Monday, December 19, 2016

कथाः ज्याकी

अमेरिकाबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधी सकेर भर्खरै फर्केको एउटा खाइलाग्दो थाई इन्जिनियरको अघिल्तिर बसेर परिचय गरिनसक्तै ज्याकीले भनेकी थिई— ‘आइ हेट मेकानिकल लाइफ एण्ड मेकानिकल इन्जिनियर । दे डन्ट ह्याभ लाइफ ।’ म उसको कुरा सुनेर तीन छक परेको थिएँ र मनमनै भनेको थिएँ— ‘कस्ती सोमत नभएकी केटी रहिछे ! अपरिचित विदेशीलाई यसोभन्दा अलि अप्ठ्यारो त मान्नु ।’
.....
बेइजिङ ओलम्पिक स्टेडियम– ‘वर्ड नेष्ट नजिकै होटल सेभेन डेज इनको चौथो तलाबाट म र थाई इन्जिनियर योथा सँगै बसेर चिनीयाँ वास्तुकलाको त्यो अनौठो स्टेडियम नियाल्दै थियौँ, कसैले ढोका ढक्ढक्यायो बाहिरबाट । मैले हत्तपत्त ढोका खोलेँ । ढोका अगाडि फक्रेको पियोनी पूmल जस्तै एउटी चिनीयाँ सुन्दरी मादक मुस्कानमा उभिएकी थिई । उसले मलाई देख्नेबित्तिकै ‘हाई’ भन्दै हात उठाई र कोठाभित्र पस्ने अनुमतिको प्रतिक्षा गरिरही । मैले उसलाई कोठाभित्र आउन इसारा गरेँ, ऊ भित्र पसी । म कोठा बन्द गरौँ कि नगरौँ दोधारमा परेँ । ढोका खुलै छोडेर उसलाई खाटनजिकैको कुर्सीमा बस्न इसारा गरेँ । 
............
मैले उसलाई त्यसै दिन बिहान खाजा खान बसेको बेला रेष्टुरेन्टमा देखेको थिएँ । उसको आत्मविश्वासयुक्त अनुहार, लचकदार हिँडाइ, स्मित मुस्कान र आधुनिक पहिरनले मेरो मनमा उसको चित्र छापिइसकेको थियो । हल्का घिउ रंगको कोट र मिनीस्कर्टमा सजिएकी ज्याकीको मोहनी रुपलाई मेरा चोर आँखाले माथिदेखि तलसम्मै धेरैपटक नियालेका थिए । ऊ हतारहतार डाइनिङ टेबलमा सजाइएका खाजाका परिकार बट्टामा प्याक गरेर झुण्ड्याउँदै बाहिरिएकी थिई चिनजान गर्न नपाउँदै । अहिले फेरि त्यो केटी हामी बसेको कोठाभित्र छिरेकी थिई । उसको उन्मुक्त मुस्कान र शरीरमा झल्कने सुन्दरताले योथा र मलाई चुम्बकझैँ तानेको थियो, ऊतिर ।  
‘म ज्याकी ।’ उसले आफ्नो परिचय दिई ।   
हामीले प्रत्युत्तरमा केही भन्न नपाउँदै मतिर फर्केर बोली– ‘मलाई तपार्इंसँग बसेर एउटा फोटो खिच्न मन छ । तपाईंले लगाएको पोसाक (नेपाली दौरासुरुवाल र ढाकाटोपी) असाध्यै मन पर्छ मलाई । इटस् युनिक । म त्यही कुरा गर्न तपाईंलाई खोज्दै आएकी । डिस्टर्ब त गरिनँ ?’ कोठामा आउनुको कारण बताउँदै औपचारिक हुन खोजी ज्याकी । 
विदेशी साथीको अगाडि कुनै युवतीबाट आफूले लगाएको पहिरनको प्रशंसा अनि सँगै बसेर फोटो खिच्ने प्रस्ताव सुन्दा कसको मन फुरुङ्ग नहोला र ! मेरो नाक घिरौँलाजत्रो भयो । मैले ज्याकीलाई बिहान देखेभन्दा पनि सुन्दरी देखेँ त्यो सुनेपछि । 
‘तपाईंलाई बिहान देख्नासाथ एउटा फोटो खिचिहालौँ भन्ने लागेको थियो तर त्यतिबेला मसँग क्यामरा थिएन । त्यसैले रोकिएँ । भरे खानापछि समय मिलाएर फेटो खिचौँ है !’ उभिएरै सबै कुरा एकै सासमा सिध्याई ज्याकीले । मैले नजिकैको कुर्सीमा बस्न इसारा गरेँ । ऊ म बसेकै बेडको अर्को छेउमा बसी अलि सम्हालिएर । मसँगै बसिरहेको थाई साथी योथाको परिचय गराउन खोजेँ मैले । योथाले आफ्नो परिचय दिइनसक्तै उसले मुख अमिलो बनाई । 
‘किन यसो गरेकी होली उसले ?’ मेरो मन खिस्रिक्क भयो ।  
‘तपाईं नै हो थाइल्यान्डबाट आउनुभएको मेकानिकल इन्जिनियर ? मलाई दोराले सबै कुरा बताएकी थिई तपाईंको बारेमा । सरी, मलाई टेक्निसियन र टेक्निकल जब दुवै मन पर्दैन ।’
एउटी सुन्दरीको मुखबाट नेपाली पोसाकको प्रसंशा अनि सँगै फोटो खिच्ने प्रस्तावले सगरमाथाको चुचुरोमा पुगेको ज्याकीप्रतिको आदरभाव योथाप्रतिको उसका शब्दले फेदीमा झारिदियो । 
‘कस्ती असभ्य केटी रहिछे । कुरै नबुझी पहिलो भेटमै के सारो हेपेकी ।’ मेरो मनले सम्बाद गर्न थाल्यो ज्याकीका शब्दसँग । बिचरा योथा, उसको अनुहार वर्षनै लागेको बादलजस्तो भयो । मैले अनुमान लगाएँ, आफ्नो पेशाप्रति व्यक्त ज्याकीका शब्दबाणले उसको हृदयमा घाउ बनेको हुनुपर्छ । उसको अनुहारले देखाएको प्रतिक्रिया शब्दभन्दा कडा थियो । तर उसले शब्दमा केही भनेन, ज्याकीतिर हेरि मात्र रह्यो अन्यमनस्क आँखा लाएर ।   
ज्याकीको त्यो प्रस्ताव र परिचय हाम्रा लागि अप्रत्यासित थियो । 
‘कस्ती वाचाल छे यो कटी ? अनि कति स्मार्ट र फ्र्याङ्क ?’ उसको हाउभाउ र व्यक्तित्वले तान्यो हामीलाई ।
‘नेपाली पोसाक मन पराएको र प्रशंसा गरेकोमा धन्यवाद ज्याकी ।’ विनम्रता र कृतज्ञताको ढोकाबाट ज्याकीभित्र पस्ने अवसरको उपयोग गरेँ मैले— ‘भोलि विहान हाम्रो कन्ट्री रिपोर्ट पेश गर्ने समयतालिका छ, त्यसमा आयौ भने मेरो देशको बारेमा पनि जानकारी गराउँला अनि सँगै बसेर चाहेजति फोटो पनि खिचाँैला ।’ मैले उसको इच्छा पूरा गर्ने र नजिकिने मौका गुमाउन चाहिनँ ।
‘ह्याभ अ सिट ।’ आपूm बसेको बेडबाट उठेर कुर्सी तान्दै ज्याकीले हामीतर्फ इशारा गरी । मेरा चोर आँखा घरि माथि र घरि तल गरिरहे उसका बंैशालु शरीरमा । 
‘कति मिहिनेत गरेर बनाएका होलान् ईश्वरले यिनलाई ! यस्तो मनै लोभ्याउने सुन्दरता कसरी भरे होलान् यिनको शरीरमा ! शायद विश्वसुन्दरीको कल्पना गरेका थिए होलान् ईश्वरले यिनलाई बनाउँदा ।’ मेरो भित्री मनले पटकपटक सम्बाद ग¥यो उसको रुपसँग । बारम्बार घचघच्याइ रह्यो ऊतिर आँखा सोझ्याउन । मैले देखेका चिनीयाँ केटीहरुमध्ये ऊ नै अब्लल लागेकी थिई मलाई त्यस दिन । 
ज्याकीले उभिएर योथा र मलाई बस्न इशारा गरिरहेकी थिई । सर्लक्क परेका मसिना औलाले सजिएका उसका दुवै हातको इशारा र शिष्टतासँगै छचलिएको मृदु मुस्कान मेकानिकल इन्जिनियर योथाप्रति भने अलि व्यंग्यात्मक थियो । 
चिनीयाँ युवतीको नाम त ज्याकी नहुनुपर्ने हो, कसरी यसले आपूmलाई ज्याकी भनी ? म मनमनै तर्कका भेल उराल्दै थिएँ, ज्याकीले हामीतिर फर्केर भनी – ‘मेरो चीनीयाँ नाम चाहिँ ल्यू याङ  । ज्याकी मेरो अंग्रेजी नाम, अंग्रेजी शिक्षकले राखिदिएको । हामी चिनीयाँहरु विदेशीसँग परिचय गर्दा अंग्रेजी नाम अनि चिनीयाँसँग चिनीयाँ नाम प्रयोग गछौँ सम्झन सजिलोका लागि ।’ अनुहारतिर लत्रेको कपाल सम्हाल्दै थपी— ‘तपाईंलाई मेरो नाम सुनेर अचम्म लाग्यो होला झ्वाट्ट सन्दा केटाको नामजस्तो ठान्छन् मानिसले ।’ 
मुसुक्क हाँस्ता गालामा डिम्पलको खाल्डो अझ सुन्दर देखियो ज्याकीको मोहनी गालामा ।  
ज्याकी बेडको छेउमा बस्ता उसका दुवै तिघ्रा ट्याप्प जोडिए पनि उसको मिनीस्कर्ट अलि माथि सरेकाले बीचको सानो ठाउँ हाम्रा लागि रहस्यमय भएको थियो । घरिघरि ऊ चल्मलाउँदा त्यो रहस्यमय क्षेत्र ढाकिने पातलो भित्री बस्त्र देखिएला–देखिएलाझैँ हुन्थ्यो । ऊ घरिघरि सम्हालिन्थी स्कर्ट तानेर । दुवै गोडा सकेसम्म नजिक ल्याएर जोडेकी भए पनि हाम्रा आँखा ज्याकीको त्यो साँघुरो अदृश्य जगत ठम्याउन लालायित थिए । रहस्यको गुफाजस्तो भएको थियो उसको त्यो सानो क्षेत्र । 
उसको मोहनी रुप, मुस्कान र पहिरनको चुम्बकले हामीलाई तानिरहेको थियो । योथा कुरा गर्दा मेरा आँखाले अवसर पाउँथे अनि म कुरा गर्दा योथाले । हामी पालैपालो उसको सुन्दरतामा लुटपुटिएका थियौँ । अवसर पायो कि हाम्रा लोभी आँखा कि ज्याकीको गोरो, हसिलो र पुष्ट गाला हुँदै छातिमा फक्रेका फुलतिर केन्द्रित हुन्थे कि टयाप्प जोडिएका सुडौल तिघ्राको कापतिर । घरिघरि त लाग्थ्यो उसको सुन्दरताले हाम्रो सन्तुलन डाँवाडोल पारिदिन सक्छ, त्यसभन्दा अघि नै ऊ यहाँबाट निस्के हुन्थ्यो । तर ज्याकी टसमस भएकी थिइन । उसलाई अझै धेरै कुरा गर्न मन लागेको थियो योथासँगको चिनजानपछि । 
...........
उसको कोठा प्रवेशसँगै हाम्रो कोठा अझ उज्यालो भएको थियो । हाम्रो मनमा नयाँ शक्ति सञ्चार भएभैmँ भएको थियो । त्यति मोहक चिनीयाँ सुन्दरीसँग धितमरुञ्जेल गफिन पाउनु एउटा अपूर्व अवसर थियो हाम्रा लागि । हामी चाहन्थ्यौँ उसलाई सकेसम्म बढी समय हाम्रो कोठाभित्र राखौँ र मनलाग्दी कुराकानी गरौँ र उसको सुन्दरता पिइरहौँ । त्यसका लागि एउटै उपाय थियो, लामो वार्तालाप । 
‘मैले त तपाईंलाई आज मात्रै देखेँ । के तपाईं पनि यहीँ काम गर्नुहुन्छ ?’ समय तन्काउने उपाय निकालेँ मैले ।
‘हो । म यही संस्थामा काम गर्छु । केही कामले बेइजिङ बाहिर थिएँ । हिजो राति मात्र फर्केकी ।’
‘के तपाईं पनि इन्जिनियर हो ?’ योथाले जिज्ञाशा राख्यो ।
‘होइन । हुनत म मेडिकल डाक्टर हुँ तर अहिले कुटनीतिक सेवाकी कर्मचारी ।’ उसले उत्तर मुस्कुराउँदै उत्तर दिई— ‘बारम्बार बाहिर जाने काम परिरहन्छ । सधैँ एकै ठाउँमा बसिरहने काम त मलाई मन पनि पर्दैन । अनेकथरि मानिससँग भेटघाट, कुराकानी र बसउठ गर्न खुब रमाइलो लाग्छ मलाई । तपाईंहरुलाई पनि शायद यसो गर्न मन पर्छ होला ।’ यति भनेर मुस्काइ रही ज्याकी हामीले केही थप्छौँ कि भनेर । हाम्रो कुराकानी तन्किन थाल्यो ।
‘त्यसैले टेक्निकल काम मन नपराउनुभएको होला ।’ योथाले थप्यो । 
‘यसको कथा अलि लामो छ । अलि लामै समय लाग्छ सबै कुरा बताउन ।’ हातमा बाँधेको घडीतिर नियाल्दै उसले जवाफ फर्काई ।  
‘भन्नुस् न । आज हामी फुर्सतमै छौँ ।’ मैले कर गरेँ । ज्याकीलाई कोठामा केहीबेर राख्ने उपाय मिलेकोमा म दङ्ग थिएँ । 
..........
‘मलाई मन नपर्दानपर्दै पनि बुबाआमाले मलाई आधुनिक चिकित्सा विज्ञान पढाउन खोज्नुभयो ।’ विगततिर फर्की ज्याकी— ‘उहाँहरुकै करकापमा मैले आधुनिक चिकित्सा अध्ययन गरेँे । शायद हरेक बाबुआमालाई छोराछोरीहरु डाक्टर बनून् भन्ने लाग्दो हो । मैले स्नातक तहको पढाइ पूरा गरँे । निकै वर्ष देश र विदेशमा काम गरेँ, तर मलाई त्यो पेशाप्रति पटक्कै रुचि जागेन ।’ 
उसको काम र पेशाबारे हामीभित्र उम्रेका जिज्ञाशा मेटाउन खोजी ज्याकीले । मैले छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउन घर खेत बेचेर कलेजकलेज चाहार्ने हाम्रा अभिभावक अनि चिकित्सशास्त्र पढन नपाउँदा झोक्राएर भात न पानी भएका विद्यार्थीहरुका टीठलाग्दा अनुहार सम्झेँ । बषाँैसम्म प्रवेश परीक्षाको तयारीमा समय कटाइसकेर पनि नाम ननिस्कँदा ओठमुख सुकाएर हीनताको रापमा जालिरहेका होनहार प्रतिभाहरु मेरो अगाडि झलझली आइरहे । 
‘किन ज्याकी तिमींलाई यो  पेशाप्रति यतिविघ्न घृणा ?’ मेरैजस्तो प्रश्नको पेटारो योथाको मनमा पनि गुडुल्किएको रहेछ । थप्यो– ‘चिकित्सा पेशा त राम्रो पेशा हो । थाईहरु पनि यसलाई सम्मानित पेशा मान्छन् ।’  
हाम्रो प्रश्नसँगै ज्याकी कुर्सीबाट उठी र हामीतिर फर्केर सोधी – ‘कुरा अलि  लाम्बिने छाँट छ्  एक–एक कप  चिया खाऊँ है । अनि कुरा गरौँल फेरी ।’ 
ज्याकीले पानी  तताई र सबैलाई पुग्ने चिया तयार पारी । 
‘तपाईहरुले कुरा ठीकै हो, तर मलाई चिकित्सा पेशा मनै परेन । आ–आफ्नो रुचि र समयअनुसार हुँदोरहेछ पेशा पनि राम्रो र नराम्रो । आखिर पैसापैसा, कामकाम भन्दाभन्दै जीवनको मजा नै त्याग्नु पर्छ र मेशिनझैँ सधैँ जोतिनु पर्छ भने त्यो पैसाले तपार्इंलाई के दिन्छ र ? पेशामा लागेर तपाईंले खुसी र सन्तुष्टि खोजेको कि मेशिनजस्तो जीवन ?’ प्रश्नसूचक उत्तर दिई ज्याकीले । 
आफूले चियाको एउटा कप उठाई र अरु कप हामीतिर बढाई । अलि भावुक र गम्भीर हुँदै आफ्नो विगततिर फर्की– ‘म तपार्इंहरुले केही दिनअघि भ्रमण गर्नुभएको हेनान प्रान्तको ल्याओयाङ शहरमा जन्मेकी हुँ । बुबाआमा दुवै किसान हुनुहुन्थ्यो । अहिलेजस्तो सुविधासम्पन्न थिएन त्यो ठाउँ केही वर्षअघिसम्म । अभाव र दुःखमै उहाँहरुले जीवनका उर्वर समय बिताउनु भयो । म उहाँहरुकी एक्ली छोरी । छोरी डाक्टर बनाउन पाए धेरै पैसा कमाउली, अभाव हट्ला भन्ने सपना थियो उहाँहरुको । अभावकै बीचमा रिनपान गरेर मलाई डाक्टर पढाउनुभयो । मलाई भने सानैदेखि यसमा रुचि थिएन । उहाँहरुले जबर्जस्ती गर्नुभयो । मैले टार्न सकिनँ । मलाई बेइजिङको एउटा मेडिकल कलेजमा भर्ना गरिदिनु भयो । मैले कैयौँपटक उहाँहरुलाई भनेँ – मलाई यो पेशा पटक्कै मन पर्दैन । म यसमा जीवन विताउन चाहन्नँ । पैसा कमाउन डाक्टरै हुनुपर्छ भन्ने छैन । आफुलाई मन परेको अरु नै पेशामा लागेर पनि धेरैले पैसा कमाएका छन् । तर उहाँहरुले मेरो कुरा सुन्नु भएन । कहिलेकाहीँ त पढाइ छोडेर अन्यत्रै कतै लागौँ कि जस्तो पनि लाग्थ्यो । मन नलागीनलागी मैले चिकित्सा शास्त्रमा स्नातक पूरा गरेँ । सर्जरीमा मेरो निकै राम्रो दख्खल थियो । म राम्रो सर्जन बनेँ, काम गर्दै जाँदा । तर, म जतिजति राम्रो डाक्टर बन्दै गएँ म भित्रको असन्तुष्टी भने चुलिँदै गयो । विदेशमा गएर काम गर्दा सन्तुष्टी हुन्छ कि भनेर त्यो पनि गरेँ । सिंगापुर र जापान बसेँ । त्यहाँका राम्रा अस्पतालहरुमा काम गर्ने अवसर पाएँ । राम्रो पैसा कमाएँ । बुबाआमा खुसी हुँदै जानुभयो तर म भने खुसी हुन सकिनँ । समयको घेरा र बाध्यताको जाँतोमा पिसिएको जिन्दगी पनि के जिन्दगी, बारम्बार यस्तै सोचाइले मलाई तानिरह्यो ।’ ज्याकीले चियाको सुर्को तान्दै विराम लिई । 
‘आफूलाई मन लागेको पेशा र काम नभई म खुसी हुन्न भन्ने मैले बुझ्दै गएँ’ आफू नयाँ सम्भावनाको खोजीमा लाग्नुको कारण बताई– ‘आफ्नै रुचिको काममा सन्तुष्ट, आनन्दित र खुसी हुन खोज्दो रहेछ हरेक मान्छे ।  बुबाआमाको समयमा चिकित्साक पेशा आकर्षक लाग्थ्यो तर अहिले चीनमा त्यो अवस्था छैन । प्राविधिक बिषयमा रुचि घट्तै छ । युवाहरु नयाँ बिषयतिर तानिँदै छन् । म पनि नयाँ बिषयतिर तानिएकी थिएँ, बेइजिङ युनिवर्सिटीमा भर्ना खुल्यो विदेशी कुटनीति बिषयमा । मैले भर्ना र छात्रवृतिका लागि आवेदन गरेँ । संयोगले छात्रवृति पाएँ । त्यसपछि मलाई अलि साहस आयो । आपूmले पढन चाहेको विषय यही हो जस्तो लाग्यो । घरपरिवार, आफन्त सबैले मलाई डाक्टरीजस्तो पेशा छाडेर विदेशी कुटनीति पढ्ने ! भनेर खिसी गरे । म भने खोजेको कुरा मिलेकाले भित्रैदेखि खुसी भइरहेकी थिएँ । मभित्रको खुसी बद्दै गयो । मैले पेशा परिर्वतन गरेँ ।’ 
चिया पिउँदापिउँदै भावुक भई ज्याकी । महिला भएर पनि जोखिम लिनसक्ने आँट देखेर ऊप्रतिको सम्मानको भाव अझै चुलियो हामीभित्र । 
‘मलाई चिकित्सकको मेकानिकल लाइफ मनै परेन । अहिले सम्झँदा लाग्छ, मैले यो  विषय र काम छानेर राम्रै गरेकी छु ।’ केहीबेरको मौनतापछि प्रसङ्ग जोडी ज्याकीले– ‘संसारका थरिथरिका मानिससँग भेट हुन्छ, उनीहरुका आनीबानी, परम्परा, संस्कार, संस्कृतिका बारेमा जान्ने, बुझ्ने अनि उनीहरुबाट सिक्ने नयाँनयाँ अवसर पाइरहेकीछु । संसारभर घुम्न र काम गर्न पाएकी छु ।  चीन के हो चिनाउन पाएकी छु । यो काममा दिक्दारी भन्ने कहिल्यै हुँदैहुँदो रहेनछ । अहिले मलाई देखेर मेरा बुबाआमा पनि छोरीले ठीकै गरिछ भन्न थाल्नुभएको छ ।’ ज्याकी मुस्कुराई हल्का हँुदै । 
ज्याकीको कहानी सुन्दासुन्दै हाम्रो मन ऊप्रतिको सम्मानको भावनाले भरिँदै गएको थियो । कति स्पष्ट, कति निडर अनि कति साहसिली केटी ! अब उसको बाहिरी रुपले भन्दा उसको सोचाइ र हिम्मतले हामीलाई ईष्र्यालु बनाउँदै लगेको थियो । 
‘हो त नि खुसी र आनन्दकै लागि त गर्छ नि मानिसले काम । त्यही पाइएन भने के पेशा भन्नु र !’ मैले उसको कुरामा सार मिलाएँ— ‘दुनियाँले देख्नु र आफूले अनुभव गर्नुको फरक यही त हो ।’ मेरो मनले ज्याकीको भावुक मन पढ्ने प्रयास गरिरह्यो चुपचाप एकअर्कालाई हेरेर ।
.............
‘मलाई संसारका मानिस देखेर विचित्र लाग्छ । विदेशी केटी भनेपछि किन यस्तो हुरुक्क भएका होलान् लोग्ने मान्छेहरु ? झन् यी इन्जिनियरहरु त ...।’ एक्कासी घृणभरिएको अनुहारमा योथातिर फर्केर ज्याकीले भनी— ‘तपार्इं पनि त्यो मंगोलियन केटीको पछि खुब लाग्नुहुन्छ रे नि । उसलाई थाइल्याण्ड नै लिएर जाने विचार गर्नुभो कि क्या हो ?’ 
ज्याकीको कुरा ध्यान दिएर सुनिरहेको योथाको अनुहारमा एकाएक झोल घोप्टिएको कालो बादलको घनघटा दौडिन थाल्यो । मुस्कान बन्द भएर झोल घोप्टिएजस्तो भयो उसको अनुहार । 
‘यो कार्यक्रम सकिएपछि त्यो केटी तपाईंसँगै त जान्न होला ! के पाउन त्यति मरिमेटेर पछि लागेको ? एक–दुई हप्ता भेट हुने मानिसप्रति यस्तो गरी मरिमेटेर के पाउन खोजेको तपाईंले ? घरमा श्रीमती छिन्, विहावारी गरिसक्नु भएको छ, छोराछोरी पनि छन् भन्ने सुनेकी छु, के फरक पाउनुभयो श्रीमती र त्यो मंगोलिपन केटीमा ?’ ज्याकीको रिसको आगो झन् दन्दनाएर बल्न थाल्यो ।
मुस्कान र ठट्टाबाटै मनभित्र उम्लिरहेको घृणाको ज्वालामुखी विस्फोट गराई ज्याकीले । उसको स्वरमा चर्कोपन त थिएन तर उसले प्रयोग गरेका शब्दले तीरले जस्तै घोचिरहेका थिए योथालाई । शब्दको सहाराले घृणाको घोल पोत्दै थिई ज्याकी । 
‘मैले त्यस्तो दृष्टिले उसलाई हेरेकै छैन । एउटै कार्यक्रममा छौँ, भेटघाट भयो, कसैसँग कोही अलि नजिक र टाढा त स्वाभाविकै हो नि !’ प्रष्टिकरणको दियो योथाले । 
‘मलाई सबै कुरा थाहा छैन, मैले त दोराले भनेको मात्र सुनेकी हुँ । तर तपाईं हरबखत त्यही मंगोलियन केटीसँगै हुनुहुन्छ रे । अरुको त वास्तै छैन भन्दै थिई दोरा । तपाईंको त्यो गतिविधि पटक्कै मनपरेको रहेनछ उसलाई । तपाई केटामान्छेहरु, केटीमान्छेको मन के बुझ्नु हुन्छ र ?’ चियाको घुट्कोसँगै घृणा ओकली उसले । योथा के भन्ने भनेर हेरेको हेर्यै भयो, मुस्काइ मात्र रह्यो । 
.........
योथा अमेरिकामा पढ्दा उसकी एउटी अमेरिकी साथी थिई इभा । ऊ योथालाई आफ्नो बनाउन खोज्थी । योथालाई भने त्यो केटी पटक्कै मन पर्दैनथ्यो । ऊ अर्की थाई अंचलीलाई मन पराउँथ्यो जो सँगै पढ्थी । घरिघरि त्यो अमेरिकी केटी उसकी थाई प्रेमिकासँग अनौठौ व्यवहार गर्थी । घरिघरि झगडै गरुँला जस्तो गर्थी । एकले अर्काको ठाउँ लिइदिएजस्तो गर्थे उनीहरु दुवैजना । ज्याकीले दोराको कुरा निकालेपछि योथाले झलझली सम्झ्यो त्यो अमेरिकी केटीलाई । 
‘आफुले मन पराएको केटा अर्कोसँग अर्की केटी नजिक हुँदा असाध्यै जलन हुन्छ केटीहरुलाई । म केटी भएकीले यो कुरा बुझ्न्छु । तपाईंहरु बुझ्नुहुन्न यो कुरा । उसले त्यो मंगोलिपन केटीसँग तपाई नजिक भएको र आपूmसँग टाढिएकोमा चित्त दुःखाएकी छे ।’ ज्याकीले हाँस्तै कुरा खोली ।
.............
ग्रेटवाल हेर्न बेइजिङबाट बाडालिङ जाँदा बसमा सँगै परेका थिए योथा र दोरा । बसभित्र पसेर झ्यालपट्टिको सीटमा बसेको थियो योथा । अरु साथीहरु आ–आफ्ना साथीहरुसँग जोडा मिलाएर बसेका भए पनि योथा त्यो दिन एक्लै थियो । सबैलाई सिटमा बसाएपछि दोरा उसको नजिकै आई र सोधी– ‘यहाँ केही छ ?’
हन त दोरालाई थाहा थियो बसमा चढ्नु पर्ने सबै मानिस चढिसकेका छन् र योथासँगैको सिट खाली छ । तर पनि उसले औपचारिकता पूरा गरी ।
‘छैन, बस्नुभए हुन्छ ।’ योथाले सहज भावमा उत्तर दियो र बाहिर देखिने रमाइला दृश्यतिर तानियो । 
रमाइला कुराकानी गर्दै दिनभर उनीहरु सँगै रहे । 
त्यस दिनदेखि दोरा र योथा परेवा जोडीजस्तै भए । केही दिन बित्यो यसरी नै । सबैले खासखुस गर्न थाले – ‘योथा र दोराको जोडी साह्रै मिल्दो । कसरी ट्याप्पै मिलेका ! धेरै वर्षदेखिका साथीजस्ता ।’
...........
बेइजिङबाट सात दिन लामो यात्रामा निस्कँदा योथासँगै सिटमा बस्न पुगी अर्की मंगोलियन केटी सोलोंगो । निकै राम्रो अङग्रेजी बोल्थी । हाँस्ता साह्रै हिस्सी परेकी देखिन्थी । झ्वाट्ट हेर्दा कलिलो उमेरकी देखिन्थी  । समूहकै जादुगरी आकर्षणमा परेकी थिई । कहिले को उसको साथमा बस्न खोज्छ त कहिले को । ऊ पनि नाइनास्ती गर्दिनथी । उसलाई लागेको हुँदो हो— ‘यी सबै तीन हप्ताका साथी त हुन् किन कसैसँग टाढा र कसैसँग नजिक हुनु ?’ 
एक दुईदिनमै योथा र सोलोंगोको जोडी सीमाहीन सम्वन्धमा बढ्दै गए । कुनैबेला छुट्टिएर बस्ता पनि जोडी छुट्टिएको ढुकुरझै लाग्थ्यो योथाको अनुहार  । सांंघाई पुगेपछि योथा र सोलमेंगोको जोडी किनमेलमा निकै रमाएको थियो ।
यो सब देखेर दोराको मन भुतभुतेजस्तै रापिलो भएको थियो योथाप्रति । उसले मनमनै सोचेकी थिई –‘मसँग त्यस्तो के छैन् ? अनि त्यो मंगोलियनसँग के त्यस्तो चिज छ जसले योथालाई तानिरहेको छ ? काँचै खाउँलाजस्तो गर्थी दोरा योथा नजिक पर्दा । भुटभुटिएर रन्थनिएभैmँ लाग्थ्यो उसलार्य हेर्दा । घरिघरि छड्के आँखा लगाउँथी योथातिर तर योथा अर्कै धुनमा मस्त थियो कोरली गाई भेटेको बहरजस्तै । दोराले मनभरि भएको व्यथा बेइजिङ फर्केर ज्याकीलाई पोखेकी थिई एकान्त पारेर । त्यही सुनेर योथालाई के भन्नु न के भन्नु पारेकी थिई ज्याकीले । 
...........
‘तपाईसँग एउटा फोटो लिइ हालौँ है । आज म अलि व्यस्त भएकीले चाँडै निस्किन्छु ।’ बिहानको खाजा खान रेष्टुराँमा सँगै बसेका बेला ज्याकीले म नजिकै आएर भनी । फोटो खिचेर छुट्टिनै लाग्दा मसँग खुुसुक्क सोधी— ‘योथाकी मंगोलियन पे्रमिका मलाई चिनाई दिनुस न, कस्ति रहिछे म पनि हेर्छु त्यसलाई ।’ 
मैले खाजा खाइरहेकी सोलोंगोतिर इसारा गरेँ । 
‘केटी त निकै राम्री रहिछे । त्यसै तानिएको होइन रहेछ योथा ।’ मसँग आफ्नो मूल्याकंन सुनाई ज्याकीले– ‘तर मलाई टीठ लागेर आयो । मलाई यस्ता केटीचहारा विदेशी पटक्कै मन पर्दैन । यो योथा भन्ने मान्छे पनि त्यस्तै रहेछ ।’ दाह्रा किट्तै मुख बिगारी । उसको अनुहारमा योथाको व्यवहारले जन्माएको घृणाको पहाड हिमालजस्तै अग्लो बनेर चुलिएको थियो । अलि भावुक हुँदै एउटा पुरानो घटना तिर फर्की ऊ ।
............
‘म भर्खर विदेशी कुटनीतिको स्नातकोत्तर तहको अध्ययन पूरा गरेर यही अफिसमा स्वयमसेवा गर्दै थिएँ । अफिसले एउटा कार्यक्रम आयोजना ग¥यो विदेशी इन्जिनियरहरुका लागि । विभिन्न देशका सहभागीहरु आउने क्रम जारी नै थियो । कहिले को त कहिले को गएर विमानस्थलबाट सहभागीहरुलाई लिएर आउने गथ्यौँ । जर्जियाबाट आउने एक जना सहभागीलाई लिएर आउने पालो मेरो परेको थियो । म उसलाई लिन विमानस्थल पुगेँ । होटलतिर फर्कंदै गर्दा बाटोमा उसले मलाई जे भन्यो त्यो कुरा सम्झँदा आजसम्म पनि त्यो मान्छेलाई त ....।’ 
ज्याकीले कुरा गर्दागर्दै मुठ्ठि कसी, अनुहार रातोपिरो पारी र एकछिन रोकिई । म उसको अनुहार हेरेर अक्कनबक्क भएँ, लाटोजस्तो । कति सारो रिस उठेको होला यो केटीलाई ? के भन्यो होला त्यो मान्छेले र यो केटी यतिका वर्षपछि पनि यतिबिघ्न रिसको आगो ओकल्दै छे ?
‘त्यो निर्लज्ज इन्जिनियर सम्झँदा अहिले पनि घृणा लाग्छ ।’ आक्रोश र घृणा मिश्रित आवाजमा ज्याकी फेरि बोली । उसको अनुहार रगत चुहेलाजस्तो रातोपिरो भयो । 
‘तिम्रो कुनै केटासाथी छन ज्याकी ? मैले उसको घृणामिश्रित तलाउको पानी अर्कौतिर बगाउने प्रयास गरेँ । 
‘साथी त छन् तर ‘पे्रमी’ छैनन् कोही पनि । ’ 
‘तिमी जस्ती बोल्ड केटीलाई प्रस्ताव राख्ने हिम्मत पनि त हुनु प¥यो नि केटाहरुमा !’
 मेरो कुरा सुनेर दिल खोलेर हाँसी ज्याकी । उसको अनुहार गर्वले धपक्क बल्यो ।
 ‘अँ त्यो इन्जिनियरको कुरा हुँदै थियो ।’ ज्याकी सामान्य हुँदै गएपछि मैले फेरि कथाको लहरो तानेँ ।
‘हामी अफिसकै गाडीमा थियौँ । अफिसकै एक जना साथीले गाडी चलाएको थियो । हामी पछाडिको सिटमा सँगै बसेका थियौ । उसले मलाई भन्यो– ‘म चिनियाँहरुलाई असाध्यै मन पराउँछु । मलाई धेरै वर्षदेखि चीन आउने धोको थियो । यसपाली बल्ल साइत जु¥यो ।’ 
एउटा युरोपेलीले चीनयाँलाई मन पराउँछ भनेकामा मेरो छाती पनि गर्वले फुलिएको थियो । 
‘ठीकै त भने छ नि । चीन हेर्न र बुझ्न कसलाई मन नलाग्ला र ।’ मैले थपेँ ।  
‘त्यति मात्र भनेको भए त म पनि उसलाई किन धृणा गर्थे र ? उसले त्यसपछि भनेको कुराले पो त... ।’ ज्याकीको अनुहार घनघटाले ढाकिएको आकासजस्तै भयो फेरि । 
‘मलाई चिनियाँ केटीहरु असाध्यै मनपर्छ । एउटी कलिली भर्जिन केटी मिलाइदेऊ है ज्याकी ! त्यसैका लागि म यति टाढादेखि आफ्नै पैसा खर्च गरेर आएको छु ।’ होटल आइनपुग्दै त्यो इन्जिनियरले मसँग यस्तो अपेक्षा राख्यो । 
विदेशी अतिथी नभएको भए म उसलाई त्यो ट्याक्सीबाट गलहत्याएर बाहिर निकाल्थेँ र भन्थेँ– ‘तँ जस्ता निज र मर्यादाहीन मान्छेलाई यो देशमा पाइला राख्ने अधिकार छैन । तँ यहीँबाट आफ्नो देश फर्किहाल् ।’ तर म एउटा विदेशीसँग व्यवहार गर्दै थिएँ । मेरो पेशाको मर्यादा नाघ्ने र त्यसो गर्ने अनुमति मलाई थिएन । एउटी अविवाहित युवतीका अगाडि उसले यस्तो निकृष्ट प्रस्ताव कसरी राख्न सकेको होला ? एकछिन त मलाई त्यसको अनुहार पनि हेर्न मन लागेन । रिसले मर्मुरिएर पनि चुपै बस्न बाध्य भएँ ।’
‘कस्तो निच मान्छे रहेछ !’ मेरो मन पनि व्यथित भयो ज्याकीको कुरा सुन्दासुन्दै ।
‘हो त, साँच्चिकै निच हो त्यो मान्छे । भएभरका चिनियाँ युवतीलाई त्यस्तो निच आशयले हेर्नु अनि एउटी अपरिचित केटीसँग त्यस्तो प्रस्ताव गरेको देख्ता मलाई त भाउन्न होलाजस्तो भयो ट्क्सिभित्रै । धन्न गाडी हाँकीरहेको साथीले त्यो सब कुरा सुनेन । एक मनले त त्यो मान्छेलाई गाला फुट्ने गरी चड्काइदिऊँजस्तो झाँेक पनि चलेको थियो तर म सम्हालिएँ । मैले भनेँ– ‘यो देश अध्यक्ष माओको देश हो । तपार्इं आफ्नी छोरी वा बहिनीलाई कुनै विदेशीले यस्तै प्रस्ताव ग¥यो भने के गर्नु हुन्छ ? विचार गर्नुभएको छ ?’ 
मेरो निशाना ठीक ठाउँमा परेछ । उसको अनुहार लाजले मरिचझैँ चाउरियो । निन्याउरो अनुहार लगाउँदै मसँग भन्यो— ‘सरी ज्याकी, मैले गल्ती गरेँ, माफ गर ।’ 
मैले थप केही बोल्न आवश्यक ठानिनँ । अफिसमा आएर हाकिमलाई सबै कुरा सुनाएँ । उहाँ पनि त्यो सुनेर साह्रै दुःखी हुनुभयो । त्यसपछि अहिलेसम्म जर्जियाका कुनै नागरिक हाम्रो कार्यक्रममा आएका छैनन् ।’ 
यति भनिसक्ता ज्याकीको अनुहारमा गौरवको बिजुली झिलिक्क बल्यो । ऊ हल्का भएजस्ती देखिई । कतै हिँड्न हतार गरेजस्तो गरी खुसुक्क मेरो कानमा भनी– ‘संसारका कुनै पनि नारी पुरुषबाट वासनाको आसक्ति होइन सम्मान र पे्रम चाहन्छन् भन्ने कुरा बुझाउन सके त्यो जर्जियन इन्जिनियर र यो योथा दुवै परिवर्तन हुन्थे होला ।’
..............
छुट्टिने दिन विहान होटलको डाइनिङ हलमा सबै सहभागी भेला भर्यौ । तीन हप्ता लामो अन्तर्राष्टिय सेमिनारको अन्तिम दिन थियो । ज्याकी, म र योथा तीनै जना
एउटै टेबलमा खाजा खान बस्यौँ । मंगोलियन केटी सोलोंगो बिदाइको सुरमा थिई । सबैले उसलाई बिदाइका शब्दसुमन अर्पण गर्दै थिए । सोलोंगोतिर इसारा गर्दै ज्याकीले योथालाई भनी— ‘योथा, तिम्रो हृदयकी रानी आजबाट बिदा हुँदै छे, जाऊ अँगोलामा कसेर सम्मान र प्रेमका साथ बिदाई गर तिनलाई । त्यही खोज्छन् नारीहरु पुरुषसँग नजिक भएर ।’ २०७२।९।२५
।।इति।।
          
 शारदा वर्ष ३ अंक ५, पूर्णांक २९ मा प्रकाशित

Saturday, November 12, 2016

एउटा नयाँ बसोबास स्थलको परिकल्पना

एउटा यस्तो बस्ती, जहाँ निश्चित आचारसंहिता पालन गर्ने मानिसहरु बसोबास गरुन् । मादकपदार्थ प्रतिबन्धित होओस्, लगभग मध्यमस्तरका मानिसहरु होउन्, सामाजिकताको भावना भएका मानिसहरुको बसोबास होओस्, बढी धन हुनेले कम धन हुनेलाई नहेपोस्, बिहानबेलुका भेटघाट गर्ने र भलाकुसारी गर्ने सामुदायिक स्थल होओस्, आआफ्ना रीतिरिवाज मान्नेहरुलाई एक–अर्काले सम्मानको भावले हेरुन्, कसैसँग भएको प्रतिभा देखाउने अवसर समुदायस्तरमा बनिरहोस्, अध्यात्म र विवेकले सबैलाई धेरथोर शासन गरिहोस्, जहाँको वातावरण एउटा आदर्श समाजको वातावरण होओस्, साप्ताहिक
रुपमा नसके मासिक रुपमा समुदायको भेटघाट नियमित होओस् । के यस्तो बसोबास स्थलको परिकल्पना सम्भव छ ? तपाईंले सोच्नुभएको छ ? त्यस्तो बस्तीका लागि आवश्यक ठाउँ पाउनुभएको छ ? छ भने हामीलाई पनि सूचना गर्नुहोस् यदि पाउनुभएको छैन तर त्यस्तो ठाउँमा बस्न इच्छुक हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् । हामी त्यस्तो बस्तीको परिकल्पना लिएर ठाउँ खोज्दै छौँ ।

यो विशुद्ध सामाजिक योजना हो व्यापारिक योजना होइन ।
 
हाम्रा केही मापदण्डहरुः
स्थानः भक्तपुर वा काठमाडौँ जिल्ला ।
जग्गाको मूल्य रु. ३ लाखदेखि रु. ४ लाख प्रतिआना ।
कम्तिमा २० र बढीमा ५० परिवार बसोबास गर्न मिल्ने ।
कम्तिमा १ रोपनी जग्गा समुदायका लागि प्रयोग हुने हुनुपर्ने जहाँ समुदायिक संरचनाहरु बनाउन सकियोस् ।
जग्गाको प्लट कम्तिमा १० आना र बढीमा एक रोपनी हुनुपर्ने ।
मुख्य सडकदेखि बढीमा २ देखि ३ किलोमिटरभित्र हुनुपर्ने ।
जमिन खरिदकर्ताले त्यस बसोबास क्षेत्रको समुदायको सहमतीबेगर अरुलाई बेच्न नपाउने सर्त मन्जुर गर्नुपर्ने ।
पूरै बस्तीभित्र एउटा वा दुईटा गेट बन्द गरेपछि पूरै बस्तीभित्र आवतजावत गर्न नसकिने हुनुपर्ने ।
पुरानो बस्तीबाट केही फरक दूरीमा हुनुपर्ने ।
 
आचारसंहिता
बस्तीभरि एउटै ढाँचाको बढीमा अढाइ तलाको घर बनाउन मन्जुर गर्नुपर्ने ।
मादक पदार्थ सेवन गर्न नपाइने । गरेको थाहा भएमा समुदायसमक्ष सार्वजनिक माफी माग्नुपर्ने ।
सार्वजनिक हितका लागि समुदायले गरेको निर्णयमा अनिवार्य सहभागिताका लागि राजी हुनुपर्ने ।
दुईटी श्रीमती भएको हुनु नहुने ।
चुरोट,खैनी, बींडी आदि धुम्रपानजन्य कुलत हुनु नहुने ।
समुदायले निर्णय गरे अनुरुप साप्ताहिक वा मासिक भेला, बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने ।
आआफ्नो परम्परा र संस्कृतिका अतिरिक्त अध्यात्म, योग वा ध्यानको कम्तिमा एक शिविरमा सहभागी भएको हुनुपर्ने ।
खरिदकर्ता विवाहित हुनुपर्ने ।




Monday, November 7, 2016

मण्डेलाको देश जाँदा झण्डै मृत्युलोक

अक्टोबर १ तारिख बिहान करिब ८ बजेतिर दक्षिण अफ्रिकाको जोहानसवर्ग हुँदै डर्बनका लागि उड्नु थियो । नेपालबाट दोहा जाने विमानभन्दा निकै ठूलो विमान हामीलाई उडाउन तम्तयार थियो । करिब ३६० जना यात्रु बोकेर हामी चढेको हवाइजहाज दक्षिण अफ्रिकातिर उड्यो । करिब ८ घण्टा लामो उडान समय आकासमै बिताउनु थियो हामीले । 

अफ्रिका भन्नासाथ हाम्रो मनमा झ्वाट्ट आइहाल्ने बिम्ब हो मरुभूमि अनि कपाल घुंग्रेका काला र मोटा मानिस । म सानो छँदा सोच्थेँ, बालुवैबालुवाको मरुभूमिमा बस्ने अनि असाध्य गर्मी सहने भएरै अफ्रिकीहरु काला भएका होलान् । तर हवाइजहाजबाट जतिजति दक्षिण अफ्रिका नजिकिँदै गयो त्यतित्यति ससाना, नदी, पहाड, हरिया जङ्गल र घाँसे मैदानहरु देखिन थाले । हवाइजहाजबाट देखिने दृश्यहरुमध्ये एउटा अनौठो र अलि भिन्न दृश्य थियो नाङ्लो जस्तो गोलाकार आकारका खेतबारीहरु । कहीँकहीँ भने पूर्णतः आयाताकार खेतहरुका बीचमा ठूलाठूला गोलाकार खेतबारी । त्यस्तो आकारका खेतहरु मैले एसिया र युरोप घुम्दा कहीँ पनि देखेको थिइनँ । त्यसभित्र पानी र जमिन व्यवस्थापनको के कस्तो रहस्य थियो त्यो जान्ने मौका नपाए पनि मलाई ती नाङ्लो आकारका खेतबारीहरुले निरन्तर जिज्ञासु बनाइरहे । हामी जोहानसबर्ग पुग्यौँ करिब सात घण्टाको उडानपछि ।
 
जोहानसबर्गमा करिब एक घन्टा रोकिएर जब हाम्रो विमान डर्बनतर्फ बढ्यो दिन क्रमशः हामीबाट टाढा हुँदै गयो अनि रात हामीतिर तन्किँदै गयो । करिब ३२००० फिटको उचाइमा पनि आकासमा बाक्लो कालो बादल अनि अँध्यारो । हुनतः राडारयुक्त हवाइजहाजका लागि के रात के दिन तर पनि मानिसको मन न हो देखेपछि अनेक आशंका । साथीहरु भन्दै थिए, यस्तो बादलमा त हल्लिन्छ जहाज पनि, साह्रै गाह्रो हुन्छ । लामो यात्रा अनि उचाइको घटबढ । सबैको मुख अँध्यारो थियो । परिचारिकाहरुले खाजा बाँडिसकेका थिए, यात्रुहरु कोही खाने सुरमा थिए त कोही चुपचाप बाहिर नियाल्दै । घरी विमान बादलभित्र पस्थ्यो घरी बाहिरिन्थ्यो । बादलभित्र पस्दा जहाज ढल्पलाउँथ्यो । शरीर सिररिङ्ग हुन्थ्यो । 

जोहानसबर्गबाट उडेको करिब २० मिनेटपछि हामी चढेको हवाइजहाज निकैबेर बादलभित्र उडिरह्यो । ढलपल गरिरह्यो । यात्रु चिच्याउने र सिट बेस्सरी पक्डेर थामिने प्रयास गर्न गाले । सबैको अनुहारमा पनि बादल लागिसकेको थियो । जहाज एक्कासी सयौँ फिट तल झ¥यो, बादलबाट बाहिरिन । सबै चिच्याए । यसरी चिच्याए मानौँ सबै अन्तिम सास लिँदै छन् र सासले शरीर छाड्ने अवस्था छ । सबै यात्रुहरु भयंकर दुर्घटनाको संघारमा छन् अनि अन्तिम पुकार गर्दैछन् भएभरको शक्ति निकालेर । 

कोही चिच्याउँदै थिए, कोही रामराम भन्दै थिए अनि कोही भने अवाक् थिए कालो मुख लगाएर । एक जना अफ्रिकन महिलाले त सिटमै पिसाब फेरिछन् । त्यसको केही समयमै जहाजले पुनः स्थिर गति लियो । सबै सम्हालिए तर अनुहारमा भयको पहाड चुलिएकै थियो ओठमुख सुकेको थियो सबैको । मृत्युको भय कति डरलाग्दो ! आखिर नमर्ने त कुन मानिस छ र संसारमा ? तर पनि मृत्युको कल्पनाले मात्र पनि मानिसको मन हल्लिन्छ नराम्ररी । बाँच्नका लागि भरमग्दुर प्रयास गर्छ मान्छे सबै बल प्रयोग गरेर । त्यस दिन पनि त्यही भएको थियो । मानिसहरु भएभरको शक्ति लगाएर बाँच्न उद्यत थिए । 

करिब बीश मिनेटपछि हामी डर्बनको साका अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यौँ । भयपूर्ण अनुहारमा विमानबाट बाहिरिँदै गरेका यात्रुतिर आँखा लगाएर मुस्कुराउँदै ढोकामा उभिएका थिए क्याप्टेन । यात्रीहरु क्याप्टेनलाई ज्यान बचाएकोमा कृतज्ञता व्यक्त गर्दै थिए । उनी चाहिँ मुस्कुराउँदै भनिरहेका थिए— ‘हावामा उड्ने जहाज कहाँ रेलजस्तो सरर पट्टिमा हिँड्छ र यो त हावामा उड्छ, यो सामान्य घटना हो ।’

उनी पेशेवर थिए सधैँ यस्ता जोखिम मोलेर हावामा उडिरहने । हामी भने आक्कलझुक्क्ल चढ्ने यात्रु । मनोविज्ञान सबैको आआफ्नै थियो, आआफ्नै अनुभव मिसिएको । 

हामी डर्बन एयरपोर्टबाट बाहिरिँदा साँझको करिब सात बजेको थियो । चिसो सिरेटोले ज्याकेट खोज्न बाध्य पा¥यो । सबैले आआफ्ना ब्यागबाट ज्याकेट निकाले, कोट निकाले अनि चिसो सिरेटोबाट शरीर सुरक्षित पार्ने प्रयास गरे । 

‘समुद्री किनारको शहर हो, मौसमको कुनै भर हुँदैन, न्यानो लुगा चाहिँ हालिराख्नुपर्छ ।’ काठमाडौँ छाड्नुअघिको हाम्रो अनुमान सही थियो । त्यस दिन डर्बनमा हावाहुरीयुक्त मौसमले राज गरिहेको थियो । निकै चिसो । छिनछिनमा बदलिइरहने डर्बनको त्यही चिसो सिरोटोसँग पौठाजोरी गर्दै नेल्सन मण्डेलाको मातृभूमि दक्षिण अफ्रिकाको डर्बन नर्थस्थित होटल रिभरसाइडमा बास बस्न पुग्यौँ १६ जनाको नेपाली टोली । (बाँकी  अर्कोमा)  

Wednesday, November 2, 2016

वायुसेवाले चिनिएको देश

सन् २०१६ को सेप्टेम्बर महिना । चीन र थाइल्याण्डको करिब एक महिना लामो घुमफिर सकेर घर फर्केको भोलिपल्ट बिहानै साथी इन्द्रदेव मिश्रले फोन गरेर भने– ‘दक्षिण अफ्रिकाको डर्बन शहरमा हुने विश्व ट्रेड युनियन महासंघको विश्व–भेलाको लागि निमन्त्रणा आएको छ, टिकट बुक गरिसकियो, अब भिसाको लागि पासपोर्ट श्रीलंका पठाउनुपर्ने छ, आजै पासपोर्ट लिएर मेरो अफिसमा आउनुहोला । हामी तपाईंलाई नै कुरिरहेका छौँ ।’ 

एक महिना लामो विदेश यात्राको थकाइ मर्न नपाउँदै फेरि के विदेश लाग्नु ! शरीर थकाइले थिलथिलो भएको थियो, मन पनि एक तमासको । धेरै दिनपछि घरमा आइपुगेको, थकाइ नमर्दै फेरि विदेश यात्रामा जान अलि असजिलो लाग्यो मलाई । हुनत विदेश यात्रा गर्न पाउँदा पियन गए हुने कार्यक्रममा मन्त्री जाने देशको बासिन्दा हुँ म तर त्यो पनि अवसर नपाउँदाको चाहना मात्रै रहेछ । जुन कुरा सहजै उपलब्ध हुन्छ त्यसमा क्रमशः चाख घट्दै जान्छ मानिसको । 

मलाई पनि लाग्थ्यो, विदेश घुम्नु, त्यसमा पनि लामोलामो हवाइयात्रा गरेर संसारका रमाइला र विकसित देशहरु डुल्न, बुझ्न र घुम्न पाउनु त अहोभाग्य नै हो जीवनको । अवसर आउँदा यस्ता कुरामा दौडिहाल्नुपर्छ । युरोपेली र अमेरिकी देशहरु घुम्न पाउने हो भने त घरखेतै बेचेर जाऊँ भैmँ गर्ने निकै छन् हाम्रो समाजमा । हेर्नु, बुझ्नु, अवसरहरु खोजी गर्नु स्वाभाविक हो तर, त्यसको पनि त उद्देश्य हुन्छ । मलाई आजभोलि त्यस्ता ठाउँ घुम्न जाँदा लेख्ने बिषयहरु प्राप्त हुन्छ, जीवन बुझिन्छ, ठाउँ र मानिसको संस्कार र संस्कृति बुझिन्छ भन्ने लाग्छ । त्यसैले म त्यस्ता ठाउँहरु हेर्न र घुम्न इच्छुक हुन्छु । 

दक्षिण अफ्रिकामा हुने विश्वभरका मानिसको जमघटमा सामेल  निम्ता आउनु सुखद कुरा भए पनि मेरो मन खासै उत्साहित हुन सकेन त्यो खबरले । नजिकिँदो महान् चाड दशैँ अनि निकै लामो हवाइयात्रा । म चाम्रिएँ ।

मनमा लागिरहेको थियो, ‘लामो समयको विदेश यात्राबाट भर्खर घर फर्केको छु, जेटको धङधङी अझै सकिएको छैन, तत्कालै फेरि विदेश घुम्ने दौडधूपमा के लाग्नु, कुनैबेला फेरि पनि त अवसर आउन सक्छ ।’ 

‘मलाई तत्कालै विदेश यात्राको रहर छैन मिश्रजी, यसपटक मलाई छोडिदिनुस् । अरु साथीहरु छँदैछन् म नगए के फरक पर्ला र !’ मैले अफ्रिका भ्रमणको अनिच्छा प्रकट गरेँ । 

‘अफ्रिका भनेर अल्छि मान्नुभएको त होइन ? त्यसो हो भने एक पटक फेरि सोच्नुहोला । ठाउँ त ऐतिहासिक हो, सुन्दर पनि छ भन्छन् साथीहरु । यो एउटा अवसर पनि हो अफ्रिका बुझ्ने र घुम्ने । सकभर जाऊँ ।’

मिश्रजीले मलाई यात्राको औचित्य सिद्ध गर्न निकै जोडबल लगाए । हवाइ टिकट आपैmँ खर्च गर्नुपर्ने । हिसाब गर्दा करिब २ लाखको हाराहारीको हिसाब आयो । झ्वाट्ट निर्णय गरिहाल्न सकिनँ । दुई दिन बित्यो अलमलमै ।
‘भिसाको लागि पासपोर्ट पठाउने दिन अन्तिम हुनै लाग्यो । भोलि त नपठाइ हुँदैन, यात्राबीमा गराउनै बाँकी छ, त्यो नभइ भिसा दिँदैन । पासपोर्ट पठाएको करिब २१ दिनपछि मात्र भिसा आउँछ भनेका छन् कन्सुलरले । त्यसैले आजै निर्णय गरिहालौँ । धेरै कुरा नसोचौँ, जाऊँ डर्बन ।’ मिश्रजीले अन्तिम जोड लगाउँदै फेरि घच्घच्याए मलाई । 

उनले यति भनेपछि मैले पनि सोचेँ, संसारलाई अहिंसात्मक आन्दोलनको बाटो देखाउने महात्मा गान्धीले स्वतन्त्रता र अधिकार प्राप्तिका लागि अठोट लिएको ठाउँ त दक्षिण अफ्रिकाको डर्बन नै हो, जहाँबाट उनले काला र हेपिएकाहरुलाई ब्यँुझाएर आफ्नो अधिकारका लागि सचेत बनाउने संगठित प्रयासको सुरुआत गरेका थिए । त्यस्तो ऐतिहासिक ठाउँ हेर्ने र घुम्ने एउटा अवसर आएको छ, भेला त एउटा बहाना न हो ।’ मैले निर्णय लिएँ, दक्षिण अफ्रिकाको डर्बन जाने । 

मिश्रजीको कुरामा सहमति जनाउँदै भनेँ– ‘हुन्छ, म आजै तपाईंको अफिसमा आवश्यक कागजात र पासपोर्ट छोड्छु ।’

यात्राबीमाको कागज र पासपोर्ट जिम्मा दिएपछि सबै व्यवस्था मिश्रजीले मिलाए, हामी भिसाको प्रतिक्षामा बस्यौँ । उड्ने दिन नजिकिन थाल्यो, हवाइ कम्पनीले टिकट लिन ताकेता गरेर हैरान पार्न थाल्यो भिसाको नामोनिशान छैन । खबर पनि छैन । पटकपटकको ताकेतापछि बल्लतल्ल उड्ने अघिल्लो दिन हाम्रो हातमा पासपोर्ट आइपुग्यो भिसा लागेर । आखिर एसियाली र अफ्रिकीहरुको कार्यशैली उस्तै रहेछ, ताकेता नगरी काम सम्पन्न नहुने ।

कतारको हमाद एयरपोर्टः शासकीय दूरदृष्टिको नमूना  

काठमाडौँबाट सेप्टेम्बर महिनाको ३० तारिख कतार एयरवेजको उडानबाट दोहा हुँदै दक्षिण अफ्रिकाको डर्बनका लागि प्रस्थान गरियो रातको करिब ११ बजेतिर । करिब ५ घण्टा ३५ मिनेटको उडानपछि हामी कतारको दोहा ओर्लियौँ । 

ओर्लनासाथ हाम्रो गन्तव्य थियो अर्को उडान पर्खने ट्रान्जिट लाउन्ज, जहाँ हामीले बिहान करिब आठ बजेसम्मको समय कटाउनु पर्ने थियो । समय मनग्य थियो तर रातिको समय भएकाले घुम्ने ठाउँ भने त्यही हमाद एयरपोर्टको टर्मिनल मात्र । 

सुख्खा बालुवैबालुवाको मरुभूमिको छेउमा समुद्री किनारसँगै बनाइएको हमाद अन्तर्राष्ट्रिय विमानस्थल कतारी अमीरको दूरदृष्टिको उपज थियो । दोहालाई संसारकै ट्रान्जिट प्वाइन्ट बनाउने दूरदृष्टिसाथ निर्माण गरिएकाले विमानस्थलको सुविधा र संरचना दुवै भव्य थिए । जताततै फराकिला लाउन्ज, सुरक्षा जाँचका लागि छिटो र छरितो सेवा अनि संसारकै फराकिलो क्षेत्रमा ड्युटी फ्रि पसलहरु । विमानस्थलभित्रको भव्यता र सुविधा हेरेपछि मलाई लाग्यो, विकास र उन्नति, स्रोत, साधन अनि यो वा त्यो खाले शासकले ल्याउने होइन रहेछ । शासक राजा होओस् वा जनताको छोरो त्यसले केही फरक पर्दैन, बरु उसको दूरदृष्टि र इमानदारीता मुख्य रहेछ देश बदल्नका लागि  । सोचले नै ल्याउँदो रहेछ विकास र अविकास । श्रोत जम्मा गर्ने र उपयोग गर्ने सामथ्र्य पनि सोचले नै ल्याउँदो रहेछ । 

जम्मा ११,५८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अरब खाडीको किनारमा रहेको यो सानो देश आकार र जनसंख्या दुवै हिसाबले संसारका साना देशमा नै गनिन्छ । तर विश्वको नं. १ धनी देश बनेको छ । स्वदेशीभन्दा विदेशी मानिस बढी छन् द्शमा । साधन र स्रोतको नाममा मात्र ग्याँस छ । न खेतिपाती न आरामदाउक प्राकृतिक वातावरण । तर त्यो देशको नाम नसुन्ने मानिस सायदै होलान् संसारमा । कसरी गर्न सक्यो यति सानो देशले यति उच्च विकास ? कसरी संसारभर चिनाउन सक्यो आपूmलाई ? विश्वमा कतारको पहिचान र प्रभाव दुवै उच्च छ । यसको एउटै कारण छ, कतारी शासकको समृद्धिको सोच । 

कतारलाई संसारभर चिनाउने दुई मुख्य कुरा छन्, कतार एयरवेज र दोहाको हमाद विमानस्थल । सन् २००३ मा कतारका अमीर अलथानीले आफ्नो देशको ग्यास भण्डार रित्तिएपछि देशलाई कसरी बचाइराख्ने भनेर सोच बनाए, हवाइ व्यवसाय मार्फत् संसारभर दोहा र कतारलाई चिनाउने । त्यसका लागि आवश्यक थियो एक सुविधासम्पन्न एयरपोर्ट अनि मनग्गे हवाइजहाज भएको हवाइजहाज कम्पनी अनि ती दुवै कुराको चुस्त र दुरुस्त व्यवस्थापन । 

सन् २००३ देखि २००५ सम्म सबै डिजाइन र ठेक्काको काम सकेर विमानस्थल निर्माण सुरु भयो । २००९ मा सबै काम सकिने गरी काम सुरु भएको भए पनि अनेकन बाधा झेल्यो विमानस्थल निर्माणका बेला त्यहाँको सरकारले । संसारका ठूला देशका ठूला ठेकेदारहरुलाई काम दिँदा उनीहरुको हेपाइ, ढिलासुस्ती अनि अनेकन बहानाबाजी । कतिपटक त ठेकेदार कम्पनीलाई ढिलो काम गरेवापत जरिवाना समेत तिराएको रहेछ । बल्लतल्ल २०१४ मा हालको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक सुरुआत हुन सकेको रहेछ । यही एयरपोर्ट र एयरवेजले कतार जस्तो सानो मुलुकलाई विश्वभर चिनाउन सकेको छ अहिले । यसैबाट आपूmलाई चिनाउन सक्ने भिजन छ कतारी अमीरको । उनकै भिजन अनुसार निर्माण गरिएको थियो त्यो भव्य र फराकिलो विमानस्थल जहाँबाट वार्षिक रुपमा पाँच करोड देखि दशकरोड मानिस यात्रा गर्न सक्छन् । त्यसका लागि आवश्यक सबै व्यवस्था रहेछ विमानस्थलमा । आरामका लागि चाहिने सुविधासम्पन्न होटल, रेष्टुरेन्ट, सपिङ स्थल, आराम कक्ष र सुरक्षा जाँचको व्यवस्था आदि सबै भविष्यलक्षित । काम गर्ने मानिसहरु सबै विदेशी । सबैभन्दा बढी त नेपाली कामदारहरु । विमानस्थल ओर्लनासाथ जताततै नेपाली अनुहारका मानिसहरु व्यवस्थापनमा खटिएका देख्ता र नेपाली भाषामा कुराकानी गरिरहेको सुन्दा सुरुमा त मलाई त आफ्नै देशमा छु कि जस्तो पनि लाग्यो । तर म थिएँ त अरबमा, विदेशी भूमिमा । नेपालका विभिन्न जिल्ला र गाउँबाट काम गर्न त्यहाँ पुगेका नेपालीहरु नै भेटिन्थे जहाँसुकै काम गर्ने । फाट्टफुट्ट देखिन्थे भारतीय र अन्य काला वर्णका मानिसहरु । 

व्यवस्थापनको नमूना कतार एयरवेज

कतारको त्यो विमानस्थलसँगै अर्को आकर्षणको बिषय थियो कतार एयरवेज । । संसारका १५० भन्दा बढी गन्तव्यलाई जोड्ने कतारको हमाद विमानस्थलको चारैतिर देखिन्थे कतार एयरवेजका मझौलादेखि ठूला विमानहरु । 

सन् १९९३ मा स्थापित यस कम्पनीका हाल १८० वटाभन्दा बढी विमानहरुले संसारभरका यात्रुहरु ओसारिरहेका छन् । करिब २४,००० मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्, भने करिब ४०,००० मानिसले अप्रत्यक्ष । सन् २०२० सम्ममा अरु १०० ठूला हवाइजहाज थप्ने र आफ्ना उडानहरु संसारभर फैलाउने योजना बनाएको रहेछ । 

विमानस्थल व्यवस्थापनमा खटिएका नेपालीहरु गौरवसाथ सुनाउँथे कतारको विकास र व्यापारका ती आश्चर्यजनक कथाहरु । जब आफ्नो देशको हवाइ कम्पनीको अवस्था सम्झन्थे उनीहरुका आँखामा आँसु टिल्पिलाउँथ्यो । हामी श्रोता बनेर सुनिरहेका थियौँ आश्चर्यका आँखा उघारेर । हाम्रीसँग चारवटा विमानको व्यवस्थापन गर्न नसकेर वेहाल छ । यात्रु नपाएर आधा यात्रु लिएर उड्छन् नेपाल वायु सेवा निगमका विमानहरु । उडान समयमा नहुने अनि प्राविधिक समस्याले बेलाबेला हैरानी व्यहोर्नुपर्ने कथा त अब समाचार नै हुन छाडिसक्यो । उनीहरु भने १८० भन्दा बढी विमानहरु टनाटन यात्रु भरेर संसारभर उडाउँछन् । संसारकै उत्कृष्ट कम्पनीमा पर्छ कतार एयरवेज । सेवा, सुविधा र समयतालिका पालना गर्ने कम्पनीमध्ये अब्बल कम्पनी मानिएको रहेछ सन् २०१६ मा । व्यावसाय गर्ने जोश र भिजनका ती कथा रात्रीकालीन आरामसँगै हाम्रा कानमा गुन्जिरहेका थिए नेपालीकै मुखबाट । 

हामीले राजा फाल्नमा लागेर आन्दोलनमाथि आन्दोलन गरेर गणतन्त्र ल्याउँदा पनि झन्झन् अधोगतितिर लागिरहेका छौँ, उनीहरु तिनै राजालाई मानेर शान्ति र अनुशासनसाथ आश्चर्यजनक विकासतिर लम्किरहेका छन् । आखिर राजनीतिक प्रणाली साधन हो साध्य होइन भनेर बुझ्न हामीलाई अझ कति वर्ष कुर्नुपर्ने हो ठेगान छैन ।

सुविधासम्पन्न एयरपोर्ट

करिब १० घण्टाको ट्रान्जिट परेकाले हामी सबैजना आराम गर्ने कक्षको खोजीमा लाग्यौँ । ट्रान्जिट लाउन्जको दुवैतिर सुत्न मिल्ने ‘फेमिली रुम’हरु थिए । त्यहाँभित्र पसेर आरामसँग सुत्न सकिन्थ्यो । अलि बढी पैसा खर्च गर्ने हो भने एयरपोर्टभित्रै आरामदायक होटलको सुविधा पनि थियो । खाना खानका लागि क्याफे र रेष्टुराँहरु त हुने नै भए । ‘हमाद एयरपोर्ट संसारकै ठूला र सुविधासम्पन्न एयरपोर्टमा कुम जुधाएर उभिन सक्ने सुविधा सम्पन्न एयरपोर्ट हो’ भन्दै थिए त्यहीँ काम गर्ने एक जना नेपाली कामदार विनोद रोका ।  

करिब २२०० हेक्टर क्षेत्रफलमा फैलिएको हमादमा दुई समानान्तर रन वे छन् जुन मध्य एसियाको सबैभन्दा लामो रन वे मा पर्दछ भने विश्वका लामा रन वे मध्येमा एक । एउटा रन वे ४२५० मिटर लामो र ६० मिटर चौडा छ भने अर्को चाहिँ ४८५० मिटर लामो र ६० मिटर चौडा । दोहा सहरभन्दा केही पर समुद्रको किनारमा रहेको यो एयरपोर्टको आधाभन्दा बढी भाग चाहिँ समुद्र पुरेर बनाइएको छ । समुद्रकै पानी प्रशोधन गरेर रुख बिरुवा लगाइएका छन् हरियालीका लागि । विकासको भिजन र व्यवस्थापनको त्यो कतारी नमूनाका तस्वीरहरु मनमा सजाउँदै हामीले करिब १० घण्टा लामो ट्रान्जिट समय बितायौँ आराम कक्षमा । 

हमाद र कतार एयरवेजले मलाई झक्झक्याइरहे । ती दुवैले भन्दै थिए, देशको विकास र समृद्धि पैसाले र स्रोतले हैन शासकको सोच र इमानले ल्याउँछ । कहिले आउने होला हामीकहाँ त्यो कतारी सोच ? कहिले पाउने होला मेरो देशले त्यो हमाद अल थानीजस्ता शासक ? वर्तमानको निराश आँखाबाट भविष्यका आशा सँगाल्नुबाहेक केही उपाय थिएन मसँग । म त्यही आशावादी भावना लिएर, एक दिन त हामीले पनि कस्तो नपाउँला त एउटा अलथानी भन्दै तयार भएँ दक्षिण अफ्रिकातिर उड्नका लागि जुन हाम्रो गन्तव्य थियो यात्राको । (बाँकी अर्कोमा)

Wednesday, September 7, 2016

आहा, त्यो नृत्य !

अगस्त महिनाको २१ तारिख सन् २०१६ । चीनको सिन्ज्याङ विज्ञान तथा प्रविधि केन्द्रको आयोजनामा संचालित आधुनिक कृषि र सिँचाइ प्रविधि बिषयको तीनहप्ते अन्तर्राष्ट्रिय कार्यक्रमको समापन हुँदै थियो भोलिपल्ट । अघिल्लो दिन आयोजक समूहका सदस्य मिस्टर लीले दिउँसोको खाना खाँदै गर्दा सूचना गरे– ‘आज बेलुका ठीक सात बजे हामी होटलबाहिर निस्कने छौँ, सबै जना तयार भएर लबीमा आउनु होला ।’ 

भोलिपल्ट करिब तीन हप्ताको सिन्ज्याङको सेहेजी बसाइ र घुमफिर सकिँदै थियो । त्यो सुन्दर सेहेजी शहरले हामीलाई कताकता मोहनी लगाएछ क्यार विदाइको पीडाले अलि गह्रौँ भएको थियो सबैको मन । विदाइ स्मरणीय बनाउनमा साह्रै खप्पिस मानिन्छन् चिनीयाँहरु । विदाइ उत्सव मनाउन सबै सहभागीहरुलाई शहरभन्दा केही टाढाको रिसोर्टमा लैजाने योजना बनाएका रहेछन् आयोजक समूहले । 

ताजिकिस्तानका सहभागीहरु भन्दै थिए– हामी त बिहानै निस्कन्छौँ, भोलि भेट होला–नहोला अहिले नै वाइ भनिराखौँ है । उता पाकिस्तानी साथीहरु भन्दै थिए भोलि सँगै जान्छौँ हामी पनि । मंगोलियाकी सहभागी कलिली थिइन्, छोरी जस्तै । भन्दै थिइन्, तपाईंहरु नभएको भए मेरो बसाइ यति रमाइलो र स्मरणीय हुने थिएन, बेलाबेला सम्पर्क भइरहोस् है । 

केही दिन मात्रै सँगै रहेका भए पनि साथीत्व गाँसिएपछिको विदाइ जस्तोसुकै मानिसलाई पनि पीडाबोध त हुँदो रहेछ नै । त्यसैले होला छोरी विदाइमा बाबुआमाका आँसु थामिँदैनन् । भोलिको कुरा कसले पो जान्दछ र, के हुन्छ के ! तीन हप्तामा एक–अर्काको भाषा, संस्कृति, रीतिरिवाज र प्रविधिको चर्चापरिचर्चा गर्दागर्दै ९ वटा देशका २४ सहभागी आपसमा अन्तर्घुलित भइसकेका थिए । आत्मीयताको लहरो बेरिइसकेको थियो एक अर्काको हृदयलाई लपेट्दै ।

हाम्रो देशमा जस्तो ७ बजे साँझ पर्दोरहेनछ सिन्ज्याङमा । करिब १६ घण्टाको दिन थियो हामी त्यहाँ गएको बेला । बिहान ६ बजे उज्यालो भएर १० बजे बेलुकासम्मै घाम लागिरहने । ७ बजे त दिउँसो जस्तै । सबै जना तयार भएर लबीमा भेला भयौँ । आयोजकले होटलबाहिर बस पर्खिरहेको संकेत गर्दै सबैलाई बसतिर अगुवाइ गरे ।
सबै सहभागीलाई भित्र राखेर बस शहरको बीचोबीच गन्तव्यतिर लम्कियो । करिब आधा घण्टाको यात्रापछि बस रोकियो सडकको छेउमा रहेको एउटा हरियालीयुक्त ठाउँमा । वरिपरि धेरै ठूला भवनहरु थिएनन् । झपक्क ढाकेको थियो हरियालीले । प्रवेशद्वारको बाहिरपट्टि सुन्दर ढंगले सजाइएको बगैँचामा ढकमक्क पूmलेका पूmलहरु तँछाडमछाड गर्दै सुन्दरता पस्किरहेका थिए हाम्रो स्वागतमा । हामी सबै जना बसबाट ओर्लेर त्यही हरियालीयुक्त पार्कजस्तो स्थानतिर बढ्यौँ, आयोजक समूहसँगै ।

अगाडि बढ्नासाथ दुवैतिरबाट अंगुरका लहरायुक्त टनेलभित्र पसियो । दुवैतिर अंगुरका झुप्पा टाउको छोउँलाभैmँ गरेर झुण्डिरहेका थिए विभिन्न रंगमा सजिएर । अलि अगाडि थिए नृत्यमुद्रामा स्वागत गर्न तयार भएर मीठो सांगीतिक धूनमा लयबद्ध भएका केही जोडा युवा र युवतीहरु । अलि अगाडि बढेपछि दुईजना युवतीहरु बाटो छेकेर कपडाको तगारो तन्काएर बसेका थिए । एक जना युवा हातमा कुनै सुन्दर पेय लिएर प्यालामा हाल्दै थिए अनि अर्की झकिझकाउ सुन्दरी युवती चिनीयाँ सिल्कको आकर्षक पहिरनमा सजिएर हातमा सानो किस्तीमा पेययुक्त प्याला आगन्तुकतिर अघि सार्दै थिएन् मादक मुस्कानका साथमा । शिरमा ‘क्वीन’को ताज पहिरेकी सुन्दरी झलक्क हेर्दा कुनै महारानीभन्दा कम थिइनन् । रुप, पहिरन, श्रृङ्गार सबै कुराले परिपूर्ण ती युवतीको रुपले न लठ्याउने मानिस शायद कोही हुँदैनथ्यो । हामीसँगै गएका सहभागीहरु पनि उनको रुपले हुनसम्म तानिएका थिए एकोहोरिएर । पुरुषहरु मात्र होइन सँगै गएका महिला साथीहरु पनि लठ्ठ परेर उसैतिर आँखा लगाइरहेका थिए । मादक रुप र मुस्कानका साथ एकएक गरी पेय पस्कँदै गरेकी ‘क्वीन’लाई देख्नासाथ सबैले जिब्रो टोके, खासखुस आवाजमा सबैजना भन्दै थिए, ‘यस्तो रुप र सुन्दरता पनि हुन्छ संसारमा !’

कुनै कुसल कालिगढमा वर्षौं लगाएर कुँदेको कलात्मक वस्तुझैँ तिनको रुप देखेर सबै सहभागीहरु झुम्मिए फोटो खिच्न र खिचाउन । प्याला एउटै थियो घरिघरि पेय पस्कने । सबैले एउटै प्याला रित्याउँदै राख्दै जाने अनि अर्कोले फेरि त्यही प्यालामा पेय लिँदै रित्याउँदै ट्रेमा राख्ने । एकएक गरी सबै आगन्तुकलाई पेय दिँदै अघि बढ्न संकेत गर्दै थिए सँगै बसेका अर्का स्वागतार्थी । पेय लिने र फोटो खिचाउने रहर मेटिएपछि रिसोर्टका म्यानेजरले हामीलाई अगुवाइ गरे एउटा भव्य मुगल शैलीको भव्य हलतिर । बाहिरबाट हेर्दा सामान्य देखिए पनि भित्र भने असाधारण र भव्य थियो त्यो हल ।

बाहिर खुल्ला ठाउँ, भित्र गुम्बज आकारको भव्य हल । हलभित्र बडेमाका डाइनिङ टेबुलहरु सजाएर राखिएका । मधुर संगीतको गुन्जनले हल गुन्जायमान । पस्दापस्दै मन फुरुङ्ग पार्ने वातावरण । एकापट्टि खालि ठाउँ, छेउमा म्युजिक सिष्टम । आपूmले चाहेको गीत बजाएर त्यसकै स्वरमा स्वर मिलाएर गाइने काराओकेको पनि सुविधा ।
संगीतको मधुरता र लयसँगै क्रमशः साँझ छिप्पिँदै गयो । रिसोर्ट भएर पनि त्यहाँ रक्सी खाने चलन भने रहेनछ । नाच्ने गाउने र भरपूर मनोरञ्जन लिने वातावरण भए पनि अश्लिलता र छाडापनबाट पूरै टाढा । प्राचीन नृत्य र संगीतको सुन्दर कलामा रमाउनु र साँझलाई अविस्मरणीय बनाउनु त्यहाँका पाहुनाका लागि अवसर हुन्थ्यो ।
आयोजक समूहका साथीहरुले सुरुमा केही खाँदै मनोरञ्जनमा सहभागी हुन फ्लोर खुला गरे । उनले भने– ‘शुरुमा हामी भोजन गर्नेछौँ । त्यसपछि साँझ छिप्पिँदै जाँदा सबैले आ–आफ्ना देशका गीत गाउने र नाच्ने काम गर्नेछौँ । यहाँका नर्तक र नर्तकीहरुद्वारा यस सिन्ज्याङको ग्रामीण भेकमा नाचिने केही नृत्यहरु प्रस्तुत हुनेछन् । ती नृत्यहरु सिन्ज्याङको प्राचीन धरोहर हुन् जो प्राचीनकालदेखि अहिलेसम्म जस्ताको तस्तै जोगाएर राख्न सफल भएका छौँ । यहाँका नर्तक र नर्तकीहरुले तपाईंहरुलाई तिनै लोकनृत्य र प्राचीन कलाको झल्को प्रस्तुत गर्नेछन् । आशा छ यसले तपाईंहरुको आजको रात अविस्मरणीय हुनेछ ।’

म जतिपटक चीन भ्रमणमा गएको छु, चिनीयाँहरुमा आफ्नो प्राचीन कला, संस्कृति र इतिहासप्रति सधैँ गौरव गर्ने र विदेशीहरुसमक्ष आफ्नो धरोहरप्रति गौरवबोध गरेको भाव प्रस्तुत गर्ने गरेको पाएको छु । चाहे ऐतिहासिक धरोहर होउन् वा साँस्कृतिक वा आधुनिक वास्तुकला र आर्किटेक्चर डिजाइनका संरचना उनीहरु विदेशीसमक्ष प्रस्तुत हुँदा गौरवका साथ प्रस्तुत हुन्छन् र त्यसलाई महत्वका साथ चिनाउने प्रयास गर्छन् । त्यस दिनको साँझ पनि त्यही गौरवमय धरोहर चिनाउने प्रयास थियो उनीहरुको ।

साँझ छिप्पिँदै गयो । वरपरका स–साना हलहरु पनि संगीतले गुन्जायमान हुन थाले । आयोजकले कार्यक्रमको सुरुआत गरेको करिब एक घण्टापछि एकाएक हामीलाई स्वागत गर्ने नर्तक र नर्तकीहरु हाम्रो हलमा प्रवेश गरे । चिनीयाँ शैलीमा आधा शरीर निहु¥याएर सबैलाई अभिवादन गरे अनि सुरु गरे उनीहरुको कला प्रस्तुत गर्न । रातो चिनीयाँ सिल्कमा टमक्क मिलेको पहिरनमा चम्केका नर्तकीहरु अनि आकासे नीलो सिल्कको पहिरनमा सजिएकी ‘क्वीन’को मिश्रित समूहले जब हलभित्र नृत्य गर्न थाल्यो, मलाई लाग्यो इन्द्रसभामा नाच्ने परीहरु यिनै हुन्, प्राचीन कलाका धरोहर । रुप, कला र माधुर्यको त्रिवेणी लिएर यिनीहरु भर्खरै इन्द्रसभाबाट ओर्लेका छन् सिन्ज्याङमा, हामीलाई आनन्दित बनाउन । 

जब उनीहरु दर्शकतिर हेर्दै मुस्कुराउँदै घुमीघुमी संगीतको तालमा लयबद्ध हुँदै नाच्न थाmले मैले एकएक गरी सम्झेँ दन्त्यकथामा पढेका अप्सराहरुका रुप र नृत्य । नृत्यको ताल र लयमा दर्शकहरु खाना छोडेर उनीहरुतिरै फर्के । खान बिर्से, देश बिर्से, विछोड हुने भोलिपल्टको दिन बिर्से, प्राचीन कलाको त्यो मधुप्यालाले सबै सहभागीहरुलाई भावनाको तरङ्गमा पगाल्दै लग्यो रातको सन्नाटासँगै ।

जब दर्शकहरु भावनामा पग्लँदै गएको अनुमान गरे नृत्यांगनाहरुले अनि एकएक गर्दै सँगै नाच्न र मनलाई अझ भावनामय बनाउन अनुरोध गर्न थाले नजिकै आएर । चर्को स्वरमा गाइने कर्कस गीतहरु होइन, मानिसको हृदयको तार झन्झाउने लयदार मधुर संगीतमा उनीहरुले दर्शकलाई झुम्न बाध्य पार्दै गए । नशालु पेयको मादक प्याला चाहिएन कुनै दर्शक र नर्तकलाई त्यस दिन । उनीहरु स्वयम्भित्रको मादक आनन्दको प्याला पिउँदै नर्तकीहरुलाई साथ दिइरहेका थिए त्यो रात । यति शालिन, यति भव्य र यति आकर्षक तरिकाले उनीहरुले दर्शकलाई भावनात्मक आनन्दको मादकता पान गराए, त्यो क्षण शब्दातीत थियो, तर्कातीत थियो अनि अवर्णनीय थियो । सबैले देश, पद, उमेर सबै बिर्सेर नृत्यमा झुमे, नाचे अनि रमाए । त्यहाँ कोही संस्थाका प्रमुख थिएनन्, कोही देशका उच्च आहोदावाल थिएनन्, थिए त केवल एक सामान्य मानिस जो आफूलाई तिनै नर्तकहरुको शालीन नृत्यसाथ घुलमिल गराइसकेका थिए । 

सबै सहभागीहरु चरम आनन्द र उर्जातिर बढ्दै थिए नर्तकीहरुको समूह बाहिरियो केही समयका लागि । क्रमैसँग हरेक हलभित्र पालैपालो त्यसैगरी आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गरिँदो रहेछ त्यहाँ । पालैपालो फेरि केही समयपछि देखापरे उनीहरु । सहज, स्वाभाविक अनि उर्जावान् रुपमा प्रस्तुत भइरहे पटकपटक सबै कलाकारहरु । न त थकाइ थियो उनीहरुको अनुहारमा न कुनै दिक्दारीको भाव । कलाकारहरुको शालीनता, उनीहरुको कलाप्रतिको श्रद्धाभाव अनि दर्शकप्रतिको निष्ठा देखेर मेरो मनले बारम्बार उनीहरुको त्यो सुन्दर रुप र त्यो शालिन व्यवहारप्रति भावपूर्ण नमन गरिह्यो । 

आफूले गर्ने शालीन व्यवहार नै हो जसले व्यक्तिलाई अश्लिलताबाट बचाउँछ । ती शालीन नर्तकीहरु देख्दा शायद कसैले होटलमा रात बिताउने आग्रह गर्ने हिम्मत गर्न सक्तैनथ्यो, कसैले उनीहरुलाई अश्लिल व्यवहारको प्रस्ताव गर्न शायदै हिम्मत गर्न सक्थ्यो एउटी सामान्य नर्तकी ठानेर । उनीहरुको कलाको ढाँचा बन्दनीय थियो, भाव र शैली मननीय थियो अनि ती सबै आदरणीय थिए । त्यो स्तरको प्राचीन कला आधुनिक समयमा प्रस्तुत गर्ने दिव्य कलाका प्रतिमूर्ति थिए तिनीहरु । मेरो मनले बारम्बार उनीहरुका मुद्रा र हाउभाउको स्मरण गरिरह्यो, नमन गरिरह्यो अनि आदरले शिर निहु¥याइरह्यो ।

कलाकार हुनु आफैँमा महान् काम हो, त्यसमा पनि शालीन र सभ्य रुपमा आपूmलाई प्रस्तुत गर्नु अनि प्राचीन गौरवमय कलाप्रति सम्मान भाव राखेर त्यसैमा समर्पित हुन सक्नु अझ बन्दनीय काम हो । त्यही बन्दनीय काम गरेका थिए त्यस साँझका ती कलाकारहरुले । सिन्ज्याङबाट फर्केको यतिका दिन बितिसक्दा पनि ती शालिन नर्तक र नर्तकीहरु अनि उनीहरुको त्यो शालीन नृत्य मेरो मनमा अमिट छाप बनेर आँखा अगाडि झलझली आइरहेछ, उनीहरु त्यसरी नै जिवन्त बनेर नाचिरहेका छन् छमछमी मेरो आँखा अगाडि । धन्य त्यो स्वर्णिम रात ती शालिन नर्तकी, त्यसको व्यवस्थापन गर्ने त्यो भव्य रिसोर्ट अनि ती आयोजक चिनीयाँ मित्रहरु जसले मलाई सधैँसधैँ सिन्ज्याङ सम्झन बाध्य पारिरहेका छन् त्यो भव्य र सभ्य विादाइ समारोह आयोजना गरेर ।
२०७३।५।२२

Wednesday, August 31, 2016

मरुभूमि गुल्जार गर्दै चीन

मरुभूमि शब्द सुन्नासाथ हाम्रो मनमा कस्तो शब्दचित्र आउला ? स्वाभाविक छ, बञ्जर, रुखो, हरियालीरहित, सुख्खा हावा चल्ने, मानवबस्तीविहीन भूभाग, जहाँ मानव जीवनका लागि आवश्यक पर्ने प्राकृतिक वातावरण पाउन कठिन छ । तर त्यसको ठीक विपरित त्यही मरुभूमि गुल्जार गरेर संसारलाई नै आश्चर्यमा पार्ने गरी खेतीपाती, औद्योगिक विकास अनि मानव विकास सूचकांकमा निकै अगाडि रहेको भौतिक र सामाजिक विकाससहितको मानव बस्ती र संरचनाहरु मरुभूमिमा देखिए भने तपाईंहामीलाई लाग्छ, यो त आश्चर्य नै हो, कसरी गरेहोलान् यस्तो काम ? यही आश्चर्य र विस्मयले भरिएको यात्रा रह्यो यस पटकको मेरो चीनयात्रा । 

चीनका अपेक्षकृत विकसित र उन्नत मानिने पूर्वी र मध्यचीनका धेरै भूभाग घुम्ने र बुझ्ने अवसर पाइसकेकाले यस पटकको मेरो रोजाइ रह्यो चीनको उत्तर–पश्चिमी प्रान्त सिन्ज्याङ–उइघुर स्वायत्त क्षेत्र । दक्षिणमा चीनकै तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा निङजिया र गान्सु प्रदेश अनि मंगोलिया, पश्चिममा पाकिस्तान, ताजिकिस्तान, कजाकस्तान र किर्गिजिस्तानबाट घेरिएको यो प्रान्त करिब १६ लाख वर्ग किलोमिटमा फैलिएको छ । कूल चीनियाँ भूभागको ६ प्रतिशत भूभाग ओट्ने यो प्रान्त संसारकै ठूला प्रशासनिक एकाइमा पर्दछ । चीनको राजधानी बेइजिङबाट करिब ३००० किलोमिटर पश्चिममा रहेको यो प्रान्त भौतिक विकासका दृष्टिले चीनको पूर्वी र मध्य भागमा अवस्थित प्रान्तहरुभन्दा अपेक्षाकृत पछाडि परेका प्रान्तहरुमध्ये कै मानिन्छ । चीनीयाँ विकास सूचांकमा गान्सु, निङजिया, इनर मंगोलिया र सिन्ज्याङ अपेक्षकृत कमजोर पूर्वाधार र भौतिक विकासका दृष्टिले पछाडि परेका मानिन्छन् । तर हालैका वर्षहरुमा यी प्रदेशहरुको विकासलाई चीनले प्राथमिकतामा राखेपछि भने यी क्षेत्रहरु तीव्र गतिले विकासमा लम्किरहेका छन् । 

यसै वर्षको श्रावण १८ (अगस्त २) देखि भाद्र ७ (अगस्त २३) सम्म सिन्ज्याङ प्रान्तको राजधानी उरुम्चिनजिकैको अर्को शहर सेहेजीस्थित राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्रको निमन्त्रणामा त्यस क्षेत्रको कृषि विकासका लागि चीनले प्रयोगमा ल्याएको अत्याधुनिक सिंचाइ प्रविधि र खेति प्रणालीबारे जान्ने, बुझ्ने, निरीक्षण गर्ने तथा त्यसबारे विचारविमर्श गर्ने अवसर मिल्यो । 

नेपालबाट जुलाई महिनाको ३० तारिख थाइल्याण्डको राजधानी बैंकक हुँदै चार जनाको नेपाली टोली त्यसतर्फ प्रस्थान गरी अगस्त २ तारिख बिहान उरुम्ची पुग्यो । बेइजिङसम्म विमानबाट र बेइजिङबाट उरुम्चीसम्म रेलबाट जाने कार्यक्रम बनाएका थियौँ हामीले । हवाइ यात्रामा जाँदा चीनको त्यो भूभागमा भइरहेका उन्नतिको अवलोकन गर्ने अवसर नपाइने भएकाले रेलयात्रा हाम्रो रोजाइमा परेको थियो ।

विदेशबाट चिनीयाँ रेलको टिकट लिन नमिल्ने भएकाले सुरुमा निकै हैरानी खेप्नुपर्यो टिकट किन्न । तर पछि आयोजक समूहले नै टिकटको व्यवस्था गरिदिएपछि भने हामीले करिब दुई दिनको रेल यात्रामा चीनलाई बुझ्ने र नियाल्ने अवसर पायौँ । सुख्खा पहाडका फेदीबाट छेडिएका सुरुङभित्र लुसुक्क छिर्दै निस्कँदै गर्ने रेलमार्ग, घुम्ति र डाँडाहरुमा नागबेली आकारमा आफूलाई लमतन्न पारेर तन्किँदै गरेको भारवाहक रेल, करिब २०००जनाभन्दा बढी यात्रुलाई सुत्ने र बस्ने आरामदायक सुविधायुक्त कम्पार्टमेन्टहरुमा राखेर तान्दै अघि बढिरहेको यात्रुवाहक रेल अनि सुख्खा मरुभूमिका बीचबीचमा देख्न पाइने सीमित हरियाली, भेडाका बथान र खर्कहरु, निर्जन सुख्खा फाँट हुँदै हुइँकिएका बडेमाका भारवाहक सवारी साधनहरु आदिको अवलोकन, अनुभव र अनुभूतिको मिश्रित रोमाञ्चक यात्रा रह्यो यसपटकको बेइजिङ–सिन्ज्याङ यात्रा । 

करिब डेढ किलोमिटरको एउटा सानो सुरङ बनाउन दश वर्ष बित्दा पनि अत्तो न पत्तो भएर अल्मलिएको देशका अन्यमनस्क नागरिकलाई पहाडैपिच्छे किलोमिटरका किलोमिटर चट्टानी भूभागभित्र लुकामारी खेलेझैँ गरी कुदेको रेल देख्दा आश्चर्य मात्रै लागेन घरिघरि त देशको अवस्था सम्झेर आँखा समेत रसाए । २४ वर्षमा २६ कार्यकारी प्रमुख बदलिने देशका हामीलाई पचास वर्षमा पाँचजनाको नेतृत्वले रहस्यमय विकासपथमा दौडाएको चीन हेर्नु, बुझ्नु र देखेर जिब्रो टोक्नु आफैँले आफैँलाई खिज्याइरहेझैँ पनि लाग्थ्यो घरिघरि । 

अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य डिल्लीराम शर्मा अधिकारी सँगै यात्रारत थिए हाम्रो समूहमा । घरिघरि सम्म परेका मरुभूमिलाई गुल्जार गरेर हरिया फाँटमा परिणत गरेको देख्ता अमिलो मुखा पार्दै आफ्ना सहकर्मी नेताई एक पटक भ्रमण गराएर त्यो सब देखाउन पाए केही सिक्थे कि भनेर थकथकिन्थे भने अर्की महिला सदस्य लक्ष्मी उप्रेती देश सम्झेर घरिघरि आँशु नै झारौँ झैँ गर्थिन् । अर्का युवा शौनकचन्द्र पोखरेल भने आफ्नो टुटेफुटेको अंग्रेजी बोलचालमा चिनीयाँ यात्रीहरुसँग बात मार्दै तिमीहरु धन्य रहेछौ भनेर खुसी साट्थे र घरिघरि क्यामरा निकालेर बाहिर देखिने दृश्यलाई सकेसम्म क्यामरामा कैद गर्न हतारिन्थे । म भने पटकपटक चीनयात्रामा गएको भए पनि मरुभूमि जस्तो उजाड ठाउँमा त्यति भव्य संरचना र विकासको लहर ल्याउन सकेका चिनीयाँहरुप्रति नतमस्तक हुँदै त्यो सब हेर्ने र बुझ्ने अवसर जुटाइदिएकोमा आयोजकलाई मनमनै धन्यवाद दिन्थेँ र आफैँभित्र गम खान्थेँ– आखिर अरुको देखेर सिकिएन र केही गरिएन भने देखेको के काम लाग्यो र ? घरिघरि आफैँप्रति हीनता, घरिघरि आशा र संभावना अनि घरिघरि एक दिन त कसो हामी पनि यस्तौ नहोउँला र भन्दै हाम्रो दुईदिने रेलयात्रा चलिरह्यो । 

गान्सु प्रान्त छिरेपछि रेलमार्गका दुवैतिर अलि भिन्न दृश्यहरु सुरु भए । सुख्खा फाँटैफाँट भएर गएको रेल मार्गको दुवैतिर भने हरियालीको लागि प्रशस्त मिहिनेत गरेको देखिन थाल्यो । काला रंगका पाइप जताततै देखिन थाले । ठाउँठाउँमा पानीका अलि ठूला पाइपहरुबाट पानी निकालेर रुख–विरुवाहरुमा लगाइरहेको पनि देखियो । हामी आँखा तन्काएर हेर्न थाल्यौँ ती दृश्यहरु । भोलिपल्ट दिउँसोदेखि दृश्यहरु अझ बदलिन थाले । कहीँ बडेमाका हावाबाट बिजुली निकाल्ने विन्ड मिलहरु देखिन्थे त कहीँ भने किलोमिटरका किलोमिटर सोलार प्यानलहरु । निर्जन मरुभूमिमा लाग्ने घाम र चल्ने हावाको प्रयोग गर्ने कला र बुद्धि सिकाइरहेका थिए हामीलाई ती बडेमाका विन्ड मिल र सोलार प्यानलहरुले । हामी भने दिनमा १६ घण्टा लोडसेडिङ खेपिरहेको देशको दृश्य मनभरि फिँजाएर ती दृश्य अवलोकन गरिहेका थियौँ अनि निरन्तर रुपमा केही मिटर तलबाट बगिरहेको खोला हेरेर मनसुनको पर्खाइमा बारी बाँझै राखेर आकाश ताकिरहेका किसान झलझली सम्झिरहेका थियौँ । 

यसरी नै बित्यो हाम्रो दुइदिने चिनीयाँ रेल यात्रा । करिब ४० घण्टाको रेलयात्रापछि हाम्रो टोली पुग्यो सिन्जियाङको राजधानी उरुम्ची । त्यसपछि सुरु भयो मरुभूमिमा गरिएको उन्नत खेती प्रविधि सम्बन्धी करिब तीन हप्ते कार्यक्रम । जसको शब्दचित्र आगामी ब्लगहरुमा क्रमशः आउने छ ।   

Sunday, June 5, 2016

नारी अस्मिताको खोजी ‘चीरहरण’

केही वर्षदेखि उपन्यास लेखनले गति लिएको छ नेपाली साहित्यमा । थरी–थरीका बिषयवस्तु र प्रयोगमा आधारित उपन्यास प्रकाशित भइरहेका छन् । सामान्य प्रेम कथादेखि मिथकीय बिषयमा कलम चलाइरहेका छन् लेखकहरु । यही मेसोमा एउटा बृहदाकार कृति देखा परेको छ ‘चीरहरण’ ।
 
बीश वर्षको कलिलो उमेरमै उपन्यास लेखेर प्रकाशित गरिसकेकी नीलम कार्की निहारिका कविता, कथा र उपन्यास तीनवटै विधामा कलम चलाइसकेकी लेखिका हुन् । यसपटक उनी महाभारतको कथावस्तुमा आधारित बृहदाकार उपन्यास ‘चीरहरण’ लिएर देखापरेकी छिन् ।

महाभारतलाई अनेक लेखकले अनेक कोणबाट व्याख्या र विश्लेषण गरेर आफ्ना कृति लेखेको पाइन्छ । यो कृति भने महाभारतको कथाभित्र पसेर नारी अस्मिताको खोजी गर्ने उपन्यासको रुपमा आएको छ । 

आकार र बिषयवस्तु दुवै हिसाबले बृहदाकार उपन्यास ‘चीरहरण’ वर्तमानमा बसेर विगतलाई नियाल्ने नारी–दृष्टिको उपज हो । नारी अस्मिता र अस्तित्वको खोजीमा केन्द्रित प्रस्तुत उपन्यासले विषयवस्तु, चरित्र र परिवेश महाभारतबाट ग्रहण गरेको छ र चरित्रका मनोभावना र चाहनालाई आधुनिक नारीको दृष्टिबाट हेर्ने प्रयास गरिएको छ । 

किन लेखियो होला पुस्तक ? पुस्तकको नाम चीरहरण किन राखियो ? स्वाभाविक प्रश्न उब्जन्छ पाठकमा । उपन्यासको शीर्षक झ्वाट्ट हेर्दा महाभारतकी एक मुख्य पात्रा द्रौपदीको चीरहरणबारे लेखिएको हो कि भन्ने भान पर्छ तर पुस्तक त्यतिमा मात्र सीमित छैन । लेखकले चीरहरणलाई विस्तार गर्दै नयाँ व्याख्या दिने प्रयास गरेकी छिन् । उनको विचारमा नारीको मात्र चीरहरण भएको थिएन त्यतिबेला । राज्यको पनि चीरहरण भएको थियो, आम मानिसको चीरहरण भएको थियो, न्याय र समानता खोज्ने न्यायप्रेमी जनताहरुको चीरहरण भएको थियो, सुशासनको चीरहरण भएर दुशासनहरु मौलाएका थिए्, राज्यमोहमा लपेटिएका धृतराष्ट्रहरुले राज्यको हुर्मत लिएर चीरहरण गरिरहेका थिए । लेखककै शब्दमा, ‘यो चीरहरण युग–युगदेखिको, घाउ हो मानवसभ्यताको । त्यसको कालो छायाँले आजको समाजलाई पनि छाडेको छैन । महाभारतकालको जस्तै छ आजको अवस्था पनि ।’ उपन्यासमा त्यही कलङ्कित इतिहासको पाटो उतारेकी छिन् नीलमले । चीरहरण एक बिम्ब हो अहङ्कार, विवशता र बाध्यतामा बाँच्न विवश मानिसको । 
......
उपन्यासको सुरुआत हुन्छ, तिलस्मी र नाटकीय परिवेशको दृश्य–वर्णनबाट । द्वापरयुगका स्वनामधन्य नारीहरु आपूmले विगतमा भोगेको जीवनको समीक्षा गर्न भेला हुने कार्यक्रम तय भएको छ । आयोजनाको जिम्मेवारी निर्वाह गर्दै छिन् उलूपी । आयोजनास्थल पातालमा छ । सभागार सागरभित्र छ । रथ, घोडा र बग्गीमा आगन्तुकहरु गुडेर होइन बगेजसरी आउँदै छन् । सभाका मुख्य आकर्षण महाभारतका मुख्य नारी पात्राहरु सत्यवती, कुन्ती, द्रौपदी, गान्धारी, भानुमती, अम्बिका, अम्बालिकाहरु छन् । उनीहरु सबै सभामा उपस्थित हुँदै छन् । पुरुषहरु पनि आमन्त्रित छन् तर उनीहरु सहभागीका रुपमा निम्त्याइएका छन् । कार्यक्रमका मुख्य सञ्चालिका र अतिथिहरु सबै नारी नै छन् । 

अस्मिता–उलूपी संवादका माध्यमले सुरुमै पुस्तकको ध्येय प्रस्ट पार्न खोजिएको छ । उलूपी भन्छिन्– ‘... आपूmले आपूmलाई छल नगरी बाँच्नु पनि धर्म हो । परन्तु कति नारी आपैmँले आपूmलाई छलेर बाँचे ।’ (पृ. २) पुस्तकको सुरुआत यही उद्देश्यबाट गरेकी छिन् लेखिकाले । उनको उद्देश्य विगतमा नारीले भोगेका कतिपय उचनिचलाई महाभारतकालीन कथा र पात्रबाट व्यक्त गर्नु हो भन्ने यस सवांदले प्रस्ट्याउँछ । 

अस्मिता र उलूपी सवाांदका क्रममा उलूपीले त्यहाँ उपस्थित नारीहरुको परिचय गराउँछिन् अस्मितालाई । उलूपी कसैलाई कसैकी पत्नी, कसैलाई कसैकी माता अनि कसैलाई कसैकी छोरी भनेर चिनाएको सुनेर अस्मिता भन्छिन्– ‘यी सब नारीको परिचय त्यही नै हो, कसैकी पत्नी, कसैकी छोरी, कसैकी बहिनी .. ? (पृ. ३)
हिजोका दिनमा नारीहरुले निर्वाह गरेका जिम्मेवारी र भूमिकाका बारेमा नारीहरु स्वयम्ले समीक्षा गर्ने कार्यक्रममा पुरुषहरु श्रोताका रुपमा उपस्थित छन् । उनीहरुलाई नारीहरुका कुरा सुनिसकेपछि मात्र आफ्ना भनाइ राख्न दिने कार्यक्रम तय गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण छिन् द्रौपदी, जसको चीरहरण भएको थियो हस्तिनापुरको भव्य राजसभामा । 

कार्यक्रमकी सहभागी एक नागकन्या त्यो सभाको आयोजना र द्रौपदी देखेर भन्छिन्– ‘त्यस समयमा पनि नारी बलात्कृत भएका थिए । अपहरणमा परेका थिए ..। प्रेमी र पतिबाट त्यागिएका थिए । चीरहरण यो युगको मात्र रोग होइन, युग–युगदेखिको घाउ हो । ... यो युगमा बलात्कृत भएर आपूmलाई गङ्गाको काखमा बिसाउने धेरैलाई भेटेका छौँ हामीले । .... (पृ. ३)

नारी–सभाको औपचारिक सुरुआत हुन्छ उलूपीको उद्घोषणसँगै । मुख्य नारी पात्राहरु, सत्यवती, अम्बिका, अम्बालिका, कुन्ति, गान्धारी, द्रौपदी, भानुमती क्रमशः सभाका वक्ताका रुपमा देखापर्छन् । सबै वक्ताहरु आ–आफ्ना भोगाइ र भावना पोख्छन् सभामा । उनीहरुको भोगाइ महाभारतमा वर्णित कथाकै सेरोफेरोमा केन्द्रित छ । उनीहरुले त्यतिबेला भोगेका विवशता, बाध्यता र पीडा एक–एक गरी सुनाउँछन् । कथा भन्ने ढाँचा जस्तो अपनाइएको छ त्यसले पाठकलाई क्रमशः तान्दै लैजान्छ । 

सभाको प्रथम वक्ता छिन् सत्यवती, त्यसपछिकी वक्ताहरु छन् अम्बिका, अम्बालिका, गान्धारी र द्रौपदी । अन्त्यमा केही पुरुष वक्ताहरु मञ्चमा देखापर्छन् । उनीहरु नारीहरुका भोगाइ सुनिसकेपछि आआफ्ना स्वीकारोक्ति राख्न मञ्चमा आउँछन् । अत्यन्त छोटो भनाइ राख्छन् र उनीहरु बिदा हुन्छन् मञ्चबाट । सबैका कुरा सुनेर कृष्ण र वेदव्यास मुस्कुराउँछन् । सभा समाप्त हुन्छ, उपन्यास पनि समाप्त हुन्छ सभाको समाप्तिसँगै ।
......
उपन्यास केन्द्रित छ, नारी अस्मिताको खोजीमा । महाभारत कथा त माध्यम मात्र हो । सत्यवती तत्कालीन परिवेशको बाध्यतामा आपूmलाई चलाउन विवश थिइन् । तर के आजका नारी त्यसबाट उन्मुक्त छन् ? अम्बा, अम्बिका र अम्बालिका अपहृत भएर पत्नी बन्न विवश भएका थिए तर के आजका नारीहरु बलिष्ट पुरुषबाट अपहृत भइरहेका छैनन् ? गान्धारी दायित्व र कर्तव्यको घेरामा बाँधिएर दृष्टि हुँदाहुँदै पनि दृष्टिविहीनभैmँ बन्न विवश भइन् । के आजका नारी आपूmले देखेका कुरामा रमाउन सकेका छन् ? अनजानवश कुन्तीले दिएको आदेश मान्न विवश बनेर द्रौपदी पाँच पाण्डवकी पत्नी बन्न पुगेकी थिइन् । के आजका नारी द्रौपदीको विवशता भोग्न बाध्य छैनन् ? कुन्तिले कुमारी अवस्थामै पुरुष संसर्गबाट जन्माएको शिशु लोकलाज र परम्पराको नाममा मुटुमा ढुङ्गा राखेर गंगामा बिसर्जन गर्न विवश भइन् । के आजका नारीहरु इच्छामाफिक सन्तान जन्माएर तिनलाई निर्बाध माया र ममता दिन समर्थ छन् ? पुत्रमोहमा परेर समस्त देशबासी र मित्रजनमा युद्धको अग्निज्वाला फैलाउन उद्यत धृतराष्ट्रहरु अहिलेको कुशासनमा जताततै पाइँदैनन् ? शकुनीहरु र दुर्योधनहरु यस युगमा छैनन् ? यदि यी सबै कुरा अहिले पनि कायमै छन् भने हामी त्यस युगको युगीन विवशताबाट अहिले पनि मुक्त हुन सकेका छैनौँ । यही सन्देश दिने उद्देश्यले लेखिकाले विश्वप्रसिद्ध महाकाव्य महाभारतको कथालाई माध्यम बनाउन खोजेको देखिन्छ । यस अर्थमा उपन्यासकारको ध्येय सफल भएको छ उपन्यासमा । महाभारतका पात्रहरु आजको समाजमा पनि सर्वत्र छन्, त्यो परिवेश, बाध्यता र गतिविधि यद्यपि छँदै छ । झन्–झन् विकराल छ आजको ‘महाभारत’ । 

उपन्यासले वेदव्यासकृत महाभारत कथामा कुनै परिवर्तन नगरी नारी आँखाबाट त्यसलाई केलाउने र आजको युगीन मनोविज्ञानसँग दाँज्ने कोसिस गरेको छ । त्यसमा लेखिकाका आफ्ना भावना र धारणा पनि उपन्यासमा घुलमिल गराइएको छ । भन्न त सत्यवती सभाको सुरु गर्दै पृष्ठ ६ मा भन्छिन्– ‘... नारीको व्यथा लुकाएर बाँच्ने कलाको कारणले या हुन सक्छ, पृष्ठमा नअटाएका कारण हाम्रा जीवनका ती नलेखिएका केही पाना पनि हामी यहाँ सुनाउँनेछौँ ।’(पृ. ६) तर उपन्यास पढ्दै जाँदा नारीभित्र चलिरहने भावनाको विस्तृत चित्रणबाहेक महाभारतको मूल कथा जस्ताको तस्तै कायम राखेर उपन्यासलाई अघि बढाइएको छ । अरुले लेखिसकेको त्यसमध्ये पनि युगौँसम्म लोकप्रिय भइसकेको कृतिको मूल कथा समातेर त्यसलाई कल्पना र भावनाका माध्यमले औपन्यासिकता प्रदान गर्नु चानचुने हिम्मत होइन लेखिकाको । त्यस अर्थमा उनलाई बधाइ दिनै पर्छ । 

महाभारतमा वर्णित कतिपय रहस्यमय र जादूगरीजस्ता लाग्ने प्रसङ्गहरु, जस्तै सत्यवतीलाई परासरले मन्त्रबलका माध्यमले मत्स्यगन्धाबाट योजनगन्धा बनाउनु, कुन्तिबाट कर्णको जन्म स्वयम्बरको ठीक अघिल्लो दिन हुनु, तर स्वयम्बरमा जस्ताको तस्तै स्वाभाविक भएर प्रकट हुनु, अम्बिका र अम्बालिकाको गर्भधारणको प्रसङ्ग आदिलाई आधुनिक चिकित्साविज्ञान र सामाजिक यथार्थसँग जोड्न सकिने हुँदाहुँदै किन त्यसलाई आधुनिक स्वरुप र व्याख्या दिइएन भन्ने लागिरहन्छ । 

यति हुँदाहुँदै पनि केही शैलीगत र वर्णन सिल्पका सानातिना कमजोरी पनि उपन्यासमा यत्रतत्र पाइन्छन् । अध्याय दुई अम्बा, अम्बिका र अम्बालिकाको स्वयम्बरको प्रसङ्गबाट सुरु हुन्छ । तर यो हठात् सुरु हुन्छ । अम्बिका मुख्य वक्ता छिन् तर त्यो अनुमान महाभारत पहिले पढिसकेका पाठकले मात्र गर्न सक्छन् । नयाँ पाठकले त्यो प्रसङ्ग बुझ्न निकै समय बिताउनुपर्छ । 

गान्धारीको चरित्रलाई अति नै देवत्वकरण गरिएको छ । उनीभित्रका नारीजन्य कामनाहरु उपन्यासमा ओझेल पर्न गएका छन् । अति पुत्रमोह त गान्धारीमा पनि थियो । त्यसलाई उपन्यासले पछ्याउन सकेको छैन । कतिपय सन्दर्भमा भने अनावश्यक भावनामा बहकिएको वर्णनले पढ्दा झिँझ्याटलाग्दो बनेको पनि देखिन्छ । 

उपन्यासमा कतिपय घटना र परिवेश वर्णनमा कालको राम्ररी ख्याल गर्न नसकेको हो कि भैmँ लाग्छ । भूतकालमा कथा–वर्णन अगाडि बढिरहेका बेला अकस्मात् वर्तमान कालमा आइदिनाले पढ्दै जाँदा गति अवरुद्ध हुन्छ । 

कतिपय शब्दहरु, जस्तै गर्थिनँ, हुन्थिनँ आदिको प्रयोग निकै ठाउँ गरिएको छ । त्यसका सट्टामा गर्दिनथेँ÷गर्दैनथेँ, हुँदैनथेँ÷हुँदिनथेँ आदि प्रयोग गर्दा स्वाभाविक हुन्थ्यो कि भन्ने लागिरहन्छ ।

सत्यवतीको चरित्रचित्रणमा जुन स्वाभाविकता झल्कन्छ, अम्बा र अम्बिकाको भोगाइको वर्णनमा जुन स्वाभाविकता छ उपन्यास क्रमशः अघि बढेर गान्धारी र द्रौपदीको भोगाइमा पुग्दा त्यही गरिमा र शालिनता कायम रहँदैन । गान्धारी र द्रौपदीलाई लेखिकाले अलि बढी नै हस्तक्षेप गरेकी हुन् कि भन्ने लागिरहन्छ । गान्धारीको चरित्रलाई अलि बढी नै देवत्वकरण गरेर नारी आदर्शको पाटो देखाउन खोजेकी छिन् लेखिकाले । त्यसै गरी द्रौपदीको अनुभव वर्णन गर्दा समसामयिक पुरुषप्रधान समाज र पुरुष–सत्ताप्रतिको तिक्तता पोख्न लेखिका हतारिए भैmँ लाग्छ । बारम्बार आफ्ना पतिलाई युद्धका लागि उक्साउन उद्यत द्रौपदीको चित्रणबाट पुरुषको झ्याँको झार्न लेखिका अघि सर्दा उनीमाथि अन्याय भएको छ । परिवेशलाई बाध्यकारी देखाउनुभन्दा द्रौपदीको अहंकार र पुरुषवादी सोचको आलोचनामा बढी शब्द खर्चिंदा नारी अस्मिताको नाउँमा पुरुषप्रतिको तिक्तता बढी पोखिए भैmँ अनुभव हुन्छ । द्रौपदीको पुरुषप्रतिको घृणाभाव र बारम्बारको युद्धघोषको आकांक्षाले उपान्यासको महत्ता घटाएको छ । 

अन्त्यमा पुरुषहरुको स्वीकारोक्ति भने युगीन सन्दर्भमा जोड्न प्रयोग गरिएको छ । समग्र उपन्यासलाई प्रयोजनमूलक रुप प्रदान गरेको छ यो सन्दर्भले । लेखकको कथा प्रस्तुतिको कौशल देखाउँछ यो प्रसङ्गले । 

करिब पाँचसय पृष्ठको करिब डेढलाख शब्दमा अभिव्यक्ति उपन्यास लेख्ता सामान्य त्रुटी–कमजोरी स्वाभाविक हुन् । महाभारतको परिवेशमा आजको नारी मनोविज्ञानका आँखामा राखेर पर्गेल्नु र युगीन सन्दर्भ दिन मोटो कथालाई कल्पनाका माध्यमले परिवेश र भावना गाँस्दै अघि बढाएर लगातार पाठकलाई तानिरहन सक्नु उपन्यासकारको लेखनीको ठूलो शक्ति हो । कथालाई जिज्ञाशा र कुतूहलका साथ अघि बढाउँदै अन्त्यसम्म पाठकको जिज्ञाशालाई कायम राख्नमा उपन्यासकार सफल भएकी छिन् । करिब पाँच हजार वर्ष पुरानो कथालाई आजको युगीन सन्दर्भ प्रदान गरेर यति ठूलो आकारको उपन्यास नेपाली साहित्यलाई प्रदान गर्नुहुने लेखिका नीलम कार्की निहारिका बधाइको पात्र हुनुहुन्छ ।

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...