टोपी र टुप्पीले हैरान
म जन्मेहुर्केको गाउँ आम्बोटेमा पछिसम्मै माध्यमिक विद्यालय थिएन । निम्न माध्यमिक विद्यालय मात्र थियो । त्यसपछिको स्कूल पढ्न भने दिनभरिको बाटो हिँडेर या त सिन्धुली माढी (सदरमुकाम) पुग्नुपथ्र्यो या कमलाखुँजको भलुवाही । आफन्तकहाँ बसेर पढने सुविधा र ग्रामीण भेगको स्कूल भएकाले हाम्रो गाँउबाट पढ्न जाने धेरैजसो दाइहरु भलुवाही नै गएर पढने गर्थे । एक दिन हजुरबाले भन्नुभयो– “भलुवाही नै पढ् । नजिक पनि छ । आउन जान साथीहरु पनि हुन्छन् ।” बाले थप्नुभयो – “हाइस्कूल पछि अलि ठूलो पनि हुन्छस् । आफै“ पकाएर खान पनि सक्छस् । त्यसपछि जहाँ हुन्छ जानू ।” घरको सल्लाह यही थियो । म राजी भएँ । कक्षा ७ को परीक्षाफल आएपछि म कक्षा ८ मा पढ्न भलुवाही जाने भएँ । माघ महिनाको पहिलो हप्तामा स्कुल भर्ना हुन हजुरबा र नाति भलुवाही जाने भयौ“ । “माघ लाग्यो । अब स्कूल भर्ना हुन भोलि बिहानै भलुवाही जानुपर्छ । छिटो उठ् नि ! तँ ढिलोसम्म सुत्छस् । भोलि ढिलो नगर् !” हजुरबाले मलाई खर्याउनु भयो । हजुरबाको कुरा ठीकै थियो । जाडोको बेला केटाकेटी उमेरको मान्छे । उठ् नभनी उठ्ने खासै जाँगर चल्दैनथ्योे । गोठमा होस् वा घरमा...