प्रकृति, पर्यटन र पत्तीको इलाम
इलाम र सिलाम म सानो हुँदा अग्रजहरुले भनेको सुन्थेँ, ‘सिलाम खाने भए इलाम जानू ।’ इलाम र सिलामको के सम्बन्ध थियो मलाई त्यतिबेला थाहा भएन । म सोच्थेँ, इलाममा प्रसस्त सिलाम पाइने भएकाले शायद त्यसो भनेका होलान् । म सिन्धुलीको पहाडी भागमा जन्मेहुर्केको । गाउँघरका रुखा बारीमा सिलाम फल्थ्यो । पाकेर सुकेका गेडा काँचै खाँदा पनि हुन्थ्यो । भुटेर अमिलो र नून मिलाएर अचारको रुपमा खाने चलन पनि थियो । काँचो चालम र दहीसँगै सिलाम लिाएर खाने चलन पनि थियो नयाँ धानको न्वागीसँगै । अरु फाइदाका बारेमा भने थाहा थिएन । अहिले पनि मलाई हल्का भुटेको सिलाम असाध्यै मन पर्छ । ............ म २०१० मा थाइल्याण्ड घुम्न जाँदा बौद्ध भिक्षुहरुको एउटा उपचार केन्द्रमा भ्रमण गर्ने र त्यहाँको उपचार विधि बुझ्ने अवसर मिल्यो । त्यहाँको उपचार पद्धती विचित्रको थियो । जुनसुकै रोग भए पनि एउटै उपचार गर्थे उनीहरु । सुरुका तीन दिन उपवास राखेर दिउँसो र बेलुका काँचो नरिवलको पानी खान दिइन्थ्यो । दिउँसो एक पटक सिलामको पातलो झोल र रातो चामलको माड खान दिइन्थ्यो । तेस्रो दिन बेलुका २५० ग्राम ओलिभ आयल अनि पाँचवटा कागतीको रस मिलाएर ...