तिरुमलाको सुन्दरता र बासस्थानको चिन्ता
फेब्रुअरी १३, २०२३, तिरुमला । प्रशान्ति निलयमको अनुशासन, समयतालिका र जीवनशैलीमा अभ्यस्त हुँदै दुई दिन, तीन रात हामीले पुट्टपर्तीमा बितायौँ । आध्यात्मिक यात्राको हाम्रो भावना पुट्टपर्तीले अझ बढाइदियो अनि हामीले योजना बनायौँ सर्वाधिक श्रद्धालुहरुले यात्रा गर्ने अर्को तीर्थस्थल तिरुपति जाने र तिरुमलाको प्राकृतिक रमणीयतामा अवस्थित बेंकटेश्वरको बैकुण्ठभूमि स्पर्श गर्ने । ‘बिहान ठीक ४.४५ मा आउनुहोला बस यहीँबाट जान्छ, करिब १२ बजे तपाईंहरु तिरुपति पुग्नसक्नुहुनेछ ।’ प्रशान्ति निलयम बस अड्डाको सोधपुछ कक्षका कर्मचारीले हामीलाई जानकारी दिए । हामी बिहान (फेब्रुअरी १२, २०२३) करिब ४.३० बजे नै बस अड्डा पुग्यौँ । अन्यत्र जाने बसहरु तयार थिए तर हाम्रो बसको भने अत्तोपत्तो थिएन । हामीलाई शंका लागेर फेरि सोधपुछ गर्दा त्यहाँका कर्मचारीले भने– ‘तपाईंहरु यहीँ बसिरहनुहोला बस ठीक समयमा आइपुग्छ ।’ नभन्दै ठीक समयमा आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस आइपुग्यो ठीक ४.४५ मा । भएको के रहेछ भने त्यो बस अड्डा मूलतः कर्नाटक राज्य सडक परिवहन सेवाको बस अड्डा रहेछ । आन्ध्र प्रदेश सडक परिवहन सेवाको बस त्यहाँ राख्न...