नानजिङ रोडकी चे न्युहाई
सांघाइको पर्ल टावर चढेर याङपु नदीमा जलयात्राका लागि ‘फेरी’ चढ्नै लाग्दा पश्चिमपट्टिको आकास रक्तिम थियो । सडक वरपरका दृश्य रक्तिम प्रकाशमा अझ मादक र रोमाञ्चक हुँदै थियो । गाडी बढी र मानिस कम हुने सांघाइका सडकमा युवायुवतीका जोडी बाक्लिएका थिए । पार्कहरु भरिभराउ थिए युवा जोडीले । साँझको रंगीन बत्तीको झलझलाकार उज्यालोमा आलिंगनबद्ध भएर मादकता भर्दै थिए सुन्दर युवा–युवतीहरु । हामी घुम्दाघुम्दै कल्पनाको स्वर्गमा आइपुगेको अनुभव गर्न बाध्य भएका थियौँ ती सबै दृश्य आँखाभित्र कैद गरेर । ‘बेलुकाको सांघाइ दिनभन्दा रमाइलो हुन्छ । नानझिङ रोड र पर्लटावर एरिया दिनमा भन्दा राति घुम्नु राम्रो । बेलुका त्यहाँ जान नछुटाउनू है !’ भर्खरै सांघाइ पुगेर फर्केको साथी मिङ्मा शेर्पाले मलाई भनेको थियो, काठमाडौँमै । सांघाइ जान लागेको खबर सुनाउँदा सिरिथापको साथी सावतले पनि उसलाई त्यसै भनेको रहेछ । सांघाइ पुगेपछि सिरिथापको युवा मन नानझिङ रोडतिर तानियो । ‘कस्तो होला रात्रिकालीन सांघाइ ? कस्तो होला नानझिङ रोड रातको झिलीमिलीमा ?’ जिज्ञाशा चुल्याएर व्यग्र बनेको थियो हामी दुवैको मन । त्यहाँ पुगेर अघाउन्जेल ...