Monday, November 7, 2016

मण्डेलाको देश जाँदा झण्डै मृत्युलोक

अक्टोबर १ तारिख बिहान करिब ८ बजेतिर दक्षिण अफ्रिकाको जोहानसवर्ग हुँदै डर्बनका लागि उड्नु थियो । नेपालबाट दोहा जाने विमानभन्दा निकै ठूलो विमान हामीलाई उडाउन तम्तयार थियो । करिब ३६० जना यात्रु बोकेर हामी चढेको हवाइजहाज दक्षिण अफ्रिकातिर उड्यो । करिब ८ घण्टा लामो उडान समय आकासमै बिताउनु थियो हामीले । 

अफ्रिका भन्नासाथ हाम्रो मनमा झ्वाट्ट आइहाल्ने बिम्ब हो मरुभूमि अनि कपाल घुंग्रेका काला र मोटा मानिस । म सानो छँदा सोच्थेँ, बालुवैबालुवाको मरुभूमिमा बस्ने अनि असाध्य गर्मी सहने भएरै अफ्रिकीहरु काला भएका होलान् । तर हवाइजहाजबाट जतिजति दक्षिण अफ्रिका नजिकिँदै गयो त्यतित्यति ससाना, नदी, पहाड, हरिया जङ्गल र घाँसे मैदानहरु देखिन थाले । हवाइजहाजबाट देखिने दृश्यहरुमध्ये एउटा अनौठो र अलि भिन्न दृश्य थियो नाङ्लो जस्तो गोलाकार आकारका खेतबारीहरु । कहीँकहीँ भने पूर्णतः आयाताकार खेतहरुका बीचमा ठूलाठूला गोलाकार खेतबारी । त्यस्तो आकारका खेतहरु मैले एसिया र युरोप घुम्दा कहीँ पनि देखेको थिइनँ । त्यसभित्र पानी र जमिन व्यवस्थापनको के कस्तो रहस्य थियो त्यो जान्ने मौका नपाए पनि मलाई ती नाङ्लो आकारका खेतबारीहरुले निरन्तर जिज्ञासु बनाइरहे । हामी जोहानसबर्ग पुग्यौँ करिब सात घण्टाको उडानपछि ।
 
जोहानसबर्गमा करिब एक घन्टा रोकिएर जब हाम्रो विमान डर्बनतर्फ बढ्यो दिन क्रमशः हामीबाट टाढा हुँदै गयो अनि रात हामीतिर तन्किँदै गयो । करिब ३२००० फिटको उचाइमा पनि आकासमा बाक्लो कालो बादल अनि अँध्यारो । हुनतः राडारयुक्त हवाइजहाजका लागि के रात के दिन तर पनि मानिसको मन न हो देखेपछि अनेक आशंका । साथीहरु भन्दै थिए, यस्तो बादलमा त हल्लिन्छ जहाज पनि, साह्रै गाह्रो हुन्छ । लामो यात्रा अनि उचाइको घटबढ । सबैको मुख अँध्यारो थियो । परिचारिकाहरुले खाजा बाँडिसकेका थिए, यात्रुहरु कोही खाने सुरमा थिए त कोही चुपचाप बाहिर नियाल्दै । घरी विमान बादलभित्र पस्थ्यो घरी बाहिरिन्थ्यो । बादलभित्र पस्दा जहाज ढल्पलाउँथ्यो । शरीर सिररिङ्ग हुन्थ्यो । 

जोहानसबर्गबाट उडेको करिब २० मिनेटपछि हामी चढेको हवाइजहाज निकैबेर बादलभित्र उडिरह्यो । ढलपल गरिरह्यो । यात्रु चिच्याउने र सिट बेस्सरी पक्डेर थामिने प्रयास गर्न गाले । सबैको अनुहारमा पनि बादल लागिसकेको थियो । जहाज एक्कासी सयौँ फिट तल झ¥यो, बादलबाट बाहिरिन । सबै चिच्याए । यसरी चिच्याए मानौँ सबै अन्तिम सास लिँदै छन् र सासले शरीर छाड्ने अवस्था छ । सबै यात्रुहरु भयंकर दुर्घटनाको संघारमा छन् अनि अन्तिम पुकार गर्दैछन् भएभरको शक्ति निकालेर । 

कोही चिच्याउँदै थिए, कोही रामराम भन्दै थिए अनि कोही भने अवाक् थिए कालो मुख लगाएर । एक जना अफ्रिकन महिलाले त सिटमै पिसाब फेरिछन् । त्यसको केही समयमै जहाजले पुनः स्थिर गति लियो । सबै सम्हालिए तर अनुहारमा भयको पहाड चुलिएकै थियो ओठमुख सुकेको थियो सबैको । मृत्युको भय कति डरलाग्दो ! आखिर नमर्ने त कुन मानिस छ र संसारमा ? तर पनि मृत्युको कल्पनाले मात्र पनि मानिसको मन हल्लिन्छ नराम्ररी । बाँच्नका लागि भरमग्दुर प्रयास गर्छ मान्छे सबै बल प्रयोग गरेर । त्यस दिन पनि त्यही भएको थियो । मानिसहरु भएभरको शक्ति लगाएर बाँच्न उद्यत थिए । 

करिब बीश मिनेटपछि हामी डर्बनको साका अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यौँ । भयपूर्ण अनुहारमा विमानबाट बाहिरिँदै गरेका यात्रुतिर आँखा लगाएर मुस्कुराउँदै ढोकामा उभिएका थिए क्याप्टेन । यात्रीहरु क्याप्टेनलाई ज्यान बचाएकोमा कृतज्ञता व्यक्त गर्दै थिए । उनी चाहिँ मुस्कुराउँदै भनिरहेका थिए— ‘हावामा उड्ने जहाज कहाँ रेलजस्तो सरर पट्टिमा हिँड्छ र यो त हावामा उड्छ, यो सामान्य घटना हो ।’

उनी पेशेवर थिए सधैँ यस्ता जोखिम मोलेर हावामा उडिरहने । हामी भने आक्कलझुक्क्ल चढ्ने यात्रु । मनोविज्ञान सबैको आआफ्नै थियो, आआफ्नै अनुभव मिसिएको । 

हामी डर्बन एयरपोर्टबाट बाहिरिँदा साँझको करिब सात बजेको थियो । चिसो सिरेटोले ज्याकेट खोज्न बाध्य पा¥यो । सबैले आआफ्ना ब्यागबाट ज्याकेट निकाले, कोट निकाले अनि चिसो सिरेटोबाट शरीर सुरक्षित पार्ने प्रयास गरे । 

‘समुद्री किनारको शहर हो, मौसमको कुनै भर हुँदैन, न्यानो लुगा चाहिँ हालिराख्नुपर्छ ।’ काठमाडौँ छाड्नुअघिको हाम्रो अनुमान सही थियो । त्यस दिन डर्बनमा हावाहुरीयुक्त मौसमले राज गरिहेको थियो । निकै चिसो । छिनछिनमा बदलिइरहने डर्बनको त्यही चिसो सिरोटोसँग पौठाजोरी गर्दै नेल्सन मण्डेलाको मातृभूमि दक्षिण अफ्रिकाको डर्बन नर्थस्थित होटल रिभरसाइडमा बास बस्न पुग्यौँ १६ जनाको नेपाली टोली । (बाँकी  अर्कोमा)  

Wednesday, November 2, 2016

वायुसेवाले चिनिएको देश

सन् २०१६ को सेप्टेम्बर महिना । चीन र थाइल्याण्डको करिब एक महिना लामो घुमफिर सकेर घर फर्केको भोलिपल्ट बिहानै साथी इन्द्रदेव मिश्रले फोन गरेर भने– ‘दक्षिण अफ्रिकाको डर्बन शहरमा हुने विश्व ट्रेड युनियन महासंघको विश्व–भेलाको लागि निमन्त्रणा आएको छ, टिकट बुक गरिसकियो, अब भिसाको लागि पासपोर्ट श्रीलंका पठाउनुपर्ने छ, आजै पासपोर्ट लिएर मेरो अफिसमा आउनुहोला । हामी तपाईंलाई नै कुरिरहेका छौँ ।’ 

एक महिना लामो विदेश यात्राको थकाइ मर्न नपाउँदै फेरि के विदेश लाग्नु ! शरीर थकाइले थिलथिलो भएको थियो, मन पनि एक तमासको । धेरै दिनपछि घरमा आइपुगेको, थकाइ नमर्दै फेरि विदेश यात्रामा जान अलि असजिलो लाग्यो मलाई । हुनत विदेश यात्रा गर्न पाउँदा पियन गए हुने कार्यक्रममा मन्त्री जाने देशको बासिन्दा हुँ म तर त्यो पनि अवसर नपाउँदाको चाहना मात्रै रहेछ । जुन कुरा सहजै उपलब्ध हुन्छ त्यसमा क्रमशः चाख घट्दै जान्छ मानिसको । 

मलाई पनि लाग्थ्यो, विदेश घुम्नु, त्यसमा पनि लामोलामो हवाइयात्रा गरेर संसारका रमाइला र विकसित देशहरु डुल्न, बुझ्न र घुम्न पाउनु त अहोभाग्य नै हो जीवनको । अवसर आउँदा यस्ता कुरामा दौडिहाल्नुपर्छ । युरोपेली र अमेरिकी देशहरु घुम्न पाउने हो भने त घरखेतै बेचेर जाऊँ भैmँ गर्ने निकै छन् हाम्रो समाजमा । हेर्नु, बुझ्नु, अवसरहरु खोजी गर्नु स्वाभाविक हो तर, त्यसको पनि त उद्देश्य हुन्छ । मलाई आजभोलि त्यस्ता ठाउँ घुम्न जाँदा लेख्ने बिषयहरु प्राप्त हुन्छ, जीवन बुझिन्छ, ठाउँ र मानिसको संस्कार र संस्कृति बुझिन्छ भन्ने लाग्छ । त्यसैले म त्यस्ता ठाउँहरु हेर्न र घुम्न इच्छुक हुन्छु । 

दक्षिण अफ्रिकामा हुने विश्वभरका मानिसको जमघटमा सामेल  निम्ता आउनु सुखद कुरा भए पनि मेरो मन खासै उत्साहित हुन सकेन त्यो खबरले । नजिकिँदो महान् चाड दशैँ अनि निकै लामो हवाइयात्रा । म चाम्रिएँ ।

मनमा लागिरहेको थियो, ‘लामो समयको विदेश यात्राबाट भर्खर घर फर्केको छु, जेटको धङधङी अझै सकिएको छैन, तत्कालै फेरि विदेश घुम्ने दौडधूपमा के लाग्नु, कुनैबेला फेरि पनि त अवसर आउन सक्छ ।’ 

‘मलाई तत्कालै विदेश यात्राको रहर छैन मिश्रजी, यसपटक मलाई छोडिदिनुस् । अरु साथीहरु छँदैछन् म नगए के फरक पर्ला र !’ मैले अफ्रिका भ्रमणको अनिच्छा प्रकट गरेँ । 

‘अफ्रिका भनेर अल्छि मान्नुभएको त होइन ? त्यसो हो भने एक पटक फेरि सोच्नुहोला । ठाउँ त ऐतिहासिक हो, सुन्दर पनि छ भन्छन् साथीहरु । यो एउटा अवसर पनि हो अफ्रिका बुझ्ने र घुम्ने । सकभर जाऊँ ।’

मिश्रजीले मलाई यात्राको औचित्य सिद्ध गर्न निकै जोडबल लगाए । हवाइ टिकट आपैmँ खर्च गर्नुपर्ने । हिसाब गर्दा करिब २ लाखको हाराहारीको हिसाब आयो । झ्वाट्ट निर्णय गरिहाल्न सकिनँ । दुई दिन बित्यो अलमलमै ।
‘भिसाको लागि पासपोर्ट पठाउने दिन अन्तिम हुनै लाग्यो । भोलि त नपठाइ हुँदैन, यात्राबीमा गराउनै बाँकी छ, त्यो नभइ भिसा दिँदैन । पासपोर्ट पठाएको करिब २१ दिनपछि मात्र भिसा आउँछ भनेका छन् कन्सुलरले । त्यसैले आजै निर्णय गरिहालौँ । धेरै कुरा नसोचौँ, जाऊँ डर्बन ।’ मिश्रजीले अन्तिम जोड लगाउँदै फेरि घच्घच्याए मलाई । 

उनले यति भनेपछि मैले पनि सोचेँ, संसारलाई अहिंसात्मक आन्दोलनको बाटो देखाउने महात्मा गान्धीले स्वतन्त्रता र अधिकार प्राप्तिका लागि अठोट लिएको ठाउँ त दक्षिण अफ्रिकाको डर्बन नै हो, जहाँबाट उनले काला र हेपिएकाहरुलाई ब्यँुझाएर आफ्नो अधिकारका लागि सचेत बनाउने संगठित प्रयासको सुरुआत गरेका थिए । त्यस्तो ऐतिहासिक ठाउँ हेर्ने र घुम्ने एउटा अवसर आएको छ, भेला त एउटा बहाना न हो ।’ मैले निर्णय लिएँ, दक्षिण अफ्रिकाको डर्बन जाने । 

मिश्रजीको कुरामा सहमति जनाउँदै भनेँ– ‘हुन्छ, म आजै तपाईंको अफिसमा आवश्यक कागजात र पासपोर्ट छोड्छु ।’

यात्राबीमाको कागज र पासपोर्ट जिम्मा दिएपछि सबै व्यवस्था मिश्रजीले मिलाए, हामी भिसाको प्रतिक्षामा बस्यौँ । उड्ने दिन नजिकिन थाल्यो, हवाइ कम्पनीले टिकट लिन ताकेता गरेर हैरान पार्न थाल्यो भिसाको नामोनिशान छैन । खबर पनि छैन । पटकपटकको ताकेतापछि बल्लतल्ल उड्ने अघिल्लो दिन हाम्रो हातमा पासपोर्ट आइपुग्यो भिसा लागेर । आखिर एसियाली र अफ्रिकीहरुको कार्यशैली उस्तै रहेछ, ताकेता नगरी काम सम्पन्न नहुने ।

कतारको हमाद एयरपोर्टः शासकीय दूरदृष्टिको नमूना  

काठमाडौँबाट सेप्टेम्बर महिनाको ३० तारिख कतार एयरवेजको उडानबाट दोहा हुँदै दक्षिण अफ्रिकाको डर्बनका लागि प्रस्थान गरियो रातको करिब ११ बजेतिर । करिब ५ घण्टा ३५ मिनेटको उडानपछि हामी कतारको दोहा ओर्लियौँ । 

ओर्लनासाथ हाम्रो गन्तव्य थियो अर्को उडान पर्खने ट्रान्जिट लाउन्ज, जहाँ हामीले बिहान करिब आठ बजेसम्मको समय कटाउनु पर्ने थियो । समय मनग्य थियो तर रातिको समय भएकाले घुम्ने ठाउँ भने त्यही हमाद एयरपोर्टको टर्मिनल मात्र । 

सुख्खा बालुवैबालुवाको मरुभूमिको छेउमा समुद्री किनारसँगै बनाइएको हमाद अन्तर्राष्ट्रिय विमानस्थल कतारी अमीरको दूरदृष्टिको उपज थियो । दोहालाई संसारकै ट्रान्जिट प्वाइन्ट बनाउने दूरदृष्टिसाथ निर्माण गरिएकाले विमानस्थलको सुविधा र संरचना दुवै भव्य थिए । जताततै फराकिला लाउन्ज, सुरक्षा जाँचका लागि छिटो र छरितो सेवा अनि संसारकै फराकिलो क्षेत्रमा ड्युटी फ्रि पसलहरु । विमानस्थलभित्रको भव्यता र सुविधा हेरेपछि मलाई लाग्यो, विकास र उन्नति, स्रोत, साधन अनि यो वा त्यो खाले शासकले ल्याउने होइन रहेछ । शासक राजा होओस् वा जनताको छोरो त्यसले केही फरक पर्दैन, बरु उसको दूरदृष्टि र इमानदारीता मुख्य रहेछ देश बदल्नका लागि  । सोचले नै ल्याउँदो रहेछ विकास र अविकास । श्रोत जम्मा गर्ने र उपयोग गर्ने सामथ्र्य पनि सोचले नै ल्याउँदो रहेछ । 

जम्मा ११,५८६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अरब खाडीको किनारमा रहेको यो सानो देश आकार र जनसंख्या दुवै हिसाबले संसारका साना देशमा नै गनिन्छ । तर विश्वको नं. १ धनी देश बनेको छ । स्वदेशीभन्दा विदेशी मानिस बढी छन् द्शमा । साधन र स्रोतको नाममा मात्र ग्याँस छ । न खेतिपाती न आरामदाउक प्राकृतिक वातावरण । तर त्यो देशको नाम नसुन्ने मानिस सायदै होलान् संसारमा । कसरी गर्न सक्यो यति सानो देशले यति उच्च विकास ? कसरी संसारभर चिनाउन सक्यो आपूmलाई ? विश्वमा कतारको पहिचान र प्रभाव दुवै उच्च छ । यसको एउटै कारण छ, कतारी शासकको समृद्धिको सोच । 

कतारलाई संसारभर चिनाउने दुई मुख्य कुरा छन्, कतार एयरवेज र दोहाको हमाद विमानस्थल । सन् २००३ मा कतारका अमीर अलथानीले आफ्नो देशको ग्यास भण्डार रित्तिएपछि देशलाई कसरी बचाइराख्ने भनेर सोच बनाए, हवाइ व्यवसाय मार्फत् संसारभर दोहा र कतारलाई चिनाउने । त्यसका लागि आवश्यक थियो एक सुविधासम्पन्न एयरपोर्ट अनि मनग्गे हवाइजहाज भएको हवाइजहाज कम्पनी अनि ती दुवै कुराको चुस्त र दुरुस्त व्यवस्थापन । 

सन् २००३ देखि २००५ सम्म सबै डिजाइन र ठेक्काको काम सकेर विमानस्थल निर्माण सुरु भयो । २००९ मा सबै काम सकिने गरी काम सुरु भएको भए पनि अनेकन बाधा झेल्यो विमानस्थल निर्माणका बेला त्यहाँको सरकारले । संसारका ठूला देशका ठूला ठेकेदारहरुलाई काम दिँदा उनीहरुको हेपाइ, ढिलासुस्ती अनि अनेकन बहानाबाजी । कतिपटक त ठेकेदार कम्पनीलाई ढिलो काम गरेवापत जरिवाना समेत तिराएको रहेछ । बल्लतल्ल २०१४ मा हालको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक सुरुआत हुन सकेको रहेछ । यही एयरपोर्ट र एयरवेजले कतार जस्तो सानो मुलुकलाई विश्वभर चिनाउन सकेको छ अहिले । यसैबाट आपूmलाई चिनाउन सक्ने भिजन छ कतारी अमीरको । उनकै भिजन अनुसार निर्माण गरिएको थियो त्यो भव्य र फराकिलो विमानस्थल जहाँबाट वार्षिक रुपमा पाँच करोड देखि दशकरोड मानिस यात्रा गर्न सक्छन् । त्यसका लागि आवश्यक सबै व्यवस्था रहेछ विमानस्थलमा । आरामका लागि चाहिने सुविधासम्पन्न होटल, रेष्टुरेन्ट, सपिङ स्थल, आराम कक्ष र सुरक्षा जाँचको व्यवस्था आदि सबै भविष्यलक्षित । काम गर्ने मानिसहरु सबै विदेशी । सबैभन्दा बढी त नेपाली कामदारहरु । विमानस्थल ओर्लनासाथ जताततै नेपाली अनुहारका मानिसहरु व्यवस्थापनमा खटिएका देख्ता र नेपाली भाषामा कुराकानी गरिरहेको सुन्दा सुरुमा त मलाई त आफ्नै देशमा छु कि जस्तो पनि लाग्यो । तर म थिएँ त अरबमा, विदेशी भूमिमा । नेपालका विभिन्न जिल्ला र गाउँबाट काम गर्न त्यहाँ पुगेका नेपालीहरु नै भेटिन्थे जहाँसुकै काम गर्ने । फाट्टफुट्ट देखिन्थे भारतीय र अन्य काला वर्णका मानिसहरु । 

व्यवस्थापनको नमूना कतार एयरवेज

कतारको त्यो विमानस्थलसँगै अर्को आकर्षणको बिषय थियो कतार एयरवेज । । संसारका १५० भन्दा बढी गन्तव्यलाई जोड्ने कतारको हमाद विमानस्थलको चारैतिर देखिन्थे कतार एयरवेजका मझौलादेखि ठूला विमानहरु । 

सन् १९९३ मा स्थापित यस कम्पनीका हाल १८० वटाभन्दा बढी विमानहरुले संसारभरका यात्रुहरु ओसारिरहेका छन् । करिब २४,००० मानिसले प्रत्यक्ष रोजगारी पाएका छन्, भने करिब ४०,००० मानिसले अप्रत्यक्ष । सन् २०२० सम्ममा अरु १०० ठूला हवाइजहाज थप्ने र आफ्ना उडानहरु संसारभर फैलाउने योजना बनाएको रहेछ । 

विमानस्थल व्यवस्थापनमा खटिएका नेपालीहरु गौरवसाथ सुनाउँथे कतारको विकास र व्यापारका ती आश्चर्यजनक कथाहरु । जब आफ्नो देशको हवाइ कम्पनीको अवस्था सम्झन्थे उनीहरुका आँखामा आँसु टिल्पिलाउँथ्यो । हामी श्रोता बनेर सुनिरहेका थियौँ आश्चर्यका आँखा उघारेर । हाम्रीसँग चारवटा विमानको व्यवस्थापन गर्न नसकेर वेहाल छ । यात्रु नपाएर आधा यात्रु लिएर उड्छन् नेपाल वायु सेवा निगमका विमानहरु । उडान समयमा नहुने अनि प्राविधिक समस्याले बेलाबेला हैरानी व्यहोर्नुपर्ने कथा त अब समाचार नै हुन छाडिसक्यो । उनीहरु भने १८० भन्दा बढी विमानहरु टनाटन यात्रु भरेर संसारभर उडाउँछन् । संसारकै उत्कृष्ट कम्पनीमा पर्छ कतार एयरवेज । सेवा, सुविधा र समयतालिका पालना गर्ने कम्पनीमध्ये अब्बल कम्पनी मानिएको रहेछ सन् २०१६ मा । व्यावसाय गर्ने जोश र भिजनका ती कथा रात्रीकालीन आरामसँगै हाम्रा कानमा गुन्जिरहेका थिए नेपालीकै मुखबाट । 

हामीले राजा फाल्नमा लागेर आन्दोलनमाथि आन्दोलन गरेर गणतन्त्र ल्याउँदा पनि झन्झन् अधोगतितिर लागिरहेका छौँ, उनीहरु तिनै राजालाई मानेर शान्ति र अनुशासनसाथ आश्चर्यजनक विकासतिर लम्किरहेका छन् । आखिर राजनीतिक प्रणाली साधन हो साध्य होइन भनेर बुझ्न हामीलाई अझ कति वर्ष कुर्नुपर्ने हो ठेगान छैन ।

सुविधासम्पन्न एयरपोर्ट

करिब १० घण्टाको ट्रान्जिट परेकाले हामी सबैजना आराम गर्ने कक्षको खोजीमा लाग्यौँ । ट्रान्जिट लाउन्जको दुवैतिर सुत्न मिल्ने ‘फेमिली रुम’हरु थिए । त्यहाँभित्र पसेर आरामसँग सुत्न सकिन्थ्यो । अलि बढी पैसा खर्च गर्ने हो भने एयरपोर्टभित्रै आरामदायक होटलको सुविधा पनि थियो । खाना खानका लागि क्याफे र रेष्टुराँहरु त हुने नै भए । ‘हमाद एयरपोर्ट संसारकै ठूला र सुविधासम्पन्न एयरपोर्टमा कुम जुधाएर उभिन सक्ने सुविधा सम्पन्न एयरपोर्ट हो’ भन्दै थिए त्यहीँ काम गर्ने एक जना नेपाली कामदार विनोद रोका ।  

करिब २२०० हेक्टर क्षेत्रफलमा फैलिएको हमादमा दुई समानान्तर रन वे छन् जुन मध्य एसियाको सबैभन्दा लामो रन वे मा पर्दछ भने विश्वका लामा रन वे मध्येमा एक । एउटा रन वे ४२५० मिटर लामो र ६० मिटर चौडा छ भने अर्को चाहिँ ४८५० मिटर लामो र ६० मिटर चौडा । दोहा सहरभन्दा केही पर समुद्रको किनारमा रहेको यो एयरपोर्टको आधाभन्दा बढी भाग चाहिँ समुद्र पुरेर बनाइएको छ । समुद्रकै पानी प्रशोधन गरेर रुख बिरुवा लगाइएका छन् हरियालीका लागि । विकासको भिजन र व्यवस्थापनको त्यो कतारी नमूनाका तस्वीरहरु मनमा सजाउँदै हामीले करिब १० घण्टा लामो ट्रान्जिट समय बितायौँ आराम कक्षमा । 

हमाद र कतार एयरवेजले मलाई झक्झक्याइरहे । ती दुवैले भन्दै थिए, देशको विकास र समृद्धि पैसाले र स्रोतले हैन शासकको सोच र इमानले ल्याउँछ । कहिले आउने होला हामीकहाँ त्यो कतारी सोच ? कहिले पाउने होला मेरो देशले त्यो हमाद अल थानीजस्ता शासक ? वर्तमानको निराश आँखाबाट भविष्यका आशा सँगाल्नुबाहेक केही उपाय थिएन मसँग । म त्यही आशावादी भावना लिएर, एक दिन त हामीले पनि कस्तो नपाउँला त एउटा अलथानी भन्दै तयार भएँ दक्षिण अफ्रिकातिर उड्नका लागि जुन हाम्रो गन्तव्य थियो यात्राको । (बाँकी अर्कोमा)

Wednesday, September 7, 2016

आहा, त्यो नृत्य !

अगस्त महिनाको २१ तारिख सन् २०१६ । चीनको सिन्ज्याङ विज्ञान तथा प्रविधि केन्द्रको आयोजनामा संचालित आधुनिक कृषि र सिँचाइ प्रविधि बिषयको तीनहप्ते अन्तर्राष्ट्रिय कार्यक्रमको समापन हुँदै थियो भोलिपल्ट । अघिल्लो दिन आयोजक समूहका सदस्य मिस्टर लीले दिउँसोको खाना खाँदै गर्दा सूचना गरे– ‘आज बेलुका ठीक सात बजे हामी होटलबाहिर निस्कने छौँ, सबै जना तयार भएर लबीमा आउनु होला ।’ 

भोलिपल्ट करिब तीन हप्ताको सिन्ज्याङको सेहेजी बसाइ र घुमफिर सकिँदै थियो । त्यो सुन्दर सेहेजी शहरले हामीलाई कताकता मोहनी लगाएछ क्यार विदाइको पीडाले अलि गह्रौँ भएको थियो सबैको मन । विदाइ स्मरणीय बनाउनमा साह्रै खप्पिस मानिन्छन् चिनीयाँहरु । विदाइ उत्सव मनाउन सबै सहभागीहरुलाई शहरभन्दा केही टाढाको रिसोर्टमा लैजाने योजना बनाएका रहेछन् आयोजक समूहले । 

ताजिकिस्तानका सहभागीहरु भन्दै थिए– हामी त बिहानै निस्कन्छौँ, भोलि भेट होला–नहोला अहिले नै वाइ भनिराखौँ है । उता पाकिस्तानी साथीहरु भन्दै थिए भोलि सँगै जान्छौँ हामी पनि । मंगोलियाकी सहभागी कलिली थिइन्, छोरी जस्तै । भन्दै थिइन्, तपाईंहरु नभएको भए मेरो बसाइ यति रमाइलो र स्मरणीय हुने थिएन, बेलाबेला सम्पर्क भइरहोस् है । 

केही दिन मात्रै सँगै रहेका भए पनि साथीत्व गाँसिएपछिको विदाइ जस्तोसुकै मानिसलाई पनि पीडाबोध त हुँदो रहेछ नै । त्यसैले होला छोरी विदाइमा बाबुआमाका आँसु थामिँदैनन् । भोलिको कुरा कसले पो जान्दछ र, के हुन्छ के ! तीन हप्तामा एक–अर्काको भाषा, संस्कृति, रीतिरिवाज र प्रविधिको चर्चापरिचर्चा गर्दागर्दै ९ वटा देशका २४ सहभागी आपसमा अन्तर्घुलित भइसकेका थिए । आत्मीयताको लहरो बेरिइसकेको थियो एक अर्काको हृदयलाई लपेट्दै ।

हाम्रो देशमा जस्तो ७ बजे साँझ पर्दोरहेनछ सिन्ज्याङमा । करिब १६ घण्टाको दिन थियो हामी त्यहाँ गएको बेला । बिहान ६ बजे उज्यालो भएर १० बजे बेलुकासम्मै घाम लागिरहने । ७ बजे त दिउँसो जस्तै । सबै जना तयार भएर लबीमा भेला भयौँ । आयोजकले होटलबाहिर बस पर्खिरहेको संकेत गर्दै सबैलाई बसतिर अगुवाइ गरे ।
सबै सहभागीलाई भित्र राखेर बस शहरको बीचोबीच गन्तव्यतिर लम्कियो । करिब आधा घण्टाको यात्रापछि बस रोकियो सडकको छेउमा रहेको एउटा हरियालीयुक्त ठाउँमा । वरिपरि धेरै ठूला भवनहरु थिएनन् । झपक्क ढाकेको थियो हरियालीले । प्रवेशद्वारको बाहिरपट्टि सुन्दर ढंगले सजाइएको बगैँचामा ढकमक्क पूmलेका पूmलहरु तँछाडमछाड गर्दै सुन्दरता पस्किरहेका थिए हाम्रो स्वागतमा । हामी सबै जना बसबाट ओर्लेर त्यही हरियालीयुक्त पार्कजस्तो स्थानतिर बढ्यौँ, आयोजक समूहसँगै ।

अगाडि बढ्नासाथ दुवैतिरबाट अंगुरका लहरायुक्त टनेलभित्र पसियो । दुवैतिर अंगुरका झुप्पा टाउको छोउँलाभैmँ गरेर झुण्डिरहेका थिए विभिन्न रंगमा सजिएर । अलि अगाडि थिए नृत्यमुद्रामा स्वागत गर्न तयार भएर मीठो सांगीतिक धूनमा लयबद्ध भएका केही जोडा युवा र युवतीहरु । अलि अगाडि बढेपछि दुईजना युवतीहरु बाटो छेकेर कपडाको तगारो तन्काएर बसेका थिए । एक जना युवा हातमा कुनै सुन्दर पेय लिएर प्यालामा हाल्दै थिए अनि अर्की झकिझकाउ सुन्दरी युवती चिनीयाँ सिल्कको आकर्षक पहिरनमा सजिएर हातमा सानो किस्तीमा पेययुक्त प्याला आगन्तुकतिर अघि सार्दै थिएन् मादक मुस्कानका साथमा । शिरमा ‘क्वीन’को ताज पहिरेकी सुन्दरी झलक्क हेर्दा कुनै महारानीभन्दा कम थिइनन् । रुप, पहिरन, श्रृङ्गार सबै कुराले परिपूर्ण ती युवतीको रुपले न लठ्याउने मानिस शायद कोही हुँदैनथ्यो । हामीसँगै गएका सहभागीहरु पनि उनको रुपले हुनसम्म तानिएका थिए एकोहोरिएर । पुरुषहरु मात्र होइन सँगै गएका महिला साथीहरु पनि लठ्ठ परेर उसैतिर आँखा लगाइरहेका थिए । मादक रुप र मुस्कानका साथ एकएक गरी पेय पस्कँदै गरेकी ‘क्वीन’लाई देख्नासाथ सबैले जिब्रो टोके, खासखुस आवाजमा सबैजना भन्दै थिए, ‘यस्तो रुप र सुन्दरता पनि हुन्छ संसारमा !’

कुनै कुसल कालिगढमा वर्षौं लगाएर कुँदेको कलात्मक वस्तुझैँ तिनको रुप देखेर सबै सहभागीहरु झुम्मिए फोटो खिच्न र खिचाउन । प्याला एउटै थियो घरिघरि पेय पस्कने । सबैले एउटै प्याला रित्याउँदै राख्दै जाने अनि अर्कोले फेरि त्यही प्यालामा पेय लिँदै रित्याउँदै ट्रेमा राख्ने । एकएक गरी सबै आगन्तुकलाई पेय दिँदै अघि बढ्न संकेत गर्दै थिए सँगै बसेका अर्का स्वागतार्थी । पेय लिने र फोटो खिचाउने रहर मेटिएपछि रिसोर्टका म्यानेजरले हामीलाई अगुवाइ गरे एउटा भव्य मुगल शैलीको भव्य हलतिर । बाहिरबाट हेर्दा सामान्य देखिए पनि भित्र भने असाधारण र भव्य थियो त्यो हल ।

बाहिर खुल्ला ठाउँ, भित्र गुम्बज आकारको भव्य हल । हलभित्र बडेमाका डाइनिङ टेबुलहरु सजाएर राखिएका । मधुर संगीतको गुन्जनले हल गुन्जायमान । पस्दापस्दै मन फुरुङ्ग पार्ने वातावरण । एकापट्टि खालि ठाउँ, छेउमा म्युजिक सिष्टम । आपूmले चाहेको गीत बजाएर त्यसकै स्वरमा स्वर मिलाएर गाइने काराओकेको पनि सुविधा ।
संगीतको मधुरता र लयसँगै क्रमशः साँझ छिप्पिँदै गयो । रिसोर्ट भएर पनि त्यहाँ रक्सी खाने चलन भने रहेनछ । नाच्ने गाउने र भरपूर मनोरञ्जन लिने वातावरण भए पनि अश्लिलता र छाडापनबाट पूरै टाढा । प्राचीन नृत्य र संगीतको सुन्दर कलामा रमाउनु र साँझलाई अविस्मरणीय बनाउनु त्यहाँका पाहुनाका लागि अवसर हुन्थ्यो ।
आयोजक समूहका साथीहरुले सुरुमा केही खाँदै मनोरञ्जनमा सहभागी हुन फ्लोर खुला गरे । उनले भने– ‘शुरुमा हामी भोजन गर्नेछौँ । त्यसपछि साँझ छिप्पिँदै जाँदा सबैले आ–आफ्ना देशका गीत गाउने र नाच्ने काम गर्नेछौँ । यहाँका नर्तक र नर्तकीहरुद्वारा यस सिन्ज्याङको ग्रामीण भेकमा नाचिने केही नृत्यहरु प्रस्तुत हुनेछन् । ती नृत्यहरु सिन्ज्याङको प्राचीन धरोहर हुन् जो प्राचीनकालदेखि अहिलेसम्म जस्ताको तस्तै जोगाएर राख्न सफल भएका छौँ । यहाँका नर्तक र नर्तकीहरुले तपाईंहरुलाई तिनै लोकनृत्य र प्राचीन कलाको झल्को प्रस्तुत गर्नेछन् । आशा छ यसले तपाईंहरुको आजको रात अविस्मरणीय हुनेछ ।’

म जतिपटक चीन भ्रमणमा गएको छु, चिनीयाँहरुमा आफ्नो प्राचीन कला, संस्कृति र इतिहासप्रति सधैँ गौरव गर्ने र विदेशीहरुसमक्ष आफ्नो धरोहरप्रति गौरवबोध गरेको भाव प्रस्तुत गर्ने गरेको पाएको छु । चाहे ऐतिहासिक धरोहर होउन् वा साँस्कृतिक वा आधुनिक वास्तुकला र आर्किटेक्चर डिजाइनका संरचना उनीहरु विदेशीसमक्ष प्रस्तुत हुँदा गौरवका साथ प्रस्तुत हुन्छन् र त्यसलाई महत्वका साथ चिनाउने प्रयास गर्छन् । त्यस दिनको साँझ पनि त्यही गौरवमय धरोहर चिनाउने प्रयास थियो उनीहरुको ।

साँझ छिप्पिँदै गयो । वरपरका स–साना हलहरु पनि संगीतले गुन्जायमान हुन थाले । आयोजकले कार्यक्रमको सुरुआत गरेको करिब एक घण्टापछि एकाएक हामीलाई स्वागत गर्ने नर्तक र नर्तकीहरु हाम्रो हलमा प्रवेश गरे । चिनीयाँ शैलीमा आधा शरीर निहु¥याएर सबैलाई अभिवादन गरे अनि सुरु गरे उनीहरुको कला प्रस्तुत गर्न । रातो चिनीयाँ सिल्कमा टमक्क मिलेको पहिरनमा चम्केका नर्तकीहरु अनि आकासे नीलो सिल्कको पहिरनमा सजिएकी ‘क्वीन’को मिश्रित समूहले जब हलभित्र नृत्य गर्न थाल्यो, मलाई लाग्यो इन्द्रसभामा नाच्ने परीहरु यिनै हुन्, प्राचीन कलाका धरोहर । रुप, कला र माधुर्यको त्रिवेणी लिएर यिनीहरु भर्खरै इन्द्रसभाबाट ओर्लेका छन् सिन्ज्याङमा, हामीलाई आनन्दित बनाउन । 

जब उनीहरु दर्शकतिर हेर्दै मुस्कुराउँदै घुमीघुमी संगीतको तालमा लयबद्ध हुँदै नाच्न थाmले मैले एकएक गरी सम्झेँ दन्त्यकथामा पढेका अप्सराहरुका रुप र नृत्य । नृत्यको ताल र लयमा दर्शकहरु खाना छोडेर उनीहरुतिरै फर्के । खान बिर्से, देश बिर्से, विछोड हुने भोलिपल्टको दिन बिर्से, प्राचीन कलाको त्यो मधुप्यालाले सबै सहभागीहरुलाई भावनाको तरङ्गमा पगाल्दै लग्यो रातको सन्नाटासँगै ।

जब दर्शकहरु भावनामा पग्लँदै गएको अनुमान गरे नृत्यांगनाहरुले अनि एकएक गर्दै सँगै नाच्न र मनलाई अझ भावनामय बनाउन अनुरोध गर्न थाले नजिकै आएर । चर्को स्वरमा गाइने कर्कस गीतहरु होइन, मानिसको हृदयको तार झन्झाउने लयदार मधुर संगीतमा उनीहरुले दर्शकलाई झुम्न बाध्य पार्दै गए । नशालु पेयको मादक प्याला चाहिएन कुनै दर्शक र नर्तकलाई त्यस दिन । उनीहरु स्वयम्भित्रको मादक आनन्दको प्याला पिउँदै नर्तकीहरुलाई साथ दिइरहेका थिए त्यो रात । यति शालिन, यति भव्य र यति आकर्षक तरिकाले उनीहरुले दर्शकलाई भावनात्मक आनन्दको मादकता पान गराए, त्यो क्षण शब्दातीत थियो, तर्कातीत थियो अनि अवर्णनीय थियो । सबैले देश, पद, उमेर सबै बिर्सेर नृत्यमा झुमे, नाचे अनि रमाए । त्यहाँ कोही संस्थाका प्रमुख थिएनन्, कोही देशका उच्च आहोदावाल थिएनन्, थिए त केवल एक सामान्य मानिस जो आफूलाई तिनै नर्तकहरुको शालीन नृत्यसाथ घुलमिल गराइसकेका थिए । 

सबै सहभागीहरु चरम आनन्द र उर्जातिर बढ्दै थिए नर्तकीहरुको समूह बाहिरियो केही समयका लागि । क्रमैसँग हरेक हलभित्र पालैपालो त्यसैगरी आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गरिँदो रहेछ त्यहाँ । पालैपालो फेरि केही समयपछि देखापरे उनीहरु । सहज, स्वाभाविक अनि उर्जावान् रुपमा प्रस्तुत भइरहे पटकपटक सबै कलाकारहरु । न त थकाइ थियो उनीहरुको अनुहारमा न कुनै दिक्दारीको भाव । कलाकारहरुको शालीनता, उनीहरुको कलाप्रतिको श्रद्धाभाव अनि दर्शकप्रतिको निष्ठा देखेर मेरो मनले बारम्बार उनीहरुको त्यो सुन्दर रुप र त्यो शालिन व्यवहारप्रति भावपूर्ण नमन गरिह्यो । 

आफूले गर्ने शालीन व्यवहार नै हो जसले व्यक्तिलाई अश्लिलताबाट बचाउँछ । ती शालीन नर्तकीहरु देख्दा शायद कसैले होटलमा रात बिताउने आग्रह गर्ने हिम्मत गर्न सक्तैनथ्यो, कसैले उनीहरुलाई अश्लिल व्यवहारको प्रस्ताव गर्न शायदै हिम्मत गर्न सक्थ्यो एउटी सामान्य नर्तकी ठानेर । उनीहरुको कलाको ढाँचा बन्दनीय थियो, भाव र शैली मननीय थियो अनि ती सबै आदरणीय थिए । त्यो स्तरको प्राचीन कला आधुनिक समयमा प्रस्तुत गर्ने दिव्य कलाका प्रतिमूर्ति थिए तिनीहरु । मेरो मनले बारम्बार उनीहरुका मुद्रा र हाउभाउको स्मरण गरिरह्यो, नमन गरिरह्यो अनि आदरले शिर निहु¥याइरह्यो ।

कलाकार हुनु आफैँमा महान् काम हो, त्यसमा पनि शालीन र सभ्य रुपमा आपूmलाई प्रस्तुत गर्नु अनि प्राचीन गौरवमय कलाप्रति सम्मान भाव राखेर त्यसैमा समर्पित हुन सक्नु अझ बन्दनीय काम हो । त्यही बन्दनीय काम गरेका थिए त्यस साँझका ती कलाकारहरुले । सिन्ज्याङबाट फर्केको यतिका दिन बितिसक्दा पनि ती शालिन नर्तक र नर्तकीहरु अनि उनीहरुको त्यो शालीन नृत्य मेरो मनमा अमिट छाप बनेर आँखा अगाडि झलझली आइरहेछ, उनीहरु त्यसरी नै जिवन्त बनेर नाचिरहेका छन् छमछमी मेरो आँखा अगाडि । धन्य त्यो स्वर्णिम रात ती शालिन नर्तकी, त्यसको व्यवस्थापन गर्ने त्यो भव्य रिसोर्ट अनि ती आयोजक चिनीयाँ मित्रहरु जसले मलाई सधैँसधैँ सिन्ज्याङ सम्झन बाध्य पारिरहेका छन् त्यो भव्य र सभ्य विादाइ समारोह आयोजना गरेर ।
२०७३।५।२२

Wednesday, August 31, 2016

मरुभूमि गुल्जार गर्दै चीन

मरुभूमि शब्द सुन्नासाथ हाम्रो मनमा कस्तो शब्दचित्र आउला ? स्वाभाविक छ, बञ्जर, रुखो, हरियालीरहित, सुख्खा हावा चल्ने, मानवबस्तीविहीन भूभाग, जहाँ मानव जीवनका लागि आवश्यक पर्ने प्राकृतिक वातावरण पाउन कठिन छ । तर त्यसको ठीक विपरित त्यही मरुभूमि गुल्जार गरेर संसारलाई नै आश्चर्यमा पार्ने गरी खेतीपाती, औद्योगिक विकास अनि मानव विकास सूचकांकमा निकै अगाडि रहेको भौतिक र सामाजिक विकाससहितको मानव बस्ती र संरचनाहरु मरुभूमिमा देखिए भने तपाईंहामीलाई लाग्छ, यो त आश्चर्य नै हो, कसरी गरेहोलान् यस्तो काम ? यही आश्चर्य र विस्मयले भरिएको यात्रा रह्यो यस पटकको मेरो चीनयात्रा । 

चीनका अपेक्षकृत विकसित र उन्नत मानिने पूर्वी र मध्यचीनका धेरै भूभाग घुम्ने र बुझ्ने अवसर पाइसकेकाले यस पटकको मेरो रोजाइ रह्यो चीनको उत्तर–पश्चिमी प्रान्त सिन्ज्याङ–उइघुर स्वायत्त क्षेत्र । दक्षिणमा चीनकै तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा निङजिया र गान्सु प्रदेश अनि मंगोलिया, पश्चिममा पाकिस्तान, ताजिकिस्तान, कजाकस्तान र किर्गिजिस्तानबाट घेरिएको यो प्रान्त करिब १६ लाख वर्ग किलोमिटमा फैलिएको छ । कूल चीनियाँ भूभागको ६ प्रतिशत भूभाग ओट्ने यो प्रान्त संसारकै ठूला प्रशासनिक एकाइमा पर्दछ । चीनको राजधानी बेइजिङबाट करिब ३००० किलोमिटर पश्चिममा रहेको यो प्रान्त भौतिक विकासका दृष्टिले चीनको पूर्वी र मध्य भागमा अवस्थित प्रान्तहरुभन्दा अपेक्षाकृत पछाडि परेका प्रान्तहरुमध्ये कै मानिन्छ । चीनीयाँ विकास सूचांकमा गान्सु, निङजिया, इनर मंगोलिया र सिन्ज्याङ अपेक्षकृत कमजोर पूर्वाधार र भौतिक विकासका दृष्टिले पछाडि परेका मानिन्छन् । तर हालैका वर्षहरुमा यी प्रदेशहरुको विकासलाई चीनले प्राथमिकतामा राखेपछि भने यी क्षेत्रहरु तीव्र गतिले विकासमा लम्किरहेका छन् । 

यसै वर्षको श्रावण १८ (अगस्त २) देखि भाद्र ७ (अगस्त २३) सम्म सिन्ज्याङ प्रान्तको राजधानी उरुम्चिनजिकैको अर्को शहर सेहेजीस्थित राष्ट्रिय विज्ञान तथा प्रविधि केन्द्रको निमन्त्रणामा त्यस क्षेत्रको कृषि विकासका लागि चीनले प्रयोगमा ल्याएको अत्याधुनिक सिंचाइ प्रविधि र खेति प्रणालीबारे जान्ने, बुझ्ने, निरीक्षण गर्ने तथा त्यसबारे विचारविमर्श गर्ने अवसर मिल्यो । 

नेपालबाट जुलाई महिनाको ३० तारिख थाइल्याण्डको राजधानी बैंकक हुँदै चार जनाको नेपाली टोली त्यसतर्फ प्रस्थान गरी अगस्त २ तारिख बिहान उरुम्ची पुग्यो । बेइजिङसम्म विमानबाट र बेइजिङबाट उरुम्चीसम्म रेलबाट जाने कार्यक्रम बनाएका थियौँ हामीले । हवाइ यात्रामा जाँदा चीनको त्यो भूभागमा भइरहेका उन्नतिको अवलोकन गर्ने अवसर नपाइने भएकाले रेलयात्रा हाम्रो रोजाइमा परेको थियो ।

विदेशबाट चिनीयाँ रेलको टिकट लिन नमिल्ने भएकाले सुरुमा निकै हैरानी खेप्नुपर्यो टिकट किन्न । तर पछि आयोजक समूहले नै टिकटको व्यवस्था गरिदिएपछि भने हामीले करिब दुई दिनको रेल यात्रामा चीनलाई बुझ्ने र नियाल्ने अवसर पायौँ । सुख्खा पहाडका फेदीबाट छेडिएका सुरुङभित्र लुसुक्क छिर्दै निस्कँदै गर्ने रेलमार्ग, घुम्ति र डाँडाहरुमा नागबेली आकारमा आफूलाई लमतन्न पारेर तन्किँदै गरेको भारवाहक रेल, करिब २०००जनाभन्दा बढी यात्रुलाई सुत्ने र बस्ने आरामदायक सुविधायुक्त कम्पार्टमेन्टहरुमा राखेर तान्दै अघि बढिरहेको यात्रुवाहक रेल अनि सुख्खा मरुभूमिका बीचबीचमा देख्न पाइने सीमित हरियाली, भेडाका बथान र खर्कहरु, निर्जन सुख्खा फाँट हुँदै हुइँकिएका बडेमाका भारवाहक सवारी साधनहरु आदिको अवलोकन, अनुभव र अनुभूतिको मिश्रित रोमाञ्चक यात्रा रह्यो यसपटकको बेइजिङ–सिन्ज्याङ यात्रा । 

करिब डेढ किलोमिटरको एउटा सानो सुरङ बनाउन दश वर्ष बित्दा पनि अत्तो न पत्तो भएर अल्मलिएको देशका अन्यमनस्क नागरिकलाई पहाडैपिच्छे किलोमिटरका किलोमिटर चट्टानी भूभागभित्र लुकामारी खेलेझैँ गरी कुदेको रेल देख्दा आश्चर्य मात्रै लागेन घरिघरि त देशको अवस्था सम्झेर आँखा समेत रसाए । २४ वर्षमा २६ कार्यकारी प्रमुख बदलिने देशका हामीलाई पचास वर्षमा पाँचजनाको नेतृत्वले रहस्यमय विकासपथमा दौडाएको चीन हेर्नु, बुझ्नु र देखेर जिब्रो टोक्नु आफैँले आफैँलाई खिज्याइरहेझैँ पनि लाग्थ्यो घरिघरि । 

अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य डिल्लीराम शर्मा अधिकारी सँगै यात्रारत थिए हाम्रो समूहमा । घरिघरि सम्म परेका मरुभूमिलाई गुल्जार गरेर हरिया फाँटमा परिणत गरेको देख्ता अमिलो मुखा पार्दै आफ्ना सहकर्मी नेताई एक पटक भ्रमण गराएर त्यो सब देखाउन पाए केही सिक्थे कि भनेर थकथकिन्थे भने अर्की महिला सदस्य लक्ष्मी उप्रेती देश सम्झेर घरिघरि आँशु नै झारौँ झैँ गर्थिन् । अर्का युवा शौनकचन्द्र पोखरेल भने आफ्नो टुटेफुटेको अंग्रेजी बोलचालमा चिनीयाँ यात्रीहरुसँग बात मार्दै तिमीहरु धन्य रहेछौ भनेर खुसी साट्थे र घरिघरि क्यामरा निकालेर बाहिर देखिने दृश्यलाई सकेसम्म क्यामरामा कैद गर्न हतारिन्थे । म भने पटकपटक चीनयात्रामा गएको भए पनि मरुभूमि जस्तो उजाड ठाउँमा त्यति भव्य संरचना र विकासको लहर ल्याउन सकेका चिनीयाँहरुप्रति नतमस्तक हुँदै त्यो सब हेर्ने र बुझ्ने अवसर जुटाइदिएकोमा आयोजकलाई मनमनै धन्यवाद दिन्थेँ र आफैँभित्र गम खान्थेँ– आखिर अरुको देखेर सिकिएन र केही गरिएन भने देखेको के काम लाग्यो र ? घरिघरि आफैँप्रति हीनता, घरिघरि आशा र संभावना अनि घरिघरि एक दिन त कसो हामी पनि यस्तौ नहोउँला र भन्दै हाम्रो दुईदिने रेलयात्रा चलिरह्यो । 

गान्सु प्रान्त छिरेपछि रेलमार्गका दुवैतिर अलि भिन्न दृश्यहरु सुरु भए । सुख्खा फाँटैफाँट भएर गएको रेल मार्गको दुवैतिर भने हरियालीको लागि प्रशस्त मिहिनेत गरेको देखिन थाल्यो । काला रंगका पाइप जताततै देखिन थाले । ठाउँठाउँमा पानीका अलि ठूला पाइपहरुबाट पानी निकालेर रुख–विरुवाहरुमा लगाइरहेको पनि देखियो । हामी आँखा तन्काएर हेर्न थाल्यौँ ती दृश्यहरु । भोलिपल्ट दिउँसोदेखि दृश्यहरु अझ बदलिन थाले । कहीँ बडेमाका हावाबाट बिजुली निकाल्ने विन्ड मिलहरु देखिन्थे त कहीँ भने किलोमिटरका किलोमिटर सोलार प्यानलहरु । निर्जन मरुभूमिमा लाग्ने घाम र चल्ने हावाको प्रयोग गर्ने कला र बुद्धि सिकाइरहेका थिए हामीलाई ती बडेमाका विन्ड मिल र सोलार प्यानलहरुले । हामी भने दिनमा १६ घण्टा लोडसेडिङ खेपिरहेको देशको दृश्य मनभरि फिँजाएर ती दृश्य अवलोकन गरिहेका थियौँ अनि निरन्तर रुपमा केही मिटर तलबाट बगिरहेको खोला हेरेर मनसुनको पर्खाइमा बारी बाँझै राखेर आकाश ताकिरहेका किसान झलझली सम्झिरहेका थियौँ । 

यसरी नै बित्यो हाम्रो दुइदिने चिनीयाँ रेल यात्रा । करिब ४० घण्टाको रेलयात्रापछि हाम्रो टोली पुग्यो सिन्जियाङको राजधानी उरुम्ची । त्यसपछि सुरु भयो मरुभूमिमा गरिएको उन्नत खेती प्रविधि सम्बन्धी करिब तीन हप्ते कार्यक्रम । जसको शब्दचित्र आगामी ब्लगहरुमा क्रमशः आउने छ ।   

Sunday, June 5, 2016

नारी अस्मिताको खोजी ‘चीरहरण’

केही वर्षदेखि उपन्यास लेखनले गति लिएको छ नेपाली साहित्यमा । थरी–थरीका बिषयवस्तु र प्रयोगमा आधारित उपन्यास प्रकाशित भइरहेका छन् । सामान्य प्रेम कथादेखि मिथकीय बिषयमा कलम चलाइरहेका छन् लेखकहरु । यही मेसोमा एउटा बृहदाकार कृति देखा परेको छ ‘चीरहरण’ ।
 
बीश वर्षको कलिलो उमेरमै उपन्यास लेखेर प्रकाशित गरिसकेकी नीलम कार्की निहारिका कविता, कथा र उपन्यास तीनवटै विधामा कलम चलाइसकेकी लेखिका हुन् । यसपटक उनी महाभारतको कथावस्तुमा आधारित बृहदाकार उपन्यास ‘चीरहरण’ लिएर देखापरेकी छिन् ।

महाभारतलाई अनेक लेखकले अनेक कोणबाट व्याख्या र विश्लेषण गरेर आफ्ना कृति लेखेको पाइन्छ । यो कृति भने महाभारतको कथाभित्र पसेर नारी अस्मिताको खोजी गर्ने उपन्यासको रुपमा आएको छ । 

आकार र बिषयवस्तु दुवै हिसाबले बृहदाकार उपन्यास ‘चीरहरण’ वर्तमानमा बसेर विगतलाई नियाल्ने नारी–दृष्टिको उपज हो । नारी अस्मिता र अस्तित्वको खोजीमा केन्द्रित प्रस्तुत उपन्यासले विषयवस्तु, चरित्र र परिवेश महाभारतबाट ग्रहण गरेको छ र चरित्रका मनोभावना र चाहनालाई आधुनिक नारीको दृष्टिबाट हेर्ने प्रयास गरिएको छ । 

किन लेखियो होला पुस्तक ? पुस्तकको नाम चीरहरण किन राखियो ? स्वाभाविक प्रश्न उब्जन्छ पाठकमा । उपन्यासको शीर्षक झ्वाट्ट हेर्दा महाभारतकी एक मुख्य पात्रा द्रौपदीको चीरहरणबारे लेखिएको हो कि भन्ने भान पर्छ तर पुस्तक त्यतिमा मात्र सीमित छैन । लेखकले चीरहरणलाई विस्तार गर्दै नयाँ व्याख्या दिने प्रयास गरेकी छिन् । उनको विचारमा नारीको मात्र चीरहरण भएको थिएन त्यतिबेला । राज्यको पनि चीरहरण भएको थियो, आम मानिसको चीरहरण भएको थियो, न्याय र समानता खोज्ने न्यायप्रेमी जनताहरुको चीरहरण भएको थियो, सुशासनको चीरहरण भएर दुशासनहरु मौलाएका थिए्, राज्यमोहमा लपेटिएका धृतराष्ट्रहरुले राज्यको हुर्मत लिएर चीरहरण गरिरहेका थिए । लेखककै शब्दमा, ‘यो चीरहरण युग–युगदेखिको, घाउ हो मानवसभ्यताको । त्यसको कालो छायाँले आजको समाजलाई पनि छाडेको छैन । महाभारतकालको जस्तै छ आजको अवस्था पनि ।’ उपन्यासमा त्यही कलङ्कित इतिहासको पाटो उतारेकी छिन् नीलमले । चीरहरण एक बिम्ब हो अहङ्कार, विवशता र बाध्यतामा बाँच्न विवश मानिसको । 
......
उपन्यासको सुरुआत हुन्छ, तिलस्मी र नाटकीय परिवेशको दृश्य–वर्णनबाट । द्वापरयुगका स्वनामधन्य नारीहरु आपूmले विगतमा भोगेको जीवनको समीक्षा गर्न भेला हुने कार्यक्रम तय भएको छ । आयोजनाको जिम्मेवारी निर्वाह गर्दै छिन् उलूपी । आयोजनास्थल पातालमा छ । सभागार सागरभित्र छ । रथ, घोडा र बग्गीमा आगन्तुकहरु गुडेर होइन बगेजसरी आउँदै छन् । सभाका मुख्य आकर्षण महाभारतका मुख्य नारी पात्राहरु सत्यवती, कुन्ती, द्रौपदी, गान्धारी, भानुमती, अम्बिका, अम्बालिकाहरु छन् । उनीहरु सबै सभामा उपस्थित हुँदै छन् । पुरुषहरु पनि आमन्त्रित छन् तर उनीहरु सहभागीका रुपमा निम्त्याइएका छन् । कार्यक्रमका मुख्य सञ्चालिका र अतिथिहरु सबै नारी नै छन् । 

अस्मिता–उलूपी संवादका माध्यमले सुरुमै पुस्तकको ध्येय प्रस्ट पार्न खोजिएको छ । उलूपी भन्छिन्– ‘... आपूmले आपूmलाई छल नगरी बाँच्नु पनि धर्म हो । परन्तु कति नारी आपैmँले आपूmलाई छलेर बाँचे ।’ (पृ. २) पुस्तकको सुरुआत यही उद्देश्यबाट गरेकी छिन् लेखिकाले । उनको उद्देश्य विगतमा नारीले भोगेका कतिपय उचनिचलाई महाभारतकालीन कथा र पात्रबाट व्यक्त गर्नु हो भन्ने यस सवांदले प्रस्ट्याउँछ । 

अस्मिता र उलूपी सवाांदका क्रममा उलूपीले त्यहाँ उपस्थित नारीहरुको परिचय गराउँछिन् अस्मितालाई । उलूपी कसैलाई कसैकी पत्नी, कसैलाई कसैकी माता अनि कसैलाई कसैकी छोरी भनेर चिनाएको सुनेर अस्मिता भन्छिन्– ‘यी सब नारीको परिचय त्यही नै हो, कसैकी पत्नी, कसैकी छोरी, कसैकी बहिनी .. ? (पृ. ३)
हिजोका दिनमा नारीहरुले निर्वाह गरेका जिम्मेवारी र भूमिकाका बारेमा नारीहरु स्वयम्ले समीक्षा गर्ने कार्यक्रममा पुरुषहरु श्रोताका रुपमा उपस्थित छन् । उनीहरुलाई नारीहरुका कुरा सुनिसकेपछि मात्र आफ्ना भनाइ राख्न दिने कार्यक्रम तय गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण छिन् द्रौपदी, जसको चीरहरण भएको थियो हस्तिनापुरको भव्य राजसभामा । 

कार्यक्रमकी सहभागी एक नागकन्या त्यो सभाको आयोजना र द्रौपदी देखेर भन्छिन्– ‘त्यस समयमा पनि नारी बलात्कृत भएका थिए । अपहरणमा परेका थिए ..। प्रेमी र पतिबाट त्यागिएका थिए । चीरहरण यो युगको मात्र रोग होइन, युग–युगदेखिको घाउ हो । ... यो युगमा बलात्कृत भएर आपूmलाई गङ्गाको काखमा बिसाउने धेरैलाई भेटेका छौँ हामीले । .... (पृ. ३)

नारी–सभाको औपचारिक सुरुआत हुन्छ उलूपीको उद्घोषणसँगै । मुख्य नारी पात्राहरु, सत्यवती, अम्बिका, अम्बालिका, कुन्ति, गान्धारी, द्रौपदी, भानुमती क्रमशः सभाका वक्ताका रुपमा देखापर्छन् । सबै वक्ताहरु आ–आफ्ना भोगाइ र भावना पोख्छन् सभामा । उनीहरुको भोगाइ महाभारतमा वर्णित कथाकै सेरोफेरोमा केन्द्रित छ । उनीहरुले त्यतिबेला भोगेका विवशता, बाध्यता र पीडा एक–एक गरी सुनाउँछन् । कथा भन्ने ढाँचा जस्तो अपनाइएको छ त्यसले पाठकलाई क्रमशः तान्दै लैजान्छ । 

सभाको प्रथम वक्ता छिन् सत्यवती, त्यसपछिकी वक्ताहरु छन् अम्बिका, अम्बालिका, गान्धारी र द्रौपदी । अन्त्यमा केही पुरुष वक्ताहरु मञ्चमा देखापर्छन् । उनीहरु नारीहरुका भोगाइ सुनिसकेपछि आआफ्ना स्वीकारोक्ति राख्न मञ्चमा आउँछन् । अत्यन्त छोटो भनाइ राख्छन् र उनीहरु बिदा हुन्छन् मञ्चबाट । सबैका कुरा सुनेर कृष्ण र वेदव्यास मुस्कुराउँछन् । सभा समाप्त हुन्छ, उपन्यास पनि समाप्त हुन्छ सभाको समाप्तिसँगै ।
......
उपन्यास केन्द्रित छ, नारी अस्मिताको खोजीमा । महाभारत कथा त माध्यम मात्र हो । सत्यवती तत्कालीन परिवेशको बाध्यतामा आपूmलाई चलाउन विवश थिइन् । तर के आजका नारी त्यसबाट उन्मुक्त छन् ? अम्बा, अम्बिका र अम्बालिका अपहृत भएर पत्नी बन्न विवश भएका थिए तर के आजका नारीहरु बलिष्ट पुरुषबाट अपहृत भइरहेका छैनन् ? गान्धारी दायित्व र कर्तव्यको घेरामा बाँधिएर दृष्टि हुँदाहुँदै पनि दृष्टिविहीनभैmँ बन्न विवश भइन् । के आजका नारी आपूmले देखेका कुरामा रमाउन सकेका छन् ? अनजानवश कुन्तीले दिएको आदेश मान्न विवश बनेर द्रौपदी पाँच पाण्डवकी पत्नी बन्न पुगेकी थिइन् । के आजका नारी द्रौपदीको विवशता भोग्न बाध्य छैनन् ? कुन्तिले कुमारी अवस्थामै पुरुष संसर्गबाट जन्माएको शिशु लोकलाज र परम्पराको नाममा मुटुमा ढुङ्गा राखेर गंगामा बिसर्जन गर्न विवश भइन् । के आजका नारीहरु इच्छामाफिक सन्तान जन्माएर तिनलाई निर्बाध माया र ममता दिन समर्थ छन् ? पुत्रमोहमा परेर समस्त देशबासी र मित्रजनमा युद्धको अग्निज्वाला फैलाउन उद्यत धृतराष्ट्रहरु अहिलेको कुशासनमा जताततै पाइँदैनन् ? शकुनीहरु र दुर्योधनहरु यस युगमा छैनन् ? यदि यी सबै कुरा अहिले पनि कायमै छन् भने हामी त्यस युगको युगीन विवशताबाट अहिले पनि मुक्त हुन सकेका छैनौँ । यही सन्देश दिने उद्देश्यले लेखिकाले विश्वप्रसिद्ध महाकाव्य महाभारतको कथालाई माध्यम बनाउन खोजेको देखिन्छ । यस अर्थमा उपन्यासकारको ध्येय सफल भएको छ उपन्यासमा । महाभारतका पात्रहरु आजको समाजमा पनि सर्वत्र छन्, त्यो परिवेश, बाध्यता र गतिविधि यद्यपि छँदै छ । झन्–झन् विकराल छ आजको ‘महाभारत’ । 

उपन्यासले वेदव्यासकृत महाभारत कथामा कुनै परिवर्तन नगरी नारी आँखाबाट त्यसलाई केलाउने र आजको युगीन मनोविज्ञानसँग दाँज्ने कोसिस गरेको छ । त्यसमा लेखिकाका आफ्ना भावना र धारणा पनि उपन्यासमा घुलमिल गराइएको छ । भन्न त सत्यवती सभाको सुरु गर्दै पृष्ठ ६ मा भन्छिन्– ‘... नारीको व्यथा लुकाएर बाँच्ने कलाको कारणले या हुन सक्छ, पृष्ठमा नअटाएका कारण हाम्रा जीवनका ती नलेखिएका केही पाना पनि हामी यहाँ सुनाउँनेछौँ ।’(पृ. ६) तर उपन्यास पढ्दै जाँदा नारीभित्र चलिरहने भावनाको विस्तृत चित्रणबाहेक महाभारतको मूल कथा जस्ताको तस्तै कायम राखेर उपन्यासलाई अघि बढाइएको छ । अरुले लेखिसकेको त्यसमध्ये पनि युगौँसम्म लोकप्रिय भइसकेको कृतिको मूल कथा समातेर त्यसलाई कल्पना र भावनाका माध्यमले औपन्यासिकता प्रदान गर्नु चानचुने हिम्मत होइन लेखिकाको । त्यस अर्थमा उनलाई बधाइ दिनै पर्छ । 

महाभारतमा वर्णित कतिपय रहस्यमय र जादूगरीजस्ता लाग्ने प्रसङ्गहरु, जस्तै सत्यवतीलाई परासरले मन्त्रबलका माध्यमले मत्स्यगन्धाबाट योजनगन्धा बनाउनु, कुन्तिबाट कर्णको जन्म स्वयम्बरको ठीक अघिल्लो दिन हुनु, तर स्वयम्बरमा जस्ताको तस्तै स्वाभाविक भएर प्रकट हुनु, अम्बिका र अम्बालिकाको गर्भधारणको प्रसङ्ग आदिलाई आधुनिक चिकित्साविज्ञान र सामाजिक यथार्थसँग जोड्न सकिने हुँदाहुँदै किन त्यसलाई आधुनिक स्वरुप र व्याख्या दिइएन भन्ने लागिरहन्छ । 

यति हुँदाहुँदै पनि केही शैलीगत र वर्णन सिल्पका सानातिना कमजोरी पनि उपन्यासमा यत्रतत्र पाइन्छन् । अध्याय दुई अम्बा, अम्बिका र अम्बालिकाको स्वयम्बरको प्रसङ्गबाट सुरु हुन्छ । तर यो हठात् सुरु हुन्छ । अम्बिका मुख्य वक्ता छिन् तर त्यो अनुमान महाभारत पहिले पढिसकेका पाठकले मात्र गर्न सक्छन् । नयाँ पाठकले त्यो प्रसङ्ग बुझ्न निकै समय बिताउनुपर्छ । 

गान्धारीको चरित्रलाई अति नै देवत्वकरण गरिएको छ । उनीभित्रका नारीजन्य कामनाहरु उपन्यासमा ओझेल पर्न गएका छन् । अति पुत्रमोह त गान्धारीमा पनि थियो । त्यसलाई उपन्यासले पछ्याउन सकेको छैन । कतिपय सन्दर्भमा भने अनावश्यक भावनामा बहकिएको वर्णनले पढ्दा झिँझ्याटलाग्दो बनेको पनि देखिन्छ । 

उपन्यासमा कतिपय घटना र परिवेश वर्णनमा कालको राम्ररी ख्याल गर्न नसकेको हो कि भैmँ लाग्छ । भूतकालमा कथा–वर्णन अगाडि बढिरहेका बेला अकस्मात् वर्तमान कालमा आइदिनाले पढ्दै जाँदा गति अवरुद्ध हुन्छ । 

कतिपय शब्दहरु, जस्तै गर्थिनँ, हुन्थिनँ आदिको प्रयोग निकै ठाउँ गरिएको छ । त्यसका सट्टामा गर्दिनथेँ÷गर्दैनथेँ, हुँदैनथेँ÷हुँदिनथेँ आदि प्रयोग गर्दा स्वाभाविक हुन्थ्यो कि भन्ने लागिरहन्छ ।

सत्यवतीको चरित्रचित्रणमा जुन स्वाभाविकता झल्कन्छ, अम्बा र अम्बिकाको भोगाइको वर्णनमा जुन स्वाभाविकता छ उपन्यास क्रमशः अघि बढेर गान्धारी र द्रौपदीको भोगाइमा पुग्दा त्यही गरिमा र शालिनता कायम रहँदैन । गान्धारी र द्रौपदीलाई लेखिकाले अलि बढी नै हस्तक्षेप गरेकी हुन् कि भन्ने लागिरहन्छ । गान्धारीको चरित्रलाई अलि बढी नै देवत्वकरण गरेर नारी आदर्शको पाटो देखाउन खोजेकी छिन् लेखिकाले । त्यसै गरी द्रौपदीको अनुभव वर्णन गर्दा समसामयिक पुरुषप्रधान समाज र पुरुष–सत्ताप्रतिको तिक्तता पोख्न लेखिका हतारिए भैmँ लाग्छ । बारम्बार आफ्ना पतिलाई युद्धका लागि उक्साउन उद्यत द्रौपदीको चित्रणबाट पुरुषको झ्याँको झार्न लेखिका अघि सर्दा उनीमाथि अन्याय भएको छ । परिवेशलाई बाध्यकारी देखाउनुभन्दा द्रौपदीको अहंकार र पुरुषवादी सोचको आलोचनामा बढी शब्द खर्चिंदा नारी अस्मिताको नाउँमा पुरुषप्रतिको तिक्तता बढी पोखिए भैmँ अनुभव हुन्छ । द्रौपदीको पुरुषप्रतिको घृणाभाव र बारम्बारको युद्धघोषको आकांक्षाले उपान्यासको महत्ता घटाएको छ । 

अन्त्यमा पुरुषहरुको स्वीकारोक्ति भने युगीन सन्दर्भमा जोड्न प्रयोग गरिएको छ । समग्र उपन्यासलाई प्रयोजनमूलक रुप प्रदान गरेको छ यो सन्दर्भले । लेखकको कथा प्रस्तुतिको कौशल देखाउँछ यो प्रसङ्गले । 

करिब पाँचसय पृष्ठको करिब डेढलाख शब्दमा अभिव्यक्ति उपन्यास लेख्ता सामान्य त्रुटी–कमजोरी स्वाभाविक हुन् । महाभारतको परिवेशमा आजको नारी मनोविज्ञानका आँखामा राखेर पर्गेल्नु र युगीन सन्दर्भ दिन मोटो कथालाई कल्पनाका माध्यमले परिवेश र भावना गाँस्दै अघि बढाएर लगातार पाठकलाई तानिरहन सक्नु उपन्यासकारको लेखनीको ठूलो शक्ति हो । कथालाई जिज्ञाशा र कुतूहलका साथ अघि बढाउँदै अन्त्यसम्म पाठकको जिज्ञाशालाई कायम राख्नमा उपन्यासकार सफल भएकी छिन् । करिब पाँच हजार वर्ष पुरानो कथालाई आजको युगीन सन्दर्भ प्रदान गरेर यति ठूलो आकारको उपन्यास नेपाली साहित्यलाई प्रदान गर्नुहुने लेखिका नीलम कार्की निहारिका बधाइको पात्र हुनुहुन्छ ।

Thursday, May 26, 2016

सन्तवीरको स्वप्ननगर

सन्तवीर दमाईको आर्थिक अवस्था तीन पुस्तादेखि जस्ताको तस्तै थियो । उसको आर्थिक अवस्थामा तीन पुस्तासम्म पनि कुनै सुधार भएन । साहुकहाँ बनिबुतो गरेरै आजसम्म उसले जीवन धानेको थियो । त्यसैका भरमा उसले विहा गर्यो, बाबुआमालाई पालनपोषण गर्यो । दुईटा छोराछोरी पनि जन्मायो, तर के भएर हो तिनीहरु सानैमा खसे । केही दिन शोक पनि मनायो । तर, जीवन पाल्ने चटारोमा उसले ती छोराछोरी मरेको पनि राम्रो भयो कि नराम्रो भयो खासै विचार गरेन । हुर्के–बढेका भए पनि भार नै हुन्थ्यो कि घरपरिवार गुल्जार हुन्थ्यो उसले त्यसलाई खासै समय दिएर विचार गनुपर्ने ठानेन । 

सम्पत्तीको नाममा खरको एउटा छाप्रो र आफ्ना दुई पाखुरा मात्र थिए सन्तवीरसँग । छाप्रो पनि साहुकै बारीमा हालेको थियो । साहुको दयामायामा थियो उसको बास । साहुले कहिले छोड्न आदेश दिने हुन् कुनै ठेगान थिएन । उसकी श्रीमती पुतलीले एक दिन बेलुका अगेनाको डिलमा बसेर आगो ताप्दै गर्दा गुनासो गरी– ‘हेर बुढा, अब बुढेसकाल लाग्न थाल्यो, यसरी हुँदैन । तीन पुस्ता यही छाप्रोमा बित्यो । यो छाप्रो हालेको घडेरी पनि आफ्नो नाममा छैन । कहिले साहुका छोराले उठिबास लाउने हुन् भन्न सकिँदैन । केही त गर्नैपर्छ नत्र त कुकुरको मरन हुने भो ।’ 

सुन्तलीका कुरा सुनेर सन्तवीर गम्भीर भयो । झ्वाट्टै त के भन्न सक्थ्यो र ! उसले केही सोच्न खोज्यो । आगो तापेर एकोहोरो अगेनातिर हेरिरह्यो । पुतली चाहिँ बुढाले केही भन्ला कि भनेर घोरिएर बसिरही । 

‘देशमा प्रजातन्त्र आ’ को छ ।’ सन्तवीरले निकैबेरपछि मुख खोल्यो– ‘गरिबकै भलाइको कुरा गर्छन् सबै । अब त हाम्रो पनि दिन आउला कि ! अस्ति स्कूलको भाषणमा पनि गरिबकै कुरा धेरै भए । अब गरिबहरुलाई के के कार्यक्रम मिलाउँछौँ, पैसा हात पर्ने व्यवस्था गर्छौ भन्या छन् । सबै नेताले भनेपछि केही न केही त अवश्यै गर्लान् । एउटा छाप्रो हाल्ने घडेरी र कमाएर खाने अलिकति जग्गा र काम भयो भने त अरु के चाहियो र !’ सन्तवीरले भविष्यप्रति आशावादी भएको कुरा गर्यो । नेताको भाषणमा उसको दह्रो भरोसा थियो । 

सन्तवीरको कुराले पुतलीको अनुहार पनि हुनसम्म उज्यालो भयो । अगेनाको आगोको उज्यालोमा उसको अनुहार टिलिक्क टल्किएजस्तो देखियो । अनुहारमा खुशी पोत्दै पुतली बोली– ‘त्यति भए त के नै चाहियो र हामीलाई ?’

सन्तवीर र पुतलीको यो सम्बाद सकिँदानसकिँदै अँगेनाको नजिकै ओछ्याएको परालको गुन्द्रीमा पल्टियो सन्तवीर । दिनभरको कामले थाकेको थियो, फुस्स निदायो । पुतली पनि ऊसँगै टाँस्सिएर ढल्की र निदाई सन्तवीरजस्तै ।
........
राति निद्रामा एक्कासी सन्तवीर बर्बरायो । बर्बराहट सुनेर पुतली ब्युँझी । सन्तवीर निद्रामै बर्बराइरहेको थियो । उसको बर्बराहट रमाइलो लागेर केहीबेर सुनिरही पुतलीले । निकैबेर सुनेपछि हाँस्तै झक्झक्याएर सन्तवीरको बर्बराहट बन्द गराइदिई । सन्तवीर बिउँझियो । बिउँझिँदा खुसीले गद्गद् थियो । उसको अनुहारको खुसी पुतलीले पनि पढी । सन्तवीर विस्तारै उठ्यो र गाग्रोबाट एक अम्खोरा पानी सारेर पिउन थाल्यो । पुतली ऊतिरै हेरिरही । सन्तवीरको अनुहारमा त्यो दिनजस्तो खुसी कहिल्यै देखेकी थिइन पुतलीले ।

‘हेर् बुढी, अब हाम्रा दुःखका दिन सकिए क्यार, साह्रै राम्रो सपना देखेँ मैले ।’ सन्तवीरले पुतलीतिर फर्केर भन्यो । पुतली फुरुङ्ग भई बुढाको कुरा सुनेर । 

‘किन यति धेरै खुसी भयौ बुढा ? के देख्यौ त्यस्तो ?’ पुतलीको खुल्दुली सन्तवीरतिर पोखियो । सन्तवीर भनौँ कि नभनौँ भनेर दोमनमै रह्यो केहीबेर ।

‘राम्रो सपना राति नसुनाउनू भन्छन् । बिहान पो सुनाउँ कि ! धेरै हतार नगर् है । कुखुरो बास्नेबेला भइहाल्यो, धेरैबेर छैन अब उज्यालो हुन । उज्यालो भएपछि सुनाउँला ।’ सपना सुनाउन बिहान पर्खनु पर्ने संकेत गर्यो सन्तवीरले ।

सन्तवीर आफुले देखेको सपना सुल्टो भइदिए हुन्थ्यो भन्ने चाहन्थ्यो । राति सपना सुनायो भने उल्टो हुन्छ भन्ने सुनेको थियो उसले, आफ्नी आमाबाट । उसको सपना साँच्चै सत्य हुन्छ भन्ने विश्वासले भित्रभित्रै उसलाई असीम खुसी दिएको थियो, पुतलीलाई चाहिँ गहिरो आशा र रहस्य । दुवैजना उठेर आगो बाले र चुपचाप आगो तापेर उज्यालोनहुन्जेल जाग्रामै बसिरहे । सुतेनन् । 

भुकभुके उज्यालो भएपछि सन्तवीर बाहिर निस्क्यो । एकछिन बाहिर टहलिएर फेरि भित्र पस्यो । टुक्रुक्क पुतलीकै छेउमा बस्यो, टाँस्सिएर ।

छरिएका केशले भरिएको पुतलीको टाउको सुम्सुम्याउँदै सन्तवीर बोल्न थाल्योे– ‘तँलाई बुढाले के के न सपना देख्यो होला भन्ने लागेको होला, सुन् है त अब ।’ सन्तवीरले पुतलीको ध्यान आफूतिर तान्यो । पुतली सुन्न हतारिई । सासै अड्केलाजस्तो भयो उसलाई । 

पुतलीले सन्तवीरका कुरातिर आफ्नो कान सोझ्याई र आफ्नो मनको कुरा खोली– ‘त्यही सुन्न त यति रातिदेखि बसिराकी छु । छिटो नभनेर के बाह्रसत्ताइस कुरा जोडिराको नि !’ भित्रैदेखिको सुन्तलीको उत्कण्ठा बोल्यो ।
सन्तवीरले सपनाको बेलिविस्तार लायोे– ‘म हाम्रो गाउँको दक्षिणतिर सम्मपरेको ठाउँमा पुगेँछु । त्यो ठाउँमा जङ्गल फँडानी गरेर हामीजस्ता थुप्रै गरिबहरु घरबार गरेर बस्ने, खेतीपाती गर्ने काम गरिरहेका थिए । ठूलाठूला रुखहरु फाँडेर बनाएको फाँट आफूआफूले भोगचलन गर्न छुट्याउँदै थिए । मलाई पनि भागमा छुट्याउँदै थिए । पल्ला गाउँको मनवीरे पनि मलाई बोलाउँदै थियो । म पनि खुसी हुँदै धारिलो बञ्चरो लिएर रुख काट्तै थिएँ । निकै जङ्गल फाँडेँछु । त्यही फाँडेको काठले एउटा दुईतले घर पनि बनाएँछु । हलगोरु किनेर खेती कमाइ गदैथिएँ, तैँले बोलाइछस् । झल्याँस्स ब्युझिएँ त्यति नै बेला । अलिबेर नब्युँझाएको भए हुन्थ्यो । अझै कति रमाइलो थियो त्यो सपना । एक छिन नउठाएको भए हुन्थ्यो नि । अब बन्छ क्यार बुढी हाम्रो पनि जिन्दगी ।’ सन्तवीरको सपना सुन्दासुन्दै पुतली पनि सन्तवीरको सपनामा पुगी । 

‘तीन पुस्तादेखिको गरिबी छुट्ने भो त बुढा ? सपना त निकै राम्रो पो देखेछौ त ! तर, सपना कहिलेकाहीँ उल्टो हुन्छ भन्छन् । सुल्टै भयो भने त बन्थ्यो नि जिन्दगी ।’ पुतलीले लामो सुस्केरा हाली र सन्तवीरतिर पुलुक्क हेरी । सन्तवीर केही बोलेन, एक छिन चुपचाप बसिरह्यो । 

‘जेसुकै होस् । यो अभागी थात्रोमा अब चैँ बस्तिनँ । अर्को हप्ता यी २।४ वटा कुखुरा पनि बेचेर लागौँ मधेशतिर । सम्म ठाउँमा गएपछि काम गर्नै परे पनि अलि सुविस्ता त होला । यस्तो उकालोओरालो त गर्नु पर्दैन । यहाँ त अब एक बस्तिनँ, दुई बस्तिनँ ।’ सन्तवीरले आफ्नो निर्णय पुतलीलाई सुनायो ।

पुतलीले आफू निकै सानो हुँदा मानिसहरु मधेशमा जङ्गल फाँडेर ठूलाठूला घर बनाएर खेतिपाती गरेर बसेको, धेरै गाइवस्तु पालेको, धेरै धान र तोरी फलाएर धनी भएको सुनेकी थिई । उसका बाबु पनि मधेशमा निकै वर्ष काम गरेर एउटा घर बनाएर बसेका थिए अरे । आफू अगाडिका दुई जना दाजुहरु औलोले खसेपछि औलो खप्न नसकेर फेरि पहाडैतिर फर्केको कुरा सुनेकी थिई उसले । आज सन्तवीरको कुरा सुन्दा फेरि उसले त्यो बालककालको कुरा सम्झी । सन्तवीरको निर्णय र आफूले सुनेको कुराले पुतली अलि अलमलमा परी । भित्री मनले सन्तवीरको निर्णयमा केही संशोधन गर्नुपर्छ कि भन्ने सोचिरही, मनमनै । 

‘तिम्रो कुरा त ठिकै हो तर मधेशमा धेरै औलो लाग्छ भन्ने मैले सुनेकी छु । हाम्रा दुईजना दाजुहरु त्यही औलाले खसेछन् । त्यसपछि हाम्रा बाआमा पनि मधेश छाडेर फेरि पहाडै फर्कनुभएको थियो रे ।’ आफ्नो मनको कुरा सुनाई पुतलीले । सन्तवीरले चुपचापै सुनिरह्यो पुतलीका कुरा । केही जवाफ दिएन उसले ।

सन्तवीरको आफ्नो सम्पत्तीका नाममा दुइटा भाले र चारवटा पोथी कुखुरा थिए । त्यसलाई गाउँको हटियामा लगेर बेचिदियो । त्यसबाट उसले केही सय रुपैयाँ हात पार्यो । केही दिन बसेर गाउँमा हात लिएका तर सक्न बाँकी कामहरु गरिदियो । ज्योतिषीलाई साइत हेराएर कार्तिक महिनाको पहिलो हप्ताको वीहिबार सन्तवीर र पुतली आफ्नो सपनाको गाउँतिर लाग्ने विचार गरे । उज्यालोमा गाउँ छाड्दा धेरै मान्छेले के कसो भनेर अनेक कुरा सोध्लान् भनेर उनीहरु बिहान भुकभुके उज्यालो हुँदा गाउँ काटी सक्ने गरी हिँड्ने योजना बनाए । पुतली पनि त्यसका लागि तयार भई । दुवैले ठिक्कठिक्कको झोलामा केही खानेकुरा, ओड्ने लुगा र लाउने लुगा पोको पारेर हाले । सानोसानो कुम्लोजस्तो थियो उनीहरुको झोला पनि । राति नै त्यो ठिकठाक पारे र अबेर गरेर दुवैजना झिमिक्क निदाए । एकझप्को निदाएर कुखुरो बास्नेबेलामा उठे । सन्तवीरले पुतलीलाई अघि लगाएर घरबाहिर निस्क्यो । घरको ढोकाको ताल बन्द गरिदियो । घरमा अरु केही थिएन । छोडेर उनीहरु विस्तारै तल बेँसीतिर लागे । फर्केर एक पटक हेर्ने मन पनि लागेन सन्तवीरलाई ।

सन्तवीरले सुनेको थियो— तराइ र खोँचमा औलो लाग्छ, अनेक कीराफट्याङ्ग्राले रोग सार्छन्, बचेर हिँड्नुपर्छ नत्र एक सय रुपैयाँ लिएर गएपछि जीवनभरि खानलाउन र किरिया खर्च पनि पुग्छ भन्ने सुनेको थियो । बाटोभरि उसले यो कुरा पुतलीलाई पनि सुनायो । यस्तै कथा हाल्दै उनीहरु दुवैजनाले गाउँ काटे ।
दुई दिन हिँडेपछि उनीहरु चुरेको जङ्गल पार गरेर फाँटिलो ठाउँमा आइपुगे । सन्तवीरले पुतलीसँग भन्यो– ‘मैले राती सपनामा देखेको गाउँ यस्तै थियो । कहीँ यही गाउँ पो हो कि ! कुनै घरमा पुगेर सोध्नुपर्छ । यहीँ पो फँडानी चलिरहेको छ कि !’

सन्तवीर र पुतलीले एउटा घरमा पसेर सोध्ने विचार गरे । सन्तवीर एउटा घरको आँगनमा पुगेर घरका मानिससँग सोध्ने विचारले उभियो । घरभित्रबाट एउटा युवक निस्केर सोध्यो– ‘कसलाई खोज्नु भएको ? कहाँबाट आउनु भो ?’
‘हामी पहाडबाट आएका । यतातिर गरिबहरुलाई जङ्गल फाँडेर बसाएको छ अरे भनेर हजुर । तपाईंलाई केही थाहा छ कि भनेर सोधेको ।’ सन्तवीरले भन्यो ।

‘यो ठाउँमा त त्यस्तो कुरा थाहा छैन । यो गाउँ निकै पुरानु गाउँ हो । यहाँ त नयाँ ठाउँ फँडानी भएको सुनिएको छैन । बरु तपाईंले भनेको जस्तो यहाँभन्दा अलि दक्षिणतिर सिमानानजिक धेरै जङ्गल फाँडेर बस्ती बसाईंदैछ अरे भन्ने सुनेको छु । यहाँबाट निकै टाडा छ । तपाईंहरु सरासर जानुभयो भने एक दिनमा पुगिन्छ । आज बाटामा बास बस्नुपर्छ । भोलि बिहान भात खानेबेलामा पुग्नुहुन्छ ।’ सन्तवीरको कुरा सुनेपछि युवकले भन्यो ।

युवकको कुरा सुनेपछि सन्तवीर आफ्नो सपना साँचो हुने कुरामा अझ विश्वस्त भयो । पुतली पनि निकै हर्षित भई । युवकले फेरि थप्यो– ‘झोरा फँडानी गर्नसक्नेले जति फाँडे पनि हुन्छ । फाँड्न सकेजति आफ्नै हुन्छ ।’ 

सन्तवीरलाई त्यो युवक ईश्वरको समाचारदाता देवदूतजस्तै लाग्यो । उसको मन खुसीले गद्गद् भयो । पुलुक्क पुतलीका आँखामा हेर्यो । पुतली सन्तवीरभन्दा पनि बढी खुसी देखेर सन्तवीरले आँखा भिमिक्क झिम्क्यायो र भोला लिएर युवकलाई धन्यवाद दिँदै उसको आँगनबाट बाहिरियो । 

दुई दिनदेखिको उसको थकाइ एकाएक गायब भयो । आफू हावामा उडिरहेको र आफ्नो अगाडि ईश्वर वरदान दिन तयार भएर हाँसिरहेकोजस्तो अनुभव गर्यो उसले । एउटा असीम शक्ति र आशाको संसारमा बिलिन भएको थियो सन्तवीर त्यतिबेला । खुसी र उमंगले सन्तवीर र पुतली एकोहोरो दक्षिणतिर बढिरहे । 

सन्तवीरको सपना साँच्चै सही रहेछ भनेर पुतली पनि विश्वस्त भई । कुखुरा बेचेको रुपैयाँ सन्तवीरको खल्तीबाट घटेको थिएन । बाटाको छेउमा समोसा, झिल्ली र कचौडी देखेपछि उसले यसो खल्ती छाम्यो र पुतलीतिर हेर्यो । पेटमा भोकले बास गर्न लागेको आशंका गर्दै उसले पुतलीलाई भन्यो– ‘अब एकछिन बसेर खाजा खानु पर्छ क्यार । जति हतार गरेपनि आज नपुगिने कुरा भइगो । भोलि त कसो नपुग्गेला । अब बसेर एक छिन खाजा खाउँ अनि फेरि हिँडौँला । आज बीच बाटैमा बास हुन्छ ।’ 

सन्तवीर र पुतली खाजा खान होटलमा छिरे । होटलवालाले खानेकुराबारे सोध्यो सन्तवीरलाई । सन्तवीरले निकै भोक लागेकाले झिल्ली, कचरी, मुरई र समोसा अर्डर गर्यो । होटलवालाले  मागेजति खानेकुरा प्लेटभरि ल्याएर उनीहरुका अगाडि राखिदियो । पुतली र सन्तवीरले भोक र हर्षसँगै मिसाएर त्यो एक प्लेट खाजा पेटसम्म पुर्याए । 

खाजाको पैसा सोधेर सन्तवीरले खल्तीबाट पैसा निकाल्यो र चुक्ता गर्यो । एउटा असीम तृप्तताको अनुभव गर्यो सन्तवीरले त्यतिबेला । आफ्नो खल्तिबाट पैसा निकालेर यसरी आफूलाई मन लागेको खानेकुरा किनेर जीवनमै पहिलोपटक खाएको थियो उसले । पुतलीले त सपनामा पनि यसरी होटलमा बसेर खानेकुरा खाने सोचेकी थिइनँ । त्यो काम पूरा गरे आज उनीहरु दुवै जनाले । 

खाजा खाइसकेर फेरि बाटोलागे दक्षिणतिर । एकछिनपछि एउटा जङ्गलभित्र छिरे उनीहरु । जताततै रुखहरु लडेका थिए । पुराना रुख हुन् कि भनेर उसले निरीक्षण गर्यो तर होइन ती रुखहरु भर्खर ढालिएका थिए । रुखहरु नियालिसकेपछि सन्तवीरले आफ्नो सपनाको भूमि यही हुनुपर्छ भन्ने अनुमान गर्यो । 

रात झमक्क परिसकेको थियो । आफूले पहिले सुनेका डाका, चोर, लुटेरा र गुन्डाहरुका कथाकहानी सम्झ्यो । सीमानाको नजिक, रातको बेला, उसलाई मनमनै डर लाग्यो । झोलामा लुकाएर राखेको खुकुरीतिर ध्यान दियो र हात पछाडितिर लगेर छाम्यो एक पटक । खुकुरी ठीक ठाउँमा थियो । मन ढुक्क पार्यो उसले ।
............
सन्तवीर जवानीमा खुब सीपालु थियो खुकुरी नचाउन । चारैतिर खुकुरी नचाएर जस्तोसुकै खुकुरी प्रहारलाई पनि छेल्न सक्थ्यो ऊ । हिम्मत अझै छँदैथियो । निर्जन जङ्गलमा त्यो दिन सन्तवीरले आफ्नो खुकुरी नचाउने कला फेरि सम्झ्यो । झमक्क ठूलो साँझ परेपछि निकैपर एउटा पिलपिल उज्यालो देखियो । बाटो देख्न मुस्किल हुँदै गयो । उज्यालो निकै टाढा भए पनि त्यसले उनीहरुलाई सहाराको काम गर्यो । पिलपिल उज्यालो ठम्याउँदै पुतली र सन्तवीर त्यस घरतिर सोझिए । 

रातको समयमा आएका पाहुनालाई सोधखोजपछि पालीमा गुन्द्री ओछ्याइदिएर बासको व्यवस्था गरिदिए घरवालाले । आफू त्यति टाढाबाट आउनुको कारण घरका सबै मानिसलाई सुनायो सन्तवीरले । घरधनीले जंगल फँडानी गरेर धमाधम बस्ती बसाउने काम भएको कुरा साँचो हो भनेर सन्तवीरलाई सुनाए । सन्तवीर मनमनै गदगद भयो खुशीले । रातभरि सन्तवीर र पुतली भित्रभित्र डराउँदै पालैपालो गरेर सुते । बास बसेको घर पनि सन्तवीरले सपनामा देखेकैजस्तो थियो । 

सबैतिर जङ्गल फाँड्ने र कब्जा गर्ने काम भइरहेका थिए । उसले पनि भोलिपल्टदेखि आफ्नो स्वप्ननगरी बसाउने काम सुरु गर्यो । एक वर्ष पुग्दानपुग्दै ऊसँग एउटा सानो घर र केही खेतबारी भयो । एक हल गोरु पनि किन्यो । स्वप्ननगरीमा सन्तवीर र पुतली रमाएर बस्न थाले ।

एक दिन झोरा नापी भन्दै नापीको एउटा टोली गाउँ पस्यो । 

‘अबदेखि जङ्गल फँडानी गर्नेहरुलाई कारवाही हुन्छ, जतिले फाँडेफाँडे । फाडेर घरवास गरेकाजतिको धनीपुर्जा बन्छ, त्यसपछि बाँकी जङ्गल फँडानी गरेमा कारवाही हुन्छ ।’ वनका कर्मचारीले उर्दी लगाए, रवाफ देखाए । पुलिस, वनपाले र नापीका अमिनहरुको ठूलो डफ्फा गाउँको एउटा किसानको गोठमा खानेबस्ने व्यवस्था गरेर निकै दिन बस्यो । लामालामा फित्ता निकालेर जग्गाको नाप लिए । जङ्गल र आवादी जमिन छुट्याए ।

नापजाँच गर्ने मानिसहरु गाउँबाट गएको केही महिनापछि नचिनेका मानिसहरु गाउँमा देखिन थाले । जग्गा किनबेच गर्ने, बसाइ सर्ने यस्तैयस्तै कुरा गरे उनीहरुले । केहीले त ‘यो जङ्गलक्षेत्र भएकाले बस्ती उठाउँदैछ, सस्तोमस्तोमा बेचेर यहाँबाट हिँड, बेच्ने हो भने हामी लिन्छौँ पनि भने । 

बल्लबल्ल बनाएको घर र पाएको जमीन गुम्ने हो कि भन्ने डरले सन्तवीरको मनमा चिसो पस्यो । सबै गाउँलेहरु जम्मा भएर सरसल्लाह गरे । आ–आफ्नो जग्गाको नापीनक्सा चाँडो कायम गर्नुपर्छ भनेर गाउँ विकास समिति र नजिकका नेताहरुलाई हारगुहार गरे । सबैतिरबाट आश्वासन पाए । ढुक्क भए सबै गाउँलेहरु । पुस्तौँदेखि ठाउँठेगाना नभएका मान्छेहरु आफ्नै जमिन र घर हुने आशामा ढुक्क भए । 

चुनाव हुने समयमा गाउँमा भोट माग्न अनेकथरि नेताहरु आए, विभिन्न पार्टीका । उनीहरुले गाउँको समस्या आफ्नै समस्याजस्तो गरी कुरा गरे । अनेक आश्वासन दिए । ‘तपाईंहरुको जग्गा र घर दर्ता गराउन हाम्रो पार्टीले पहल गर्नेछ । हामीलाई भोट दिनुभयो भने हामी यो काम अवश्य गर्छौ ।’ सबैले प्रतिज्ञा गरे ।  बिजुली, पानी र सडकको लागि आवश्यक बजेट मिलाउने कुरा गरे । केहीले त यो गरिबहरुको पार्टी हो, हामी गरिब, सुकुम्बासीहरु सबैलाई जमिनको मालिक बनाउँछौँ भन्थे । कोही दलित, जनजाति, आप्रवासीको हित गर्छौ भन्थे । सबैले एकएक कुराको आश्वासन दिए, गरिबको वकालत गरिरहे र आश्वासन दिन मिल्ने र सक्नेजति आश्वासन पनि दिइरहे ।

सन्तवीरको गाउँ २० वर्षसम्म त्यस्तैत्यस्तै आश्वासन सुनेर बसिरह्यो । सबै नेता, कर्मचारी, ठूलाठालु, गैरसरकारी संस्थाहरु सबैले गाउँको, जनताको कुरा गरे तर सन्तवीरले जग्गा र घर आफ्नो नाउँमा भएको कुनै प्रमाण पाउन सकेन, न अरु कुनै गाउँलेले नै पाए । 

एक दिन बिहानै गाउँलेहरु चौतारोमा जम्मा भए । जग्गाको प्रमाण खोज्न र दवाव दिन जिल्लाको मुख्य प्रशासक सिडिओकहाँ जाने निर्णय गरे । शायद गाउँलेहरु सिडिओले समस्या समाधान गरिदिन्छन् भन्ने विश्वास गरेका थिए । सन्तवीर पनि त्यो टोलीमा समावेश भयो । टोलका टाठाबाठा भनिएका गयाराम दाहालको नेतृत्वमा १० सदस्यीय टोलीले काम सुरु गर्यो । टोली सिडिओकहाँ जाने भयो । 

गाउँलेहरुले सिडिओकहाँ उजुरी गर्न जाँदा अनेक झन्झट व्यहोर्नुपरेको, भोलिभोलि भनेर अनेकपल्ट एउटै कामका लागि धाउँदा काम नभएर वाक्क भएर त्यसै छोडेर बसेको, न्याय पाउन धाउँदाधाउँदै थाकेर त्यसै छोडेको, न्याय पाउन तारिख धाउँदा र वकीललाई पैसा तिर्दातिर्दा घरखेत नै बेचेर सुकुम्बासी भएको पनि सन्तवीरले पहाड हुँदा नै सुनेको थियो । कतै आफूपनि त्यही हुनेतिर लागेँ कि भनेर झस्क्यो सन्तवीर । 

‘मैले त यस्ता काम गर्न अड्डा धाउनेको निकै अनुभव सुनेको थिएँ । सबैले एउटाले अर्कालाई देखाउँछन् र थकाउँछन् अनि निराश भएर आफैँ छोड्ने अवस्थामा पुर्याउँछन, निर्णय गर्न कोही चाहँदैनन्, कानुन, नियम र कागज खोज्छन्, जिम्मेवार कोही छैनन् भन्थे हो कि क्या हो ?’ सन्तवीरले टोलिनेता गयारामलाई खुसुक्क भन्यो ।
सन्तवीरको कुरा सुनेर गयारामले पनि पुराना मानिसहरुले भनेका कुरा सम्झ्यो । अनुभव एकातिर थियो अर्कातिर कामको जिम्मेवारी । मुन्टो हल्लाउँदै गयारामले सन्तवीरको कुरामा आफ्नो प्रतिक्रिया जनायो– ‘जमाना बदलिइरन्छ, मानिस पनि बदलिन्छन्, नबदलिएकालाई हामीले बदल्नुपर्छ ।’ हिम्मत देखायो गयारामले । 

बिहानको खाना खाइसकेर हिँडेको गयाराम र सन्तवीरको टोली सिडिओकहाँ पुग्यो । टोलीलाई नरम सोफामा बसाउँदै सिडिओले सोधे– ‘के सेवा गरौँ तपाईंहरुको ?’ सिडिओको कुराले सन्तवीर दङ्ग पर्यो । जिल्लाकै यति ठूला हाकिमले पनि यति विनम्र भएर कुरा गरे । के सेवा गरौँ भनेर सोधे । साँच्चै फेरिएछन् क्यार हाकिमहरु । गयारामले भनेका कुरा ठीक रहेछन् । काम हुने सम्भावना छ क्यार । सन्तवीरले पुलुक्क गयारामतिर हेर्यो । गयाराम गमक्क फुलेर मुस्कुरायो । 

‘हामी झोराबाट आएका ।’ सिडिओको प्रश्न सुनेपछि गयारामले वेलिविस्तार लाउन सुरु ग¥यो–  ‘हामीलाई ढालफाँड गरेर बस भन्ने आदेश भएकाले झोरा फाँडेर बस्यौँ । २० वर्ष भइसक्यो । यो थोरै समय होइन । हामी बसेको जमिन हाम्रै हो भनेर केही सरकारी कागज माग गरेका हौँ । नापी टोली गएर नापिसकेको पनि हो तर अहिलेसम्म त्यसको केही खुटखबर भएन । त्यसैले हामी अन्यायमा परेका छौँ हजुर, न्याय गरिदिनुपर्यो । जग्गा दर्ता गराइदिनुपर्यो ।’

गयारामको बेलिबिस्तार सुनिसकेपछि सिडिओले अलि गम्भीर हुँदै भने– ‘हेर्नुस् गयारामजी, तपाईंहरुजस्ता जनताकै सेवा गर्न बसेका हौँ हामी । जनताको काम नै हाम्रो पूजा हो । तपाईंहरुलाई मर्कापरेको पक्कै हो । म यो जिल्लामा आएदेखि नै तपाईंहरुको समस्या सुनिरहेको छु । बुझेको छु तर यो काम मेरो कार्यक्षेत्रमा परेन । यो काम नापी र मालपोत कार्यालयको हो । म उनीहरुलाई फोनमा भनिदिन्छु, तपाईंहरु त्यहीँ गएर कुरा गरे बेश होला । मेरो काम शान्ति, सुरक्षा हेर्ने र प्रशासन चलाउने हो ।’ यति भन्दै सिडिओले नापी र मालपोतका हाकिमलाई फोन गरिदिए र हाम्रा कुरा विचार गरिदिन सिफारिस गरे । 

‘तपाईं जिल्लाको मुख्य प्रशासक हो । एकपटक यो समस्या समाधान गर्न छिटो पहल गरिदिनुस् भनेर सबै हाकिमहरुलाई बोलाएर हजुरले भनिदिए हाम्रो काम बन्थ्यो कि हजुर । त्यसो भए हुनेनहुने के हुने हो टुंगो लाग्नेथियो ।’ गयारामले सिडिओलाई अलि जोड गरे । 

गयारामको कुरा सुनेर सिडिओ अलि चिडचिडाजस्ता भए । उनले गयारामतिर फर्केर भने– ‘तपाईंहरुका लागि तपाईंकै समस्या ठूलो छ । मेरो यहाँ तपाईंकोभन्दा पनि ठूलाठूला समस्या छन् । तपाईंहरु मालपोत र नापीमा जानुस्, मलाई आफ्नो काम गर्न दिनुस् ।’ 

जसको घरबासको नै टुंगो लाग्न सक्या छैन त्योभन्दा ठूलो समस्या त पक्कै छैन होला । गयारामले कुरा सिध्याउँदानसिध्याउँदै सिडिओ उठेर हिँड्न खोजे । निस्किसकेपछि थाहा भयो उनी प्रशासन मन्त्रीलाई भेट्नका लागि मन्त्री बसेको होटलमा जान निस्केका रहेछन् । सन्तवीरले त्यो थाहा पाएपछि गयाराम र साथीलाई भन्यो– ‘यी देश र जनताको पूजा गर्छु भन्छन् तर फेरि मन्त्रीलाई भेट्न हाम्रा समस्या पन्छाएर होटलतिर पो लागे त ! यिनले भनेको ठीक कि गरेको ठिक ? 

गयाराम र सन्तवीरको टोली नापी र मालपोत कार्यालय पुग्यो । त्यहाँ पुग्नासाथ दलालहरु भुम्मिए– ‘के काम छ हजुर ? कुनै काम छ भने हामी मिलाइ दिन्छौँ । नक्सा मिलाउने, दर्ता गर्ने सबै काम हुन्छ हजुर ।’
सन्तवीर दलालहरुको घेराबन्दी देखेर छक्क प¥यो । टोली दलालहरुको चक्रव्युह पार गरेर भित्र पस्यो । महाभारतको युद्धमैदानको चक्रव्युहजस्तै लाग्न थाल्यो सन्तवीरलाई त्यो काम । 

टोलीले मालपोत हाकिमसँग कुराकानी ग¥यो । हाकिमले टोलीको कुरा सुनेर भने– ‘यो काम प्रकृयामा छ । कानूनअनुसार सबै कुरा पु¥्याएर गर्नुपर्नेछ । नापीको हाकिमसँग पनि कुरा गर्र्नुहोला । दर्ता समितिको बैठक बसेको छैन । सिडिओ साबको अध्यक्षतामा एउटा समिति बनेको छ, त्यसले काम गर्दैछ ।’ 

‘अनि कानुन बमोजिम काम गर्न पनि बीशौँ वर्ष लाग्छ त हजुर ?’ यसपटक गयारामको सट्टामा सन्तवीरले प्रश्न गर्यो । 

‘हाकिमहरु फेरिरहन्छन् । हुनेहुने बेलामा कुरा बुझेका मान्छे सरुवा भइदिन्छ । नयाँलाई फेरि कुरा बुझाउन समय लाग्छ । यस्तैयस्तै भएर तपाईंको काम अल्झिरहेको छ । हेर्नुस् न हाम्रो देशको राजनीति ठीक नभई कामै गर्न गाह्रो भयो ।’ गाउँलेहरुको काम गर्नेतिर भन्दा राजनीतिलाई दोष थुपार्न थाले मालपोत हाकिम ।
मालपोत हाकिमका कुरा पनि सिडिओका जस्तै थिए । गयारामको अनुहारमा अलि निराशाको बादल लागेजस्तो देखियो । अरु गाउँलेहरु अझ काला देखिए । सबैको अनुहारमा अन्यौल र निराशाको कालो बादल मडारिन थाल्यो । 

‘हुने–नहुने छिटो टुंगो गर्दिनु पर्यो हाकिम सा’ ब । हामी त त्यो ठाउँ छोड्नु न बस्नुजस्तो दोधारमा पर्यौँ ।’ गयारामले पुरानै अनुरोध दोहोर्यायो । 

‘हामी तपाईंहरुको मर्काप्रति संवेदनशील छौँ । चाँडै निर्णय गराउने प्रयास गर्छौं । एक पटक नापी हाकिमलाई पनि भेट्नुहोला ।’ हाकिमको आश्वासनपछि गयारामको टोली फेरि नापी हाकिमकहाँ पुग्यो । 

नापी हाकिम चिया खाएर घाम तापिरहेका थिए । गयाराम र सन्तवीरको टोलीले हाकिमलाई घेराबन्दी गर्दै आफ्नो मर्का सुनायो । सुनिसकेपछि हाकिम बोले– ‘तपाईंहरुको समस्या प्रशासनिक र प्राविधिक समस्या मात्रै होइन । यो राजनीतिसँग पनि गाँसिएको छ । त्यसैले एकपटक तपाईंहरु राजनीतिक पार्टी र जिल्ला विकास समितिका सभापतिसँग पनि भेटेर कुरा गर्नुहोला । हाम्रो काम नक्शा तयार गर्ने हो, नक्शा तयार छ । नक्शा लागू गर्नका लागि जिल्लाबाट निर्णय गरेर विभाग पठाउनु पर्छ । यसमा वनको पनि सहमति चाहिन्छ । तपाईंहरुले दुःख पाउनु भएको छ । तर के गर्नु, मैले मात्रै केही गर्न सक्तिनँ । एकपटक नेताहरुसँग पनि कुरा गरेर मन्त्रीकहाँ नै पुग्नुपर्छ कि ?’ समस्याको अझ ठूलो पहाड बनाइ दिए नापी हाकिमले । 

‘मन्त्रीकहाँ यति सानो कममा किन पुग्नुपर्ने ? कानुनले सबै अधिकार त तपाईंहरुलाई नै दिएको छ । फेरि हामीलाई किन दुःख दिनुहुन्छ ?’ गयाराम अलि कड्कियो । 

गयारामको कड्काइ सुनेर नापी हाकिमले भने– ‘मैले देखेको र भोगेको कुरा भनेको हो । मेरो पनि जागिरको कुर्सी तपाईंहरुको समस्याजतिकै ठूलो छ । राजनीतिबेगर कसैको हात चल्दैन । मन्त्रीको आदेश ल्याइदिनुस् त्यही दिन काम हुन्छ ।’ 

सिडिओदेखि नापीसम्म धाउँदा सबैका ओठमुख सुकिसकेको थियो । नापी हाकिमको कुरापछि त्यहाँबाट बाहिरियो सन्तवीरको टोली । 

‘अब न आउनु आइहालियो एक पटक जिल्ला विकास समितिका सभापति र वनका हाकिमलाई पनि भेटेरै जाऊँ न त के भन्दारछन् ।’ टोलीका एकजना सदस्यले भने । गयाराम र सन्तवीर थाकिसकेका थिए । टोली जिल्ला विकासका सभापतिकहाँ पुग्यो । 

टोली जग्गा दर्ताको सन्दर्भमा आएको भन्ने थाहा पाएपछि सभापतिले भने– ‘म तपाईंहरुको पक्षमा छु । तर के गर्नु यी सरकारी हाकिमहरु पटक्कै हामीले भनेको सुन्दैनन्  । काजग र कानुन देखाएरै हैरान पार्छन् । म त हरेक पटकको बैठकमा तपाईंहरुको समस्या समाधान गर्र्नुपर्यो भनिरहेकै छु । ती हाकिमहरुलाई भेटेर अलि दवाव दिनु भो भने हामीलाई पनि सजिलो हुन्छ ।’ काम बनाइ दिने छाँट त्यहाँ पनि देखेनन् गाउँलेहरुले ।
सभापतिका कुरा आफ्ना ठाउँमा सही बेसही के थिए थाहा थिएन तर गाउँलेका समस्या सुनाउने जोस र जाँगर भने अन्यौलको खाडलतिर धकेलिँदै थियो । 

‘चाँडो निर्णय गराइ दिनुपर्यो हजुर  । हामी त साह्रै मर्कामा पर्यौँ ।’ सन्तवीरले थप्यो । 

‘तपाईंहरु बसिरहनुभएकै छ । कसैले त्यहाँबाट उठाउन सक्तैन । हामीले सडक र बिजुलीको लागि यसपाली केही बजेट छुट्याइदिएका छौँ । तपाईंहरु ढुक्क हुनुहोस् । एक दिन तपाईंहरुको जग्गा दर्ता नगरी सुख्खै छैन ।’
जिल्ला सभापतिको कुरा सुनिसकेपछि टोली फेरि वन कार्यालयतिर लाग्यो । वनका हाकिम परिचितै थिए । गाउँलेलाई देख्नासाथ भने– ‘अब अर्को महिनासम्म सरकारको तर्फबाट केही निर्णय अवश्य होला । हामीले ढालफाँड भइसकेको जग्गा दर्ता गरिदिन आदेशका लागि मन्त्रालय पठाएका छौँ । त्यतिबेलासम्म धैर्य गर्नुस् । बरु एक पटक मन्त्रीज्यूलाई भन्नुहोला ।’ 

वनका हाकिमसँग कसैको दोहोरो कुरा गर्ने जाँगर देखाएनन् । गयारामले निस्कनेबेलामा भन्यो– ‘चाँडो गर्ने प्रयास गरिदिनुहोला ।’

अर्को महिना निर्णय आइहाल्छ कि भनेर गाउँलेहरु आशावादी देखिए । एक महिनासम्म पनि निर्णय आएन, बरु सीमानाको नजिक भएकाले गाउँ नै सार्ने भन्ने हल्ला चल्न थाल्यो । सबै गाउँलेहरु आत्तिए । त्यतिकैमा जिल्लामा वन र भूमिसुधार मन्त्री आउने हल्ला चल्यो । गाउँलेहरु मन्त्रीलाई भेटेर कुराकानी गर्न पाए हुन्थ्यो कि भन्ने आशा गर्न थाले । सन्तवीरले त्यो खबर गयारामलाई सुनायो । मन्त्री आउने मौका पारेर सबै गाउँलेहरु मन्त्रीकहाँ गए । मन्त्रीले भने– ‘यो निर्णय म एक्लैले गर्न नसक्ने भएकाले मन्त्री परिषद्मा पठाएको छु ।’ 

मन्त्रीका कुरा सुनेपछि वाक्क भइसकेका गाउँलेहरुले भने– ‘कानुनअनुसार आफ्नो देशभित्र गर्नुपर्ने काममा पनि यत्रोविधि जटिलता देखाएर किन दुःख दिनुहुन्छ ? यतिका वर्षदेखि हामी ठाउँ छोड्नु न बस्नुको पीडामा अनेक हल्ला सुनेर बसिरहेका छौँ । जनताका लागि त मन्त्रालय र मन्त्री सर्वेसर्वा नै हुन् जस्तो लाग्छ । निर्णय गर्नै नसक्ने हो भने यस्तो मन्त्रीमा रहनु नै किन पर्यो ?’ 

यति भनिसक्ता सबै गाउँलेहरुका आँखा रोष र दिक्दारीका आँसुले भरिए । मन्त्रीले भने– ‘एक पटक तपाईंहरुले प्रधानमन्त्रीसँग पनि कुरा गर्दिनु भयो भने मलाई पनि निर्णय गराउन अलि सजिलो हुन्छ ।’

पञ्चायतकालमा राजाले जनताका नाममा सन्देश दिँदा अन्तमा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्थे, अहिले यी सबै एक अर्कालाई देखाउँछन् । जिल्लाको एउटा अड्डाले निर्णय गरे हुने कुरामा अनेक मन्त्रालय र विभाग चाहार्दा पनि हुने काम हुँदैन । एउटा मान्छेले निर्णय गर्दा हुने काम आज दुई दशकसम्म पनि हुँदैन । काम जहाँको तहीँ छ । यिनीहरु सबैले जनताकै कुरा गर्छन् । कहाँ छन् त यिनका जनता ? गयारामले दिक्दार हुँदै आफ्नो स्मृतिका पाना पल्टायो । दिक्दारीले आफूलाई थकाउँछ, हिम्मत घटाउँछ, काम बन्दैन । दिक्दार मानेर ठाउँ पनि त छोड्न सकिन्न नि ! गयारामले फेरि आफूभित्र हिम्मत बढायो र साथीहरुसँग भन्यो– ‘अब यसैउसै दुःख पाइहालियो काठमाडौँ गएर प्रधानमन्त्रीलाई नै भेटौँ । प्रधानमन्त्रीकहाँ गएपछि त कसो नहोला ।’ गाउँलेहरुले फेरि आशाको दिया बाले आफूभित्र । 

२०५६ साल मंसीर महिनाको २५ गते गाउँलेहरुको एक टोली प्रधानमन्त्रीलाई भेटेर जग्गा दर्ताको कुरा गर्न काठमाडौँ जाने भए । एउटा विज्ञप्ति निकालेर सबै पत्रकारहरुलाई बाँडे । भोलिपल्ट समाचार बनाए सबै पत्रिकाहरुले । समाचारमा– गाउँलेहरु अन्तिम प्रयासका लागि काठमाडौँ गएर प्रधानमन्त्रीलाई भेट्ने बिषय पनि उल्लेख थियो । 

त्यो निर्णय भएको दिन बेलुका सन्तवीरले पुतलीसँग भन्यो– ‘देशकै प्रमुखलाई भेटेपछि त कसो नहोला । अब टुंगो लाग्छ ।’ 

सन्तवीर सहितको ५ जनाको टोली काठमाडौँ जाने गरी गाउँबाट हिँड्यो । सन्तवीर काठमाडौँ हिँडेपछि पुतली मात्रै घरमा बसी । 

टोली प्रधानमन्त्रीलाई भेट्न सिंहदरवार पुग्यो । एक छिनपछि सिंहदरवारको कार्यालयमा छिरे प्रधानमन्त्री । गयारामले चिनेका एकजना नेता पनि उनीहरुसँगै थिए । प्रधानमन्त्रीको कुर्सीको अघिल्तिर ठूलाठूला अक्षरमा लेखिएको थियो– नियमसम्मत काम आजको आजै हुन्छ । गयाराम र सन्तवीरले ती ठूला अक्षर प्रधानमन्त्रीसँग कुरा गर्नुअघि राम्ररी पढे । उनीहरुलाई ती अक्षरले गिज्याएजस्तो लाग्यो । 

टेबुलमा छरिएका अनेक अखबारतिर ध्यान मोडे । अखबारको अघिल्लै पृष्ठमा ठूल्ठुला अक्षरले लेखिएको थियो– स्वप्ननगरको जग्गा २० वर्षमा पनि दर्ता भएन । प्रधानमन्त्री त्यही पत्रिका पढिरहेका थिए । सन्तवीर र गयारामले पनि त्यही पढे । पत्रिकाले सबै विवरण साँचो नै लेखेको थियो । तर, अन्तमा लेखेको थियो– ‘शायद यो गाउँको जग्गा दर्ता गर्ने निर्णय सरकारले पनि गर्न सक्ने छैन बरु यो बस्ती नै अन्यत्र सर्ने बलियो सम्भावना छ । त्यसका लागि सरकारले अर्को ठाउँ हेर्न सम्बद्ध निकायलाई निर्देशन दिइसकेको छ । प्राविधिक रुपमा दर्ता गर्न कुनै समस्या नभए पनि अनेक वाह्य कारण यसमा जिम्मेवार रहेको कुरा सम्बद्ध सूत्र बताउँछ ।’ 

यो समाचार हेरेपछि गयाराम र सन्तवीरले मुखामुख गरे । प्रधानमन्त्रीले परिचय गरिसकेपछि त्यही पत्रिका देखाउँदै भने– ‘मैले निर्णय गरेर सम्बन्धित मन्त्रालयमा पठाइसकेको छु । चाँडै तपाईंहरुलाई अन्यत्र सार्ने काम हुनेछ । त्यतिन्जेलसम्मका लागि तपाईंहरु त्यहीँ बसिरहनुहोला ।’ 

(दक्षिणी सीमानाको  करिबकरिब दुई किलोमिटरको दुरीमा रहेको त्यो गाउँको जग्गा सन्तवीरको छोराको पालासम्म पनि दर्ता भएन । बस्ती पनि सरेन । पछि विस्तारै त्यो वस्ती नै अर्को देशको नक्शामा परेको रहेछ भन्ने हल्ला सुनियो । यताकाले उताको र उताकाले यताको भनेर त्यो गाउँलाई देखाइरहे । नक्शामा नपरेको त्यो गाउँलाई आज पनि स्वप्ननगरको नामले चिनाइरहन्छन् मानिसहरु । यो गाउँ बसेदेखि अहिलेसम्म किन जमिन भोगचलन गर्नेहरुका नाममा दर्ता हुन सकेन ? किन अर्को देशको भूमिमा परेको भनेर हल्ला फैलाइयो ? किन सबै काम भइसकेर पनि बस्ती हटाउने वा दर्ता गर्ने दुवै काम हुन सकेन ? आजसम्म न कसैले यस कुराको जवाफ पाए न कसैले यस कुराको जवाफ दिन नै आवश्यक ठाने । आजसम्म पनि यो स्वप्ननगरका बासिन्दा कुन देशका हुन् ठेगान लाग्न सकेको छैन । देशभित्र हुँदाहुँदै देशविहीन छन् यहाँका मानिसहरु ।)

Friday, January 29, 2016

चिहान चिन्तन

मानिसको खोपडी सबैभन्दा रहस्यमय छ । यहाँ के छैन ? सबैथोक छ । धेरैथोक भएकाले यो एकैछिन नचली बस्न सक्तैन । केही न केही उपद्रो गरिहन्छ । कहिले के सोच्छ कहिले के । खालि बस्न यसले जानेकै छैन । आजभोलि मेरो खोपडीमा चिहान चिन्तन चलिरहेको छ । चिहान भन्ने वित्तिकै मानिहरु ओठ लेप्र्याँउछन् । आँखा मोड्छन् । हेर्नु नपरे हुन्थ्यो, देख्नु नपरे हुन्थ्यो भन्ने ठान्छन् । तर के मानिसको मात्र चिहान हुन्छ र त्यसरी घिनाउनू ? मेरो टाउको नराम्ररी रन्थनिएको छ आजकल । चिहान त के के को हुँदो रहेछ के के को । विचार, संस्कृति, व्यवहार, बुद्धि, विवेक यस्ताको पनि चिहान हुँदो रहेछ । मैले त मान्छे गाडेपछि मात्रै चिहान हुन्छ भनेको त अरुको चिहान त झन् पो डरलाग्दो हुँदो रहेछ ।

विचारको चिहान सबैभन्दा डरलाग्दो । देख्दै नदेखिने, घिन पनि नलाग्ने भित्रभित्रै सिध्याइ दिने । संस्कारको चिहान अझ डरलाग्दो । चरित्रको चिहानले त समाजै सखाफ । ए बाबा यो चिहान किन आयो होला मेरो खोपडीमा ? हैरान छु म आजभोलि । हुँदाहुँदा म त चिहानलाई असाध्यै बहुमुल्य कुरा पो देख्न थालेको छु ।  चिहान सधैँ उपेक्षा गर्न लायक भएका भए मिश्रवासीले बनाएको चिहान किन त्यति महत्वपूर्ण हुन्थ्यो ? पिरामिड भनेका चिहानै हैनन् र ? बौद्धमागीहरु सबैभन्दा धेरै चिहानलाई माया गर्छन्, क्रिश्चियन, मुसलमान अरुअरु धर्माबलम्बी पनि छन् जो चिहानलाई असाध्य महत्व दिन्छन् । किन दिए होलान् तिनले चिहानलाई त्यति धेरै महत्व ? मेरो खोपडी हल्लिने गर्छ कहिलेकाहीँ, जस्तो कि अहिले हल्लिँदै छ ।हामीले कैयौँका चिहानहरु नष्ट ग¥यौँ । कैयौका चिहान बनायौँ । कैयौँका चिहान तारवार लगाएर राखेका छौँ । कैयौँ चिहान हेर्न मानिसहरु तछाडमछाड गरेर संसारभरबाट ओइरिरहेका छन् । एउटा चिहान छ ताजमहल जो संसारकै आश्चर्यमध्ये मानिन्छ । म सोच्छु चिहान भारेमुरेको हो भने कामै छैन । चिहानै बनाउनु छ भने अलि काम लाग्ने कुराको बनाउनु, कि त मूल्य नै नभएकाको बनाउनु, ठूलाठालुको बनाउनु । राजामहाराजका चिहान पो चिहान, नेताका चिहान पो चिहान, साहित्यकार, कलाकार, बौद्ध भिक्षु, लामा, सन्यासी यस्तैयस्तैका चिहान पो चिहान । जुन चिहानको कुनै मूल्य नै छैन, कसैलाई चासै छैन, कसैले हेर्दै हेर्दैन, चिन्दैचिन्दैन त्यस्ताको चिहानको के काम ?मलाई आज महान चिहान चिन्तन फुरेको छ । कस्ता चिहानहरु उत्तम चिहान हुन् र कस्ता अधम भन्ने बारेमा आँखि भौँ खुम्च्याएर सोच्दैछु ।कहिलेकाही चिहानहरु डरलाग्दा हुन्छन् । ती चिच्याउँछन दुनियालाई तर्साउन । जस्तो  कि हाम्रो देशका राजा महेन्द्रको चिहान । विचरा महेन्द्र कहाँ पुगिसके उनको चिहानले आजसम्म भएभरका नेताको गिदी खाइरहेका छन् । तर्साइरहेका छन् । जङ्ग बहादुरको चिहान अझ डरलाग्दो छ हाम्रो देशमा ।विदेशमा पनि थुप्रै छन् डरलाग्दा चिहानहरु । माक्र्सको चिहानले दुनियाँलाई निद हराम गरिदिएको छ । लेनिनको चिहान उस्तै डरलाग्दो छ । उनको डेडवडी राखिएको चिहान संसारभर चर्चा भयो । चिहानै हुनु छ भने त्यस्तो चर्चित चिहान हुनु नि !चिहान कहिलेकाहीँ साह्रै लोभलाग्दा पनि हुन्छन् । जस्तो कि युरोपमा भएका कतिपय पादरी र पोपका चिहान । ती चिहान उदेकलाग्दा छन् । यतिका वर्ष बितिसक्ता पनि ती चिहानले मानिसलाई तानेका तान्यै छन् । कुनै कमी छैन मानिसको लर्को ।चीनमा राजाहरुका चिहान त्यस्तै चर्चित छन् । के के न रमाइला ठाँउ होलान् भनेर घुम्न निस्क्यो, कि शरीर गाडेका चिहानमा पुग्नुपर्छ कि मरिसकेका लासहरुलाई ढुंगाको रुप दिएर ठिङ्ग ठड्याएर राखिएका ठाँउमा पुग्नुपर्छ । जमिनमुनि गाडे पनि जमिन माथि ठड्याए पनि मुर्दा जहाँ हुन्छन् त्यहाँ त चिहानै हुन्छ नि ।चिहान बहुमुल्य हुनका लागि त्यहाँ के गाड्ने हो त्यो खुब विचार गर्नुपर्दो रहेछ । त्यो विचार पुर्याउन सकिएन भने त्यस्ता चिहानले कुनै दमदार प्रभाव नै देखाउन सक्ता रहेनछन् । त्यसैले मेरो चिहान चिन्तन कहिले बुद्ध परम्परातिर सोझिन्छ, कहिले ख्रिस्टियनतिर सोझिन्छ, कहिले राजा र महाराजाहरुतिर सोझिन्छ । कहिले यो चिन्तन बौद्ध हुन्छ, कहिले क्रिश्चियन हुन्छ , कहिले किराँत हुन्छ, कहिले राजावादी हन्छ, प्रजातन्त्रवादी, कहिले समाजवादी, कहिले कलावादी, कहिले कलाकारवादी भइदिन्छ । किन यसरी अस्थिर भएको होला यो चिहान चिन्तन पनि ! मलाई दिक्क लाग्छ ।एक जना साहित्यकार छ, ऊ जहिले पनि चिहानमा टहलिन मन पराउँछ । एक दिन मैले उसलाई प्वाक्क सोधे – ‘ए फलाना तँ किन खालि चिहानमा डुल्न मन पराउँछस हँ ?” उसले मलाई साह्रै बेतोड जवाफ दियो ।“तँ चिहान माथि छस, म चिहान माथि छु, राजनीति चिहानमाथि छ, समाज चिहानमाथि छ, मेरो र तेरो देश चिहानमाथि छ । सबै चिहानै माथि त छन् नि ! अनि म कहाँ जाऊँ त ?”उसको जवाफ बेजोड हो कि होइन त्यो छुट्याउन पनि मैले अब चिहान चिन्तन नै गर्नुपर्ने भयो ।चीनको सियान नजिक एउटा पागल कलाकारले ७,००० भन्दा बढी मानिसको सिंगै शरीर बनाएर त्यसलार्य चिहानमा पुरिदिएछ  । त्यो खोतलेर पत्ता लागेको मात्रै के थियो संसारभरका मानिस ओइरिएका छन्, हेर्न, बुझ्न, अध्ययन गर्न । के मात्रै गरेन त्यो चिहानले ? संसारकै उत्तम सम्पदा सूचिमा परेको छ अहिले । त्यसको नजिकै महाराजले रानीलाई माया गरेर भव्य चिहान बनाउनु पर्यो भनेर उर्दी लगाएको ठाउँ समेतले चर्चा पाएको छ । लर्को लागेर मानिस धाइरहेका छन् त्यहाँ ।“कसैले शुक्रकीटलाई खाल्डोमा हालेर चिहान नबनाएको भए तँ जन्मिन्थिस् ? एउटाको मुत्युमा अर्को जन्मिन्छ त्यसैले चिहान भनेर हेला नगर्नु । यसमा रमाउन सिक्नु ।” चिहाने सहित्यकार कुमार नगरकोटीले डरलाग्दो, कालो, धमरधुस पहिरनमा सपनामै आएर झपारे मलाई— “तेरो देश चिहानमा उभिएको थाहा छैन रछ तँलाई । हेर त चारैतिर चिहानै चिहान ।” उसले घिसादै लग्यो मलाई पाटनको कृष्णमन्दिरतिर । उसले  त्यहाँ लगेर भन्यो– “हेर त यहाँ मल्ल राजाहरु गाडेको  । गाड्न जान्नुपर्छ । मरिसकेको माथि त हो नि हामीले खाने, लाउने, पैसा कमाउने, मोज गर्ने ।” धमरधुस कालो अनुहार, ठूलाठूला गेडा भएको माला, थरिथरिका औँठी नै औँठीले सजिएको नगरकोटी दिल खोलेर हाँस्यो कृष्ण मन्दिर अगाडि उभिएर ।“हेर् त यहाँ कृष्णको चिहान कति सुन्दर छ । उसको गीताको चिहान नबनाएको भए यो मन्दिर ठडिन्थ्यो ? यत्रा पुजारी, गुभाजु, श्रद्धालुले खान पाउँथे यो बेचेर ? बडेमाको ढुंगाको मृत्यु वरण गराएर यसलाई मूर्तिमा परिणत नगराएको भए यो मन्दिर यति राम्रो हुन्थ्यो ? मन्दिर बनाउन कतिको चिहान बनाउनु पर्छ थाहा छ तलाई ? ऊ हेर् त्यो थोत्रो घरको डकर्मी न्हुछेमान महर्जानको जिजुबुवाको मसिना र हातको मयलले ठडिएको हो यो मन्दिर । उसको बुद्धि, श्रम र इमानको चिहान नबनेको भए यो ठडिन्थ्यो ?”जब्बर प्रश्न गरेर आच्छुआच्छु पा¥यो नगरकोटीले । कुमार नगरकोटी नभनेर चिहानकोटी जस्तो त्यो मान्छे पनि त आखिर चिहानकै उत्पादन रहेछ नि ! म मनमनै सोच्छु अहिले चिन्तन चलिरहँदा । यथार्थवादको चिहानमाथि नग्नवादको महल ढड्याएको होइन र चिहानकोटीले ?  नभए के हो त ? छँदाखाँदाको राम्रोराम्रो कुरालाई पनि भूत, पिशाच, मृत्यु, चिहान, खप्पर, मसानघाटसँग लगेर जोडेको ? ऊभन्दा अघिल्ला साहित्यलाई चिहान बनाएको होइन उसले ? मिस्टकालाई त्यसरी किन नाङ्गै बनाएको पसलपसलमा लगेर ? त्यो छँदाखाँदाको बाहुनबाजेलाई किन लगेर रुखमा झुन्ड्याइदिएको ? घरहरा फोरेर किन स्याउँस्याँउति काला विरालाहरु निकालेको ? चिहानकोटीको चिन्तननै चिहानबाट निस्केको छ । एउटालाई चिहान नबनाई नयाँ जन्मिँदै जन्मिँदैन ऊभित्र ।मलाई घुमाउन लिएर पाटन पुगेको नगरकोटी त्यहीँ अन्तरध्यान भयो, मल्लकालीन दरवारको  चिहानभित्र । म मल्लकालीन त्यो चिहानबाट फुत्त बाहिर निस्कँदा एउटा ठूलै पार्टीको नेता ठिङ्ग उभिएको थियो, गमक्क फुलेको गलबन्दी घाँटीमा बेरेर । उसले जाडोलाई चिहान बनाएछ गलबन्दीले छोपेर । मैले उसलाई एक धक्का दिएर सडकमा गुडेको कारमुनि पुर्याइ दिएँ । ठूलै नेता हँु भन्थ्यो, गाडीले किचिएर कच्याककुचुक भयो । हुल बाँधेर हिँडेका धेरै गाडिले किचेर किमा बनाइदिएपछि एक हुल पुलिस आए उसलाई बचाउन । छरिएर किचिमिची भएका नेताको शरीरका मासुका टुक्रा लुछ्न कुकुरहरु झुम्मिए ।पुलिसले सबैलाई घेरावन्दी गर्यो र उसको मृत्युलाई बडेमाको चिहान बनाउन सुरसार गर्यो । झण्डा लिएर एक हुल बूढा, अधबैंशे र केटाहरुको मिश्रित जमात त्यहाँँ आइपुग्यो । ठूलोठूलो स्वरमा चिच्याए र अग्लो एउटा चिहानको कल्पना गरे जसले त्यो किच्याउनेलाई पनि चैनसँग बस्न नदोओस, विरोधीहरुलाई पनि तह लगाओस । उनीहरु उसको चिहानमा टेकेर के के के के गर्छौ भनेर मुठी उठाएर चिच्याए ।चिहान नगरकोटी त्यो चिहान उत्सवमा झुलुक्क झुल्कियो फेरि । मलाई आश्चर्य लाग्नु स्वाभाविक थियो । मलाईभन्दा उसैलाई आश्चर्य लागेछ, मैले सोध्न ढिलो गरेकाले उसैले भन्यो– “यो चिहान अब निकै ठूलो हुनेछ, यसलाई हेरेर धेरैका आँसु टिल्पिलाउने छन्, सबयात्रामा धेरै झण्डा फहराइनेछ, झण्डा बनाउन धेरैले दोकानका कपडा किन्नेछन्, धेरै दोकानदारको कपडा बिक्नेछ, धेरै सुचिकारले झण्डा सिलाउने काम पाउने छन् । उनीहरुको आम्दानी बढ्नेछ । काजकिरिया गर्ने बाहुनबाजेको पनि थोरबहुत आम्दानी बढ्नेछ ।  केटाहरुले जिन्दावाद, मुर्दावाद गर्दा दैनिक भत्ता पाउने छन् । तिनको आम्दानी बढ्नेछ । उनीहरुको आम्दानीले वियर पसलेहरु मालामाल हुनेछन् । वियरपसलेहरु मालामाल हुनुको अर्थ उसकी तरुनी स्वास्नी पनि गहना र सारीले ढाकिएर मालामाल हुनेछिन्, सबैका हातमा पैसा भएपछि बैंकमा जम्मा हुनेछ, बैंकहरु मालामाल हुनेछन् । बैंकहरु मालामाल भएपछि ऋणिहरु मालामाल हुनेछन् । यसको लहरो लामो हुनेछ । त्यसैले मिस्टर राइटर चिहान चिन्तन बढिया छ ।”चिहानकोटी लापत्ता भयो यति भनेर । माथिबाट आकासवाणी ग¥यो— “तपाईंको अहिलेको जीवन पनि चिहान माथि नै छ राइटर । यो चिन्तन नछोड ।” त्यसपछि मैले चिहानकोटीको आवाज सुनिनँ । ऊ अन्तध्र्यान भयो कुनै चिहान चिन्तनमा ।मलाई यो चिहान चिन्तनले बिहानविहान सधैँ चिमोट्छ । किनकि रातको चिहानमा नै दिन झुल्किन्छ । रमाउँछ । रात चिहानमा नपुगी कहाँ विहानी हुन्छ ? कहाँ सूर्य उदाउँछ ? मेरो मन यो सम्झेर झस्याङ्ग हुन्छ । साँच्चि एक पटक मात्रै रात चिहानमा नपुगे के हुन्छ होला यो संसार ?मेरी घरवाली भन्छे– “यो घर त चिहान जस्तो छ । न माया, न  प्रेम, न आनन्द, न मस्ती ।” साँच्चिकै गजबको कुरा गरी उसले । मैले प्यारी प्रेमिकाको चिहान बनाएरै त उसलाई पत्नी बनाएको हो नि, नत्र त प्रेमिका छँदै थिई नि ! प्रेमिकालाई चिहान नबनाई कहाँ घरवाली, पत्नी, स्वास्नी हुन सक्छे ऊ ? एउटा जन्मन अर्को त चिहानमा पुग्नै पर्छ ।मेरो चिन्तनको वृत्त अहिले चिहानकै वरपर केन्द्रित छ । मानिसको बुद्धि मुर्खताको चिहानमा अडिएको छ, विकास र उन्नति अविकासको चिहानमा अडिएको छ, भौतिक उन्नति प्राकृतिक श्रोतको चिहानमा अडिएको छ, तपाईको विकास तपार्इंलाई सहयोग गर्नेहरु कति चिहानमा पठाउन सक्नु हुन्छ त्यसमा भरपर्छ, सामान बेच्नुहुन्छ भने कति ग्राहकको भावनालाई चिहानमा पुर्याएर अन्तध्र्यान गराउन सक्नुहुन्छ र खल्ती रित्याउन सक्नुहुन्छ त्यसैमा तपाईको भलो हुन्छ । पद हत्याएर माथि पुग्न चाहनुहुन्छ भने तपार्इंंका अगाडि अहोरात्र खटेर सहयोग गर्नेहरुलाई कसरी चिहानमा थिच्न सक्नुहुन्छ त्यसैमा सफलता हात लाग्छ । चिहानकोटीले त्यसै चिहान चिन्तन भित्र्याएको होइन साहित्यमा । उसको चिन्तन बहुमुल्य छ भन्ने ठम्याइ छ मेरो ।ऊ हाम्रो प्रशासन र राजनीतिका थोत्रा पुराना कुरा चिहानमा नपुर्याएकाले सधैँ दुःख पायौँ भन्छ । राणालाई चिहानमा पुर्याउँदा उसको अस्तु सँगै ल्याएर भण्डार गरेकाले, भएभरका नेता र हाकिम राणाजस्तै भए भन्छ । खै किन हो उसले त्यो भनेको चिन्तन तपार्यंले पनि गर्दा हुन्छ । सबैमा राणाहरुको हैकम, निर्देशन, ठालुपन सबै सरेर आएको छ । तिनलाई चिहानमा नहाली कहाँ बन्छ नयाँ नेपाल ? हेर् त हाम्रा कुन नेता राणाभन्दा कम छन् ? कुन नेता हाम्रा पूर्व राजाहरुभन्दा कम छन् ? ऊ उल्टै मलाई प्रश्न गर्छ ।कहिलेकाहीँ म गम खान्छु, उसले भनेका कुरा सोचेर । मेरा आँखा गुम्वा, मन्दिर, आश्रम, गुरुद्वरातिर पनि तानिन्छन् उसका कुरा सम्झेपछि । म घरको, सडकको मात्र कुरा गर्दिनँ । मलाई ती परमपूज्यहरुले बनाएका चिहान पनि प्यारा लाग्छन् । जति बढी शिष्यलाई चिहान बनाउन सक्यो त्यति ठूलो गुरु हुन्छ । ऊभित्रको तर्क, चिन्तन, उर्जा आदिको चिहान नखनी कोही गुरु गुरु बन्दैन । शंका र तर्क रहुन्जेल उसले रजाई गर्नै सक्दैन शिष्यमाथि । त्यसैले सकेसम्म चाँडो शिष्यलाई चिहानमा पुर्याउने हतारोमा हुन्छ गुरु ।मेरो चिहान चिन्तन प्रकृतिप्रेमी पनि छ । तपार्इंअगाडि उभिएको अजङको रुख आफ्नै वीउको चिहानमा उभिएको होइन र ? अवश्य हो भन्छ मेरो मनले । तपाईको महल ठडिँदा पनि हजारौँ नभए पनि सयौँका पसिना, सिप र बुद्धि चिहानमय भएका छन, कसैका धेरै कसैका कम । एउटा उभिनु भनेको अर्को चिहानमा पुग्नु हो । काम नलाग्ने, असामयिक हानिकारक मात्र चिहानमा पुग्छ भन्ने छैन । कहिलेकाहीँ फाइदामन्द, लाभदायक, उन्नत कुरा चाहिँ चिहानमा पुगेर कामै नलाग्ने असामयिक, हानिकारक चाहिँ राज गरेर हाँसिरहेको हुन्छ । समाजमा होओस् कि व्यक्तिमा सबैतिर देखिन्छ त्यो । ठीक कुरालाई चिहानमा पुर्याउने विवेक मानिसले समयमै आर्जन गरेको भए कसैको पूजा गर्दै गर्दैनथ्यो मानिसले । समयमा होस नपुर्याउँदाको पश्चाताप हो हाम्रो भक्ति र पूजाआजा । त्यो पूजा चाहे व्यक्तिको होओस् वा संस्था वा देशको । सधैँ विवेकवान् भएर देशलाई, गुरुलाई, ज्ञानलाई, विवेकलाई माथि उठाउँछ र त्यसका विरुद्धमा उभिनेलाई चिहानमा पुर्याउँछ भने उसले किन गर्नु पर्यो तिनलाई पूजा ? किन सम्झनु पर्यो ? बिर्सेकाले पो सम्झनुपर्छ ।चिनियाँहरुमा उदेकलाग्दो चिहान चिन्तन रहेछ  । उनीहरु पुरानालाई सरक्क सजाएर राख्छन् र चिहानमा पुर्याइ दिन्छन् । त्यसका ठाउँमा नयाँ चीज बनाइदिन्छन् । कन्फ्युसियस उनीहरुका लागि साह्रै काम लाग्ने चिहान हो भन्ने ठाने । त्यसलाई संसारभर फैलाएर फाइदा लिए । चिनियाँहरुका बुद्ध नै हुन् भन्ने बनाइ दिए । बोधिधर्म, लाओत्सु, च्वांगत्सु सबैलाई त्यसै गरे । उनीहरुका बाल्यकालदेखि बूढो हुँदासम्मका कुराहरु सुरक्षित गरेर सुन्दर चिहान बनाइ दिए । त्यही बेचेर खाँदै छन् ठाउँठाउँमा । हामी मरिमेटेर त्यही हेर्न झुम्मिरहेका छौँ । उनीहरुले माओलाई पनि चिहानमा सजाइ दिए अनि नयाँ माओ आविष्कार गरे उनको चिहानमा देङ बनेर । उनी माओभन्दा अझै अब्बल भए । पहिलोलाई चिहान बनाएर फोटो राखेपछि उसलाई चिनाउन पनि सजिलो हुन्छ कुन जातको हो चिनाउने ट्याग झुण्डयाएजस्तै । त्यही गरिहेका छन् अहिले उनीहरु । हामीले त्यो कला नजानेर चिहान बनाउन डराइरहेका छोँ । मसानघाटबाट अस्तु लिएर दिनदिनै ढोगिरहेका छौँ । चिहान ढोग्नु भनेको आफैँभित्र चिहान बनाउनु हो ।  चिहान चिन्तनमा अर्को उम्दा मानिसहरु युरोपियनहरु देखेँ मैले । उनीहरु सबैलाई चिहान बनाउन प्रेरित गर्छन् । चिहान उनीहरुका लागि साह्रै प्रिय बस्तु हो । गाडिसकेका मुर्दाको पनि थरिथरिका जीवितजस्ता चिहान बनाइ दिन्छन् । थरिथपिरका नाम राखिदिन्छन्, कसैलाई संग्रहालय भनिदिन्छन्, कसैलाई इतिहास भनिदिन्छन्, कसैलाई कलामा उतार्छन् र झुन्ड्याइदिन्छन् । उनीहरुका तरिका साह्रै उम्दा छन् । त्यसैले उनीहरु अरुले पनि त्यही गरुन भन्ने ठान्छन् । पुराना परम्परा नमास है भन्छन् । पुराना सम्हाल्न आफैँ अघि सर्छन् अनि सबलाई मेरोजस्तै गर भन्छन् ।उनीहरुलाई थाहा छ, विचार, सोच, चिन्तनलाई चिहानमा नलगी आफ्ना कुरा ऊभित्र उमार्न सकिँदैन । यो कुरा उनीहरुले साह्रै राम्ररी बुझेका छन् । त्यसैले चिहानमा के गाड्ने र के उमार्ने त्यो हाम्रो आफ्नै गिदिमा फल्नु पर्छ । उमार्ने र गाड्ने नछुट्याई नयाँ कुरा जन्माउन सकिँदैन । उल्टो हुन्छ हाम्रो गति ।मुर्खता चिहानमा हालियो भने विद्वता उम्रन्छ, कुसंस्कार चिहानमा हालियो भने संस्कार जन्मन्छ, अविकास चिहानमा हालियो भने विकास जन्मन्छ, अन्याय चिहानमा हालियो भने न्याय जन्मन्छ, दुराचार चिहानमा हालियो भने सदाचार जन्मन्छ । केलाई चिहानमा गाड्ने ? त्यसको ठीक विवेक विकास गर्न सकेनोँ हामीले । हाम्रो बुद्धि, विकास, उन्नति, आचरण सबै उल्टो भयो गर्दै जाँदा । त्यसैले चिहान चिन्तन सुरु गरौँ । जय चिहान । २०७२।१०।१३

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...