ध्यानः गन्तव्य एक, मार्ग अनेक
“हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अवस्थाको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष पहिरनमा सजिएका मानिसहरुले आँखाचिम्लेर बसिरहेको सम्झन पुग्छौँ । पतञ्जलीले अष्टाङ्ग योगको चर्चाका क्रममा ध्यानलाई योगको छैठौँ चरणमा राखेका छन् । यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान अनि समाधि । योगको पूर्णावस्था समाधिमा गएर हुने हुनाले ध्यानलाई त्यसभन्दा तल्लो खुट्किलोका रुपमा उनले राखेको पाइन्छ । गुरु गोरखनाथले निकै अघि ध्यानको अवस्थाका लागि हामीले बनाएको धारणाभन्दा भिन्न रुपमा उल्लेख गरेका भए पनि ओशोभन्दा अघिसम्म ध्यान उत्सवमय, संगीतमय र नृत्यमय हुनसक्छ भन्ने कमैलाई लाग्दथ्यो । आशोको देन यसैमा छ । उहाँले ध्यानलाई नृत्य, उत्सव र उल्लासमय वातावरण संग जोडिदिनु भयो । अहिले आएर ध्यानमा संगीत भएन, उत्सव र नृत्य भएन भने ध्यान नै होइन कि भनेजस्तो भइसकेको छ । भजन, गायन, नृत्य तथा उत्सव ध्यानका अभिन्न अङ्ग भइसकेका छन् । ओशोले संसारलाई ध्यानका नयाँ विधिहरु सिकाउनु अघि उत्सव, नृत्य र संगीत ध्यानका अभिन्न र...