सन्तवीरको स्वप्ननगर
सन्तवीर दमाईको आर्थिक अवस्था तीन पुस्तादेखि जस्ताको तस्तै थियो । उसको आर्थिक अवस्थामा तीन पुस्तासम्म पनि कुनै सुधार भएन । साहुकहाँ बनिबुतो गरेरै आजसम्म उसले जीवन धानेको थियो । त्यसैका भरमा उसले विहा गर्यो, बाबुआमालाई पालनपोषण गर्यो । दुईटा छोराछोरी पनि जन्मायो, तर के भएर हो तिनीहरु सानैमा खसे । केही दिन शोक पनि मनायो । तर, जीवन पाल्ने चटारोमा उसले ती छोराछोरी मरेको पनि राम्रो भयो कि नराम्रो भयो खासै विचार गरेन । हुर्के–बढेका भए पनि भार नै हुन्थ्यो कि घरपरिवार गुल्जार हुन्थ्यो उसले त्यसलाई खासै समय दिएर विचार गनुपर्ने ठानेन । सम्पत्तीको नाममा खरको एउटा छाप्रो र आफ्ना दुई पाखुरा मात्र थिए सन्तवीरसँग । छाप्रो पनि साहुकै बारीमा हालेको थियो । साहुको दयामायामा थियो उसको बास । साहुले कहिले छोड्न आदेश दिने हुन् कुनै ठेगान थिएन । उसकी श्रीमती पुतलीले एक दिन बेलुका अगेनाको डिलमा बसेर आगो ताप्दै गर्दा गुनासो गरी– ‘हेर बुढा, अब बुढेसकाल लाग्न थाल्यो, यसरी हुँदैन । तीन पुस्ता यही छाप्रोमा बित्यो । यो छाप्रो हालेको घडेरी पनि आफ्नो नाममा छैन । कहिले साहुका छोराले उठिबास लाउने हुन् भन्न सकि...