिन्छन् । यो स्वाभाविक पनि छ किनभने यसपाली दुवैतिर कडा गठबन्धन छ चुनावभरिको लागि जनतामा भ्रम छर्ने । दुवै गठबन्धनमा जित्ने दावी दमदार छ । त्यसको रिहर्सलका लागि माला पहिरिनु अनिवार्य छ । जाबो फूलको के कुरा यत्रो ठूलो मौसम जो आएको छ । सकेसम्म गलामा अटाउन्जेल माला नपहिरिएर किन मौका चुकाउनु ? विजयको ठेगान लाग्नुअघि नै उम्मेदवारहरु विजयको दाबी प्रस्तुत गर्न चाहन्छन् गलाभरि माला भिरेर । ती माला जसरी आएपनि हुन्छ । स्वागत र सम्मानकै माला किन चाहियो र ! कार्याकर्ताको एउटा ससानो झुण्ड त छँदै छ गणेश परिक्रमा गर्ने । उनीहरुलाई नै मालाको ठेक्का पनि लगाइदिएका छन् उम्मेदवारहरुले । आखिर राजनीति पनि ठेक्कामै चलेको छ भने जाबो मालाको ठेक्का दिन किन बाह्रसत्ताइस ! 

बिहानै ठेक्कावाला कार्यकर्ता मालासहित हाजिर हुन्छन् र उम्मेदवारका गला मालाले ढाकिदिन्छन् । माला पहिरेको मनुवा गजक्क पर्छ विजयको रिहर्सलमा । उम्मेदवारको गलामा माला पहिर्याउनु र पछि लाग्नु गणेशरुपि कार्यकर्ताहरुको सामान्य दिनचर्या छ । माला पहिर्याएरपछि त्यसै छाड्नु भएन । अघिपघि नलागे त भोलि फेरि ठेक्का नपाइएला भन्ने डर छँदै छ । त्यसैले विजयपछि पहिरिने माला अघि नै पहिरिएर जनसमक्ष देखापर्ने नयाँ शैली अपनाए यसपालीका उम्मेदवारहरुले । 
 
मेरो नासमझ चेतले भन्छ, यो अभ्यास साह्रै अब्बल अभ्यास हो हाम्रो समाजका लागि । हाम्रा राजनीतिक पण्डितहरु दूरदर्शी छन् । भोलि के ठेगान यो अवसर पाइएला नपाइएला, अहिले त सबै माननीय । आखिर चुनाव जो लड्दै छन् उनीहरु । किन पहिल्यै रिहर्सल गरे तम्तयार नहुनु ! यो अब्बल काममा मेरो कुनै गुनासो छैन । तर विचरा फूलहरु ! यिनको भने साह्रै कन्तबिजोक देखियो यसपाली । जसका गलामा पनि सुन्दरता सजाउन प्रयोग हुनुपर्ने के जुनि पाएका होलान् यी फूलले ! म सोच्तासोच्तै झपक्क निद्रालोकमा विचरण गर्न पुग्छु । त्यहाँको दृश्य निकै फरक छ मेरो विपनालोक भन्दा ।  

सबै उम्मेदवारका गलामा सजिएका फूलहरु मेरो निद्रालोकमा ईश्वरसँग सिकायत गर्न पुगेका छन् । म त्यहाँ साक्षी छु । उनीहरु ईश्वरको सामु अनुशासित रुपमा खडा भएर हात जोड्दै आफ्नो गुनासो पोख्तै छन् । ईश्वर भने आफ्नो सृष्टिको गुनासो गम्भीर भावमा सुनिरहेका छन्, टाउको हल्लाउँदै, ज्ञानेन्द्र शाहले देशदौडाहाका बेला जनताको जयजयकार सुनेर मुन्टो हल्लाएझैँ । फूल आजभोलि मेरो स्वप्न सहचरी बनेका छन् । उनीहरु मलाई सपनामा पनि गुनासो गर्न आउँछन् । उनीहरु मेरै अगाडि ईश्वरसँग पुकार गर्दै भन्छन््– ‘हामी फूल, तपाईंको सृष्टिको सुन्दर रचना । पृथ्वीको सुन्दरताको ओज । हामीलाई देख्ता मात्रै पनि मनमनै खुशी हुन्छन् सामान्य मानिसहरु । निःस्वार्थ हाँसिदिनु, सधैँ मुस्कुराइरहनु, कसैलाई भेदभाव नगर्नु र सृष्टिलाई सुन्दर बनाउन योगदान गर्नु नै हाम्रो एक मात्र धर्म हो । त्यसैले फूल्नुमा नै आनन्दित हुन्छौँ हामी । 

अकारण कल्कलाउँदो जीवन चुँडेर मृत्युलोक पठाउँदा पनि हाम्रो कुनै गुनासो थिएन आजसम्म । पृथ्वीमा सजाए पनि, हावामा उडाए पनि, हेलिकोप्टरबाट खसाले पनि, मन्दिरमा लगेर कोचे पनि कुनै गुनासो थिएन हामीलाई । लासका गलादेखि खुटसम्म लगेर सजाइ दिँदा पनि आजसम्म मक्ख परि नै रहेका थियौँ । तर अब त हद भयो । आखिर हामीले के बिगारेका छौँ र सधैँ यो अन्याय सहनुपर्ने ?  

आफू खुशी हुन हामीलाई चुँडेर हत्या गर्दा त अलिकति संकोच मान्नु नि ! कस्तो निष्ठुरी यो मान्छे ! हामीले के बिगारेका छौँ फुलेर ? हामीले पृथ्वीलाई सुन्दर बनाउन पनि नपाउनु ? हामीले ईश्वरको मुहार हेरेर फुल्न र फक्रन पनि नपाउनु ? मान्छे र हाम्रो जीवनमा के फरक छ ? हामीभित्र भएको जीवन एउटै होइन ? हो भने किन चुँडेको हामीलाई ? हर्षमा हामीले बलिदान हुनुपर्ने गरी हामीलाई किन सृष्टि गर्यौ ईश्वर ! तिमीसँग पनि हाम्रो गुनासो छ । फूल्न दियौ, रमाउन दियौ, यौवन भर्ने स्वतन्त्रता दियौ तर मनलाग्दी बाँच्ने र आयु छउन्जेल बाँच्ने स्वतन्त्रता चाहिँ किन हरण गर्यौ । हामी अदानाहरु न्याय माग्न कहाँ जाऊँ ? हामीलाई हाम्रै सुन्दरता अभिसाप भएको छ । फिर्ता लैजाऊ ईश्वर । बरु हामी कुरुपै भएर बाँच्न चाहन्छौँ हामी । हामीलाई तिमीले दिएको सुन्दरता जोगाउने शक्ति दिन सकेनौ भने तिमीले दिएको सुन्दरता फिर्ता लिएर हाम्रो रक्षा गर भगवान्, हामी अब सुन्दर हुन चाहन्नौँ । 

कहिले मानिसको गला सिँगार्न हामीलाई चुँडिन्छ, कहिले चुल्ढो सिँगार्न चुँडिन्छ, कहिले प्रेम देखाउन प्रयोग हुन्छ, कहिले वियोगको उत्सव मनाउन मेरो मृत्युशैया बनाइन्छ, किन अन्याय गर्यौ हामीलाई मानिसका यी सबै कुरामा हामीले नै मृत्युवरण गर्नुपर्ने गरी ? ईश्वर तिमीसँग हाम्रो ठूलो गुनासो छ । हामीलाई मुर्दाको शोकमा चढाउन किन प्रयोग गर्यौ ? शोकमा प्रयोग गर्ने हो भने खुशीमा किन प्रयोग गरयौ ? कि शोकमा प्रयोग गर कि खुशीमा प्रयोग गर ! के मदिरा हौँ र हामी ? शोकको निहुँमा पनि पिउने अनि खुशीको निहुँमा पनि पिउने ? हामीलाई किन यस्तो विपरित अवस्थामा प्रयोग गर्ने मादक द्रव्य सम्झियो मान्छेले ? हामीलाई अब उत्तर चाहिन्छ । 

उत्सव, खुशी र शोकमा प्रयोग गरेको त ठीकै थियो । त्यसलाई हामीले सहेकै थियौँ तर अब हुँदाहुँदा भ्रष्टाचारीको गला सजाउन पनि हामीलाई नै प्रयोग गर्न थालियो । सम्मान र सत्कार गर्नुपर्ने आदरणीयलाई गुच्छा र माला बनाएर प्रयोग गर्दा त हामीलाई पनि खुशी नै लाग्थ्यो । हुँदाहुँदा अब त विजय र पराजयको ठेगान नै नभएका, न हार न जितको अनिश्चितताको भुमरीमा अन्धाधुन्ध जनता ढाँट्तै हिँड्ने, झुटा कुराको आश्वासन दिँदै हिँड्ने चुनावी उम्मेदवारको अनुहार र गला सजाउन पनि हामीलाई नै प्रयोग गर्न थालेपछि हामीलाई असह्य भएको छ प्रभु, हाम्रो सुनवाई होओस् । परस्पर विरोधी अवस्थामा हामीलाई बली चढाउने मानिसको अधिकार अब फिर्ता लिइयोस् प्रभु । अब त हजुरलाई पनि लाज लाग्नुपर्ने हो । ढाँट, ठग, लुच्चा, देश बेचुवा, अनाचारी, भ्रष्टाचारी, दुराचारी, डन, दादा सबैलाई हामीले नै सजाउनुपर्ने भएपछि यो रीतिका विरुद्ध विद्रोह गर्नैपर्ने अवस्था भयो प्रभु । किन यति तुच्छ विचार आयो मान्छेको दिमागमा ? प्रभुले त हामीलाई र उनीहरु बराबरै अधिकार प्रदान गरिबक्सेको हो, बाँच्ने, रमाउने, सृष्टिमा सुन्दरता भर्ने र शक्तिले धानेसम्म अस्त्विमा रहने अधिकार । के मान्छेलाई बाँच्न मन लाग्दा हामीले मृत्युवरण गर्नुपर्ने हो र प्रभु ? उनीहरुलाई जीवन प्यारो लाग्दा हामीलाई पनि त जीवन त्यत्तिकै प्यारो लाग्छ नि ! कहिल्यै विचार गरेन मानिसले । सृष्टिको आदिकालदेखि चुपचाप सह्यौँ हामीले । तर अब हामीलाई पनि हक चाहिएको छ । 

मानिसलाई प्रकृति नै बिगार्ने हक दिँदा हामीलाई किन सृष्टि सिँगार्ने हकबाट बञ्चित गरियो प्रभु ? आयु रहुन्जेलसम्म बाँच्न पाउने हक अब हामीलाई पनि चाहिएको छ । न्याय चाहिएको छ । हामीलाई दया र अनुग्रह होइन हस्तक्षेपरहित बाँच्ने जीवनको अधिकार चाहिएको छ । त्यसैले अब हामी मानिसको गलाको शोभा बढाउने रहर छैन । दुर्गन्धित र कुरुप अनुहार लुकाउने साधन बनाउने  मानिसहरुलाई सम्झाइदिनुपर्यो प्रभु, अब अति भो । हामीले तिनीहरुको बगैँचा सजाएकै थियौँँ, केही बिगार गरेका थिएनौँ, तर पनि हामीले अकारण बलिदान भइरहनुपरयो प्रभु ? अब हाम्रो सुन्दरता फिर्ता लिइयोस् तर बाँच्ने र फुल्ने अधिकार भने कायम गरियोस्  । हामीलाई जीवन चाहिएको छ अब । 

आँशु बर्बरी झारेर फूलहरुले मेरै अगाडि उभिएर जीवनको भीख मागिरहे । महाकवि देवकोटालाई पनि उनीहरुले सँगै लिएर त्यहाँ पुगेका थिए, उनले आफ्नो कविताको पङ्क्ति नै वचन गरे– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । न च्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ ।’ 

फूलको यो रोदन, गर्जन र जीवनको चिन्तन सुन्दासुन्दै मेरो घरआँगनमा हात जोडेर उभिएका उम्मेदवारका गलाबाट फूलहरु बर्बरी खस्न थाले । उनीहरुको गला रित्तो भयो । गलाबाट शोभा हराएका उम्मेदवार एकाएक अतालिएर चिच्याउन थाले– ‘खोई मेरो माला ? अब कसरी छोप्ने मैले मेरो यो कुरुप अनुहार !’

माला हराउनासाथ उसको अनुहारका कुरुपता एकएक गर्दै देखिन थाले । कार्यकर्ताहरु त्राहिमाम् भएर फेरि अर्को गला छोप्ने माला खोज्न दौडे । कसैले भ्रष्टाचार छोपिने माला लिएर आए, कसैले अनाचार र अपराध छोप्ने माला लिएर आए, कसैले डन र दादागिरि छोप्ने माला लिएर आए तर ती मालाहरु अघिका जस्ता सुन्दर थिएनन् । तिनमा फूलको सुन्दरता थिएन । कार्यकर्ताको पङ्क्ति उनको अनुहारमा क्रिम र पाउडर पोतेर त्यो कुरुप चेहरामा सजावट गर्न तल्लीन थिए । 

हेर्दाहेर्दै फूल आर्यघाटतिर दौडिए जहाँ लासहरुमा सजाएका मालाहरु भटाभट उठेर गर्जन गर्दै थिए । भन्दै थिए, ‘अबको युग सहअस्तित्वको युग हो हामीले पनि लास छोप्न होइन सुन्दरता सजाउन फूल्ने अधिकार पाउनुपर्छ, उत्सव मनाउन पाउनुपर्छ, सत्यको पक्षमा लाग्नेहरुको गला सजाउन पाउनुपर्छ । कुरुपता र दुराचार छोप्न अब हाम्रो प्रयोग गर्न रोक लगाउनुपर्छ । असामयिक मृत्युवरण गराउने मान्छेले सजाय पाउनुपर्छ, हाम्रो बाँच्ने र हाँस्ने अधिकारको ग्यारेन्टी गरिनुपर्छ ।’ 

म झल्यास्स ब्युँझिएँ । के देखेँ मैले आज यस्तो विचित्रको सपना ! पर्दा खोलेर बाहिर हेर्दा गलाभरि माला धारण गरेका उम्मेदवारको लर्को थियो भोट माग्ने । म सपनाको धङ्धङीमै भए पनि आँखा मिच्तै बाहिर निस्केँ । उम्मेदवार महोदय आफ्नो अनुहारको कुरुपता छोपेर फिस्स हाँसे र नमस्कार भन्दै एक भोट हजुर, म विश्वस्त छु भन्दै भोट मागे । मैले पनि बत्तीसीले उनको स्वागत गर्दै एउटा फूल टिपेँ र उनको हातमा राखिदिँदै बधाइ दिएँ । फूल मेरो सपना सम्झाउँदै मतिर फर्केर गिज्याउँदै उम्मेदवारसँगै बिदा भयो ।



नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...