आहा, त्यो नृत्य !
अगस्त महिनाको २१ तारिख सन् २०१६ । चीनको सिन्ज्याङ विज्ञान तथा प्रविधि केन्द्रको आयोजनामा संचालित आधुनिक कृषि र सिँचाइ प्रविधि बिषयको तीनहप्ते अन्तर्राष्ट्रिय कार्यक्रमको समापन हुँदै थियो भोलिपल्ट । अघिल्लो दिन आयोजक समूहका सदस्य मिस्टर लीले दिउँसोको खाना खाँदै गर्दा सूचना गरे– ‘आज बेलुका ठीक सात बजे हामी होटलबाहिर निस्कने छौँ, सबै जना तयार भएर लबीमा आउनु होला ।’ भोलिपल्ट करिब तीन हप्ताको सिन्ज्याङको सेहेजी बसाइ र घुमफिर सकिँदै थियो । त्यो सुन्दर सेहेजी शहरले हामीलाई कताकता मोहनी लगाएछ क्यार विदाइको पीडाले अलि गह्रौँ भएको थियो सबैको मन । विदाइ स्मरणीय बनाउनमा साह्रै खप्पिस मानिन्छन् चिनीयाँहरु । विदाइ उत्सव मनाउन सबै सहभागीहरुलाई शहरभन्दा केही टाढाको रिसोर्टमा लैजाने योजना बनाएका रहेछन् आयोजक समूहले । ताजिकिस्तानका सहभागीहरु भन्दै थिए– हामी त बिहानै निस्कन्छौँ, भोलि भेट होला–नहोला अहिले नै वाइ भनिराखौँ है । उता पाकिस्तानी साथीहरु भन्दै थिए भोलि सँगै जान्छौँ हामी पनि । मंगोलियाकी सहभागी कलिली थिइन्, छोरी जस्तै । भन्दै थिइन्, तपाईंहरु नभएको भए मेरो बसाइ यति रमाइलो र स्म...