यसरी बदले नेपोलियनले आफ्नो भाग्यरेखा
हाम्रो समाजमा धेरै मानिसहरु भाग्यमा विश्वास गर्छन् र यो भावीले लेखेर पठाएको हुन्छ भन्ने ठान्छन् । केही मानिसहरू जीवनको सफलता र असफलतालाई भाग्यसँग गाँसेर हेर्छन् । सफल मानिस देखेपछि हामी पनि भन्छौँ, “भाग्यमानी रहेछ यो मान्छे । यसको भाग्य चम्केको छ ।” यो भाग्यवादी सोचाइले हामीलाई नराम्ररी पछाडि पारिरहेको छ । सफल, समृद्ध र वाहवाही हुने मान्छे असफल, हीनताग्रस्त र दुःखी भएको छ । के काम कसरी गर्ने हो त्यो तरिका नसिकेर, नजानेर बर्बाद भएको छ । हामीकहाँ भाग्य बनाइदिने ठेक्का लिनेहरुको पनि कमी छैन । केही रकम र समय लिएर उनीहरुकहाँ पुगेपछि भाग्य बन्ने सजिलो उपाय बताइदिइहाल्छन् । तर उनीहरुको अवस्था हेर्यो भने ........ ? भाग्य बनाउनेहरु आफैँ अभागी भएर भौतारिइरहेका छन् । भाग्य बनाउने नाममा उनीहरुले मानिसलाई ग्रहशान्ति, जाप, पूजाआजा अनेकका तानाबानामा फसाइदिन्छन् र पैसा असुलेर आफ्नो गुजारा चलाउँछन् । मानिसहरु पनि भाग्य बन्ने लालसामा उनीहरुको खानेमेलो बनेको र आफ्नो क्षमता खिइँदै गएको पत्तो पाउँदैनन् । धाउँदाधाउँदा हतास हुन्छन्, समय बित्छ तर ज्योतिषीले भनेका अनेक कुरा गर्दा पनि भाग्य भने बन...