ढुण्डीराज भण्डारीः एक संस्मरण
अन्याय नसहने व्यक्ति
खासगरी युवाहरुप्रतिको भरोसा, अत्यन्त दृढ अनि अन्याय पटक्कै सहन नसक्ने स्वभावले उहाँलाई सामाजिक व्यक्तित्वको रुपमा स्थापित गर्दै लग्यो । २०३६ सालको जनमत संग्रहको घोषणपछि शिक्षित युवाहरु बहुदलको पक्षमा खुलेर लागे । उहाँले पनि युवाहरुको प्रयासलाई मनोवैज्ञानिक रुपमा शक्ति दिइरहनुभयो । आफूले भन्न मिल्ने र सकिने मानिसहरुलाई बहुदलका पक्षमा मत हाल्न प्रेरित गर्नुभयो । २०४३ सालसम्म आइपुग्दा नेपालको राजनीति पञ्चायतको विरुद्ध देखिने गरी मोर्चाबन्दी गरेर विरोध गर्ने अवस्थामा पुग्यो ।
केही स्थानमा जनपक्षीय उम्म्ेदवारको रुपमा बामपन्थीहरुले चुनाव जितेर राष्ट्रिय पञ्चायतको रोष्ट्रमबाट पञ्चायती तानाशाहीको विरोध गर्न थालेपछि जनतामा अनुदार पञ्चहरुका विरुद्ध संगठित रुपमा प्रतिवाद गर्ने, चुनावी प्रतिस्पर्धामा सामेल हुने अवस्था बन्दै गयो । यसै मेसोमा तत्कालीन प्रधानपञ्च भक्तकुमारीकी छोरी दुर्गाकुमारी घले शिक्षक छाडेर आम्बोटेको प्रधानपञ्चको उम्मेदवार बनिन् । युवाहरु र केही अन्य सामाजिक अगुवाहरुले ढुण्डीराज भण्डारीलाई प्रत्यासी बन्न उत्साहित गरे । उहाँ करिब २५ वर्ष एकछत्र शासन चलाइरहेको घले परिवारविरुद्धको यो प्रतिस्पर्धाले उहाँलाई एक राजनीतिक र सामाजिक नेताको रुपमा स्थापित ग¥यो ।
२०४७ सालमा जब बहुदलीय व्यवस्था पुनःस्थापित भयो देशभर कम्युनिष्ट र काँग्रेसको समर्थन गर्ने र संगठित हुने कार्य शुरु भयो । स्थानीय स्तरमा प्रभाव पार्न सक्ने बामपन्थी नेता थिए बोधराज काफ्ले । ढुण्डीराज भण्डारी बोधराजसँगको सम्बन्धको कारण नेकपा माक्र्सवादी पार्टीतिर झुकाव राख्नुभयो । सदस्य बन्न पाउँदानपाउँदै नेकपा(माले)को लहर देशव्यापी बन्यो । म, फणिन्द्र भण्डारी, कमल भण्डारी लगायत युवाहरु मालेमा लागेपछि उहाँ पनि त्यसमा सामेल हुन राजी हुनुभयो र गाउँ कमिटीमा संगठित हुनुभयो ।
पछि अधिवेशनबाट उहाँलाई गाउँ कमिटीको सचिव बनाइयो । स्थानीय चुनावमा गाविस अध्यक्षमा उम्मेदवार बन्न सबैले आग्रह गरे । अग्रज नेतृत्वकर्ताको त्यो सम्मान स्वीकार गर्दै उहाँले आफूभन्दा निकै कम उमेरका युवा चन्द्र प्रसाद भण्डारीलाई स्थानीय गाविस अध्यक्षको उम्मेदवार प्रस्ताव गर्नुभयो । पार्टीको नेतृत्व आफ्नो हातमा भएर पनि आफूलाई सहज रुपमा मिल्ने गाविस अध्यक्ष पद उहाँले महत्व दिनुभएन । त्यही त्याग र आफूभन्दा पछिल्ला पुस्तालाई नेतृत्व विकासको अवसर दिएका कारण नेकपा एमालेले उहाँलाई जिल्ला कमिटीको सल्लाहकार समितिमा सामेल ग¥यो । एमालेको सल्लाहकार रहँदा रहँदै उहाँलाई नेपाल रेडक्रस जिल्ला समिति सिन्धुलीको उपाध्यक्षमा चयन हुनुभयो ।
रेडक्रसमा संलग्नता र विकासको सोच
रेडक्रसले स्थानीयस्तरमा निर्माण गर्ने ससाना योजनाहरुमा उहाँले तत्कालीन अवस्थामा सहज यात्राका लागि वर्षातको समयमा अत्यन्त आवश्यक मनिएको झोलुङ्गे पुललाई प्राथमिकतामा राख्नुभयो । उहाँको योजनामा परेका तीनपाटनको नक्कले, आम्बोटेको बोहोरीफाँट, ठाकुरखोलाको भालटारमा तीनवटा झोलुङ्गे पुल हाल्ने योजना रेडक्रसको योजनामा सामेल भयो । नक्कले र बोहोरी फाँटको पुल बन्यो, ठाकुरखोलामा बनाउन नपाउँदै उहाँको कार्यकाल सकियो । त्यो बन्न सकेन । अहिले दुईटा झोलुपङ्गे पुल ढुण्डीराज भण्डारीलाई सम्झाउने विकासका धरोहर बनेर यात्रुलाई सेवा प्रदान गरिरहेका छन् ।
आज सामाजिक, राजनीतिक र विकासको नेतृत्वकर्ता ढुण्डीराज भण्डारी हामीबीच हुनुहुन्न । २०८२ सालको पुस ३ गते बेलुका उहाँले यस धरतीबाट बिदा लिइसक्नुभयो तर उहाँले गरेका काम, उहाँले समाजलाई दिएको योगदान अनि अन्यायविरुद्ध निडर भएर लडिरहनुपर्छ भन्ने सन्देश आज पनि आम्बोटेको धरतीमा गुन्जिरहेको छ । मानिसको मनमा अझै पनि उहाँ जीवित हुनुहुन्छ र युगौँसम्म उहाँ यिनै कार्मका कारण मानिसको स्मृतिमा बाँचिरहनुहुनेछ ।
काकाभतिजको त्यो यात्राः अन्तरङ्ग संवादको अवसर
आज म यो संस्मरण लेखिरहँदा मलाई हामी काकाभतिजको काठमाडौँ–आम्बोटे बसयात्राको वार्तालापको सम्झना आइरहेछ । यो त्यही यात्रा थियो जसले मलाई पछिल्लो चरणमा उहाँले गरेका कामहरु र जीवनवृत्तका आयाम बुझ्ने अवसर दिएको थियो । मलाई सम्झना भएसम्म यो संवाद भएको २०६६ साल मंसीरतिरको हो । हुनतः यस्तो आत्मीयतापूर्ण संवाद काका र मबीच मैले थाहा पाएदेखि नै हो । यो सम्वाद चाहिँ विशेष यसकारण रह्यो कि मैले त्यसबीचमा काकाले गर्नुभएका सामाजिक कार्य र विकाससँग जोडिएर, राजनीतिमा सामेल भएर उहाँले गरेका अनेक अनुभव र कार्यसँग साक्षात्कार हुने अवसर प्राप्त गरेँ ।
म त्यति बेला एउटा पुस्तक लेख्दै थिएँ । विद्यालयको स्वर्णजयन्तीको लागि पनि केही लेख्नुपर्ने थियो । भण्डारीहरुले आम्बोटेमा गरेका काम बारे खोजतलास जारी थियो । एउटा पुरानो मन्दिर थियो नरापु डाँडामा । त्यसको इतिहास जान्ने जिज्ञाशा थियो । तिनै जिज्ञाशा मेटाउने अवसर दिएको थियो त्यो काकाभतिजको यात्राले । त्यसैले आज म त्यही दिनको यात्राबाट काकाप्रति समर्पित यो संस्मरण जोडिरहेको छु ।
.......
‘‘ए, धीरप्रसाद, फुर्सत छ ? फुर्सतमा भए यसपाली देवाली छ, गाउँतिर जाने कि ? म पनि जाने विचारमा छु । सँगै जाने कि भनेर भनेको ।” एक दिन काकाले फोनमा भन्नुभयो ।
“हुन्छ, काका म फुर्सतै छु, जाउँ न त ! धेरै वर्ष भयो म त्यता नगएको पनि ।” मैले इच्छा जाहेर गरेँ ।
“त्यसो भए सँगै जाऊँ ।”
माथिको संवाद भएको केही दिनपछि हामी दुवैले काठमाडौँबाट आम्बोटे जाने समय तय ग¥यौँ र भाइ केशव, म र काका काठमाडौँबाट आम्बोटेका लागि प्रस्थान ग¥यौँ । काठमाडौँदेखि चकमकेसम्मको दिनभरको बस यात्रामा विगतका संस्मरण र भविष्यका केही योजनाका कुरा हुने नै भए ।
जन्मेहुर्केको त्यहीँ भए पनि समयको माग र आफ्नो आवश्यकताले हामी २०५२ सालमा तराइतिर बसाइ सरेपछि जन्मस्थानसँगको मेरो सम्बन्ध पातलिएको थियो । धेरै साथीभाइ र आफन्तहरु काठमाडौँमै भेट भइरहने भएकाले पनि त्यहाँ गइहाल्नुपर्ने आवश्यकता बोध भएको थिएन । जानैपर्ने अनिवार्यता पनि परेको थिएन । बसाइ सरिसकेपछि मानिस कि आवश्यकताले भेटघाटका लागि त्यो ठाउँमा पुग्छ कि बाध्यताले ।
म आम्बोटेबाट बसाइ सरेको करिब १५ वर्षपछि फेरि आम्बोटे जाँदै थिएँ । त्यस बेला दुई कुराले जानैपर्ने भएको थियोे– एक त धेरैवर्षपछि हुन लागेको वशिष्ठ भण्डारीहरुको देवाली अर्को चाहिँ आफूले अक्षर चिनेको स्कुलको स्वर्णजयन्ती महोत्सव । ती दुवै कार्यक्रममा हाम्रो साझा चासो थियो ।
आम्बोटे स्कुलको संस्थापनाकालदेखि नै भण्डारीहरु त्यसमाथि पनि काकाकै हजुरबा पुस्ताका लोकनाथ भण्डारीको विशेष योगदान भएकाले र पछिल्लो चरणमा माध्यमिक र उच्च माध्यमिक विद्यालय बनाउन आफू लागिपरेको कारण पनि काकालाई विद्यालयप्रति अगाध माया र प्रेम थियो ।
मैले त्यति गहिरोसँग काकासँग बसेर कुराकानी नगरेको धेरै वर्ष भएको थियो । २०४३ सालमा तत्कालीन गाउँ पञ्चायतको चुनावमा अनुदार पञ्चहरुको विरुद्धमा चलेको जनलहरका बेला हामी युवाहरुको अनुवाइमा उहाँलाई प्रधानपञ्चको उम्मेदवार बनाएदेखि म अध्ययन र जागिरको क्रममा बाहिरबाहिरै भएँ । स्थानीय सामाजिक र राजनीतिक गतिविधिमा सामान्य चासो भए पनि त्यति संलग्न हुने अवसर मिलेन ।
त्यस पटक भने काकासँगको लामो रिक्ततापछि म अन्तरङ्ग कुराकानी गर्ने अवसरमा जोडिएको थिएँ ।
कुरै कुरामा मैले काकालाई सोधेको थिएँ– “काका तपाईं जन्मेको खानीडाँडा मै हो त ?”
“हो । आमाले यहीँ जन्मेको भन्नुहुन्थ्यो ।”
बस यात्रा चलिरहँदा काकाले जन्मथलोको कथा जोड्नुभयो– “हाम्रो पहिले बसाइ महाभारतउत्तर लप्सेमा थियो । यहाँ आम्बोटेको फाँटमा औलो लाग्थ्यो । तल बेँसीमा बस्न सकिँदैनथ्यो । त्यही भएर शिखर बस्नुपथ्र्यो, राती । दिनभरी बेँसीमा काम गर्ने अनि बेलुका राती अलि अग्लो ठाउँमा गएर बास बस्ने चलन थियो । त्यही भएर पहिलेका जति बस्ती छन् ती डाँडाको टाकुरामा छन् । पछि औलो कम भयो । औलो उन्मुलन भएपछि माथि डाँडाका बस्ती बेँसीमा झरे । पहाडका मानिस तराइ झर्न थाले । सबै ठाउँको बस्तीको ढाँचा हेर्यो भने यो कुरा बुझिन्छ ।
हाम्रो पनि खेती आम्बोटेको बेँसीमा थियो, बसाइ चाहिँ महाभारतको लेकमा । लेकमा औलो लाग्दैनथ्यो । बेँसीमा खेती राम्रो हुन्थ्यो, औलोको डर थियो । बहिनी देवकी चाहिँ लप्सेमै जन्मेकी हो । संयोगले म चाहिँ यहीँ जन्मेँछु । अलि ठूलो भएपछि चाहिँ हामी सबै यहीँ बसाइ स¥यौँ, लप्से बेचिदियौँ । धेरै भण्डारी दाजुभाइहरुको आम्बोटे र लप्से दोहोट थियो त्यतिबेला ।
“मैले थाहा पाउँदा चाहिँ थुम्काली हजुरबा(ज्योतिखर भण्डारी) र अरु केही भण्डारीहरुको लप्सेमा जग्गाजमीन थियो । तपाईंहरुको चैँ थाहा थिएन । अनि काका तपाईंको जन्म भएको चाहिँ कति सालमा नि ?
“२००१ साल असार २७ भनेर मेरो चिना बनाको रछ । त्यही त होला नि ! अहिलेसम्म त्यही मानेको छु ।”
“चिना नै त्यही भएपछि त्यही नै होला । अनि कति सालतिर तपाईंहरु लप्से छाडेर यता आउनुभयो नि ?”
“लप्से छाडेको ठ्याक्कै साल त थाहा छैन तर म सानै हुँदा नै हामी यता सरेर आयौँ । पहिले सानो कटेको थियो । त्यसको ठाउँमा अलि ठूलो घर बन्यो । बाले सबै गर्नुभयो । मैले त्यति थाहा पाइनँ ।
मैले थाहा पाएपछि चाहिँ कमलाखोँचको बैराहामा एउटा जमीन किनेँ । त्यो पनि मावलीहरु घाटगाउँमा भएकाले आउजाउ पनि हुन्छ भनेर । रेखदेख पनि उनीहरुले नै गरिदिन्थे । निकै समय दोहोड गरेँ । पहाडबाट सम्म ठाउँमा बसाइसराइ बढ्न थालेको बेला थियो त्यो । बाहरु लेकबाट बेँसी झर्नुभयो हामी चाहिँ बेँसीबाट फेरि सम्म फाँटतिर झर्ने विचारले कमलाखोँचमा खेती लिएको थिएँ । त्यो जमिन अहिले पनि छँदै छ ।”
बाल्याकाल र तत्कालीन समयको खेती प्रणाली र औलो प्रकोप बस्तीको संरचना र औलोको प्रभाव यसरी नै काकाले बताउनुभयो ।
शैक्षिक जागरणमा भण्डारी कुल र ढुण्डीराज भण्डारी
वशिष्ठ गोत्रीय भण्डारीहरुका दशौँ पुस्ताका शूलपाणी भण्डारी आजभन्दा करिब ३०० वर्षजति अगाडि नुवाकोटको थानसिङबाट झँगाझोली हुँदै आम्बोटे आएको बुझिन्छ । हालसम्म त्यहाँ दश पुस्ताको बसोबास भइसकेको छ । सामान्यतः एक पुस्तामा ३० वर्ष हिसाब गर्दा पनि करिब ३०० वर्ष त यसै बितेको देखिन्छ ।
यस ठाउँमा आएपछि भण्डारीहरु पशुपालन र खेतीपातीमा रमाएर बसे । त्यस बेलाको उद्यम भनेकै खानेलाउने बन्दोबस्त गर्न सके पुग्थ्यो । अरु उद्यम थिएन । यातायात सुविधा र बजारको अभाव थियो । नून, मट्टितेल, कपडा आदि खरिद गर्नु परे दुई दिन हिँडेर धनुषा जिल्लाको चिसापानी बजार पुग्नुपथ्र्यो । पछि कमलाखुँजको जगाडीमा केही बनियाँहरुले पसल राखेपछि केही सजिलो भयो । त्यहाँ चाहिँ एकै दिनमा पुगिन्थ्यो किनमेल गर्न ।
लेखपढ गुरुकुलीय परम्परामा घरघरमा चले मात्र हो अन्यथा २००८ सालसम्म पढ्ने व्यवस्था औपचारिक रुपमा थिएन । कोही बनारस जान्थे, पछि मथुरा, वृन्दावन जान थाले । आम्बोटे स्कुल २०१२ सालमा सुरुआत भयो ।
स्कुल सञ्चालनका लागि श्रीमती भक्त कुमारी घलेलाई श्री लोकनाथ भण्डारी र श्री तुलसीराम भण्डारीलगायतले सहयोग गरे । २०१३ सालमा त्यसलाई अझ व्यवस्थित गरी आम्बोटे भञ्ज्याङदेखी दक्षिण पट्टी हालको छात्रावास रहेको ठाउँमा एउटा छाप्रो बनाई स्कूल संस्थापनाको औपचारिक सुरुआत भयो । २०१६ सालमा सरकारी स्वीकृति प्राप्त गरेर बल्ल स्कुल सञ्चालनमा ल्याइयो ।”
“काका, हामी पढ्दा आम्बोटेमा ७ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । यो स्कुल हाइस्कुल बनाउने काम चैँ कहिले पूरा भयो ? अहिले त उच्च मावि भएको रहेछ । तपाईं पनि लाग्नुभएको थियो हाइस्कुल बनाउन भन्ने सुनेको थिएँ मैले ।” मैले हाइस्कुल बनाउँदा उहाँको भूमिका बारे जान्ने इच्छा गरेँ ।
“भन्न त के भन्नु र ! तर पनि हाइस्कुल बनाउने काम सफल बनाएको चाहिँ मेरै पहलमा हो । कथा अलि लामो छ ।”
“भन्नु न त लामै कथा । बाटो पनि कटिन्छ, कथा पनि सुनिन्छ । वास्तवमा भएको कुरा मलाई थाहा नै छैन ।”
“कुरा के भयो भने म २०३३ सालदेखि विद्यालयको व्यवस्थापन समितिमा थिएँ । २०३६ सालमा विद्यालयलाई मा.वि.तह सञ्चालन गर्ने पहल गरियो । त्यति बेला गाउँमा पैसा हातमा पर्नै मुस्किल थियो । मा.वि.तहसम्म विद्यालय सञ्चालनको लागि नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने धरौटी रकम जुटाउन अनेक प्रयास गर्दा पनि बल्लतल्ल रु. ५०,०००।– संकलन भयो । उक्त रकम धरौटी राखेर कक्षा आठको अनुमति लिइयो । तर कक्षा नौ को अनुमति लिनेबेला आर्थिक श्रोत संकलन हुन सकेन । हाइस्कुल सञ्चालन गर्ने स्थानीय चाहना पूरा भएन । विद्यालयको पढाइ निम्न माध्यमिक तहमै खुम्चियो । हाइस्कुल बनेन ।
२०४३ सालमा फेरि माध्यमिक तहमा विद्यालय स्तरोन्नति गर्ने प्रयासहरु भयो । त्यस पटक पनि आर्थिक कारणले नै सफल हुन सकेन । वि.सं. २०४६।०४७ को जन आन्दोलनबाट प्रजातन्त्रको पुस्थापना भएपछि मेरै नेतृत्वमा पुनः माध्यमिक विद्यालय स्थापनाको निम्ति पहल सुरु भयो । चन्दा संकलन अभियान चलाइयो । २०५१ सालको फाल्गुणमा गायत्री महायज्ञ गरियो ।
जनताबाट प्राप्त चन्दा र यज्ञको रकमसमेत गरी रु. ४,५०,०००।– नेपाल सरकारसमक्ष धरौटी राखी वि.सं. २०५१ सालको शैक्षिक सत्रदेखि कक्षा ८ को अनुमति प्राप्त गरियो । स्थानीयहरुबाट सहयोग र ऋण लिएर धरौटी पूरा त गरियो तर ऋण तिर्न निकै कठिन भयो । वि.सं. २०५४ सालमा विद्यार्थीहरु एस.एल.सी. परीक्षामा सामेल भए । त्यसपछिका वर्षहरु केही सजिला हुँदै गए । स्थानीय गा.वि.स.मा आउने सरकारी बजेट पनि विद्यालयको विकासमा लगाउने व्यवस्था मिलाइयो । एस.एल.सी. मा राम्रो नतिजा ल्याउदै विद्यार्थीहरु उत्तिर्ण हुन थालेपछि उच्च मा.वि. सञ्चालन गर्ने जोसजाँगर पैदा भयो । तर जनयुद्धले केही समय धकेल्यो । एक दशकसम्म विद्यालय मा.वि.तहमै सीमित भयो । पछि २०६५ सालमा आएर उच्च मावि चलाउने सुरसार भयो । अहिले उच्च मावि चलेको छ ।”
“तपाईंले हाइस्कुल त बनाउनुभयो । अरुलाई पढ्न सजिलो बनाउनुभयो । आफूले चाहिँ कसरी पढ्भयो काका ?” मैले काका कर्मकाण्डमा संलग्न भएको संस्कृतका ग्रन्थहरु पढेको अनि घरायसी लेखापढी गरेको सानैदेखि थाहा पाएको थिएँ ।
“त्यसको पनि कथा लामो छ । म सानैमा टुहुरो भएको मान्छे । हाम्रो आमापट्टि म मात्र एक्लो छोरो । मेरो मावलीमा पढेका जति सबै हैजाले बित्नुभएछ । मलाई पनि पढ्न पठायो भने फेरि हैजाले लैजाला भनेर टाढा पढ्न नपठाएको भनेर आमा भन्नुहुन्थ्यो । पछि मामा मुकुन्द काफ्ले र भिनाजु देवीप्रसाद घिमिरेसँग बसेर अलिअलि संस्कृत र कर्मकाण्ड सिकेँ । घरकै काका विष्णु प्रसाद एक किसिमले दौँतरी नै भएकाले उहाँसँग पनि सिकेँ । मैले कक्षामा गएर पढेको होइन । सबै पढाइ घरमै गरेको हुँ । त्यसैले पनि सबका छोराछोरी पढून् लेखपढ गर्न पनि सिकून् भनेर सोचेँ । हाइस्कुल बनाउन मन थियो त्यो पूरा भयो ।”
सामाजिक–सांस्कृति चेतना जागृतिमा भण्डारी कुल र ढुण्डीराज भण्डारी
आम्बोटेको राजनीतिक र शैक्षिक इतिहासमा पञ्चायती शासन काल सुरु हुनुअगावै रुम्जाटारबाट त्यहाँ बसाइ सरेर आउनुभएकी भक्त कुमारी घलको परिवार, भण्डारी र पोखरेल थरका ब्राह्मणहरु र मगरहरु मुख्य रहेका छन् । बहुदलीय व्यवस्था आएपछि अरु समुदायको पनि नेतृत्वमा यो अझ फराकिलो हुँदै र विस्तारित हुँदै गयो ।
२०१८ सालको निर्वाचनमा पहिलो प्रधानपञ्च बनेर भक्तकुमारी घले सामाजिक रुपमा स्थापित भइन् । उनलाई सहयोग र सल्लाह दिनेमा भण्डारी र पोखरेलहरु नै मुख्य थिए । तत्कालीन समयमा विद्यालय खोल्नमा लोकनाथ भण्डारी सक्रिय रहनुभएको कुरा विद्यालयको स्मारिकामा उल्लेख छ ।
चेतना जागरण र प्रतिस्पर्धी सामाजिक र राजनीतिक नेतृत्व विकासमा भण्डारीहरु घले परिवारसँगसँगै कहिले मिलेर र कहिले प्रतिस्पर्धी भएर सामाजिक कार्यमा संलग्न भएको बुझिन्छ । वि.सं. २०३२–३३ मा भएको पञ्चायतको निर्वाचनमा लीला प्रसाद भण्डारी भक्त कुमारी घलेसँग प्रधानपञ्चको प्रतिस्पर्धामा उत्रिनुभएको थियो । अहिलेको प्रतिपक्षी जस्तै थियो लीला प्रसादको भूमिका घले परिवारको शासनकालमा ।
शूलपाणीपछिका तेस्रो पुस्तापछि भण्डारी वंशका तीन हाँगा भए । मैले थाहा पाउँदा तीमध्ये जेठाको हाँगोमा पर्ने लीला प्रसाद भण्डारी, माइलोको हाँगोमा पर्ने गंगा प्रसाद भण्डारी अनि कान्छोको हाँगोमा पर्ने ढुण्डीराज भण्डारी तत्कालीन समयमा राजनीतिक र सामाजिक नेतृत्वकर्ताको रुपमा स्थापित थिए ।
रविलाल भण्डारीले धार्मिक र सामाजिक कार्यमा आफूले कमाएको धनसम्पत्ती गुठी राखेर पोखरेलहरुलाई पुजाआजाको जिम्मा दिएर लक्ष्मीनारायण मन्दिरको स्थापना १८४८ तिरै गरेको पाइन्छ । उनी पनि ढुण्डीराज काकाकै हाँगोका अग्रज थिए ।
रविलाल भण्डारीले गुठी राखिदिएको जमीन २०२९ सालमा पोखरेलहरुले आफ्नो नाममा नापी गराएछन् र त्यसको बदलामा अर्को जग्गा गुठीमा दर्ता गरेछन् । त्यही गुठीबाट हालसम्म मन्दिरको सञ्चालन भइरहेको छ ।
पहिले आफ्ना पुर्खाले राखेको गुठी जग्गा विवादमा परेपछि ढुण्डीराज भण्डारीकै पिता इन्द्र प्रसाद भण्डारीले कल्से फाँठको करिब ७ कठ्ठा १३ धुर जग्गा मन्दिरको नाममा थप गुठी राखिदिई धार्मिक जगृतिमा सहयोग गरेको बुझिन्छ ।
राजनीतिक चेतनाको दियो बाल्ने कार्यमा ढुण्डीराज भण्डारी
सामाजिक चेतना र भलाइका कार्यमा रविलाल भण्डारीबाट सुरु भएको कार्य लोकनाथ भण्डारी हुँदै ढुण्डीराज भण्डारीमा आइपुग्दा फैलिँदै गएको देखिन्छ ।
‘‘काका तपाईं राजनीतिमा लागेको चाहिँ कहिलेदेखि ?” मैले काकालाई सोधेको थिएँ बसमा यात्रा गरिरहँदा ।
“२०१५ सालको चुनावमा म अलि सानै थिएँ । त्यति थाहा पाइँन । म कार्यकर्ता बनेर झोला बोकेर त हिँडिनँ तर स्थानीय ठाउँमा नेतृत्व विकास गर्न, सामाजिक रुपमा भरथेग गरेर आफूभन्दा सानालाई नेतृत्वमा ल्याउन चाहिँ खूब काम गरेँ । उमेरमा राजनीति गर्न पञ्चायतको दबदबा थियो । त्यतिबेला पञ्चगानबाहेक केही गर्न पाइँदैनथ्यो । भक्त कुमारी घलेहुन्जेल छोरी भद्राको दरवारसम्म सम्बन्ध भएकाले हामीले पञ्चायतको दायाँबायाँ कुरा ग¥यो कि अराष्ट्रिय तत्व भनिहाल्थे । कति बेला पुलिस घरमा आएर पक्रेर लान्छ भन्ने जगजगी थियो । त्यतिबेला धार्मिक र सामाजिक काम गर्दा त पञ्च बन्नुपथ्र्यो ।”
“२०३६ सालको जनमत सङ्ग्रहमा चाहिँ काकाले पञ्चायतलाई सघाउनुभयो कि बहुदललाई ?”
“त्यो बेला बहुदलमा भोट हाल्ने र वरपर अलिअलि प्रचार गर्ने काम गरियो । प्रचारमा टाढा हिँड्न चाहिँ हिँडिनँ ।”
“भनेपछि राजनीति तपाईंको रुचिको विषय हो सानैदेखि ?”
“म कसैसँग दबेर बसिनँ सानैदेखि । खानलाउन दुःख थिएन । लाउनखान पुगेकै थियो । त्यही भएर अन्यायको विरुद्धमा म सधैँ बोलिरहेँ । नचाहिँदो कुरामा आफन्तसँग पनि सम्झौता गरिनँ । साह्रै नचाहिने काम गर्दा बहिनी ज्वाइँ नै भए पनि सुदर्शन पोख्रेलको विरोध गरेको कुरा त तिमीहरुलाई पनि थाहा छ नि ।”
“जनपक्षीय उम्मेदवारको लहरमा २०४३ सालको पञ्चायतको चुनावमा उम्मेदवार बन्ने पनि तपाईं आफ्नै निर्णय थियो कि कुनै बहुदलवाला नेताहरुको सल्लाहमा थियो काका?”
“त्यो बेलाको निर्णयमा दुईटा कुरा प्रमुख थिए– भक्तकुमारी घलेले धेरै समय प्रधानपञ्च चलाइसकेकी थिइन् । छोरी दुर्गाको पनि हालिमुहाली अलि बढी थियो । भद्रा घले राष्ट्रिय व्यक्तित्व बनिसकेकी थिइन् । उनको पहुँच स्थानीयस्तरदेखि राष्ट्रिय राजनीतिमा समेत थियो । लीला प्रसाद भण्डारीले २०३२–३३ को चुनावमा घले परिवारलाई टक्कर दिने प्रयास गरे । घले परिवारसँग रुष्ट, अलि मन नपराउनेहरु त्यति बेला लीला प्रसादलाई सहयोग गर्न तम्सिए । त्यति बेला नानाथरी तमसुक गराएर, थोरै पैसा दिने र बढीको कागज गराउने गरेर मानिस घले परिवारसँग चिढिएका थिए तर बोल्न कोही नसक्ने । त्यही मौका पारेर लीला प्रसाद भण्डारीले आँट गर्नुभयो । त्यसले केही मानिसलाई सामाजिक रुपमा नेतृत्वकर्ता बनायो । पछि म चुनाव उठ्ने बेला पनि मैले त गंगा प्रसाद दाइ उठ्नु भनेर भनेको थिएँ । उहाँले मान्नुभएन । म वडाध्यक्ष बस्छु भन्नुभो । त्यसो भएपछि कोहीनकोही त उठौँ, एउटा समूह पनि बन्छ भनेर युवालाई हौसला दिन पनि मैले उभिनै पर्ने भयो । त्यसमा तिमीहरुनै त थियौ नि त्यतबेला मलाई जोस्याउने ।”
“त्यो निर्णयलाई अहिले पछाडि फर्केर हेर्दा कस्तो लाग्छ तपाईंलाई ? ठिकै भएछ भन्ने लाग्छ कि ? बित्थामा विरोधी कमाइयो भन्ने लाग्छ ?”
“त्यो निर्णय ठिकै थियो । घलेहरुका विरुद्धमा स्थानीयलाई संगठित हुने अवसर बन्यो त्यसले गर्दा । मलाई त उनीहरुले त्यति दबाब पनि दिन सकेनन् । बरु विपक्षी जस्तो ठानेर अनि सिधा कुरा गर्न सक्ने मान्छे भनेर मलाई आदर नै गरे । सहयोग लिन परे बोलाउने, सल्लाह लिने पनि गरे । त्यसको राम्रो परिणाम बहुदल आएपछि देखियो । भूकम्पपछिको धेरै काम मेरै पहलमा भयो ।”
“बहुदलपछि त तपाईं आम्बोटेको एकछत्र नेता हुनुहुन्थ्यो तर तपाईं त कहिल्यै पदमा बस्नुभएको देखिएन । किन त्यसो गर्नुभयो ?” मेरो प्रश्न काकासँग राखिरहेँ ।
“बहुदल आउँदासम्म म अलि पाको भइसकेको थिएँ । त्यति बेलाको अवस्थामा म सर्वसम्मत जस्तो थिएँ गा.वि.स. अध्यक्षका लागि । अवसर थियो म आफैँ अध्यक्ष बन्ने । मलाई के लाग्यो भने, आफ्नो उमेर ढल्कियो, आफूभन्दा सानो उमेरकालाई अगाडि बढाउँ भनेर चन्द्रलाई अगाडि सारियो । त्यसले राम्रै पनि भयो ।”
आफूले पद पाउँदा मृत्यु शैयासम्मै पद लिएर मरुँ भन्ने समाजमा ढुण्डीराज काकाको यस्तो कुरा अलि फरक नै लाग्थ्यो ।
२०४३ सालको चैत्रमा भएको गाउँ पञ्चायतको चुनावमा कट्टर पञ्चहरुलाई चुनौती दिने लहर चलेको थियो । राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवारका रुपमा केही कम्युनिष्ट नेताहरुले चुनाव जितेर रापस बनेपछि जनतामा नयाँ उत्साह आएको थियो ।
हामी केही उत्साही युवाहरु मिलेर उहाँलाई प्रधानपञ्चमा उम्मेदवार बन्न अनुरोध ग¥यौँ । छायादेवी पोखरेल, फणिन्द्र भण्डारी, म र अरु केही उत्साही युवाहरुको जोडबलमा ढुण्डीराज भण्डारी प्रधानपञ्चको उम्मेवार बन्नुभयो । चुनावमा राम्रै प्रतिस्पर्धा भयो । करिब २०० भोटको मात्र अन्तरले दुर्गा घलेले चुनाव जितिन् ।
यो चुनावले ढुण्डीराज भण्डारीलाई स्थानीय नेतृत्वको रुपमा स्थापित ग¥यो । सामाजिक रुपमा श्री बैष्णव सम्प्रदायमा संलग्न, हकी स्वभाव, कर्मकाण्डमा पोख्त भएकाले धेरै जजमानसँगको सुमधुर सम्बन्धका कारण चुनावमा राम्रै भोट प्राप्त भयो । त्यसले उहाँलाई पछिल्लो राजनीतिमा स्थापित गरिदियो ।
“पञ्चायल कालमा पनि तपाईं उम्मेदवार त बन्नुभयो नि हामी युवाको करकापमा परेर । त्यति बेलाको चुनावमा उम्मेदवार मात्र बनियो अहिले जित निश्चित भएको बेला अध्यक्ष बनिहालौँ भनेर किन नसोच्नुभएको बहुदलपछि ?” मैले प्रश्न थपेँ ।
“मैले पदलाई कहिल्यै महत्व दिएनँ । पद मेरो लागि सेवाको अवसर थियो । म करिब २०३३ सालदेखि विद्यालयको सञ्चालक समितिमा रहेँ । हरेक सामाजिक गतिविधि र कार्यमा म अगाडि बसेर काम गरेँ तर पदै चाहिन्छ भनेर कहिल्यै भनिनँ । त्यही भयो २०४९ को चुनावमा पनि । त्यति बेला त्यस भेगका जलबल्दा एमाले नेता हेम बहादुर लामाले काका नै उठ्नुपर्छ भनेर जोड गरे तर मैले चन्द्र प्रसादलाई अगाडि बढाएँ । दुई कार्यकाल उनी अध्यक्ष भए । पार्टीको नेतृत्वमा पनि एक कार्यकाल म बसेँ । त्यसपछि अरुलाई छाडिदिएँ । मेरो सहयोग सबै समय यसैगरी रह्यो । यसले मलाई सम्मानमा कुनै कमी आएजस्तो लाग्दैन । मलाई एमालेले जिल्ला कमिटीको सल्लाहकार बनायो । रेडक्रसमा जिल्ला उपाध्यक्ष पनि कामकै कारण भनेँ । मेरो क्षमताअनुसार मैले ठाउँ पाइ नै रहेँ । अरुलाई अगाडि बढाउँदा अगाडि बढाउनेलाई बिर्सेर अगाडि बढ्न नेतृत्वले पनि त सक्तैनन् नि । यही भयो मेरो जीवनमा पनि ।”
म काकाको कुरा सुनेर छक्क परेँ । अहिले वडा अध्यक्ष पाउन पनि राष्ट्रिय रुपमा चलखेल हुन्छ । पैसाको र पावरको प्रतिस्पर्धा हुन्छ । ढुण्डीराज काका भने आफ्नो पोल्टामा आएको गाविस अध्यक्षको पद आफ्नो छोराको उमेरका चन्द्र प्रसादलाई सुम्पन जनतालाई आग्रह गर्छन् । यो उदाहरण उहाँबाट सिक्नलायक गुण हुन् ।
बैष्णव सम्प्रदायको अगुवा ढुण्डीराज भण्डारी
आम्बोटेमा आएका वशिष्ठ भण्डारीका अग्रज शूलपाणि भण्डारीपछिका तेस्रो पुस्ताका रविलाल भण्डारीले आम्बोटेमा श्रीवैष्णव सम्प्रदाय भित्र्याउन महत्वपूर्ण योगदान गरेको बुझिन्छ । मैले रविलालको योगदान बारे लामो लेख आम्बोटे माध्यमिक विद्यालयको स्मारिकामा प्रकाशित गरिसकेको छु ।
यो मन्दिर बनेपछि आम्बोटेमा श्रीबैष्णव सम्प्रदाय फैलिँदै गएको र त्यसको पछिल्लो कडीको रुपमा २०५१ साल फागुन १–५ सम्म बृहत् गायत्री महायज्ञ आयोजना गरेको बुभिन्छ । त्यसको मुख्य आयोजक समितिको सचिवको रुपमा ढुण्डीराज भण्डारी रहनुभएको थियो । हाल उक्त यज्ञ गरिएको स्थानमा यज्ञ मण्डप बनाई श्रीबैष्णव सम्प्रदायमा आस्था राख्नेहरुले बेलाबेला उत्सव एवं भजनको आयोजना गरिरहनुभएको छ ।
कुरा चलिरहँदा मैले बस यात्राको बेला काकालाई सोधेको थिएँ– “रविलाल भण्डारीले बनाएको लक्ष्मीनारायण मन्दिर अहिले जीर्ण अवस्थामा छ । मैले सरकारी क्षेत्रबाट जिर्णोद्धार होस् भनेर माग पनि गरेको छु । तपाईं पनि केही सोचिरहनुभएको छ ?”
“गायत्री महायज्ञ स्थल बस्तीको बीचमा छ । त्यसलाई स्थायी संरचना बनाइयो । अब मन्दिर जिर्णोद्धार गर्नुपर्ने छ । अब जिर्णोद्धार मात्र होइन पुजारी बस्ने घर पनि बनाउनुपर्ने छ । पुजारी बस्ने घरसँगै जोडेर एउटा अलि लामो टहरोजस्तो हल पनि बनाउने सोच छ । त्यसो भयो भने पुजारीलाई खान पुग्ने अन्न आउने गुठी छ । एउटा हल बनाउन सकियो भने कुनै विवाह, उत्सव वा भजनकीर्तन गर्ने ठाउँ हुनेछ । यो मेरो मनमा छ । पैसा जुटाउन सकियो, सबैको सहयोग हुन सक्यो भने र स्वास्थ्यले साथ दिइरह्यो भने यति चाहिँ गर्ने योजना छ । जति सकिन्छ हेर्दै जाऊँ ।”
ढुण्डीराज काकासँगको यो संवाद र बसयात्रा चकमके पुगेर टुंगियो । त्यसपछि पैदलै हामी आम्बोटे पुग्यौँ । देवालीको तयारी, निर्देशन र आयोजनाको सहभागिता अनि लामो समयपछिको बन्धुवर्ग र आफन्तसँगको भेटघाटले समय बितेको पत्तै भएन । विद्यालयको स्वर्णजयन्ती मनाउने तयारी बारे छलफल भयो । विद्यार्थी भाइबहिनीहरुसँग छलफल र अन्तक्र्रिया भयो । करिब एक साताको बसाइपछि हामी काठमाडौँ फर्कियौँ । त्यसपछिका वर्षहरुमा काका शारीरिक रुपमा अशक्त हुँदै जानुभयो । अन्तत २०८२ साल पौष ३ गते काठमाडौँको थलीमा उहाँको देहान्त भयो ।
आज उहाँ दिवङ्गत हुनुभएको करिब चार महिना बितेको अवसरका त्यो आत्मीय र अन्तरङ्ग संवाद समर्पित गर्दछु ।
आज ढुण्डीराज काका हामीबीच हुनुहुन्न तर उहाँले गर्नुभएका कर्म र नेतृत्व विकासका पहलले आम्बोटेको समाज लाभान्वित भइरहेको छ । उहाँले परिकल्पना गरेका साँस्कृतिक र सामाजिक दूरदृष्टिले आम्बोटेको समाजलाई प्रेरणा दिइरहेको छ । यस्ता सामाजिक दृष्टिकोण भएका व्यक्तित्व जन्माउने आम्बोटेको धरती र दिवंगत काका ढुण्डीराज भण्डारीप्रति हार्दिक नमन ।
Comments
Post a Comment