जागिर होइन काम खोजौँ
थाइल्याण्डमा शान्ति अशोक समूहको कम्युन चलाइरहेका एकजना थाइ मित्रले थाइल्याण्ड घुम्न जाँदा भनेको कुराले सधैँजसो मलाई पिरोलिरहन्छ । घरिघरि म उनलाई सम्झन्छु । उनी भन्थे– समृद्धिका लागि मानसिकता चाहिन्छ, अवसर होइन । समृद्ध मानसिकताले अवसर आफैँ सिर्जना गर्छ । हामीसँग धेरै विकल्प छन्, गर्ने संकल्प र जाँगरको मात्रै खाँचो छ । मेरो घर नजिकै दुइजना छिमेकी छन् । एकजना किसान अर्का चाहिँ सरकारी उच्च ओहदाका जागिरे । जागिरे साथी कृषिका ठूलै अफिसमा काम गर्छन् । फुर्सदमा उनी बारीमै हुन्छन् । भन्छन्– ‘अहिले म काठमाडौँमा बस्छु । काठमाडौँ आउनु अघि त म त्यै किसानको छोरो हुँ । घरमा काम गरिरहेकै थिएँ । जागिर खाँदैमा काम किन छोड्नु ? खालि जग्गा छ चार आना । तरकारी म आफैँ लगाउँछु । घरका सबै मान्छे बेलाबेलामा श्रमको आनन्द पनि लिन्छौँ । अनेक विषदि मिसिएको तरकारी पनि खानु परेन, पैसा पनि जोगियो । वर्षभरि खाने तरकारीको करिब ७० प्रतिशत तरकारी खानपुग्छ त्यही ४ आनाको तरकारी खेतीले । आफ्नो काम गर्दा सानो त हुँइँदैनरछ । म लेखपढ गर्न पनि भ्याएकै छु । काम छोड्नु पनि पर्दैन । तरकारी खान पनि पाइन्छ । पैसा प...