Sunday, October 13, 2013

दशैं र तिहारको आध्यात्मिक पक्ष




बुझेर हो वा नबुझेर हिजोआज दशैंलाई विजया दशमी र तिहारलाई दीपावली भन्ने गरेको देखिन्छ, सुनिन्छ ।

विजया दशमी भन्नु र दशैं भन्नु अनि दीपावली भन्नु र तिहार भन्नुमा आकाश र जमिन जत्तिकै फरक छ ।

विजया दशमी र दीपावली दुवै दिनहरु हुन् । यी तिथी हुन् । तर यी दुवै दिन आध्यात्मिक साधनाको परिपाटीमा खास महत्व राख्दछन् । नेपाली समाजमा सामान्य रुपमा हेर्दा यी दुवै तिथीहरु चाडका रुपमा मात्रै प्रसिद्ध छन् । साधना पक्ष गौण छ । अध्यात्मको साधना नगर्नेहरुका लागि यी दिनहरु केवल एक परम्परा हुन् । नेपाली समाजले यिनलाई परम्पराका रुपमा ग्रहण गर्ने भन्दा पनि पर्वका रुपमा यसलाई मान्ने  गरेको देखिन्छ ।

नवरात्रमा सबैतिर मानिसहरु देवीको आराधनामा लाग्दछन् । आराधनाले ब्रम्हाण्डीय उर्जालाई सकारात्मक रुपमा थप घनिभूत बनाउन मद्दत गर्दछ । त्यसैले यो समय अध्यात्मका विविध साधनाका लागि महत्वपूर्ण मानिन्छ । आध्यात्मिक क्षेत्रमा यो शक्तिशाली उर्जालाई आफ्नो साधनाका माध्यमबाट सिद्ध गर्न चाहने साधकहरुलाई गुरुले विशेष विधिद्वारा साधकका घटमा (हृदयमा) सकारात्मक चेतनाको बीज स्थापना गरिदिन्छन् । घटमा बीज स्थापना गरिने हुनाले यसलाई घटस्थापना भनियो । यो स्थापित घटलाई साधकले नौ दिनसम्म अहोरात्र साधना लागेर आफ्नो सकारात्मक शक्ति परिपाक गर्दछ । अनेक नकारात्मक उर्जा दिने रिपुहरुलाई मर्दन गर्दछ । त्यसैले यो समयलाई रिपुमर्दिनी साधनाको विशेष अवसर पनि मानिन्छ । त्यसपछि आफूभित्र रहेका नकारात्मक चित्तवृत्तिको क्रमिक निरोध गर्दै जान्छन् । पूर्वीय साधना परिपाटीमा यो साधनाको परिपाटी यद्यपि छिटफुट रुपमा कायम रहेको देखिन्छ ।

यसरी गुरुबाट स्थापित घटलाई दश दिनसम्म साधना गरेर त्यसलाई परिपाक गरेपछि साधकले जब दशौ“ दिनमा सकारात्मक शक्ति आर्जन गरी रिपुभावमाथि विजय हासिल गर्दछ तब विजय हासिल गरेको खुशीयालीमा दशौँ दिनमा प्रसाद र टीकाका साथ उत्सव मनाउने आध्यात्मिक परम्परा रहेको देखिन्छ । तर पछि आएर तन्त्रको साधना गर्ने साधकहरुले नकारात्मक उर्जाको साधनामा नवरात्रको प्रयोग गर्न थाले । शिवतन्त्रको साधना पक्ष गौण हुनथाल्यो । अघोरतन्त्रको विकृत साधनाको परिपाटी विकसित भयो । काटमार गरेर पशुहरुको वली दिन थालियो । धामीझाँक्री र बोक्सीहरुको साधना समयका रुपमा यसलाई अत्यन्त विकृत रुपमा ग्रहण गर्न थालियो । आफ्ना चित्तवृत्तिभित्र रहेका नकारात्मक तत्वहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, मद, मात्सर्य र अहंकार जस्ता नकारात्मक चित्तवृत्तिहरु नाश गर्ने आध्यात्मिकताको साधनाको परिपाटी गौण हुँदै गयो । यस्तो विशुद्ध आध्यात्मिक परिपाटीमा आधारित नवरात्रको साधना परम्परामा त्यसपछि खिया लाग्दै गयो । भोजभतेर गर्ने र मन्दिरमा गएर पुजाआजा गर्ने कुरामा सीमित हुँदै गयो । सारतत्व विलिन भयो वाह्य पक्ष मात्र बाँकी रह्यो ।

नेपालीहरुले दशैंलाई न साधनाको रुपमा मानेको देखिन्छ न विजयोत्सवका रुपमा । नेपालीहरुका लागि यो अवसर खासगरी एउटा रमाइलो चाड हो । वर्षको दुईपटक दश दिनको दशैं मनाउने र त्यसलाई भेटघाट र सद्भाव साटासाट गर्ने पर्वका रुपमा मनाउने चलन रहेको थियो । चैत्र शुक्ल र आश्विन शुक्ल प्रतिपदा देखि दशमीसम्म मनाइने यो पर्व पछि आएर आश्विनमा मात्र मनाउन थालियो । रामले रावणमाथि विजय गरेको मिथकसँग जोडियो । मिथ्कको सही अर्थ खोजिएन । राम भाव र रावण भाव मानिसभित्रै छन् तिनको उजागर र विनाशको कुरा बुझाउन त्यो मिथकको प्रयोग गरिएको हो भन्ने बुझ्ने प्रयत्न भएन । पण्डितहरुले पनि यसको गहिरो आध्यात्मिक व्याख्याा दिन सकेनन् । राम हामीभित्रको सकारात्मक आत्मिक तत्व हो रावण हामीभित्रको अहंकार, उन्माद र नकारात्मक प्रवृति र भाव हो ।

यो पर्वलाई नेपालीहरुले बडादशैं नाम दिए । संसारमा नै संभवतः यति लामो पर्व मनाउने गरेको कमै देखिन्छ । यो पर्व विशुद्ध रुपमा चाडको रुपमा मनाउने चलन थियो । ठूलाबडाहरुबाट आशिर्वाद लिने र सानाहरुलाई माया र प्रेम दर्शाउने यो पर्वलाई हाल आएर अनेक मिथकहरुसँग जोड्ने गरेको देखिन्छ । नेपालीहरुको दशैं ती मिथकहरुसँग पटक्कै सरोकार राख्दैन । यो विशुद्ध रुपमा चाड मात्रै हो । न यसमा कुनै जाति विशेषलाई होच्याउने उद्देश्य थियो न कसैले गर्व गर्नुपर्ने गरी विजयोन्माद थियो । त्यसैले नेपालीका लागि यो पर्व विजयादशमी होइन दशैं हो । दशैं पर्वभित्र पर्ने विजयादशमी एउटा विशेष दिन मात्रै हो । त्यसैले विजयादशमीभन्दा दशैं बृहत् छ ।

भारतका विभिन्न ठाउँमा दशैंको वेलामा दुर्गा पुजाका रुपमा नौ दिन दुर्गा पूजा गर्ने परिपाटी रहेको देखिन्छ । विशेष गरी यो नौ दिनमा बंगालीहरुले दुर्गाको पुजा र आराधना गर्दछन् र उनीहरु यसलाई दशहरा भन्दछन् । कतिपय ठाउँमा चैते दशैंको अवसरलाई रावण उत्सवका रुपमा पनि मनाउने गरेको पाइन्छ ।

यस्तो गरिमामय साँस्कृतिक र आध्यात्मिक परिपाटीलाई हाल आएर यसलाई विकृत गरी विजया दशमी भनेको देख्ता मलाई अचम्म लाग्छ । हामी नेपालीहरु कस्तो लहैलहैमा वहकिएका ? तथ्यको अत्तोपत्तो छैन । विजय यात्रामै नलागेका व्यक्तिलाई यो दशमी तिथी कसरी विजयादशमी भयो ? विजय मनाउन त युद्धमा होमिनु पर्ने थियो । नकारात्मताको विरुद्धमा सकारात्मकताले विजय गरेको वा गर्ने उद्देश्य राखेर साधनारत भएको भए त्यसको शुभेच्छा साटासाट गर्ने र शुभकामना दिने परिपाटी स्वाभाविक थियो । तर त्यसो त कतै गरिएको पाइँदैन । निर्दोष र अबोध पशुहरुलाई वली दिएर आत्मतुष्टी गर्ने अनि पशुहत्या गरेर उनीहरुको शरीर भक्षण गर्नेहरुले के अरुलाई शुभकामना र शुभेच्छा दिनु ?

साँस्कृतिक रुपमा यदि शुभेच्छा आदानप्रदान गरेको हो भने त्यो ल्याकत आफूले आर्जन गरेको हुनुपर्छ वा आर्जन गर्ने प्रयत्नरत व्यक्ति हुनुपर्छ अनि बल्ल यसको उपलक्ष्यमा शुभकामना दिन सुहाउँछ । परम्पराको महत्व र सार नै नबुझीकन हामी त्यसै रुमल्लिरहेका त छौनौ ? यसतर्फ कसैले सोचेको पाइएन ।

तिहारको कुरा 

नेपाली समाज दीपावली होइन तिहार मनाउने समाज हो । भारतमा लक्ष्मीपूजाको दीन एक दिनलाई दीपावली भनेर मनाउने चलन छ । यमराज र यमुनाका कथासँग यसलाई गाँसेर हेर्ने पनि गरिएको छ । तर नेपालीहरुको चाड तिहार योभन्दा भिन्न छ । दीपावली मनाउनुहो अर्थ पनि आध्यात्मिक दृष्टिले अलि फरक छ । यो पर्व कोजाग्रत पूर्णिमाको ठीक पन्ध्र दिनपछि पर्दछ ।

नवरात्रको घटस्थापनादेखि कोजाग्रत पूर्णीमासम्म साधनामा लागेको आध्यात्मिक साधकले कुनै जागृतिको चेतना परिपाक गरेको अवस्थामा को जाग्यो त ! भनेर गुरुले कोजाग्रत पूर्णिमामा जागृत भएको घोषण गर्ने गर्दथे । कुनै साथी जाग्रत अवस्थामा पुगेको खुशीयाली राति अवेरसम्म मनाउने गरिन्थ्यो । त्यस परिपाटीका आधारमा दशैंको अन्त्य कोजाग्रत पूर्णिमामा गएर हुने गर्दथ्यो । त्यसरी जागृतिको घोषणा भएको साधकको साधना निरन्तर लागि रहन्थ्यो ।

सकारात्मक उर्जाले परिपाक भएको साधक विस्तारै सकारात्मक र नकारात्मकताभन्दा माथि उठेर कृतज्ञता भावतिर बढ्दथ्यो । जब ऊभित्र कृतज्ञता र अहोभावको आधिक्य हुनथाल्थ्यो अनि त्यो निरन्तरता अरु पन्ध्र दिन कायम रहेमा पन्ध्रैँ दिनमा पर्ने औसीको रात्री दीप प्रज्वलन गरी खुशीयाली मनाउने र उसलाई जागृतिको सम्पदाले सम्पन्न गरेको घोषणा हुने गर्दथ्यो । लक्ष्मी पैसाकी देवी मात्र नभई सम्पन्नता र वैभवकी देवी पनि मानिछिन् । सम्पन्नता र सम्पत्ती फरक कुरा हुन् । सम्पन्नता आन्तरिक आध्यात्मिक पक्ष हो भने सम्पत्ती सम्पन्नताले आर्जन गर्ने भौतिक पक्ष हो । यसलाई गहिराईमा बुझ्ने सकेको देखिँदैन । लक्ष्मी वैभव र सम्पन्नतासँग सम्बन्धित देवी हुन् ।

अहिले आएर त्यो पनि विकृत भएर धनको प्रप्तिको आकांक्षावश गरिने आराधनामा सीमित भएको छ । आन्तरिक समृद्धिसँग यसको कुनै साइनो नै छैन । यो टुटिसकेको छ । आकांक्षा राखेर गरिने पूजाआजा र तडकभडकमा त्यो सीमित भएको छ । कहाँ आध्यात्मिक रुपमा आन्तरिक समृद्धिको गरिमामय उत्सवका रुपमा मनाइने दीपावली कहाँ धनको अपेछा गरेर गरेर गरिने पूजाआजा । कुनै छेउटुप्पो फेला पर्दैन यसमा पनि ।

अब कुरा आउँछ हामी दीपावली मनाउने समाजमा छौँ वा तिहार भन्ने प्रश्न ।

नेपालीहरु दीपावली मनाउने समाज होइन । यो समाज तिहार मनाउने समाज हो । तिहार अहोभाव र कृतज्ञता दर्शाउने पर्व हो । आफूलाई चनाखो बन्न प्रेरित गर्ने पन्छी काग, आफूलाई इमान्दारीपूर्वक हर समयमा रक्षा गर्न अपेक्षारहित भावले लागिरहने प्राणी कुकुर, पोषणमय दूध दियर शरीर संरक्षणमा सहयोग गर्ने गाई, उत्पादन कार्यमा सघाउ पुर्याउने (कृषि कार्यमा अति आवश्यक) गोरु अनि नारीको कोमलतालाई संरक्षण गर्न र नारी पुरुषको सहकार्यका शक्ति आर्जन हुन्छ भन्न्ने देखाउनका लागि आफ्ना भाइलाई कृतज्ञता व्यक्त गरेर मनाइने चाड हो तिहार । यही अहोभाव वा कृतज्ञताले नै मानिसलाई अमरत्वतिरको यात्राका लागि प्रेरित गर्दछ । अहोभाव र कृतज्ञताको भाव नभएको मानिस अमरताको यात्रामा लाग्न सक्दैन । त्यसैले तिहार अहोभाव र कृतज्ञताको चाड हो । यो चाडलाई हामीले दीपावलीका रुपमा आयात गरेर विकृत पारेका छौँ । दीपावली आकांक्षा र कामनाको चाड हो यसले भौतिक प्राप्तिका लागि प्रेरित गर्दछ । आध्यात्मिक पक्ष यसमा गौण छ । नेपालीहरुको यो कृतज्ञताको भाव तिहार पर्वले बोकेको थियो । तर अब हामीले त्यसलाई दीपावली भनेर आडम्बर र धनाकांक्षामा सीमित गरिदिएका छौँ । सबैलाई गहिरो चेतना भया ।

Monday, September 23, 2013

माइला दाइको दशैँ


माइला दाइ काठमाडौँ छिरेको आठ वर्ष भएछ । आठ वर्षमा एक पटक पनि दशैँमा घर जान पाएका छैनन् । आज बिहान उनलाई यस पाली दशैँमा घर जाऊ कि जस्तो लाग्यो । आफूसँगै कोठामा बस्ने साथी बलेलाई भने–  “मलाई यस पाली दशैँमा गाउँ जान मन लाग्यो । तँ के गर्छस् ?”

बले आङ तन्काउँदै उठ्यो । “गइस्,  कौडी न सौडी उसै दौडी । के को खर्चले जान्छस् ? घर पुगेर आउन बस भाडा मात्रै तीन हजार लाग्छ । बाटामा खान अर्को पाँच सय । छोराछोरीलाई केही सरसामान लगिदिनु परो कम्तिमा दुई हजार । श्रीमतीलाई यौटा सारीचोलो लिदिनु पर्यो त्यल्लाई तीन हजार । बाउआमालाई क्यै लग्नु परो अर्को दुईतीन हजार । काँबट ल्याउँछस् यतिका पैसा ? कि चोर्न जान्छस् ? यैँ बसेर एक्लो ज्यान पाल्न त गारो भैसको चाडमा घर गएर रमाउने कुरा गर्छ । गै हालिस् भने पनि मन दुःखाउनु मात्रै हो ।” खाटमा पल्टिँदै बर्बरायो बले ।

माइला दाइ सुनिरहे । “अनि पैसा नकमाउनेले चैँ दशैँमा घरै नजानु त ?”

“जानू ।”

“अनि के यत्रोविधि बजेटको लिष्ट बना त तैँले ? यो त हरछेरुवा कुरा भैगो नि !”

“शहराँ काम गर्ने मान्छे घर जाँदा क्यै नली जान्छस् त ? तेरा छोराछोरी, स्वास्नी सबैले थुक्छन् तँलाई । बाउआमाले पनि चित्त दुखाउँछन् । सम्झि न आफैँ । मलाई के भन्छस् !” बलेका कुरा यथार्थ थिए । माइला दाइ एक तमासले बलेतिर हेरिरहे । केही बोलेनन् ।

“मलाई पनि घर जान त मान छ नि तर सुको कमाइ छैन । के ले जानु घर ? भो होस् । यैँ बस्छु ।” बलेले फेरि थप्यो ।

बले र माइला दाइ काठमाडौँ छिरेर एक वर्ष बसपार्कमा भारी बोके । त्यसपछि घर बनाउने ठेकदारकहाँ गएर ज्यामी काम गर्न थाले । यो काम गर्न थालेको पनि सात वर्ष भयो । पहिलेपहिले अलिअलि बचाउँथे । घरमा कहिलेकहीँ २।४ हजार पैसा पठाउँथे पनि । अहिले महँगीले आकाश छोएको छ । मजदुरीको कमाइले जीवन धन्नै गाह्रो हुन थाल्यो । खाद्यान्न, तरकारी, घरभाडा सबै बढ्यो । त्यसमाथि बन्द, हडताल, के के के के । यस्ता बेलामा बिना काम बस्नुपर्छ । फुर्सतको दिन तास खेलेर बित्छ ।
......................................... 
“आज नेपाल बन्द । गाडी पनि चल्या छैनन् । जुलुस छ सडकभरि । काममा जान नसकिने भो ।” माइला दाइसँगै काम गर्ने अर्को साथी सन्ते आइपुग्यो । ऊ माइला दाइसँगै ज्यामी काम गथ्र्यो ।

“अब यस्तो तालले भएन । विदेश हानिनु पर्छ जस्तो छ । कैल्यै शान्ति हुने भएन देशमा । घर पनि बन्न छाडे । अलिअलि पाइने काममा पनि भनेको बेलामा ठेकदारले पैसा दिँदैन । महँगी चुलिएर सगरमाथाको टुप्पोमा पुग्न लागिसक्यो । गरिब त भोकभोकै मर्ने भए अब ।” सन्तेले भएभरका विकृति र मनका योजना भट्यायो । 
“जाने भइस् विदेश ! के को पैसाले जान्छस् ? ऐले त विदेश जान पनि एक लाख लाग्छ । डलरको भाउ बढेर दलालले भाउ बढाका बढायै छन् । अस्ति हाम्रा गाउँको भीमेले कतार जान्छु भन्यो र सोध्न गाको मेनपावरको मान्छेले त एकलाख लाग्छ पो भन्दैथ्यो । यस्तो बेलाँ के गरी जानु विदेश ? एकलाख भा त म त गाउँमा गर यौटा काम पो थाल्थेँ । याँ ज्यामी काम गरेर बस्थेँ ? गाउँमा दिनभरि तीन चोटी खाएर पनि पाँच सय ज्याला पाइन्छ । याँ निदभरि सुक्खा काम गर्दा पनि त्यै पाँच सय । माइला दाइले आँखीभुइ खुम्च्याउँदै योजना बताए ।

“जे भए पनि यसपाली चैँ दशैँमा घर जान्छु जान्छु ।” माइला दाइले निर्णय लिए ।

“जा न त जा किन कराको ऐलेदेखि ? छोरा पाउनु कैले कैले कन्दनी बाट्नु ऐले । हिँड् बरु तास खेल्न जाउँ । आज काम हुँदैन । खानेकुरा अलि ढिलो खाउँला ।” बलेले तास खेल्न जाने सुरसार गर्यो ।

माइला दाइ टसमस भएनन् । बले बाहिरियो । सन्ते पनि बलेसँगै बाहिर निस्क्यो ।

“काँबाट ल्याउने त दशैँ खर्च ? खर्च नजुटाइ त घर जान सकिँदैन । घरमा पनि सबैले शहरबट आ’को भन्छन् । चेलीबेटीलाई यसो दुईचार पैसा दक्षिणा दिनै परो ।  आउनेजाने मान्छे शहरबाटले पनि धेरै वर्षपछि आ’को भनेर आस गर्छन् । तिनलाई पनि क्यै गर्नै परो । साथीभाइसँग रमाइलो गर्न पनि पैसै चाइन्छ । गाउँ भन्नु मात्रै । आजभोलि त शहरभन्दा खर्चिलो छ । त्याँ क्यै पाइँदैन । काम गर्ने मान्छे सबै विदेश दगुरेपछि गाउँ सुनसान छ । भएका बारी बाँझैछन् । आइमाइ, केटाकेटी र बुढाबुढी मात्रै गाउँमा बसेपछि गाउँमा त दशा नै लाग्या छ । यसरी गाउँ के बन्ला र खै !  सबैजना किनेर खाने भैसके गाउँमा पनि । विदेश गाकाले पठाको पैसा खाने, लाउने र केटाकेटी पढौने काम गर्या छन् । भोलि विदेशबाट खेदिए भने के गर्लान् ?” माइला दाइले आफू, गाउँ र देश सबै सोचे । आफ्नो घुँडा फाट्न लागेको पाइन्टतिर यसो नजर दौडाए ।

“यो पनि फाट्न लागेछ । कति छिटो फाट्छन् आजकालका लुगा ? टिक्नै पो छाडे त ! किनेको एकवर्ष पनि भा’छैन । फाट्न लाग्यो । सट पनि फेर्ने बेला भा’छ । यो चाड पनि नआए भा हुन्थ्यो नि ! किन आ’को होला ? मन मात्रै तुलबुल्याउँछ ।” माइला दाइ आफ्नो अवस्था सोचेर मनमनै भुटभुटिए ।

“आजदेखि टिकट खुल्ने भन्या छ । टिकट लिन्छु । टिकट लिएपछि ढुक्क हुन्छ । यस्पाली घर त जान्छुजान्छु । जे सुकै होस् । आफ्नै घर त हो नि ! सके यो मैना अलिबढी पैसा कमाइ होला नभा भाडा भो भने जान्छु । बालबच्चा नदेखेको पनि दुई वर्षभन्दा बढी भैसको । परारसाल माया आउँदा लिएर आ’की त्यति हो । तिनेरु पनि बाउ चिन्न छाडिसके होलान् । माइला दाइ मनमनै घरतिर तानिए ।

“खल्तिमा सुको छैन । के ले किन्न्ो टिकट ? भोलि ब्यान काममा गएर ठेकदारसँग पैसा माग्नु पर्ला । आज टिकट लिन नपाइने नै भो । भोलिसम्म सकिने पो हो कि ! हिजै सकियो टिकट भन्न बेर छैन । टिकट लुकाउँछन् अनि सकियो भन्छन् । सत्तमीसम्म बेच्छन् लुकार । धम्क्याउन सक्नेलाई दिन्छन् । लाटा सिधालाई छैन भन्छन् । मनपरि छ नितको । कल्लाइ भन्नु यस्ता कुरा ? कल्ले सुन्छन् सोझासिधाका कुरा ? उजुरी गर्ने भन्ने सबै ठाउँ हराइ हाले । झन् ऐले त सर्कार, कर्मचारी, वेपारी, लट्टे, मुन्द्रे, डन सबै यौटै जस्ता छन् । पुसिलसमा उजुरी गर्न गयो भने उजुरी गर्नेलाई नै उल्टै पैसा माग्छन् । डनको नाम लेखेको रछ भने पैले उसैलाई फोन गरेर उजुरी ल्युँ कि नल्युँ भन्छन् । खै कैले बन्ला हाम्रो देश ? गयो अब हाम्रो दिन । नेता, डन, वेपारी, पुलिस, प्रसाशन सबै उस्तै भए । निर्धालाई कानून बडा नै जानुन् जस्तो छ । के भन्नु र खै ।” मनमनै अनेक कुरा खेलाए माइला दाइले ।

“कतै पैसा सापटी पाइयो भने टिकट त आजै किन्छु । भोलि टिकट पाउन गाह्रो छ ।” मनैमन सोच्दै माइला दाइ सापटी खोज्न ठेकदारको डेरातिर दौडिए । ठेकदार भर्खर उठेर चिया पिउँदै थिए ।

“माइला दाइ कता त ?” ठेकदारले माइला दाइलाई देख्नासाथ सोधे ।

“दशँ नजिक आयो । यसपाली घर जाउँ भनेको टिकट लिने पैसा भएन । अलिकति पेश्की पाउँछु कि भनेर ठेक्दार साब ।”

“अब दशैअघि काम होला जस्तो छैन । तपैँहरुको कामको पैसा दि सकेँ । अब कामको पैसा काँकी छैन । अरुलाई पनि पैसा दिनु पर्ने छ । म आफैँ पैसा खोज्न जान लागिरा’छु । तपैँलाई पैसा दिन सक्ने अवस्था नै छैन माइला दाइ ।” ठेकदारले माइला दाइलाई पैसा दिने छाँट देखाएनन् । माइला दाइको आशा खरानी भयो । दशैँमा घर जाने टिकट काट्ने काउन्टर र टिकटले उनको आँखा अगाडि आएर गिज्याए जस्तो लाग्यो । माइली, छोराछोरी र बूढा बाबुआमाको अनुहार पनि अगाडि आएर नाच्न थाले ।

ठेकदारले फनक्क फर्केर मोटर साइकल स्टार्ट गरे । जाँदाजाँदै भने– “पैसा भयो भने दिन क्यै गारो थेन माइला दाइ । तपैँको आपत् म बुझ्छु ।” यति भन्दै ठेकदार मोटरसाइकल लिएर बाटा लागे । माइला दाइका पैताला गह्रौँ भए । हातगोडा भुइमा टाँस्सिए जस्तो लाग्यो उनलाई । पाइला सार्न खोजे । मनले शक्ति हराइसकेको संकेत गर्यो । अलिकति पर सरेर फेरि टोलाए ।

तास खेल्न गाका सन्ते र बले त्यही बाटो कोठा फर्कंदै थिए । माइला दाइलाई देखे । । सन्तेले भन्यो– “माइला दाइ कोठातिर लाग्ने हैन ?” माइला दाइलाई बोल्ने जाँगर चलेन । आँखा यस्सो घुमाएर हेरे । सन्ते र बले अगाडि बढिसकेका थिए । हातमा चामल र तरकारीको झोला लिएर फटाफट कोठातिर लागेका दुवैलाई उनले टोलाएर हेरिरहे ।

माइला दाइले डम्बरे, हर्के, वीरे अनि पल्ला गाउँका सहुबाका छोरा झलक कार्कीलाई सम्झे । झलक कार्की उनको गाउँका साहुका छोरा । कपनमा घर किनेर बसेका थिए । मजदुर सम्बन्धी हक, अधिकार संरक्षण गर्ने एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गर्थे । पोहोर साल मजदुरी गर्नेहरुलाई के के के के गर्छौँ भनेर उनले भनेको सुनेका थिए माइला दाइले । संगठन बनाउ, संस्था बनाऊ भनेर भेला गरेर लामो भाषण गरेका थिए । उनीसँग व्यक्तिगत रुपमा पनि निकैबेर गफ गरेर गएका थिए । ‘क्यै सयोग चाइयो भने सम्झनु है माइला दाइ’ पनि भनेका थिए । माइल दाइले ठाने तिनले अवश्य सहयोग गर्लान् । यति जाबो टिकटको पैसा त एक छाक खाजा खाँदैमा सकिन्छ उनको । त्यतिका वर्षदेखि मैले गाउँमा उनीहरुलाई सघाकै हो । शहर पसेपछि मात्रै त हो नि उनीकहाँ काम गर्न नगएको । नत्र हिउँद वर्षा उनैको हलो जोतेको हुँ । खेतीपाती लगाइ दिने काम मैले नै गर्थें । माग्नै गएपछि त कसो नदेलान् ? बाटामा जाँदाजाँदै अनेक कुरा सोचे उनले ।

कपन जाने बस अगाडि आएर रोकियो । बस चढेर झलकको घर पुगे । झलकले माइला दाइलाई देखेर परैबाट भने– “ए माइला दाइ आज कताबाट बाटो बिराउन भो ? बसौँ माइला दाइ भित्रै ।” झलकले  माइला दाइलाई आफ्नो सजिसजाउ बैठक कोठामा बसाए ।

माइला दाइले कोठा वरिपरि आँखा दौडाए । थरिथरिका विदेशी ह्वीस्कीका बोतलले सजिएको सिसाको सो केश अगाडि थियो । थरिथरिका रिपोर्टहरुले भरिएको दराज कुनामा थियो । अनेक थरिका गरिबी झल्कने गाउँलेहरुका तस्वीरहरु, पोष्टरहरु, विदेशीहरुसँग बसेर खिचेका अनेकथरि कार्यक्रमका फोटाहरु पर्खालमा टाँगिएका थिए । माइला दाइले ती सबैलाई राम्ररी हेरे । भित्रभित्रै आशाले भरिए माइला दाइ ।

झलकले ‘चिया कि कफी माइला दाइ’ भन्दै सोधे । माइला दाइले चिया नै खाउँ भने । हुनत त्यतिबेला खाना खाने बेला भैसकेको थियो । तर झलकले खाना खाने कुरा गरेनन् । झलकको दृष्टिमा माइला दाइ चियाका लागि योग्य ठहरिए । एउटी भर्खर १०।१२ वर्ष जतिकी हेर्दा चेप्टो अनुहारकी केटी चिया लिएर कोठामा आइ । 
“अलिकति बिस्कुट लिएर आइज । माइला दाइलाई भोक लागेको होला । खाजा खान भ्याउनु भा’छ कि छैन ?” खातिरदारी गरे जस्तो गरे झलकले ।

केटी माथि तलामा गई । माइला दाइले चियातिर नियाले । झलकले चिया खान हातले इसारा गरे । माइला दाइले चिया सुरुप्प ताने । केटीले बिस्कुट अगाडि ल्याएर राखिदिई । सानो हुँदा माइला दाइलाई बिस्कुट खुब मन पथ्र्यो । खल्तीमा पैसा भयो कि त्यो गुलियो बिस्कुट किनेर नखाइ छोड्दैनथे । बिस्कुट हातमा लिएर बिस्तारै तलमाथिका दाँतले किटिक्क टोके । किनकिन आज उनलाई त्यो बिस्कुटको स्वाद तीतोतितो लाग्यो । कस्तो स्वाद नभा’को आज ? बिस्कुट त राम्रौ होला ! हेर्दा त रामै्र छ । किन स्वाद चैँ नमिठो ? चिया पनि हिजोअस्ति खा’को जस्तो मीठो छैन । आज मेरो मुख बिग्रेछ क्यार ! बिरामी हुन पो आँटेँ कि क्या हो ? माइला दाइले चियाको सुर्को तान्दै मनभित्रका कुरा पनि चियासँगै निले ।

“माइला दाइ तपैँ हत्तपती नआउने मान्छे आज कति कामले आउनु भो त ?” झलक चुपचापै थिए । चियाको कप राखेको बेला पारेर माइला दाइलाई सोधे । माइला दाइ अलि अन्कनाए । भनौँ कि नभनौँ उनी दोधारमा परे ।

“किन अक्मकिनु भा ? भनिहाल्नुस् न माइला दाइ । तपैँ त आफ्नै घरको मान्छे पो त !” झलकले माइला दाइको मन हल्का बनाउने प्रयास गरे ।

माइला दाइका ओठ फाट्टिन मानेनन् । एकछिन पछि बल गरेर ओठ फट्याए । जिब्रो चलाए । आवाज भित्रै दबिए जस्तो लाग्यो उनलाई । सुस्तरी आवाज निकाल्दै भने– “खै के भनौ र बाबु यसपाली घर जाउँ भनेको । टिकट आजदेखि खुलेछ । टिकट काट्ने पैसा पनि खल्तीमा रैनछ । आज बन्दको हल्लाले काम पनि गैयन । ठेकदारलाई भनेको पनि छैन भने । टिकट किन्न पन्ध्र सय जति सापटी दिनुहुन्छ कि भनेर आको । अप्ठेरो परो । त्यति गुन गर्नुभए दशैपछि आर तिर्थें ।”

झलकले माइला दाइको अनुहारबाट आँखा हटाए । अलि परतिर हेर्दै भने–  “माइला दाइ तपैँलाई निकै गाह्रो परेको रछ । के गर्नु हिजो मात्रै छोरीलाई अमेरिकामा पढ्न दश लाख रुपियाँ पठाइ दिएँ । आफूसँग १०।२० हजार खर्च होला । तपैँलाई दिन त नपुग्ने पो भो त ! अलि २।४ दिन पैले भा क्यै गर्न सकिन्थ्यो । के गर्नु माइला दाइ माफ गर्नुस् ।”

“ए हजुर भुजा खान आइस्योस् । आज किनमेल गर्न जानु पर्छ । ढिला हुन्छ । बन्दको हल्ला मात्रै रछ । सबै खुला छ रे । मैले साथीहरुलाई फोन गरेर सोधिसकेँ । भाटभटेनी अगाडि भेट्ने भन्या छ । गाडी आउँछ कि आउँदैन डाइभरलाई फोन गरिस्यो । छिटो भुजा ज्युनार गरिस्यो है । म त बसेँ ।” माथिल्लो तलाबाट आएको नारी स्वर माइला दाइको कानमा बज्रिए । माइला दाइको मन अमिलो भयो । झलक अलि अँध्यारो अनुहार लगाउँदै उठ्न खोजे । माइला दाइको पैसा सापट पाउने आशा निराशाको बाढीले हुत्याएर पल्लो किनारामा लगेर पछारिदियो ।

उठेर ढोका खोल्दै झलकले भने– “तपैँहरुले संगठन बनाको भा म अफिसमा भनेर कुनै योजनाको नाममा अलिकति दशैँखर्च पठाइ दिन सक्थेँ । त्यतातिर सोच्नु भएनछ । के गर्नु माइला दाइ सयोग गर्न सकिएन तपैँलाई ।” झलक औपचारिक हुन खोजे । त्यसपछि झलकका शब्द बन्द भए । ढोका ड्याम्म लाग्यो । दुवैहात जोडेर हवस् त भन्दै माइला दाइ ढोकाबाट बाहिर निस्किए ।

टिकटको आश अझै मरेन । माइला दाइका गोडा कोठातिर बढ्न मानेनन् । उनले फेरि गाउँको बिर्खे भन्ने साथीलाई सम्झे । बिर्खे उनको समूहको नाइके जस्तै थियो । कहिलेकहीँ सरसापट चाहिँदा उसैसँग लिने गर्थे । केही अप्ठ्यारो परो भने हाट्टहुट्ट पनि गथ्र्यो बिर्खे । अलि टाढा बस्थ्यो ऊ । माइला दाइका पैताला एकएक गरी बिर्खेको कोठातिर बढे ।

“बिर्खे घरमा छ कि छैन !” उनको मनमा चसक्क लाग्यो । “रैनछ भने फर्किन्छु । जानु चै परो । तै काम भो भने टिकट लिन्छु आजै ।” माइला दाइको आशा फेरि सगरमाथाको आधार शिविरबाट चुचुरोतिर लाग्यो ।  
सरासर माइला दाइ बिर्खेको कोठामा पुगे । बिर्खेको ढोकामा टक्टक् आवाज दिए । छिमेकी कोठाका एकजना मान्छे बाहिर निस्किए ।

“बिर्खे त आज बिहानै बाहिर निस्केको देख्या थेँ । कोठाँ छैनन् दाइ । मोबाइल गर्नुस् न ।”

माइला दाइले आफ्नो खल्तीमा भएको मोवाइल छामे । मोवाइल निकाल्दै नम्बर हेर्न खोजे ।

“मलाई पढ्न आउँदैन, बिर्खेको नाम छ कि हेर्दिनु त !”  माइला दाइको मोबाइलमा बिर्खेको नम्बर देखियो ।

“लगाइ दिउँ ?” उसले सोध्यो । “ल कुरा गर्नुस् ।” घण्टी टिन्न गरेपछि उसले फेरि माइला दाइको हातमा मोबाइल दियो । बिर्खे फोनमा बोल्यो । माइला दाइले सोधे– “काँ हो बिर्खे तिमी ? जरुरी थियो । कोठाँ आथेँ ।” 
“म नजिकै छु, आइहालेँ ।” बिर्खे मोटरसाइकल लिएर आइपुग्यो ।

“किन माइला दाइ आज अलि अँध्यारो छ त अन्वार ? क्यै दुःख परो कि क्या हो ?” मोटर साइकल रोकेर माइला दाइको अनुहार नियाल्दै बिर्खेले भन्यो ।

“क्यै छैन ।”

“नलुकाउ न दाइ । लिम्लाइ म पाँच वर्षदेखि चिन्छु । तिमी आज निकै गाह्रोमा छौ । अन्वारले भन्छ ।” बिर्खेले जोड गर्यो ।

माइला दाइले मुख खोले । “घर जान टिकट लिउँ भनेको । आजदेखि टिकट खुलेछ । खल्तीमा सुको पैसा छैन । दुई ठाउँमा गएँ, पत्यानन् । गरिब हुनु पनि क्यै रैनछ बिर्खे ! पर्या बेला कसैले सयोग गर्दा रैनछन् । मुखले सयोग गर्ने धेरै हुँदा रछन् कामले गर्ने मान्छे पाइँदो रैनछ ।” माइला दाइको मुटुमा परेको गाँठो खुस्कियो । आँखाबाट बरर्र आँसुका भल बगे । घाँटीको भित्रबाट हिक्कहिक्क आवाज आयो । थचक्क भुइँमा बसे । माइला दाइलाई देखेर बिर्खे पनि भक्कानियो ।

“माइला दाइ बिर्खे जिउँदै छ, नरुनुस् । मर्दले आँसु झार्ने हैन पराक्रम गर्नुपर्छ । पसिना बगाउन सकुन्जेल र नारीमा मासी हुन्जेल हिम्मत नहार्नुस् । कति चाइयो तपैँलाई टिकट किन्न ? अइले भर्खर मैले एक जना ठेकदारसँग साथीहरुलाई दिन पेश्की लिएर आ’को छु । मेरो भागमा पनि अलिकति पर्छ । ल लिनुस् । दुई हजार भा’ पुग्छ ?” बिर्खेले हातमा पैसा लिँदै माइला दाइको पाखुरामा समाएर उठायो । माइला दाइले डाको छोडे । आफूलाई सम्हाल्न सकेनन् ।

बिर्खेले माइला दाइलाई कोठाभित्र लिएर गयो । निकैबेर माइला दाइ र बिर्खे मुखामुख गरिरहे । माइला दाइले आफ्नो सटको छेउले आँखाका आँसु प्ुछ्तै भने– “गरिबको मर्म गरिबले नै बुझ्दोरछ बिर्खे । तँ त मेरो साथी मात्रै होइन बाउ रछस् । म यो गुन कैल्यै भुल्दिनँ । मलाई ऐले पन्ध्र सय रुपियाँ भा पुग्छ । त्यति जाबो पैसामा पनि पत्यार भइनँ म आज । तँ सँग धन त धेरै छैन मन रछ । सयोगका लागि धन हैन मन चाइँदो रछ बिर्खे । मैले आज बल्ल बुझेँ ।” माइला दाइका आँखा अझै रसिला थिए । बिर्खेका आँखाले पनि भित्रको बाढी रोक्न सकेनन् । टिलपिलाए । बिर्खेले पनि अकाँतिर फर्केर रुमालले आँखा छोप्यो ।

“भैगो दाइ अब नरोऊ । यो पैसा मेरो हातमा भा’को बेला मेरो तपैँका हातमा हुँदा तपैँको हो । काम चलाउनुस् । अझै केइ चाइयो भने भन्नु ।” बिर्खे अलि हतारमा थियो । माइला दाइलाई बाहिर छोडेर ऊ बिदा भयो । 
.........................................................
माइला दाइ टिकट लिन चावेल गए । काउन्टर वरिपरि दलालहरु झुम्मिरहेका थिए । दलालहरु हल्ला गर्दै थिए– “नयाँ बस,  सस्तो टिकट । चाँडै गर्नुस् । एउटा टिकटको पन्ध्र सय । थोत्रा बसमा फसाउलान् । बिचार गर्नुस् ।”
 माइला दाइ सोझा मान्छे । काउन्टर नजिकै गए । काउन्टरवालालाई सोधे– “टिकट छ ?”

“छैन । बिहानै सकियो । खुल्नासाथ दुइघंटामा टिकट साफ । ऊ ती बाहिरतिरकालाई सोध्नोस्  । तै पाइहाल्छ कि !” काउन्टरवालाले जवाफ दियो ।

माइला दाइ अक्मकाए । “ती त दलाल होइनन्  र ? तिनेरुसँग त टिकट नै नक्कली हुन्छ भन्छन् !” माइला दाइ फेरि संकटमा परे  । भोकले पेट मडारिन थाल्यो । आन्द्रा बटारिए जस्तो गर्न थाले । घडी घुमाएर हेरे दिउँसोको दुई बजेछ । ओठमुख सुकेर टाँस्सिन थाले । नजिकैको होटलमा पसेर पानी पिए । अलि सास आयो ।

फेरि काउन्टरतिर गए । काउन्टर बन्द गरेर मानिस हिँडिसकेका थिए । दलाल झुम्मिए ।

“सस्तोमा टिकट, नयाँ बस ।” माइला दाइले मनमनै सोचे– “यो पनि भोलि फेरि नपाइएला । टिकट त लिनै परो ।”

उनले खल्तमिा हात घुसारे । कच्याककुचुक पारेर खल्तीमा हालेको एक हजार र पाँचसयका नोट हातमा लिए । “नक्कली टिकट परो भने बिर्खेसँग ऋण काढेर ल्याको पैसा त्यसै भुस हुन्छ । घर जान पनि पाइँदैन ।” मनमनै सोच्दै अन्कनाए । दलालको नाइके अघि सर्यो ।

“के हेर्या बाजे ? छिटो गर्नुस्, नत्र यै पनि सक्केला । भोलिदेखि टिकट छैन । लि हाल्नुस् ।” माइला दाइले हातमा पैसा लिएर दुवै हातले समाते मानौँ ती नोट खोलामा पक्रेका चिप्ला माछा हुन् । चिप्ले भने फेरि त्यत्रो मेहनतले पक्रेका माछा पानीमा हराउँछन् ।

पैसा दलालको हातमा दिए । टिकटको सानो चिर्कटो उनकोे हातमा पर्यो । माइला दाइको अनुहार खुसीले उज्यालो देखियो ।

“नक्कली त हैन ? नक्कली रछ भने त फेरि ठीक हुँदैन नि !” दलालतिर फर्केर माइला दाइले फुर्ति देखाए । 
“नक्कली त सबै नक्कली, तपैँ नक्कली, म नक्कली, बस नक्कली । सबै नक्कली भएछि टिकट नि नक्कली हुन के बेर ?” एउटाले खितितित्त हाँस्दै भन्यो । माइला दाइ टिकट खल्तमिा हालेर कोठातिर लम्के । 
“भोलिदेखि काम गरेको पैसा सबै जोगाउन सकियो भने दश हजार जति त हुन्छहुन्छ । अझै एक महिना बाँकी छ । बरु रातीको पनि काम पाइयो भने गर्र्छ ।” माइला दाइ टिकट पाएको खुसीयालीमा योजना बनाउँदा बनाउँदै कोठा पुगे ।

भोलिपल्ट सडक बनाउने एक जना ठेकेदारकहाँ गए । ठेकेदारसँग रातिको काम मिलाइ दियो । ठेकेदारले भन्यो– “राती काममा आयौ भने डेढा पैसा हुन्छ । दिनमा साबिक हुन्छ ।”

माइला दाइ नयाँ ठेकदारकहाँ काम गर्न गए । रातदिन काम गरेर महिनाभरिमा बीश हजार कमाए । खानपिनमा साँघुरो गरी खर्च गरेर दशैँ खर्च बचाए । छोरालाई पाइन्ट, छोरीलाई फ्रक, श्रीमतीलाई साडी किने । बूढा बाबुआमालाई पनि एकसरो लुगा किनिदिए । खल्तीमा बस्यो पाँच हजार । माइला दाइले सोचे–  “यो पाँच हजारले दशैँ धान्छु । फर्कंदा सकिए सापटी मागेर आउँछु । याँ आर पठौँछु ।” 
.........................................................
“आज नौरथाको सत्तमी । घर जाने टिकट आजैको छ । म भरे घर लाग्छु । कोठामा छिटो आइज नि !” बिहानै माइला दाइले कोठामा बस्ने साथी बलेलाई भने ।

“हैन आजै जाने र ! टिकट किनिसक्या छौ ? नत्र त टिकट पाउन त गाह्रो पो छ त ! टिकट पनि सक्कली चैँ ल्यायौ के ? नक्कली परेछ भने त छतमा परौला । दलालको फेला पर्यौ कि !” बलेले भएभरको शंका गर्यो । 
माइला दाइले टिकट झिकेर बलेलाई देखाए । काला अक्षर भैँसी बराबर नै हो उसलाई पनि । तर पनि बलेले टिकट हातमा लिएर खेलायो । मानौँ माइला दाइलाई घर पुर्याउने यही टिकट हो ।

“ठीक छ, राम्रै गर्यौ । तिमी जाऊ । म चैँ यीँ बस्छु । १।२ बोतल खोया बिर्के ल्याउँछु । एक किलो मासु किन्छु । यैँ दशैँ मान्छु । यत्रो खर्च गरेर घर जानुभन्दा यैँ मस्ती गरिन्छ । यो खर्चले वाँ जान्छोर्छोरीहरु मासुभात खान्छन् ।” बलेले उसको दशँै कसरी बित्छ, बतायो ।

माइला दाइ टिकट हातमा लिएर २ बजे कोठाबाट निस्के । वीरे विदा गर्न बस चढ्ने ठाउँसम्म गयो । 
“लौ जाउ है दाइ राम्ररी । भाउजूलाई पनि सम्झ्या छ भन्देऊ । खल्ती अलि सम्हालेर राख नि ! पाकेट मार्लान् ।” बिरेले माइला दाइलाई सजग गराउँन पनि भ्यायो ।

माइला दाइ बसमा उक्ले । उनलाई भनेको सीट नम्बरमा एक जना महिला गजधम्म बसिरहेकी थिइन् । टिकट हातमा लिएर माइला दाइ कराए– “यो त मेरो सिट हो । उठ्नुस् ।”

“एक मैना अघि टिकट काटेको हो मैले । मेरो टिकट हेर्नुस् ।” महिलाले टिकट निकालेरै प्रतिवाद गरिन् । माइला दाइ छक्क परे । दलालहरुको झुण्ड सम्झे । उनीहरुले भनेका शब्दहरु सम्झे । एकाएक गर्दै दलालहरुको अनुहार उनका आँखा अगाडि सिनेमामा नाचे जस्तै गरी नाच्न थाले ।

कन्डक्टरतिर बढ्दै माइला दाइ कड्किए– “एक मैना अघि टिकट काट्ता पनि नक्कली र दोहोरो टिकट दिने ? म आफ्नो सिट छोड्दििनँ ।”

कण्डक्टरले माइला दाइको टिकट हातमा लिएर राम्ररी हेर्यो । ऊ गज्र्यो– “दलालले काटेको टिकट रछ । काउन्टरको टिकट हैन यो । जे भा पनि म लग्दिन्छु तपैँलाई । तर सिट चैँ छैन । तपैँले काटेकै सिटमा बस्नुस् । तपैँहरु काँकाँ टिकट लिनुन्छ अनि याँ झगडा गर्नुन्छ । तपाईंको टिकटमा त छत लेख्या छ । छतमा चढ्न अलि पर पुग्नु पर्छ । नागढुंगा कटेसी बस्नू । एैले भित्रै बस्नुस् । ”

माइला दाइलाई भाउन्न होला जस्तो भो । त्यत्रो दुःखहण्डर खपेर काटेको टिकट त्यै पनि छतमा परियो । उपाय केही देखेनन् उनले । कोच्चिएर उभिइरहे । गागढुंगा कटेपछि कन्डक्टरले भन्यो– “छतका टिकट भाका जति छतमा जानुस् ।” माइला दाइ लुरुलुरु कालो अनुहार लाएर छतमा चढे । छतभरि पनि टन्नै मान्छे थिए । मोड र उकालीओरालीमा चिउचिउ गर्दागर्दै बस मुग्लिन पुग्यो । सम्म बाटो आयो । बस हल्लिन अलि कम भयो । अलि राहतको सास फेरे । हावाले शरीरभरि कावा खाएकै थियो ।

“सामान राख्ने ठाउँमा मान्छे । सामानकै दर्जामा पो राखे त ! माइला दाइको स्वाभिमान भित्रभित्रै मुर्मुरायो । हावाले सातो लियो । बर्को निकालेर शरीर छोप्ने प्रयास गरे । बिहान सबेरै गाडीले भीमान बजारमा ओरालिदियो । दुईघण्टा पैदल हिँड्नै बाँकी थियो । रात्री बसको धङ्धङीमा माइला दाइ कमलाको बगरतिर लागे ।  
.......... .......... .......... 
दिउँसो करिब १ बजेतिर माइला दाइ घर पुगे । आठ वर्षपछि घर आएको छोरो देखेर बुढी आमाले आँखा तन्काउँदै भनिन्– “यत्रो वर्ष सुन्ने पारिस् यस्पाली दशैँ रमाइलो हुने भो ! पोहार साल पनि आउँछस् कि भनेर आँखा टट्टाउन्जेल हेरेँ, आइनस् । कस्तो नरमाइलो भो दशैँ । आघौँ बाँचिरन्छु कि रन्न यस्पाली चैँ दशै आयो अब ।”

माइली भाउजू पनि गाइवस्तु र बाख्राको हेरचाह गरेर घरमा आइन् । माइला दाइलाई देखेर माइली भाउजूको अनुहार उज्यालो र चम्किलो देखियो । दशैँ आए जस्तो लाग्यो उनलाई । एक छिनमा छोरो र छोरी पनि आइपुगे । माइला दाइलाई देखेर को छिटो बासँग पुग्ने भने जसरी दौडिँदै आएर अँगालो मारे ।  एकातिर छोरो, अर्कातिर छोरी बसी । माइला दाइले झोलाबाट एकेक ओटा बिस्कुट, चकलेट र चाउचाउका प्याकेट निकाले । छोरा, छोरी र माइली भाउजूलाई हातमा राखिदिए । छोराछोरीहरु बिस्कुट र चकलेट लिएर कृतकृत्य भए । मानौँ ती प्याकेटहरु काठमाडौँको ऐश्वर्य नै हुन् । बाआमालाई एउटाएउटा मिस्रीको पोको हातमा दिएर ढोगिदिए । आमाले भनिन्– “भाग्यमानी भएस् ।” माइला दाइ घिच्च हाँसे । मानौँ मिस्रीको पोकाको सट्टामा उनलाई ईश्वरीय वरदान नै प्राप्त भएको छ ।

“दशँैमा तिमी नआर कस्तो खल्लो हुन्थ्यो । यस्पाली बल्ल दशैँ आयो । कैलेकाइँ त घर आउने पनि गर्नु नि ! कस्तो निष्ठुरी ?” माइली भाउजूले बेलुका माइला दाइसँग गुनासो गरिन् ।

माइला दाइले भाmेला खोलेर भाउजूलाई ल्याको सारी देखाए । भाउजू सारी देखेर फुरुङ्ग भइन् । बाबुआमालाई ल्याएका कपडा पनि प्याकेटै जिम्मा दिए । छोरालाई बोलाएर पाइन्ट ठीक हुन्छ कि हुँदैन भनेर जाँचे । छोरो पाइन्ट लाउन पाएर आकासमा उडे झैँ गरी उफ्र्यो । छोरी फ्रक लाएर नर्तकी जस्तै गरेर फनफनी घुमी । सबैलाई माइला दाइले दशैँ ल्याइदिए । 
...............................................
घर पुगेको अर्को दिन । दशैँको नवमी । 
सबैतिर खसी काट्ने, सुँगुर मार हान्ने, राँगा ढाल्ने, पिङ हाल्ने काम हुन थाले । छोराले भन्यो– “बाबा हाम्रो घरमा खसी नढाल्ने ?” छोरीले भनी – “मसिना चामलको भात नखाको पनि धेरै भयो । आमाले दशैँमा ल्याउँला भन्नु भाथ्यो कतिखेर लिन जाने ?” माइला दाइले खल्तीमा भएको पाँच हजारका नोट झल्झली सम्झे । उनको मन एक तमासको भयो ।

“घरको छानाको खर मक्काको छ । गाइवस्तु खिइँदै गएका छन् । खेतवारीमा बाली राम्ररी लाउन सकिएको छैन । दशैँमा खाने राम्रो चामल छैन । खसी काटेर घरमा रमाइलो नगरेको पनि एक युगा भैसक्यो । छोरालाई अर्को वर्षदेखि बाहिर पढाउन पठाउनु पर्ने । बाबुआमा बूढा भए । केही भयो र औषधिमुलो गर्नु पर्यो भने खल्तीमा सुको छैन । कसरी चलाउने हो व्यवहार ?” माइली भाउजूले घरव्यवहारका अनुहार एकएक गर्दै माइला दाइका अगाडि उघारिन् । माइला दाइ केही नबोली बसिरहे । खल्तीमा भएका हजारहजारका पाँचवटा नोट झिकेर माइली भाउजूका हातमा राखिदिए ।

“यस्पाली धेरै कमाइ भएन । महँगी साह्रै बढेको छ । गारोसारो गरेर चलाऊ । दशैँ सिध्याउँ अनि अरु सल्ला गरौँला । भोलि चेलीबेटी, इष्टमित्र पनि टिको लाउन आउलान् । कतै पाइए ससाना खुद्रा साटी राख ।” 
माइली भाउजूले दाइले दिएका नोट वल्टाइपल्टाइ गरिन् । छोराछोरीका कुरा सम्झिइन् । आँखा उठाएर माइला दाइतिर हेरिन् । माइला दाइ निन्याउरो अनुहार लाएर माइलीलाई हेरिरहेका थिए । 
“साह्रै थोर भो हगि । पुर्याउन गाह्रो हुन्छ होला तिम्लाई । कतै थोरै तिनो रिन पाइने भा खोज । म फेरि वाँ गएपछि पठौँला ।”

माइली भाउजूका आँखामा आँसु टिल्पिलाए । “पर्दैन यल्यै पुर्याउँछु । दुःखसुख गरी टार्नुपर्छ । दुःखैदुःखमा बित्ने भो जिन्दगी । कैल्यै खुकुलो गरी वेवार गर्न नपाइने भो ।” निराशाको लामो सुस्केरा हालिन् माइली भाउजूले ।  
................
माइला दाइका एक जना छिमेकी नयाँ पटीमा लागेका थिए । दशैँ र तिहारको संस्कृति क्षेत्रीबाहुन्का हुन् भन्दै फलाकेर भाषण गर्दै हिँड्थे । आफ्नो चाहिँ के हो भन्ने बताउन पनि सक्दैनथे ।

“तामाङहरुले दशैँमा सेता टीका लाउने निर्णय गर्या छौँ । यसपालीदेखि हामीले सेता टीका लाउनु पर्छ । रातो रंग नहाल्नू टिका लाउँदा ।” टीकाको दिन बिहानै माइला दाइकहाँ आएर सुनाए । माइला दाइलाई यो सुनेर कन्सिरी तातेर आयो ।

“यिनले जेजे भन्छन् त्यै हामीले मान्दै हिँड्नु पर्ने ? पुरानो संस्कृति, सबै नेपालीको चाड भनेर कत्रो गरेर दशैँ मान्न आ’को त के के र के के भन्ने यिनेरु ?” मनमनै रन्का छुट्यो माइला दाइलाई ।

“टीका लाउने नै हो भने किन रातो र सेतो भनिरनू ? कि लाउनू कि नलाउनू । भइरा’को चलन बिगार्न खोज्नेहरु ! रातो र सेतोमा छुट्याएर समाज भाँड्नु पर्या छैन । तिमेर्का कुरा तिमेरुसँगै राख । म रातै लाउँछु । कहीँ नभाको जात्रा हाँडी गाउँमा ?” माइला दाइले छिमेकीको सातो लिए ।

“तिमेरु जे गर्छौ गर । अनेक बखेडा झिकेर चलन बिगार्नेहरु ।” मुर्मुराउँदै माइला दाइ उठे । समाचार भन्न आएका छिमेकी कालोनीलो हुँदै केही नबोली उठेर आफ्नो घरतिर लागे ।

बूढी आमाले भनिन्– “किन नानी यत्रो वर्ष चैँ ‘रातो टीका निधार्मा टिलिक्क टल्कियो’ भन्दै गीत गाउँदै लगार हिँडे । आज चैँ किन यस्ता कुरा गर्या होलान् ? आखिरी चलन त हो विवाद गरेर के पाउँछन् र बाबु यिन्ले ? युगौँदेखिको चलन यसो र उसो भनेर बिथोलेर बिगार्ने भए यी ठेउकाले । यस्तै भोडाहर्ले हो ठाउँ बिगार्ने । म त रातै टीका लाइदिन्छु बाबु । भन्नेले जेसुकै भनुन् ।”

बेलुकाखेरि राता टीका र जमराले निधार सजिएका माइला दाइ घरबाट निस्कन खोजे । छोरीले भनी– “बा म पनि सँगै जान्छु नि !” माइला दाइले केही नबोली छोरीको टाउको सुम्सुम्याए । छोरो नजिकै बसेर हेरिरहेको थियो । “म एकैछिनमा आउँछु है छोरी  ।” माइला दाइले छोरीलाई भने ।

छोरी बाबु गएतिर हेरेर आँटमा बसिरही । रात निकै बितेपछि भित्र पसी । दिन बिते, महिना बिते, वर्ष बिते माइला दाइ फर्केर आउने आशामा बसेका माइला दाइका बाबुआमा, छोराछोरी र माइली भाउजूले त्यसपछि माइला दाइलाई कहिल्यै देख्न पाएनन् । 

समाप्त 






Sunday, September 8, 2013

नग्न मूर्ति, पेरिस र यथार्थ


आकर्षक पहिरन र ऋङ्गारले झरझुट्ट भएर सजिएकी कुनै महिला सडकमा देखापरिन् भने हरेकको आँखा एक पटक उनीतिर सोझिन्छ नै । युवाहरुको त कुरै छाडौँ बृद्धहरु नै पनि एक पटक उनलाई नहेरीकन रहन सक्दैनन् । सुन्दरी कन्याहरुका पासोमा परेर कैयौँ ऋषिहरुको तप भंग भएका कथा हामीले पढेका र सुनेका छौँ ।

साधारण, अनाकर्षक र झुत्रे पहिरन भएका मान्छेलाई भने त्यसरी हेरिँदैन । मान्छे त त्यै हो नि किन नहेरेको होला त्यस्ता मान्छेलाई ? आकर्षक पहिरनमा लोभिन्र्छौँ हामी । आखिर के हुन्छ त पहिरनमा ? उनीहरुलाई के ले तान्छ ? के ती पहिरनमा सजिएकी महिला नाङ्गै देखिइन् भने पनि त्यतिकै अकर्षक लाग्छिन् हामीलाई ? यथार्थ चाहिँ पहिरनमा सजिएर सुन्दर देखिने मानिस हो कि नग्न आकृति ? मेरो मथिङ्गल पेरिस सहरको मुटु मानिने राष्ट्रपति भवन र केन्द्रीय सरकारी मुख्यालय नजिकै रहेको विशाल पार्कमा थरिथरिका नग्न मूर्ति देखेपछि एकाएक छचल्कियो । मैले सत्यता र नग्नता बारे सुनेका र पढेका केही कुराहरु सम्झेँ ।

मलाई आई. ए. मा नेपाली पढाउने एक जना सरले नग्नता र सुन्दरताको बारेमा बताउँदा भन्नु भएको एउटा वाक्य यस्तो थियो– “तिमी नाङ्गै ऐना अगाडि उभिँदा लाज र घिनबाट परै रह्यौ भने सुन्दरताको रहस्य जान्न सक्छौ । पहिरनमा सजिएको मान्छेलाई राम्रो मानुन्जेल सुन्दरता केहो बुझ्न सकिँदैन ।”

पेरिसका मूर्तिकला र नग्नमूर्तिहरु बारे निकै वर्षअघि केही लेखहरु पढेको थिएँ । उक्त लेखमा भनिएको थियो– नुड इज रियालिटी, ड्रेसअप इज इल्युजन ।

२०१० को जुन महिनामा अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा पर्यवेक्षकका रुपमा भागलिने अवसर पाइयो । हामी सरकारी भ्रमण टोलिसँगै जेनेभा पुग्यौँ । करिब एक हप्ताको जेनेभा बसाइपछि सबै साथीहरु युरोपका अरु देश घुम्ने चाहना राख्न थाले । मोहन खड्का, गणेश सिंखडा, जय कार्की र म चार जना फान्स, जर्मनी र नेदरल्याण्ड घुम्न जाने भयौँ । पेरिसमा बस्ने एक जना नेपाली मूलका फ्रान्सेली साथी विनय रिजालले पेरिस घुम्ने व्यवस्था मिलाउनु भयो । हामी उहाँका पाहुना भएर बस्यौँ । पेरिस पुगेको दोस्रो दिन हामी शहरका मुख्य भागहरु घुम्न निस्कियौँ ।

पेरिस पुगेका सबैको एउटा गन्तव्य हुन्छ एफेल टावर । हामी त्यतैतिर सोझियौँ । प्रसिद्ध इंगलिस च्यानल छिर्ने बाटो, सेइन नदी अवलोकन गर्दै हामी एफेल टावरतिर सोझियौँ । बाटामा केन्द्रीय सरकारी मुख्यालय र फ्रान्सेली राष्ट्रपति भवन पर्दोरहेछ । त्यसको अगाडि एउटा विशाल पार्क । थरिथरिका मूर्तिहरु, कृत्रिम फोहरा र मनोरञ्जनस्थलले भरिएको उक्त पार्कका ठाउँठाउँमा विभिन्न किसिमका नग्न मूर्तिहरु सजाइएका थिए । त्यो देखेर मैले विनयजीलाई सोधेँ – यतिका नग्नमूर्तिहरु सार्वजनिक ठाउँमा सजाइनुको के अर्थ होला ? उनले भने – “अर्थ त मलाई पनि थाहा छैन तर तपार्इं यस्ता मूर्तिहरु यूरोपका सबैजसो सहरहरुमा पाउनु हुनेछ । फ्रान्समा चाहिँ अलि बढी नै छन् ।

उनको यो भनाइ सुनेपछि २००६ मा मैले बेइजिङ भ्रमणका बेला बसेको एक पाँचतारे होटल परिसरमा रहेका थरिथरिका नग्न आकृतिहरु सम्झेँ । त्यो होटल कुनै फ्रान्सेली लगानीकर्ताले खोलेको थियो । होटल परिसरभरि नग्न मूर्तिहरु सजाइएका थिए । अति नै मन पराउँदा रहेछन् फ्रान्सेलीहरु नग्न मूर्तिलाई । त्यहाँ त होटलको कम्पाउन्डभित्र मात्रै त्यस्ता आकृति देखेको थिएँ । पेरिसमा त छ्यास्छ्यास्ती रहेछन् । जहाँ पायो त्यहीँ । कपडाले ढाकिएका आकृतिभन्दा नग्न आकृतिकै बाहुल्य । कहीँ महिला, कहीँ पुरुष, कहीँ बालबालिकाका नग्न मूर्तिहरु यत्रतत्र सजिएका छन् । किन यस्तो ? के रहस्य छ यसमा ? ठाउँमा आएका बेला बुझ्दा राम्रो । मैले मनको जिज्ञाशा मेटाउन खोजेँ ।

साथीहरु एफेल टावर घुम्नतिर लागे । एफेल टावर चढ्न मलाई पनि मन थियो । कोशिस गरियो तर २ दिनमा पनि नभ्याइने लाइन देखेर दर्शनमै चित्त बुझायौँ । साथीहरु थरिथरि फोटो खिच्नतिर लागे । मभने ती नग्न मूर्तिको रहस्य जान्नतिर तानिएँ । साथीहरुसँग समय मिलाएर एउटा आर्ट ग्यालरीतिर लागेँ । नजिकै उभिएकी एक जना फ्रेन्च महिलालाई सोधेँ । नाम थियो सेलिना । मैले सेलिनालाई ती नग्न आकृतिबारे सोधेँ । उनलाई पनि त्यसको के अर्थ हो थाहा रैनछ । उनले भनिन्– “म यसको विज्ञ होइन, तर युरोपमा कैयौँ शताब्दीदेखि यस्ता मूर्तिहरु प्रचलनमा छन् ।” मेरो जिज्ञाशा त्यतिले शान्त भएन । म सन्तुष्ट नभएको थाहा पाएर उनले मलाई आश्वस्त गराउँदै भनिन्– “म तपाईंलाई एउटा कला पसलमा सोधेर बताउँला ।”

अलिकति अगाडि पुगेपछि उनले एउटा विशाल भवनभित्र हामीलाई लिएर गइन् । अनेक खाले कलाकृति बेच्ने पसल भएको त्यो विशाल भवनको पाँचौँ तलामा हामी उक्लियौँ । एक जना अधबँैसे कलाकार तैलरङमा नारी आकृतिको नग्न चित्र कोर्नमा व्यस्त थिए । मैले चारैतिर हेरेँ । मेरो जिज्ञाशाको जवाफ यहाँ मिल्न सक्ला । म आश्वस्त भएँ । मेरी साथीले ती चित्रकारसँग परिचय गराइन् । उनले हाँसेर हामीलाई स्वागत गरे । म नेपालबाट आएको पर्यटक भएको कुरा उनले ती कलाकारलाई बताइ दिइन् । ऊ फ्रेन्च बोल्ने, म फ्रेन्च नबुझ्ने । निकै अप्ठ्यारो भयो । सेलिनालाई अलिकति समय दिन अनुरोध गरेँ । उनले मलाई समय दिने भइन् । दोभाषेका सहायताले मैले उनीसँग कुरा गरेँ ।

सेलिनाले मेरो जिज्ञाशा उनी समक्ष राखिन् । कलाकारले फ्रेन्च भाषामा निकैबेर लगाएर उत्तर दिए । उनको उत्तरको अनुवाद गर्दै सेलिनाले भनिन्– “धीरजी उनको भनाइ अनुसार कलाले यथार्थको, सत्यको अभिव्यक्ति दिन्छ । चित्र र मूर्ति कलाकारका अन्तस्करण हुन् । साहित्य जस्तो होइन कला । साहित्यमा व्याख्या हुन्छ । व्याख्या गर्दा यथार्थ हराउन पनि सक्छ । तर कलामा दर्शकले आफैँ यथार्थ खोज्छ र बुझ्छ । यसले नाङ्गो यथार्थ देखाइ दिन्छ । त्यसैले कलाले मान्छेलाई जिज्ञाशा जगाउने काम मात्र गर्छ, बुझ्ने काम दर्शकको हो । नग्नता ढाकिएका आकृतिहरु यथार्थ होइनन् । ती यथार्थ छोपिएका र मानिसले इच्छाइएका प्रतिरुप हुन् । सच्चा मानिस कस्तो हुन्छ त्यसको यथार्थ चित्र तिनले दिन सक्दैनन् ।”

उनले फेरि थप व्याख्या गर्दै भने– “नग्नता अश्लिलता होइन, तथ्य र सत्य हो । मान्छेको वास्तविक रुप नग्नतामै देखिन्छ । पहिरनले छोपिएपछि तथ्य र यथार्थ रुप पनि छोपिन्छ । पहिरनमा सजिएको मानिस आँखालाई रमाइलो र सुन्दर लाग्न सक्छ तर त्यो मान्छे न प्राकृतिक हुन्छ न सत्य । त्यो मानिस जस्तो आकृति मात्रै हो, सत्य मान्छे होइन । सत्य थाहा पाएपछि त्यसमा रहस्य मान्नु पर्ने, लुकाउनु पर्ने केही रहँदैन । त्यसैले मानिस सत्य उत्खनन गर्न डराउँछ ।”

नग्नमूर्तिका इतिहास जोड्दै उनले फेरि भने– “पश्चिममा ई. पू. १४ औँ शताब्दीभन्दा अघिदेखि नै नग्न मूर्तिहरु बनाउने गरियो । इ.पू. १४०० देखि नै चित्रकलामा त्यसलाई कोर्न थालियो । ती चित्र र आकृतिले मानिसको यथार्थ रुप देखाउन चाहे । यथार्थ प्रकट भएपछि सत्य स्वतः बुझिन्छ भन्ने उनीहरुको बुझाइ थियो । युरोपियन पुनर्जागरण कालको कलाकारितामा यसले अझ बृहत् रुप लियो । मान्छेको चेतनालाई झक्झक्याउने बेला थियो यो । माइकेल एन्जेलो जस्ता प्रसिद्ध मूर्तिकारले पनि पूर्ण कदका नग्न मूर्तिहरु बनाए ।” उनी एक छिन रोकिए ।

उनले प्रकृति र पशुहरुको उदाहरण दिँदै थपे– “पशुहरु नग्न नै हुन्छन् त्यसैले ती प्राकृतिक स्वभावमा हुन्छन् । नग्नता प्रकृतिको रुप हो । पहिरन र सजावट कृत्रिमता र आडम्बर हो । कृत्रिमताले मानिसलाई सन्तुष्टि दिन सक्दैन । त्यसैले सधैँ प्राकृतिक र नाङ्नो सत्य हेर भन्ने यी नग्न चित्र र आकृतिहरुको सार अर्थ हो ।” ती कलाकारको सत्यता र नग्नताको सम्बन्ध बारेको गहिरो व्यख्या सुनेर मेरो मन हल्का भयो । हामी कृत्रिमतामा सुन्दरता खोज्दा रहेछौँ । उनीहरु प्राकृतिकतामा सुन्दरता देख्दा रहेछन् । फरक यही रहेछ । दुवैले खोजेको भने एउटै कुरा रहेछ ।

उनले फ्रेन्च भाषमा हामीतिर फर्कंदै फेरि केही कुरा भने । म ट्वाल्ल परेर हेरिरहेँ, सुनिरहेँ । मेरी साथीले अनुवाद गर्दै भनिन्– “नग्न हुन नसक्नाले र सत्य बोध गर्न नसक्नाले हामी सहज व्यवहारमा रमाउन सकेनौँ । मानिसको कामुकतामा यही पहिरन मुख्य छ । पश्चिमले निकै पहिले पहिरनलाई भन्दा नग्नतालाई स्वीकार गर्यो । त्यसले यौनमा स्वाभाविकता ल्यायो । पूर्वमा त्यसलाई स्वीकार गरिएन दमनमा जोड दिइयो । संयममा रहन भनियो । नग्नताको अनुभव नगरीकन दमन गरिएको काम वासनाले कैयौँ योगी र महर्षिहरुलाई दुःख दिइरह्यो । त्यसैले पश्चिममा गिर्जाघरको बाहिर ढोका र टुँडालमै नग्न चित्र र मूर्तिहरु स्थापना गरिए । जसले त्यो नग्नताबाट आफू भित्र पसिसकेको र अप्रभावी भएको अनुभव गर्छ त्यसले मात्र सत्य थाहा पाउन सक्छ । यसको सांकेतिक अर्थ यही हो । त्यही कुरालाई बुझेर पाश्चात्य देशमा यौनको वर्जना गरिएन त्यसलाई स्वीकार गरियो ।” नग्नताको लामो दार्शनिक पक्ष प्रष्ट पारे उनले । उनको उत्तरले मलाई पेरिसमा किन नग्न मूर्तिहरु बनाइए भन्ने यथार्थको जानकारी दियो । यसका साथै मलाई हाम्रो ब्रह्मचर्यको धारणालाई पश्चिमले कसरी हेर्दोरहेछ भन्ने पनि थाहा भयो । हामी दमन खोज्दा रहेछौँ उनीहरु त्यसको उपयोग खोज्दा रहेछन् । त्यही बुझेर ओशोले सहज निकास र उर्जा जागृतिका लागि यौनको प्रयोग बारे प्रष्ट्याउन खोज्नु भयो । त्यसलाई पश्चिमाहरुले अलिअलि बुझ्न खोजे हामीले अझै पचाउन सकेका छैनौँ ।
हुनतः हाम्रो पूर्वीय परम्परामा पनि कामसूत्र, कामदेव आदिका कथा र व्याख्याहरु नभएका होइनन् । तर तिनलाई सहज वहसमा ल्याइएन । बर्जित बिषय ठानियो । पूर्वीय देशहरुमा नग्न मूर्तिहरु धेरै पछि मात्रै आएर बनाउन थालियो । भारतको खजुराहोको मन्दिरका नग्नमूर्तिहरु ई.सं. १०५० तिर बनाइएको मानिन्छ । हाम्रो देशका टुँडालहरुमा नग्न आकृतिहरु पनि त्यही अर्थमा कँुदिएका हुन् । ती मल्लकालीन मात्रै भेटिन्छन् । साँचो अर्थमा मानिसलाई, सत्यलाई बोध गर्न आफूलाई नग्न रुपमा उभ्याउने, नग्न देखिने हिम्मत गर्नैपर्छ । सुन्दरताको वास्तविक रुप सृङ्गारमा हुँदैन । अध्यात्ममा सत्य बोधका लागि अनेक व्यक्तित्व लिएर बाँचेको मानिसलाई व्यक्तित्वरहित सामान्य मानिसमा परिणत गर्ने प्रयास गरिन्छ । आफूभित्र अनेक भ्रम र पर्दाहरु पालेर र धारणाका पहिरनमा बेरिएर सत्यबोध गर्न सकिँदैन भन्ने योगको मान्यता छ । त्यसैले योगले मानिसलाई अहंकाररहिततामा ल्याउने प्रयत्न गर्दछ ।

पाश्चात्य गिर्जाघरका ढोका बाहिर होस् वा टुँडाल सबैतिर मान्छेका नग्न मूर्तिहरु राखेको देखिन्छ । नग्न हुँदा मानिसको आकर्षण शरीरप्रति कम हुन्छ । त्यसैले बर्टेन्ड रसेल भन्छन्– “जतिजति हामी पहिरनले हाम्रो आकृतिलाई ढाक्छौँ त्यतित्यति त्यो रहस्यमय बन्छ र उत्तेजना सिर्जना गर्छ । ढाकिएको देखेपछि मानिस नग्न हेर्न लालायित हुन्छ । नग्न नै देखिएपछि त्यहाँ अकर्षण नै हुँदैन । आकर्षण हराएको नग्नतामा पुनः आकर्षण भर्नका लागि फेरि छोप्नु, ढाक्नु पर्छ । ढाकिएपछि फेरि त्यसले मानिसलाई आकर्षित गर्छ ।” यस्तो छ मान्छेको मनोविज्ञान ।

पेरिसका नग्न मूर्तिहरुले यही मानिसको आत्यन्तिक सत्य बताइरहेका छन् । आत्यन्तिक सत्य जहिले पनि नाङ्गो नै हुन्छ । नाङ्गो हुन सक्नु भनेको सत्यसँग नजिक हुनु हो । तथ्य बोध गर्नु हो । शताब्दीयौँदेखि मानिसको सुन्दरताको यथार्थ बुझाउने र रहस्यका भ्रम र पर्दा खोल्न नग्न हुने सामथ्र्य भएका ती पाश्चात्य कलाकारहरुको समृद्ध चेतनालाई श्रद्धासुमन । dhirbhandari@yahoo.com


कालापहाडका लाहुरे, भेरी किनारका टार र सीपमूलक शिक्षा


“काहाँ जाने दाइ टाढै हो कि ?” मैले प्रश्न सोध्नासाथ तुरुन्त जवाफ दिए — “काला पहाड त हुन् नि, अन्त काहाँ जान्या र ?” फेरि मैँले थपेँ “अनि तपाईसंँग आएका यी ४०।५० जाना केटाहरु नि ?” उनले भने “यिनीहरु पनि उतै जान्या हुन् । अब याँ काम छैन । बसेर खान पाइन्न । केही काम त खोज्नै पर्यो । अलिकति बारी कमाई लाइ सक्यो अब फेरि कमाइ लगाउने बेलाँ फिर्न्या हुन् ।” जाजरकोटबाट छिन्चु हिँडेको बसमा चढेका मेरै उमेरका एकजना यात्रु र यो लेखक बीचको सम्बाद हो यो ।

देशमा चलेका रोजगारमूलक सीपको तालीमको प्रभावकारिता बिषयक एउटा अनुसन्धानको सिलसिलामा केही समयअघि मलाई पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका केही जिल्लाहरुको वस्तुस्थिति बुझ्ने अवसर प्राप्त भयो । त्यही सिलसिलामा म काठमाडौँबाट जाजरकोट पहिलो पटक पुगेको थिएँ । मध्यपश्चिमको जनजीवन बारे त्यति परिचित पनि नभएको र त्यताको परिवेश बुझ्नका लागि यो एक उपयुक्त अवसर भएकाले म त्यहाँ जान र त्यहाँको वस्तुस्थिति बुझ्न उत्सुक भएँ ।

मध्यपश्चिमको जाजरकोट र पश्चिमाञ्चलको रुपन्देही हाम्रा अध्ययनका जिल्लाहरु थिए । द्वन्द्वपछिको अवस्थामा मानिसहरु (खासगरी युवाहरु) को सीप र दक्षता अभिबृद्धि गरी स्वरोजगारी सिर्जना गर्नका लागि ‘सीपमूलक शिक्षा’ दिनुपर्छ भन्ने मान्यता रहेछ यूरोपियन र अमेरिकन दातृ निकायहरुको । जहाँजहाँ उनीहरुले द्वन्द्वपछिको अवस्था सुधारका लागि काम गरे त्यहाँ द्वन्द्वमा मानिसहरु धेरै अलमलमा पर्ने, शिक्षाबाट बञ्चित हुने, रोजगारीका अवसरहरु गुमाउने हुनाले द्वन्द्वपश्चात् त्यसबाट त्राण पाउन सीप दिन सकियो भने त्यसले उनीहरुलाई रोजगारी प्राप्त गर्न सजिलो हुन्छ, ससाना कामहरु गर्न सक्छन् भन्ने मान्यताका साथ ठूलो संख्यालाई लक्ष्य बनाएर यु.एस.ए.आई.डी., रोजगारकोष र शिक्षा मन्त्रालय अन्तर्गत विभिन्न सीपमूलक तालीमका परियोजनाहरु संचालनमा आएका रहेछन् । त्यसैको अनुसन्धान र मूल्यांकनको जिम्मेवारी थियो हाम्रो । कस्तो भौतिक पूर्वाधार, बजार सञ्जाल भएको र कस्तो भूबनौट र साँस्कृतिक अवस्था भएको मूलुकमा यस्ता सीपमूलक तालीमहरुले द्वन्द्वपछिको अवस्थालाई राहत पुर्यायो त्यो भने अध्ययन अवधिमा ती परियोजनाहरुले जानकारी उपलब्ध गराउन सकेनन् । तर अध्ययनको सिलसिलामा अनुभवका हिसाबले भने यसले मलाई चाहिँ एक विचित्रको विकासे अनुभव भयो ।

कामाडौँबाट जाजरकोट जानका लागि हामी काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट छिन्चुतर्फ लाग्यौँ । छिन्चुबाट जाजरकोट कसरी जाने भन्ने सोधपुछ पछि छिन्चु—जाजरकोट मोटरचल्ने र बसबाट सजिलै पुग्न सकिने जानकारी पाइयो । छिन्चुबाट जाजरकोट १३१ कि.मि. टाढा रहेछ । बसबाट यात्रागर्दा करिब १३ घण्टा लाग्यो । छिन्चुबाट सल्लिबजारसम्म बाटो केही सुविधाजनक रहेछ । त्यसपछिको बाटो भने मोटर चलाउनयोग्य भन्न पनि गाह्रो थियो । बाटोमा उड्ने धुलोले बसमा चढेको केही समयपछि आफ्नै साथीको अनुहार पनि चिन्न गाह्रो भयोे ।  घरिघरि भेरीको पानीमा बस डुबुल्की मार्न हामफाल्ने हो कि भन्ने डरले चिउचिउ हुँदै जसोतसो हामी जाजरकोटको सदरमुकाम खलङ्गा पुग्यौँ । बसको भाडा अचम्मलाग्दो थियो । १३१ कि.मि.मा रु. ७५० भाडा । अलि कस्सिएर हिँड्ने हो भने बस सँंगसँंगै पो जाजरकोट पुगिने हो कि भनेझैँको गतिमा चल्ने ती गाडिहरुको भौतिक अवस्था पनि हेर्न लायक नै थियो । गरिबी द्वन्द्व र बेथितीको कहालीलाग्दो अवस्था देखियो त्यहाँ । सामाजिक रुपमा मानिसहरुमा विश्वासहीनता, प्रशासनिक निरिहपन, विकास निर्माणमा सोच्नै नसकिने भ्रष्टाचार, गन्तव्यहीन वैदेशिक सहायता परियोजना आदिको तीतो अनुभव भयो मलाई जाजरकोटको यात्रा र बसाइभरि ।

भेरी किनाराबाट १० मिटरभन्दा पनि कम उचाइमा रहेका केही फाँटहरु बाटामा देखिए । ती सुक्खा फाँटहरु हेर्दा हाम्रा विकास योजना र विकासे संस्थाहरुको विकास प्रयासको बैद्धिक टाटउल्ट्याई सहजै देखिन्थ्यो । सामान्य सरकारी प्रयास हुन सके मलिला खेतियोग्य जमिनमा परिणत गर्न सकिने कैयौँ टारहरु पानीको अभावमा वर्षमा एकबाली त्यो पनि पाखोबाली लगाएर जमिन ओगटिरहेका किसानहरुको व्यथा कसले त्यहाँ सुनिदिने ? न स्थानीय निकायहरु छन् न त कुनै राजनीतिक संयन्त्रले कल्याणकारी ढंगले काम गरिरहेको छ । एक किसिमले हेर्ने हो भने टुहुराजस्ता भएका रहेछन् दुर्गम गाउँहरु । अवसरले त ठगेकै थियो शासन संयन्त्रले पनि अब त पूरै छाडिसकेको रहेछ ।

लेखको शुरुमा मैले उल्लेख गरेका भारतको कालापहाड जाने र सानोतिनो मजदूरी गरेर केही कमाउने आशामा हिँडेका युवाहरुको लर्को हेर्दा र विदेशी मोडेलमा काठमाडौँको पाँचतारे होटलमा केही समभ्रन्त वर्गका एलिटहरु बसेर बनाएका योजना र स्थानीय जनताका वास्तविकता बीच कत्रो फरक रहेछ भन्ने गहिरो अनुभव भयो यस यात्रामा । एकातिर गाउँका युवाहरुलाई लाखौँको संख्यामा तालीम दिने योजनाका नाममा देशलाई ठूलो परिमाणमा ऋण तथा सहयोग लिएर कार्यक्रमहरु डिजाइन गरिएको छ अर्कोतिर त्यसमा सिकेका सीप र ज्ञानको प्रयोग गर्नका लागि आवश्यक पर्ने पूर्वाधार र प्रदान गर्नुपर्ने राज्यका सुविधाहरु लगभग सरकारविहीनताको अवस्थाबाट गुज्रिरहेका छन् । पूर्वाधार र अवसरलाई ध्यान नै नदिई बनाइएका यस्ता सीपमूलक योजनाले लक्ष्य प्रगतिका नाममा सरकारी दस्तावेजमा धेरै प्रगति देखिए पनि न यसले युवाहरुको बेराजगारी कम गर्न सक्दछ न त यसले गाउँको मुहार फेर्न सक्दछ । अवसर र पूर्वाधारको अभावमा कालापहाड जान नाइकेको पछि लाम लागेर हिँडेका कतिपय युवाहरु मध्येमा नै हामीले अनुसन्धान गर्न गइरहेको तालीम लिएका युवाहरु थिए । गाउँको स्थानीय स्रोतको प्रयोग गरेर गर्न सकिने कामहरुलाई पूर्वाधार र बजार पहुँच पुर्याउन सके हाम्रा यस्ता दुर्गम गाउँको मुहार फेर्न केही सहयोग अवश्य मिल्ने थियो । ससाना उद्यमहरु फस्टाउन थाल्ने थिए ।

केही वर्षयता जनताले बाटो नभइनहुने रहेछ भन्ने बोध गरेकाले धेरै ठाउँमा बाटो खन्ने काम त भएको छ तर त्यससंगै वातावरणीय हिसाबले र दिगोपनाका हिसाबले ती बाटाहरुले भविष्यमा के परिणाम ल्याउँछन् त्यो हेर्न बाँकी नै छ । मोटर पुगेका ठाउँबाट बजारसम्म के लिएर जाने भन्ने सोचाइ विकास गर्न नसकिएकाले बहुराष्ट्रिय कम्पनीका ह्वीस्की, कोक, फेन्टा, चाउचाउ, बिस्कुट गाउँमा पुरयाउन र गाउँलेहरुलाई कङ्गाल बनाउन त ती बाटाहरुले काम गरेका रहेछन् तर स्थानीय तहमा पाइने वस्तुहरुको भने नामोनिशान छैन । स्थानीय उत्पादन केही देख्न पाइँदैन । मादक पदार्थ सेवनको अवस्था डरलाग्दो छ । बजार संयन्त्र विकास, उद्यमशीलता विकासका लागि नीतिगत र प्रविधिक सहजीकरणको अभावमा गाउँहरु रिता घर र बस्तीमा परिणत हुँदै गइरहेका रहेछन् । गाउँमा बुढाबूढीहरु बाहेक देख्न गाह्रो छ । भएका जग्गामा खेतिपाती लगाएर धान्न सकिने अवस्था छैन । जथाभावी बाटो खन्ने होडबाजीले वातावरणीय विनाश र जैविकविविधता लोपको डरलाग्दो अवस्था देखिँदैछ ।

यस्तो बिषम परिस्थिति र कहालीलाग्दो भौतिक पूर्वाधार, नीतिगत र साँस्कृतिक अवस्थामा अरबौँ खर्च गरी दिइने विदेशी निर्देशित सीपमूलक तालीम आखिर बालुवामा पानी खन्याएझैँ देखियो । यसको न कुनै संभाव्यता अध्ययन गरिएको छ न कुनै मूल्यांकन । केही मानिसहरुको लहडमा तर्जुमा र लागू गरिएका योजनाहरुले देशलाई प्रयोग भूमि र विदेशीलाई कृतार्थ गराए पनि उल्लेख्य रुपमा युवाहरुले फइदा भने उठाउन सकेका छैनन् । तालीम पछिको अग्र र पश्च सम्बन्ध विकासको अभावमा यस्ता योजनाहरुले कुनै उपलब्धि दिएको न विगतको अनुभव छ न त वर्तमानमा नै त्यसको कुनै असर देखिएको छ । बिहान खाए बेलुका के खाउँको चिन्तामा रहेका युवाले न त्यो तालीम लिने धैर्यता राख्न सक्छन् न त गाउँमा उपलब्ध स्थानीय अवसरले उनीहरुलाई रोजगार गराउन सक्दछ । यसका लागि अन्य विकासमूलक कार्यक्रमसँग सम्बद्ध गराएर लैजानु राम्रो हुन्छ भन्छन् जाजरकोट जि.वि.स. का इन्जिनियर बालकृष्ण खनाल र हेल्भेटास नेपाल, जाजरकोटका कार्यक्रम प्रमुख श्री कमल रोका । उनीहरुका बिचारमा यस्ता योजनाहरुबाट अधिकतम लाभ लिनका लागि पूर्वाधार, बजार, उत्पादन र रोजगारी सम्भाव्य अवसर सँंग यसलाई तालमेल मिलाउनै पर्छ । घरेलु तथा साना उद्योग कार्यालयले यतिका वर्ष देखि तालीम दिएको दिएकै छ ।

 विकासे संस्थाहरु र परियोजनाहरुले पनि तालीमका नाममा निकै रकम खर्चने गरेका छन् तर खै त उपलब्धि ? उपलब्धिका लागि तालीम पछिका अवसर कसरी उपलब्ध गराउने भन्ने सोच बिनाको तालीम कामै छैन भन्छन् बुटबलको सुकुम्बासी टोल समितिका अध्यक्ष अक्कल बहादुर गुरुङ । उनको बिचारमा यस्ता तालीमहरुले अति गरिबलाई होइन अवसर खोज्न सक्ने र केही लगानी गर्न पनि सक्ने इच्छुक, उमेर पुगेका अधबैसेसम्मलाई दिने गरी लक्षित गर्न सके बढी उपलब्धि हासिल हुनसक्ने थियो । एशियन टेक्निकल इन्स्टिच्युटका मान बहादुर गुरुङका विचारमा अनुभव र सैद्धान्तिक दुवै ज्ञानआर्जन गरी काम गरिरहेका व्यक्तिहरु बढी सीपयुक्त हुनसक्ने अवस्था कसरी बनाउन सकिन्छ त्यो नसोची यस्ता योजनाहरु केही मानिसका रोजगारीका लगि मात्र हुन्छन् आम मानिसलाई यसले सेवा दिन सक्दैन ।

तालीम लिएको र नलिएको व्यक्तिका बीच कामलगाउने मानिस र संस्थाले गर्ने भिन्न व्यवहार के हुने ? तालीम लिने र लिएका जनशक्तिले तालीम लिएपछि काहाँ र कसरी काम पाउने ? कामदारहरुको सीप र दक्षताको मापदण्ड नै नभएपछि तालीमप्राप्त र तालीम नलिएका बीच काम लगाउँदा वा पारिश्रमिक पाउँदा हुने सकारात्मक विभेद कसरी निर्धारण गर्ने ? द्वन्द्वपछिको अवस्थामा गाउँमा देखिएको सामाजिक अविश्वास, कुण्डा, निराशा र नकारात्मकतालाई मनोवैज्ञानिक रुपमा हल गर्ने सरकारी प्रयत्न, नीति र कार्यक्रम खै ? त्यसको अभावमा आज समाजले भोगिरहेका समस्याहरु सीपमूलक तालीम लिएर मात्र हल हुन सक्छ त ? वैदेशिक रोजगारीलाई मात्र लक्षित गरेर कार्यक्रमहरु संचालन गरिँदा देशको विकास निर्माण कसरी चलाउने ? दीर्घकालीन रुपमा देशको उत्पादन र उत्पादकत्व प्रणालीमा त्यसले कस्तो नकारात्मक असर पार्दछ ? कार्यस्थलमा गरिने सकारात्मक व्यवहार र अभिबृतिको विकास गर्ने खालका तालीमहरु खै ?

औद्योगिक क्षेत्रले अहिले कामदारको समस्या बढी भोगिरहेको छ सीपको अभाव भन्दा पनि यस्ता कुराहरुलाई गम्भीरतापूर्वक विचारै नगरी तालीमका नाममा जतिसुकै रकम खर्च गरेपनि र जस्तासुकै परियोजनाहरु संचालनमा ल्याइएपनि नीतिगत र भौतिक पूर्वाधार विकास नै नगरी दिइएका सीप विकासका यस्ता तालीमहरुले केही स्वदेशी र विदेशी महँगा परामर्शदाताहरुलाई अवसर दिने र केही व्यक्तिहरुको समूह र संस्थालाई रोजगारी दिएपनि अपेक्षित प्रतिफल दिने र आमरुपमा रोजगारी सिर्जना गर्ने सम्भावना भने ज्यादै न्यून देखिन्छ । जबसम्म ती कालापहाडमा भरिया बन्न जाने युवाहरुको लर्को नायिकेको पछिलाग्ने अवस्थाको जरो खोजिँदैन, भेरीको छेवैमा रहेका सुक्खा गराहरु हराभरा बनाउने सामान्य प्रयत्न पनि गरिँदैन तबसम्म यस्ता तालीमहरु बालुवामा पानी हाल्नुभन्दा बढी के नै पो होलान् र ? dhirbhandari@yahoo.com

सम्झनामा:'आम्बोटे स्कूलका सरहरु'



मैले निम्न माध्यमिक तहसम्म आम्बोटेको विद्यालयमा पढेँ । त्यतिबेला गाउँ विकास समितिभरि एउटा मात्र विद्यालय थियो । अहिलेका जस्ता छ्यासछ्यास्ती विद्यालयहरु थिएनन् । माघको जाडो बिदा पछि स्कूल शुरु भयो । कुरा २०३१ सालतिरको हो । कक्षा ४ को शुरुमा तराइतिरबाट (धनुषा जिल्ला) एक जना नयाँ शिक्षक हाम्रो स्कूलमा पढाउन आए । केही समयपछि थाहा भयो मलाई भर्ना गर्ने हेडसरले स्कूल छोडने र अन्यत्रै जाने इच्छा गरेछन् । त्यसपछि अर्को हेडसरको खोजीस्वरुप उनलाई बोलाएर ल्याइएको रहेछ । त्यतिबेला मलाई शिक्षक भनेको भगवान् नै कि हो जस्तो लाग्थ्यो । 
मेरो मनमा उसले सबैकुरा जानेको हुन्छ भन्ने थियो । विद्यार्र्थीलाई सपार्न र बिगार्न शिक्षककोे ठूलो हात हुन्छ, चाह्यो भने शिक्षकले जस्तो व्यक्तिलाई पनि ठूलो मान्छे बनाउन सक्छ भन्ने विश्वास थियो । शायद त्यतिबेलाका सबै विद्यार्थीहरु त्यस्तै सोच्थे होलान् । त्यसैले विद्यार्थीहरुलाई माया गर्ने, राम्ररी सिकाउने, आफ्नो विषयमा राम्रो दखल भएको शिक्षकतर्फ विद्यार्थीहरु अलि बढी नै नजिक हुने गर्थे ।

कक्षामा  २।४ जना पढ्न जान्ने विद्यार्थीहरुको समूहमा म पनि पर्थें । त्यसै हुनाले प्रायजसो शिक्षकहरु मलाई माया नै गर्दथे । म कुनै शिक्षकसँग नजिक र कुनै शिक्षकसँग टाढा पनि थिइँन । चाकडी र चापलुसीमा म त्यति चाख लिँदैनथेँ । सबै शिक्षकहरुसँग मेरो समदुरीको सम्बन्ध थियो । तर पनि हिसाब पढाउने एक जना सरसँंग भने मेरो अलि बढी भावनात्मक घनिष्टता भएछ । उदयपुरको कटारीतिर घर भएका उनी निकै अग्लो र खाइलाग्दो शरीर भएका आकर्षक व्यक्तित्वका धनी थिए । नाम चाहिँं राम कुमार खड्का । शिक्षकहरु माझ पनि उनी उत्तिकै आत्मीय र हितैषी थिए । विद्यार्र्थीहरु माझ पनि उत्तिकै लोकप्रिय थिए । 
हाम्रो स्कूलमा त्यतिबेला हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । स्कूल भवन नजिकै रहेको कम्पाउण्डभित्रको सानो चउरमा खेलकूद, वादविवाद, नाचगान, वक्तृत्वकला, कविता प्रतियोगिता आदि मध्ये केही न केही कार्यक्रम हरेक शुक्रबार १ बजेपछि हुने गर्दथ्यो । त्यसो भएन भने शारीरिक व्यायाम तथा स्काउटिङका केही गतिविधिहरु हुने गर्दथे । राम कुमार सर यी गतिविधिहरु संचालनको अगुवा थिए । मादल बजाउन होस् वा हार्माेनियम उनी अघि सरिहाल्थे । विद्यार्थीहरुलाई उत्प्रेरित गर्दथे । गीत गाउन त्यति राम्रो स्वर त थिएन तर पनि गाउनु परे नहिच्किचाइकन गाउने गर्थे । नाच्न पनि अलिअलि जान्दथे ।  २ वर्षको गणित शिक्षकका रुपमा काम गरेपछि आफ्नो पढाइ अघि बढाउन जागिर छोडेर कलेज पढ्न जाने भए । हाम्रो कक्षामा १०।१२ जना र माथिल्लो कक्षामा ८।१० जना विद्यार्र्थीहरु उनको साह्रै प्रसंशक थिए । उनले स्कूल छोड्ने बेलामा हामी सबै डाको छोडेर धुरुधुरु रुँदै डाँडाको माथिबाट उनी गएको बाटोतर्फ निकैबेर हेरिरह्यौँ ।

राम कुमार खड्का त्यति धेरै समय त हाम्रो स्कूलमा रहेनन् तर उनले संचालन गर्ने अतिरिक्त क्रियाकलापले भने पछिसम्म निरन्तरता पाइनै रह्यो । हरेक शुक्रबार हुने कुनै न कुनै कार्यक्रमले अतिरिक्त  क्रियाकलापप्रतिको आकर्षण बढाइ दियो । मलाई गायन र नृत्य त्यति राम्रो आउँदैन थियो । हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकला, कविता प्रतियोगिता, केही एथलेटिक्स सम्बन्धी खेलकूद, भलिबल मेरो रुचिका विषय थिए । हाजिरीजवाफ, वादविवाद र वक्तृत्वकलाको समूहमा भए समूहमा र एकलमा भए एकलमा प्रायजसो म प्रथम नै हुन्थेँ । प्रथम नभए दोस्रो हुन्थे । सबै कार्यक्रमहरुमा प्रायः भाग लिन्थेँ । 

राम कुमार सरले स्कूल छोडेपछि स्कूलको अतिरिक्त क्रियाकलापमा केही कमी आयो । तर पनि दुर्गा दिदी (भद्राघलेकी दिदी) कोे विषेश अभिरुचि नाचगान र प्रहसनमा भएकाले उनले ती कार्यक्रमहरुलाई निरन्तरता दिइन् । हेडसरले त्यसमा केही सहयोगी भूमिका निर्वाह गरे । पछि राम कुमार सरको सट्टामा आएका चौधरी थरका सर पनि हार्मोनियम बजाउन जान्दथे । उनी स्कूलमा रहेसम्म निकै पछिसम्म पनि स्कूलले सरस्वती पूजा, राजाको जन्मोत्सव आदिमा यस्ता सांस्कृतिक कार्यक्रम गरिनै रह्यो । म चाहिँ अनिवार्य पालो परेका बेला केही झ्याउरे गीत गाए पनि नाच्न भने पटक्कै अघि सर्न सकिनँ । नाचगानको कला मसँग नभएकोमा पछिल्ला दिनमा मलाई अलि खल्लो अनुभव भइनै रह्यो । अरु कुराहरुबाट मैले त्यसको क्ष्तिपूर्ति गर्नुपर्यो । 
कक्षा ४ देखि ६ सम्म मैले आफ्नो प्रथम स्थान सुरक्षित नै गरिरहँे । हेडसर (अश्वेश्र यादव) पढाउनमा त्यति दक्ष थिएनन् । कामचलाउ शिक्षक थिए । पूर्व व्यवसायिक शिक्षा भन्ने बिषय उनले पढाउँथे । हेडसर भएर त्यस्तो कमजोर विषय पढाउने भनेर हामी उनलाई अगाडि नसकेपनि पछाडि आलोचना गथ्र्याै । पछिपछि त्यो पनि छाडियो । स्कूलको हेडसरका रुपमा गर्ने आदर र सम्मन गरिनै रह्यौँ । हामी कक्षा ७ मा पढ्दा उक्त कक्षाको जिल्लास्तरीय बोर्ड परीक्षा हुने व्यवस्था थियो । जिल्लाभरका स्कूलहरुमा एउटै प्रश्नपत्रका साथ एकैपटक जाँच लिइन्थ्यो । पायकपर्ने खासखास ठाँउमा केन्द्र तोकिएको थियो । १० कक्षामा हुने टेस्ट परीक्षा जस्तै पहिले स्कूलको परीक्षा हुन्थ्यो र त्यसपछि जिल्ला स्तरीय परीक्षा हुन्थ्यो । 
हाम्रो स्कूलस्तरीय परीक्षा हुनुभन्दा केही समयअघि हेडसरले बालाई स्कूलमा बोलाएर भनेछन्– “तपाईको छोरा पढ्नमा निकै राम्रो छ । उसले अलिअलि मेहनत गर्यो भने जिल्लाभरि मै राम्रो गर्न सक्छ । म स्कूलबाट हुनसक्ने सहयोग गर्छु । तपाईंले घरमा अलि पढन प्रेरित गरिदिनु होस् । सकेसम्म बिहानबेलुका काम नलगाइदिनु होला ।” 
बाले घरमा फर्केर केही भन्नु भएन । भोलिपल्टदेखि बिहान स्कूल जानुअघि १ भारी घाँस काटेर ल्याउनु पर्ने ड्युटी बन्द भयो । म आश्चर्यमा परेँ । के भएछ भन्ने बुझिन । सुख पाएकोमा खुसी नै भएँ । बेलुका अँध्यारोमा लालटिन वा टुकी बालेर पढ्ने चलन थियो । राति अबेरसम्म लालटिन बालेर पढने काम गरँें । तर मलाई राति अबेरसम्म धेरैबेर पढेर मात्रै पढाइ राम्रो हुन्छ, अङ्क राम्रो ल्याइन्छ भन्ने लाग्दैनथ्यो । एक पटक पढेपछि प्रायः म अर्कोपटक किताव पढदैनथेँ । त्यसलाई बरु चिन्तन गर्ने र गहिरोसँंग त्यसो किन भएको होला भनेर बुझ्ने प्रयत्न गर्दथेँ । प्रश्नोत्तर लेख्न भने मलाई अति नै अल्छि लाग्थ्यो । प्रायः म शिक्षकले भनेको भन्दा बढी प्रश्नोत्तर गर्दैगर्दैनथे । समय पायो भने पाठ्यपुस्तक बाहेका किताबहरु खोजेर पढ्नतिर लाग्दथँें । फुर्सतको समय प्रायःजसो पाठ्यपुस्तक बाहेककै किताबमा बिताउँथें । 
जिल्लास्तरीय जाँचको लागि स्कूलले लिने टेस्ट परीक्षामा मलाई स्कूलको तर्फबाट दिन मिल्नेसम्मको अधिकतम अङ्क हालेर पठाइएछ । जाँच नजिकै आएपछि मलाई हेडसरले बोलाएर भने– “राम्ररी पढ्यौ भने जिल्ला फष्ट हुन सक्छौ । ध्यान दिएर मेहनत गर ।” 
तर मलाई अधिकतम अङ्क दिएर विवरण पठाएको भने बताइएन । बासँंग भएको कुरा पनि परीक्षा अघिसम्म बाले मलाई खोल्नुभएन । शायद सबै कुरा भन्यो भने यसले पढाइमा ध्यान नदेला भनेर होला परीक्षाको रिजल्ट आउनुअघि यो रहस्य गोप्य नै रह्यो । 
परीक्षा केन्द्र नजिकैको  बेलघारी मा. वि. मा परेको रहेछ । त्यतिबेला सात सय पूर्णङ्कको परीक्षा हुन्थ्यो । ंिहडेर जाँदा बेलघारी पुग्न करिव करिब ५।६ घण्टा लाग्थ्यो । पुष्कर खतिवडा भन्ने एकजना सरको साथ लागेर ७ कक्षाका हामी सबैजना बेलघारी केन्द्रमा जाँच दिनका लागि गयाँैं । आफूलाई आवश्यक पर्ने ओड्ने ओछ्याउने कपडा लिएरै जानु पथ्र्यो । खाने चामल, दाल, गुन्द्रुक, घिउ सबै कुराको सानोसानो भारी बोकेर पुष्कर सरको नेतृत्वमा परीक्षा दिन गइयो ।
हामीलाई स्कूलकै एउटा कोठामा बस्नकालागि व्यवस्था मिलाइएको थियो । आफैँले आफ्ना भातभान्सा तयार गरेर खानुपर्ने । परिक्षा अवधिभर परीक्षा केन्द्रमा बसियो । एकहप्तामा  परीक्षा सकियो । परीक्षा निकै राम्रो भयो । आफूले जानेको कुरा राम्ररी लेख्न सकेको र सबै प्रश्नहरु हलगर्न सकेकाले परीक्षाले राम्रै सन्तुष्टी दियो । रिजल्ट आउन भने करिव ३ महिना लाग्यो । अरु विषयहरुमा त राम्रै सँंग परीक्षा दिइयो अंगे्रजीमा भने हामीलाई निकै गाह्रो भयो । बेलघारी र भिमथानका विद्यार्र्थीहरुको अंग्रेजी हाम्रोभन्दा निकै राम्रो थियो । तर अरु बिषयमा भने हामी पनि कम थिएनाँै । नभन्दै त्यही अङ्ग्रेजीमा राम्रो नभएर होला म जिल्लास्तरीय परीक्षामा जिल्लाभरमा दोस्रो भएँछु । रातमाटा स्कूलका अधिकारी थरका विद्यार्र्थी प्रथम र भलुवाहीका बासु तिम्सिना तृतीय भएछन् । 
यो परीक्षाको विस्तृत मार्कसीट निकै समयपछि आयो । स्कूलमा रिजल्ट आएपछि स्कूलले एउटा सानो समारोह आयोजना गर्यो । सरहरुले फूलमाला र अविर लगाएर मलाई सबैका बीचमा हौसला प्रदान गर्नुभयो ।  त्यसदिन म एकप्रकारले पुरै अविरमय भएर घर आएँ । बाटोभरि साथीहरुले मलाई मौरीको रानोलाई घेरे झै घेरिरहे । हुनतः बाहिरी संसारका लागि त्यस सातकक्षाको जिल्ला सेकेण्ड भएको प्रमाणपत्रले मलाई त्यति ठूलो काम त क्यै गरेन । तर भित्रभित्रै भने सफलता कसरी प्राप्त हुन्छ भन्ने बुझ्न र भित्रभित्रै आत्मा गौरव र आत्मासम्मानको अनुभूति बढाई दियो । पछि पढाइमा राम्रो गर्न यस घटनाले अन्य घटनाले भन्दा निकै ठूलो प्रेरणाको काम गर्यो । 
ती हेडसरले मभित्रको प्रतिभा देखाएर नब्युँझाइदिएको भए त्यस परीक्षाको महत्व कसरी थाहा हुन्थ्यो ? कसरी मैले त्यो स्तरको सफलता प्राप्त गर्न सक्थेँ होला ? ती हेडसरले मेरो प्रतिभालाई बुझेर त्यसलाई उजागर गर्न सही मौकामा झक्झक्याइ दिए । मलाई उत्साह र हिम्मत भर्ने काम गरे । उनले त्यसो नगरेको भए शायद मेरो अध्ययन त्यस पछिका दिनमा जुन गतिका साथ अघि बढ्यो त्यही गतिका साथ अघि बढ्ने थिएन । धन्य छन् ती हेडसर जसले मलाई भित्रैदेखि बुझेर मेरो अन्तस्करणलाई जगाइदिने काम गरे । 
ती हेडसरलाइ पछिल्ला दिनमा अत्यन्तै अपमानजनक ढंगले पेन्सन हुन केही दिन मात्र बाँकी हुँदा स्कूलबाट निकाल्ने काम भएछ । त्यो सुनेर मलाई अति नै दुःख लाग्यो । साथीहरुलाई भनेँ– “अन्याय गरेर अरुलाई पीडा दिँदा त्यसले आफैँलाई हानि गर्छ । त्यसै कृतघ्न कामको परिणाम अहिले विद्यार्थीमा अनुशासनहीनता र उच्छृङ्खलता बढिरहेको छ । त्यसलाई मूल्यांकन गर्नुहोस् । हाम्रै व्यवहारबाट सिक्छन् पछि आउने पुस्ताले ।” पछिल्ला दिनमा विद्यालयको गुणस्तर पनि त्यतिबेलाको जस्तो रहेन । संवेदनहीनताले सबैमा हाबी हुँदै गयो ।
शिक्षक विद्यार्थीका त्यति गहिरो सम्बन्ध पछिल्ला दिनमा मैले कहिल्यै देखिन । पैसाका लागि भन्दा पनि विद्यार्थीहरुको भविष्य कसरी राम्रो बनाउने भनेर चिन्ता र चासो राख्ने त्यतिबेलाका शिक्षकहरु सम्झँदा अहिले पनि मलाई आफ्नो शिर निहुर्याउन मन लाग्छ । श्रद्धा, आस्था र त्यागको त्रिवेणी जस्तै थिए त्यतिबेलाका स्कूलहरु । त्यो प्रेमपूर्ण व्यवहार र प्रेरणा पछिल्ला दिनमा स्कूलहरुमा देखिन छाड्यो ।

 शिक्षकहरुलाई राजनीतिले खाइदियो । विद्यार्थीहरुलाई अनुशासनहीनता र उन्मादले अँठ्यायो । दुवै पक्षले आफ्नो भूमिका र धरातल दुवै बिर्से । सञ्चालकहरु अनावश्यक राजनीतिक खिचातानीका शिकार भए । यही छिद्रबाट शिक्षा क्षेत्रमा व्यापारीहरु पसे । व्यापारीहरुले शिक्षालाई ख्वाप्ल्याक्कै निलिदिए । राज्य र यसका सञ्चालकहरु पनि यी शैक्षिक व्यापारीहरुबाट उम्कन सकेनन् । परिणामस्वरुप सरकारी विद्यालयहरु थला परे । निजी विद्यालयहरु फस्टाउँदै गए । शिक्षकहरु आधा राजनीतिकर्मी र आधा मात्र शिक्षक रहे । सञ्चालक र विद्यार्थीको चाकरी गरेर जागिर जोगाउनु पर्ने भएकाले विद्यार्थीहरु पनि शिक्षकलाई शिक्षक देख्न छाडे । यसको बिडम्बना देशको शिक्षा क्षेत्रले भोगिरहेकै छ । नेपाली समाजले यस दलदलबाट पार पाउन अब धेरै समय कुर्नुपर्छ । -dhirbhandari@yahoo.com

Thursday, July 4, 2013

असीम आनन्द


“आज सबै गाइवस्तु लिएर खेत जानुपर्छ । सबै जना छिटोछिटो गरी भात खाएर तयार होऊ । कसैले पाडाबाछा, कसैले गोठका पाटा, कसैले किला, दाम्ला बोक्नु पर्छ । अलि छिटो गर ।” हजुरबाले उर्दी लाउनु भो । हतारहतार भात खाएर हजुरबाको आदेश पर्खेर हामी केटाकेटीहरु जति खाटमा बसिरह्यौँ । आमा हतारहतार खाना खाएर चुलाको धन्दा सकेर बाहिर निस्कनु भो । बा पनि गोठतिर तयारीमा लाग्नु भो ।
भर्खर धान काटेर खेत खालि भएको थियो । दौँतरी साथी भेटियो कि खुल्ला खेतबारीमा डण्डीबियो र कपर्दी खेल्न खुबै मजा आउँथ्यो । खेतका गरामा खुल्ला आकास मुनि छरपष्ट पारेर गाइवस्तु बाँध्यो अनि बीचमा पारेर एउटा सानो छाप्रोजस्तो लाग्ने गोठ । आधुनिक रुपमा घुमन्तेहरुले प्रयोग गर्ने टेन्ट जस्तै लाग्थ्यो त्यो गोड । शायद त्यस्रबाट सिकेका होलान् ती टेन्टवालाहरुले पनि । त्यसमा सुत्दा अर्कै आनन्द आउँथ्यो । स–साना बाच्छाबाच्छीहरु र बाख्रापाठाहरु राति त्यस गोठमा आश्रय लिन पाउँथे । दिउँसोभरि बाहिरै हुन्थे । पराल ओछ्याएर घुमन्ते पर्यटक झैँ एकजना रुँगालो त्यही गोठको भुइँमा राति गोठ सुत्थे । मलाई घरमाभन्दा त्यस्ता गोठमा सुत्न रमाइलो लाग्थ्यो ।
गोठ पनि बिचित्रले बनाइन्थ्यो । विशुद्ध घुमन्तेकै जस्तो हुन्थ्यो त्यो गोठ । बाँसका लामालामा भाटाहरुलाई टाडो र तेर्सो गरी बाँध्यो र एउटा नरकङ्काल जस्तो आकार दियो । त्यसलाई पानी पर्दा पानी भित्र नछिरोस् भनेर भोर्लाका ठूलाठूला पात एक आपसमा उनेर बडो मेहनतसाथ छाइन्थ्यो । ठीक बीचमा तेर्सो पारेर बोक्न मिल्ने गरी सन्तुलन मिलाएर एउटा बाँस बाँधिएको हुन्थ्यो । बीचको त्यही बाँस काँधमा अड्याएर आकार र तौल हेरेर एक वा दुइजना मिलेर कोसौ टाढा बोकेर लैजाने गरिन्थ्यो । अहिलेका जस्ता प्लाष्टिकका सजिला पालहरु आइसकेका थिएनन् । त्यो दुर्गम गाउँमा पुस्तौँदेखि ती भोर्लाका पाटा बनाइन्थे । गोठ बनाइन्थ्यो । खेतबारीमा गाइवस्तु त्यसरी नै बाँध्ने र मलिलो बनाउने चलन थियो । यसले स्थानीय बासिन्दालाई भोर्लो जोगाइराख्ने, जंगल जोगाइराख्ने अनि बाँसको पनि संरक्षण गरिराख्न झक्झक्याइरहन्थ्यो । प्रकृतिका सबै पक्ष बचाउन र सन्तुलन मिलाउन यस्ता प्रविधिले गाउलेहरुलाई सम्झाइरहन्थे ।
“ल अब छिटो गर । म गाइवस्तु बोलाउँदै अघि लाग्छु । तिमीहरु गाइवस्तु खेद्दै पछिपछि आओ ।” हजुरबा हतार गर्दै निस्कनु भो । हामी पनि सँगैसँगै पछि लाग्यौँ ।
“काहाँ लाने हजुरबा यिनलाई ?” मैले अबोध प्रश्न गरेँ ।
“च्याङ्ग्रे ।” हजुरबाले उत्तर दिनु भो ।
“किन हजुरबा च्याङ्ग्रे लाने ? अब त्यो सानो बाच्छी पनि च्याङ्ग्रे नै बस्छ त ? त्यल्लाई जाडो हँदैन ?” मैले हजुरबालाई फेरि प्रश्न थपेँ ।
“अब सँगै हिँड्न देखिहाल्छस् नि ।” हजुरबाले उत्तर दिनु भो ।
हाम्रो घर अलि माथि डाँडामा थियो । तल खोला किनारमा खेत । पूर्वतिर भालुखोला अनि पश्चिमतिर च्याङ्ग्रे खोला । च्याङ्ग्रे खोलाको किनारमा ठूला, लामा गरा भएको खेत थियो । नाम पनि चाङ्ग्रे खेत । खोलाकै नाममा थियो खेतको नाम पनि । अति रमाइलो थियो त्यो खेत । कलिलो हरियो धानमा हावाले तरेली पाथ्र्यो । हामी डाँडामा बसेर खुब मज्जासँग हेथ्र्यौँ । हावाको वहावसँगै तरेली पनि सर्दै हिँडेजस्तो देखिन्थ्यो । निकै परदेखि क्रमशः सर्दै आउने तरेली रमाइलो हुन्थ्यो । धान हावामा नाचेको जस्तो लाग्थ्यो हामीलाई । त्यो लहर हाम्रा लागि कम्ती खुसीको बिषय हँुदैनथ्यो । त्यो देखेर हामी कल्पनाको कुन लोकमा पुग्थ्याँै कुन्नि भित्रभित्रै आनन्दले गदगद हुन्थ्यौँ । त्यो आनन्द शब्दमा अहिले म भन्न पनि सक्दिन । के हुन्थ्यो त्यो बेला मलाई थाहा छैन । तर भित्र चाहिँ बर्णनै गर्न नसकिने खालको आनन्द आउँथ्यो ।
अहिलेका बच्चाहरुले त्यो तरेलीको प्राकृतिक मनोरम दृश्य कहाँ देख्न पाउनु ? त्यो खुसी र आनन्दको अनुभव कहाँ गर्न पाउलान् ? प्रकृतिक सुन्दरताको त्यो मादकताले न हामीलाई भोकलाग्न दिन्थ्यो न तीर्खा । ध्यानमग्न योगी जस्तै हामी ती दृश्यलाई हेरिरहन्थ्यौँैँ । घाम लागेको बेला चल्ने हावाले त झन् अर्कै चमक ल्याउँथ्यो । रुखको शियालमा बसेर माथि डाँडाबाट हामी त्यो दृश्य नियालिरहन्थ्यौँ । मनै लठ्याउने कति रमाइला थिए ती दृश्यहरु !
मानिसको स्मृतिले यस्ता क्षणहरु भुल्दो रहेनछ । अहिले पनि ती दिनको उन्मुक्त खुसी र आनन्द पछिल्ला दिनमा पैसाले किनेर लिएका खुसी र आनन्दभन्दा बढी नै मूल्यवान् लाग्छन् मलाई । सम्पत्तीमा साटिने खुसी र आनन्द प्रकृतिले सित्तैमा दिने खुसी र आनन्दको तुलनामा किन हो किन निकै फिक्का नै हुँदो रहेछ । वस्तुमा साटेको सुखले मानिसलाई त्यो असीम प्राकृतिक प्रवाहबाट मिल्ने सुखको सानो अंश पनि दिनसक्दो रहेनछ ।
च्याङ्ग्रे खेतले हामीलाई बेलाबेलामा सितैँमा त्यही खुसी र आनन्द दिन्थ्यो । त्यस दिन म त्यही खेतमा गाइवस्तु लिएर मलिलो बनाउन जाँदै थिएँ । मनमा हर्ष, उमंग, उल्लास र उन्मुक्ति लिएर म ती अबोध पशुहरुसँगको यात्रामा थिएँ । मेरो त्यो यात्रा कहाँ वर्णन गर्न सकिन्छ र ? त्यसलाई अनुभूत गर्न भोग्नै पर्छ । अनुभूतिमा ल्याउनै पर्छ । सकिँदैन शब्दमा उतार्न । नजिकै स्वाँऽऽऽऽऽऽ गरेर सुसाउने च्याङ्ग्रे खोला अनि माथितिर भिरालो खरबारी भएको डाँडाको फेदीमा घरभन्दा अन्दाजी ३ किलोमिटर जतिको दूरीमा थियो त्यो खेत ।
हिउँदमा धान काटेपछि खेतमै गाइवस्तु बाँधेर खेत मलिलो बनाउने चलन थियो । आज त्यही काम वर्षदिन पछि फेरि दोहोरिएको छ । तर मलाई भने त्यो जीवनकै पहिलो अनुभव थियो । म लुरुलुरु गाइवस्तुको जेरमा उनीहरुकै साथी बनेर यात्रा गर्दै थिएँ । म त्यहाँ थिइनँ । हराइसकेको थियो म भित्रको म । खुसी मात्र थियो । म त्यस दिन तिनै गाइवस्तुसँगको खुसीमा विलाएको थिएँ । कुन्नि के भयो मलाई त्यो दिन ।
हजुरबा सानो एउटा बाच्छो डोर्याउँदै गाइ डाक्तै सबैभन्दा अगाडि लाग्नुभयो । त्यसको पछाडि लस्करै अनुशासित भएर भखैरभर्खर लहिनो भएको पातली गाई पछि लाग्यो । उसलाई पछ्याउँदै बाच्छाबाच्छी र अरु माउ गाईहरु पछि लागे । बाच्छाबच्छीहरु लरखराउँदै बाटामुनि बाटामाथि धरमराउँदै ठेल्लिँदै थिए । भैँसीहरु अलि अलमलिए । चारैतिर छरिए । शायद भैँसीहरु जेरमा डिँड्न र चर्न बानी परेका थिएनन् क्यार । लस्करै गाइभँैसी अनि बीचबीचमा हामी केटाकेटीहरु, यताउता सहयोग गर्ने । आमाबाहरु चाहिँ गाइवस्तु बाँध्ने किला, दाम्लाहरु डोकामा भारी हालेर पछिपछि लाग्नु भो । मेरो शरीरमा लामो घुँडाभन्दा मुनिसम्म झुण्डिएको दौरा अनि शिरमा खद्दरे टोपी । खालि खुट्टै, ढुङ्ग्यान बाटामा गाइवस्तुसँग हिँड्दा अलिअलि दुखेजस्तो त लाग्दै थियो । तर त्यो पीडा भन्दा पनि रमाइलो बढी थियो । अबोध र खुसीमा रमाइरहेका पशुसँगको त्यो यात्रामा दुखाइभन्दा उमङ्ग र रोमाञ्च नै ज्यादा थियो ।
त्यसदिन मैले साँच्चै नै त्यसअघि कहिल्यै अनुभव नगरेको खुसीको अनुभव गरेँ । पछाडि छोडिएका बाच्छाबाच्छीहरु डयाँडयाँ र डुँडुँ गरिरहेका छन् । पाठाहरु म्याआऽऽऽ गर्दै माउ खोज्दै माउको दूध खान बाटाबाटामा रोक्दै कुदिरहेका छन् । अरुअरु आफ्नो क्षमता अनुसार के के न पाइने भो भनेझैँ उछिनपाछिन गरेर कुदिरहेका छन् । भीडमा तँछाड्मछाड् गरेर कुदिरहेका ती पशुहरुको अबोधपनको आनन्दमा म त्यसैत्यसै हराएँ । एउटा विचित्रको दृश्य थियो त्यो ।
हजुरबा अगाडिलागेर ओऽऽऽऽऽऽजी भन्दै गाइवस्तु डाक्ने आफ्नै खाले लयबद्ध भाषामा गाइभैँसीलाई बोलाउँदै हुनुहुन्थ्यो । भिरालो पाखामा छरपष्ट भएर गाई, बाख्रा, भैँसीहरु एक से एक प्रतिस्पर्धा गर्दै कोही कराउँदै, कोही उफ्रँदै तलतिर भलर्दै अगाडि बढिरहेका छन । कोही पुच्छर ठाडो पारेर बुर्कसी मार्दैछन् । विचित्रको तमासा जस्तो लाग्यो मलाई त्यो दिनको दृश्य । पहिलो पटक मैले पशुहरुसँग मानिसको त्यो रमाइलो यात्रामा सहभागी हुने मौका पाएँको थिएँ । उन्मुक्ति, स्वतन्त्रता र स्वच्छन्दतामा दौडिरहेका पशुहरुको त्यो दृश्यसम्झँदा अहिले पनि मनलाई रोमाञ्चित बनाइरहन्छ । कस्तो निर्दोष र अबोध आनन्दको क्षण अनुभव गरेको होला मैले त्यसदिन ?
(आफ्नै नयाँ उपन्यान सिर्कनो देखि समाधिसम्म बाट)

Tuesday, June 18, 2013

युवावस्था र जरुरी, मनोरञ्जन र महत्वपूर्णको जटिलता


युवावस्थाका जीवन परिवर्तनकारी तीन पक्ष छन् — पढाइ, परिवार र पेशा । यी तीन पक्षको ठीकसँग छनौट र व्यवस्थापन गर्न सकिएन भने मानिसको जीवन न त समृद्ध हुन सक्दछ न त उन्नत, आनन्दित र सुखी नै हुन सक्दछ ।

अध्ययन, सिकाइ र समृद्धि  

अध्ययनको बिषय (औपचारिक, अनौपचारिक) आफ्नो पेशागत भविष्यसँग सम्बन्धित हुन्छ भने परिवार र पेशा जीवनको खुशी र आनन्दसँग सम्बन्धित हुन्छन् । एक प्रकारले भन्ने हो भने अध्ययनलाई हामी जसरी बढाउँछौँ, बिषय जे जसरी र जस्तो छनौट गरी अध्ययन गर्दछौँ हाम्रो भविष्य निर्माण त्यसले नै निर्धारण गर्दछ । जीवनलाई प्रेरणा दिने, सही र उन्नत सोच, चिन्तन र भावना तयार गर्न सहयोग गर्ने गरी आफ्नो अध्ययनलाई औपचारिक, अनौपचारिक माध्यमबाट अगाडि बढाउन सक्यौँ भने हामी आफ्नो विचार, भावना र चेतनालाई विस्तारै माथि उठाउन र सफलतातिर बढ्न सक्दछौँ । पढ्न चाहेको बिषय एउटा, आफूभित्रको प्रतिभा अर्कै अनि अध्ययन क्षेत्र चाहिँ त्यसभन्दा भिन्न भयो भने जीवनमा सफलता हासिल हुनसक्ने कुरै हुँदैन ।

अब प्रश्न आउँछ के जीवनको सफलताका लागि विद्यालय वा विश्वविद्यालय शिक्षा अनिवार्य नै हो त ? वा बिषय बिशेषको उच्च पढाइले मात्र मानिसले सफलता हासिल गर्न सक्छ त ? आफ्नो प्रबल इच्छा वा पेशागत दक्षताका क्षेत्रतिर लाग्यो भने के होला ? यो सम्बद्ध देश र समाजको अवसर र व्यक्ति आफूभित्रको प्रतिभा र त्यो प्रतिभालाई उत्खनन गर्ने आफूले बनाएको जीवनदृष्टिसँग सम्बन्धित बिषय हो ।

आफूलाई चाख भएको र अवसर भएको क्षेत्र छानेर त्यसमा तल्लीन हुन सकियो र जीवनको रहस्यलाई बुझ्ने शिक्षा प्राप्त गर्न सकियो भने औपचारिक विद्यालय वा विश्वविद्यालय शिक्षा मात्रै जीवन सफलताको कारक भने होइन । तर मुख्य कुरा पढ्नै नपर्ने रहेछ भनेर कुनै अल्छ्यिाईंबस आएको लहडमा पढाइलाई छोड्ने र कुनै गहन इच्छाको काममा जीवन समर्पण गरेर लाग्न पनि नसक्ने मानिस भने घरको न घाटको हुनसक्छ । हेर्नुपर्ने मुख्य कुरा चाहिँ आफूभित्रको गहन चाहना र आफूले पढेको बिषय वा अध्ययनको बिषयका बीचमा उचित तालमेल बनिरहेको, आफू रमाइरहेको र निरन्तर भित्रैबाट उर्जा प्राप्तभइरहेको छ कि छैन भन्ने नै हो । यदि त्यसो हुन सकेको छ भने एक न एक दिन आफ्नो लक्ष्यमा पुग्नसक्ने सफलता हासिल हुनसक्ने संभावना हुन्छ अन्यथा अल्छिबस त्यसलाई छोडिएको रहेछ भन्ने बुझ्नु पर्दछ ।

संसारमा यस्ता पनि मानिसहरु छन् जसले स्कूलै नदेखे पनि संसारका लागि धेरै महत्वपूर्ण काम गर्न सके र आफ्नो जीवन सफल बनाए । थोमस एल्बा एडिसनलाई मन्दबुद्धिको विद्यार्थी भनेर शिक्षकले विद्यालयबाट निकालिदिए । उनको शिक्षादीक्षा आमाले घरमै पूरा गराइन् । उनी सिर्फ तीन महिना स्कूल गएका थिए तर संसारमा सबभन्दा बढी आविष्कार गर्ने व्यक्ति उनै भए । यस्तै कहानी छ हेनरी फोर्डको पनि । हेनरी फोर्ड पनि औपचारिक शिक्षा धेरै आर्जन गरेका मानिस होइनन् तर उनको सफलता आज पनि संसारका मानिसका लागि प्रेरणाको स्रोत बनिरहेको देखिन्छ ।

विवाहः व्यक्तिबाट संस्थागत जीवनतर्फको पाइलो  

विवाहको कुरा त्यतिकै महत्वपूर्ण छ जीवनको सफलताका लागि । आफ्नो चाहना, भावना, जीवनशैलीसँग मिल्ने जीवन साथी पाउनु वा मिल्नु हरेक सफलतम व्यक्तिको जीवनमा देखिने सफलताको प्रमुख कारक तत्व रहेको देखिन्छ । विवाहपछिको जीवन व्यक्तिको जीवन नभएर त्यसले एक संस्थाको रुप लिने भएकाले विवाह पछि दुवैजनामा एकअर्काप्रति विकसित हुने प्रेम, समर्पण, एकअर्काप्रतिको विश्वास, आपसी सरसहयोग आदि जस्ता कुराहरुले नै जीवनमा एकअर्काले प्राप्त गर्ने सफलता निश्चित हुन्छ ।

विवाहपछिको पारिवारिक जीवनमा असफल, असन्तुष्ट र असहयोग पाएको मानिसले जीवनमा सफलता पाउने संभावना निकै नै कम हुन्छ । त्यसैले विवाह गर्नु भनेको जीवनलाई एक मोडबाट अर्को मोडतर्फको यात्रामा लैजानु हो, जीवनलाई संस्थागत गर्नु हो । संसारको समग्रताको एक सानो प्रतिरुप हो परिवार । प्रिन्सेस डायना भन्छिन्— संसारको सबभन्दा महत्वपूर्ण कुरा हो परिवार । संसारका मानिसहरुमा हुने विचार, भावना, समस्या, प्रतिरोध, अवसर सबै साना वा ठूला रुपमा हरेकको परिवारिक जीवनमा आउने गर्दछन् । परिवार मानिसको जीवनमा आवश्यक पनि छ तर त्यसको पूर्णचित्र बिना नै गरिने विवाहले भने हाम्रो जीवनको खुशी र आनन्दलाई नै टाढा धकेलिदिन सक्दछ । किन यसो हुन्छ ? भन्ने विषयमा सोपेनहावरको भनाइ छ — विवाहले मानिसको आफ्नो अधिकारका साथसाथै जिम्मेवारीलाई पनि दुईगुणा बढाइदिन्छ । यो कुरा नबुझीकन बिना तयारी गरिने विवाहले जीवन बोझिलो हुन्छ, आनन्द, प्रेम र सन्तुष्टी दिँदैन ।

नेपाली समाजमा अधिकांश युवाहरुको विवाह अभिभावकको चाहना र प्राथमिकता अनुरुप हुने गरेको छ । विवाह के हो ? यो के का लागि गरिन्छ ? कस्तो जीवनसाथी मलाई आवश्यक छ ? जीवनसाथी र परिवार के हो ? विवाह पछिको मेरो क्यारिअरमा यसले के फरक पार्दछ ? विवाहपछिका मेरा दायित्व र कर्तव्यहरु कस्ताकस्ता हुन्छन् ? यसले जीवनको सफलता र आनन्दमा के र कसरी असर पार्दछ भन्ने जस्ता प्रश्नहरुको मनन नै नगरी लहडको भरमा,  अरुको सल्लाह र प्राथमिकतामा वा यौनको भावनात्मक आवेगको अवस्थामा छनौट गरिएको साथी र गरिएको विवाहले धेरै युवाहरुको वैवाहिक जीवन धरापमा परेको, जीवन अलमलिएको र तनावका कारण पारिवारिक हिंसा बढाउने गरेको पाइन्छ ।

प्रेम विवाह होस् वा आयोजित विवाह जुनसुकै विवाह गरे पनि यी माथि चर्चा गरिएका प्रश्नहरुमा मन्थन गरेर र छनौटका उचित विकल्पहरु मन्थन गरेर यदि विवाह गरिएको छ भने त्यसले वैवाहिक जीवनपछिको जीवनलाई सकारात्मक उर्जा दिन सक्दछ । यी कुराहरु विचार नै नगरी गरिएको विवाहले जीवनमा चाहेको र पाएकोमा फरक ल्याउन सक्दछ र वैवाहिक जीवन एक प्रकारले बोझ बन्दै जानथाल्छ । समान किसिमको मानसिक, भावनात्मक र चिन्तन भएका जोडीहरुको विवाह पछिको जीवनले बढी उर्जा प्राप्त गर्न सक्ने गरेको पाइन्छ भने त्यो नमिल्ने गरी जोडिएको विवाह धरापमा पर्ने वा निकै अप्ठ्यारो सँग चल्ने गरेको देखिन्छ ।

विश्वका अधिकांश सफल पुरुषहरुको जीवनलाई हेर्ने हो भने त्यसको पछाडि प्रेमपूर्ण महिलाको हात रहेको देखिन्छ । महिला छ भने पुरुषको सकारात्मक सहयोग र भावनात्मक एकताका कारणले उसले त्यो सफलता हासिल गरेको पाइन्छ । त्यो उत्प्रेरणादायक व्यक्ति यदि जीवन साथी हुन सकेको छ भने त झनै प्रगति र उन्नतिको उर्जा शक्तिशाली हुने गरेको पाइन्छ । त्यसैले एउटा भनाइ पनि छ कि सफलताको शुरुआत आफ्नै परिवारबाट हुन्छ । जो व्यक्ति आफ्नो परिवारमा सफल हुन सकेको छैन त्यो व्यक्ति समाज, देश र संसारमा सफल हुने कमै संभावना हुन्छ । अपवाद वाहेक ती व्यक्तिहरु सफल हुने गरेको पाइन्न जो परिवारमै असफल छन् । त्यसैले पप जोन पल द्वितीय भन्छन् — जसरी परिवार चल्दछ, त्यसरी नै नै देश चल्दछ, जसरी देश चल्दछ त्यसरी नै हामी बाँचेको संसार चल्दछ ।

त्यसैले विवाह एउटा सामाजिक कार्य मात्र होइन यो आफ्नो व्यक्तित्व निर्माणको, जीवन विकासको, सफलताको र छनौटको स्वतन्त्रताको मानवीय शक्तिलाई चिन्ने र सही उपयोग गर्ने एउटा महत्वपूर्ण अवसर पनि हो । त्यसमा उचित विकल्पको छनौट गर्ने आफ्नो शक्ति चिन्न ढिलो गर्यौँ वा अरु कसैको प्रभाव र सल्लाहमा परी आफूभित्रको छनौटको स्वतन्त्रतालाई अनदेखा गर्यौँ भने त्यसले हाम्रो जीवनलाई नराम्ररी असफलता, तनाव र छटपटीमा पुर्याइदिन्छ ।

कृषिमा आधारित अर्थतन्त्र भएकाले काम गर्ने मानिस घरमै भएमा किफायती हुने हुनाले छोराहरु बाहिर गएर काम गरे पनि बुहारीहरु त घरमा हुन्छन्, काम सघाउँछन् भन्ने ग्रामीण अवधारणाले हाम्रो समाजलाई छाडेको छैन । १६।१७ वर्ष काटेपछि विवाहको कुराकानी चल्ने र विश्वविद्यालय वा उच्च माध्यमिक तहको पढाइ पनि त्यति नै बेला आइपर्ने कारणले अधिकांश युवाहरु अध्ययनलाई प्राथमिकता दिने कि विवाहलाई भन्ने विषयमा अति नै अलमलमा निर्णय लिने गरेको पाइन्छ ।

यौनको बढ्दो चाहना, विपरित लिङ्गप्रतिको तीव्र आकर्षणको आवेगको यो समय होश भन्दा पनि जोश र आवेग बढी हुने समय हो । यसबेला हाइस्कूल शिक्षा उत्तीर्ण गरिसकेको र कलेजको शिक्षा आरम्भ गर्नुपर्ने अवस्थामा रहेका युवाहरु अत्यन्त नाजुक मानसिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यदि स्कूल शिक्षामा नै अनुत्तीर्ण भई केही समय रोकिनु पर्ने भयो भने र ग्रामीण परिवारमा जन्मेको छ भने त यो बेला युवाहरुका लागि झनै संकटपूर्ण हुन्छ । त्यसबेला अव अभिभावकले पनि धैर्यता र साहसका साथ असफलतालाई सामना गर्ने हौसला र प्रेरणा दिनुपर्ने हुन्छ । तर युवा मनोविज्ञानको जानकारीका अभावमा असफलता प्रति उल्टै निराशाजनक कुराकानी गर्ने र हीनता बढाउने काम गर्नाले उनीहरुको मनोवैज्ञानिक साहस र उत्साहमा कमी आई अभिभावक, नातेदारहरुको सल्लाहमा आफूलाई ढाल्दै जानु पो पर्छ क्यार भन्ने भाव विकास भई निर्णयको आफ्नोपन विस्तारै कमजोर हुनथाल्छ । परिणामतः छनौटको स्वतन्त्रताको अनुभव र अनुभूतिबाट आफू परतन्त्र हँुदै गएको, आफ्नो स्वतन्त्रता कुण्ठित भएको अनुभव ती युवाहरुले गर्नथाल्दछन् ।

महिलाहरुको हकमा त यो अझ बढी लागू हुन्छ । विद्यालय शिक्षामा असफल भएका केटीहरुका लागि त अभिभावकका लागि सबैभन्दा सरल उपाय हुन्छ छिटो विवाह गरिदिनु । हौसला र आगामी दिनमा त्यसबाट सिक्नुपर्ने शिक्षाका बिषयमा सम्झाएर उनीहरुलाई मानोवैज्ञानिक रुपमा सबल बनाउने र भावी दिनका लागि त्यसबाट सिक्ने प्रेरणा दिने भन्दा पनि तत्काल उपलब्धि हासिल गर्न नसकेको कुरालाई भावी अयोग्यताको रुपमा लिई उनीहरुको छनौटको स्वतत्रताको शक्ति नै अन्त्य हुने अवस्था बन्न थाल्दछ । त्यसबेला उनीहरु सँग या त सानो भए पनि काममा लाग्नु अनिवार्य हुन्छ भने या त विवाहको स्वीकृतिमा टाउको हल्लाउनुपर्ने अवस्था हुन्छ ।

छनौटको स्वतन्त्रता र युवावस्था

जीवन विकासका यी अत्यन्तै महत्वपूर्ण तीनै पक्ष विद्यालय शिक्षा पछि लगभग एकैसाथ आइपर्दछन् । आफ्नो दीर्घकालीन लक्ष्य र उद्देश्यसँग यसलाई गाँसेर हेर्न र त्यस अनुसार व्यवस्थापन गर्न सकिएन र छनौटको स्वतन्त्रतालाई प्रयोग गरी उचित निर्णय लिन सकिएन भने आफूले चाहेको र पाइरहेको कुराको बीचमा बेमेल सिर्जना हुन्छ र जीवन नै एक किसिमले धरासायी हुन सक्दछ ।

यही बेला हो युवाहरुको जीवन लक्ष्य पहिचानको बिशेष क्षमता विकास गर्ने, परिवर्तन गर्ने र व्यवस्थापनका नयाँ तरिकाहरु पहिल्याउने बेला । यो समय नै जीवनको जगहाल्ने नाजुक समय हो । यसबेलाका निर्णयले नै छनौटको वास्तविक शक्तिको प्रयोग ठीकसँग गरियो कि गरिएन भनेर आफूलाई बुझ्न सकिन्छ । यसबेला आफ्नो अन्तिम लक्ष्यसँग तत्कालको समस्या र नाजुक अवस्थाबाट पारपाउने क्षमता र दृष्टि विकास गर्न सकिएन, दुख, पीडा र असफलताको अवस्थालाई शिक्षामा रुपान्तरण गर्न सकिएन भने न त आफूले चाहेको अन्तिम लक्ष्यतिर बढ्न सकिन्छ, न त मध्यकालीन लक्ष्यमा सफलता हासिल नै गर्न सकिन्छ ।

जीवनको अर्काे महत्वपूर्ण पक्ष हो – पेशा वा कामको छनौट । कुन काम वा पेशा मेरो लागि उपयुक्त हो, कुन पेशामा मेरो भविष्य विकसित हुनसक्दछ भन्ने दीर्घकालीन सोचको आधारमा उचित निर्णयका साथ पेशामा संलग्न हुने भन्दा पनि हाम्रो समाजमा सानो भएपनि र कुनै भविष्य नभएको स–सानो काममा अल्झिइहाल्ने परिपाटी अलि बढी नै छ । कलेजको पढाइ पूरा गर्नासाथ आधारभूत आवश्यकता पूरा गर्नका लागि ससानो र जस्तो पाए पनि काममा अल्झिहाल्ने गर्ने गरेको पाइन्छ । यसले गर्दा लामो जीवन भविष्य धरापमा पर्ने र तत्कालको सानो काम चलाउ पेशामा जीवन अल्झेर बोक्नु न टोक्नुको अवस्था आउने खतरा आउनसक्दछ । छोडिहाल्दा अर्को नपाउने होकि भन्ने डर, नछोड्दा न जीवन राम्ररी गुजारा गर्न पुग्ने कमाइ हुन्छ न भविष्य उन्नत हुन्छ, न सन्तुष्टी नै हुन्छ ।

यी तीनवटै बिषयमा मैले गरेका जीवनबोध र विश्लेषण म आफ्नै जीवनका अनुभवका आधारमा प्रस्तुत गर्न उपयुक्त ठान्दछु । म एक ग्रामीण किसान परिवारमा जन्मेँ । हाइस्कूल पास गरेका युवाहरु त्यतिबेला गाउँमा फाट्टफुट्ट मात्र थिए । शिक्षकको जागिर जहाँसुकै पाइन्थ्यो । जागिर थोरै भए पनि पाउन सजिलो थियो । पढेलेखेका केटाहरुलाई विवाहको त्यस्तैबेलामा बढी नै आउँथ्यो ।

मलाई पनि हाइस्कूल उत्तीर्ण गर्नासाथ विवाह गर्नका लागि विभिन्न ठाउँबाट प्रस्ताव र जागिरका लागि निम्ता दुवै आउन थाले । मभन्दा अग्रज केही साथीहरु भने समउमेरका केटी साथीहरुसँग विवाह गरेर, स्थानीय स्कूलहरुमा शिक्षकको जागिरमा संलग्न भइसकेका थिए । कतिपयका छोराछोरीहरु पनि भइसकेका थिए । ग्रामीण परिवेशमा एउटा जागिर र परिवारमा केही आम्दानी भित्रिने अवस्था भएपछि घरायसी व्यवहारमा पनि केही सुधार आउनु स्वाभाविक थियो ।

केही साथीहरु भने घरमा अभिभावकहरुलाई सघाउन विवाह गरी श्रीमतीहरु घरमा छाडिदिने र आफू भने पढ्नतिर लाग्ने गरेका पनि थिए । मलाई पनि ती दुवैखाले अवसरहरु थिए । मेरो घरमा पनि घरायसी र खेतीपातीको काममा संलग्न हुनसक्ने बुवाआमा र हजुरबा मात्र हुनुहुन्थ्यो । हजुरबा अलि पाको भइसक्नुभएको थियो । त्यसैले सबै कामको भार बुबाआमामा मात्रै थियो । खेतीपाती अलि बढी नै भएकाले र गाइभैँसी पनि निकैवटा पालेकाले कामकाजको चटारो निकै थियो । एक किसिमले उहाँहरुको प्रस्ताव त्यतिबेलाको परिवेश र घरको अवस्था अनुसार अनुपयुक्त थिएन । तर मलाई भने त्यसरी सरल विकल्पमा लागियो र तत्कालको फाइदा हेरियो भने त्यसले दीर्घकालीन रुपमा आफूलाई पछि पार्नसक्छ भन्ने लाग्यो । कमसेकम स्नातक उत्तीर्ण नगरीकन कुनै अस्थायी जागिर नखाने र विवाह पनि नगर्ने निर्णयमा पुगेँ ।
जसले स–सानो भने पनि जागिर खाने, विवाह गरी जीवनसाथीसँग आनन्दसाथ बिताउने निर्णमा पुगे ती साथीहरुका शुरुका दिनहरु त सासानो कमाइ भएपनि नियमित कमाइ भएकाले, आम्दानीको स्रोत बनेकाले रमाइलो नै भयो । उच्च अध्ययनको विकल्प विस्तारै ओझेल पर्न लाग्यो । बच्चाहरु जन्मिए । दायित्व थपिँदै गयो । औपचारिक शिक्षाको अध्ययन छुट्यो । स्वाध्याय पनि व्यवहारिक चापले बढाउन सकेनन् । जागिरमा पनि सजिलो विकल्प छानेर प्रवेश गरेको र त्यसमा बढ्ने सम्भावनाहरु नभएकाले बढेन । बिस्तारै आर्थिक अवस्थामा पनि शुरुमा जुन उत्साह र उमंग थियो त्यो पनि व्यवहारका चापमा कठिन हुँदैगयो । न त जीवन उन्नत भयो न त भौतिक प्रगति, न त सुख, सन्तोष र आनन्द । अधमरोमै उनीहरुको जीवन चलिरहेको देख्छु अहिले । यी भए पुरुषहरुका कुरा । महिलाहरुको अवस्था त योभन्दा झनै विकराल छ ।

महिलाहरु र युवावस्था

महिलाहरुका लागि सबैभन्दा नाजुक निर्णय हो विवाह । महिलाहरुको जीवनको सफलता र असफलतामा अत्यन्तै गम्भीर प्रभाव पार्छ विवाहले । कस्तो जीवन साथीसँग, कस्तो परिवारमा, कस्तो पेशा, शैक्षिक अवस्था र परिवारको संरचना भएको घरमा र कस्तो पुरुषसँग विवाह गर्ने भन्ने यकिन दृष्टिकोण बनाई स्वनिर्णयका आधारमा विवाह गर्ने परिपाटी अझै नेपाली समाजमा बसिसकेको छैन । स्वनिर्णयको स्वतन्त्रता महिलाहरुले अझै पाइसकेका छैनन् । ग्रामीण क्षेत्रमा त यसको शुरुआत पनि भएको छैन । शहरी क्षेत्रमा र शिक्षित र आत्मवल दह्रो भएका केही महिलाहरुमा बाहेक आम रुपमा भन्ने हो भने शहरीयाहरुमा पनि यो प्रचलनको रुपमा आइसकेको छैन ।

विवाह किन गर्ने ? त्यसको जैविक महत्व के ?  सामाजिक पक्ष, दायित्व र जिम्मेवारी त्यसपछि कस्तो हुन्छ ? सन्तानको संख्या र सन्तान जन्माउने अवस्था कतिबेला हो ? विवाहपछिको आफ्नो भविष्य कस्तो हुन्छ ? आदि जीवन व्यवस्थापन र भोगाइका यावत पक्षका विषयमा कुनै पनि प्रष्टता नभई उमेरको एक अवस्थामा आइपर्ने भावनात्मक र संवेगात्मक आवेगमा नै युवावस्थामा विवाह गर्ने गरेको पाइन्छ अधिकांश व्यक्तिले ।  केहीले अभिभावकहरुको जिम्मेवारी पूरा गर्नका लागि विवाह गरिदिने प्रचलन पनि हाम्रो समाजमा विद्यमान छँदैछ । केटा हुन् वा केटी दुवै पक्षमा यस्ता गम्भीर जीवनदृष्टिको विकास नै नभई विवाह हुन्छ । सन्तान जन्मिन्छन् । क्यारियरको विभिन्न पेशामा संलग्न हुने निर्णय लिन्छन् । यसले नै हाल हाम्रो समाजमा घरेलु हिँसा, महिला हिंसा, यौनजन्य असन्तुष्टि, पारिवारिक विछोड जस्ता समस्याहरु देखापरिरहेका छन् । व्यक्तिको स्वतन्त्र व्यक्तित्व विकासका लागि यी प्रश्नहरु ज्यादै महत्वपूर्ण प्रश्नहरु हुन् । यस्ताकुराहरुमा सही जीवनदृष्टि बनाउन नसक्नाले जीवन अधुरो, तनावग्रस्त र असफल हुने गरेको छ ।

सन्तान, भविष्य निर्माण र आत्मनिर्भरता

विवाह पछिको महिलाहरुको जीवनमा आइपर्ने महत्वपूर्ण पक्ष हो सन्तानको जन्म । एक सन्तान भए ३ देखि ५ वर्ष र दुई सन्तान भए त अझ ५ देखि ७ वर्ष अझ १०  वर्ष नै सन्तानहरुको स्याहारसुसारको गहन जिम्मेवारी महिलाहरुले निर्वाह गर्नुपर्ने हुन्छ । दम्पती मात्र सँगै छन्, संयुक्त परिवारमा छैनन् भने बच्चा सानो होउन्जेल न त पढाइ हुनसक्दछ न त जागिर वा व्यवसाय नै । ५।७ वर्षको उर्वर समय सन्तानहरुको स्याहारसुसार र घरपरिवार भित्रै बितेपछि न त पढाइ थप विकास गर्न सकिन्छ न त कुनै व्यवसाय वा जागिरको संम्भावनाहरु सोच्न सक्ने आत्मबल नै रहन्छ । एक किसिमले भन्ने हो भने यो समय अब परिवार केन्द्रित समयका रुपमा बिताएको कारणले गर्दा बाहिर निस्केर काम गर्ने उर्जामा कमी आउँछ । जीवनमा केही गर्ने हिम्मत र आँट हराउँदै जानथाल्छ । आत्मबलमा कमी आएपछि त्यसले हिम्मत पनि कमजोर बनाउँदै जान्छ । अनि विस्तारै घर र भन्सामा महिलाहरु सीमित हुन बाध्य हुन्छन् । त्यसैले विवाह गर्दा पुरुषभन्दा पनि महिलाहरुले आफ्नो जीवनदृष्टि पूर्णतः स्पष्ट बनाउनु पर्नेमा झन् उनीहरुनै यसमा पुरुषभन्दा कमजोर बनिरहेका र बढी नै अनिर्णयको अवस्थामा विवाहित हुने गरेको पाइन्छ ।

यहाँनेर युवाहरु हरेकले बुझ्नुपर्ने कुरा केहो भने माथि उल्लेखित तीनवटै कुराहरुमध्ये पढाइ अर्थात् अध्ययन बाहेक अन्य दुवै कुरा जरुरी होलान् वा मनोरञ्जन होलान् तर महत्वपूर्ण र जीवन परिवर्तनकारी भने हुँदै होइनन् । ती दुवैकुराले जीवनमा खासै परिवर्तनकारी महत्व राख्दैनन् । जीवनलक्ष्यसँग तिनलाई दाँजेर र आफ्नो भूमिका र लक्ष्यलाई ध्यानमा राखेर सही प्राथमिकतामा राख्ने निर्णय गर्न सकियो भने मात्रै जीवन परिवर्तन र सफलताको शीखरतिर लाग्दछ अन्यथा यथास्थिति र औसत जीवनमै चित्त बुझाउनु पर्ने हुन्छ ।  

नेपाली चियामा भारतीय अवरोध: एक नीतिगत तथा आर्थिक अध्ययन

नेपालमा उत्पादित चियाको सबैभन्दा ठूलो बजार भारत हो । भारतले नेपाली चिया नकिन्नासाथ नेपालको चिया व्यापार बन्द हुने अवस्थामा पुग्छ । यो विगतमा...