आहा, चितवनको मालभोग केरा !
अहिले तपार्इं चितवनको पदमपुर, पिठुवा, जुटपानी, रत्ननगर पुग्नुभयो भने त्यहाँ का खेतबारीमा विगतभन्दा अलि भिन्न दृश्य देख्न पाउनुहुन्छ । जताततै केराको जङ्लैजङ्गल । ठाउँठाउँमा लटरम्म टमाटर फलिरहेका । अलि सिंचित खेतबारी हरिया तरकारीले भरिएका । हेर्दै मनमोहक । जताततै देखिने हरिया तरकारी, टमाटर र केराले त कुनै विकसित देशको व्यावसायिक कृषि गाउँमा पुगेजस्तो । केही दिनअघि सहकारीकर्मीहरुसँग अन्तरक्रियाको लागि चितवनको रत्ननगर पुग्दाको मेरो अनुभव हो यो । म त्यहाँ पुग्दा कुनै विकसित देशको कृषि फार्ममा पुगेझैँ आश्चर्यचकित भएको थिएँ । जताततै देख्तै रहर लाग्दा केराका घरी, ठूलाठूला केराका डिही अनि खेती त्यतिकै व्यावसायिक । चिटिक्क परेका केरा फार्म, गोडमेल र छाँटकाँट पनि भनेजस्तै सुन्दर । फार्म हेर्दा लाग्थ्यो यो कुनै प्राविधिकले नियमित हेरचाह गरेर स्याहारसुसार गरेको बगैँचा हो । मेरो मनमा खुलदुली चुलिँदै गयो । कसले ग¥यो होला यो नयाँ शुरुआत ? कसरी फैलियो यो लहर ? मन थाम्न सकिँन र एक जना सहकारीकर्मी केरा किसानसँग जिज्ञासा राखेँ— “तपाईं पनि यस्तो केरा खेती गरिरहनुभएको छ ?” मेरो प्रश...