मेची पुलदेखि गान्तोक बजारसम्म
२५ वर्षअघिको सिक्किम फाल्गुण महिना । जाडो सकिएर गर्मी शुरु हुनै लागेको थियो । तराइमा लाग्ने बिहानी हुस्सु पनि लाग्न छाडेको थियो । गर्मी र जाडोको दोसाँधको मौसम आरामदायक थियो, न गर्मी न जाडो । मैले पहिलो पटक यस्तै मौसमको बेला हो सिक्किमको राजधानी गान्तोक जान पाइला अघि बढाएको । आजभन्दा करिब २५ वर्षअघि, एक जना मित्रको सहयोगमा म त्यो हिमाली भूमिको भ्रमण गर्न तम्तयार भएको थिएँ । प्रकृतिको अनुपम उपहार त्यो राज्य त्यसपछिका दिनमा मेरो अर्को घर बन्यो, समयसमयमा गइरहनुपर्ने, हेरिरहनुपर्ने र त्यहाँ गएर केही दिनको थकाइ मार्नैपर्ने गरी । डेन्जोङको त्यो चुचुरो मेरा लागि आफन्त भइदियो मायालु आतिथ्य र आफन्तभाव पस्केर । पहिलो पटक गान्तोक टेक्ता मैले जिब्रो टोकेको थिएँ त्यो शहरको अवस्थिति देखेर । त्यस्तो तारेभीरमा यत्रो शहर ! डेन्जोङ पहाडको चुचुरोमा ठडिएका अग्ला भवनहरुले भरिएको त्यो शहर हेरेर मनमनै सोचेको थिएँ– “यस्तो तारेभीरमा बसेको यो शहर ठूलो पहिरो गयो भने के होला ?” जबजब त्यो सानो भारतीय हिमाली राज्यमा पाइला टेक्छु मलाई अहिले पनि त्यस्तै लाग्छ । कुन दिन यो शहर पूरै पहिरोमा बग्ला ...