देखौँ सपना
सपनाको अनुभव तपाईं–हामी सबैसँग छ । सपना देखिन्छ, केही समय सम्झिइन्छ पनि र फेरि बिर्सिन्छ । सम्झनुस् त तपाईंले सम्झनलायक सपना देखेको मिति सम्झना छ ? तपाईंले देखेको र अहिलेसम्म सम्झिरहेको कुनै सपना बताउन सक्नुहुन्छ ? निदाएको बेला देखिएको सपना कसरी सम्झेका होलाउँ हामीले ? के मानिसले चाहेर वा नचाहेर सपना देख्ने र नदेख्ने हुन्छ ? सपनाहरु असल र खराब पनि हुन्छन् ? यस्ता प्रश्नहरु तपाईंको मनमा कैयौ“पटक आए होलान् र बिलाए होलान् । मेरो जीवनमा पनि यस्ता प्रश्नहरु कैयौ“पटक उठे अनि बिलाए । यस्ता जिज्ञाशाको उत्तर खोज्ने प्रयत्न केही मानिसले गरे, उत्तर पहिल्याए पनि । केही मात्रामा त्यसको उत्तर दिएका पनि छन् मनोवैज्ञानिकहरुले । तर यसको समग्र पक्ष यही हो, यस्तै हुन्छ भन्ने एकिन गर्न सकिन्छ ? निद्रामै देखेका कतिपय सपनाहरु सत्य भइदिन्छन् । कुनै काल विशेषमा, घटना विशेषमा कुनै सपना सत्य भयो भन्दैमा सधै“ त्यही हुन्छ ? भन्न सकिन्न । मेरो जीवनमा पनि कैयन सपनाहरु सत्य भएका छन्, तर धेरै चाहिँ सत्य भएका छैनन् । त्यसैले म कहिलेकाही“ घेत्लिन्छु, आखिर सपना के हो ? किन कुनै सपना सत्य भए अनि कुनै चाहिँ हराए ? ...