युवावस्था र जरुरी, मनोरञ्जन र महत्वपूर्णको जटिलता
युवावस्थाका जीवन परिवर्तनकारी तीन पक्ष छन् — पढाइ, परिवार र पेशा । यी तीन पक्षको ठीकसँग छनौट र व्यवस्थापन गर्न सकिएन भने मानिसको जीवन न त समृद्ध हुन सक्दछ न त उन्नत, आनन्दित र सुखी नै हुन सक्दछ । अध्ययन, सिकाइ र समृद्धि अध्ययनको बिषय (औपचारिक, अनौपचारिक) आफ्नो पेशागत भविष्यसँग सम्बन्धित हुन्छ भने परिवार र पेशा जीवनको खुशी र आनन्दसँग सम्बन्धित हुन्छन् । एक प्रकारले भन्ने हो भने अध्ययनलाई हामी जसरी बढाउँछौँ, बिषय जे जसरी र जस्तो छनौट गरी अध्ययन गर्दछौँ हाम्रो भविष्य निर्माण त्यसले नै निर्धारण गर्दछ । जीवनलाई प्रेरणा दिने, सही र उन्नत सोच, चिन्तन र भावना तयार गर्न सहयोग गर्ने गरी आफ्नो अध्ययनलाई औपचारिक, अनौपचारिक माध्यमबाट अगाडि बढाउन सक्यौँ भने हामी आफ्नो विचार, भावना र चेतनालाई विस्तारै माथि उठाउन र सफलतातिर बढ्न सक्दछौँ । पढ्न चाहेको बिषय एउटा, आफूभित्रको प्रतिभा अर्कै अनि अध्ययन क्षेत्र चाहिँ त्यसभन्दा भिन्न भयो भने जीवनमा सफलता हासिल हुनसक्ने कुरै हुँदैन । अब प्रश्न आउँछ के जीवनको सफलताका लागि विद्यालय वा विश्वविद्यालय शिक्षा अनिवार्य नै हो त ? वा बिषय बिशेषको उच्च पढ...