माइला दाइको दशैँ
माइला दाइ काठमाडौँ छिरेको आठ वर्ष भएछ । आठ वर्षमा एक पटक पनि दशैँमा घर जान पाएका छैनन् । आज बिहान उनलाई यस पाली दशैँमा घर जाऊ कि जस्तो लाग्यो । आफूसँगै कोठामा बस्ने साथी बलेलाई भने– “मलाई यस पाली दशैँमा गाउँ जान मन लाग्यो । तँ के गर्छस् ?” बले आङ तन्काउँदै उठ्यो । “गइस्, कौडी न सौडी उसै दौडी । के को खर्चले जान्छस् ? घर पुगेर आउन बस भाडा मात्रै तीन हजार लाग्छ । बाटामा खान अर्को पाँच सय । छोराछोरीलाई केही सरसामान लगिदिनु परो कम्तिमा दुई हजार । श्रीमतीलाई यौटा सारीचोलो लिदिनु पर्यो त्यल्लाई तीन हजार । बाउआमालाई क्यै लग्नु परो अर्को दुईतीन हजार । काँबट ल्याउँछस् यतिका पैसा ? कि चोर्न जान्छस् ? यैँ बसेर एक्लो ज्यान पाल्न त गारो भैसको चाडमा घर गएर रमाउने कुरा गर्छ । गै हालिस् भने पनि मन दुःखाउनु मात्रै हो ।” खाटमा पल्टिँदै बर्बरायो बले । माइला दाइ सुनिरहे । “अनि पैसा नकमाउनेले चैँ दशैँमा घरै नजानु त ?” “जानू ।” “अनि के यत्रोविधि बजेटको लिष्ट बना त तैँले ? यो त हरछेरुवा कुरा भैगो नि !” “शहराँ काम गर्ने मान्छे घर जाँदा क्यै नली जान्छस् त ? तेरा छोराछोरी, स्वास्नी स...