नयाँ सङ्कल्पसाथ सुरु गरौँ नयाँ वर्ष
कसैको जीवनको गुणस्तर भनेको उसको सङ्कल्प अर्थात् प्रतिबद्धता नै हो । कर्मक्षेत्र जुनसुकै रोजेको भए पनि खास फरक पर्दैन । — (Vince Lambarde) नयाँ वर्ष २०७२ सुरु भएको छ । नजाने तपाईँले कति यस्ता नयाँ वर्ष बिताइसक्नुभयो होला । कैयौँ पटक नयाँ वर्ष लागेपछि अब त यो काम नगरी छाड्दिन भनेर सोच्नु पनि भयो होला त र के तपाईँका ती सोच साकार हुन सके ? सकेनन् भने किन सकेनन् ? आत्मसमीक्षा गर्ने र आफूलाई अझ नयाँ जोश र उत्साहका साथ उचाइतिर अघि बढाउने अवसर हो नयाँ वर्षको सुरुआतको यो बैशाख महिना । कविहरु बसन्तको आगमनमा नयाँ कविता कोर्दैछन्, कलाकारहरु नयाँ जीवनको रंग भर्दैछन्, कोइली र न्याहुल आफ्ना स्वरलहरी तिखार्दै छन्, विरुवाहरु नयाँ पालुवा हालेर फुल्न र फल्न उद्यत छन्, प्रकृति स्वयम् पनि हाँस्न, हसाउँन र सिर्जनाको प्रणयज्वर छर्दै प्रफुल्लित हुँदैछ । तपाईँहामी चाहिँ त्यसबाट किन अछुतो हुने ? आउनुहोस् यो नयाँवर्षको सुरुआत गरौँ केही नयाँ संकल्पका साथ, जसले तपाईलाई जीवनको नयाँ गन्तव्य दिन सक्नेछ । नयाँ जीवन बनाउन कस्तो सङ्कल्प लिने ? कस्ता सङ्कल्पले हामीलाई माथि उठाउँछ ? राम्ररी मनन गरौँ । ...